Thursday, March 21, 2019

आत्म संस्मरण-४ (केही दिन गाउँमै)

आत्म संस्मरण-४ (केही दिन गाउँमै)


पर्खाइ र  बुझाई

  एस एल सी को परीक्षा परिणाम कुर्नु परेको शुन्य अवधिलाई गाउँ मै बसेर हेर्नू बाहेक थप गरीहाल्न सक्ने स्थिति थिएन । त्यसो त आफैले पढेको स्कुलमा पनि अन्डर एस एल सी शिक्षकहरुबाट काम चलाइरहेको समय थियो त्यो । म त्यहाँ सजिलै काम पाउथे । तर त्यहाँ प्रभाबी रहेका स्थानिय खोले राजाहरुको अहमको अगाडी मेरो अहमले पनि बाधा हाल्न थाल्यो । प्रसंगबस एकदिन पिताजीले तत्कालिन संचालक समिति अध्यक्ष बाहादुर चन्दसंग कुरा पनि गरेका थिए ।
“ मास्टरी गर्ने मन भया भन्नु प-यो । चेपि दिउला ।” उनले आश्वासन बाँडे । तर त्यो  ढर्रा र शरीर संभाषण ( बोडी गेस्चर ) ले मलाई कसैसित केही भन्न कहिल्यै मन लागेन । रेजल्ट नआएसम्म कहि नजाने भनेर पिताजीसंग सपष्ट कुरा गरे पनि ।  उन्ले धेरै कुरा सम्झाए, आफनो घर अबस्थाका बारेमा । आफु रोगले थलिएको हुदा धेरै काम गर्न नसक्ने भएको र अब मपछिका दुइभाई र एक बैनीको भबिष्यका बारेमा मात्र चिन्तित रहेको कुरा पनि सुनाए ।  ०२९ चैतको अन्ततिर हुँदो हो । एक दिन मलाइ अह्राए ।
“ लौ, आजसम्मको लेनदेनको हिसाबकिताब बताउछु, लेखी राख । कसलाई कतिबेला के हुन्छ? केही ठेगान हुदैन ।”
मैले इनाम पाएको त्यहि पुरानो डायरीमा टिपोट गरे ।
-डाडा खेत ( पसक्वाल)को साझा मात( दृष्टिबन्धकमा निकालेको रकम ) हाम्रो- ३६२/- काकाको- २६०/-।
- ऐचेकाणा डुमखोलाको जग्गाबाट निकालेको मात - ४००/-
- माइखर्क ज्योतिषबाट ब्याज बापत रोपाइ गरिदिने सर्तमा लिएको- ३४३/-
- झुलाघाट जयदत्तको पसलमा कपडाको तिर्नुपर्ने- १२/-
-जर्ग दिदी (फुपु) बाट लिएको रिन- ५०/-
- डोबरा रगुबर को रिन- ४०/-
- देउला कालोको -७/- ( यसरी फुटकर १/२ रुपिया समेत अन्य-३६/-)
- ०२९ सालको अनिकालमा बेसाहामात्रै पनि  ३००/- जतिको भएको रहेछ । अनाज पैचोपनि मागिएको रहेछ । (स्याडी हरी चन्द-३० नाली गहु, यसै गरि डोबरा दासी बडूबाट ८, रगुवा बडुबाट ७, कोइराली तुलाबाट १०, रामदतबाट ४ र डङाली प्रमानन्द बडूबाट ७ नाली गहुँ ) -- आदि आदि ।
  त्यसबेला गाइबस्तु, बाख्रा तथा घिउ बेच्नु बाहेक आमदानीको अरु आयस्ता केही थिएन । येनकेन सात जनाको परीवार बाँचेको थियो । पिताजीले यो सब बिबरण मुखाग्रै गरेका थिए । यो सम्पुर्ण रिन तिरी दिने दायित्व  ममाथि नै आएको कुरा पनि सम्झाए । उनले कक्षा ८ देखि १० सम्म मणिलेकमा पढदा क्रमस:२१६/५०+२१६+२१३ गरि ६४५/५० खर्च भएको बिबरण समेत बताए ।
  यसरी मैले अनायासै थप जिम्मेवारीको बोध गरे । त्यसै बर्षान्तमा डायरीमा पहिलो टिपोट र लिखित प्रतिज्ञा गरेको रहेछु, आजदेखि जगत र जीबनप्रति " बिल्कुलै इमानदार" भएर रहनेछु ।

फरक चर्या

  यसै ताका दैनिकी समेत लेख्न थालिएछ । डायरी भन्छ,गाउँमा बस्दा यदाकदा ग्वालो बनेर दिन काटे । यसै क्रममा  दरम्यौडाको भीरमा बोकाले हानेर लोटाएको र झंडै २०० मिटर खोलासम्म गुडुल्किनु प-यो । धन्न बाँचे । गाउँमा भने खासगरी गाइभैसीको बेचबिखन, खेतिपाति , चाकरी चुक्ली छाडी अरु कुरा बिरलै मात्र भए । तै बल्लतल्ल गाउँका केही कुरा बुझ्ने कोसिस भने गरियो । त्यसबेला देवभन्डार चोरिएको र धामी जैदेब तथा भन्डारे सगरामका बीच मुद्दा चलेको घटना चर्चामा थियो नै । धामी जयदेब यो मामिलामा मसंग समेत सोधी रहन्थे । अब सरकारी अड्डामा जागिर खोज्न समेत उत्साहित गरीरहन्थे । गाउँबाट एसएलसी सम्म पुग्ने पहिलो ब्यक्ति नै म थिए । चिठ्ठी पत्र पढि दिनुपर्ने र परदेसिएका आफन्तजनहरुलाई आत्मीय गोप्य कुरा लेखी पठाउने भरपर्दो मानिस पनि बन्दै थिए । कुन्नि किन होला, स्त्रीलाई धोकाकि खानी, रूपकि दासी, बिलासकी पुतली, झगडाकी बिज र पुरुषलाई अहंकारको खानी, क्रुरताको खजाना, गर्बको घर र चेतनाको मरुभुमी मानेको कुरा लेखीएकोछ । ( शायद कतैको मनपर्दो उद्धरण टिपिएको हो कि ? ) त्यसैताका ग्रामिण कथा संकलनमा लाग्ने, सरु- सामिर र भिया कठायतको कथामा उपन्यासै लेख्ने सोचिएको पनि रहेछ । मेलापातका ससाना अनुभव समेतछन । दिपावलीमा जुवा बाहेक खासै केही थिएन रे । त्यो पनि स्कुलको खुला प्राङ्गणमा । सारै चित्त कुढियो ,मेरो स्कुल फल्नु फुल्नु पर्छ भन्ने हार्दिक सोच हुदाहुदै पनि ढोलक जस्ता ( खान पाए मात्र बोलने मतलबी ) मानिसको अत्याचारमा आफनो स्कुल परेको देख्दा मन बिरक्तिएको पनि रहेछ । गुरुखोलामा प्रथम हुँदा पाएको जवाफमा बदला लिन ७ कक्षा खोलिएको घटना ताजै थिए । डायरी भन्छ,साथी बेदप्रकाशसंग छुट्टिदा नरमाइलो लागिरह्यो । भिणिमाई हरीचन्दको बिजोग सुन्दा मानिस स्वयम् नै स्वयमको भाग्य निर्माता हो भन्नेमा बिश्वस्त भइयो । साथै सर्भिस नपाएर म पनि कुटोकोदालो चलाई हामी जस्तै गुजारा गर्ने भयो भन्ने मानेर केही मानिस खुशी भएको महसूस पनि गरियो । तर कुवाको भ्यागुतो नबन्ने अठोट समेत  गरियो ।
  ०२९ बर्षान्तका दिन रामनवमी परेको रहेछ । एस एल सी निश्चित पास गर्ने बिश्वास ब्यक्तगर्दै  त्यसो भए असिमकेदारलाइ गाई कल्पने, नेजा चढाउने र १ रुपियाको पाठ पढाउने भाकल गरेको कुरापनि लेखिएकोछ । नयाँ बर्ष शुरु हुँदा सँधै असहयोग गरि कुभलो चिताउने केहिप्रति रोष प्रकट गर्दै काफल खाएर खुशी मनाएको बिबरण छ ।**

त्यो खुशीको खबर


  ०३० जेठ १२- निम्तो मान्न र भेटघाटका लागी मामा घर  पुगेको थिए । एस एल सीको रेजल्ट खुलेको खवर त्यहि सुने  । त्यसबेला उतिर्ण रोल नम्बर रेडियोबाट समेत भन्ने गरिन्थ्यो । तर यसरी रेडियो सुनी बस्ने गरि मसंग कुनै पहुँच नै थिएन । छटपटी भने भै रह्यो । १४ गते मात्र घर  फर्के । बाबाले मेरो असाध्यै मन परेको हाप्पु नामको कालो गोरु रु. २७०/- मा पैतोलीगाउ बाजे धौले पैतोलासंग बेचि सकेका रहेछन् । दु:ख लाग्यो । मैले पनि रेजल्टबारे कुनै कुरा बताइन । फेल भए खुरुक्क त्यहि पैसाबाट बाटो खर्च निकालेर भारत भासिने जोरजाम मिलाए ।
  १८ गते मात्र नोला लाटो काकासाथमा लिइ एस एल सी रेजल्ट बारे बुझ्न बैतडी पुगे । तर केही खबर पुगेको रहेनछ । एक जोडा तास किनेर फर्कियौ । बाटोमा भैसीखर्कतिर तास खेलि रहदा बगौली बाजेको फेला पो परियो । गालि खायौ । थप डर लाग्ने नै भयो। त्यहि २७गते फुपुको ऋण तिर्न एक्लै जर्ग गए । सोही बाटो फेरी  बैतडी सदरमुकाम पुग्दा एसएलसी रेजल्ट प्रकाशित भएको गोरखापत्र पनि आइपुगेको रहेछ । धेरै सोधखोज गर्नै परेन । मणिलेकका तिनै जना पास भएका खवर चर्चामै थियो । म दोश्रो श्रेणीमा पास भएछु । साथीहरु रत्न बाहादुर चन्द र नारायण दत्त पन्त तेस्रो डिभिजनमा पास भएछन् । भगवानलाई धन्यबाद दिए । इष्ट कुलदेवता सम्झे ।  तल्लो स्वराडबाट एस.एल.सी. पास गर्ने मान्छे को हो? भन्ने कुरा अनेकका मुखबाट सुन्दा म मक्ख पर्थे । तर त्यो व्यक्ति म नै हु भनेर कसैलाई भन्दैनथे ।
  अरु दिनको  झ्याउलाग्दो लामो बाटो त्यस दिन त रमाइलो पो लाग्यो । म बाको मुहार हतास भएको हेर्न सक्दिनथे । अरु बानी ब्यवहारले पिरोले पनि पढाइको मामलामा बालाई निरास तुल्याएको थिइन त्यस बेलासम्म । लाग्छ एस. एल. सी.भन्दा मुनी सन्तानहरू बा आमाकै लागि पढ्छन, मैले पनि त्यसबेलासम्म बा आमाकै लागि पढेको थिएँ ।  मेरो रिजल्टको समाचारले बा आमाको मुहारमा कान्ति छाओस , बस त्यही आशाले शरीर हलुङगो बनाइ उडिरहे घर नपुगेसम्म । घरमा त्यो दिन मीठो मसिनो पकाएर खुशि मनाइयो । भोलिपल्ट त्यो ब्याचमा हामीहरु उत्तीर्ण भएको र स्कुल काटिनबाट जोगिएको समाचार आयो । त्यस बेला मेरो मात्र होइन शिक्षक र अभिभावक सबैको खुसीको सीमा नै थिएन । यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण बनेको थियो ।
  दुई हप्ता पछि स्कुलमा मार्क लेजर आएछ । साथी बेदप्रकाश " सुशील" को घर ग्वानी गएर नीजले ल्याइ दिएको मार्कसीट पाए । ९००/४९५ अंक पाएर दोस्रो श्रेणि भएको रहेछु । त्यहि भाबी योजना बारे छलफल गर्यौ । साथीले एसएलसी सकेपछि संगै अर्को बर्षमात्र समयमै काठमान्डौ लाग्ने सल्लाह दिए । हुन पनि समय कम थियो । केही पनि तयारीको मेलोमेसो थिएन । यो बर्ष आफैले यतै " केही " काम खोज्ने भन्ने भयो । खुशी र चिन्ता बोकेर म घर फर्के । घरमा पनि त्यस दिन विभिन्न बिकल्पमा छलफल भए । जे ठिक ठान्छौ, त्यहि गर भन्ने बाआमाको भनाइ आयो । काठमान्डौ पढन जाँदा लाग्ने खर्च कताबाट जुटाउने भन्ने अहम प्रश्न अनिर्णित रह्यो । यस्तै कारणले मेरो पढाईको निम्ति काठमाण्डौ जाने यस बर्षको बाटो बन्द भयो । म गाउमै रल्लिए ।

केही दिन गाउँमै

  आषाढ २६ गते- आफै ज्यालामजुरी गर्न बुवा पिथौरागढतिर लाग्नु भयो । त्यसताका पिथौरागढतिर नयाँ सडक खनिदै थिए । मजदुरको रुपमा हाम्रा गाउँका १०/१५ जना समूह बनाएरै त्यता लागे । कमजोर शरीर लिएर बुवा बाहिर गएको हामी कसैलाई पनि चित्त बुझिएको थिएन । सबै गाउलेसंगै हुँदा फरक नपर्ने र अलिअलि नै भए पनि आमदानी हुने आशा देखाए उनले । बरु कतिसम्म खर्च लाग्ने हो, जान्नेहरुसंग बुझि राख्नु भनेर अह्राए ।
  नेपालमा भने यसैताका २४/२५ गते सिंहदरबारमा आगलागी भएको थियो । १२ दिन अगाडी मात्रै काठमान्डौमा ३७ लाखको नक्कली चेकको भुक्तानी भएको थियो । यसै महिना हवाई जहाज अपहरण भै ३२ लाख भारु लुटिएका थिए । आषाढ २८ गते तत्कालीन प्रधानमन्त्री किर्तिनिधि बिष्टले राजिनामा दिए ।
साउन १ गते नगेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री बने । रेडियो मार्फत काठमाडौंका यस्तै खवर आउथे ।
  साउन पहिलो हप्ता मात्र स्थानान्तरण र चारित्रिक  सर्टिफिकेट ल्याउन केशरपुर पुगे । स्कुलको तिरोभरो गर्दा मात्र मैले पाउने गरेको छात्रबृतिको रकम बारेको कुरा उठ्यो । शिक्षक मीन बहादुर चन्दले डडेल्धुराबाट सो रकम बुझेर ल्याएका रहेछन । मैले केही नपाएको कुरा बताए । हेडसरले त्यो दुई बर्षको गरीब तथा जेहेनदार छात्रबृतिको रकम उनैबाट बुझेर लैजान भन्नु भयो । उनलाइ भेटे । बाटैमा पर्ने आफनो घरमा आउनु भन्ने भयो । अर्को दिन बिहानै उनको घरैमा गएर बल्ल भेट पाए ।
  शिक्षक चन्दजीले शैक्षिक बर्षको अन्त्यतिर मात्र सो रकम निकाशा हुने हुँदा फागुनमा जिल्ला शिक्षा निरिक्षक कार्यालयबाट एकमुष्ट रकम ल्याएका रहेछन । यस्तो छात्रबृति अरु कसकसले कति पाए, थाहा भएन । मेरो हकमा भने यो बर्ष यसै कामको लागि डडेल्धुरा बढि बस्नु परेकोमा रु  १७५/- खर्च कटाई बाँकी रु १५०/- बल्ल दिए । अर्को एक बर्षको सम्पुर्ण रकम सेक्रेटरि जयसिंह महतालाइ दिएकोले उनैसंग बुझ्नु भन्ने आदेश भयो । बढि कुरै हुन पाएन । तत्काल महताजीलाई भेटन सम्भव थिएन । पछि घरमै भेटेर नगद रु २७५/- लिइ छाडे । यसरी छात्रबृतिका कुरा मात्र सकिएनन, मेरो छात्र जीवन पनि सकियो । यसपछि औपचारिक रुपमा म कुनै बिद्यालयमा पढन जान सकेन ।
  मणिलेक हाइस्कुलको प्रमाणपत्र र छात्रबृतिको आंशिक रकम बोकी  कुन्थलाबाटै उकालो लागे । त्यहाँको सर्बोच्च समस्थलीमा मेलौली माताको मन्दिर थियो । एक छिन सुस्ताए । मनमनै माता भगवतिसंग आगामी अनिश्चितता हटाइदिन आशिर्बाद मागे । एक्लै खुरुखुरु तल्लीदेको गाउँ छिचोली बाटो लागे ।
त्यो गाउँ देउकी प्रथाका कारण दुर्नाम थियो । केशरपुर बजारमा डेरा गर्दा यदाकदा देबीलाई चढाइएका देवकन्याहरु बजारमा देखिन्थे । वहाँहरु प्रतिको सामाजिक दृष्टिकोण नै  प्रदुषित थियो । कोहि कोहि त छिल्लिदै कुरा गरेका समेत देखिन्थे । मेरो यहाँको लामो बसाइमा यसरी कसैसंग दोहरो बोलचाल समेत भएको थिएन ।
  यो गाउँबाट ओरालो लाग्दा सानो सुन्दर सौढको जंगलको बीचमा पानी नाउलो थियो । गाग्रीमा पानी भरेर लैजान पँधेर्नीहरुको ओहोर दोहोर चलीरहन्थ्यो । यस्तै एक हुल महिला जमातसंग त्यस दिन मेरो जम्काभेट भयो ।
म सरोसर जाँदै थिए । महिलाबृतमा खुसमुश चल्यो । एउटी प्रौढाले सोधि हालिन।
“ रामलिलाका रामज्यू जसा छन । तम याँइका स्कुल्या हौ कि?”
यहाँ चलेको रामलिला नाटकमा म रामको पात्र थिए । त्यहि सन्दर्भमा यो सोधाई थियो । मैले म त्यहि विद्यार्थी भएको र यहाँको पढाइ पूरा गरि सर्टिफिकेट लिएर घर जान लागेको कुरा बताए । ४/५ जनाको त्यो समुहले एकै छिन त्यहि बसि दिन भने । आज बिहानै रामज्युको दर्शन पाएको भनी खुशी ब्यक्त गरे । एउटीले त नाउलोबाट लोटामा पानी ल्याइ चढाइन । नजिकैबाट हरिया पात चुडालेर हात जोडन पो थाले ।
म असमंजसमा परे, उनीहरुको रामज्युप्रतिको श्रद्धा देखेर । बडो तन्मयताकासाथ अपरीचित अज्ञात समुहले गरेको त्यो भावपुर्ण बिदाईको सानो घटनाले बाटोभरी आल्हादित गरि रह्यो । यसरी मणिलेक मा बि बाट म स्थानान्तरित भए ।
  गाउँमा बस्दै गर्दा गो:रा, दशै सकिए । तर म कता कता एक्लिएको महसुस गरिरहे । स्थानिय घटनाहरु अनुभवप्रद रहे नै । बालसखाहरु नयाँ नयाँ उमंगमा हुरुक्क थिए । तर म भाबि जीबनका लागि सल्लाह खोज्दै थिए । मुख्यत: भावि जिवनकालागि सल्लाह र बिकल्प लेखेको रहेछु डायरीमा ।
  • गाउँमै पाठशाला खोल्ने ।
  • दुर्गास्थानमा या कहि पनि अध्यापक बन्ने ।
  • पढन पिथौरागढ जाने ।
  • पिथौरागढबाटै प्राईभेट जाँच दिने ।
  • नेपालमा सरकारी नौकरी गर्ने ।
  • कलेज पढन काठमाडौं जाने ।
  • काठमाडौं गै नौकरी गर्ने ।
  • बिबाह गरि घरबार सम्हाल्ने ।
  • भारतिय पल्टनमा भर्ना हुने । आदि ।
 २०३० सालमै तल्ली दे जाँतको मौका पारी  बेद प्रकाश लगायतका साथीहरुसंग भेट गरे । संयोग, त्यो दिनको मेलामा काटिएका ७५ रांगामध्ये कुनै बेला हाम्रो गोठमा पालिएर अन्यत्र बेचिएको बिन्नरी रांगो पनि परेको रहेछ । नरमाइलो पनि लागि रह्यो ।
“ दश पास गरेर पनि ग्वालो भयौ, हत्तेरिका । यो गाउको यस्तै हो “- प्राय: गाउलेको भनाई यस्तै हुन्थ्यो । दोबाटोमा पुगेपछि जो पनि अलमलिन्छ-म चित्त बुझाउथे । गाउको गरीब हालत छ र भिल्लभुमी भएकोछ । गोरु र राङ्गो बेचेको पैसा , बुवाको मजदुरी तथा मेरो छात्रबृति समेतले गर्दा मात बाहेक को ऋण  केही झारयो । । यिनै फुर्सदिला दिनमा परीगाउको पुरानो घर भत्काई नयाँ घर बनाउनमा लागेका थियौ हामी । उखु पेल्ने सिजनमा आगो ताप्दै कथा कहानीका बात सुन्न संयोग पर्थ्यो । यी दिनमा मैले बुवाले सुनाएका कथाहरु संकलन गर्ने बिचार गरेको रहेछु । असमर्थका सबै सपना कहाँ पूरा हुन सक्दा रहेछन र?
  1. सरु सामिर
  2. अचम्भको बच्चा
  3. ढाइ सय राजा
  4. कचकचे बूढो
  5. लाटोको कथा
  6. स्वास्नी ल्याउने कानो
  7. भिया कठायत
  8. सोबा राउत
  9. कार्की सगराम
  10. हग लखा सुन
  11. राजा भोज
  12. दानी राजा
  13. जगत ठग
  14. लछ्वा कोठारी
  15. हिरा गोठालो
  16. गफी मान्छे । आदि
 पुस ५ गते दुर्गास्थान गाउँपन्चायतको बैठक हेर्न गए । आगामी चुनावका लागि सम्भाब्य उमेदवारको खोजी हुँदै रहेछ । निर्दलिय भनिए पनि ब्यक्तिपिछे गुट थिए । नाना थरी बकमफुसे कुरा । कसैले त एक डेणहजार चन्दाको वचन पनि दिए । तै यसपाली प्रधानपंचको उमेदवारमा देबदत्त शर्मा र गम्भीर चन्द जस्ता मन परेका मान्छे समेत देखिए । आफन्तपट्टि लागिने नै भयो । पछि गंभिर चन्दले मसंग केही कुरा गर्न खोज्दा बहादुर चन्दले  " अब भानदेब जस्ताले केही गर्न सक्ने छैनन " भनेर अपमानित गर्ने हाँसो हाँसेको रहेछन् ।
  आर्थिक संकटले, सामाजिक बातावरणले केही गर्न नभ्याए पनि गणना योग्य अबश्य बन्नेमा बिश्वास कायमै थियो । खानलाउन नपुगे पनि फाणो खाएर खीरको धाक नलाउने कुरा उल्लेख छ ।नयाँ लुगा देख्यो भने कसले दियो भनेर सोध्नेहरुले पनि पिरोलेका रहेछन् । तिमी एकबर्षे दुधे बालक छँदा घरबाट लखेटिएको हुँ भन्दै बुवा दुख पाएका घटना सुनाउदै मलाइ हौसला दिइरहनु हुन्थ्यो । मेरो लागि ती माटोको मुर्तिमा प्राण प्रतिष्ठा गर्ने शब्द बन्थे ।
  प्राय: कसैसंग केही नबोल्ने सज्जन  बुढा मुखिया कलसे बाजेले एकदिन मलाई  भने " के घुइला दोबि रहेकोछौ?( के ओत खोजी रहेकाछौ?), कतै जाउ, मान्छे बनेर आउ ।  एक बर्ष खाली बस्यौ । पढेको बेकार भयो । आजसम्म केही कमाउने थियौ । बुढा मानिस लेबरी गर्न गएकोछन । तिमी पढछु मात्रै भन्छौ । पढेर उपा गर्ने हौ अब ।  गाउँमा कुरा काटन थालेको था छैन? " यो सोझो वचनले म निकै दिन रन्थनिए ।
  पुस १२ गते श्री ५ बीरेन्द्रको सतबाँज बागबानी फार्ममा  सवारी हुँदा दर्शन गर्ने मौका पाइयो । ४० मिनेट जति फार्म र वरपरको दृश्य रमाएर हेरी सुर्खेत फिर्ति सवारी भएको थियो ।

छटपटी र तयारीहरु


माघको पर्बमा बैतडी गै सुन जनै बनाई असिमकेदारमन्दिरमा चढायौ भाकल बापत ।  माघ १५ गते नै बसंतपंचमीमा असिमकेदार मन्दिरमै बुवामुमाको इच्छा बमोजिम सामान्य किसिमले ब्रतबन्ध गरियो  । कर्णभेद, कपालक्षौर, दिक्षाग्रहण, यज्ञोपबितधारण लगायतका संस्कार पनि पूरा भए । गायत्री मन्त्र ग्रहण गरे । ( तर पछि केही जनासंग बुझ्दा आआफनो किसिमले अलग अलग शब्दावलीमा गुपचुप गोप्य गायत्री गुनगुनाइदो रहेछ भन्ने चाल पाए । गुरु दुर्गादत्तसंग सल्लाह गरि वास्तविक शुद्ध गायत्री बन्दन गर्न शुरु गरेको थिए । दुर्भाग्यबस बेलाबखत क्रमभंग हुन गएकोछ । ) त्यसै  बर्ष बेदप्रकाश र गौरिदत्तको सहयोगार्थ एसएलसी जाँचकै सिलसिलामा डडेल्धुरा पुग्यौ ।( दुबै जना सहपाठीहरु प्रीय साथी त थिए नै । दुर्गास्थान र केशरपुरका दुइटा रामलिलामा म रामको पात्र हुँदा यिनीहरु लक्ष्मण बनेका थिए ।) डङसिलीमा बास बसिएको थियो । २५ देखि जाँच थियो । म २७ गते पोखरा हुँदै फर्के । घनघस्स्या जङ्गलको बाटोमा सिलङाका किसन बहादुर ऐरीसंग खासा परिचय भयो । हुलाकी कमलसिंह आधा बाटोका सहयात्री बने । बेलुका ठडकुणा फुपुको घरमा बसियो । दोस्रो दिन नयाँ बाटो अठतोला हुँदै कल्पनाका शिखरमा डुल्दै घर पुगे । त्यो अवधिमा अठतोलाकै कुनै पाण्डेय कन्यासंग मेरो बिबाहको कुरा चल्दै थियो । यसरी म क्रमस: कुखुरे बैशमा प्रबेश गर्दै थिए । यो भ्रमण " almostly happy" थियो रे । दिलदार साथीहरु थिए । डडेलधुरा सदरमुकाममा चहलपहल बढदो थियो । धनगढी डडेलधुरा राजामार्ग बनेमा सुदिन आउने भन्ने आशामा थिए डडेल्धुराबासी । चीतेन्द्र बिक्रमको घरमा डेरा थियो । रक्सी खाएर प्रतेक राति बहुलाउने मान्छे देखेका नौला अनुभव ब्यहोरे । फर्कदा घनघस्स्या लेकमा एउटीले सुनाएको गीतको उद्धरण डायरीमा छ ।
गोरु फोइ ग्वहार लाया बकरा पलङामा ।
हौं भन्चे बामनकि चेलि बसन्छे खलङामा ।।
फागुन १ गते- आफनै गाउँमा कुनै क्रान्ति गर्ने अठोट पो गरिएछ । कुन्नि किन, रबिन्द्रनाथ टैगोरको कथा सुभा कि नायिका सुभासिनी जस्तो लाटो भएर बस्नु पर्ने स्थिति आएको उदगार छ ।
फागुन ७- प्रजातन्त्र दिवसको अवसरमा दुर्गास्थानमा आयोजित समारोहमा भाषण पो ठोकिएछ । अन्य क्षेत्रमा जस्तै औद्योगिक क्रान्ति गर्न पुज्य शहिदहरुको ओज लिनु पर्नेमा पो जोड दिइएछ । र कबिता पाठ पनि गरेको रहेछु । र डायरीमा लेखेकोछु ।
  • आफ्नो कुरा जो कसैसंग पनि निर्भिक भएर राख्नेछु । पैसाकोलागि जस्तोसुकै भए पनि सम्भव काम गर्नेछु । हसमुँख रहने तर कुटनितिक रुपले काम लिनेछु । अधिराज्य प्रसिद्ध नागरिक भए चोराको चौतारोमा संगमरमर मुर्ति राखी ग्वाल्लेकको जलले नुहाउने प्रतिज्ञा गरेको रहेछु ।
फागुनमा बनका स्याउला बटुल्ने काममा पूरा गाउँ नै ब्यस्त रह्यो । यस्तैमा बुवाले किम्तोलीको स्कुलमा शिक्षक खोजीरहेको खवर सुन्नु भएछ । त्यस्ताका सुरनयाको सालीघाटमा झोलुङ्गे पुल बन्दै थियो । त्यसमा हाम्रा गाउँका करणे बाजे मुख्य मिस्त्री थिए । किम्तोलीतिर समेत घर बनाउने काममा उनी कहलिएका सिपालु थिए । उनै मार्फत कुरा गर्नु भनेर मलाइ सिकाएर त्यता पठाए । सौभग्य वा दुर्भाग्यले दुई चोटी जाँदा समेत उनीसंग भेट हुनै सकेन । एक्लै गुत्थडीको बाटो त्यता लागे । सुनसान सालघारीको बाटोमा उतैका कुनै सुकिला मानिस भेटिए । स्कुलको संचालक समितिमा पनि संलग्न भएको बताउथे । मैले आफनो प्रयोजन बताउदा त बाटैमा अन्तर्बार्ता लिन थाले । आफुलाई बेकार आएको जस्तो लाग्न थाल्यो । सालीघाट हुँदै  हेट बाजेलाई भेटेर आउछु भनी त्यतिकै फर्के । घर फर्किदा गौरिदत्त र बेदलाई भेटन सलेना हुँदै ग्वानी पुगे । तिनै साथीहरुले संगै महेन्द्रनगर जाने निर्णय गर्यौ ।
यसकालागी नागरिकता प्रमाणपत्र बनाउनु पर्थ्यो । गढी गएर नागरिकताका लागि फर्म भरेर बुझाइयो । तर मलाई त्यहाँका कर्मचारीले ‘यस्तो फुच्चेलाई नागरिकता दिन मिल्दैन, ठुलो भएपछि आउनू’ भनी हप्काए र नागरिकता दिन मानेनन् ।  आई.ए. भर्नाका लागि नागरिकताको प्रमाणपत्र चाहिएको कुरा बताउँदा पनि कर्मचारीले सुन्नै चाहेनन् । मैले उही कुरो दाहोर्याउदा त्यहाँ बसेका सब हाँस्न थाले । निदानत: सीडीओ लाई नै भेटनु पर्ने भयो । उनले फाराम भर्न लगाइ तत्काल प्रमाणपत्र दिने आदेश दिए । एकै छिनमा पहाडे कागज टाँसेको बुक भित्रको कागजमा सिडिओले हस्ताक्षर गरी मलाई नागरिकताको प्रमाणपत्र दिँदै  ‘राम्रो पढ्नू है बाबु’ भन्दै बिदा गरे । सिडिओसंग कुरा गरेकोमा खुट्टै भुइमा रहेनन् । मेरो नागरिकता फर्ममा सिफारिस गर्ने प्रशासकीय अधिकृत हरी नारायण श्रेष्ठ असल मानिस मानिन्थे । सिडिओ रुप बहादुर स्वारको पछिल्लो बसाइ नेपालगन्जमा हुँदा हामीले पुराना अनुभव आदानप्रदान गरेका थियौ । नागरिकता लिने बेलामा उत्पन्न झमेला पनि मेरो एउटा स्मरणीय क्षण हो ।
यसरी एस एल सी सकिनासाथ राम्रो नौकरीका सपना देखाइए, सरकारि नौकरीका शाानका कथा सुनाइए, खलंगा गढिका कारिन्दा सिपाहिहरुको फुुर्तिफार्ति सम्झाइयो ।  गाउँमा कुटो कोदालो गरेर "केही नहुने" भनियो । बस्... म " नौकरी" खोज्नतिर लागे ।
  तीस सालताका एस एल सी पासगरेकालाई गाउँमै "मास्टर" को काम भए पनि सजिलैसँग पाइन्थ्यो  । तर म कतै ग्राह्य भइन् । कारण नौकरी गर्न खोज्ने तर चाकरि गर्न नजान्ने । अलिअलि बाठो, अलिलि "बेसोमति" पनि । त्यस्ता  भोगाइका कथाब्यथाहरु बेग्लै छन । मलाइ यो पढाईले गाउँमा एक्लो पारेको थियो । खेेतिपाति गर्न नहुने अरु केही कामको अनुभव नास्ति । मेरै गाउँमा आफना सबै थिए, तर मेरो कोहि थिएनन् । भन्न गर्न केही नसक्ने सारै सोझो मानिस गनिन्थे म  । यिनै " कुण्ठा" हरुले मेरो जीवन यात्रामा सातुसामलको काम ग-यो ।
०३०सालको हिउदमा नौकरिकै खोजमा पहिलोपल्ट घरमा जानकारी नै नगराइ महेन्द्रनगर झरे । नगरमा चित्त बुझ्दो केही भेट्टिएन । बेलौरितिर मास्टरी पाइएको थियो, लाग्ला बेलौरीको घाम भन्ने बोलको तत्कालिन बहुप्रचलित लोकगितको भावार्थ सम्झेर जाने मनै लागेन । केही काम नगरि १०/१५ दिनमा लुस्सुक्क घर फर्के । एस एल सी गरेको पहिलो बर्ष यतिकै किचमिचमा बित्यो ।।***

No comments:

Post a Comment