Saturday, March 23, 2019

फेेरी पहाडतिर ( कबिता )

फेरी पहाडतिर
        (कबिता )



पुरानो परिचित जस्तै लाग्ने
तर बिरानो र बेरसिलो
खस्रो हावा बग्दैछ
रोगी पहाडहरुका चेपबाट
भुनभुनाउदै हिडेको पानीको
मीठो सुगन्ध छरेर तातो मैदानमा ।
**
उता पहाडमा भने
मरीसकेका बाआमाको मुर्दाघर समालेर
ख्वै, को कुरेको होला र मलाइ ?
आगनको छेउमै उभिएको
खरी, काप्रो र भिमलको
ती तिनवटै पुराना रुख बाहेक ।
**
एक हुल भङेराहरु
एक जोडी गौथलीहरु
गासबासको ठेगान निश्चित गर्दै
भौतारि रहेका होलान
दिशाहीन भएर
नांगो र कुरुप बनेको सानो आगन भरी ।
**
अनुहार सकिएका उजाड डाडाहरुसित
जन्मेको ठाउ रुङदै र काल कुर्दै
           जोरीपारीका जस्ता लाग्ने बुढाबुढीहरु
           आहालमा हेलिए जत्तिकै होलान ।
          ***
            करक्क हुन्छ छातिभित्र,
            खोलामा राजगरेका भ्यागुताहरुको
            थला परेको बैँस तथा बर्कतबाट
             सँधै साँझ बिहान पाएको लातले
             र भोली बिहान फेरी पहाडतिरै
              फर्केर जाउ जस्तो लाग्दैछ ।
                ***
                                     बागडोल, काठमाडौं
                                       १० चैत ,२०७५

Friday, March 22, 2019

आत्मसंस्मरण-५ ( हाम्रा महात्माजी ?! )

**  आत्मसंस्मरण-५
यस्ता थिए हाम्रा महात्माजी



त्यो अज्ञात साइनो

  वास्तवमा उन्लाई कुन शब्दबाट संबोधन गर्नुपर्ने थियो, मलाई अझैै एकीन छैन । लोकप्रचलनमा महात्मा  भनिएकाले मैले पनि यहि शब्द छानेको मात्र हुँ । यो प्रसंग आफनै घर परिवारबाट शुरु गरौ ।
  मेरो पिताजीका एक जना दाइ र एक जना भाई । काका र हाम्रो घर जोडिएकै थियो । तर जेठा बुवाका बारे भने उडन्ते खबर बाहेक हामीले केही सुनेनौ, देखेनौ । उनी कहिले हरिद्वार कहिले प्रयागतिर देखिएका स्फुट खवर भने आइ रहन्थे । जोतिष, धामीहरुका पनि आआफ्नै खालका बोलिबचन र भाका फेेरिइ रहन्थे । यसैक्रममा डडेल्धुराको भागेश्वरमा एकजना महात्मा बस्ने गरेका र उनि हाम्रै जेठाबा भएको दाबीसहितको नयाँ खवर आएको रहेछ । बुवा भागेश्वर दर्शन गर्न भनेर त्यता गएको धमिलो संझना अझैै बाँँकि छ । केही बर्ष भागेश्वरतिर खुुब आउजाउ चल्यो पिताजीको । निर्क्यौल नै नभए पनि ती हाम्रै ठुुल्बा हुन कि भनेर राम्रै प्रचारित भए । बुवा स्वयं पनि केही बर्ष यसै भ्रममा बसे । तर पछि ति महात्मा त उतै लुलानतिरका ओझा बाहुन भएको रहस्योद्घाटन भयो । यसरी पिताजीको एउटा भ्रम तुहिएको मलाइ जानकारी छ ।
  यस्तैमा एकदिन हातमा डमरु र चिम्टा बोकेका, मात्र एकसरो एकजोड गेरुवाबस्त्र लाएका र झोलामा ३/४ धाार्मिक किताब राखेका कृष्काय ब्रह्मचारी हाम्रा गाउँमा आए । उनी एकरस भएर रामचरित मानसको पाठ गर्दथे । उनको पृयपद थियो," दीनदयाल बिरद सम्भारे, हरहुँ नाथ मम संकट भारे " । किन र कसरी मलाइ थाहा छैन, तर उनी नै हाम्रा जेठा बुवा हुन् भनेर पिताजीलाई लागेको थियो रे ।
  सबै वहाँलाइ महात्मा भन्दथे । ब्रह्मचारीको रुपमा आए पनि पछि यतै सन्न्यास ग्रहण गर्नुभयो । गाउँलेहरुले स्थानिय मन्दिर नजिक बनाइ दिएको सानो आश्रममा बस्नु भयो । साँझबिहानको किर्तनमा यदाकदा हामी स्थानिय भुराहरु पनि सामेल हुन्थ्यौ । म त्यसताका शाायद कक्षा ७/८ मा पढने १३/१४ बर्षको डरपोक ठिटो थिए । तर महात्माजीको प्रिय शिष्य पनि थिए । हामीहरुलाई वहाँ " बालक" भनेर नै बोलाउने गर्नुहुन्थ्यो । त्यो सानो कुटियामा भक्तजनहरुले ल्याएको कुनै कुरा पनि संग्रह गर्नु हुदैनथ्यो महात्माजीले । आएको कुरा श्रद्धापुर्बक स्विकार गरेपछि लगत्तै त्यहाँ बसेका भक्तजनहरुलाइ बाँडी दिने बानी थियो वहाँको । “ ईस माया को जल्दी खतम करो । “ सामान बाँडदा वहाँ प्राय यस्तै भन्नु हुन्थ्यो ।  कुटियामा जनसामान्यको ओहोर दोहर चलीरहन्थ्यो । पाए खाने नपाए त्यतिकै पनि रमाएर बस्ने बानीका कारण वहाँप्रति जनमानसमा असाध्यै सम्मान थियो । म पनि यदाकदा त्यहाँ पुगीरहेको हुन्थे ।
   यस्तैमा एक दिन । त्यो बर्षातको कुनै संगीतमय साँझ थियो । कामको चटारोबाट आमाबाबा थाकेर घर फर्कनु भयो । तर मलाइ घरको कोते धन्दामा कुनै रुचि थिएन । बय:सन्धिका ती दिनमा भय-भ्रान्तिमा अल्झिएर म प्राय: उदास उद्विग्न रहन्थे । उमेर नै त्यस्तो थियो क्यारे । आमाले भैैंंसी दुहुनु भयो । एउटा लोटामा थुुन्तातो दूध भरेर " मन्दिर का महात्माजी" दिएर आउन मलाई अह्राउनु भयो । त्यहाँ पुग्न ८/१० मिनेट ओरालो झर्नु पर्थ्यो ।
  दुई पहाडी नदिको संगममा सानो धार्मिक बनभित्र रहेको मन्दिर त्यसै पनि हाम्रालागि अतिव आस्था र रहस्य रोमान्चको ठाउँ थियो । साँझको बतिबाल्ने बेला हुनैलागेको थियो । मन्दिर छेउको सानो कुटियामा म हुर्रिएर पुगे ।
  तर त्यसबेला त्यहाँ महात्माजी भेेट्टिएनन् । धुुनीमा तात्तातो खरानीमात्र थियो । पुस्तक, झोला, बाजा, चिम्टा केही थिएन । कहिलेकाहि एक्लै हुदा उनी मन्दिरको सरसफाइमा हुन्थे । त्यसैले मैले मन्दिर परिसर चाहारे । तर .. अहँ । उनि भेट्टिएनन् । सिमसिमे पानी पर्नै आटेको त्यो एकान्त साँझमा केहिसमय टोलाइ रहे । भयमिश्रित उत्कंठा र प्रतिक्षाको घडीमा नानाथरि संभाबनाका छाया चलमलाउनेे नै भए । मन्दिर क्षेत्र भावनामय हुने नै भयो । म फर्कने कि कुर्ने भन्ने दोधारमा थिए ।
  सुनेको थिए, मन्दिरभित्रको चेेतन शिलामा अपरिभाषित शक्तिहरु छन् । यो अनन्त ब्रह्माण्डको चेेतन सत्तापुन्ज हो । यस ठाउमा अतिन्द्रिय शक्तिहरु घुुमिरहेका हुन्छन् , आदि आदि । ... जेहोस् , त्यो साँझ यो कमजोर भयभित किशोर सुनसान मन्दिर हातामा एक्लै हातजोडेर उभिएको थियो । " त्वम् शरणम्" को स्थितिमा  ।

त्यो ध्वनी संकेत

  अकस्मात बाजा बजेको आवाज सुनियो । महात्मा पुगेको भ्रममा म कुटियामा फर्के, तर कोहि थिएन । त्यो आवाज त माथि डाडाबाट आएकोजस्तो लाग्यो । मलाई अन्तरात्माले त्यहि आवाज पछ्याउन अह्रायो । म बिपरित दिशामा जंगलको बाटो उकालोतिर लागे  । एक्लै, सुनसान बाटो र रातिको समयमा एक्लै यो उकालो उक्लिन कुन शक्तिले सघायो, थाहै भएन ।
  आषाढ साउनको खरफगाला हुँदै जाने त्यो बाटोमा " बाटो" को कुनै नामनिसान थिएन । झन्डै आधा घंंटा हिडेर धनकुणाको उच्चसम्स्थलीमा पुगियो । अँँध्यारोले सम्राज्य फैैलाई सकेको थियो । टाढा घरतिर टिमटिम आगो बलेकोसम्म देखिन्थ्यो । हरियो घासको चौर र झाडीहरु । अनुमानको भरले हिडदा खुुट्टामा बेरिएर आउने गोलकाँक्रीका लहरा( बेलाहरु) । गोलकाँक्रि टिप्दै खल्ति भर्दै म उकालो उक्लिरहे । बाजा बजेको धमिलो आवाज माथि माथिबाट आएजस्तो भइनै रह्यो । म त्यहि आवाज पछ्याउदै माहात्माजीले गाउने गरेका भजन गुनगुनाउदै हिडिरहे, उक्लिरहे ।
  घनघोर जंगल नजिकै थियो । पहाडिखोला सुसाउदै थिए । पारिपट्टि लोइभिट्टा ( रगत खाने भीर )निष्पट अँँध्यारो भेैैसकेको थियो । वारि दुद्पोखरी ( दुधको पोखरी ) किनारहुदै म जंगलतिर कुददै थिए । अन्तत: बाजाको आवाज शुुन्य भयो । अब कता जाने भन्ने सकसमा परे । कुन्नि किन? ढकोला छोडेर म फेेरि मजरखोला तिर लागे । काँडेझारीहरू, सुनसान जंगलको किनार । जुनसुकै बेला जंगली जनावरको शिकार हुनसक्ने त्रासदि । माथि डाडामा पुगेपछि लखतरान भएर एउटा ठुुलो ढुुुङ्गाको आडमा लम्पसार हुन पुगे ।
केही समय सुस्ताए पछि तल खोलामा सपष्ट शंंखध्वनी सुनियो । बल्ल महात्माजी यतै कतै छन भन्नेमा ढुुक्क भइयो । केही क्षण सुस्ताए । केही गोल काँक्रि ( स्थानिय भााषामा गोल्याकाँकणि) खाए । आहा क्या मिठा थिए  ती । अनि पो स्थितिको भयावहता बोध भयो ।
  रातको बेला जंगलको बाटो । बिल्कुलै निर्जन स्थानमा म एक्लो मानिस । गर्न पो के सक्थे र । नियतिको भरमा येनकेन शंंखध्वनी सुनिएको दिशातिरको बाटो लागेपछि त बाजाबजेको आवाज पनि सपष्टतर हुँदै गयो । झाडीका झुुुम्मिएका हाङ्गाहरु छिचोल्दा बरर ओस झर्थ्यो, माटोको मादक सुगन्ध बाताबरणमा मिसिन्थ्यो । यो ओरालो धेेेेरै हिडन परेन । झाडीहरुको समुद्र मुनि अन्तत: खुुल्ला छाप्रो भित्र धुुनिको मटमैलो प्रकाशमा एक्लै हल्लिदै कुनै भजन गाइरहेका महात्माजी टाढैबाट देखिए ।
  घास र ढुङ्गाको बीचमा खरको सानो छाप्रो । यो कुटिया भित्र पहाडी ढलानसंग टाँसिएको सानो गुफा । कुन प्रकृतिले बनाएको थियो र कुन पछि थपियो, छुट्याउनै मुश्किल । यस्तोमा पनि एक्लो मानिस बस्न सक्छ र? स्वाभाविक प्रश्न आउथ्यो । तर पनि  यो अनिर्बचनीय दृश्य थियो । बाँजका दाउराको आगोको सुगन्ध बाहिरसम्मै आएको थियो । बाबाको भाषामा भन्नुपर्दा यस्तो धुुुुनी उनको साधनाको अंग थियो । उनको नियमित साधना-भावको मुद्रा वदलिन थालेपछि म निसंकोच कुटिया भित्र प्रबेश गरे ।
  एकछिन त उनी पनि अचंंभमा परे । कसरी आयौ? के ल्यायौ? भनेर सोधे । मैले सबै बृतान्त बताए । दुधको लोटा र खल्तिमा रहेका गोलकाँक्रि दिए । वहाँले आशिर्बादको मुद्रामा शिरमाथि हात फेेर्नु भयो । यसपछि उनको असिना जस्तो जमेर बसेको पुरानो उजाण बाँझो संसार थोपा थोपा  बनेर सुभासित हुँदै रसाउन थाल्यो । म लाटोले केरा चाखेेेेको जस्तो केही बुझेर केही नबुझेर अवाक हुँदै सुनी रहे । बस .. सुनी रहे ।
  एकसरो धोती, गम्छा, चिम्टा र कमन्डलु । सानो झोलामा शायद केही पुस्तक ।  उनीसंगको बाह्य जिनिस यति मात्रै थियो । लोटामै दूध ततायौ । धुुनिको आगोमा दुइवटा डल्ले रोटि पकाइए । त्यो सुस्वादु खाना र त्यो पर्णकुटिको बास मेरो जिबनमा कहिल्यै भुुल्न नसकिने संस्मरण बन्यो ।

त्यो जीबनबोध

  "जीवन कहाँ सरलरेखामा हिड्छ र? । बांगाटिंगा नागबेलि बाटोमा हिडने जिबनका पाटाहरु पहिल्याउन गारो छ । "  महात्माजीले त्यसदिन बताएका थिए । " हामी ईश्वरिय सूक्ष्म ब्यबस्थाका विशिष्ट घटक हौ । हामीभित्रै पनि हाम्रै प्रतिरुप जस्ता करोडौ ईश्वरीय अणुु-अंंश छन । ब्रमाण्डका प्रतेक अणुु परमाणु आफैैमा चेेतन छन, स्वतन्त्र छन । तर यो सब समष्टिगत प्रणालिमा आबद्ध छन । त्यसैले हामी अंंश पनि हौ र अंंशी पनि हौ । "
“ बालक! बाटामा कसैसंग जम्काभेेट त भएन? “ ।  उनले सोधेका थिए । मैले कोहि नभेटेको बताएपछि उनले भनेका थिए ।
"यो राति जंगली जनाबर र भुुतप्रेत बाहेक अरु  पनि भेेटिन सक्छन । जसलाई देख्न वा अनुभव गर्न सकिन्छ । " उनको भनाइ थियो- मृत्योपरान्त पनि सूक्ष्म शरिर बाँकि नै रहन्छ । यो अल्पबिकसित हुन्छ, धेेरै कुरा गर्न असमर्थ हुन्छ । तर यसलाइ अनुभव गर्न सकिन्छ । यथार्थमा संसार भन्नु अनुभव मात्र त हो । त्यसैले योगीहरु संसारलाई माया अर्थात भ्रम भन्दछन् । केही योगीहरु स्थुल शरिर भएकै अबस्थामा पनि सूक्ष्म शरिर धारण गर्न सक्दछन । यो बाटोमा यस्ता कैयौ शक्ति भेेटिन सक्दछन ।
 आफु आउने गरेको यो स्थानको महत्व बारे उनले बताए- ब्रह्माण्डको सुर्य शक्ति जसरि ध्रु्बप्रदेशमा कम र भुमध्यप्रदेशमा ज्यादा हुन्छ, त्यसरि नै आध्यात्मिक भाषामा दिब्यलोकको चेेतना शक्ति पृथ्वीको  यस क्षेत्रमा ज्यादा छ । त्यसैले पाण्डबहरुले स्वर्ग जान यसै बाटोलाइ रोजेका थिए ।
" यसरी  घुुमेका हाम्रा पिता पुर्खा भेटिएलान त ।  मैले त त्यस्तो कुनै अनुभव गरेन । " मेरो सहज जिज्ञासा थियो । मैले बुझे अनुसार महात्माजीसंग यस बारेमा थुुप्रै अनुभव थिए । जिवनको त्रि-आयामिक अनुभव सहजै बुझ्न सकिने बिषय पनि होइन् । मैले धेरै कुराको अर्थै बुझ्न सकेन ।
 महात्माजीको भनाई अनुसार यो उत्तरापन्थ मुक्त आत्माहरुको बिचरणस्थली पनि हो । यी आत्मा पनि विभिन्न किसिमका हुन्छन । यो ब्रमाण्डमा मात्रै पृथ्बी जस्ता हजारौ खन्ड छन् । हजारौ ब्रमाण्डमा अनगिन्ति ईश्वरिय सिर्जना छन । त्यसैले एकांकी निजी सोचले मात्र यो भवजाल बुझ्न सकिँदैन । मान्छेका चाहना पनि एक किसिमको बिचार हो । बिचार एक किसिमको शक्ति हो । शक्ति कहिल्यै सकिँदैन । त्यसैले राम्रो चाहना राखे यो सकारात्मक शक्तिमा बदलिन सक्छ ।
  महात्माजीले यस्ता शक्तिहरूसंग साक्षात्कार गरेका थिए  रे । त्यो कालजयि क्षण र बिशुद्ध आध्या्त्मिक चर्चालाई शब्द संजालमा कैद गर्न खोज्नु मेरो घृृष्टता मात्र हो । यौटा बैरागीलाई पाउनु र गुमाउनुमा कतिको फरक हुदो रहेछ ? त्यो त्यसै दिन मात्र थाहा पाएकोहुँँ । मलाई पथप्रदर्शन गर्दै त्यहाँसम्म पुर्याउने अज्ञात शक्ति को होला ? अद्यापि अनुत्तरित छु । त्यो चर्चामा थोरै  कुरा मात्र मैले बुझे जस्तो लाग्दथ्यो, त्यो न्यून बुझाइ नै अहिले मेरो ठुुलो कमाइ रहेको ठानेकोछु ।

त्यो अबिस्मरणिय अवसर

  त्यस अप्रतीम अवसरको चर्चान्तमा महात्माजीले स्थानिय लोकगीतको दोस्रो पद मात्र सुनाएका थिए । " के खाइ गएइ, के लाई गएइ, लिखाणका ससाऽऽ । अर्थात उखुबारि भित्र आएका ए खरायो! बिचरा तिमी के खाने हौ ? के लिएर जाने हौ ? त्यो ससा ( खरायो ) को बिम्ब भित्र म थिए कि वहाँ स्वयम् हुनुहुन्थ्यो ? यथार्थ उत्तर अझैै अनिर्णित छ ।
  उनिजस्तै सिंगो भएर बाच्ने क्रममा मेरो पनि जिवन निख्रदैछ  । ब्यर्थको गर्बोक्ति बोकेर विभिन्न ठाउको घामपानीमा घुुम्दाघुम्दै भाच्चिन थालेको अब महसुस हुदोरहेछ । जीवन र जगतको यो गोरख धन्दामा खोक्रा आदर्श बोकि हिडदै म टीठलाग्दो मनुवा भएर पो बाँचे कि ? थिचथाच मिचमाच गर्ने हैकमबादिको शिकार बनी स्वअस्तित्व मात्रै गुमाए कि ? घोत्लिनु पर्ने आबश्यकता देख्दैछु । महात्माजीको सम्झनामात्रले मलाई परिचय बिहीन दूरदेशमा लैजान्छ । त्यहाँ वहाँलाई सत्य, शिब र सुन्दर भावमा नाचिरहेको देख्दछु । र पुन: पुन: संकल्पित हुन चाहन्छु, तन्मे मन: शिब संकल्पमस्तु । प्रणाम महात्मन् ! प्रणाम !! प्रणाम !!!
***

Thursday, March 21, 2019

केही हाइकु

हाइकु


(१)
गाउँका बूढ़ा बाजे
बाली काटदै
हँसिया जस्तै झुकेर ।
(२)
नाशपातीका सेता फूल
चाँदनी रातमा नबयौबना
पढ़दैछिन चिठ्ठी ।
(३)
एक मोमबत्तीबाट
दोस्रोमा सर्दैछ–
वासन्ती साँझ ।
(४)
सेता सुन्दर फूल
डराउदैछ कैची
एक क्षण ।
(५)
एकाबिहानै –
कौवाले छोडेको भ्यागुतो
दुलाको मुखैमा ।
(६)
बेलुकाको हावा–
पानीका छाल
बकुल्लाको खुट्टा नजिक ।
(७)
खडिगका स्याउला-
सुखेको झरना नजिक
मिल्किएका ढुङ्गा ।
(८)
छोटो रात –
बारुलाको जालीमाथि
ओसको थोपा  ।


( जापानका कवि योसा बुसोन का हाइकुहरुको भावानुबाद  । तस्बीर सौजन्य गुगल । )



मंदिरको ठुलो घंटीमा
निदाउन लागेको
पुतली ।



आत्म संस्मरण-४ (केही दिन गाउँमै)

आत्म संस्मरण-४ (केही दिन गाउँमै)


पर्खाइ र  बुझाई

  एस एल सी को परीक्षा परिणाम कुर्नु परेको शुन्य अवधिलाई गाउँ मै बसेर हेर्नू बाहेक थप गरीहाल्न सक्ने स्थिति थिएन । त्यसो त आफैले पढेको स्कुलमा पनि अन्डर एस एल सी शिक्षकहरुबाट काम चलाइरहेको समय थियो त्यो । म त्यहाँ सजिलै काम पाउथे । तर त्यहाँ प्रभाबी रहेका स्थानिय खोले राजाहरुको अहमको अगाडी मेरो अहमले पनि बाधा हाल्न थाल्यो । प्रसंगबस एकदिन पिताजीले तत्कालिन संचालक समिति अध्यक्ष बाहादुर चन्दसंग कुरा पनि गरेका थिए ।
“ मास्टरी गर्ने मन भया भन्नु प-यो । चेपि दिउला ।” उनले आश्वासन बाँडे । तर त्यो  ढर्रा र शरीर संभाषण ( बोडी गेस्चर ) ले मलाई कसैसित केही भन्न कहिल्यै मन लागेन । रेजल्ट नआएसम्म कहि नजाने भनेर पिताजीसंग सपष्ट कुरा गरे पनि ।  उन्ले धेरै कुरा सम्झाए, आफनो घर अबस्थाका बारेमा । आफु रोगले थलिएको हुदा धेरै काम गर्न नसक्ने भएको र अब मपछिका दुइभाई र एक बैनीको भबिष्यका बारेमा मात्र चिन्तित रहेको कुरा पनि सुनाए ।  ०२९ चैतको अन्ततिर हुँदो हो । एक दिन मलाइ अह्राए ।
“ लौ, आजसम्मको लेनदेनको हिसाबकिताब बताउछु, लेखी राख । कसलाई कतिबेला के हुन्छ? केही ठेगान हुदैन ।”
मैले इनाम पाएको त्यहि पुरानो डायरीमा टिपोट गरे ।
-डाडा खेत ( पसक्वाल)को साझा मात( दृष्टिबन्धकमा निकालेको रकम ) हाम्रो- ३६२/- काकाको- २६०/-।
- ऐचेकाणा डुमखोलाको जग्गाबाट निकालेको मात - ४००/-
- माइखर्क ज्योतिषबाट ब्याज बापत रोपाइ गरिदिने सर्तमा लिएको- ३४३/-
- झुलाघाट जयदत्तको पसलमा कपडाको तिर्नुपर्ने- १२/-
-जर्ग दिदी (फुपु) बाट लिएको रिन- ५०/-
- डोबरा रगुबर को रिन- ४०/-
- देउला कालोको -७/- ( यसरी फुटकर १/२ रुपिया समेत अन्य-३६/-)
- ०२९ सालको अनिकालमा बेसाहामात्रै पनि  ३००/- जतिको भएको रहेछ । अनाज पैचोपनि मागिएको रहेछ । (स्याडी हरी चन्द-३० नाली गहु, यसै गरि डोबरा दासी बडूबाट ८, रगुवा बडुबाट ७, कोइराली तुलाबाट १०, रामदतबाट ४ र डङाली प्रमानन्द बडूबाट ७ नाली गहुँ ) -- आदि आदि ।
  त्यसबेला गाइबस्तु, बाख्रा तथा घिउ बेच्नु बाहेक आमदानीको अरु आयस्ता केही थिएन । येनकेन सात जनाको परीवार बाँचेको थियो । पिताजीले यो सब बिबरण मुखाग्रै गरेका थिए । यो सम्पुर्ण रिन तिरी दिने दायित्व  ममाथि नै आएको कुरा पनि सम्झाए । उनले कक्षा ८ देखि १० सम्म मणिलेकमा पढदा क्रमस:२१६/५०+२१६+२१३ गरि ६४५/५० खर्च भएको बिबरण समेत बताए ।
  यसरी मैले अनायासै थप जिम्मेवारीको बोध गरे । त्यसै बर्षान्तमा डायरीमा पहिलो टिपोट र लिखित प्रतिज्ञा गरेको रहेछु, आजदेखि जगत र जीबनप्रति " बिल्कुलै इमानदार" भएर रहनेछु ।

फरक चर्या

  यसै ताका दैनिकी समेत लेख्न थालिएछ । डायरी भन्छ,गाउँमा बस्दा यदाकदा ग्वालो बनेर दिन काटे । यसै क्रममा  दरम्यौडाको भीरमा बोकाले हानेर लोटाएको र झंडै २०० मिटर खोलासम्म गुडुल्किनु प-यो । धन्न बाँचे । गाउँमा भने खासगरी गाइभैसीको बेचबिखन, खेतिपाति , चाकरी चुक्ली छाडी अरु कुरा बिरलै मात्र भए । तै बल्लतल्ल गाउँका केही कुरा बुझ्ने कोसिस भने गरियो । त्यसबेला देवभन्डार चोरिएको र धामी जैदेब तथा भन्डारे सगरामका बीच मुद्दा चलेको घटना चर्चामा थियो नै । धामी जयदेब यो मामिलामा मसंग समेत सोधी रहन्थे । अब सरकारी अड्डामा जागिर खोज्न समेत उत्साहित गरीरहन्थे । गाउँबाट एसएलसी सम्म पुग्ने पहिलो ब्यक्ति नै म थिए । चिठ्ठी पत्र पढि दिनुपर्ने र परदेसिएका आफन्तजनहरुलाई आत्मीय गोप्य कुरा लेखी पठाउने भरपर्दो मानिस पनि बन्दै थिए । कुन्नि किन होला, स्त्रीलाई धोकाकि खानी, रूपकि दासी, बिलासकी पुतली, झगडाकी बिज र पुरुषलाई अहंकारको खानी, क्रुरताको खजाना, गर्बको घर र चेतनाको मरुभुमी मानेको कुरा लेखीएकोछ । ( शायद कतैको मनपर्दो उद्धरण टिपिएको हो कि ? ) त्यसैताका ग्रामिण कथा संकलनमा लाग्ने, सरु- सामिर र भिया कठायतको कथामा उपन्यासै लेख्ने सोचिएको पनि रहेछ । मेलापातका ससाना अनुभव समेतछन । दिपावलीमा जुवा बाहेक खासै केही थिएन रे । त्यो पनि स्कुलको खुला प्राङ्गणमा । सारै चित्त कुढियो ,मेरो स्कुल फल्नु फुल्नु पर्छ भन्ने हार्दिक सोच हुदाहुदै पनि ढोलक जस्ता ( खान पाए मात्र बोलने मतलबी ) मानिसको अत्याचारमा आफनो स्कुल परेको देख्दा मन बिरक्तिएको पनि रहेछ । गुरुखोलामा प्रथम हुँदा पाएको जवाफमा बदला लिन ७ कक्षा खोलिएको घटना ताजै थिए । डायरी भन्छ,साथी बेदप्रकाशसंग छुट्टिदा नरमाइलो लागिरह्यो । भिणिमाई हरीचन्दको बिजोग सुन्दा मानिस स्वयम् नै स्वयमको भाग्य निर्माता हो भन्नेमा बिश्वस्त भइयो । साथै सर्भिस नपाएर म पनि कुटोकोदालो चलाई हामी जस्तै गुजारा गर्ने भयो भन्ने मानेर केही मानिस खुशी भएको महसूस पनि गरियो । तर कुवाको भ्यागुतो नबन्ने अठोट समेत  गरियो ।
  ०२९ बर्षान्तका दिन रामनवमी परेको रहेछ । एस एल सी निश्चित पास गर्ने बिश्वास ब्यक्तगर्दै  त्यसो भए असिमकेदारलाइ गाई कल्पने, नेजा चढाउने र १ रुपियाको पाठ पढाउने भाकल गरेको कुरापनि लेखिएकोछ । नयाँ बर्ष शुरु हुँदा सँधै असहयोग गरि कुभलो चिताउने केहिप्रति रोष प्रकट गर्दै काफल खाएर खुशी मनाएको बिबरण छ ।**

त्यो खुशीको खबर


  ०३० जेठ १२- निम्तो मान्न र भेटघाटका लागी मामा घर  पुगेको थिए । एस एल सीको रेजल्ट खुलेको खवर त्यहि सुने  । त्यसबेला उतिर्ण रोल नम्बर रेडियोबाट समेत भन्ने गरिन्थ्यो । तर यसरी रेडियो सुनी बस्ने गरि मसंग कुनै पहुँच नै थिएन । छटपटी भने भै रह्यो । १४ गते मात्र घर  फर्के । बाबाले मेरो असाध्यै मन परेको हाप्पु नामको कालो गोरु रु. २७०/- मा पैतोलीगाउ बाजे धौले पैतोलासंग बेचि सकेका रहेछन् । दु:ख लाग्यो । मैले पनि रेजल्टबारे कुनै कुरा बताइन । फेल भए खुरुक्क त्यहि पैसाबाट बाटो खर्च निकालेर भारत भासिने जोरजाम मिलाए ।
  १८ गते मात्र नोला लाटो काकासाथमा लिइ एस एल सी रेजल्ट बारे बुझ्न बैतडी पुगे । तर केही खबर पुगेको रहेनछ । एक जोडा तास किनेर फर्कियौ । बाटोमा भैसीखर्कतिर तास खेलि रहदा बगौली बाजेको फेला पो परियो । गालि खायौ । थप डर लाग्ने नै भयो। त्यहि २७गते फुपुको ऋण तिर्न एक्लै जर्ग गए । सोही बाटो फेरी  बैतडी सदरमुकाम पुग्दा एसएलसी रेजल्ट प्रकाशित भएको गोरखापत्र पनि आइपुगेको रहेछ । धेरै सोधखोज गर्नै परेन । मणिलेकका तिनै जना पास भएका खवर चर्चामै थियो । म दोश्रो श्रेणीमा पास भएछु । साथीहरु रत्न बाहादुर चन्द र नारायण दत्त पन्त तेस्रो डिभिजनमा पास भएछन् । भगवानलाई धन्यबाद दिए । इष्ट कुलदेवता सम्झे ।  तल्लो स्वराडबाट एस.एल.सी. पास गर्ने मान्छे को हो? भन्ने कुरा अनेकका मुखबाट सुन्दा म मक्ख पर्थे । तर त्यो व्यक्ति म नै हु भनेर कसैलाई भन्दैनथे ।
  अरु दिनको  झ्याउलाग्दो लामो बाटो त्यस दिन त रमाइलो पो लाग्यो । म बाको मुहार हतास भएको हेर्न सक्दिनथे । अरु बानी ब्यवहारले पिरोले पनि पढाइको मामलामा बालाई निरास तुल्याएको थिइन त्यस बेलासम्म । लाग्छ एस. एल. सी.भन्दा मुनी सन्तानहरू बा आमाकै लागि पढ्छन, मैले पनि त्यसबेलासम्म बा आमाकै लागि पढेको थिएँ ।  मेरो रिजल्टको समाचारले बा आमाको मुहारमा कान्ति छाओस , बस त्यही आशाले शरीर हलुङगो बनाइ उडिरहे घर नपुगेसम्म । घरमा त्यो दिन मीठो मसिनो पकाएर खुशि मनाइयो । भोलिपल्ट त्यो ब्याचमा हामीहरु उत्तीर्ण भएको र स्कुल काटिनबाट जोगिएको समाचार आयो । त्यस बेला मेरो मात्र होइन शिक्षक र अभिभावक सबैको खुसीको सीमा नै थिएन । यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण बनेको थियो ।
  दुई हप्ता पछि स्कुलमा मार्क लेजर आएछ । साथी बेदप्रकाश " सुशील" को घर ग्वानी गएर नीजले ल्याइ दिएको मार्कसीट पाए । ९००/४९५ अंक पाएर दोस्रो श्रेणि भएको रहेछु । त्यहि भाबी योजना बारे छलफल गर्यौ । साथीले एसएलसी सकेपछि संगै अर्को बर्षमात्र समयमै काठमान्डौ लाग्ने सल्लाह दिए । हुन पनि समय कम थियो । केही पनि तयारीको मेलोमेसो थिएन । यो बर्ष आफैले यतै " केही " काम खोज्ने भन्ने भयो । खुशी र चिन्ता बोकेर म घर फर्के । घरमा पनि त्यस दिन विभिन्न बिकल्पमा छलफल भए । जे ठिक ठान्छौ, त्यहि गर भन्ने बाआमाको भनाइ आयो । काठमान्डौ पढन जाँदा लाग्ने खर्च कताबाट जुटाउने भन्ने अहम प्रश्न अनिर्णित रह्यो । यस्तै कारणले मेरो पढाईको निम्ति काठमाण्डौ जाने यस बर्षको बाटो बन्द भयो । म गाउमै रल्लिए ।

केही दिन गाउँमै

  आषाढ २६ गते- आफै ज्यालामजुरी गर्न बुवा पिथौरागढतिर लाग्नु भयो । त्यसताका पिथौरागढतिर नयाँ सडक खनिदै थिए । मजदुरको रुपमा हाम्रा गाउँका १०/१५ जना समूह बनाएरै त्यता लागे । कमजोर शरीर लिएर बुवा बाहिर गएको हामी कसैलाई पनि चित्त बुझिएको थिएन । सबै गाउलेसंगै हुँदा फरक नपर्ने र अलिअलि नै भए पनि आमदानी हुने आशा देखाए उनले । बरु कतिसम्म खर्च लाग्ने हो, जान्नेहरुसंग बुझि राख्नु भनेर अह्राए ।
  नेपालमा भने यसैताका २४/२५ गते सिंहदरबारमा आगलागी भएको थियो । १२ दिन अगाडी मात्रै काठमान्डौमा ३७ लाखको नक्कली चेकको भुक्तानी भएको थियो । यसै महिना हवाई जहाज अपहरण भै ३२ लाख भारु लुटिएका थिए । आषाढ २८ गते तत्कालीन प्रधानमन्त्री किर्तिनिधि बिष्टले राजिनामा दिए ।
साउन १ गते नगेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री बने । रेडियो मार्फत काठमाडौंका यस्तै खवर आउथे ।
  साउन पहिलो हप्ता मात्र स्थानान्तरण र चारित्रिक  सर्टिफिकेट ल्याउन केशरपुर पुगे । स्कुलको तिरोभरो गर्दा मात्र मैले पाउने गरेको छात्रबृतिको रकम बारेको कुरा उठ्यो । शिक्षक मीन बहादुर चन्दले डडेल्धुराबाट सो रकम बुझेर ल्याएका रहेछन । मैले केही नपाएको कुरा बताए । हेडसरले त्यो दुई बर्षको गरीब तथा जेहेनदार छात्रबृतिको रकम उनैबाट बुझेर लैजान भन्नु भयो । उनलाइ भेटे । बाटैमा पर्ने आफनो घरमा आउनु भन्ने भयो । अर्को दिन बिहानै उनको घरैमा गएर बल्ल भेट पाए ।
  शिक्षक चन्दजीले शैक्षिक बर्षको अन्त्यतिर मात्र सो रकम निकाशा हुने हुँदा फागुनमा जिल्ला शिक्षा निरिक्षक कार्यालयबाट एकमुष्ट रकम ल्याएका रहेछन । यस्तो छात्रबृति अरु कसकसले कति पाए, थाहा भएन । मेरो हकमा भने यो बर्ष यसै कामको लागि डडेल्धुरा बढि बस्नु परेकोमा रु  १७५/- खर्च कटाई बाँकी रु १५०/- बल्ल दिए । अर्को एक बर्षको सम्पुर्ण रकम सेक्रेटरि जयसिंह महतालाइ दिएकोले उनैसंग बुझ्नु भन्ने आदेश भयो । बढि कुरै हुन पाएन । तत्काल महताजीलाई भेटन सम्भव थिएन । पछि घरमै भेटेर नगद रु २७५/- लिइ छाडे । यसरी छात्रबृतिका कुरा मात्र सकिएनन, मेरो छात्र जीवन पनि सकियो । यसपछि औपचारिक रुपमा म कुनै बिद्यालयमा पढन जान सकेन ।
  मणिलेक हाइस्कुलको प्रमाणपत्र र छात्रबृतिको आंशिक रकम बोकी  कुन्थलाबाटै उकालो लागे । त्यहाँको सर्बोच्च समस्थलीमा मेलौली माताको मन्दिर थियो । एक छिन सुस्ताए । मनमनै माता भगवतिसंग आगामी अनिश्चितता हटाइदिन आशिर्बाद मागे । एक्लै खुरुखुरु तल्लीदेको गाउँ छिचोली बाटो लागे ।
त्यो गाउँ देउकी प्रथाका कारण दुर्नाम थियो । केशरपुर बजारमा डेरा गर्दा यदाकदा देबीलाई चढाइएका देवकन्याहरु बजारमा देखिन्थे । वहाँहरु प्रतिको सामाजिक दृष्टिकोण नै  प्रदुषित थियो । कोहि कोहि त छिल्लिदै कुरा गरेका समेत देखिन्थे । मेरो यहाँको लामो बसाइमा यसरी कसैसंग दोहरो बोलचाल समेत भएको थिएन ।
  यो गाउँबाट ओरालो लाग्दा सानो सुन्दर सौढको जंगलको बीचमा पानी नाउलो थियो । गाग्रीमा पानी भरेर लैजान पँधेर्नीहरुको ओहोर दोहोर चलीरहन्थ्यो । यस्तै एक हुल महिला जमातसंग त्यस दिन मेरो जम्काभेट भयो ।
म सरोसर जाँदै थिए । महिलाबृतमा खुसमुश चल्यो । एउटी प्रौढाले सोधि हालिन।
“ रामलिलाका रामज्यू जसा छन । तम याँइका स्कुल्या हौ कि?”
यहाँ चलेको रामलिला नाटकमा म रामको पात्र थिए । त्यहि सन्दर्भमा यो सोधाई थियो । मैले म त्यहि विद्यार्थी भएको र यहाँको पढाइ पूरा गरि सर्टिफिकेट लिएर घर जान लागेको कुरा बताए । ४/५ जनाको त्यो समुहले एकै छिन त्यहि बसि दिन भने । आज बिहानै रामज्युको दर्शन पाएको भनी खुशी ब्यक्त गरे । एउटीले त नाउलोबाट लोटामा पानी ल्याइ चढाइन । नजिकैबाट हरिया पात चुडालेर हात जोडन पो थाले ।
म असमंजसमा परे, उनीहरुको रामज्युप्रतिको श्रद्धा देखेर । बडो तन्मयताकासाथ अपरीचित अज्ञात समुहले गरेको त्यो भावपुर्ण बिदाईको सानो घटनाले बाटोभरी आल्हादित गरि रह्यो । यसरी मणिलेक मा बि बाट म स्थानान्तरित भए ।
  गाउँमा बस्दै गर्दा गो:रा, दशै सकिए । तर म कता कता एक्लिएको महसुस गरिरहे । स्थानिय घटनाहरु अनुभवप्रद रहे नै । बालसखाहरु नयाँ नयाँ उमंगमा हुरुक्क थिए । तर म भाबि जीबनका लागि सल्लाह खोज्दै थिए । मुख्यत: भावि जिवनकालागि सल्लाह र बिकल्प लेखेको रहेछु डायरीमा ।
  • गाउँमै पाठशाला खोल्ने ।
  • दुर्गास्थानमा या कहि पनि अध्यापक बन्ने ।
  • पढन पिथौरागढ जाने ।
  • पिथौरागढबाटै प्राईभेट जाँच दिने ।
  • नेपालमा सरकारी नौकरी गर्ने ।
  • कलेज पढन काठमाडौं जाने ।
  • काठमाडौं गै नौकरी गर्ने ।
  • बिबाह गरि घरबार सम्हाल्ने ।
  • भारतिय पल्टनमा भर्ना हुने । आदि ।
 २०३० सालमै तल्ली दे जाँतको मौका पारी  बेद प्रकाश लगायतका साथीहरुसंग भेट गरे । संयोग, त्यो दिनको मेलामा काटिएका ७५ रांगामध्ये कुनै बेला हाम्रो गोठमा पालिएर अन्यत्र बेचिएको बिन्नरी रांगो पनि परेको रहेछ । नरमाइलो पनि लागि रह्यो ।
“ दश पास गरेर पनि ग्वालो भयौ, हत्तेरिका । यो गाउको यस्तै हो “- प्राय: गाउलेको भनाई यस्तै हुन्थ्यो । दोबाटोमा पुगेपछि जो पनि अलमलिन्छ-म चित्त बुझाउथे । गाउको गरीब हालत छ र भिल्लभुमी भएकोछ । गोरु र राङ्गो बेचेको पैसा , बुवाको मजदुरी तथा मेरो छात्रबृति समेतले गर्दा मात बाहेक को ऋण  केही झारयो । । यिनै फुर्सदिला दिनमा परीगाउको पुरानो घर भत्काई नयाँ घर बनाउनमा लागेका थियौ हामी । उखु पेल्ने सिजनमा आगो ताप्दै कथा कहानीका बात सुन्न संयोग पर्थ्यो । यी दिनमा मैले बुवाले सुनाएका कथाहरु संकलन गर्ने बिचार गरेको रहेछु । असमर्थका सबै सपना कहाँ पूरा हुन सक्दा रहेछन र?
  1. सरु सामिर
  2. अचम्भको बच्चा
  3. ढाइ सय राजा
  4. कचकचे बूढो
  5. लाटोको कथा
  6. स्वास्नी ल्याउने कानो
  7. भिया कठायत
  8. सोबा राउत
  9. कार्की सगराम
  10. हग लखा सुन
  11. राजा भोज
  12. दानी राजा
  13. जगत ठग
  14. लछ्वा कोठारी
  15. हिरा गोठालो
  16. गफी मान्छे । आदि
 पुस ५ गते दुर्गास्थान गाउँपन्चायतको बैठक हेर्न गए । आगामी चुनावका लागि सम्भाब्य उमेदवारको खोजी हुँदै रहेछ । निर्दलिय भनिए पनि ब्यक्तिपिछे गुट थिए । नाना थरी बकमफुसे कुरा । कसैले त एक डेणहजार चन्दाको वचन पनि दिए । तै यसपाली प्रधानपंचको उमेदवारमा देबदत्त शर्मा र गम्भीर चन्द जस्ता मन परेका मान्छे समेत देखिए । आफन्तपट्टि लागिने नै भयो । पछि गंभिर चन्दले मसंग केही कुरा गर्न खोज्दा बहादुर चन्दले  " अब भानदेब जस्ताले केही गर्न सक्ने छैनन " भनेर अपमानित गर्ने हाँसो हाँसेको रहेछन् ।
  आर्थिक संकटले, सामाजिक बातावरणले केही गर्न नभ्याए पनि गणना योग्य अबश्य बन्नेमा बिश्वास कायमै थियो । खानलाउन नपुगे पनि फाणो खाएर खीरको धाक नलाउने कुरा उल्लेख छ ।नयाँ लुगा देख्यो भने कसले दियो भनेर सोध्नेहरुले पनि पिरोलेका रहेछन् । तिमी एकबर्षे दुधे बालक छँदा घरबाट लखेटिएको हुँ भन्दै बुवा दुख पाएका घटना सुनाउदै मलाइ हौसला दिइरहनु हुन्थ्यो । मेरो लागि ती माटोको मुर्तिमा प्राण प्रतिष्ठा गर्ने शब्द बन्थे ।
  प्राय: कसैसंग केही नबोल्ने सज्जन  बुढा मुखिया कलसे बाजेले एकदिन मलाई  भने " के घुइला दोबि रहेकोछौ?( के ओत खोजी रहेकाछौ?), कतै जाउ, मान्छे बनेर आउ ।  एक बर्ष खाली बस्यौ । पढेको बेकार भयो । आजसम्म केही कमाउने थियौ । बुढा मानिस लेबरी गर्न गएकोछन । तिमी पढछु मात्रै भन्छौ । पढेर उपा गर्ने हौ अब ।  गाउँमा कुरा काटन थालेको था छैन? " यो सोझो वचनले म निकै दिन रन्थनिए ।
  पुस १२ गते श्री ५ बीरेन्द्रको सतबाँज बागबानी फार्ममा  सवारी हुँदा दर्शन गर्ने मौका पाइयो । ४० मिनेट जति फार्म र वरपरको दृश्य रमाएर हेरी सुर्खेत फिर्ति सवारी भएको थियो ।

छटपटी र तयारीहरु


माघको पर्बमा बैतडी गै सुन जनै बनाई असिमकेदारमन्दिरमा चढायौ भाकल बापत ।  माघ १५ गते नै बसंतपंचमीमा असिमकेदार मन्दिरमै बुवामुमाको इच्छा बमोजिम सामान्य किसिमले ब्रतबन्ध गरियो  । कर्णभेद, कपालक्षौर, दिक्षाग्रहण, यज्ञोपबितधारण लगायतका संस्कार पनि पूरा भए । गायत्री मन्त्र ग्रहण गरे । ( तर पछि केही जनासंग बुझ्दा आआफनो किसिमले अलग अलग शब्दावलीमा गुपचुप गोप्य गायत्री गुनगुनाइदो रहेछ भन्ने चाल पाए । गुरु दुर्गादत्तसंग सल्लाह गरि वास्तविक शुद्ध गायत्री बन्दन गर्न शुरु गरेको थिए । दुर्भाग्यबस बेलाबखत क्रमभंग हुन गएकोछ । ) त्यसै  बर्ष बेदप्रकाश र गौरिदत्तको सहयोगार्थ एसएलसी जाँचकै सिलसिलामा डडेल्धुरा पुग्यौ ।( दुबै जना सहपाठीहरु प्रीय साथी त थिए नै । दुर्गास्थान र केशरपुरका दुइटा रामलिलामा म रामको पात्र हुँदा यिनीहरु लक्ष्मण बनेका थिए ।) डङसिलीमा बास बसिएको थियो । २५ देखि जाँच थियो । म २७ गते पोखरा हुँदै फर्के । घनघस्स्या जङ्गलको बाटोमा सिलङाका किसन बहादुर ऐरीसंग खासा परिचय भयो । हुलाकी कमलसिंह आधा बाटोका सहयात्री बने । बेलुका ठडकुणा फुपुको घरमा बसियो । दोस्रो दिन नयाँ बाटो अठतोला हुँदै कल्पनाका शिखरमा डुल्दै घर पुगे । त्यो अवधिमा अठतोलाकै कुनै पाण्डेय कन्यासंग मेरो बिबाहको कुरा चल्दै थियो । यसरी म क्रमस: कुखुरे बैशमा प्रबेश गर्दै थिए । यो भ्रमण " almostly happy" थियो रे । दिलदार साथीहरु थिए । डडेलधुरा सदरमुकाममा चहलपहल बढदो थियो । धनगढी डडेलधुरा राजामार्ग बनेमा सुदिन आउने भन्ने आशामा थिए डडेल्धुराबासी । चीतेन्द्र बिक्रमको घरमा डेरा थियो । रक्सी खाएर प्रतेक राति बहुलाउने मान्छे देखेका नौला अनुभव ब्यहोरे । फर्कदा घनघस्स्या लेकमा एउटीले सुनाएको गीतको उद्धरण डायरीमा छ ।
गोरु फोइ ग्वहार लाया बकरा पलङामा ।
हौं भन्चे बामनकि चेलि बसन्छे खलङामा ।।
फागुन १ गते- आफनै गाउँमा कुनै क्रान्ति गर्ने अठोट पो गरिएछ । कुन्नि किन, रबिन्द्रनाथ टैगोरको कथा सुभा कि नायिका सुभासिनी जस्तो लाटो भएर बस्नु पर्ने स्थिति आएको उदगार छ ।
फागुन ७- प्रजातन्त्र दिवसको अवसरमा दुर्गास्थानमा आयोजित समारोहमा भाषण पो ठोकिएछ । अन्य क्षेत्रमा जस्तै औद्योगिक क्रान्ति गर्न पुज्य शहिदहरुको ओज लिनु पर्नेमा पो जोड दिइएछ । र कबिता पाठ पनि गरेको रहेछु । र डायरीमा लेखेकोछु ।
  • आफ्नो कुरा जो कसैसंग पनि निर्भिक भएर राख्नेछु । पैसाकोलागि जस्तोसुकै भए पनि सम्भव काम गर्नेछु । हसमुँख रहने तर कुटनितिक रुपले काम लिनेछु । अधिराज्य प्रसिद्ध नागरिक भए चोराको चौतारोमा संगमरमर मुर्ति राखी ग्वाल्लेकको जलले नुहाउने प्रतिज्ञा गरेको रहेछु ।
फागुनमा बनका स्याउला बटुल्ने काममा पूरा गाउँ नै ब्यस्त रह्यो । यस्तैमा बुवाले किम्तोलीको स्कुलमा शिक्षक खोजीरहेको खवर सुन्नु भएछ । त्यस्ताका सुरनयाको सालीघाटमा झोलुङ्गे पुल बन्दै थियो । त्यसमा हाम्रा गाउँका करणे बाजे मुख्य मिस्त्री थिए । किम्तोलीतिर समेत घर बनाउने काममा उनी कहलिएका सिपालु थिए । उनै मार्फत कुरा गर्नु भनेर मलाइ सिकाएर त्यता पठाए । सौभग्य वा दुर्भाग्यले दुई चोटी जाँदा समेत उनीसंग भेट हुनै सकेन । एक्लै गुत्थडीको बाटो त्यता लागे । सुनसान सालघारीको बाटोमा उतैका कुनै सुकिला मानिस भेटिए । स्कुलको संचालक समितिमा पनि संलग्न भएको बताउथे । मैले आफनो प्रयोजन बताउदा त बाटैमा अन्तर्बार्ता लिन थाले । आफुलाई बेकार आएको जस्तो लाग्न थाल्यो । सालीघाट हुँदै  हेट बाजेलाई भेटेर आउछु भनी त्यतिकै फर्के । घर फर्किदा गौरिदत्त र बेदलाई भेटन सलेना हुँदै ग्वानी पुगे । तिनै साथीहरुले संगै महेन्द्रनगर जाने निर्णय गर्यौ ।
यसकालागी नागरिकता प्रमाणपत्र बनाउनु पर्थ्यो । गढी गएर नागरिकताका लागि फर्म भरेर बुझाइयो । तर मलाई त्यहाँका कर्मचारीले ‘यस्तो फुच्चेलाई नागरिकता दिन मिल्दैन, ठुलो भएपछि आउनू’ भनी हप्काए र नागरिकता दिन मानेनन् ।  आई.ए. भर्नाका लागि नागरिकताको प्रमाणपत्र चाहिएको कुरा बताउँदा पनि कर्मचारीले सुन्नै चाहेनन् । मैले उही कुरो दाहोर्याउदा त्यहाँ बसेका सब हाँस्न थाले । निदानत: सीडीओ लाई नै भेटनु पर्ने भयो । उनले फाराम भर्न लगाइ तत्काल प्रमाणपत्र दिने आदेश दिए । एकै छिनमा पहाडे कागज टाँसेको बुक भित्रको कागजमा सिडिओले हस्ताक्षर गरी मलाई नागरिकताको प्रमाणपत्र दिँदै  ‘राम्रो पढ्नू है बाबु’ भन्दै बिदा गरे । सिडिओसंग कुरा गरेकोमा खुट्टै भुइमा रहेनन् । मेरो नागरिकता फर्ममा सिफारिस गर्ने प्रशासकीय अधिकृत हरी नारायण श्रेष्ठ असल मानिस मानिन्थे । सिडिओ रुप बहादुर स्वारको पछिल्लो बसाइ नेपालगन्जमा हुँदा हामीले पुराना अनुभव आदानप्रदान गरेका थियौ । नागरिकता लिने बेलामा उत्पन्न झमेला पनि मेरो एउटा स्मरणीय क्षण हो ।
यसरी एस एल सी सकिनासाथ राम्रो नौकरीका सपना देखाइए, सरकारि नौकरीका शाानका कथा सुनाइए, खलंगा गढिका कारिन्दा सिपाहिहरुको फुुर्तिफार्ति सम्झाइयो ।  गाउँमा कुटो कोदालो गरेर "केही नहुने" भनियो । बस्... म " नौकरी" खोज्नतिर लागे ।
  तीस सालताका एस एल सी पासगरेकालाई गाउँमै "मास्टर" को काम भए पनि सजिलैसँग पाइन्थ्यो  । तर म कतै ग्राह्य भइन् । कारण नौकरी गर्न खोज्ने तर चाकरि गर्न नजान्ने । अलिअलि बाठो, अलिलि "बेसोमति" पनि । त्यस्ता  भोगाइका कथाब्यथाहरु बेग्लै छन । मलाइ यो पढाईले गाउँमा एक्लो पारेको थियो । खेेतिपाति गर्न नहुने अरु केही कामको अनुभव नास्ति । मेरै गाउँमा आफना सबै थिए, तर मेरो कोहि थिएनन् । भन्न गर्न केही नसक्ने सारै सोझो मानिस गनिन्थे म  । यिनै " कुण्ठा" हरुले मेरो जीवन यात्रामा सातुसामलको काम ग-यो ।
०३०सालको हिउदमा नौकरिकै खोजमा पहिलोपल्ट घरमा जानकारी नै नगराइ महेन्द्रनगर झरे । नगरमा चित्त बुझ्दो केही भेट्टिएन । बेलौरितिर मास्टरी पाइएको थियो, लाग्ला बेलौरीको घाम भन्ने बोलको तत्कालिन बहुप्रचलित लोकगितको भावार्थ सम्झेर जाने मनै लागेन । केही काम नगरि १०/१५ दिनमा लुस्सुक्क घर फर्के । एस एल सी गरेको पहिलो बर्ष यतिकै किचमिचमा बित्यो ।।***

Tuesday, March 12, 2019

आत्मसंस्मरण-३ ( स्कुलकै खोजीमा )

आत्मसंस्मरण-३ (  स्कुलकै खोजीमा )

प्राथमिक शिक्षापछि
  दुर्गास्थान प्राइमरी स्कुलले पाँच कक्षासम्मको मात्र स्विकृति पाएकाले त्यसपछि पढन अन्यत्रै जानुपर्ने भयो । त्यसबेलाको सबभन्दा नजिकको मणिलेक मिडिल स्कुल गुरुखोलामा  कक्षा छ मा भर्ना भयौ । स्कुलको केही कोठा निर्माणाधिन नै भए पनि यो स्कुल पहिलो स्कुलभन्दा निकै ठुलो थियो र विद्यार्थीहरू पनि थुप्रै थिए । स्कुलको लागि काठपात बोक्न ढोडराको पातल ( जंगल ) कैयौ दिन हामी बिद्यार्थीहरु समेत गएका थियौ । २०२५ सालको कुरा हो ।
 तर हाम्रो घरबाट यहाँसम्म पुग्ने बाटो ज्यादै खराब थियो । नदि, जंगल, मसानघाट हुँदै उकालो ओरालो । महारुद्र स्थान नजिकका चिहानघाट नकटेसम्म डर लागिरहन्डथ्यो । फटाफट हिडदा पनि दुई अढाई घन्टा लाग्थो बाटोमा । एकाबिहानै हिडनु पर्ने र साँझ मात्र घर पुगिने । खाजाका रूपमा कहिले भुटेका मकै भटमास वा गुड बाटोमै लुकाएर जान्थ्यौ र फर्कदा मुक्याउथ्यौ   । कहिले फलफुल प्रेमपूर्वक बाँडेर खाइन्थ्यो । साथी थिए उनै टिकादत्त बाजे । उनी उमेरले पनि पाका थिए । हामी नियमित र अनुशासित छात्र थियौ । भर्ना भएको सुरुका केही दिन कलौन चमलामा डेरा गर्यौ । त्यसपछि येनकेन घरबाटै दौडधुप गरियो । झुलाघाट जाने मूल बाटो हुँदा गुरुखोलामा त्यसबेला चल्तीकै बजार थियो । यहाँका गुरुहरु पनि असल थिए । टेर सर हेड मास्साप हुनुहुन्थ्यो । केही दिन डम्बरदत्त अवस्थी सरले पनि पढाए । महाकबि लक्ष्मिप्रसाद देवकोटाज्यूको सुनको बिहान भन्ने किताबबाट “सुनको दिन एक उदाउछ रे,यस देश खुलिकन आउछ रे । ” भन्ने कबिता लय हालि कन गाएको याद आउछ । फर्कदा आधाबाटोसम्म गोठानी धनचुलीका साथीहरु पनि सहयात्री हुन्थे । बर्ष दिन बितेको पत्तै भएन ।

पहिलो हुँदाको पुरुस्कार

   वार्षिक परीक्षाको रेजल्ट निस्किदा स्कुल प्रथम त मै पो भएछु । स्याबासी र तालि त पाइयो नै । प्रथम पुरुष्कार स्वरुप ठुलो अंग्रेजी नेपाली डिक्सनरी र सानो सुन्दर डायरी पनि पाए । शब्दकोष भाइहरुले कता पुर्याए , थाहा छैन । तर डायरी अझै सुरक्षित रहेछ । त्यसमा केही हिसाब किताब लेखेको रहेछु । तत्कालिन संचालक समितिका अध्यक्ष मोति चन्दले बधाई मन्तब्य दिए । मन्तब्यकै क्रममा उनले भनेका थिए ।
“ सबैको  ठुलो प्रयत्नबाट यो स्कुल खोलिएको हो । कखेलो काँधमा हाली भैसी चराउनेहरुका सन्तान समेत भर्ना हुन पाए । दुख गरेर टाढाबाट यहाँ आएकाहरु उत्कृष्ट भए , पुरुस्कृत भए । हाम्राहरुले नजिकै हुँदा पनि कुनै उपलब्धि लिन नसकेकोमा दुख लागेकोछ । “
  स्थानिय हरुलाइ उत्प्रेरित गर्ने वा हामी बाहिरका लाई होच्याउने कुन प्रयोजनमा यो भनेका थिए , थाहा भएन । प्रथम भएको उल्लासमा त्यो भनाईलाइ खासै महत्व पनि दिइएन । तर बाटोमा साथीहरुले हामीलाई हेप्यो भन्ने अर्थ लाएर अर्को दिन देखि दुर्गास्थानबाट गुरुखोलाको स्कुलमा कोही पनि नजाने ठेगान गरे ।     नभन्दै हामी कोहि गएनौ । बरु गाइगुइ गाउलेबृतमा पनि यो कुरा फैलियो । दुर्गास्थानमै मिडिल स्कुल खोल्न पर्छ भनी सबै जुरमुराए । अन्तत: तत्कालिन प्रधानपन्च पं. गौरीदत्त पाण्डेय ( पैतोला ) ले यसको नेतृत्व लिए । यसरी मिडिल स्कुल खोलने अभियानको कारक तत्व नजानिकनै म बन्न पुगे ।
धेरै दिनसम्म न हामी गुरुखोला गयौ, न दुर्गास्थानमा मिडिल स्कुल खुल्यो । गुरुखोलाबाट सर्टिफिकेट लैजाने वा भर्ना हुने भनेर खवर आउन थाल्यो । के गर्ने निश्चय नै हुन सकेन ।
  मलाइ याद छ, यस्तैमा एक दिन म पण्डित गौरीदत्तजीको घरमा गए । उनलाइ भेटे । पिलपिलाउदै सम्पुर्ण नालीबेली लाए । अब मैले के गर्ने भनेर निर्णय मागे । पण्डितजी केही छिन घोरिए । र भने ।
“ लौ, जसरी पनि मिडिल खोल्छु । गुरुखोलाबाट चाहिने सर्टिफिकेट पनि मै ल्याउला, जानू पर्दैन । ” हात जोडेर प्रणाम गरि घर आए ।

फेरी पुरानै स्कुलमा


  लामो लाग्ने प्रतिक्षापछि भर्खर भारततिर संस्कृत पढेर आएका हेमराज ओझा लाई बोलाएर मिडिल स्कुलको पढाइ शुरु गर्ने भन्ने खवर पायौ । जम्मा जम्मी १४ जना विद्यार्थी भयौ । दुर्गास्थान स्कुल हाता भित्रैको बाँजको रुखमुनि कक्षा सातको पढाइ शुरु भयो । प्राइमरीकै सरहरुले पनि केही बिषय पढाउथे । स्कुलको औपचारिक स्विकृतिको लागि गाउँ पन्चायत मार्फत कारवाहि चलेको थियो  रे । लामो अवधिसम्म पनि स्वीकृति पाइएनछ । स्विकृति पश्चात् कक्षा ६ मा भर्ना लिने र अर्को बर्ष मात्र कक्षा ७ चलाउनु पर्नेमा एकै चोटी सातको स्वीकृति नपाइने भन्ने पो भएछ । मैले त न कक्षा ६ को प्रमाणपत्र लिएको थिए , न ७ मा भर्नाको प्रकृया पूरा गरेको थिए । यसै अन्यौलका बीच के के कुरा पण्डितजी ले नै मिलाएछन । श्री कृष्ण हाइ स्कुल पाटन मार्फत परीक्षा दिने भन्ने कुरा सुनियो । परीक्षा ताका सबै जनाले पाटनमै डेरा गरेर जाँच दियौ । अर्को ब्याचले भने दुर्गास्थान मिडिल स्कुलमै पढाइ गरि जाँच दिन पाए । गुरुखोलाबाट प्रमाण मगाइ सातको परीक्षा पाटनबाट दिन लगाएर मिडिल स्कुल पास गराउनमा पण्डित गौरीदत पैतोला र गुरु हेमराज ओझाको गुन तिरी नसक्नु छ । यसरी दुर्गास्थानको बिद्यालय मिडिल स्कुलमा दरिन पुगेको थियो ।

एस एल सी यात्रा


 त्यसभन्दा माथि पढ्न घरनजिकै हाई स्कुल थिएन, टाढा पठाउने घरको हैसियत पनि थिएन । बैतडीको शाहीलेक वा पाटनको खर्च धान्ने कुनै जो हो देखिएन । तल्लो स्वराडको मणिलेकमा खर्च पनि कम पर्ने र मामा घर समेत उतै हुँदा सहयोग मिल्ने आशाका साथ घरबाट छ–सात घण्टा टाढा पर्ने मणिलेक हाइस्कुल काँडामा लगेर कक्षा ८ मा भर्ना गरियो । २००४ सालमा खुलेको यो स्कुल बैतडीका जेठो बिद्यालय मध्येको एक थियो । नेपालको प्रथम महिलामन्त्री द्वारिका देबी ठगुरानीका पति उद्धब बहादुर चन्दको यो स्कुल स्थापनामा ठुलो योगदान थियो । नजिकै कुन्थलामा चन्द परिवारको बसोबास थियो ।
  स्कुलकै नजिकको गाउँ  दबानीका अवस्थी परिवारमा हाम्रा कैसी (आमाको बैनी/ सानी आमा ) को बिबाह भएको थियो  । केही दिन त्यतै डेरा गरियो । बाग्गोठ र शिलको खोला तर्नुपर्थ्यो । बर्सातमा त्यो त्यति सहज थिएन । आफैँ तर्न सकिँदैनथ्यो । कहिलेकाही बाग्गोठको गाडसम्मै बुवा आउनु हुन्थ्यो । प्रायः कसैले तारिदिन्थे । अरू बेला हामी खोलो जहाँ साँघुरो हुन्थ्यो त्यहीबाट फड्किन्थ्यौँ ।
  सुरुमा मलाई त्यहाँ बस्दा शुक्रवार कहिले आउला र घर जानुजस्तो लाग्थ्यो  । पछि क्रमशः बानी पर्दै गइयो । कक्षा ८ मा म र सिलका करबीर चन्द संयुक्त रुपले कक्षा प्रथम भयौ ।
म भर्ना हुँदा ताका उत्तम चन्दज्यू हेड मास्टर हुनुहुन्थ्यो । तल्लो स्वराडबाट एम ए पास गर्ने पहिलो ब्यक्ति । अद्याबधिक र अनुशासन प्रिय प्रधानाध्यापक । वहाँ महेन्द्रनगर सरुवा भएपछि खलगाडका शास्त्री बासुदेव जोशी हेडमास्टर भए । सरल र धार्मिक ब्यक्तित्व । दुबै जनाबाट मैले पितृतुल्य बात्सल्य पाए ।
काँणाको बजारमा ( त्यस बेला केशरपुर भनिन्थ्यो ) मामा रामदत्तको दोकान थियो । केही महिना उनकै पसल घरमा समेत डेरा गरियो । घरबाट त्यति टाढा झोलामा पिठो बोकेर लैजानुपर्थ्यो । त्यसमा पनि गहुँको पिठो नभएको बेला मकैको पिठो समेत घरैबाट लगेर काम चलाइन्थ्यो । टाढाका विद्यार्थी शुक्रबार घर फर्किदा बाँकी रहेको रासन पसलवाला या चौकीका प्रहरीहरुलाइ बेचेर आउथे । त्यस समयमा प्रहरीले रासन पाउने ब्यबस्था थिएन ।
  यसै अवधिमा दुर्गास्थानका साथी बेदप्रकाश लेखक पनि हाम्रै स्कुलमा भर्ना भए । उनका पिताजी स्व. टिकाराम लेखक केशरपुरकै हुलाकका प्रमुख थिए । हुलाक कार्यालयको माथिल्लो तलामा आबास थियो । बाहिरको कोठामा बेदप्रकाश संगै म पनि बस्न थाले । हुलाक हाकिम त्यहाँ भएको बेला हुलाकीहरु खाना पकाएरै ख्वाउथे । अरुबेला काममा सघाउथे, आफैँ खाना बनाएर खान्थ्यौ  । यसरी काम सघाउने हुलाकी पोष्टम्यानहरुको कोड नाम राखेका थियौ । बेद र म सँगै पढ्थ्यौ । त्यस बेला मट्टितेलको टुकि वा लालटेन बालेर पढ्नुपर्थ्यो । हाम्रा किताब समेत साझा हुन्थे । आफनो खालको उपद्रो त गर्थ्यौ नै । दाल पकाउने भन्दा पनि झान्ने काममा आआफनो अडान लिइन्थ्यो । यदाकदा बेदका बदमाशीमा मैले साछी हुनुपर्थ्यो । बेदका पितामाताले आफ्नो छोरा जतिकै माया मलाइ पनि गर्नुहुन्थ्यो । यो सुखद क्षण मेरो मस्तिष्कमा अझै ताजै छ ।
कक्षा ९/१० मा एउटै किताब चल्थे । अंक गणित, बीजगणित र रेखा गणितका ठुल्ठुला किताब त हिन्दिमै लेखिएका हुन्थे । गणित बिज्ञान पढाउने शिक्षक नेपालमा मुश्किलले पाइन्थे । प्राय: भारतिय शिक्षकले यी बिषय पढाउथे । हाम्रा पालामा कहिले पनि यी बिषयको पढाइ त्यति सुचारु हुन सकेन । काम चलाउ अध्यापनबाटै काम चलाइयो ।
किताब मेरा किशोर दिनलाई आनन्ददायी गराउने महत्वपूर्ण साधन थिए । कल्पना गरौं त , एउटा किशोर ठिटो जसको गाउँमा घरबाट एक दिन टाढा पुगेपछि बल्ल एउटा स्टेसनरी भेटिन्थ्यो ।  त्यहाँ केवल कापी, पाठ्यपुस्तक, कलम, नीब, मसी, फुटबल, यस्तैयस्तै मात्र उपलब्ध थिए । यो सानो हुलाक कार्यालय भित्रको बसाइमा भने बासी नै भएपनि गोरखापत्र, स्वतन्त्र विश्व, सोभियत भुमी जस्ता पत्र पत्रिका आइ रहन्थे । अझ बहिदार सापको लागि ब्यक्तिगत आउने गोरखपुरबाट प्रकाशित धार्मिक “कल्याण “ समेत आबधिक रुपमा पढन पाउथे । वहाँकै पानासोनिक रेडियोबाट बिहानै आउने मङ्गलधुन, शंखध्वनी  र आरति सुनेको दिन मन ज्यादै प्रफुल्ल हुन्थ्यो । कस्तो कल्पनालोक !
  मलाई अझै पनि सम्झना छ ती गाताबिहीन किताबको धुस्रे स्वरूप । यिनै  किताबसँगै कल्पनाको नयाँ लोकमा विचरण गर्न थाल्थ्यौ । नजानी नजानी कविता, कथा र डायरी लेख्न थालियो । किताबले मलाई संवेदनशील र बढी भावुक बनाए । बिस्तारै अन्तर्मुखी बन्न थाले । कसैसँग चाहिँदा पनि झगडा गर्न नसक्ने । स्कुलमा कसैले जिस्क्याउँदा बरु रोइदिने तर नबाझ्ने । हदैको सहनशील । खेलकुद वा अतिरिक्त क्रिया कलापमा त्यति मन जादैनथ्यो ।  आफैलाई फर्की हेर्दा कमसे मलाई यस्तो लाग्छ ।
  किताबहरूले नै मलाई किशोरावस्थामा सिर्जनशील हुन सिकाए । समाज, इतिहास र मनस्थितिबारे बोध गराए । किताबहरू हुँदैनथे भने  किशोर दिनहरू कति उराठ, उदास र निरस हुन्थे होला। धन्यवाद छ ती लेखकहरूलाई जसले मेरा लागि यत्ति राम्रा किताब जुटाइ दिए ।
कक्षा ९ मा पढदा दुर्गास्थानमा समेत थोरै समय बसेका सहृदयी शिक्षक  केशबानन्द सरले एक दिन बाटोमा भेटेर सोध्नु भयो ।
“ ऐ, तिमीले यसपाला पनि छात्रबृतिका लागि फाराम किन न भरेको ? ”
म अलमलिए । यसबारे केही कुरा थाहै थिएन । मैले यहि अनभिज्ञता जनाए ।
“ पोहोर सालै भर्नु पर्ने । यसपाला समेत ढिलो हुन थालिसक्यो । भोलि फाराम बुझाउ । ”  
  सरले भने अनुसार दोस्रो दिन  फाराम बुझाए । संचालक समितिको समेतको सिफारिस चाहिने रहेछ । त्यसका लागि अध्यक्ष गोरख चन्दले लामो अन्तर्बार्ता लिए । निदानत: त्यो शैक्षिक सत्रको शुरु देखि नै गरीब तथा जेहेनदार छात्रबृति पाउने भएको कुरा समेत पनि मैले धेरै पछि मात्र थाहा पाए । आदरणिय केशब सरले अल्पायुमै यो लोक छोडनु भएछ ।  यो छात्रबृति सम्बन्धका बेग्लै कथा ब्यथा छन् ।
  यो अनुभूति मेरो स्कुले दिनको हो । किशोरावस्थाको पनि हो । जब कुनै सन्दर्भले ती पुराना दिनहरूको स्मरण गराउँछ मेरो मनको पुरानो रिल फुक्न थाल्छ ।  म ती स्थान सम्झिन पुग्छु। गाउँ बजरका प्रत्येक दृश्यहरू, धुलोमा खेल्दै हिँड्ने स्कुलको बाटो, बिद्यालयको ठुलो चौरमा घाम ताप्दै कथाका किताब पढेका दिनहरू पुरानो  आँखामा छाउँछन ।
  म मणिलेकमा पढदा पनि रामलिलाको नाटक मन्चन गरिएको थियो । यसका लागि पात्रहरुको खोजी गर्दा रामको लागि म नै छानिएछु । त्यति बेलाका चल्ताफिर्ता शिक्षक मीन बहादुर चन्दले भारतको पुल्ल हिन्डोलाबाट कलाकारको सेट नै मगाएका थिए, खास गरि सीता, लक्षमण र राबणको अभिनयका लागि । सीता र लक्ष्मणको पात्रमा भारत चम्पावतका तारा धौनी र सलेनाका गणेशदत्त जोशी हुन्थे । पंचायती शासनकालको शुरुमा प्रतिबन्धित हुदा स्व द्वारिका देबी ठगुरानी र मीनबहादुर चन्द समेतले भारतमै निर्बासन बिताएका हुँदा त्यता तिरै खास सम्पर्क थियो । त्त्यतैको मोडेलमा रामलिला चलाइएको थियो ।
दशैको हाराहारीमा राति चलाइने यो नाटकमा राम बनबासको दृश्य आउदा पातलो लुगा लगाएर मन्चमा अभिनय गर्नु पर्थ्यो ।  जाडोले कटकटी काँपिन्थ्यो । सम्बाद बोल्नै गारो । दृश्यान्तर हुँदा हेल्थपोष्टका कम्पाउन्डर कृष्णसिंह भाटजीले नेेेेपथ्यमा आगो सेक्ने सुबिधा जुटाइ दिन्थे । बडो सहृदयी र समाजसेवी थिए ती मानिस ।

परीक्षा बहिष्कार

२०२९ सालमा एस.एल.सी. ( हाल एसई) दिन अगाडि टेस्ट दिनुपर्थ्यो  । लगातार दुई पटक स्कुलको एस.एल.सी. रिजल्ट राम्रो गएको थिएन रे । त्यस वर्ष पनि स्कुल निल गएमा अनुदान सहयोग काटिन्थ्यो । त्यसैले यो बर्ष बिद्यालयका लागि समेत विशेष महत्वको थियो । तर टेष्टमा हेडसरले पढाउने संस्कृतको प्रश्नपत्र सारै गारो भयो भनेर सहपाठीहरुले टेस्ट बहिस्कार गरे । फाराम भर्ने सबैले एसएलसी दिन पाउनु पर्नेे मांग राखियो । कक्षा १० मा नागरिकशास्त्र पढाउने बहालवाला शिक्षक  मीन बहादुर चन्दका भाई सुरेन्द्र बहादुर चन्दले यो टेस्ट बहिष्कारको नेतृत्व गरेका थिए । मेलौलि मन्दिरको खुल्ला मैदानमा भेला भयौ र स्कुलले नबोलाउदासम्म नआउने कसम खाएर सबै जना यतिकै घर हिड्यौ ।
१०/१५ दिनपछि शास्त्री हेड सरले भेटनु भनेर घरमा खवर पठाएका रहेछन । मैले घरमा केही बताएकै थिएन । खुरुखुरु आएर स्कुल चौरमा हेडसरको अगाडी उभिएर नमस्कार गरे । पुरानो भवन भत्काएकोले मर्मत संभार चलिरहेको थियो । ठुलो चौरमा असरल्ल काठपात र ढुंगा छरिएका थिए ।
“ आज किन आएको ? ” धवल धोति र कुर्ताको पहिरन तथा निधारभरी चन्दन लगाएका शास्त्री गुरुले रिसाएरै ठाडो प्रश्न गरे ।  
“ हजुरले बोलाएको  खवर आजै पाए । त्यसैले आएको… । “ पूरा कुरा भन्नै पाएको थिएन । गुरुजीले टपक्क तनी ( छानाको किनारमा राख्ने पातलो लामो काठ) को लौरो जतिकैको टुक्रा समातेर कमरमा दुई चोट बरसाइ हाले ।
“ मेरा घोगा(मकै) गोडन गएको थिइस र ? बोलाए पछि आएको !..” उनी दुर्बासा बनेर कुटदै गए । म पछाडी सर्दै रहे । लौरो टुटेपछि यो क्रम रोकियो । बल्ल दुबैले एक अर्काका आँखामा हेर्यौ । हामी दुबैको आँखामा आँसु थियो ।
“ तँ त सप्रेलास कि भन्ने सोचेको थिए । बिग्रने भईस ।.. एस एल सी दिने मन भए, भोली टेस्ट दिन आउनु । मन नभए मुख नदेखाउनु “ शास्त्री सर आँखा पुछदै कार्यकक्ष तिर लागे । म आँसु लुकाउदै डेरा फर्के ।
  दोस्रो दिन टेस्ट भयो । तेस्रो दिन रेजल्ट आयो । हामी तीन जना मात्र पास भयौ । म, रतन बहादुर चन्द र नारायण दत्त पन्त । बाँकि कसैलाइ पास नगर्ने शास्त्री सरको अडान थियो रे ।
त्यस समयमा हालको बैतडीको तल्लो स्वराड क्षेत्र डडेल्धुरा जिल्लामा पर्थ्यो । हाम्रो एस एल सी परीक्षा केन्द्र डडेल्धुरा सदरमुकामको हाइस्कुलमा थियो । माघको महिनामा यो जाँच हुन्थ्यो । पहिलो चोटी घनघस्याको लेक काटेर बाबासंग डडेल्धुरा पुगेको थिए । तल्लो  खलंगास्थित शिबालयका बाबाको कुटियामा २/३ बसेर डेरा खोजियो । खाने बस्ने न्युनतम ब्यबस्था मिलाएर वुवा घर फर्के । हिमपात भएर चिसोले हातै नचल्ने बाताबरणमा जाँच दिइयो । फर्कदा साथी नारायणदत्तको घर हुँदै दोस्रो दिन घर पुगे । यसरी मेरो एस एल सी यात्रा सकियो । यसपछि भने पुर्ण रुपमा पर्ख र हेरको स्थिति बन्यो । एस एल सी को नतिजा कुर्दै गाउँमै आफनै  घर ब्यबहारमा रुमल्लिए ।
***