( साभार- आहुति, पहिलोपोष्टबाट)
सुदुरपश्चिमले बेलाबेला किन विद्रोह गरेछ भन्ने अहिले सात नम्बर प्रदेशका लागि भएको संघर्षबाट थाहा हुन्छ। उनीहरुले चाहेको त स्वायत्तता रहेछ। अढाई सय वर्षपछि भए पनि हामी त्यही ठाउँमा पुगेका छौं।· १९०६-१९०७ सालमा अछामका राजपरिवारका सदस्य बलदेव शाहीले अछाम काठमाडौंबाट स्वतन्त्र भएको घोषणा गरेका थिए।· २००९-२०१० सालमा भीमदत्त पन्तले किसान विद्रोह गरेका थिए। उनको विद्रोह दबाउन भारतबाट सेना बोलाइयो। आन्तरिक विद्रोह दमन गर्न विदेशी सेना झिकाइएको नेपालको इतिहासमा यो नै एकमात्र घटना हो।· २०१८ सालमा बझाङका राजपरिवार सदस्य ओम सिंहले बझाङ काठमाडौंबाट स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह गरे।· संविधान जारी गर्ने समयताका भएको आन्दोलन यही संघर्षको निरन्तरता हो।
गोर्खा राज्यमा गाभिएपछि लामो समयसम्म कर्णालीपारिको भूभागले काठमाडौंसँग विद्रोह गरिरह्यो। वि. सं. २०१९ सालसम्म त्यहाँ स्वतन्त्रताका लागि सानाठूला विद्रोह भइरहे। २०१९ सालपछि भने सुदुरपश्चिमले आफ्नो संघर्षको स्वरुप बदल्यो।
कर्णालीवारि सिञ्जाली सभ्यता हो भने पारी डोटेली सभ्यता थियो। जसको अलग्गै भाषा र संस्कृति थियो। यो सभ्यता डोटी केन्द्र भएर कर्णालीपारिदेखि भारतको कुमाउँ गढवालसम्मको विशाल भूखण्डमा फैलिएको थियो। अहिलेसम्म डोटेली भन्दा उनीहरु गौरव गर्छन्।
कर्णालीवारि सिञ्जाली सभ्यता हो भने पारी डोटेली सभ्यता थियो। जसको अलग्गै भाषा र संस्कृति थियो। यो सभ्यता डोटी केन्द्र भएर कर्णालीपारिदेखि भारतको कुमाउँ गढवालसम्मको विशाल भूखण्डमा फैलिएको थियो। अहिलेसम्म डोटेली भन्दा उनीहरु गौरव गर्छन्।
उनीहरुको फरक सभ्यता नै गोर्खा राज्यमा समाहित हुन अस्वीकार गर्नुको कारण हो। यो स्वाभिमानसँग गाँसिएको हुन्छ। सुदुरपश्चिमले बेलाबेला किन विद्रोह गरेको गरेछ भन्ने अहिले सात नम्बर प्रदेशका लागि भएको संघर्षबाट थाहा हुन्छ। उनीहरुले चाहेको त स्वायत्तता रहेछ। अढाई सय वर्षपछि भए पनि हामी त्यही ठाउँमा पुगेका छौं।
उनीहरू किन विद्रोह गर्छन्, किन काठमाडौंबाट स्वायत्तता चाहन्छन् भन्ने थाहा पाउन इतिहास केलाउनु पर्छ। इतिहासमा काठमाडौंले गरेका ज्यादती थाहा पाएपछि त्यसलाई सच्याउन सकिन्छ। यो श्रृंखलालाई हामीले गोर्खाली फौजले सुदुरपश्चिमलाई गोर्खा राज्यमा गाभेको समयबाट हेर्नुपर्छ।
नेपालमा गाभिएसँगै कर्णालीपारिका बासिन्दाले अरू नेपालीलाई 'पूर्वीया' भन्ने धारणा बनाए। तत्कालीन गोर्खा राज्यमा समाहित पूर्वी नेपालसँग उनीहरुले न आत्मियता महशुस गरे, न सम्मान गर्न सके। उनीहरुको मनमा रहेको घृणा केही हदसम्म अहिलेपनि छ। यो घृणा हटाउन पनि इतिहासलाई बुझेर अगाडि बढ्नु जरुरी छ।
गोर्खाली फौजले पश्चिमका विभिन्न स–साना राज्य आफ्नो राज्यमा गाभ्दै जाँदा कतै सामान्य लडाईं र कतै सुलह सम्झौताद्वारा दैलेखसम्म जित्यो।
तर, कर्णालीपारिले गोर्खाली फौजसमक्ष आत्मसमर्पण गरेन। त्यो भाषिक र सांस्कृतिक रूपमा पनि डोटेली सभ्यताभित्रको क्षेत्र थियो। डोटीका राजा दीप शाही र कुमाउँका राजनेता हर्षदेव जोशीले सुरुमा अंग्रेजसँग मिलेर गोर्खाली फौजविरुद्ध लडेको इतिहास छ। वि.सं. १८४७ मा अमरसिंह थापाको नेतृत्वमा गोर्खाली फौजले डोटीमाथि आक्रमण गरेको थियो। डोटीले यो युद्ध हार्यो। हारेपछि गोर्खाली फौजले त्यहाँ निकै अत्याचार गरेको पाइन्छ। डोटी र कुमाउँ क्षेत्रमा गोर्खाली सेना बलात्कारी सेनाको रुपमा समेत चिनिएको जनश्रुती अझैसम्म जिवित छ। त्यस क्रममा गोर्खाली सेनाले १४९८ जनाको हत्या समेत गरेको कुरा आज पनि त्यस क्षेत्रमा प्रचलित जनश्रुतीमा पाइन्छ। आत्मसमर्पण गरेका वा हारेका थुम बस्तीका रजौटाले कर तिर्न नसक्दा करको भर्पाईको रूपमा युवतीहरू लिने, उनीहरूमाथि यौन शोषण गर्ने र काशीमा लगेर ती युवती बिक्री गर्ने गरेको समेत इतिहास पाइन्छ।
यसरी गोर्खा राज्यमा गाभिएपछि पनि उनीहरूले स्वायत्तताका लागि पटक पटक विद्रोह गरे। कर्णालीवारिका राज्यहरूले यसरी विद्रोह गरेको पाइन्न।
वि.सं.१९०३मा जंगबहादुर राणाको उदय भयो। त्यसको तीन वर्षपछि १९०६ मा अछामका बलदेव शाहीले काठमाडौंबाट अछाम अलग भएको घोषणा गरे। उनी अछामको राजपरिवारका सदस्य थिए। अछामेलीहरू उनलाई अहिले पनि "बाँकावीर" भनेर चिन्छन्। बाँकावीरले त्यहाँका केही रावल, क्षेत्री र दलितको समेत सहयोग लिएर काठमाडौंसँग विद्रोह गरेका थिए।
१९०७ मा गोरखाली फौजले जाजरकोट र दैलेखको समेत सहयोग लिएर बलदेव शाही र उनका सहयोगीको हत्या गर्यो। अछामको जनबोलीमा यो हत्याकाण्ड अहिलेसम्म बाँचेकै छ। गोर्खा राज्य बिस्तारपछि केन्द्रसँग गरिएको यो पहिलो र सबैभन्दा ठूलो विद्रोह थियो। जुन लखन थापाको विद्रोहभन्दा २७ वर्ष अगाडिको कुरा हो। तर यहाँ लखन थापा पहिलो सहिद भए।
एकिकरणपछि काठमाडौंले कर्णालीपारिलाई आफ्नो पकडमा राखिराख्न दमन त गरेकै थियो, पछि रक्तनाता जोड्ने क्रम पनि सुरु गर्यो। विवाहमार्फत् नाता जोड्ने राणाहरूको निकै ठूलो कुटनीतिक हतियार थियो। आफ्नो सत्ता टिकाउन उनीहरूले राजपरिवारसँग पनि रक्तनाता जोडे। जंगबहादुरले काशी गएर गोत्र नै फेरेर आफ्नो थर कुँवरबाट राणा बनाए। उनीहरुले सुदुरपश्चिममा पनि अलि विद्रोह गर्ने सम्भावना भएकालाई आफ्नो नाता परिवारमा जोड्थे, उनीहरुलाई काठमाडौं नै ल्याएर राख्थे।
यसैअनुसार चन्द्रशम्शेरले आफ्नी छोरीको विवाह बझाङका राजा जयपृथ्वीबहादुर सिंहसँग गरेका थिए। सिंह त्यस समयका निकै ठूला मानवतावादी विद्वान थिए। उनी त्यसैबेला लोकतान्त्रिक विचार राख्ने गर्थे। उनले 'नेपालमा बेलायतको जस्तो संविधान चाहिन्छ' भनेको पाइन्छ। अन्ततः उनको चन्द्रशम्शेरसँग मतभेद भयो र उनी नेपाल छोडेर हिँडे। त्यतिबेलाको काठमाडौंको भव्यता र नाता त्यागेर भारत गए। त्यसपछि चन्द्रशम्शेरकी छोरी उनलाई भेट्न भारत गएकी थिइन् तर उनले स्वीकार गरेनन् भन्ने जनश्रुती छ। यहाँ पनि सुदुरपश्चिमले फरक मत राखेको छ।
तेस्रो प्रसंग छ, भीमदत्तको विद्रोह। उनको विद्रोह केन्द्रीय शासन विरुद्धको विद्रोह मात्रै नभएर शोषक वर्गको शासन विरुद्धको विद्रोह पनि थियो। यो विद्रोह नेपालमा प्रजातन्त्र आइसकेपछि, २००९-२०१० सालमा भएको हो। उनको विद्रोह ठूलो महत्वको थियो तर आकारको हिसाबले सानो। सुदुरपश्चिमको सानो क्षेत्रमा सिमित। उनीसँग हजार सेना पनि थिएन। त्यो एउटा सामान्य किसान विद्रोह थियो। तर विचित्रको कुरा यो छ कि नेपालको इतिहासमा विदेशी सेना बोलाएर कुनै विद्रोह दमन गरिएको यो एउटा मात्रै घटना हो।
मुलुकमा वि. सं. २००७ मा प्रजा तन्त्र आइसकेपछि भारतबाट सेना बोलाएर राज्यले उनको हत्या गरेको थियो। त्यति मात्रै होइन, उनको टाउको लगेर डडेलधुराको टुँडिखेलमा राखियो। बाँसको लिंगो गाडेर त्यसमा उनको टाउको झुन्ड्याएर प्रदर्शन गरियो। नेपालको आधुनिक इतिहास हेर्दा यस्तो क्रुरता अन्त कहीँपनि भेटिँदैन। यस्तो किन गर्यो काठमाडौंले? यो क्रुरता अन्त किन देखिँदैन? किनकि मेरो अध्ययनमा कर्णालीपारिले पहिले पनि कुमाउँ र अंग्रेजसँग मिलेर लडेको थियो। पछि बलदेव शाहीले विद्रोहको प्रयास गरे। त्यसैले, कर्णालीपारिदेखि काठमाडौं सधैं सशंकित रह्यो। त्यहाँ विद्रोह हुने बित्तिकै यो त खतरनाक कुरा हो भनेर सोच्यो।
कर्णालीपारिको विद्रोहको श्रृंखला भीमदत्त पन्तमा रोकिएन। २०१८ सालमा बझाङको राजपरिवारका सदस्य ओम सिंहले बझाङ काठमाडौंबाट स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह नै गरे । राजा महेन्द्रले उनीसँग पारिवारिक साइनो गाँस्न चाहेका थिए भन्ने जनश्रुती छ तर ओम सिंहले अस्वीकार गरे। महेन्द्रको प्रस्ताव मात्रै अस्वीकार गरेनन्, बझाङ राज्य फेरि स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह गरे। उनको विद्रोह संगठित भएको थिएन। एक किसिमले फरक मत जस्तो मात्रै थियो तर उनीवरुविद्ध सेना परिचालन भइहाल्यो। उनी भाग्दै लुक्दै दार्चुला पुगेका थिए। त्यहाँ उनी बास बसेकै ठाउँमा काठमाडौंबाट गएको सेनाले गोली हानेर हत्या गर्यो। यो २०१९ सालको कुरा हो जुन प्रसंग त्यस क्षेत्रमा अहिले पनि चर्चित छँदैछ।
कर्णालीपारिको विद्रोहको श्रृंखला यसरी यहाँसम्म लम्बिएको छ। यसपछि मात्रै नयाँ ढंगको राजनीतिको संघर्ष सुरु भएको हो। केही व्यक्ति छिटोभन्दा छिटो दरबारसँग सम्बन्ध बनाउन लागे। अर्को पक्ष पञ्चायती राज्यसत्ता विरुद्धको संघर्षमा रहे। संविधान निर्माणको अन्तिम चरणमा सात नम्बर प्रदेशका लागि भएको संघर्ष पनि यही संघर्षको निरन्तरता हो। कर्णालीपारिको सभ्यता र त्यसको संघर्षलाई ठीक ढंगले ऐतिहासिकश्रृङ्खलामा युवाहरूले हेर्न अब सुरू गर्नैपर्छ।
No comments:
Post a Comment