ग्वाल्लेक ; सामान्य चिनारी
- " ग्वाल्लेक " बैतडी सदरमुकामबाट १५ कि मि दक्षिण-पुर्बमा पर्ने प्राकृतिक बिबिधतायुक्त धार्मिक शिखरको नाम हो । यो शिखरको फेदिसम्म नै सडक पुगेकोछ । शिखरलाई पबित्र स्थान मानिएकोले " ग्वाल्लेकधाम " को नामले यो भेगभरि नै सुपरिचित भएकोछ । यो पबित्र धामको वरपर २७८८.२७ हेक्टर क्षेत्रफलमा फैलिएको बनक्षेत्रभित्र विभिन्न बनस्पति प्रजातिहरु , बन्यजन्तु, चराचुरुङ्गी, महत्वपुर्ण जडिबुटिहरुको प्राचुर्यता छ । एक अध्ययन अनुसार सेती- महाकाली भेगमा पाइने भनिएका ६६ वटा बनौषधिमध्ये ४८ वटा यो लेकमा उपलब्ध छन् । केही अन्तर्राष्टिय स्तरमा महत्व राख्ने प्रजातिका बनस्पति पनि यहाँ भेट्टिएकाछन । प्राकृतिक गुफा, घाँसेमैदान, तालतलैयाका लागि समेत यो क्षेत्र प्रसिध्द छ ।
- यो शिखरको वरपर असिमकेदार, सिमकेदार, महाद्यौकेदार, श्रीकेदार, देउलेककेदार, नकथरोकेदार, जर्गकेदार, बुढाकेदार, गणमेश्वर, महारुद्र,भुुमिराज, समैची, देउगडे, कैलपाल, सिमनाथ, जगन्नाथ आदि मन्दिर र शिबस्थलहरु स्थापित छन । त्यसैले यो इलाकालाई " ग्वाल्लेककेदार" क्षेत्र पनि भनिन्छ । शिखरको चारै दिशामा त्रिपुरासुन्दरी, निगलासैनी, मेलौली, रैण्यासैनी र डागेश्वरी आदि भगबतिका मन्दिर छन । यस अर्थमा ग्वाल्लेक शिबशक्तिको संगमस्थल पनि हो । यहाँका मन्दिरहरुमा प्रचलित केही अनुष्ठानहरु र केही किम्बदन्तिहरुले यस्को पुष्टि गर्दछन् । यी मन्दिरहरुमा अमूल्य पुरातात्विक सांस्कृतिक सम्पदा र बहुमुल्य कलाकृति भएका देवभण्डारहरू छन् ।
- स्कन्दपुराणको मानसखन्डमा यसलाई " बायुतट" पर्बत भनिएकोछ । धेरै हावा चल्ने यो स्धानको वरपरको बस्ति " बायुतटि" कहलिएबाट नै कालान्तरमा अपभ्रंश भै बैतडी नाम बन्न गएको मानिएकोछ । बर्तमानमा बैतडी जिल्लाका आठवटा गा बि स का केही वडाहरु यो ग्वाल्लेककेदार बनक्षेत्रमा समेटिएका छन् । ( स्थानिय तह पुनःसंरचना हुदा हाल दशरथचन्द नगरपालिका , मेलौली नगरपालिका र पंचेश्वर गाउपालिकाको केही वडा यसक्षेेत्रमा पर्दछन्/) जिललाका सैयौ बस्ति यो बनमा आधारित छन । यो जलाधार क्षेत्र पनि हो । चारैतिरका बस्तिका पानिका मूलमुहान यहि छन् ।निकटवर्ति बजार र सदरमुकाममा समेत काठपात घासदाउराको आपुर्ति यहिबाट हुन्छ । यसरी झण्डै पचासहजार जतिको आबादि यो क्षेत्रबाट लाभान्वित छ ।
हालका चुनौतिहरु
- यस क्षेत्रको जैबिक बिबिधता, जलाधार क्षेत्र, जडिबुटि र धार्मिक बनको निरन्तर दोहन भैरहेकोछ । अनियन्त्रित र खुला चरिचरन, काठदाउराको अब्यबस्थित संकलन, जडिबुटीको अबैध निकासि, बनक्षेत्रको अतिक्रमण र चोरि शिकार जस्ता समस्या वढदैछन् । स्थानिय रैथाने केही बनस्पति त हराइ नै सकेकाछन । पानिमुहान सुक्दैछन ।
- अब्यबस्थित धार्मिक पर्यटक गतिबिधिले पनि समस्या थपिदैछन । पुराना सम्पदा लोप हुदैछन् । सांस्कृतिक सम्पदाहरुमाथि निरन्तर नकारात्मक संक्रमण जारि छ ।
- केही पुरातात्विक सम्पदा हराइसकेकाछन् । सांस्कृतिक सम्पदाहरुको मूल केन्द्रिय तत्व नै बिलुप्तप्राय: भएका छन वा बिकृत पारिदैछन ।
- नित्य नयाँ प्रबिधिको बिकास तथा नौलो परिबेशको सम्पर्कले गाउँसमाजमा रोजगारिका परम्परागत ब्यबसाय कृषि पशुपालन आदिबाट युबापुस्ता क्रमस: टाढिदैछ र ब्यबसायका नौला बिकल्प खोज्न नसकेर दिग्भ्रमित भएकोछ । फलत: बेरोजगारीसंगै गरिबी र तत्जनित समस्याहरु बढदैछन ।
- यहाँ भैरहेका बिकास निर्माणका गतिबिधिहरू पनि कुनै दीर्धकालिन सोचतर्फ परिलक्षित छैनन् । कतिपय त समुहगत भन्दा ब्यक्तिगत अहम र स्वार्थबाट प्रेरित छन । त्यसैले बनबिनाश र भुक्षय बढदोछ । केही परम्परागत रुढ सोचहरुसमेत चुनौतिका रुपमा खडा भएकाछन ।
- पर्यटन पुर्बाधारहरुको कमी र पर्यटक मैत्री वातावरण बनाउन नसक्नु नै समष्टिमा हाम्रा मुख्य चुनौतिहरु हुन् ।
पर्यटकिय सम्भाबनाका क्षेत्रहरु
१-जैबिक बिबिधता र पर्यापर्यटन
ग्वाल्लेककेदार संरक्षित बनक्षेत्रको जैबिक बिबिधता पर्यापर्यटनकालागि आकर्षक र आदर्श गन्तव्य हुने सम्भावना रहेको ठोकुवा गर्न सकिन्छ । भारतको निकटवर्ति क्षेत्र पिथौरागढ र अलमोडा तथा नेपालको खप्तड क्षेत्र, निर्माणाधिन पञ्चेश्वर परियोजना, प्रस्तावित ग्वाल्लेक-मल्लिकार्जुन पर्यटन पदमार्ग समेतसंग सहसम्बन्ध बनाएर पर्यटकीय गतिबिधि बढाउन सकिने पनि प्रशस्तै सम्भावना छन । संरक्षित बनको उपयुक्त स्थानमा भारतको पञ्चचुली, नन्दादेवी तथा नेपालका अपि नाम्पा, सैपाल हिमाल हेर्न सकिने गरि दृश्यावलोकनस्थल तोकेर भ्यु्टावर बनाउन सकिए थप आकर्षण बढने देखिन्छ । लालिगुराँस ढक्मक्क हुँदाको समय होस वा हरिया घासेमैदानमा फूल फुलेको मौसम होस् , जैविक बिबिधताकालागि ग्वाल्लेककेदार धाम ज्यादै उपयुक्त स्थान मानिन्छ ।
२-हाम्रा चाडपर्ब र गाउँका जैबिक उत्पादन ; ग्रामिण पर्यटनका आधार
स्थानिय परम्परासंग जोडिएका बिषु जाँत, अनन्ते मेला, आषाडि जाँत, नौरता, देवालि, कातिके जाँत, भैैलो, गीर, चऽलो, तके जाँत, जमानी जाँत, धामी नाच, छलिया, ठाडोखेलहरुको संरक्षण, ब्यबस्थापन र प्रबर्धन गर्न सकेमा तथा समुचित प्रचार प्रसार भएमा मुक्तिनाथ र स्वर्गद्वारी जस्तै यहाँ पनि पर्यटकीय चहलपहल बढनेछ । झुलाघाटका माछा वा बैतडीको चिउरी जस्तै गाउँको विशेष उत्पादनलाई ब्राण्डिङ गरेर ग्रामिण पर्यटनको आधार खडा गर्न सकिन्छ । यसता उत्पादनको लागि उदाहरणको रुपमा जर्गको तरकारि र तामाका भाडा, देहिमांडौका निंगालाका सामान, सुर्कालको घिउ र चोतो( स्थानिय मुला विशेष ) , सेलिका फलफूल, ढणौनको दहिदूध आदिको नाम लिन सकिन्छ । यहाँको जडिबुटि हस्तकलाका समान समेतलाई बजारीकरण गर्न सकिन्छ । यहाँका पानीघट्टहरुलाई आधुनिकिकरण गरि जैबिक पिठोको प्याकेजिङ समेत ससाना घरेलु उत्पादनहरुको ब्यबसाय संगठित गर्न सकिन्छ । प्रतेक गाउँमा संगठित रुपमै सामुदायिक पाहुनाघर या होमस्टे राख्न सकिन्छ । गाउपर्यटनलाई यहाँको जिबनशैलीसंग जोडन सकिए पर्यटकीय सम्भावनामा समेत निरन्तर बढोत्तरी हुनेछ ।
३- भारतिय पर्यटकहरुको आकर्षक धार्मिक गन्तव्य
पशुपति दर्शनका लागि मात्र हजारौं पर्यटक नेपाल आएजस्तै पुर्णागिरि दर्शन पश्चात् सिद्धनाथको दर्शनलागि महेन्द्रनगर आउने भारतिय पर्यटकको संख्यामा बर्सेनि उल्लेख्य वृद्धि भैरहेकोछ । यसै गरि बैतडीको त्रिपुरासुन्दरि, मेलौली, निगलासैनी, उदैद्यौ जाँतमा हजारौ सिमावर्ति भारतिय पर्यटक आउछन । यहाँका स्थानिय मेलामा भारतिय ब्यापारिहरुको समेत सहभागिता रहन्छ । ग्वाल्लेकको पर्यटकिय आकर्षण बढाएर यिनिहरुको भ्रमण अवधि लम्ब्याउन सकिन्छ । यसरी पर्यटक संख्या थपिदै जानेछ ।
४-ग्रामिण कला, संस्कृति, भेषभुषा, प्रदर्शनी
तथ्याङ्क अनुसार नेपाल आउने पर्यटक मध्ये ५१% ले यहाँको जीवनशैली, चाालचलन र ब्यबहारका कारण नेपाल रोजेका हुन्छन । पर्व बिशेषमा देखिने सांस्कृतिक गतिबिधिले हाम्रो जनजिवनको झलक दिएको हुन्छ । यहाँका थुप्रै मन्दिरहरुमा बर्षैभरि यस्ता सांस्कृतिक अवसर जुर्न सक्छन् । यिनै पर्बहरुको क्यालेण्डर तयारगरि आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । " खस आर्य सभ्यता " को अध्ययनका लागि यहाँ सांस्कृतिक पर्यटन क्षेत्र बन्ने प्रशस्त सम्भावना छ ।
५- मनोरञ्जनस्थल, बनभोजस्थल र अध्यात्मस्थल
संरक्षित बनक्षेत्र बाहिरका खुल्ला मैदानहरुलाई आबश्यकता र सम्भावना हेरि मनोरञ्जनस्थल, बनभोजस्थल वा अध्यात्मिक साधनास्थलका रुपमा बिकास गर्न सकिन्छ । यसो भए नजिकको सदरमुकाम र वरपर तथा निकटबर्ति भारतिय नगरहरुबाट समेत पर्यटक आउने सम्भावना देखिन्छ । दीर्धकालमा केबलकार संचालनको सम्भावना रहेको समेत यस सम्बन्धि बिशेषज्ञहरुको राय छ ।
मुलत: ग्रामिण पर्यटन प्रबर्धन नै यो क्षेत्रको पर्यटन बिकासको मेरुदण्ड हो । यसका लागि होटल , होमस्टे, पाहुनाघरहरुको व्यापक बिकास, गाउमा सरसफाइ र शिष्टाचारको तालिम, ग्रामिण संस्कृति र बेशभुषाका प्रदर्शनी, एकीकृत पर्यटन बिकासका कार्यक्रम, ग्रामिण महोत्सब संचालन, विशेष पहिचानका लागि सुचना प्रबिधिको सहयोगमा बिज्ञापन समेतको व्यापक सुप्रबन्धन भएमा पर्यटकिय सम्भावनामा उल्लेख्य वृद्धि हुने सुनिश्चितता देखिन्छ ।
हालसम्मका प्रयासहरु
- ग्वाल्लेक केदार धार्मिक बनलाई कानुनी रुपमै संरक्षित बनका हैसियतमा लैजाने क्रममा सर्भे भै इन्भेन्ट्रि सिमानिर्धारण समेत भैसकेकोछ । तत्सम्बन्धि योजना तयार भएर स्विकृतिको चरणमा पुगेकोछ । हाल यस क्षेत्रमा छ: वटा सामुदायिक बन र राष्ट्रिय बन रहेकाछन् ।
- प्रस्तावित ग्वाल्लेकधाम पर्यटन क्षेत्रको चारैतिर संरक्षित बनक्षेत्रको सिमाना बाहिर चक्रपथ निर्माण गर्ने सिलसिला चालु छ । उत्तर पश्चिमतर्फको देहिमाण्डौ, ग्वाल्लेक, नागार्जुन, गिरेगडा र रोडिदेवलतर्फको ३० कि मि जतिको ट्रेक खुलिसकेकोछ । पुर्ब दक्षिणतर्फको दुर्गास्थान, सलेना, महारुद्रमा समेत ४५ कि मि जतिको सडक निर्माण गर्ने तर्फ प्रकृया शुरु भएका छन् । यहि चक्रपथलाइ नै परिक्रमा पथ, पर्यटकमार्ग, जडिबुटिमार्ग वा अग्नि नियन्त्रणरेखाका रुपमा बिकास गर्न सकिनेछ ।
- चारैतिरका थुप्रै मठमन्दिर मध्ये केहिमा आंशिक रुपमै भएपनि मर्मतकालागि विभिन्न निकाय मातहत पहुँचका आधारमा पटके काम भैरहेकाछन । यसमा समन्वयको खाँचो छ ।
- तारागाउँ बिकास समितिबाट समेत ग्वाल्लेक( बैतडी)- मल्लिकार्जुन( दार्चुला) पदमार्गको सर्भे भैैसकेकोछ । यसै समिति मार्फत नै होमस्टे, सम्पदा संरक्षण, सांस्कृतिक पर्याबरण संरक्षण, नमुना पर्यटक गाउँ, सामुदायिक सास्कृतिक भवनकालागि समेत सर्भे भएको जानकारीमा आएकोछ ।
- जिल्लाको पर्यटकिय गुरुयोजनामा समेत " ग्वाल्लेकधाम" लाई बेग्लै क्लष्टरमा राखि थुप्रै परियोजना प्रस्ताव गरिएका थिए, तर तत्सम्बन्धका कुनै पनि कार्यक्रम योजनाबध्द किसिमले लागू भएका छैनन् ।
- जिल्ला बिकास समिति बैतडीले समेत यो क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा बिकास गर्ने सैद्धान्तिक निर्णय पारित गरिसकेकोछ ।
प्रस्तावित भाबि कार्यक्रमहरु
- मुख्य क्षेत्रको जैबिक बिबिधताको संरक्षण गरि बाताबरणिय क्षति हुन नदिन संरक्षित बन कायम गर्ने ।
- चारैतिरका गाउँमा सहज पहुँच पुग्नेगरि चक्रपथको निर्माण गर्ने । चारैतिरका बस्तिहरुबाट बनक्षेत्रसम्म पुग्न पदमार्गहरु मात्र बनाउने ।
- बनक्षेत्रको चारैैतिर तारबार राख्ने र जलाधारक्षेत्र तथा पानीका मुहानहरुको संरक्षण गर्ने ।
- भ्रमण , गोष्ठि, अन्तरकृयाबाट सुचना संकलन र बिश्लेषण गरि यस क्षेत्रकै सांस्कृतिक अध्ययन समेतको आधारमा बिस्तृत बिबरण सहितको दिग्दर्शन बनाइ पर्यटकीय गुरुयोजना तयार गर्ने ।
- धामको क्षेत्रमा रहेका देब देबीस्थलहरुको संरक्षण सम्बर्धन गर्ने र ती स्थानहरु पर्यटकीय रुटसंग जोडने ।
- आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न बुकलेट, ब्रोसियर, डकुमेन्ट्रि तयारगरि प्रचार प्रसार गर्ने तथा पर्यटन सुचना केन्द्र र पर्यटक सौगात गृहको स्थापना गर्ने । होटेल, होमस्टेका लागि उचित बाताबरण तयार गरि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने । पर्यटन सहयोगीहरु उत्पादन गर्ने र होर्डिङ्ग बोर्ड राख्ने, राख्न लगाउने ।
- चरा अवलोकनस्थल, दृश्यावलोकनस्थल, अध्यात्मिक साधनास्थल, बनभोजस्थल, सुर्योदय र सुर्यास्त अवलोकनस्थल, पुनर्ताजगिकेन्द्रहरूको स्थापना, ब्यवस्थापन र प्रचारप्रसार गर्ने ।
- पुनर्निर्माण र सुधारका नाममा हाम्रा पुरातात्बिक र सांस्कृतिक सम्पदाहरुमाथि हुनेगरेका अतिक्रमण र हस्तक्षेपहरु रोक्न जनमत तयार गर्ने । नमुनास्थल र पर्यटकीय संस्कृतिको बिकास गर्ने ।
- ३०/४० कि मि टाढा रहेका निकटबर्ति भारतिय गाउँ नगरहरुसंग भातृसम्बन्ध कायम गरि सांस्कृतिक सहसम्बन्धको बिस्तार गर्दै पर्यटकहरु आकर्षित गर्ने ।
- दीर्घकालमा त्रिपुरासुन्दरी र मेलौली मन्दिरसम्म केबुलकार संचालन गर्ने तर्फ प्रयास गर्ने ।
- स्थानिय उत्पादनबाट उपहारसामग्री तयारगरि सो को बजारिकरण गर्ने, स्थानिय पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूमाथि अध्ययन अनुसन्धान गरि सामग्रिहरुको प्रकाशन गर्ने ।
- स्वास्थ्य सरसफाई, आयआर्जन र सीपबिकास, सुधारिएका चुलो निर्माण, दुर्लभ बनस्पति संरक्षण, पानिमुहान संरक्षण, हरित उद्योग स्थापना, पर्यटकीयस्थल संरक्षण, जैबिक कृषि र जडिबुटि खेति, किचन गार्डनिङ्ग, स्वच्छ उद्योग( होम स्टे, सामुदायिक पाहुनाघर आदि) स्थापना, सामुदायिक सिकाई तथा सूचना केन्द्र, डाटा बेसको तयारी गरि सुचनामुलक सामग्रीको प्रकाशन बितरण गर्ने जस्ता कामकालागि तालिमको ब्यबस्था मिलाई उचित वातावरण तयार गर्ने ।
- माथि उल्लेखित सम्पुर्ण कार्यसम्पादन गर्न गराउन, सो काममा समन्वय गर्नका लागि बिधिबत पर्यटन बिकास समिति गठन गर्न कारवाहि चलाउने ।
पर्यटन बिकास समितिको उद्देश्य
- सर्बाङ्गिण पर्यटन बिकास योजनाको कार्यक्रम तयार गरि सो को कार्यान्वयनार्थ विभिन्न निकायसंग सम्पर्क र समन्वय गर्ने ।
- ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय स्थलको पहिचान गरि ती स्थानका शिलालेख, ताम्रपत्र, पाण्डुलिपि, मुद्रित सामग्री, बास्तुकला, मुर्तिकला, पुरातात्विक सामाग्रि, देव भण्डारहरुको लगत तयार गरि संरक्षण सम्बर्धन गर्ने ।
- बाताबरणिय र सांस्कृतिक क्षति हुन नदिने गरि धार्मिक बन, मठमन्दिर, देवालय, गुफा, तालतलैया, घाँसेचौर, पाषाणस्तम्भ, पानिमुहानहरुको संरक्षण गर्ने ।
- सांस्कृतिक शैक्षिक महत्वका सभा सम्मेलन, गोष्ठि, प्रदर्शनीहरुको आयोजना गर्ने ।
- पर्यटकिय पुर्बाधारहरुको निर्माण गर्दै पर्यटकीय रोजगारमुलक सीपबिकासकालागी प्रशिक्षण प्रदान गर्ने ब्यबस्था मिलाउने ।
- सांस्कृतिक प्राकृतिक सम्पदाहरुको लगत अद्यावधिक गरि सांस्कृतिक पर्यटनको शुुरुवात गर्ने ।
- आधुनिक सुचना प्रबिधिको अधिकतम उपयोग गरि आकर्षक र भरपर्दा पर्टनस्थल तथा सर्बसुलभ र गुणस्तरीय पर्यटकीय सेवाकोलागि समुचित प्रबन्ध मिलाउने ।
सम्भाब्य उपलब्धिहरू
- पर्यटन पुर्बाधारहरुको बिकाससंगै पर्यटक आवागमन बढनेछ र यसै अनुरुप आर्थिक गतिबिथि पनि बढनेछन ।
- पर्याबरण र जैबिक बिबिधताको संरक्षण हुनेछ ।
- धाार्मिक र सांस्कृतिक सम्पदाहरुको समुचित सुप्रबन्धन हुनेछ ।
- पुरातात्त्विक सम्पदाहरूको स्वरुप बिग्रने छैन र संरक्षित हुनेछन् ।
- स्थानिय आयआर्जनमा वृद्धि हुनेछ र चेतनाको स्तर बढनेछ ।
- रोजगारिका नयाँ नयाँ बिकल्पहरु दृष्टिगोचर हुनेछन र समुन्नत शिष्ट समाजको श्रृृजना हुनेछ ।
its very wonderful plan for tourism
ReplyDeleteWe will have to plan properly to bring tourists here. It is 100% possible! If I get some help from locals and politicians who are interested in developing tourism in Baitadi then we can definitely bring..we need good photos, interesting matters to discuss, description about the stay, how many days treks or what to do there., etc.if sombody provides me these info then I can do it and would love to do for my baitadi!
ReplyDeleteyes we can do this. thank you for your suggestions and good initiation .
ReplyDeleteyes we can do this. thank you for your suggestions and good initiation .
ReplyDeleteम सानो छदा हजुर को blog पढेको थिए , तर उस्तै छ बर्तमानको परिबर्तन सङ्गै समाजको रुपरेखा पनि फेरिने रहेछ। यो हाम्रो लागि धेरै महत्वपूर्ण छ जस्ले गर्दा भावी पुस्ताको लागि लाभदायक रहनेछ। बडु जी प्रयास धेरै राम्रो गर्न भएको हो र अझै बिगत र बर्तमानका थप घतनाक्रम जोड्यो भने सुनमा सुगन्ध हुने थियो।
ReplyDeleteधन्यवाद।
It a great idea ..with the joint effort of locals n governmant its possible to make it as a tourist destination point.
ReplyDeleteLets do it!!!
It's a great idea
ReplyDeleteyeah its really like a haven .
ReplyDeleteif government of nepal try to do something for this place its really gonna too much beauty peace of nature .
great idea. its very wonderful plan for tourism
ReplyDeleteनेपाल सरकारले हालै यस बन्यक्षेत्रलाइ ग्वाल्लेक धार्मिक संरक्षित बन घोषणाा गरेर यसको संरक्षण र बिकासको लागि बेग्लै कार्यालय समेत खोलेको सहर्ष जानकारी गराउछु ।
ReplyDelete