Tuesday, March 12, 2019

आत्मसंस्मरण-३ ( स्कुलकै खोजीमा )

आत्मसंस्मरण-३ (  स्कुलकै खोजीमा )

प्राथमिक शिक्षापछि
  दुर्गास्थान प्राइमरी स्कुलले पाँच कक्षासम्मको मात्र स्विकृति पाएकाले त्यसपछि पढन अन्यत्रै जानुपर्ने भयो । त्यसबेलाको सबभन्दा नजिकको मणिलेक मिडिल स्कुल गुरुखोलामा  कक्षा छ मा भर्ना भयौ । स्कुलको केही कोठा निर्माणाधिन नै भए पनि यो स्कुल पहिलो स्कुलभन्दा निकै ठुलो थियो र विद्यार्थीहरू पनि थुप्रै थिए । स्कुलको लागि काठपात बोक्न ढोडराको पातल ( जंगल ) कैयौ दिन हामी बिद्यार्थीहरु समेत गएका थियौ । २०२५ सालको कुरा हो ।
 तर हाम्रो घरबाट यहाँसम्म पुग्ने बाटो ज्यादै खराब थियो । नदि, जंगल, मसानघाट हुँदै उकालो ओरालो । महारुद्र स्थान नजिकका चिहानघाट नकटेसम्म डर लागिरहन्डथ्यो । फटाफट हिडदा पनि दुई अढाई घन्टा लाग्थो बाटोमा । एकाबिहानै हिडनु पर्ने र साँझ मात्र घर पुगिने । खाजाका रूपमा कहिले भुटेका मकै भटमास वा गुड बाटोमै लुकाएर जान्थ्यौ र फर्कदा मुक्याउथ्यौ   । कहिले फलफुल प्रेमपूर्वक बाँडेर खाइन्थ्यो । साथी थिए उनै टिकादत्त बाजे । उनी उमेरले पनि पाका थिए । हामी नियमित र अनुशासित छात्र थियौ । भर्ना भएको सुरुका केही दिन कलौन चमलामा डेरा गर्यौ । त्यसपछि येनकेन घरबाटै दौडधुप गरियो । झुलाघाट जाने मूल बाटो हुँदा गुरुखोलामा त्यसबेला चल्तीकै बजार थियो । यहाँका गुरुहरु पनि असल थिए । टेर सर हेड मास्साप हुनुहुन्थ्यो । केही दिन डम्बरदत्त अवस्थी सरले पनि पढाए । महाकबि लक्ष्मिप्रसाद देवकोटाज्यूको सुनको बिहान भन्ने किताबबाट “सुनको दिन एक उदाउछ रे,यस देश खुलिकन आउछ रे । ” भन्ने कबिता लय हालि कन गाएको याद आउछ । फर्कदा आधाबाटोसम्म गोठानी धनचुलीका साथीहरु पनि सहयात्री हुन्थे । बर्ष दिन बितेको पत्तै भएन ।

पहिलो हुँदाको पुरुस्कार

   वार्षिक परीक्षाको रेजल्ट निस्किदा स्कुल प्रथम त मै पो भएछु । स्याबासी र तालि त पाइयो नै । प्रथम पुरुष्कार स्वरुप ठुलो अंग्रेजी नेपाली डिक्सनरी र सानो सुन्दर डायरी पनि पाए । शब्दकोष भाइहरुले कता पुर्याए , थाहा छैन । तर डायरी अझै सुरक्षित रहेछ । त्यसमा केही हिसाब किताब लेखेको रहेछु । तत्कालिन संचालक समितिका अध्यक्ष मोति चन्दले बधाई मन्तब्य दिए । मन्तब्यकै क्रममा उनले भनेका थिए ।
“ सबैको  ठुलो प्रयत्नबाट यो स्कुल खोलिएको हो । कखेलो काँधमा हाली भैसी चराउनेहरुका सन्तान समेत भर्ना हुन पाए । दुख गरेर टाढाबाट यहाँ आएकाहरु उत्कृष्ट भए , पुरुस्कृत भए । हाम्राहरुले नजिकै हुँदा पनि कुनै उपलब्धि लिन नसकेकोमा दुख लागेकोछ । “
  स्थानिय हरुलाइ उत्प्रेरित गर्ने वा हामी बाहिरका लाई होच्याउने कुन प्रयोजनमा यो भनेका थिए , थाहा भएन । प्रथम भएको उल्लासमा त्यो भनाईलाइ खासै महत्व पनि दिइएन । तर बाटोमा साथीहरुले हामीलाई हेप्यो भन्ने अर्थ लाएर अर्को दिन देखि दुर्गास्थानबाट गुरुखोलाको स्कुलमा कोही पनि नजाने ठेगान गरे ।     नभन्दै हामी कोहि गएनौ । बरु गाइगुइ गाउलेबृतमा पनि यो कुरा फैलियो । दुर्गास्थानमै मिडिल स्कुल खोल्न पर्छ भनी सबै जुरमुराए । अन्तत: तत्कालिन प्रधानपन्च पं. गौरीदत्त पाण्डेय ( पैतोला ) ले यसको नेतृत्व लिए । यसरी मिडिल स्कुल खोलने अभियानको कारक तत्व नजानिकनै म बन्न पुगे ।
धेरै दिनसम्म न हामी गुरुखोला गयौ, न दुर्गास्थानमा मिडिल स्कुल खुल्यो । गुरुखोलाबाट सर्टिफिकेट लैजाने वा भर्ना हुने भनेर खवर आउन थाल्यो । के गर्ने निश्चय नै हुन सकेन ।
  मलाइ याद छ, यस्तैमा एक दिन म पण्डित गौरीदत्तजीको घरमा गए । उनलाइ भेटे । पिलपिलाउदै सम्पुर्ण नालीबेली लाए । अब मैले के गर्ने भनेर निर्णय मागे । पण्डितजी केही छिन घोरिए । र भने ।
“ लौ, जसरी पनि मिडिल खोल्छु । गुरुखोलाबाट चाहिने सर्टिफिकेट पनि मै ल्याउला, जानू पर्दैन । ” हात जोडेर प्रणाम गरि घर आए ।

फेरी पुरानै स्कुलमा


  लामो लाग्ने प्रतिक्षापछि भर्खर भारततिर संस्कृत पढेर आएका हेमराज ओझा लाई बोलाएर मिडिल स्कुलको पढाइ शुरु गर्ने भन्ने खवर पायौ । जम्मा जम्मी १४ जना विद्यार्थी भयौ । दुर्गास्थान स्कुल हाता भित्रैको बाँजको रुखमुनि कक्षा सातको पढाइ शुरु भयो । प्राइमरीकै सरहरुले पनि केही बिषय पढाउथे । स्कुलको औपचारिक स्विकृतिको लागि गाउँ पन्चायत मार्फत कारवाहि चलेको थियो  रे । लामो अवधिसम्म पनि स्वीकृति पाइएनछ । स्विकृति पश्चात् कक्षा ६ मा भर्ना लिने र अर्को बर्ष मात्र कक्षा ७ चलाउनु पर्नेमा एकै चोटी सातको स्वीकृति नपाइने भन्ने पो भएछ । मैले त न कक्षा ६ को प्रमाणपत्र लिएको थिए , न ७ मा भर्नाको प्रकृया पूरा गरेको थिए । यसै अन्यौलका बीच के के कुरा पण्डितजी ले नै मिलाएछन । श्री कृष्ण हाइ स्कुल पाटन मार्फत परीक्षा दिने भन्ने कुरा सुनियो । परीक्षा ताका सबै जनाले पाटनमै डेरा गरेर जाँच दियौ । अर्को ब्याचले भने दुर्गास्थान मिडिल स्कुलमै पढाइ गरि जाँच दिन पाए । गुरुखोलाबाट प्रमाण मगाइ सातको परीक्षा पाटनबाट दिन लगाएर मिडिल स्कुल पास गराउनमा पण्डित गौरीदत पैतोला र गुरु हेमराज ओझाको गुन तिरी नसक्नु छ । यसरी दुर्गास्थानको बिद्यालय मिडिल स्कुलमा दरिन पुगेको थियो ।

एस एल सी यात्रा


 त्यसभन्दा माथि पढ्न घरनजिकै हाई स्कुल थिएन, टाढा पठाउने घरको हैसियत पनि थिएन । बैतडीको शाहीलेक वा पाटनको खर्च धान्ने कुनै जो हो देखिएन । तल्लो स्वराडको मणिलेकमा खर्च पनि कम पर्ने र मामा घर समेत उतै हुँदा सहयोग मिल्ने आशाका साथ घरबाट छ–सात घण्टा टाढा पर्ने मणिलेक हाइस्कुल काँडामा लगेर कक्षा ८ मा भर्ना गरियो । २००४ सालमा खुलेको यो स्कुल बैतडीका जेठो बिद्यालय मध्येको एक थियो । नेपालको प्रथम महिलामन्त्री द्वारिका देबी ठगुरानीका पति उद्धब बहादुर चन्दको यो स्कुल स्थापनामा ठुलो योगदान थियो । नजिकै कुन्थलामा चन्द परिवारको बसोबास थियो ।
  स्कुलकै नजिकको गाउँ  दबानीका अवस्थी परिवारमा हाम्रा कैसी (आमाको बैनी/ सानी आमा ) को बिबाह भएको थियो  । केही दिन त्यतै डेरा गरियो । बाग्गोठ र शिलको खोला तर्नुपर्थ्यो । बर्सातमा त्यो त्यति सहज थिएन । आफैँ तर्न सकिँदैनथ्यो । कहिलेकाही बाग्गोठको गाडसम्मै बुवा आउनु हुन्थ्यो । प्रायः कसैले तारिदिन्थे । अरू बेला हामी खोलो जहाँ साँघुरो हुन्थ्यो त्यहीबाट फड्किन्थ्यौँ ।
  सुरुमा मलाई त्यहाँ बस्दा शुक्रवार कहिले आउला र घर जानुजस्तो लाग्थ्यो  । पछि क्रमशः बानी पर्दै गइयो । कक्षा ८ मा म र सिलका करबीर चन्द संयुक्त रुपले कक्षा प्रथम भयौ ।
म भर्ना हुँदा ताका उत्तम चन्दज्यू हेड मास्टर हुनुहुन्थ्यो । तल्लो स्वराडबाट एम ए पास गर्ने पहिलो ब्यक्ति । अद्याबधिक र अनुशासन प्रिय प्रधानाध्यापक । वहाँ महेन्द्रनगर सरुवा भएपछि खलगाडका शास्त्री बासुदेव जोशी हेडमास्टर भए । सरल र धार्मिक ब्यक्तित्व । दुबै जनाबाट मैले पितृतुल्य बात्सल्य पाए ।
काँणाको बजारमा ( त्यस बेला केशरपुर भनिन्थ्यो ) मामा रामदत्तको दोकान थियो । केही महिना उनकै पसल घरमा समेत डेरा गरियो । घरबाट त्यति टाढा झोलामा पिठो बोकेर लैजानुपर्थ्यो । त्यसमा पनि गहुँको पिठो नभएको बेला मकैको पिठो समेत घरैबाट लगेर काम चलाइन्थ्यो । टाढाका विद्यार्थी शुक्रबार घर फर्किदा बाँकी रहेको रासन पसलवाला या चौकीका प्रहरीहरुलाइ बेचेर आउथे । त्यस समयमा प्रहरीले रासन पाउने ब्यबस्था थिएन ।
  यसै अवधिमा दुर्गास्थानका साथी बेदप्रकाश लेखक पनि हाम्रै स्कुलमा भर्ना भए । उनका पिताजी स्व. टिकाराम लेखक केशरपुरकै हुलाकका प्रमुख थिए । हुलाक कार्यालयको माथिल्लो तलामा आबास थियो । बाहिरको कोठामा बेदप्रकाश संगै म पनि बस्न थाले । हुलाक हाकिम त्यहाँ भएको बेला हुलाकीहरु खाना पकाएरै ख्वाउथे । अरुबेला काममा सघाउथे, आफैँ खाना बनाएर खान्थ्यौ  । यसरी काम सघाउने हुलाकी पोष्टम्यानहरुको कोड नाम राखेका थियौ । बेद र म सँगै पढ्थ्यौ । त्यस बेला मट्टितेलको टुकि वा लालटेन बालेर पढ्नुपर्थ्यो । हाम्रा किताब समेत साझा हुन्थे । आफनो खालको उपद्रो त गर्थ्यौ नै । दाल पकाउने भन्दा पनि झान्ने काममा आआफनो अडान लिइन्थ्यो । यदाकदा बेदका बदमाशीमा मैले साछी हुनुपर्थ्यो । बेदका पितामाताले आफ्नो छोरा जतिकै माया मलाइ पनि गर्नुहुन्थ्यो । यो सुखद क्षण मेरो मस्तिष्कमा अझै ताजै छ ।
कक्षा ९/१० मा एउटै किताब चल्थे । अंक गणित, बीजगणित र रेखा गणितका ठुल्ठुला किताब त हिन्दिमै लेखिएका हुन्थे । गणित बिज्ञान पढाउने शिक्षक नेपालमा मुश्किलले पाइन्थे । प्राय: भारतिय शिक्षकले यी बिषय पढाउथे । हाम्रा पालामा कहिले पनि यी बिषयको पढाइ त्यति सुचारु हुन सकेन । काम चलाउ अध्यापनबाटै काम चलाइयो ।
किताब मेरा किशोर दिनलाई आनन्ददायी गराउने महत्वपूर्ण साधन थिए । कल्पना गरौं त , एउटा किशोर ठिटो जसको गाउँमा घरबाट एक दिन टाढा पुगेपछि बल्ल एउटा स्टेसनरी भेटिन्थ्यो ।  त्यहाँ केवल कापी, पाठ्यपुस्तक, कलम, नीब, मसी, फुटबल, यस्तैयस्तै मात्र उपलब्ध थिए । यो सानो हुलाक कार्यालय भित्रको बसाइमा भने बासी नै भएपनि गोरखापत्र, स्वतन्त्र विश्व, सोभियत भुमी जस्ता पत्र पत्रिका आइ रहन्थे । अझ बहिदार सापको लागि ब्यक्तिगत आउने गोरखपुरबाट प्रकाशित धार्मिक “कल्याण “ समेत आबधिक रुपमा पढन पाउथे । वहाँकै पानासोनिक रेडियोबाट बिहानै आउने मङ्गलधुन, शंखध्वनी  र आरति सुनेको दिन मन ज्यादै प्रफुल्ल हुन्थ्यो । कस्तो कल्पनालोक !
  मलाई अझै पनि सम्झना छ ती गाताबिहीन किताबको धुस्रे स्वरूप । यिनै  किताबसँगै कल्पनाको नयाँ लोकमा विचरण गर्न थाल्थ्यौ । नजानी नजानी कविता, कथा र डायरी लेख्न थालियो । किताबले मलाई संवेदनशील र बढी भावुक बनाए । बिस्तारै अन्तर्मुखी बन्न थाले । कसैसँग चाहिँदा पनि झगडा गर्न नसक्ने । स्कुलमा कसैले जिस्क्याउँदा बरु रोइदिने तर नबाझ्ने । हदैको सहनशील । खेलकुद वा अतिरिक्त क्रिया कलापमा त्यति मन जादैनथ्यो ।  आफैलाई फर्की हेर्दा कमसे मलाई यस्तो लाग्छ ।
  किताबहरूले नै मलाई किशोरावस्थामा सिर्जनशील हुन सिकाए । समाज, इतिहास र मनस्थितिबारे बोध गराए । किताबहरू हुँदैनथे भने  किशोर दिनहरू कति उराठ, उदास र निरस हुन्थे होला। धन्यवाद छ ती लेखकहरूलाई जसले मेरा लागि यत्ति राम्रा किताब जुटाइ दिए ।
कक्षा ९ मा पढदा दुर्गास्थानमा समेत थोरै समय बसेका सहृदयी शिक्षक  केशबानन्द सरले एक दिन बाटोमा भेटेर सोध्नु भयो ।
“ ऐ, तिमीले यसपाला पनि छात्रबृतिका लागि फाराम किन न भरेको ? ”
म अलमलिए । यसबारे केही कुरा थाहै थिएन । मैले यहि अनभिज्ञता जनाए ।
“ पोहोर सालै भर्नु पर्ने । यसपाला समेत ढिलो हुन थालिसक्यो । भोलि फाराम बुझाउ । ”  
  सरले भने अनुसार दोस्रो दिन  फाराम बुझाए । संचालक समितिको समेतको सिफारिस चाहिने रहेछ । त्यसका लागि अध्यक्ष गोरख चन्दले लामो अन्तर्बार्ता लिए । निदानत: त्यो शैक्षिक सत्रको शुरु देखि नै गरीब तथा जेहेनदार छात्रबृति पाउने भएको कुरा समेत पनि मैले धेरै पछि मात्र थाहा पाए । आदरणिय केशब सरले अल्पायुमै यो लोक छोडनु भएछ ।  यो छात्रबृति सम्बन्धका बेग्लै कथा ब्यथा छन् ।
  यो अनुभूति मेरो स्कुले दिनको हो । किशोरावस्थाको पनि हो । जब कुनै सन्दर्भले ती पुराना दिनहरूको स्मरण गराउँछ मेरो मनको पुरानो रिल फुक्न थाल्छ ।  म ती स्थान सम्झिन पुग्छु। गाउँ बजरका प्रत्येक दृश्यहरू, धुलोमा खेल्दै हिँड्ने स्कुलको बाटो, बिद्यालयको ठुलो चौरमा घाम ताप्दै कथाका किताब पढेका दिनहरू पुरानो  आँखामा छाउँछन ।
  म मणिलेकमा पढदा पनि रामलिलाको नाटक मन्चन गरिएको थियो । यसका लागि पात्रहरुको खोजी गर्दा रामको लागि म नै छानिएछु । त्यति बेलाका चल्ताफिर्ता शिक्षक मीन बहादुर चन्दले भारतको पुल्ल हिन्डोलाबाट कलाकारको सेट नै मगाएका थिए, खास गरि सीता, लक्षमण र राबणको अभिनयका लागि । सीता र लक्ष्मणको पात्रमा भारत चम्पावतका तारा धौनी र सलेनाका गणेशदत्त जोशी हुन्थे । पंचायती शासनकालको शुरुमा प्रतिबन्धित हुदा स्व द्वारिका देबी ठगुरानी र मीनबहादुर चन्द समेतले भारतमै निर्बासन बिताएका हुँदा त्यता तिरै खास सम्पर्क थियो । त्त्यतैको मोडेलमा रामलिला चलाइएको थियो ।
दशैको हाराहारीमा राति चलाइने यो नाटकमा राम बनबासको दृश्य आउदा पातलो लुगा लगाएर मन्चमा अभिनय गर्नु पर्थ्यो ।  जाडोले कटकटी काँपिन्थ्यो । सम्बाद बोल्नै गारो । दृश्यान्तर हुँदा हेल्थपोष्टका कम्पाउन्डर कृष्णसिंह भाटजीले नेेेेपथ्यमा आगो सेक्ने सुबिधा जुटाइ दिन्थे । बडो सहृदयी र समाजसेवी थिए ती मानिस ।

परीक्षा बहिष्कार

२०२९ सालमा एस.एल.सी. ( हाल एसई) दिन अगाडि टेस्ट दिनुपर्थ्यो  । लगातार दुई पटक स्कुलको एस.एल.सी. रिजल्ट राम्रो गएको थिएन रे । त्यस वर्ष पनि स्कुल निल गएमा अनुदान सहयोग काटिन्थ्यो । त्यसैले यो बर्ष बिद्यालयका लागि समेत विशेष महत्वको थियो । तर टेष्टमा हेडसरले पढाउने संस्कृतको प्रश्नपत्र सारै गारो भयो भनेर सहपाठीहरुले टेस्ट बहिस्कार गरे । फाराम भर्ने सबैले एसएलसी दिन पाउनु पर्नेे मांग राखियो । कक्षा १० मा नागरिकशास्त्र पढाउने बहालवाला शिक्षक  मीन बहादुर चन्दका भाई सुरेन्द्र बहादुर चन्दले यो टेस्ट बहिष्कारको नेतृत्व गरेका थिए । मेलौलि मन्दिरको खुल्ला मैदानमा भेला भयौ र स्कुलले नबोलाउदासम्म नआउने कसम खाएर सबै जना यतिकै घर हिड्यौ ।
१०/१५ दिनपछि शास्त्री हेड सरले भेटनु भनेर घरमा खवर पठाएका रहेछन । मैले घरमा केही बताएकै थिएन । खुरुखुरु आएर स्कुल चौरमा हेडसरको अगाडी उभिएर नमस्कार गरे । पुरानो भवन भत्काएकोले मर्मत संभार चलिरहेको थियो । ठुलो चौरमा असरल्ल काठपात र ढुंगा छरिएका थिए ।
“ आज किन आएको ? ” धवल धोति र कुर्ताको पहिरन तथा निधारभरी चन्दन लगाएका शास्त्री गुरुले रिसाएरै ठाडो प्रश्न गरे ।  
“ हजुरले बोलाएको  खवर आजै पाए । त्यसैले आएको… । “ पूरा कुरा भन्नै पाएको थिएन । गुरुजीले टपक्क तनी ( छानाको किनारमा राख्ने पातलो लामो काठ) को लौरो जतिकैको टुक्रा समातेर कमरमा दुई चोट बरसाइ हाले ।
“ मेरा घोगा(मकै) गोडन गएको थिइस र ? बोलाए पछि आएको !..” उनी दुर्बासा बनेर कुटदै गए । म पछाडी सर्दै रहे । लौरो टुटेपछि यो क्रम रोकियो । बल्ल दुबैले एक अर्काका आँखामा हेर्यौ । हामी दुबैको आँखामा आँसु थियो ।
“ तँ त सप्रेलास कि भन्ने सोचेको थिए । बिग्रने भईस ।.. एस एल सी दिने मन भए, भोली टेस्ट दिन आउनु । मन नभए मुख नदेखाउनु “ शास्त्री सर आँखा पुछदै कार्यकक्ष तिर लागे । म आँसु लुकाउदै डेरा फर्के ।
  दोस्रो दिन टेस्ट भयो । तेस्रो दिन रेजल्ट आयो । हामी तीन जना मात्र पास भयौ । म, रतन बहादुर चन्द र नारायण दत्त पन्त । बाँकि कसैलाइ पास नगर्ने शास्त्री सरको अडान थियो रे ।
त्यस समयमा हालको बैतडीको तल्लो स्वराड क्षेत्र डडेल्धुरा जिल्लामा पर्थ्यो । हाम्रो एस एल सी परीक्षा केन्द्र डडेल्धुरा सदरमुकामको हाइस्कुलमा थियो । माघको महिनामा यो जाँच हुन्थ्यो । पहिलो चोटी घनघस्याको लेक काटेर बाबासंग डडेल्धुरा पुगेको थिए । तल्लो  खलंगास्थित शिबालयका बाबाको कुटियामा २/३ बसेर डेरा खोजियो । खाने बस्ने न्युनतम ब्यबस्था मिलाएर वुवा घर फर्के । हिमपात भएर चिसोले हातै नचल्ने बाताबरणमा जाँच दिइयो । फर्कदा साथी नारायणदत्तको घर हुँदै दोस्रो दिन घर पुगे । यसरी मेरो एस एल सी यात्रा सकियो । यसपछि भने पुर्ण रुपमा पर्ख र हेरको स्थिति बन्यो । एस एल सी को नतिजा कुर्दै गाउँमै आफनै  घर ब्यबहारमा रुमल्लिए ।
***

No comments:

Post a Comment