Wednesday, May 22, 2013

पुर्ख्यौलीका प्रसंगहरु-४

४- कालु भट्टदेखी मोति बडूसम्म

    प्रत्येक देश, गाँउ तथा कुलको आआफ्नो परिभाषित परम्परा र इतिहास हुन्छ। यसैको आधारमा अमुक स्थान र समुह बिशेषको सनाखत गरिन्छ। यसै पहिचानका माध्यमबाट हामी पुरानो पिढीको कुनै महान पुर्वजसंग जोडिन्छौ, जसको बारेमा कुनै लिखित या मौखिक जानकारी प्राप्त गरेका हुन्छौ। दुर्भाग्यबश हामीलाइ यस्ता पुरातन इतिहाससम्म लैजाने साक्ष्य सुचनाहरुको नितान्त अभाव छ। तर हाम्रा लोकोक्ति, लोकगाथा तथा पारिवारिक बुजुर्गहरु द्वारा वर्णित पुराना कुराहरुले त्यो लामो बिगतको अँध्यारो गुफामा हेर्न मिल्ने गरी केहि उज्यालो छोडेर गएकाछन। त्यसैले सर्ब प्रथम म मेरा सम्पुर्ण कुल-खानदानसहित मेरो कुल-बंशका प्रथम पुर्बज महान मनिषि तथा सर्बशक्तिमान स्थानिय ईष्ट कुलदेवतालाइ नमन गर्दछु। ति महान आराध्यहरुको आशिर्बाद पाएको हुनाले आफुलाइ भाग्यशाली पनि मान्दछु।  

   
मेरा आर्य पुर्खाहरुको पश्चिंमी पहाडमा प्रबेशको क्रम आर्याब्रतमा भएका बिभिन्न आक्रमण प्रत्याक्रमणका तत्कालिन कारणले तेह्रौ शताब्दिको अन्त्यतिर खुप्पै बाक्लियो। अशान्ति अब्यबस्थाको त्यो युगमा स्थानिय शासकसंग निकटता स्थापित गर्न बत्सराजका सन्ततिका पराक्रमले यिनीहरुलाइ सघाएको हुनुपर्दछ। त्यसताकाको जातिय ब्यबस्थाको उल्लेख गर्दै अठकिन्सनले  मैदानबाट पहाडतिर उक्लेका २५० जति बाहुन डफ्फाहरुको बर्णन गरेकाछन्। उनका अनुसार यिनीहरु प्राय: खेतिपाती नै गर्दथे। बिष्णु वा शिबको पुजा गर्दथे र कोहि भैरबका पुजारी समेत थिए। पछि यिनीहरु खासगरि बसेको ठाऊको नामबाट चिनिन थाले। धेरैलाई आफनो शाखा, गोत्र र प्रवरको पनि जानकारी रहेन। राजा रुद्र चन्द्रले यिनलाई १५० बर्गमा बाँडेका थिए। थुम्का कोटहरु एकापसमा लडाइ झगडा गरीरहने हुँदा यदाकदा गोत्र परिवर्तन गरिरहने र राजाज्ञाबाट थर समेत परिवर्तन हुनथाले। गोरखाली शाहबंशिय राजाहरुले समेत गोत्रहत्याको प्रायश्चित स्वरुप २ पटक गोत्र परिबर्तन गराएका उदाहरण छन। थर गोत्र प्रबरावलीमा समेत गोत्र एकिन नभएको खन्डमा कश्यप गोत्र राखन सकिने कुरा उल्लेख छ।
   यसैताका झण्डै सातसय बर्ष अगाडी काशि बनारस हुदै कालु भट्ट नाम गरेका बिद्वान ब्राह्मण समेत महाकाली तरेर यस क्षेत्रमा प्रबेश गरे। यिनका तिन भाई छोराहरु जासु, उदासू र त्रिपुरराज भट्टले यहाँका पहाडहरुमा बसाइ सराइ गर्दै रहे। दुर्दान्त बनजंगलहरुमा बस्ति बसाउदै र बसाइ सर्दै महाकाली पुर्बको वायुतटीय प्रदेशमा यिनी मध्येका  त्रिपुर राजका छोरा नातिहरु क्रमस: काशिराज, श्यामराज र गजराज भट्टको जिवन सकियो।   गजराज भट्टका छोरा मोति भट्ट सारै ठुला बिद्वान थिए। ज्योतिष र तन्त्र शास्त्रमा समेत यिनको दखल थियो। यिनी त्यस बखतका जाज्वल्यमान पंडित त थिए नै। तन्त्रसाधना गरि उनले सङौणकोटमा औंसीको रातलाई पुर्णिमाको जस्तै झलमल बनाइ दिएका थिए, आफनै घुँडाको चुलो बनाएर भात पकाएका थिए। यसैकारण स्थानिय शासकहरुले यिनलाइ “बडाभट्ट” उपाधि दिएपछि यिनि सोहि नामले प्रख्यात भए। समयक्रममा यिनका सन्तानहरुले बडोभट्टबाट संक्षेपीकरण र अपभ्रंश हुदै “बडू” भनेर बंश परिचय कायम गरे। बंशावलीमा लेखिए जस्तै “सङौणकोट दुर्ग निकटे, केदार समिपे, श्रीकाल ग्रामे” अर्थात सङौणकोटको किल्ला नजिक, केदार देवता समिप, सुरकाल भन्ने गाउँमा मोतिका संतानले बस्ति बसाले। बंशावलीमा मोतिलाइ आधा दिनका बडू र आधा दिनका भट्ट भनिन्छ। भनाइको मतलब मोति भट्ट नै कालान्तरमा मोति बडू कहलिए। यिनैबाट बडू बंश चल्यो। यो बंशलाई स्थानिय लोकगाथामा “काशी पण्डितका नाति, सुनको जनेउ, मोतिको पानी” भनेर खाँडो जगाउने गरिन्छ। “ब्रह्म बंशोदभव: षटग्रहित धर्म बिरताम् आत्रेय गोत्रस्य अत्री सासानवसांगोत्री त्रिपुरबरमार धुनधुन्नी शाखायाम् श्रीमान पण्डित---“जस्ता बिबिध बिरुदावलीयुक्त प्रत्यय जोडेर मोति बडूका सन्तानहरुले आफनो बंश परिचय कायम राखेकाछन्।   बर्तमानमा बडूहरु भारत र नेपालको धेरै ठाउँमा बसेका भेट्टिन्छन। यथास्थान यि सबैको आआफनै श्रब्य ईतिहास हुन सक्दछ। तर सबै ठाऊँको मूल स्वरुप लगभग एउटै छ। बडाको अपभ्रंश नै बडू हो भन्ने सबै मान्दछन। यस आलेखमा श्रीकेदारको आल सुरकाल भित्र बस्ने मोतिबडूका सन्तानहरुको मात्रै बिशेष चर्चा गरिएकोछ।



No comments:

Post a Comment