Friday, May 17, 2013

हाम्रा देवस्थल- हाम्रा सांस्कृतिक सम्पदा (खण्ड-३)


स्थानिय लोक पर्ब र लोक ब्यबहारहरु
गाऊँमा अझै ब्याबसायिक मेलाको प्रचलन छैन। अत: सांस्कृतिक पर्बलाइ नै मेला पर्ब भन्नुपर्ने हुन्छ। यि पर्बहरु बिशेषत: पुजा आजामै सिमित हुन्छन। सुदूर पश्चिममा मनाइने गौरा, बिशु, नौरता, देवालि, होरि, ओल्के, मकर र श्रीपंचमी जस्ता चाड धुमधामले मनाइन्छन। असिमी मन्दिरमा औसी, पुर्णे र संक्रान्तिमा नियमित पुजा हुन्छ। यसका लागि गुठीको ब्यबस्था छ। भदौ र माघका पर्बलाई बिशेष मानिन्छ। भदोमा कुशे औशीदेखि बिशेष नियमित पुजा भै पञचमीदेखि जात्रा शूरू हुन्छ। कहिलेकाहि अगस्तोदयका कारण गौरा पर्ब पनि यसै ताका पर्न सक्दछ। सप्तमीसम्म मूल गुथियार बडूहरु मात्र पुजाआजामा सामेल हुन्छन भने अष्टमीदेखि अरु आलबाहिरका समेत पुजामा सामेल हुन्छन्।  माघ पर्ब बसन्त पञ्चमीदेखि शूरु हुन्छ र भदोको पर्ब जस्तै अष्टमीसम्म चल्दछ। यि पर्बहरुमा बडूका १४ मोहिहरु बाट एक एक जनाका दरले मन्दिरमा निराहार तेराद (तीन रात) बस्ने प्रचलन छ। मन्दिरमा गोरस सप्रियोस भनेर ( बिशेष गरि सावन शुक्ल पंचमीमा ) दुध घीउ चढाउने चलन छ। न्वागीको नयाँ अन्न चढाउदा क्रमस: असिमी, केदार, कैलापाल र मोटो बडबाबमा चढाइन्छ। पुजा आजामा प्रर्त्येक घरले धूप पोखल दिने प्रचलन छ। बिशेष बर माग्न महिलाहरु हातमा दियो बालेर रात भर उभिएर मन्दिरमा आराधना गर्दछन। यस अनुष्ठानलाइ ‘ठडदिया’ भन्दछन्। कुनै कुनै पर्ब बिशेषमा धामीहरु ‘चअलो’ जाने भनेर असिमी केदार मन्दिरबाट चकडोलमा बसी भन्तोलि सम्म जाने गर्दछन। चकडोललाई प्राय: गर्खाका भन्डारी, ठगुन्ना वा बोहराहरुले बोक्ने चलनछ। माघ र बैशाख संक्रान्तिमा असिमी केदारकै मन्दिर नजिकको नदि तटमा ब्रतबन्ध समेत गरिन्छ। भन्तोलीको जात्रा सौर्यमान अनुसार चैत्र मा हुन्छ। अचेल शिबरात्री र भाईटिकाको दिन दुर्गास्थान(दुरैमाण्डौ) समेत मेला लाग्दछ।
परम्परागत सुन्दर ब्यबहारलाइ संस्कृति भन्नु पर्छ।( परम्पराय शोभमाना: इति संस्कृति:)।हाम्रा संस्कृतिमा पनि केहि सुन्दर ब्यबहार छन, जो प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्थानिय लोकदेवतासंग गाँसिएका हुन्छन्।
जस्तै- प्रत्येक तीन बर्षमा ज्ञात अज्ञात अपराधको प्रायश्चित स्वरुप बडूका चऔध मोहि(जग्गाधनी)का तर्फबाट कम्तिमा एकएक जनाले एक हल गोरु, डोको नाम्लो, देवताको कुडेलो(पोखल,अक्षता राख्ने तामाको भाँडो) र भोकर(बाद्य यन्त्र बिशेष) बोकेर गुठि क्षेत्र बाहिर “मौ” जाने परम्परा छ। स्मरणिय छ, श्षीकेदारको आल सिंगै राजगुठी हो र यसमा पहिले १४ वटा मोहि मात्र कायम गरिएका थिए। कम्तिमा दुइ रात यसरी गाऊँ बाहिर बसेपछि देवताका धामी यिनलाइ फर्काएर गाउँमा ल्याउछन्।
गुठियारको हैसियतमा रहेका बडू बाहुनसंगै आलका अन्य जातजातिको समेत पुजापर्बका सम्बन्धमा समष्टिगत कार्य बिभाजन छ। जस्तै-पैतोलाहरुले पुजारी बन्ने, बडूहरुले धामी र भण्डारी बन्ने, बोहराले मन्दिर क्षेत्रको सरसफाइ र पुजाआजाको प्रबन्ध मिलाउने, लोहारहरुले निर्माण कार्यमा सहयोग गर्ने र बाटो बनाउने, दमाइहरुले बाजा बजाउने, चन्द ठगुरीहरु मध्येका पातराठले जाँत लिएर आउने, कबज्यु राठले नया मन्दिर बनेमा छाना छाउने, जितुराठले मन्दिरको धुरि हाल्ने, दालराठले कालो खाम हाल्ने र कपर्तिले गाथ बाध्ने काम गर्ने आदि इत्यादि। सपष्ट काम तोकिएकोले यो बाहेक ठगुरीहरुले मन्दिर प्रबेश नपाउने चलन छ। यिनीहरुले यहाँको नदिको पानीमा खुट्टा समेत भिजाउनु हुदैन रे। तर्नकालागि ठुल्ठुला ढुंगा राखिएका हुन्छन।
हिंसाको अर्थमा रातो रंग प्राय: बर्जित छ। ध्वजा नेजाहरू सेता र पहेला मात्र राखिन्छन। जंगलमा शिकार खेल्नु, हतियार लैजानु मात्र होइन, ठुलो स्रमा बोल्नु, कराउनु र गीत गाउन समेत हुदैन भन्ने मान्यता छ।
बन जंगल प्रबेश गर्दा साइत हेरिन्छ, सिगो गाऊलाई खबर गरि सामुहिक रुपमै बनमा स्याउला पात बटुलिन्छ। आशौच बारेका र रजस्वला भएका बेला बनजंगल प्रबेश पुर्ण निषेध छ।
क्षेत्र भरि नै बृक्ष बिशेषलाई स्थानिय लोकदेवता बिशेषको प्रतीक मानिन्छ। जस्तै- निगलासैनी, मेलौली, रैण्यासैनी आदि। यस आलमा समेत बाँजलाइ असिमीकेदार, फलाँटलाइ केदार र खडिग (खरि)लाई मोटो बडबाबको प्रिय बृक्षको अर्थमा लिइन्छ। बडादशैलाइ नवरात्र भनिन्छ र नौ दिनसम्म पुजा चालु हुन्छ। तर मन्दिरमा सात दिनसम्म मात्रै पुजा चलाइन्छ। बाँकि दुइ दिन भगवतिको नाममा छोडिएका हुन भन्ने मान्यता छ। शिब शक्ति परम्पराको यो समन्वित स्वरुप हो। यस्ता कैयौ चलनका बारेमा अन्यत्र अन्य प्रसंगमा समेत उल्लेख भैसकेकोछ।
भेषभुषा र खानपान
संस्कृतिसंगै सम्बन्धित भए पनि यि बदलि रहने प्रतिमान हुन्। अचेल काने लाउने ढर्रा पुरै बदलिइसकेकोछ। सामान्यत: गोरस कुनै घरमा छुट हुदैन। शिष्टाचारको पहिलो सोधाइ नै गोरसका बारेमा हुन्छ। तरकारीको प्रचलन बिस्तारै बढदै गएकोछ। गोरस र रोटि यहाँका प्रमुख खाना हुन्। दालभातको प्रचलन बढदैछ। सुदूरपश्चिमका अन्य पक्वान्नहरू, लौन, पुरी,बटुक, खिर, माणा आदि समेत पकाइन्छन। मांसाहार बिरलै हुन्छ। भेषभुषा अन्यत्रभन्दा खास फरक छैन। महिलाहरुले घागरो र आङणो लाउने चलन लगभग हराइ सकेकोछ। आधुनिक पहिरनको प्रचलन बढदो छ।
लोक बाङमय र लोक संस्कृति
लोकब्यबहारमा चलेका प्रत्येक शब्दमा साहित्य हुन्छ। त्यसैले लोकसाहित्य र लोकबाङमयकालागि यो गाउँ नमुना बन्न सक्दछ। लोकमन्त्रदेखि लोकसंगीत सम्मको पुरै फाँटको अध्ययन अनुसन्धान हुन बाँकी छ। धामीहरुले देवता जाग्दा बोल्ने भाषामा प्रयुक्त हुने शब्दहरूको प्रतिकात्मक बिबेचना र अध्ययनले खस-आर्य संस्कृति-संयोजनको रहस्योदघाटन गर्न सक्दछन्। धामीहरु ठगुरीलाइ पगडिया, राजालाइ छत्रे, जंगललाइ काल्झाणि, अक्षतालाइ डाँसी, महिलाइ छिम्टि, रुपियालाइ खुटका भन्न गर्दछन। साबर मन्त्र र लोक मन्त्र समेतमा अचम्भको साम्यता छ। गुरु गोरखनाथको बाचा वा ईश्वरो बाचा भनेर मन्त्रोच्चारण गर्दै बायु परेको, जुका परेको, सर्पले टोकेको, बीख लागेको, डीढ(कुदृष्टि) लागेको दोषहरु निको पारिने प्रचलन यदाकदा देखिन्छ।
गौरा पर्बमा गाइने स्थानिय देवताहरुका जागरण गीत, राम-कृष्ण वा कौरब-पाण्डबका कथासंग सम्बन्धित पौराणिक गाथाहरु, स्थानीय पाइक पैकेलाका बीर गाथाहरुका साथै कृषि गीत, मंगल गीत, भैन, भअणा, फाग, सगुन, चाँचरी, ढुस्को आदि लोकसाहित्यका अनुपम भन्डार हुन्। यिनको बिबेचनाबाट कैयौ ग्रन्थ तयार हुन सक्दछन। यि गीत र गाथाहरुबाटै स्थानीय ईतिहास र संस्कृति खोज्न सकिन्छ। यहाँ प्रचलित रामकथाका सम्बन्धमा बेग्लै पुस्तक प्रकाशित भे सकेकोछ।
बन सम्पदा र जल सम्पदा
ग्वाल्लेक बनमा पाइने बनस्पति र बनौषधिका सम्बन्ध थुप्रै चर्चा भैसकेका छन्। यो प्राकृतिक जैबिक बिबिधताले भरीपुर्ण जंगलमा पाइने जडिबुटिको लेखा नै राख्नसकिएको छैन भने यसको उचित प्रयोग त अझ टाढाको कुरा हो।
सांख्यकीय दृष्टिले यहाँ ४०% जंगल र १५%चरन होला। मूल गाऊमा पानीको समस्या नभए पनि डाडातिरका बस्तिमा पानीको अभाव छ। निरन्तर बगिरहने बगाडी गाड, रौलाघाट र स्याडी गाडको पानीको पुर्ण सदुपयोग हुनसकेको छैन।
प्रकृतिले नै यो सानो गाऊमा प्राचिन अर्बाचिन संस्कृतिका अबशेषहरु, ईश्वर प्रदत्त भुभौतिक भण्डारहरु, जैविक सम्पदाहरु र जिबन्त परम्पराहरु अझै सुरक्षित राखि दिएकोछ। जाल, जमीन, जंगल, जनशक्ति र जाँगर ( पाँच ‘ज’ ) को छेलो खेलो रहेको यो गाऊँमा मूल सडकबाट एकडेढ घण्टा पैदल हिडेर सहजै पुग्न सकिन्छ। बिद्युत र संचार सुबिधा उपलब्ध छ। स्वप्नदर्शी बिचार र परीश्रमी हातको संयोग मिलेमा बिकाशका अनेक सम्भावना छन्। सम्मुनत सुरकालको सपना यथार्थमा परिणत हुने बिश्वासका साथ शिब संकल्पमा लागिरहने कर्मयोगीहरु सदैब बन्दनीय छन्।
  




No comments:

Post a Comment