श्रीकेदारको आलमा बडू बाहुनको बसोबास
कालि किनारका बनबस्ति चहार्दै, कोटकिल्लाहरुमा पुरुषार्थ प्रदर्शनगर्दै
मोति बडू र उनका छोरानातिहरुले तत्कालिन माँग अनुसार कूट-युध्द र मल्ल-युध्द
दुबैमा कुशलता देखाए। श्रीकेदारको आलभरि त्यसबेला भाट, अठोला, रावल, पुजारा, ओली,
कठायत, बोहरा, लुहार, सुनाहा, दमाई आदि बाइस जातजातिका मानिस बस्दथे। यिनीहरुको
आपसी सम्बन्ध ज्यादै कटुतापुर्ण थियो। यसैको फाइदा मोति बडू र उनका सन्तानले उठाए।
ऐचेकाँणाका भाट,पसक्वालका ठगुराठी, पुजारागाँउतिरका रावल, पुजारा, अठोला, ओली र
स्याडा सबै यहाँबाट अन्यत्र पलायन भए।
यि सबैमध्ये मोटा भाट भने असाध्यै बलबान थिए। यिनीहरु बाह्र भाइ थिए
र असिमीकेदारका पुजारी पनि यिनीहरु नै थिए। यिनलाइ प्रत्यक्ष युध्दमा हराउन धौ
थियो। मोति बडुका नाति दशरथ, काशी, शंकरे र परके बडू मिलिवरी कन्नेउणा भन्ने
स्थानमा कात हालेर तरवारले खुट्टा काटि यिनलाई मारेका थिए रे। त्यसबेला यि मोटा
भाट बाइस पुला सोतरको भारि पिठ्युमा बोकेर बिनौला (कपासको बियाँ) पिस्नको निम्ति
ठुलो कालो स्लेट-ढुंगा खुट्टाले खेलाउदै ल्याउदै थिए भनिन्छ। यो कालोपाट अद्यापि
चौरामा राखिएकोछ। यिनै मोटाका नाबालक छोरालाइ तान्त्रिक बिधिपुर्बक बाघद्वारा
मार्न लगाइएको थियो। यि भाट देवताका पुजारी थिए। मोतिका पाँचौ पुस्ताका रुद्रे
बडूका पालामा यिनलाई देव-अंश मानि पुजा पाठ गर्न थालियो।
मोति बडू र उनका सन्तानले
सुरकालमा आफनो प्रभाव जमाउदै जाँदाको समयमा डोटी प्रदेशमा राजा नागी मल्लको चकचकी
थियो। देवीदेउताको शक्ति परिक्षण गर्दै स्थानिय सामन्तहरुलाइ कज्याएर करद (कर
तिर्नै) तुल्याउदै हिडने राजा नागी मल्लले श्रीकेदारको आलमा समेत आँखा गाडेका थिए।
‘अरुको बस्यो राज, नागीमल्लको हिडे राज’ भन्ने लोक भनाइ अझै सुनिन्छ। राजा नागी
मल्ल जहाँ पुग्दथे, त्यहाँ उनको राज्य कायम हुन्थ्यो नै।
असिमी केदारको मन्दिरमा लुटपाट मच्चाइ यहि बाटो बैतडी प्रबेश गर्ने
मनसुबा बनाएर घनघस्श्याको गणेश लेकसम्म नागी मल्लले फौज समेत ल्याइ सकेका थिए।
संयोगबश त्यहाँ पुगेका मोतिका ज्येष्ट सुपुत्र प्रतापदेव बडूले नागी मल्ललाइ
बाटोमा भेटेछन। यि चतुरा नवयुवकले ग्वाल्लेक डाडाभरि बिशाल पल्टन राखिएको झुट्टा
खबर बनाएर नागी मल्ललाई उतै अजयमेरुकोटतर्फ फर्काइ दिएछन। ग्वाल्लेकको शिखरभन्दा
दक्षिण थरौट भन्ने डाँडामा अद्यापि देखिने काला चुच्चे ढुंगाको लहरदार दृश्यलाइ
पल्टनको युध्दाभ्यास भनी भ्रममा पारिएको थियो। यसप्रकार इतिहासको त्यो
रक्तपातपुर्ण कालखण्डमा एउटा भिषण युध्द र लुटपाटबाट श्रीकेदारको आल सुरक्षित
रहेको थियो। यसै सन्दर्भको ‘पितृभुमीका पहाड’ शिर्षकको ऐतिहासिक कथा http://bibidha.blogspot.com/2011/03/blog-post_17.html यस लिंकमा पढन
सकिन्छ।
यसै गरी थरौटकै तल लाछमारे भन्ने स्थानमा सङौणकोटबाट आएका आततायी
सामन्त-पुत्र लछी चन्द मारिएको घटना पनि उल्लेखनिय छ। सङौणकोटको राज्य बिप्लबबाट
भाग्न खोजेका लछी चन्दलाई मोति बडूकै छोरा नातिहरुले घेरा हाली गाऊको सिमानामा
ल्याई मारेका थिए रे। उनको लाशलाई उनकै घोडामा सङौणकोट फर्काइएको थियो। यसै
बिद्रोहको बेला सङौणकोटमा राजा खेमचन्दलाइ मारि केहि दिन उनकै रानी ताराको नामबाट
राज्य चलाइएको थियो। त्यसपछि जैतु चन्दलाइ खोजेर राजा बनाइएको थियो। यि घटनाहरुमा
मोति र उनका सन्तानको अहम् भुमिका थियो।
मोति बडू र उनका सन्तानले बिजेताका रुपमा यस गाउँमा प्रबेश गरेका
थिए। तर श्रीकेदारको मूलगुठियारको हैसियत कायमराखी वरपरका चन्द, बोहरा, ठगुन्ना,
भाट, भण्डारी, ठगुन्ना, पैतोलासंग तत्तत आधारमा काम तोकी राम्रो सम्बन्ध कायम गरे।
पराजितहरुको समेत सम्मान गर्ने सुन्दर परम्पराको शुरुवात गरियो। श्रीकेदारको
आशिर्वाद प्राप्त गरेपछि यो ठाउँमा बडू बंशको रजगज चल्यो। बेदान्त दर्शन र
तन्त्रमन्त्रका ज्ञाता मोति बडूले श्रीकेदारको अभयदान पाएपछि तन्त्र साधनाका
पुस्तकहरु मन्दिर छेउ कै सिमसारमा फ्याँकेका थिए भनिन्छ। त्यसपछि यिनले देवताको
पुजा स्वयम् चलाए। स्थानिय देवीदेउताको पुजाआजा गर्ने परम्परालाई लिपिबध्द गरि
नयाँ दरबन्दी तोकिएको सम्बत १९९५ को खडग निशाना तेरीजको ब्यहोराले पनि यसको
पुष्ट्याइ गर्दछ।
यि पुर्खाहरुको अनुकरणिय जुझारुपन, अव्दितिय पाण्डित्याइ र अनुपम
कौशलका कथाहरु यस गाउँलाइ सदैब मार्गदर्शन गरि रहनेछन। यस बंशका शिर्ष पुरुष,
बडूबंश शिरोमणि, हाम्रा प्रात: स्मरणिय महान पूर्वज, वेदवेदांगनिष्णात, विविध-विद्या-विशारद मोति बाजेको आदर्शले कर्तब्य
पथबाट बिचलित नहुन सदैब सबैलाइ प्रेरणा दिइरहनेछ तथा श्रीकेदारको आल सधै सुरक्षित
शान्त र सम्मुन्नत रहिरहनेछ।
No comments:
Post a Comment