साभार-फुर्पा
तामांङ, हिमाल खबर (मंगलबार , १५ साउन
२०७०)
सन् १९९९ को ठीक यो वेला म जर्मनीको हाम
शहरछेउको इन्ट्रोप नगरमा थिएँ। एक साँझ् खानपिनपछि मेरा घरबेटी माइकल ब्यान्स्ले
दूध र बियरका बोतलका साथै अरू फाल्ने चीजहरू साबुन पानीले धोएको देखेर मैले ‘यो केका लागि’ भनेर सोधें।
उनले आफ्नो काम सकेर मुस्कुराउँदै लामो
व्याख्यान दिए– “नेपालमा तपाईंहरू यस्ता चीज जहाँ पायो त्यहीं फाल्नुहुन्छ। त्यहाँ
दिसाको पोका समेत झयालबाट सडकमा फालेको म स्वयंले देखें। यहाँ त्यस्तो गरे दण्डित
हुनुपर्छ।”
यस्तो उत्तर आउने अन्दाज भएको भए म यो
कुरा उठाउने नै थिइनँ। मसँग लज्जित हुनु बाहेक अरू उपाय थिएन। तर, ब्यान्स्ले त्यत्तिमै
छाडेनन्।
उनी जारी भए, “हामीले निकालेको
फोहोर यसरी सफा गरेर कन्टेनरमा फाल्यो भने उठाउनेेहरूलाई घिन लाग्दैन, रिसाइकल गर्न पनि
सजिलो होला। उठाउन ढीलो भए दुर्गन्ध फैलँदैन। हामी जर्मन नागरिक भएकोले हाम्रो घर, टोल र शहर फोहोर
हुनुहुँदैन। यूरोपभरमै जर्मनी सफा मानिन्छ। प्राकृतिक सौन्दर्यको हिसाबले
जर्मनीलाई नेपालसँग दाँज्नै सकिन्न। तिमीहरूले पनि यस्तै गर्यौ भने नेपाल झ्न्
सुन्दर हुनेछ। नागरिकले चाह्यो भने सरकारले भन्दा धेरै काम गर्न सक्छ।”
परम्परा र काठमाडौं
म हिमाली जिल्ला रसुवाको ठूलोभार्खुमा
जन्में–हुर्कें। हाम्रोतिरका बौद्धमार्गीहरूमा काठमाडौंलाई टाढाबाटै ढोग्ने
सदियौं पुरानो परम्परा छ। यो ढोग यहाँका राजा, शासक वा सामन्तहरूलाई होइन, काठमाडौं पुण्यभूमि
भनेर हो। हाम्रो भेगले काठमाडौंलाई ठूलो सभ्यताको रूपमा चिन्दछ। उपत्यकाका
स्वयम्भू, बौद्ध, अरू गुम्बा, मठ–मन्दिर तथा पाटी–पौवाहरूको चर्चा केरुङ, जोङ्खा, शिगात्से र ल्हासासम्मै हुन्छ।
भोटेली तामाङहरू काठमाडौंलाई ‘बल्बु ल्हायी सिङ्गम्’ अर्थात् देवदेवीको
भूमि र ‘याम्बु’ भनिन्छ। याम्बु ‘ह्याबु’ शब्दबाट अपभ्रंश भएको हुनसक्छ, जसको अर्थ सुन्दर, कुशलमंगल हो।
बूढापाकाहरू अहिले पनि यो उपत्यकालाई याम्बु नै भन्छन्। पुराना पुस्ताले असन
बजारको सुन पसललाई लिएर गीतै बनाएको छ– ‘याम्बु असेन ठोम्ला सेर्की कावा चु।’
नुवाकोटको ककनी भन्ज्याङ
(क्ष्याछल/क्ष्याँज्यल गङ) आइपुगेपछि काठमाडौं देखिन्छ। त्यहीं भारी बिसाएर
काठमाडौंलाई तीनपटक ढोग्ने चलन थियो। ‘क्ष्याछल/क्ष्याँज्यल गङ’ भनेको काठमाडौंलाई
ढोग्ने/दर्शन गर्ने डाँडो हो। ‘छ्याछल गङले तेबे याम्बी आठा थोङ्सोङ’ (डाँडाबाट हेर्दा काठमाडौंमा सरकारी
अड्डाहरू पनि देखियो) भन्ने गीतै छ। तर, यत्रो श्रद्धा परम्परा रहेको
काठमाडौंलाई हामीले बर्बादै पारिसक्यौं।
परम्पराहरू हराउँदै जाँदा काठमाडौंको
बाहिरी स्वरुपसँगै भित्री गुणहरू पनि स्वतः निखि्रंदै गएको छ। औलो नलाग्ने, सर्प–बिच्छीले नटोक्ने, पेशा–व्यवसाय र धार्मिक
दृष्टिकोणले स्वर्गीय काठमाडौं उपत्यकामा हिजोआज मंसीरमा पनि मच्छर लाग्छ। फागुन
नलाग्दै हपहपी गर्मी हुन्छ। वरिपरिका हरिया डाँडा र अलिपरका हिमालहरूले बाह्रै
महीना दिने शितलु कंक्रिटले भरिन लागेको यो खाल्डोलाई अपुग हुन थालेको छ। हामीले
स्वयम्भूनाथको आँखै अगाडि काठमाडौंलाई बिगारिसक्यौं। यसमा कसैलाई पछुतो छैन, बरु होड छ।
राजधानी भएकोले ७५ वटै जिल्लाबाट
काठमाडौं आउनुपर्छ। सरकार, रोजगारी, व्यापार–व्यवसाय यहीं छन्। दाम भएकाहरूको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य
सेवा यहीं छ। हिमालको हुम्ला र तराईको तौलिहवादेखि पूर्वी पाँचथरको पौवाभञ्ज्याङ र
पश्चिम बैतडीको झुलाघाटसम्मका नेपालीलाई काठमाडौं आउनुपर्ने बाध्यता छ। नेपालका
कुनै शहर पनि काठमाडौंको विकल्प बन्न सकेको छैन। र, यो निर्विकल्प नै काठमाडौं दशा बनेको छ।
सभ्यता–संस्कृति जतिसुकै समृद्ध भए पनि हामी
नेपाली सुसंस्कृत भएनौं। नेता, पार्टी र सरकार जनता अनुसारकै हुन्छ। कुरा जतिसुकै अप्रिय भए पनि
काठमाडौंको विनाशको सन्दर्भमा हामी सबैले आ–आफ्नो अनुहार ऐनामा हेर्नै पर्छ। सरकार
कमजोर छ, हामी नागरिक अनुशासनहीन छौं। हाम्रा धर्महरूले नदी शुद्ध राख्नुपर्ने
कुरा भनेको हामीलाई थाहा छ। प्रकृति पुज्ने हामी आफूलाई स्वास्थ्य विज्ञान बुझ्ेका
पनि ठान्छौं, तर काठमाडौं उपत्यकाको नदी प्रणालीसँगै सभ्यता सिध्याउने पनि हामी नै
भयौं।
म २०४८ मंसीरमा पहिलो पटक काठमाडौं
आउँदासम्म यो उपत्यका विरुप भइसकेको थिएन। बालाजुदेखि सोह्रखुट्टेको बीचमा उर्वर
खेत थियो। खुसिबु र ढल्कोतिर टनाटन तरकारी फलेका थिए। क्षेत्रपाटीतिर पनि खुला
ठाउँहरू थिए। वागमती, विष्णुमती, टुकुचा (इक्षुमती) धोवी खोला (रुद्रमती) मा बकुल्लाले माछा ढुकेको र
कोहीकोही बल्छी खेलिरहेको पनि देखेको हुँ। अहिले सबैतिर घरैघर छन्। नदीहरू मंसीर
नलाग्दै बग्न अक्षम हुन्छन्। वागमतीलाई ‘मृत नदी’ भन्दा हामीलाई विद्वान भए जस्तो लाग्छ।
खुला आर्थिक नीतिसँगै गलैंचा लगायतका
उद्योग–कारखानाहरू धमाधम खुले। जग्गा किनबेच तीव्र भयो। अनगिन्ती कारखाना र
घरको फोहोर सोझ्ै नदीमा खसालियो। अन्त कतै नपाइने पानीमा ढल मिसाउने अधिकार
काठमाडौंवासीले लिए। माओवादीले सशस्त्र द्वन्द्व थालेपछि काठमाडौंमा बसाइँसराइको
ठूलो चाप पर्यो। काठमाडौं सभ्यतालाई थोत्रा गाडी र कमसल तेलको धूवाँले धुम्म
पारेको छ। सडकमा फोहोर फालेर सरकारलाई गाली गर्ने शहरी हामी नै भएका छौं।
No comments:
Post a Comment