‘कुमौं
है खप-या आयो, कसो गरौ? भाइ!’ /
‘वारी पारी दैत्य खेणि,
पौचलो ताँई, //
(–स्थानीय लोक गाथा)
विशाल
विश्व रंगमञ्चमा वर्णित गाउँको सानो अस्तित्व र यहाँका बासिन्दाहरुको हजारौं
वर्षको नालीवेली बारेमा पछिल्लो अध्यायमा चर्चा गरियो । यो लामो सन्दर्भमा देखा
परेका सहयात्री र सगोत्रीहरुका बारेमा बोलिएन भने यो नालिबेलिको यात्रा अधुरो
रहन्छ । त्यसैले अबको यात्रा नयाँ मुकामतिर लक्षित गरेका छौं । अज्ञातवाट ज्ञाततिर
र अन्धकारबाट प्रकाशतिर हिडन चाहने अथक हरुका लागी यो नयाँ मुकामले नयाँ
क्षितिज देखाउनेछ ।
वर्तमानमा
बडूहरु सुरकालमा मात्र वस्दैनन् । नेपालको वैतडी, दार्चुला, बझाँग,
डोटी, डडेल्धुरा, अछाम,
बाजुरा, जुम्ला, गोरखा र
तनहुँ जिल्लामा पनि बडूहरु बस्दछन । यसैगरी भारतको पिथौरागढ, धारचुला लगायत उतराञ्चलका विभिन्न स्थानमा बडूहरु भेटिन्छन । सुरकालबाटै
पनि नेपालमा महेन्द्रनगर, बेलौरी, गुलरिया,
व्रह्मदेव, दैजी, सिसैया,
धनगढी, नेपालगंज, काठमाण्डौं लगायत
भारतको फैजावाद, पिथौरागढ, बम्बै आदि स्थानमा बडूहरु छरिएका
छन् । वैतडीको सुरकाल बाहेक बगाडी, खोल्सी, कलौन र पुर्चौडीमा
समेत बडूहरु छन् ।
यी
सबैको नालीवेली खोज्नु निक्कै उकालो काम हो । यी प्रत्येक ठाउँका आ–आफ्नै खालका श्रव्य–ईतिहास छन्, आ–आफ्नै किम्बदन्ति छन् । यी सबैलाई समष्टिगत स्वरुप
दिन जमर्को नै भएको छैन । तर सबै ठाउँको मूल स्वरुप लगभग एउटै छ । ‘बडू’ वंशनाम ‘बडा’ कै अपभ्रंस भन्ने सबै मान्दछन् । सबैले आफ्ना पुर्खाहरु भारतबाटै आएको
बताउछन् ।
प्रकारान्तरले
केहि भिन्न दृष्टिकोण आए पनि ‘बडू’ थर
पछि कायम भएको हो भन्नेमा व्दिबिधा छैन । उदाहरणार्थ कुमाउँका ईतिहासमा जोगेश्वरका
पण्डाहरु पनि भट्टका संतान ‘बडू’ सँग
सम्बन्धित रहेको विवरण उल्लेख छ । राजा उद्यान चन्दको जमानामा यिनीहरु बनारसबाट आएको
बताउछन् । यसै गरी शंकराचार्य सँगै आएका कुमारिल स्वामीले आफ्नो साथमा दक्षिण
भारतका भट्टहरुलाई समेत लिएर आएका थिए । यिनै भट्टले कुनै पहाडी कन्या संग
विवाहगरी यतै बसेका कारण वटुक, वडूवा वा बडू कहलिन गए भन्ने
किम्बदन्तिहरु पनि उल्लेखनीय छन् । उतरकाशी नजिक एउटा ‘बडूकोट’
भन्ने गाउ अझै छ । गढवाली भाषामा त ‘बडा’ शब्दको उच्चारण नै बडू
भनेर गरिन्छ। यसैगरी गोत्र पनि कतै कतै फरक परेको देखिएको छ । तर थर गोत्र
प्रवरावलीमा उल्लेख भए अनुसार र योगी नरहरी नाथको भनाईमा जुनसुकै गोत्रको भए पनि एकिन
गोत्र थाहा नपाउदासम्म काश्यप गोत्र दिने
प्रचलन आर्य नीतिमा पहिलेदेखि चलेको हो। सुदूर पश्चिममा प्रचलित लोक गाथा र लोक
गीतहरुमा समेत बडूभाट (बडू भट्ट) का चर्चा समेत निक्कै गरिएको छ । कुनै कुनै
लोकगीत हरुमा त शिवजीले ‘बडू भट्ट’ को
रुप लिई गौरा पार्वतीलाई छकाउन पुगेको वर्णन गरेका छन् । यस कारण यो पंक्तिकारलाई
बडूका पूर्खाहरु मूल रुपमा अत्री गोत्र बाट आएका हुन र यस भन्दा पहिले उनीहरु भट्ट
थरका नै थिए भन्ने लाग्दछ । बडू–बन्धुहरुको थप विवरण
खोजी नीतिको विषय रहनेछ । त्यसो त सुरकालबाट मोती बडूका छोरा प्रतापदेव बडूले राजा
नागीमल्लको कोपभाजन हुनवाट यो गाउलाई जोगाएपछि घर सल्लाह नमिल्दा गृहत्याग गरी
उतराखण्डतिर लागेको ठानेर उनको नाममा एक मुठी थप पोखल (पुजा वापतको चामल) वजुवा
मुठी भनेर सबै बडूहरुले असीमी केदारलाई चढाउने गर्दछन । हाल सुरकाल बाहेक अन्यत्र
वसोवास गरेका बडूहरुको छोटकरी विवरण तल प्रस्तुत छ ।
दार्चुला, बडूगाँउका बडूहरुको
वंशावली
(श्रोत–जनकराज बडू, साभार-. सुदूरपश्चिमको ईतिहास)
मुसलमानको
आक्रमणका कारण वि. सं. १६०० तिर वनारसबाट पलायन हुँदै उत्तर भारत तिर पसेका
वनारसमा विश्वनाथका पूजारी समेत रहेका तीन भाई देवराज, भीमराज
र पृथ्वीराज पाण्डेलाई दार्चुलाका बडूहरुले आफ्नो पुर्खा मानेका छन । यी पाण्डेहरु
कुमाउका राजा आनन्द चन्दका राजगुरु भएर पनि बसेका थिए । यी मध्ये जेठा देवराज
पाण्डेलाई असकोटी रजबार ले दर्मा, व्यास, दुहु गलाँतिसम्मको वृत्ति पूजापाठ र देव पुजन कार्यको जिम्मा दिएका थिए रे।
महिला भीमराज कर्णाली तिर कान्छा पृथ्वीराज पाण्डेय मध्य पश्चिम गोरखा तिर गएका
थिए, भनिन्छ।
दुहु
प्रवेश गर्दा जेठा देवराजले सर्वप्रथम वीस नाली विउ जाने विसो गडो भन्ने स्थानमा
वसोवास जमाए । पछि दुहुका राजा कालु बमका मूल पुरोहित भएर बसे । राजाज्ञाबाट यिनै
देवराजका छोरा रामराज र तीनवटा नाती कालु, आनन्द र भानुदेव
हाल वसोवास रहेको हुतिको वान्नीमा सरेका हुन । यिनै कश्यप गोत्रीय कालु पाण्डेय
पछि कालु बडूका नामले प्रख्यात भए ।
लडाईका
बेला राम्रो साइत जुराई रणकौशल देखाए वापत दूहूका राजाले स्यावासी स्वरुप वान्नीको
व्यवस्था मिलाई देव वाजा ‘भोकर’ को
सम्मान दिँदै ‘बडो’ भन्ने उपाधी दिएको
बताईन्छ । यही ‘बडो’ शब्द पछि ‘बडू’मा अपभ्रंस भयो । कसै कसैको भनाई अनुसार
अस्कोटका पाल राजाले योग्यता परिक्षणका क्रममा रामराजका छोराहरुको
मन्त्रोच्चारणबाट मात्र हवन कुण्ड प्रज्वलित भएकोले वडा उपाधी पाएको हो । हाल दुहु
गर्खाको बान्नी गाउँलाई बडूगाँउ भनिन्छ । यहाँ ७/८ सय बडू
परिवार बस्दछन र यस क्षेत्रमा मल्लिकार्जून र लटिनाथको पूजा आजा चलाउछन् ।
यस
क्षेत्रमा स्थानीय लोकगीत, सगून, अठेवाली,
चैतालोमा वडोभाट या बडूभट्टज्यूको प्रशस्त वर्णन भएको छ । हाल
भारततिर बस्ने बडूहरुले भने प्रायः भट्ट थर नै लेखाउने गरेको पाइन्छ । यस वंशमा
हाल विभिन्न राठमा बडूहरु बाडिएका छन् । जस्तै हिराभाटि, अन्तु,
मजेला, पाँण, खल्भारी,
परचाल, डाडाधरी, सिलगाई,
च्यूराली, नौधरी आदि । बडू गाउँका अतिरिक्त
खलंगाको नमसकार, किम्तडी,
खेट्टेवगर, धौलीगाउ, धाप,
धौकोट, झूस्कू काँटे आदी ठाउँहरुमा समेत
बडूहरु बस्दछन । नेपाल सरकारका प्रथम प्रवक्ता, पुर्ब मन्त्री तथा नेपाली
कांग्रेसका प्रबक्ता दिलेन्द्र प्रसाद बडू यसै वंशमा जन्मिएका हुन र हाल नमसकारमा
बस्दछन ।
भारतको
वलुवाकोट,
पोखरी, काँणा, लिस्वा,
कालिका, वसौडा, रौं झाड,
नगतड, बजानी, सिमेखोला,
देवल दार्मा र जम्कूमा समेत बडूहरु बस्दछन । यिनीहरु अधिकांस भट्ट
थर लेख्छन् । अन्य बडू र कश्यप गोत्री पाण्डेहरु सँग यिनको सम्बन्ध वारेमा खोजवीन
हुन बाँकी छ ।
पूर्चौडी र बझाङ्गका बडूहरु
पूर्चौडी
कोटिलामा हाल २०/२५ परीवार बडूहरु छन् । यिनीहरु हुतिबाटै
यता सरेको बताउछन् । बझांगमा भने कोट भैरव बज्रेश्वरका पूजारी बडूहरु नै छन् ।
यिनीहरुले उपाध्याय वा जैसी भनेर नै आफ्नो परीचय दिएको देखिएको छ । बझाँगी राजा
सँगै यिनका पूर्खा यहाँ आएका र बझांगी राजाले नै बडू पदवी दिएको बताउछन् ।
डोटीका बडूहरु
डोटीमा
समेत धेरै ठाउँहरुमा बडूहरु बस्ने गर्दछन् । वर्छेनको बनेनमा बस्ने कश्यप गोत्रीय
बडूहरु हाल जोशी भनेर थर लेख्दा रहेछन् । यिनीहरु मंगलेश्वरलाई कुल देउता केदार
भनेर नै पूजा गर्दछन् । वी. पी. नगर बस्ने पद्मराज जोशीका अनुसार एघारौं शताब्दी
तिर भारतको कुमाउ गढवाल हुँदै शिवा बडू र राधा बडू नेपाल पसेका हुन् । यिनी सँगै
वोगटी रजवार र बोहरा समेत थिए । वर्छेनको जंगलमा तीस मिटर अग्लो डुंगामा गएर गाईले
आफैं दुध चढाएको देखेपछि त्यसै शिलालाई मंगलेश्वर केदार मानी बडूहरु वर्छेनमा
वसेका हुन । हाल मंगलेश्वरको पूजा भट्टहरुले गर्दछन् ।
गोरखा, धादिङ र तनहुँका बडूहरु
यिनीहरु
आफ्नो पुर्खा पश्चिम खप्तड तिरवाट आएको बताउछन् । विशेष काम गरे वापत बडाको उपाधी
पाएको र यसैबाट बडू थर कायम भएको मान्यता यिनमा पनि छ । निरन्तर सम्पर्क हुन
नसकेकोले थप विवरण पाउन सकिएन । तनहुँका पिताम्बर बडू नेपालमा नाम चलेका निर्माण
व्यवसायी मध्ये पर्दछन् ।
०६३
असौज २ का दिन राष्ट्रिय दैनिकमा छापिएको खबर अनुसार काठमाण्डौं विश्व विद्यालयको
बाह्रौं दिक्षान्त समारोहमा विशिष्ट अतिथि स्विटजरल्याण्डका प्रख्यात शिक्षाविद र
संरक्षणविद जन क्लाउड बडू थिए । यस आधारमा स्विटजरल्याण्डमा समेट बडूहरु पुगेको
अनुमान गर्न हुन्छ । इ ए बडू घानाका प्रख्यात अन्तरराष्टिय खेलाडी हुन्। यिनि
इटलीको उडनीज क्लबबाट खेल्ने गर्दथे। एरिका बडू जर्मनीकि प्रख्यात हिप-हप र जाँज
गायिका तथा अभीनेत्री हुन्। यिनीलाइ नियोसोलकी प्रथम महिला पनि भनिन्छ।
त्यसो त
नोवेल पुरुस्कार विजेता डा. नायपाल स्वयम् नेपालीमूलका भएको र पाल्पा तिरका नेपाल
यिनको मूल पूर्खा भएको चर्चा नेपाली अखवारमा पहिले पनि चलेकै हो । अष्ट्रेलियामा
बडू नामका जनजाति बस्ने भएकोले एउटा टापुको नाम नै ‘बडू” राखिएकोछ। सिडनीको
ओलम्पिक स्टेडियममा यसै टापु र जनजातिको नामले पार्किङ्ग स्थलको नाम बडू पार्किङ्ग
राखिएको रहेछ। भारतको हिमांचल प्रदेशको सिरमौर जिल्लामा बडू साहेब नामको सिख्ख
समुदायको प्रख्यात तिर्थस्थल छ। कलगीधर ट्रष्टबाट यहाँ लंगरको ब्यबस्था गरिएकोछ। जे
होस, यो सबैको सम्बन्ध-सुत्र अनुसन्धानको बिषय त हो नै।
श्री
केदारको आल भित्रै पनि बडूहरुकै सहयात्रीका रुपमा बोहरा, लुहार र पैतोला हरुको पनि
वस्ती छ । निसन्देह यिनीहरु यस वस्तीका लागी पुराना बासिन्दा हुन । यिनका
पितापूर्खाले बडूहरुका बाजे बराजेलाई यस वस्तीमा वसोवास गर्न सघाएको हुनु पर्दछ ।
यिनका संतानबाट टिपिएको सानो विवरण समेत यहाँ सान्दर्भिक होला जस्तो लाग्दछ।
दियाल गाउँका बोहराहरु
यि
बोहराहरुका बाजे यस गाँउका सबभन्दा पुराना बासिन्दामध्ये हुनु पर्दछ । मोती बडू यस
गाँउमा आउनु अगावै यहाका बाईस थरमध्ये बोहराहरु पनि थिए । काल–क्रममा अरुहरु पलायन भए पनि यिनका बाजेले क्षेत्रीका हैसियतमा बस्न राजी
भएकाले मिलिजुली यसै गाँउमा देउताको सेवा गरी बस्न थालेका हुन् । यिनीहरु हाल १५/२० परीवार छन् ।
खुटकुणि ओडार बस्ने लोहारहरु
यस
क्षेत्रकै प्रथम निवासी लोहारहरुलाई पछि आएका बिजेता जातीले आफूभन्दा कम सम्झन
थाले । विजयीहरुले कमजोर माथि प्रभुत्व जमाउने पुरानै प्रचलन हो । फलतः यो समूहले
जातीय अपमान सहन बाध्य हुनु प-यो। यिनका पूर्खाहरुले समेत
ईतिहासमा यदाकदा ठुल्ठुला काम गरेको वर्णन छ । कलिया लुहार यहाँको लोक गाथा र गीतहरुमा असाध्यै सम्माननीय नाउँ हो । कूमाउको
चमारकोट होस या बाजूरा साप्पाटाको डूम्कोट होस, यिनको पनि
आफ्नो अलग विजय गाथा छ । यथार्थमा शिल्प सौन्दर्य, सांस्कृतिक,
धरोहर, व्यवसाय, कारोवारका
प्रणेता यिनै हुन् । आफ्ना पिता पूर्खाका बारेमा यिनको आफ्नै मत छ ।
ईसवी
बाह्रौ शताब्दिताका मूसलमान अत्याचारबाट जोगिन उत्तर भारततिर आएका विभिन्न जातीय
समूह सँगै यिनका बाजे पनि यहाँ आएका हुन । तत्कालिन व्यवस्थामा राज्यको तर्फबाट
जातीय नाम दिइने प्रचलन व्यापक थियो । कथित राजाहरुको कोप भाजन भएर नै अधिकांस
श्रमजिवी लोहारहरु तल्लो जातमा दरिन पुगे । हाल सुरकालमा १५/२० परीवार लोहार छन् । यिनीहरु खुटकुणि ओडार, सिम्नोला
र खनेउलामा बस्दछन् ।
सहयात्री
सगोत्रीहरुको यो विवरण असाध्यै लामो हुन सक्दछ । यसलाई यथा समयमा परिमार्जन गरी
प्रस्तुत गर्ने प्रयास रहने छ । समष्टिमा साझा धर्तिका सन्तान हामी मानिसहरु लाई सानो
ठूलोको विभेदभन्दा पनि समानताको हैसियतमा यो विश्व उद्यानमा फुल्नु छ, फल्नु छ । यहि पुनीत उद्देश्यको खातिर सहयात्री सगोत्रीहरुको विगततिर
हेर्ने जमर्को गरिएको हो । यो उच्चतम भावनामा सबैको सहयोग पुग्ने विश्वास छ ।
No comments:
Post a Comment