Sunday, March 10, 2019

आत्मसंस्मरण-२ ( स्कुले कथा )

आत्मसंस्मरण-२ ( स्कुले कथा )

अक्षरको यात्रामा

  हामी पाँच सात बर्षका भुराभुरिलाइ पढनको लागि  गाउँ नजिक कुनै बिद्यालय थिएन । खोला जंगल पार गरी गाउँ बाहिर  जान पनि गारो थियो । त्यसकारण कुनै साक्षर ब्यक्तिलाइ मास्टर राखि गाउँकै चौरमा अक्षरारम्भ गराउने मेसो मिलाइएको थियो । मलाइ पहिलो चोटि काठको पाटिमा अक्षर कोर्न बिसराम बाजेले सिकाएका थिए । जमदार स्व हरिदत्तका नाति स्व निलकण्ठ र मैले संगसंगै धुलौटको पाटिमा सरस्वतीको पुजा गरि बर्णमालाका साँवा अक्षर सिक्न शुरु गरेका थियौ ।
  आजको सन्दर्भमा ति दिनको परिपञ्च प्रष्ट्याउन गाह्रो छ । आकासको घाम हेरेर समयको अडकल गरिन्थ्यो । एक सल्लि (एक सल्ला जति अग्लो) आकाशमा दिन (सुर्य) पुगे पछि हामी स्कुल जान तम्सिन्थ्यौ । पारिपट्टि कोइराली गाउँमा घाम अस्ताउन थालेपछि छुट्टि गरिन्थ्यो । गाउघरमै बनाउन सकिने शैक्षिक सामग्रीमा आधारित त्यो पढाइ पुर्णत: स्वाबलम्बी थियो  । मसीनो माटो फिंजाएर कुनै छेस्काले धर्सा कोर्न मिल्नेगरी बनाइएको एक प्रकारको लामोपाटिमा लेखेर अक्षरारम्भ गराइन्थ्यो । सजिलै लेख्न र मेटन सकिनेहुदा पुराना ज्योतिषीहरु अद्यापी यस्तै धुलौटोमा हिसाब गरेर ग्रहदशा निकाल्ने गर्दछन् । पानीले रियालेको कमेरो माटोमा निगालाका कलम वा काठको छेस्का डोबेर कालोमोसो पोतिएको काठको पाटिमा अक्षर लेख्न लगाइन्थे । काठको तख्तिमा अंगार घोटेर कालो बनाइए पछि खरि ढुंगाले पनि लेख्ने गरिन्थ्यो । पाटीलाइ डोरिले बाँधेर काँधमा झुण्ड्याइ स्कुल आउने जाने गर्दथ्यौ । मोटो धागोको डोरिलाइ कमेरो पानिमा भिजाएर पाटीमा सोझो लाइन राख्ने झंझटिलो प्रक्रियालाइ अचेल समेत टडकारो संझिन्छु । तर जुन जिजिबिषा त्यो कमेरो पानिसङ्गको घुलमिलमा पाइन्थ्यो त्यो अचेल कंप्युटरको कि बोर्डमा पनि हम्मेसी पाइदैन ।
  अक्षरारम्भ ताकाको त्यो परम्परागत पढाइमा बाह्रखरि,दुनोट,आधा,पौने, ढाम,साम तथा संस्कृत र नेपालीका लामालामा श्लोकहरु मुखाग्रै पार्नु पर्दथ्यो । बेलुका स्कुल छुटने बेला लगभग कराएरै गिन्ति सिक्नु पर्थ्यो  । बीस सम्मको दुनोट मुखाग्रे हुन्थे ।अक्षर घोकाउने पनि आफनै खालको खाँटि तरिका थियो । अक्षर चिनाउने बस्तुका बिम्बहरु स्थानिय परंपरा संग सम्बन्धित हुन्थे । मुखाग्र गर्नु पर्ने यो तरिका सान्दर्भिक थियो, रमाइलो थियो । लगभग मासिन लागेको यो स्थानिय बिधिमा मौलिकता थियो  । ती बिम्ब र अक्षरहरुको जगमा टेकेर मेरो अक्षर यात्रा शुुुुरु भएको छ । ए फोर एप्पल " भनेर अक्षर चिनाइने यो जमानामा त्यो पुरानो तरिकाको उल्लेख गर्नु पनि सान्दर्भिक नै हुनेछ । जस्तै -
कपुरी- क, पेटथोप्ले- ख, गाईगोडे- ग , घरजस्तो- घ , बिन्दा- ङ ।
तीखो- च,  छपरे- छ, जङण्या-- ज,   झकुल्या- झ, खम्या - ञ ।
टाठो- ट, कण्ठ मिलायो- ठ, डेणबाङो- ड, कुकुरपुछणी- ढ, तिनधणके- ण ।
ताली जसो- त, मुंडोमोण्यो- थ, देलिजसो- द, कन्जठ्या- ध, नफरे- न ।
प-या- प , फाउण्या- फ, पेट फाण्यो- ब,   भकारी- भ, मुख मिलायो - म ।
बूढो- य , औल्या- र , लुलो- ल , बाटुलो- व, मोटो- श, पेट फाण्यो- ष, पातलो- स ।
हलो जसो- ह,  क्षेत्री - क्ष, दुई औले- त्र, ज्ञानी- ज्ञ ।

पहिलो बिद्यालय


  यसरी गाँउकै चौरमा  ५/७ महिना पढियो होला । साँवा अक्षर सिके पछि दुइ कोश टाढा दुरैमाँणौको स्कुलमा जानू पर्ने भयो । झण्डै डेढ  हजारको जनसंख्या भएको हाम्रो गाउबाट मात्र ३ जना -म, देउलाका स्व जमदार हरिदत्तका नाति निलकण्ठ र डङालिका सौकार  बाजे ( टिकादत्त )मात्र त्यहा भर्ना भएका थियौ । दुर्भाग्यबस यो पंक्तिलेख्दा मेरा दुबै बालसखा यो लोकमा छैनन ।
तीन चार गाउँको पायक पर्ने गरि पुजारागाउ- सलेना लाइनको हुलाकी बाटो छेउमा  सरकारी बिद्यालय स्थापना गरिएको थियो । हाम्रा गाउँकै तत्कालिन बरिष्ट समाजसेवी जमदार हरिदत्त बाजेको सक्रियतामा  खोलिएको त्यो स्कुलमा जाने बाटो बनाउदा श्रमदान जुटाएको मलाइ संझना छ । दुरै देवताको मन्दिर रहेको ठाउभन्दा अलिवरै पानीको मूल नजिक ओस्याइलो भिरालो  जमीनमा सानो दुई कोठे घर थियो । त्यहाँ साँगुरो हुन थालेपछि मन्दिर नजिक बिद्यालय सर्यो । त्यहि भवनहरु बनाइए । हाल त्यहाँ केदारेश्वर उच्च मा बि संचालित छ, स्वास्थ्य चौकी छ र सानो बजार छ । स्थानिय  दुरै देवताको नामले दुरैमाँणौ भनिने त्यो ठाउँ अचेल दुर्गास्थान कहलिएकोछ । एकताका दुर्गास्थान पंचायतको सदरमुकाम पनि थियो । साबिकको त्यो पंचायत हाल तीनवटा नगरपालिकामा बिभाजित छ- दशरथचंद, पाटन र मेलौली नगरपालिका ।
  २०२१ सालतिर जंगल र खोलाको उकालो ओरालो बाटो  हिडेर त्यस बेलाको दुर्गास्थान प्राइमरी स्कुल, पैतोलीगाउ भनेर सरकारी मान्यता प्राप्त बिद्यालयमा औपचारिक रुपमा हामी भर्ना भएका थियौ  । त्यहाँ पुग्न हामि फुच्चेहरुलाइ एक घण्टा लाग्दथ्यो । बाटामा पर्ने बगणाको गाडमा ढुङ्गै ढुङ्गाको पूल बनाइएको थियो । हामी त्यो पुलमा हिडेर वारपार गर्न बडो रमाइलो मान्थ्यौ । वास्तबमा त्यो स्थानिय बास्तुकलाको नमुना थियो । शायद ३०।३२ साल तिर त्यो पुल बाढीले बगायो ।
  त्यहाँ पनि स्लेट वा पाटी त बोक्नै पर्थ्यो । हुने खानेले मात्रै कखहरा पढनकालागी बर्णमालाका किताब किनेका हुन्थे । हाम्रो प्राथमिक कक्षामा मुस्किलले चार पाँच जनासंग मात्र यस्ता किताब थिए । ‘ठूलो वर्णमाला’ को किताब देखेर मलाई लोभ लाग्थ्यो । आमाले मलाई पनि सचित्र ठूलो वर्णमाला किनेर हो वा कसरी हो ल्याइदिनु भयो । अङ्ग्रेजीका धेरै कुराहरू गणित र साधारण जीवनका उपयोगी कुराहरू त्यस ठूलो वर्णमालामा थिए भन्ने लागेको छ अहिले ।  शिशु कक्षादेखि कक्षा आठ नौ दससम्मका लागि कामलाग्दा पाठ्य सामग्रीहरुसँग काम लाग्ने कुराहरू यसमा थिए । प्रारंभिक ज्ञान गाउँमै लिइ सकेको हुँदा यो किताब सक्न कुनै समस्या थिएन । यसको सुरुवात अआइई देखि क्षत्रज्ञकै रुपमा थियो । वर्ण, मात्रा, नाम, सर्वनाम लगायतका कुराहरू यसमा क्रमिक रुपमा आएका थिए होला जस्तो लाग्छ । अनि गणितका कुराहरू पहाडा, नीतिका कुराहरू पनि थिए । रामरी पढेका खण्डमा अङ्ग्रेजी पनि यस पुस्तकले केही सिकाउँथ्यो । अहिले अरु सबै ता बिर्सिसकियो तर त्यस पुस्तकमा लेखिएको वर्ण परिचयात्मक कविता भने अहिले पनि कण्ठ छ । अ अक्षरको चिनारीसँग अमलाको फलेको रुख देखिन्थ्यो । अचेलका किताबमा ए फर एप्पल भनेको ठाउँमा स्याउ देखाएजस्तो । स्मृतिमा रहे अनुसार ती अक्षर चिनाउने कविता यस्ता थिए ।
अमला रुखमा हेर फलेको
आँप उडाऊ आज गलेको ।
इमली अमिलो हुन्छ नखाऊ
ईश्वरको महिमा गुण गाऊ ।

उल्लु हुँहुँ गर्छ कराई
ऊखु मिठो लाग्छ मलाई ।
ऋषिजी बस्छन् ध्यान लगाई
लृ कौवाले लग्यो उडाई ।

एक्कामा चढी जाऊ डिल्ली
ऐनामा मुख हेर्दछ बिल्ली ।
ओखलीमा सब कुट्छन् धान
औषधी वैद्य बनाउँछन् जान ।
अम्बा अमृत तुल्य छ मिठो
अ: यो केटो कस्तो ढिटो ।

कमलको फूल भ्रमराले खायो
खटिया माथि बस्यो खरायो ।
गदाहा माथि छ धोबी चढेको
घडी हेर लौ तीन बजेको ।

ङ्याङ ङ्याङ ङुङ ङुङ बच्चा गर्छन्
चरा बारीमा चारो चर्छन् ।
छडी गुरुजी हातमा लिन्छन्
जहाज जङ्गी जलमा चल्छन् ।

झन्डा फर फर गर्दछ हेर
ञ...ञ बालक रुन्छ कनेर ।
टपरीमा सब खान्छन् भात
ठगले ल्यायो थैली हात ।

डमडम डमरु बज्दछ हाम्रो
ढकनामाथि फूल छ राम्रो ।
ण ण विणा सुन्दर स्वर
तवल तान्धिक तान्धिक जोर ।

थलियामाथि राख्छ मिठाई
दही ग्वालाले बेच्छन् आई ।
धनुषधारीले हान्दछ तीर
नगरा ढोक्तछ जोध्धा वीर ।

पहलमानहेरु कुस्ती खेल्छन्
फल पाकेपछि भैंमा झर्छन् ।
बखरी बनमा दुबो चर्छ
भन्टा खाए बैगुन गर्छ ।

मह मौरीले जम्मा गर्छन्
यम पापीको सातो हर्छन् ।
रथमा राज भएका राजा
लड्डू लड्काको हो खाजा ।

वकिल हिंडेका अड्डा जान
शरिफा पाक्यो जान्छु म खान ।
षडमुख चले चढी मुजुर
सधवाका शिरमा छ सिंधुर ।

हरिणीका छन् ठूला आँखा
क्षत्रीय रणका बिघ्न चनाखा
त्रास देखाउँछ राक्षस हेर
ज्ञानी बस्छन् जङ्गल नेर ।
  यो कबिता मुखाग्र गर्न रमाइलो लाग्थ्यो । प्रात: प्रार्थनामा समेत “ बर दे बिणाबादिनी बर दे ” भनेर सरस्वतिको आह्वान गरिन्थ्यो । यो स्तुति केही दिन मात्र हाम्रा स्कुलमा शिक्षक रहेका खलिगाडका केशबानन्द जोशीज्यूबाट रचिएको हो भन्ने सुनेको थिए ।
 यतिकै श्रुतिमधुर हुनाले हाम्रा बेद शास्त्रहरु सुनेर मुखाग्र पारि अर्को पिढीलाइ हस्तान्तरण गरिदै हजारौ बर्षसम्म सुरक्षित राखिएका  होलान । मानिसहरुले भोजपत्र, बाँसका बोक्रामा लेख्न सिके पछि मात्र किताबको चलन आएकोहो । स्थानिय बिरुवा लोक्ताबाट बनाइने " नेपाली कागज" त अहिले पनि पाइन्छ । त्यसबेला मसी समेत आँप, काफल, बाँज वा किरमणाका बोक्राबाट बनाइन्थ्यो । हामीले पाटी स्लेटमा कमेरो खरीले लेख्न सिकेर मात्र एकडेढ बर्षपछि कापीमा लेख्न पाएका थियौ ।

कतिपय माया; कतिपय चोट


  दुर्गास्थानसंग कैयौ माया र कतिपय चोटहरुका प्रसंग जोडिएकाछन् ।
  गाउँमा एउटै थरगोत्र र एउटै ठाउँका केटाहरु साथी थिए । दुर्गास्थानमा भने स्थानिय अन्य बाहुन, ठगुरी , क्षेत्री र दलित समेतका छात्र आउथे । छात्राहरु थिएनन ।  स्कुल र शिक्षकहरु पढाउनु भन्दा पनि पिटनुका कारणले प्रचारित थिए । नयाँ परीबेशको हाउगुजीमा अभ्यस्त हुन गारो थियो । हाम्रा गाउँबाट आउने हामी तिनै जनाको हालत उस्तै थियो । अर्थात हामीहरु धेरै कमजोर र बुद्धू  ठानिन्थ्यौ । उकालो-ओरालो, खोला- जंगलको बाटो पैदल कुदेर समयमै स्कुल भित्रीन्थ्यौ र छुट्टी भएपछि बाटो भरी गफ गर्दै खुरुखुरु घर फर्किन्थ्यौ । त्यसबेला शैक्षिक सत्र श्रीपंचमीबाट शुरु हुन्थ्यो । हिऊँदको बनबेतको काम ( दाउरा, स्याउला जम्मा गर्ने ) हुँदा गोठालो जाने काममा अधिकांश केटाकेटी खटिएका हुन्थे ।  बाली भित्रिएसंगैको फुर्सतमा छात्रसंख्या बढथ्यो । हाम्रो गाउबाट समेत यस्ता मौसमी विद्यार्थी आउदा हामी स्वत: सिनियर हुन्थ्यौ । फुर्ति त्यसै बढथ्यो । कहिलेकाहि त अरु गाउँको भन्दा हाम्रो तर्फको संख्या नै बढि देखिन्थ्यो । तर शुरुका केही बर्षको अन्तमा सालभरि पढने थोरै मात्र भइन्थ्यो । पछिल्ला बर्षमा भने यो संख्या बिस्तारै बढदै गयो ।
  एकपल्ट बाटोमा पर्ने पारीपातलको जंगलमा भालु देखिएको खवर फैलियो । हामी पनि डरले एकलै आउन नसक्ने भयौ । जंगलको बिचमा बकलपातेको ठुलो रुख थियो । त्यो रुख भएको ठाउमा बाक्लो जंगल हुनाले असाध्यै डराउथे ।  पारीपातलको त्यो जंगल नकटेसम्म गाउँको डीलमा बसेर बुवा हेरी रहनुहुन्थ्यो । स्वासै रोकेर कुद्दै जंगल पार गर्दथ्यौ । हाम्रो पढाइमा बाधा हाल्न चाहनेहरुले बढाइचढाइ कुरा गरेर हामीलाई भालुको डरलाग्दा आक्रमणका कथा सुनाएका हुन्थे । तर मेरो अन्तर्यले निरुत्साहित गर्ने कुत्सित भावको छनक समाइ हाल्थ्यो । शायदै कहिल्यै कक्षा छोडियो होला । पढाईमा अब्बल थिए नै । जहिले पनि राम्रो  बिद्यार्थी भनेर अग्रपंक्तिमा नाम आउथ्यो । बाल्यकालको सुरुकै अवस्थातिरका त्यस बेलाका कतिपय कुरा झझल्कोको रूपमा सम्झना हुन्छ भने कतिपय कुरा आंशिक रूपमा सम्झना हुन्छ ।
  त्यसबेलाका गुरुहरु अपबाद बाहेक अहिलेका ब्याबसायिक सरहरु जस्ता थिएनन । आफ्नै श्रमनिष्ठामा बिश्वास राखने, बिद्यार्थिहरुका हितका लागि निरन्तर क्रियाशील गुरुहरु समाजका गहना थिए, प्रेरणाका श्रोत थिए । उनका प्रत्येक आदेश अकाट्य हुन्थे । त्यतिखेर पढाउने माडसापहरू पनि उति धेरै नपढेका भएको कुरा पछि मात्र थाहा भयो ।
  त्यतिखेर स्कुल जादा युनिफर्मको त के कुरा सामान्य जुत्ता चप्पल पनि हुदैनथ्यो । कसै कसैले चाहिँ गाउँकै सार्कीले सिएका जुत्ता लाउथे । थोरैले मात्र बजारका जुत्ता लाउने सौभाग्य पाउथे । शायद ३ कक्षामा पुगेपछि बुवाले स्थानिय सीपबाटै  बनाएका छालाका पहेलो रंगको जुत्ता मकैसंग साटेर ल्याइ दिएका थिए । मैले लाएको जुत्ताको पहिलो जोर त्यहि थियो । त्यसले खुट्टामा घाउ बनाएर खपि नसक्नु हुन्थ्यो । असाध्यै चिप्लिने पनि । स्कुल पुग्ने बित्तिकै जुत्ता फुकालेर कुनातिर राख्थेँ । बेलुका घर फर्किदा अलि छिटो हिड्नु पर्‍यो भने जुत्ता हातमा बोकेर हिँडिन्थ्यो । केही दिन मै कुलाको पानीमा भिजेर सुकाउदा अर्रो भएर जुत्ता त लाउनै नसकिने पो भएछ ।  त्यो समस्याबाट सँधैका लागि छुटकारा पाए पछि संचो मानेर नाङ्गै खुट्टाले स्कुल धाइयो ।
  फुर्सदका समयमा घरको काम पनि गर्थे तर त्यति धेरै गर्नु पर्दैनथ्यो । स्कुल छुट्टी भएका बेला कहिलेकाहीँ अरूका साथ लागेर गाईबस्तु चराउन  जान्थे । यसबाहेक मेरो बाल्यकालको धेरै समय अध्ययन र खेलकुदमै बित्यो । कुनै व्यक्तिले गिज्याएको होच्याएको पटक्कै मन पर्दैनथ्यो । फेल पो भइन्छ कि भन्ने डर लागि रहन्थ्यो । सिकाएको सिकिन्थ्यो । भनेको गरिन्थ्यो । कुद्दै घर आइन्थ्यो । अरु मतलब थिएन । ती दिन त्यतिकै पनि रमाइलै थिए ।
  कक्षा ३ को रिजल्ट हुने दिन  डराएर स्कुल जान मानिरहेको थिइन  । मास्सापले खवर नै पठाउनु भएको रहेछ । र मुस्किलले स्कुल पुगेँ । म स्कुल पुग्ने बित्तिकै रिजल्टको घोषणा गर्न सुरु गरियो । फस्ट पो भएछु । सबैले ताली पिटे । लजाउदै डराउदै बल्ल अगाडी गएर मार्कसीट लिए । शिक्षक र अभिभावकले सारै खुसी भई  स्याबासी दिँए । सबको वाह वाह, ताली, प्रशंसा पाउँदा फुरुङ्ग भए ।अगाडी बसेकाहरु मध्ये सञ्चालक समितिका पदाधिकारी गंभीर चन्दज्यु ( बगाउँ) ले ‘स्याबास, सधैँ फस्ट हुनु’ भन्दै गोजीबाट झिकेर एक रुपियाँ पुरस्कार दिएर धाप मारे । त्यो खुशीको क्षण मलाई अहिले पनि झल्झली सम्झना छ । त्यो एक रुपियाँ पुरुष्कारको मूल्य आजभोलीकालाई के थाहा ।
  त्यसबेला हेडमास्साप थिए पाटनका जगदीश सिंह बिष्ट । होचो कद काँठीका फुर्तिला । उनले कपर्ततिर डेरा गरेका थिए । स्कुल समयभन्दा अगाडी नै पुगेका हुन्थे । बहुतै माया गरेर पढाउथे । कक्षा ४ को रेजल्टमा कपर्तकै साथी भीमबहादुर चन्द पहिला भए, म दोस्रो ।  
  एकदिन हेडसर हाम्रा गाउँमा घुम्न आए । राति हाम्रै घरमा बसे । “फस्ट अरुलाइ बनाउनु परे पनि स्कुलको टप केटा त यहि हो ” भनेर कुरा सुनाए । खल्लो त लाग्यो नै, परीक्षा परिणाम र प्रधानाध्यापकको पदप्रति अनास्था पनि उब्जियो ।  एकपल्ट वहाँ र अर्का मास्साप कृष्णानन्द बीच केरोसिन आयलको शब्दार्थको बिषयलाई लिएर झगडै भएको थियो । एक जना मट्टितेल भन्ने अर्को सर्स्युको तेल । निदानत: बजारबाट मट्टीतेलको खाली टिन ल्याइयो । त्यसमा टाँसिएको स्टिकरमा लेखिएको शब्दको आधारमा सही अर्थ छानियो । हारजीत कसको भयो, सम्झना छैन । त्यसबेला ५ कक्षाबाट मात्र अंग्रेजी किताब पढाइन्थ्यो ।
  मेरो यि यादहरु त्यति पुराना त होइनन् तर यसमा त्यसबेलाको समय बोल्दछ । समयक्रमले ल्याएको परिवर्तनहरु छिट्टै आए र छिट्टै गए । यि चलनचल्तिहरु पछ्याउने हामी अवश्यपनि अन्तिम पुस्ता हौँ । हामी अगाडिको पुस्ताले पनि यस्तो चलनचल्तिहरु पछ्याउन पाएनन । उनिहरुको आफ्नै फेशन र जिवनशैली थियो होला । हामी पछाडिको पुस्ताले पनि यो चलनचल्तिलाई प्रयोग गर्न पाउनेछैनन् । उनिहरुको पनि आफ्नै जिवनशैली हुन्छ होला । आजभन्दा ५०-६० बर्ष पहिले समेत अहिले जस्तो बाटोघाटो थिएन । छापाका किताब कम पाइन्थे । घरमै पंडित राखेर पढाउने चलन पनि थियो । शासकबर्गमा समेत स्कुल खोल्नु भनेको समस्या निम्त्याउनु हो भन्ने मानसिकता थियो । भन्नै पर्छ,  वाह, त्यो पनि कुनै जमाना थियो……….।

हामी नाटकका पात्रहरु


  हाम्रो पालामा दुइपल्ट रामलिला नाटक देखाइएको थियो दुर्गास्थानमा । पहिलोपटक भरतको पात्र बनेको थिए । अर्कोमा भने रामको पात्र बनाइयो । लक्ष्मणका पात्र थिए  बेदप्रकाश लेखक र सीता बनेका थिए भरत चन्द ।
 यसरी नाटकमा खेल्ने सबै छात्रहरु मात्र थियौ । बयस्क पात्रहरुमा केही शिक्षक र केही स्थानिय ब्यक्ति थिए । चौपाया, दोहा , सोरठी, बहरेतबील, गजलका अप्ठ्यारा तर्जहरु सिक्नुपर्ने हुन्थ्यो । यो सब सिकाउने उस्ताद बैतडीका खत्रीजी हुनुहुन्थ्यो ।
  “ धेक, रामको पाठ खेल्न यो केटो फिट छ । थोक्कै कालो भया और निको हुने थ्यो ।  आवाज लै ठिकै छ ।” उस्तादले मलाइ रामको पात्रमा छान्दा भनेका थिए । सेतो पाइजामा सर्टमा लामो कपाल पालेका मस्तमौला मानिस थिए ती  । हारमोनियम सिकाउथे गढीकै टिकाराम र तबला बजाउथे देहिमाण्डौका शिबराम ।
  त्यसबेला सम्म दुरैमाण्डौ र वरपरको ठाउमा कुनै मादक पदार्थ बिक्री हुदैनथ्यो । यो बाटोमा देबताका गणहरुको चऽलो हिडछ भन्ने चर्चा हुन्थ्यो । एक जना धनचुलीका साथी चन्दजी तालिमकै क्रममा बिरामी परेर मरेका थिए । उनलाइ यसै बाटाका भूतले खाएको मानिन्थ्यो । यसै कारण रातपरेपछि हामी कतै निक्लिदैनथ्यौ । तर हाम्रा उस्ताद २ कि मि पर पटौटीतिर बेला कुबेला एक्लै कुदथे । त्यहाँका राइटर भनिने चन्दजीको घरमा टन्न रक्सी लाएर आउथे । घरमा रक्सी बनाएर बेच्ने यस भेेेेगका प्रथम अभियन्ता यिनै चन्दजी थिए । त्यो लोकल जिनिसको तापमा चल्थ्यो कडा प्रशिक्षण । एकपल्ट साथी बेदप्रकाश लेखकलाई   “ मेरो अगाडी खल्तिमा हात हालेर किन उभिएको ! ” भनेर हप्काएको याद छ ।
त्यसताका समाजमा भेदभाव बहुतै थियो । रामलिला मन्चनमा रामले सीताको काँधमा हातराखेर  अभिनय गर्नु पर्थ्यो । सीताले खुट्टा छोएर सम्बाद बोल्नु पर्थ्यो । एकदिन भरत चन्दले मलाई भनेका थिए ।
“ यार, मलाइ त बडुसंग ब्या गरेर बिग्रेको भन्दै गाउँमा गिज्याउन थाले ।  हात समात्ने, अँगालो हाल्ने नगरी देउ है । म पनि खुट्टै त ढोग्दिन ।”
नाटक भरि हामीले त्यो भद्र सहमति  पालन गर्यौ । तर उस्तादजीले बेला कुबेला  रि-टेक गराएरै छाडनु हुन्थ्यो ।
सम्झिएको अर्को कुरो । नाटकमा चन्दा र पुरस्कारको प्रसंग । धेरै जनाले रामका पात्रलाइ भेटी भनेर पनि पुरुष्कार दिन्थे । म मनमनै हिसाब लाउथे । आर्थिक ब्यबस्थापनका हर्ताकर्ता थिए स्याडीका बहादुर चन्द । रामलिला सकिएको धेरै दिनसम्म पनि उनले पुरुष्कार बाँडेनन । एक साँझ म घरमै  बारीबाट ल्याइएका मकैको रासमा बसेर खोस्टा छोड्याउदै थिए । बहादुर चन्दजी टुप्लुक्क दैलोमा देखिए ।
“ ए, ला । समा तेरो पुरुस्कार । “ भन्दै गोजीबाट केही झिके । म उठन नपाउदै दैलोबाटै केही कागजी नोट र केही रेजगारी मकैको रासमा हुत्त्याएर हिडि हाले । नोट खोजे, ५/७ रुपिया थिए जस्तो लाग्छ । तर मकैको रास भित्र रेजगारी तत्काल खोज्नै सकिएन । मकैको काम सकिए पछि नचल्ने बग्छापे भारतिय अठन्नी समेत  मुश्किलले तीन रुपियाँ भेट्टिए । धेरै पछि मैले वहाँलाई यसबारे जिज्ञासा राखे ।
“ तालिममा खाएको चिया बिस्कुटमा काटिएको होला नि । “ उनले ठाडो अनुमान निकाले । हामीले कुरै निकालेनौ । यसरी पनि “ पुरुस्कार ” बाडिएको थियो  त्यसबेला ।
  यो नाटकमा खेल्न चाहने एक जना दलित युवक काशी लुहार आएका थिए
“ ओ हो, सुकिला लुगा लायौ भन्दैमा रामको पबित्र लिलालाई अशुद्ध गर्न खोज्ने, साले…. । फुर्तिसाथ पो अगाडी आउछ  । आफनो जातको पनि ख्याल गर है । “ । उनलाई यिनै बहादुर चन्दले हप्काएको सम्झना छ । ती बिचरा नियास्रो मुख लाएर फर्के । बेला बेलामा उनलाई विभिन्न अपबाद लगाइए भन्ने सुनेको थिए । एकीन थाहा भएन ।
 कक्षा पाँचमा म नै प्रथम भए । यसरी यो स्कुलमा मेरो पहिलो अक्षर यात्रा सम्पन्न भयो । जे होस्, घुसघुसेहरुबाट खेप्नु पर्ने असहयोग वा चेपारेहरुबाट झेल्नु पर्ने आलोचनामा  कहिले पनि अलमलिनु परेन । सोच्दछु , म जमाना हेरेर बदलिन नजान्ने बबुरो नै पो हुँ कि ? जे होस, अचेल शिक्षा, ज्ञान वा शक्तिको पनि परिभाषा फेरिएकोछ । त्यो दिन टाढा छैन, जब आफनै कोठामा बसी दुनियाको नामि बिश्वबिद्यालयको कक्षा-कोठाको अवलोकन गर्न सकिनेछ र त्यहाँ भैरहेको छलफलमा समेत सहभागी हुन सकिनेछ । पृथ्बीको एक कुनामा बसी अर्को कुनाको गतिबिधि नियाल्न सकिनेछ ।
यात्रा जारी छ ...।

***

No comments:

Post a Comment