Tuesday, September 27, 2016

बायोतडी र बैतडी


                                 ( साभार:-शीतल गिरी, प्रतीक दैनिक / फोटो सौजन्य:- गुगल )
अब हामी नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय स·ोष्ठीमा सहभागीहरूले बैतडी जिल्लाको केही महत्त्वपूर्ण स्थानको दृश्यालोकन गर्न मात्र बाँकी थियो । बैतडी जाने क्रममा डँडेलधुराको उग्रतारा मन्दिर अवलोकन गरेको सम्झना आइरहेको छ । हामी डोटीमा कार्यक्रम समाप्त गरेर खाना खाएर बाटो लागेका थियांै । 
पुरातात्त्विक, धार्मिक र ऐतिहासिक महत्त्वका वस्तुहरूबारे लेखिएन भने यथार्थ बदलिंदै जान्छ । कारण अलिकति कुरो लेखकको हुन्छ, अलिकति जानकारी गराउनेको हुन्छ, अलिकति समयले ठाउँ लिएको हुन्छ— यी कुराहरू तत्कालीन यथार्थमा मिसिंदै जान्छन् ।
    सत्तरी सालको कार्तिक १० गतेको साँझ त हो, हाम्रो बस सुदूरपश्चिमको नागबेली परेको पहाडी बाटोमा गुडिरहेको । हामीलाई चिसो सिरेटोबाट बचाउँदै न्यानो अनुभूति गराउँदै्र गन्तव्य भेट्न एकनासले बत्तिइरहेको । बिस्तारै बिस्तारै रात भने कालो हुँदै गयो, नेपालको कालो इतिहास राणा शासन फाल्न प्राण आहुति गर्ने अमर शहीदको जन्मस्थल नमन गर्ने श्रद्धा भने बढ्दै थियो । सुनेको थिएँ, बायोतडी अर्थात् बैतडी देशमा व्याप्त अन्धकार र निरङ्कुशतालाई हुरी बतास हुँडलेर फाल्ने क्षमता राख्ने पवित्र धरती हो । र वर्तमानमा त्यही धरतीको कालोपत्रे सडकमा हाम्रो बस गुड्दै गरेको थियो ।
    आरोप छ घुम्न गएकाहरूले रमाइलो मात्र गर्छन् । स्थानीय दृश्यावलोकन नगरेकाले, मर्म नपहिल्याएकाले इतिहासको महत्त्व कसरी बुझ्ने, के थाहा थियो र मलाई ? झूलाघाट, दशरथ चन्द र लोकेन्द्रबहादुर चन्द थाहा थियो । यतिको भरमा त यथार्थ खोज्न सकिंदैन । तथ्यको साथमा कल्पना मिलाएर आख्यान बनाउन सकिन्छ, त्यसले समग्र यथार्थ बोकेको हुँदैन । कल्पनामा यसैले यथार्थको क्रम शृङ्खला भेटाइँदैन । झूलाघाट नजिकको गोठालापानी बजारमा हाम्रो बस रोकियो । लामो समय बसमा कुँजिएका साठीजनाजति हामीलाई समुराई होटेलले वास दियो । पहाडी सानो ठाउँको बजार भए पनि समुराई होटेल विशाल रहेछ । खान र बस्नमा होटेल व्यवस्थापनले देखाएको उदारता, स्वच्छता र सेवाभाव म सितिमिति बिर्सन चाहन्नँ ।
    भोलिपल्ट बिहान चियाखाजा खाएपछि हामी बसमा चढेर ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्व पाएको त्रिपुरसुन्दरी मन्दिर अवलोकन गर्न गयौं । त्रिपुरसुन्दरी मन्दिरको वरिपरि रहेको देउकीहरूको सानो बस्तीले इतिहासले समर्थन दिएर केही नारीलाई रौरव नर्कमा पुर्‍याएको कथा भनिरहेको थियो । निश्चित समय र कार्यक्रम लिएर हिंडेका हामीहरूले देउकीबारे खोजी गर्ने कुरो पनि भएन, गरेर पनि सकिंदैन, समय हुँदो हो र खोजी गरिएको भए नवीन सत्यको साथमा पुष्ट इतिहास बाहिर ल्याउन सकिने नै थियो । जसरी देउकी प्रथाको इतिहासमा यसको कारण छ, यसर्थ कार्यको निश्चय त्यहींबाट हुनेछ । सोही कारण–कार्यको आधारमा नै देउकीप्रथाबाट मानव अधिकारको चरम हनन भएको पुष्टि भएको हुँदा विरोधमा नीति निस्कियो । हाम्रो वर्तमान समयले रोक लगाए पनि मानव अधिकार हनन भई जीर्ण बन्न पुगेकाहरूलाई उचित सम्मान भने दिन नसकेको यथार्थ त्यहाँ थाहा पाएँ ।
    त्रिपुरसुन्दरी मन्दिरको प्रा·णमा काले दमाईको टोलीले बाजागाजा गुञ्जाए । भडा गायनमार्फत् सो भेगको इतिहासलाई ताजा बनाए । सो मन्दिरको प्रा·णमा कार्यक्रम तय गरिएको हुँदा लोकसंस्कृतिको अवलोकन गर्न पाएर सहभागी लोकवार्ताविद्हरू छताछुल्ल भई रमाए । मैले चाहेको थिएँ, त्रिपुरसुन्दरी मन्दिरबारे धेरै कुरा थाहा पाउने, यहाँ आइसकेपछि शैव मतकी ठूली शक्ति, तान्त्रिक देवी, कामकलाकी प्रतिष्ठित शीवकी शक्तिबारे थाहा पाउने । मैले चाहेर के हुन्छ, मेरो इच्छा अनुसार कार्यक्रम बनेको होइन, कार्यक्रम अनुसार आयोजकमध्येका मित्र राजेन्द्रसिंह रावलले भाषणबाट हाम्रो स्वागत गर्नुभयो । राजा नगारा बाइस तालमा घन्काएर, हुड्के नाच र पाग’ नाच रन्काएर अतिथिहरूको स्वागतमा लोकसंस्कृति संरक्षण गर्दै आएका महान् कलाकारहरूले आआफ्नो कलाकौशल प्रस्तुत गरेका थिए ।
    यथार्थमा हामीभन्दा भारतीय लोकवार्ताविद्हरू सुदूरपश्चिमको लोकजीवनसित सम्बद्ध संस्कृति, कला, चालचलन, रहनसहन, साजसज्जा, बाजागाजालाई महत्त्वपूर्ण ठानेर काम गरिरहेको प्रा.डा. गिरिजा पाण्डे, प्रा.डा. शेखर पाठक, प्रो .देवसिह पोखरिया, प्रा.डा. महेश्वरप्रसाद जोशीलाई भेट्दा महसुस गरे । अर्को कुरो के पनि पाए भने सो मन्दिरको प्रा·णबाट पश्चिमतर्फ फर्केर हेर्दा महाकाली नदीपारी सडकको राम्रो व्यवस्था, घरहरू पनि त्यस्तै । एउटै भूगोल, एउटै भाषाभाषी, नाता कुटुम्बका—सुगौली सन्धिले विभाजन गरेको दुई सय वर्ष त भयो तर अन्तर अधिक । कालक्रम अनुसार उता विशेष प्रगति भयो । कार्यक्रम स्थल मन्दिरको प्रा·ण वयोवृद्धा देउकी अर्थात् देवकन्याहरूले आफ्नो दु:ख दुखेसा र सुस्केरा भरेर गुञ्जाएको स·िनीले वातावरणलाई संवेदनशील बनाइदिएको थियो ।
    यो अमानवीय सांस्कृतिक कुप्रथा हराउँदै जान थालेको छ । हिजो धार्मिक र सामाजिक मान्यताप्राप्त देवकी प्रथा मानव चेतनाले जब कुरीति र कुसंस्कार ठहरायो टिक्न सकेन । अन्यायपूर्ण तरिकाले देवकी प्रथाको शुरुआत गाउनमा मात्र हैन बैतडीको भूमिका, एकतन्त्रीय श्री ३ प्रथाको महाराजलाई गद्दीबाट खसाल्नमा पनि महत्त्वपूर्ण स्थान रहेको सम्झनै पर्दछ । राणाहरूको एकतन्त्रीय आतड्ढले नेपाली जनताको हृदय आकुलव्याकुल भएको थियो । नेपाली जनतामा अन्यायविरुद्ध लड्न सिकाउने सत्पुरुष दशरथ चन्द जन्मेको घर दर्शन गर्ने अवसर पनि जुर्‍यो । शहीदलाई सम्मान गर्ने चेतना नैतिक मूल्यबाट प्रभावित भएको हुँदा जन्मघरको छेउमा शहीदको शालिक स्थापना गरिएको छ । यति मात्र होइन बैतडीले विगतसँग विग्रह नगर्न शहीद दशरथ चन्दको नाममा स्थापना गरी सञ्चालन गरेको पुस्तकालयमा पनि हामीले उपस्थिति जनायौं । कैलपाल बाबाको मन्दिर नजिकै दशरथ चन्दको जन्मघर छ । बैतडीमा पाताल भुवनेश्वरको गुफा रहेको थाहा पायौं र कार्यक्रममा त्यो गुफा अवलोकन गर्ने नरहेको र सम्भवत: सडक नभएर पनि हुन सक्छ हामी त्यतातिर गएनौं ।
    सडक र समय अभावले गर्दा मेलौली भगवती, जगन्नाथ बाबाको मन्दिर पनि गएनौं । स्कन्द पुराणको मानसखण्डमा वेगवान वायु चल्ने स्थल वायोतड र सोमा रहेको देवदेवीको वर्णन छ । प्राचीन संस्कृतिलाई बैतडीवासीले कहिल्यै भत्काएनन् । वीरगाथा (हुडको गाथा) लोक गायक ढोलीहरूले भडा (भारत) गायनमा जीवित राखेका छन् । आधुनिकताको विकृतिले, हरेक कुरोलाई अर्थसँग नापजोख गर्नाले यस्ता लोक सम्पत्तिको मूल्य खस्कँदै छ र लोप हुने खतरा बढेको छ ।
    सुदूरपश्चिमाञ्चलको बैतडीमा काले दमाईजस्ता सांस्कृतिक योद्धाहरूले प्राचीन संस्कृति परम्परा बचाइराखेका छन् । अन्यत्र ठाउँमा लोप भइसकेका संस्कार गीतहरू त्यहाँ प्रचलनमा छ, केही कमी आउन थालेको भए पनि । बैतडी प्राचीन संस्कृति जोगाइराखेको सङ्ग्रहालय लाग्यो मलाई ।
    किन ? उत्तर एउटै छ । त्यो के भने लोकको दृष्टि, नीति र आस्थाले यहाँ देवी (भगवती) का पत्याइ नसक्नु (कम्तीमा पनि १५०० वर्षको इतिहास बोकेको) संस्कृति जिउँदो छ, धर्म–नैतिकताको नाममा ।
    यहाँका कतिपय प्रथा वर्तमानको आँखाले हेर्दा त्रुटिपूर्ण र अमानवीय रहेको भन्न सकिन्छ । गहरिएर हेर्दा यहाँको विशेषता विश्व संस्कृतिको लागि नेपालको मौलिक र भर्जिन रहेको सिद्ध हुन योग्य छ ।
    बैतडीसँग रामायण र महाभारत छैन । नभएर के भो ? मान्नुपर्दछ देवीमाडौंमा रहेकी निगलासैनी मन्दिरमा सरसर्ति हेर्दा १८५२ मा कुनै भक्तले चढाएको घण्टमा मेरो आँखा पर्‍यो । भक्तको आस्था वर्तमानमा इतिहासको सामग्री बन्न पुगेको छ । किनभने चढाइएका त्यस्ता घण्टहरू यस क्षेत्रका मन्दिरहरूमा हजारौंको सङ्ख्यामा रहेका छन् । भक्तको आस्थाले इतिहास बोलिरहेको लाग्यो मलाई । यो बारा जिल्लाको पाँचपाँच वर्षमा बली दिने स्थान थिएन, बरु वर्षैभरि बली चढिरहने स्थान थियो । यस मन्दिरको परिचय नेपाल अधिराज्यमा संभवत: सबभन्दा बढी बलि दिइने रूपमा दिन मन लाग्यो, यो कुरो स्वस्फूर्त रूपमा नभएर मन्दिर परिसरमा ठडयाइएको मौलो र पशु रगतले धरती कालै भई पाप्रैपाप्रा उप्किएको दृश्य देख्दा मनमा उब्जिएको हो । भनिन्छ नारी ममताकी खानी हुन् । विडम्बना नारी यानि मातृशक्तिलाई कलुषित बनाइरहेको छ निरीह पशुबली प्रथाले । यस दृष्टिले नारी ममताकी होइन, भोग चाहने दानवी हुन् भनेर भन्न सकिन्छ । मूर्त आदर्श भनेको देवीथानमा पुरुषले भाले जातको पशुको बली दिंदै आएको छ, वर्तमान युग यस कुराको नियोजन चाहन्छ । यहाँका् पुरुषको मनोरञ्जन र मोजमस्तिको लागि नारीलाई देवकीको रूपमा चढाउनु धर्ममूलक थियो, त्यो पनि मातृ 
(देवी/भगवती) शक्तिलाई साक्षी राखेर, यसै कारण भन्न मन लाग्छ मात लागेका पुरुषले विभिन्न नाममा नारीलाई नियोजित गरेकै थियो र वर्तमान युगमा नारीले यथार्थ बुझे भने यस्ता कुचलन समाप्त हुने नै छ ।
    घाम डुब्न लाग्दा तेस्रो राष्ट्रिय संगोष्ठीको अन्तिम बिन्दु पाटन पुग्यौंं । पाटन मझौंलो आकारको उपत्यका रहेछ । सम्भवत: जिल्लाको प्रमुख व्यापार स्थल हो । माओवादी युद्धको प्रभावमा पर िसंरचना ध्वस्त भए पनि लमतन्न परेर छटपटाउँदै आफ्नो पीडा पोखिरहेको हवाई मैदान भेटें । उत्पादन, आवागमन र यातायातको साधन सबैलाई आवश्यक पर्ने कुरा भएको हुँदा निर्माण गरिएको हुन्छ । निर्माण गर्न नसक्नेले सम्भवत: आफ्नो स्वार्थको लागि रूपान्तरणको नाममा विध्वंस गर्दा जनतामा तनाव र सड्ढट उत्पन्न हुन्छ ।
    पाटनको इतिहास स्वयं प्रतिष्ठा प्राप्त गरेको हुँदा उदयदेव लोकआस्थाको रूपमा पुजिएको पाएँ । निर्णायक शक्ति भनेको जनता हो र जन यानि लोकको कसीमा खारिएर मात्र कुनै मानवले यो स्थान प्राप्त गर्दछ । र लोकको आस्था उदयदेउले प्राप्त गरेकै छ । निर्माण हुँदै गरेको त्यो भव्य मन्दिर लोकआस्थाको प्रमाण हो । उदयदेउ मन्दिर प्रा·णमा उद्योग वाणिज्य सङ्घ पाटनले हाम्रो स्वागत गर्‍यो हृदय ओछयाएर । त्यस भेगबारे जानकारी गरायो । व्यापारलाई आफ्नो धर्म–कर्म बनाएकाहरूको प्रतिनिधिले लोकवार्तामा हिंडेका हामीलाई स्वागत गर्नु, छलफलमा समय दिनु भनेको— आफ्नो माटोप्रतिको आस्था नै हो ।
    स्वागत पाएका हामीमध्येका कवि वासुदेव पाण्डेले सो क्षेत्रको महिमा कविताको रूपमा वर्णन गर्नुभयो । स्थानीयहरूका साथमा— हातमा हात जोडेर, पाइलामा पाइला मिलाएर आधा घण्टाभन्दा बढी देउडामा रमाएको अनुभव बटुलें । यो भनेको लोकसँग घुलमिल हुनु हो । भावनात्मक कुरो मात्र होइन, अस्ति भर्खर टिभीबाट समाचार सुनें म पुगेको पाटन नगरपालिका घोषित भएको— खुशीले आँखामा आँसुका थोपा टल्पलाए । अब त्यो एअरपोर्ट पहिलेजस्तै सुचारु होस्, यो कामना गरेथें— तत्काल ।
२०७१ मङ्सिर १८ बिहीवार
भीमसेनगोला, काठमाडौं ।

No comments:

Post a Comment