‘दा’को सम्बोधन गरे पनि न उ मेरो दाइ थियो, न कुनै गुण्डा । तर हामीहरु
उसलाइ ‘तिखे दा’ नै भन्थ्यौ। सामान्य बोलचालमा गाउँलेहरु उसलाई तिखे चोर भनेर चिन्थे
। उसको कालो डल्लो शरीर देखेर म सानो छँदा
डराउने गर्थे । जिँग्रिंग कपाल, बिफरको खत भएको छ्याके अनुहार । मलाइ लाग्थ्यो,यो
मानिस हेर्दा हेर्दै कसैलाइ बेहोस बनाउन सक्दछ । मान्छेहरु भन्थे, यो राति भेष
बदलेर बिरालो जस्तै हिडछ र आँगन खेत खलिहानमा राखिइएका सामान चोरेर लैजान्छ ।
बुवा घरमा भएको बेला
पारेर उ कहिलेकाहि हाम्रो घरमा आउने गर्थ्यो । बुवाले त्यसलाइ कहिले अरुले जस्तो हेला
गर्नु भएन । बरु आबश्यकता अनुसार सम्मान र सहयोग नै गर्नु हुन्थ्यो । तर परोक्षमा
भएका कुराका आधारमा बुवालाइ त्यो असलमान्छे होइन भन्ने थाहा थियो । आमालाइ भने उ
यसरी आएको मन पर्दैनथ्यो । वहाँ भन्नु हुन्थ्यो, ‘यो डरलाग्दो मानिस देखेर
केटाकेटि तर्सिन्छन , सातो जान सक्छ’ । बुवाको भनाइहुन्थ्यो , “सँधै आइरहनेलाइ
कसरी नआउन भन्ने? नराम्रो नगरेसम्म आउन देउ।“
उसको र हाम्रो घरको
दुरि एक किलोमिटर जति होला । पहाडको उच्चसमस्थलि नजिक हाम्रा घरहरु थिए । हामी अर्थात
त्यसगाउका मुल बासिन्दा बाहुनहरुका । ओरालो पाखाको छेउछाउ ओढार जस्तै गरि ५,७ घर
भएको दलित बस्ती थियो । तिखे ‘चोर, को घर त्यसै बस्तिमा थियो । माथिल्लो गाउमा
सबभन्दा छेउको घर हाम्रो भएको नाताले समेत त्यो दलित बस्तीका पात्रहरु बिहान
बेलुकै हाम्रो घरमा टुप्लुक्क आइ पुग्थे । कहिले नुन ,कहिले साग तरकारि, स्थानिय
जडिबुटि, फाटो पुरानो या दाउरा घास माग्न समेत कोहि न कोहि आई हाल्थ्यो । यस्तैमा
तिखेको परिवार पनि पर्थ्यो । आमा फतफताउनु हुन्थ्यो, हप्काउनु हुन्थ्यो, तर भएको
सामान दिनु हुन्थ्यो । कसैलाइ पनि खालि हात पठाएको मलाइ सम्झना छैन ।
तिखेको आफनो बिशेषता
पनि थियो । सित्तैमा माग्न परे उ आफु आउदैनथ्यो । परिवारलाइ पठाउथ्यो । नाकमा
चाँदीको बुलाकी लगाएकी उसकी जहान फोहोर लठ्ठा परेको टाउको कन्याउदै हाम्रो साँगुरो
आँगन छेउमा बस्थिन् र कुनै घरेलु घटनाको
बिस्तार लाउथिन् । अन्तमा सो दिन केटाकेटिले पाएको दुखको बयान गर्दै अभिष्ट बस्तु
माग्ने गर्थिन । कुन्नि, के चित्त बुझेर हो, हाम्री आमा खुरुक्क भएको सामान दिएर
पठाउथिन् ।
मलाइ सम्झना छ,
तिखेको बारीमा नासपातिको रुख थियो । नासपाति खानहुने भएपछि तिखेकी जाहान सबभन्दा
पहिले हाम्रो दैलामा केहि दाना राखेपछि
मात्रै अरुलाइ दिन्थिन् रे । बेला बेलामा उसको जेठो छोरा उजले र म एकैमहिना जन्मेको कुरा भनी रहन्थिन।
ति मेरा संगीतमय
बालकपनका बर्ष थिए । समबयी उजले लुहार मेरो नजिकको खेल्ने साथी थियो नै ।
मैलो-धैलो भए पनि उ बलिष्ठ थियो,सहयोगी थियो । मलाइ सम्मान गर्थ्यो र सदैब मेरो
पक्षमा उभिन्थ्यो। यद्यपि छरछिमेकीमा खेल्ने सहपाठिको कमी थिएन, तर उजलेका उज्वल
निधार,घुगुरिएका कपाल, ठुला आखा र गठिलो जिउडालमा एक किसिमको बिश्वसनीयता बिद्यमान
थियो ।
अलि ठुलो भएपछि मलाई
थाहा भयो, उजलेको बुवा तिखे दा हामी भन्दा भिन्न जातका थिए। उनले छोएको हामीले
खानु हुदैन र संगै खेले भने छोइछिटो हालेरमात्र घर भित्र पस्नु पर्छ भन्ने कुरा
पनि पछि नै थाहा पाए । प्रकारान्तरले उजलेलाई साथी नबनाउन मलाइ दबाब परिरहन्थ्यो।
तर मेरो बाल मष्तिष्कको नियममा सानो-ठुलोको कुनै भेद थिएन।
त्यसो त तिखे दा
डोको डालो बुन्न सिपालु मानिस थियो । बारी भरी फलफूलका बोट रोपेको थियो । अचंभ,
बारीको पहिलो फल उ हामीलाइ, खास गरि मलाइ नै दिने गर्थ्यो रे । एक पल्ट मैले डराइ
डराइ उससंग नासपाति मागे । उसले त ठुलै झोला टन्न गरेर दिन ल्यायो । मेरो घरमा
थाहा पाए हप्काउलान भन्ने डरले सारा बालमंडलीलाइ नासपाति बाडीचुडी गरे। दोस्रो दिन
अरु केटाकेटि पनि नासपाति माग्न गएछन । तर तिखेदा ले सबैलाइ हप्काएर पो पठाएछ।
बरा, म प्रतिको यो स्नेह भाव उसले पछिसम्म पनि देखाइ रह्यो।
एक घटना मलाइ
बलजफ्तिले अतीत तिर तान्दैछ।
त्यो दिन अनायास
बाटोमा धेरै मानिसहरु ठुला ठुला स्वरमा कराएका सुनिए । एक हुल गाउलेले एक जनालाइ
झुकुल्ट्यउदै गाउको चौरमा समातेर लगे। चोर पक्रियो भन्ने हल्ला ब्याप्त भयो ।
हामीहरु पनि रमिता हेर्न चौरामा गयौ। हाम्रा तिखे दा लाइ पो हात बाधेर राखिएको
रहेछ । उ घोप्टो मुन्टो गरेर चुपचाप बसेको थियो। मैला लुगा च्यातिएर झुम्रा
भैसकेका थिए। मुखिया बाजे के के सोध्दै केरकार गर्दै थिए। मैले बुझेको यत्ति हो,
उसमाथि कित्थे बाजेका तामाका ताउला चोरेको आरोप लागेको थियो। तर उ किन्चित गलेको
थिएन। घरि निर्बिकार भावले आकाश हेर्थ्यो, घरी निहुरमुन्डी बन्थ्यो। मुखियाले
गालामा एक झापड हाने। तिखे दा खुत्रुकै जमीनमा लम्पसार भयो। तर बोलेन। मुखियाको
हातको बालाले होला, आँखिभौमाथि चोट लागेर रगत बग्दा उसको अनुहार अझ डरलाग्दो
देखियो। मैले यो दृश्य हेर्न सकिन र घर फर्के। यो घटनाको असरले धेरै दिनसम्म उसको घरको
बाटो हिडिएन। लामो छानबिन पछि यसै चोरि मुद्दामा उ जेल प-यो। उजलेका बुवालाइ बिना
अपराध फसाइएको हो भनेर उसकी जहान आमासंग रोएको सम्झना मलाइ अझै पनि छ।
उ जेल पर्दा म भर्खर
स्कुल जान थालेको थिए। बिस्तारै उजले जस्ता बाल-संगातिबाट म टाढिन बाहिरिन पुगे ।
पहाडी खोलाहरुमा पानी बग्दै गयो। हाम्रो जिवन समेत आआफनै लयमा आआफनै बाटो
लाग्नथाल्यो । बिभिन्न घुम्तिमा तिखे दा का टुक्रे खबर पाउदै गरे पनि यथार्थमा
हामी टाढाटाढा हुदै गयौ।
उसले निगालाको काम
जेलमा पनि चालु ग-यो रे। जेल कर्मचारीले उसलाई बिश्वास गर्छन रे। दिनभर जेलबाहिर
घाममा बसेर डोकोडालो बुनेको भेटने गाउलेहरु यस्तै खबर ल्याउदा रहेछन। यसरी गरेको
आमदानी र सिधा खर्च बचाएर घरमा रकम पठाएको खवर समेत सुनिन्थे, तर यो सब मेरो प्रत्यक्ष
सरोकारको बिषय थिएन।
यस्तैमा एक दिन तिखे
दा जेलबाट भागेको खवर आयो। ५।७ महिनामात्र कैद सजाय बाँकी हुदा उ किन भागेको होला?,
यो चर्चा र कुतुहलको बिषय रह्यो। कसै कसैले उ जेलमै रमाएको र फेरी थप कैदमा बस्न
चाहेको लख समेत काटे। कसैले डोटीतिर की कुनै दलित कन्यालाइ फकाएर उ भारत पसेको
अनुमान गरे। जे होस उ प्रहरीलाइ झुक्याएर भागेको खबरले गाउमा एकखालको सनसनी
फैलिएको थियो।
लगतैको कुनै दिन म
देहिमान्डौ बजार गएको थिए। भागेर लुकेको तिखे दा लाइ प्रहरीले पुन: पक्रेर ल्याउदै
पो रहेछन । हातमा हतकडी लाएको, नांगो खुट्टाले खुरुरु हिडेको तिखे दा सारै निरिह र
दयालाग्दो थियो। एउटा भुँडे प्रहरी हात बाधेको डोरि समातेर तान्दै थियो। अर्को
पुलिस पछाडीबाट लौरो देखाएर कुदाउदै थियो। बजारका सयकडौ आँखा वरपरबाट उसैमा
केन्द्रित थिए। यो घटना मेरालागि असम्भावित थियो। हाम्रै अगाडीबाट लैजादा उसका र
मेरा आँखा जुधे। उ केहि भन्न खोज्दै थियो। तर पुलिसले नांगा पिडौलामा छडीले बजा-यो।
तिखे दा चोटको पिडाले बेतोड उफ्रियो । भयभित-आक्रोशित अनुहार बोकेर उ सरोसर बैतडीको
बाटो लाग्यो। यो घटना पछि केहि दिन मलाइ राम्रो निन्द्रा नै परेन। चोटलागेका उसका
नांगा काला पिडौलाहरु सम्झि रहे।
दिन बित्न कति लाग्छ
र? उसको जेल भुक्तान भएछ। कारागारको कमाइले पुरानो घर मर्मत गरेछ र भर्खरकी
केटीसंग दोस्रो बिबाह पनि गरेछ। म एस एल सी दिएर घरमै परिणाम कुरी रहेको थिए।
गाउमा सरपट नापी चलीरहेको थियो। मुखियाको कामदाम गर्ने ब्यक्तिको हैसियतले पोतको
रसीद दिने, टिपन काटने, सनद उतार्ने काम मेरो जिम्मा थियो। तिखेदासंग फेरी मेरो भेट
भयो।
थेप्चो कालो अनुहार
भित्रका पहेला ठुला दाँत देखाउदै ‘जदेउ’ को परंपरागत अभिवादन ग-यो। रिथि(मालिक) को
नौलो सम्बोधन पचाउन मलाइ हम्मे हम्मे नै पा-यो। एकलो मौका पारेर उसले धेरै पाको
कुरा सुनायो र आफनो बिगतको बेलिबिस्तार लगायो। आफु चोर नभएको सपष्टिकरण पनि दिइ
रह्यो। अन्तमा स्मित हास्यका साथ सोध्यो, ‘रिथि! तमरो पनि केइ समान चोरेको छु र?
यसै क्रममा चोरीको
निम्ति उक्साउने केहि गाउँकै कथित सम्भ्रान्तको नाम लिदा म तिन छक परे। जेलमा
बस्दा डोको नाम्लो बुनेर राम्रो आमदानी गरेको फेहरिस्त पनि बतायो। अझ जेलमा पनि
परिश्रमको मोल मार्न थालेकोले एउटा स्थानिय हवल्दारलाई फसाउन मात्र आफु भागेको
ब्यहोरा पनि बतायो। बुढीलाइ कामगर्न सारै सास्ति भएकोले सघाउनका लागि एउटी टुहुरी
केटिसंग बिहे गरेको कुरा सुनाउदै उ आसु खसालेर रोयो पनि। म चिसो पस्ने गरी उसको
जिवन-दर्शन र यात्रा- कथा सुनी रहे । यसैको रन्कोमा केहि दिन रन्थनिए पनि ।
नापीको काम सकियो,
मैले एस एल सी पास गरे। स्थानिय स्कुलमा शिक्षक हुन चाहेको थिए। तर त्यसबेलाका
ठुला ठालुलाइ नटेर्ने स्वभावका कारण मैले कहिल्यै शिक्षकको हैसियतले बिद्यालय
टेक्न पाएन। अकस्मात एकदिन तिखेदा मसंग फेरी भेट गर्न आयो । उसले भन्यो, ‘ रिथी!
यसरी यस गाउँमा गुजरान हुदैन । यहाँका फटाहाहरु राम्रा मानिसलाइ रहनखान दिनेवाला
होइनन्। कतै सरकारी नौकरी खोजनु प-यो।‘
सदरमुकाम एकलै जान
नसकने हामी गाउलेलाइ त्यसबेला सरकारी नौकरीको सपना देखनु सारै सकसको काम थियो। उसले जेलमा चिनेका केहि पुलिस, केहि कर्मचारी र
केहि हाकिमहरु मार्फत आफु सहयोग गर्न सक्ने कुरा सुनायो। त्यति मात्रै होइन, खर्च
लागे पनि आफु ऋण सापट खोजन सक्ने भरोसा पनि दिलायो। वास्तवमा ति दिनहरु यतिकै कचमचमा
गए। समय घर्किदै गयो । हामीले फेरि आआफनो बाटो ततायौ।
नभन्दै मैले सरकारी
नौकरी नै गर्नु पर्ने परिस्थिति बन्न गयो। ततपश्चात गाउँ जाने क्रम पातलियो। हामी
महेन्द्नगरतिर बसाइ स–यौ। तै पनि यदाकदा गाउँ जादा म तिखेका बारेमा बुझने गर्दथे।
पिताजी स्वर्गे हुदा मलामी जान नसके पनि उ दिन भर बाटोमा बसेर रोइरहेको थियो रे। हाम्रो
परिवारसंग उसको राम्रो भावनात्क सम्बन्ध थियो। मसंगको छोटो भेटमा सामान्य
औपचारिकता बाहेक केहि स्मरणिय घटना भएनन। कहिलेकाहि पुरानो लुगा कपडा दिएर आउथे र उ
हाम्रो घरको साधारण काम सघाउने क्रम-उपक्रममा
यथावत चलि रहन्थ्यो।
मैले पाएका खबर
अनुसार ‘तिखे दा’ ले बिहे गरेकी भनिएकी डोट्याल्लीलाइ केहि बर्ष पालेर अर्कैसंग घरजम
गर्न पठाएछ। उजलेलाई पढाउन पनि खोजेकै रहेछ, तर उ पिताकै पदचिन्हमा हिडेछ। जिल्ला
सदरमुकाम तिर चिनजान बढाएपछि त तिखे दा पनि अलिक टाठो भएछ। यदाकदा फटाहाहरुलाइ
मैले पनि फसाउन जानेकोछु’ भनी धम्काउने पनि गर्दो रहेछ। पंचायतकालमा त उ एकपल्ट
वार्डसदस्यको उमेदवार पनि भएछ। म संग भने धेरै कुरा गर्नुछ भनेर भन्थ्यो रे। सयोग
नै त्यस्तो जुरेन। उ मरेको खवर ६ महिना पछि मात्र मैले थाहा पाए। यसरी एउटा
शुभचिन्तक असमयमै बिलायो।
समयको गति अचंभको हुन्छ। कालक्रममा म प्रमुख जिल्ला अधिकारीको हैसियतमा बैतडी खटिए। त्यो तत्कालिन श्री५को सरकार ढलेको र नेपाल सरकार उम्रिएको अबधि थियो, अर्थात ०६३,०६४ सालको कुरा होला। माओबादी जनयुध्दका कारण निष्फिक्री गाउगर्खा घुम्न सक्ने अवस्था थिएन। तर मलाइ आफनो पुरानो थातथलोको यावत खवर निरन्तर प्राप्त भै रहन्थ्यो। द्वन्दकालमा यी सुचना नै मेरा सर्बोत्तम हतियार बने। कहि कतै अप्रिय घटना भएनन। तिखे दा को छोरा उजलेले गाऊको सबै जमीन बेचीवरी दुर्गास्थानको
स्थानिय बजारमा निगालाको सामान बनाउने गरेको रहेछ। म जिल्लामा खटिएको ४,५ महिना पछि उ खुशि भएर मेरो अफिसमा आएको थियो। घरको
बेलिबिस्तार बितायो र त्यो बर्षको होलि गाऊँमा मनाउन आउने भनी निम्तो पनि दिएर
गयो। उसकी बुढी आमैले ६ महिनाको बृध्द भत्ताको रकम पाएकी रहिनछन्। तत्काल गा बि स सचिवलाइ खबर गरी घरमै रकम बुझाउने ब्यबस्था मिलाइ दिएपछि उ खुशी भएर नै फर्कियो। काटिकुटि आफनै बुवा जस्तै देखिने उजलेको जीर्ण खण्डहररुपी कायाको आँखीझ्यालबाट तिखे दा मलाइ पुराना दिन सम्झाइ रहेको थियो । उजलेलाइ औल्याउदै उ भनिरहेको
थियो,सँधै हारेका यिनीहरु अब जीतको अर्थ बुझ्दैछन। मलाइ लाग्यो, पहिले यिनीहरु
मर्नका लागि बाँचेका हुन्थे, अब असली अर्थमा बाँच्नका लागि मर्न तयार छन् ।
No comments:
Post a Comment