रागस पुरिको राज हो लो भइ, मनेषु हमी कै का।
स्थानिय धार्मिक लोकगाथा
हाम्रा गाउँघरको भुगोल र
यहाँका देवस्थलको सन्दर्भमा बिचार गर्दा हाम्रो भौगोलिक र सामाजिक बाताबरण छायामय
देखिन्छ। पुरानो र नयाँ दुइ संसारको बिचको सियालो घाममा आआफनो भावना अनुरुप
गाउलेहरुले सपष्ट असपष्ट आकृति दिने गर्दछन्। अर्थात यहाँ घाम ताप्न पनि सकिन्छ र
छायामा बस्न पनि सकिन्छ। यहाँ ग्राम देवताहरु बिराजमान छन। हिन्दु देव-देबीका ब्रत
त्यौहार मनाइन्छन। र यहाँ पितर, पुर्खा र मुक्तात्मा बिचरण गर्छन पनि भनिन्छ।
अर्कोतिर कठोर धरातलीय यथार्थ छ। आधुनिक संचार, बिजुली, पानी उपलब्ध छ र संभावनाका
नयाँ ढोका खुल्दैछन।
यो सब हुदाहुदै पनि
गाउँलेहरुको साझा अनुभब के छ भने यहाँ केहि छ जो चिन्न र जान्न सकिएको छैन्।
बिगतमा यहाँका इतिहासलाइ अरुले लुकाए, बंग्याए। यसरि आफनै जरा-पात थाहा नभएपछि
लाटो सुधो भै चुपचाप बस्न बाध्य हुनै प-यो। सम्बेदना शुन्य पारेपछि जसलाइ पनि पाखा
पार्न सकिन्छ, भुत्ल्याउन पाइन्छ। अत: सबैले आफनो पुर्ख्यौली इतिहासलाइ राम्रोसंग
बुझनु पर्दछ, बुझाउनु पर्दछ। भनिन्छ, जो बाहिर हेर्छ, त्यो सपना मात्र देख्दछ। तर
जो आफुभित्र नियाल्दछ, त्यो वास्तबमा बिउझिन थाल्दछ।
यसर्थ यस आलेखमा मेरो
गाउँका बासिन्दाका महान पुर्खा र उनका अग्रणी आदर्शहरुका बारेमा जाने बुझेसम्मका
कुरा तपसिलका खण्डमा लिपिबध्द गर्ने प्रयास गरिएकोछ।
गोत्र प्रवर्तक
आदिपुरुष अत्री
यो गाऊँ अत्री
गोत्रोत्पन्न बडूबंशीय ब्राह्मणहरुले भरिएकोछ। त्यसैले उनै आदि गुरू अत्री र उनको
आश्रमको सेरोफेरोबाट यहाँको पुर्ख्यौली इतिहास शुरु हुन्छ।
ब्रह्माका मानस पुत्र,
सप्तर्षि मध्येका ऋषि-प्रवर अत्री धर्म शास्त्रका ब्याख्याता र अत्री संहिताका
निर्माता पनि हुन। स्थानिय स्वशासन कस्तो हुनु पर्छ? भन्ने बारेमा अत्रीसंहिताले
बिशिष्ट ब्याख्या गरेकोछ। गोत्रका शिर्षस्थ ऋषि अत्रीव्दारा निर्मित संहिताको अटूट
साइनो यहाँको ढुंगा माटोसंग गाँसिएकोछ। एकान्तमा आफुले आफैलाई खोज्दा अत्री
आश्रमका पदचापहरु सुनिन सक्छन, देखिन सक्छन्।
पुराणहरुमा देवर्षि र
राजर्षि गरी अठासी हजार ऋषिहरु थिए भनिन्छ। सुदूरपश्चिमका लोकगाथाहरुमा सोलसय ऋषेश्वरहरुको
बर्णन आउँछ। संख्यामा जे जति भए पनि गोत्र प्रमुख ऋषिहरु एकान्त शान्त जंगलका
आश्रममा बस्दथे। आश्रममा गाई पालिन्थे र शिष्यहरु गाइ-गोठको हेरचाह गर्दथे।
गो-पालकको यो समुह नै कालान्तरमा गोत्र कहलियो। गोत्र समुहमा बिहावारी बर्जित
थियो। तर समय क्रममा जात वा थर भने कामको आधारमा, बसेको ठाउँको आधारमा या यदाकदा
स्थानिय राजा रजौटाको सन्की आदेशको भरमा समेत कायम हुन थाल्यो।
अद्यापि नेपालमा ३६ गोत्र
र प्रबर प्रचलित छन भनिन्छ। नेपालमा बसेका जातिहरु मध्ये बडू, अवस्थी, पाठक, ओझा,
पैतोला(पाण्डे), पौडौल, दुलाल,दवाडी, पन्थी, डाङी, रावल, पोखरेल आदि अत्री गोत्र
भित्र पर्दछन।
प्राचिनकालमा बायुपर्वत
ग्वाल्लेकको फेदीमा फैलिएको बिशाल प्राकृतिक बन बाटिकामा यत्रतत्र ऋषिमुनीका आश्रम
हुँदा हुन्। यहाँ दैनिक धर्म-चर्चा चल्दो हो, यज्ञयज्ञादि चल्दा हुन्। यिनै
आश्रमका केदारलाइ कालान्तरमा असिमी-केदार भनिएको हुन सक्छ। केयौ स्थानका नाम यसरी
नै अपभ्रंश हुदै प्रचलनमा छन। जस्तै- बायु-तट(खुबै हावा चल्ने किनार) बाट बैतडी,
देवताको भ्रमण गर्ने ठाउँ(देवाटपि) बाट डोटी, नभचर डुल्ने पहाड (खेचराद्रि)बाट
खपतड, कुर्म अवतार भएको ठाउँ(कुर्माञ्चल)बाट कुमायुँ र काठको माण्डौ (काष्टमन्डप)
बाट काठमाडौ आदि।
तीन गुणभन्दा पनि पृथक गुण
भएका अर्थात गुणातीत साधकलाई अत्री मानिन्छ। पुराणहरुका अनुसार राजा पृथुले
पालनगरेका हुनाले यस लोकलाइ पृथ्बी भनिएको हो। राजा पृथु पनि अत्री कै बंशज
मानिन्छन्। महर्षि कर्दमकी छोरी र कपिल ऋषिकी बहिनी अनुसयासंग अत्रीको बिबाह भएको
थियो। माता अनुसुया स्वयं पनि महान बिदुषि थिइन। कबिवर बिष्णुदत्त रचित अनुसुया
चरितम् नामको संस्कृत नाटकमा यिनको महिमा बर्णित छ।
प्रतिकात्मक अर्थबोध
गराउने हाम्रा धर्मशास्त्रहरुको ब्याख्या गर्नु गारो कुरा हो। धर्मको दार्शनिक
पक्षलाई गोत्र प्रबर्तक ऋषिहरु आफना आश्रमबासीलाई सिकाउथे। भनिन्छ, देवलोकमा समेत
अत्री आश्रमको चर्चा चल्थ्यो। माता अनुसुयाको परिक्षा लिन एकपटक त्रिदेव भेष बदलेर
यो आश्रममा आएका थिए। माता अनुसुयाले तप बलबाट तिनै जनालाइ शिशुमा परिबर्तन गरि
स्तनपान गराईन। पछि देवताहरुले माफी मागि यिनलाइ फर्काएर लगे। बात्सल्य प्रेम पाउन
पुन: पुत्र रुपमा ब्रह्माले चन्द्र,बिष्णुले दत्तात्रेय र शंकरले दुर्बासा भएर भएर
आश्रमा जन्म लिनु परेको थियो।
यसै गरि बेदको आठौ मन्डल,
एकानब्बेऔ सुक्तकी रचयिता अपाला स्वयम् पनि अत्री र अनुसुयाकी पुत्री मानिन्छिन।
यिनलाई चर्मरोग लागेकोले बनौषधिबाटै सो को उपचार भएको थियो। सोमलताबाट निर्मित सोम
रस चढाई इन्द्रलाई खुशी पारेर अपालाले ‘यहाँका खेत सँधै उर्बर रहुन र आफनो चर्मरोग
निको होस’ भन्ने बरदान मागेकी थिइन्। लामो समयसम्म खडेरी पर्दा अनुसुयाले
गुप्तरुपमा गंगालाइ समेत यहाँ बोलाएको चर्चा पुराणमा आउँछ। यसै गरी बेदान्त बिदुषी
आत्रेयी पनि यसै खलककी छोरी थिइन। यिनको बिबाह अंगिरा ऋषिसंग भएको थियो।
कालक्रम फरक परे पनि बेद र
रामायण दुबै ग्रन्थमा अत्री परीवारको चर्चा आउँछ। बनबासकालमा राम, सीता र लक्ष्मण अत्री
आश्रम पुगेका थिए। सीता स्वयंले अनुसुयाको आशिर्बाद माँगेकी थिइन्। यस प्रसंगमा “धिरज,
धाम, मित्र र नारीको परीक्षण आपतकालमा मात्र हुन्छ” भन्ने नारी धर्मका बारेमा
अनुसुयाले सीतालाई दिएको उपदेश रामायणमा पाइन्छ। यस प्रसंगका बिबरण http://bibidha.blogspot.com/2012/02/blog-post.html यस लिंकमा पनि पढन सकिन्छ।
माता अनुसुयाले स्नान
गर्ने कुण्डहरु, अपालाको चर्मरोग निको पार्ने बनौषधिहरु, इन्द्रको प्रीय सोमरस
तयार गर्न चाहिने सोमलता र अनुसुयाले गुप्त रुपमा बोलाएकी गंगाको स्वरलहर सबै यस
क्षेत्रमा भेट्टिन्छन। राम्रो भाव पैदा गरी भगवानको भजन सिकाउने अत्री ऋषिको यसै
आश्रममा यस गाऊका पुर्खाहरुले पहिलो संस्कार
ग्रहण गरेका हुन्।
No comments:
Post a Comment