Sunday, November 15, 2020

दशैं कहिले बाट ?

 ( मोहन लामा रुम्बा को फेेेेसबुकबाट साभार )                दसैं कहिले बाट रे ? 🍒🍒🍒🍒 😁 द्रव्य शाहले मगर राजा मान सिंह खड्का मारेको दिन पारेर विजय उत्सव मनाएर दसैं मान्न थालेको रे !! 😁 पृथ्वीनारायण शाहले तेमालको तामाङ राजा रिन्छेन दोर्जेलाई मारेर विजय उत्सव मनाउदै दसैं मान्न थालेको रे !! 😁 जंगबहादुर राणाले दसैं नमानेको भन्दै राई लिम्बूलाई मारेको रे ! ⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️⛔️ दसैं कहिले देखि मान्न सुरु गर्‍यो भनेर कोहि बोल्न सक्ने अवस्थामा छैन किनभने नेपालको प्राचीन लिच्छविकाल अगाडिको कुनै लिखित अभिलेख छैन तर आजको स्वयम्भूनाथ, बौद्धनाथ,पशुपतिनाथ चाँगु नारायण मन्दिर चैत्यलाई लिच्छविकाल बाट मान्ने हो भने त्यही प्राचीन लिच्छविकालमा नै दसैं पर्व मनाउने गरेको प्रमाण यथेष्ट भेटिन्छ। नेपालमा राजा मानदेव लाई प्रथम प्रमाणित राजा मानिन्छ त्योभन्दा अगाडिको राजाहरूको नामावली विभिन्न वंशावलीमा उल्लेख भएको आधारमा लिनेे गरेको मात्रै हुन्। राजा मानदेव वैष्णव मार्गी थिए, तर उनकी महारानी र छोरीहरु सैव मार्गी थिए उनलेे आमा राज्यवतीको नाउँमा दुइटा वैष्णव मन्दिरहरू बनाएका थिए भने बुढानिलकण्ठमा शिवलिंगको स्थापना तथा मानेश्वर, धारा मानेश्वर र प्रवद्र्धमानेश्वर नाउँका शैव मन्दिरको स्थापना गरेका थिए भने उनलेे बौद्ध भिक्षु भिक्षुणी बस्नका लागि पाटनमा मानबिहार बनाएका थिए। राजा मानदेवले जस्तै राजा शिवदेव, राजा अंशुबर्माले पनि आआफ्ना नाउँमा बिहारहरू बनाएका थिए, अंशुबर्माले निर्माण गरेको गोकर्ण गजाधर मन्दिरको अभिलेखमा धर्मचक्र प्रवर्तनको प्रतिक चक्र र दुई मृगको चिन्ह समेत भेटेको छ, यसरी लिच्छविकालमा राजा तथा प्रजाहरूले थुप्रै विहार चैत्यहरू बनाई बुद्ध धर्म फैलाएकोले लिच्छविकाललाई बुद्ध धर्मको स्वर्णयुग भन्ने गरिन्छ। आजको स्वयम्भू र बौद्धको चैत्य (बौद्धनाथ चैत्यको) को निर्माण यिनै लिच्छविकालमा भएको हुन भने तत्कालीन लिच्छविकालमा निर्मित बौद्ध बिहारहरु निम्न छन् : १) राजा वृषदेवद्वारा सौहावचैत्य निर्माण गराई प्रतिष्ठा गरे। २) राजा शंकरदेवद्वारा बौद्ध विहारका निम्ति जग्गा प्रदान गरे। ३) राजा धर्मदेवद्वारा राजविहार निर्माण गराई धर्मचैत्य स्थापना गरे। ४) राजा मानदेवद्वारा आफ्नो नामबाट मानविहार निर्माण गराई गुँविहारमा तपस्या गरे। ५) बौद्ध उपासिकाद्वारा बौद्ध किन्नरी जातकको नाना चित्राङ्कित गराई शोभा बृद्धि गरे। ६) राजा अंशुवर्माद्वारा राजविहार निर्माण गराई आफ्ना सुपुत्री भृकुटीलाई बौद्धमूर्तिहरु दाईजो सहित राजा श्रङ्गचेनग्याल्पोसित विवाह गराइदिए। ७) राजा देवलवेवद्वारा देवपाल विहार निर्माण गराए। ८) राजा शिवदेवद्वारा शिवदेवविहार, नन्दीशालाविहार, मणिपुर जैवविहार तथा श्री मानिधरजीवविहार निर्माण गराए। ९) राजा चम्पादेवद्वारा फूटोविहार निर्माण गराई चैत्य स्थापना गरे। १०) राजा नरेन्द्रदेवद्वारा शिवदेवविहारलाई आफ्नो राजस्वकरको केही अंशभाग नियत गरिदिएका थिए साथै आचार्य वन्धुदत्तलाई राजकृति विहार समेत निर्माण गराई दिए। ११) राजा बालार्जुनदेवद्वारा करुणामय श्रीबुंगमलोकेश्वरका लागि आफ्नो मुकुट चढाएका थिए। प्रसंगवश यहाँ लिच्छविकालका शिलापत्रमा अंकित प्राचीन बौद्ध विहारहरुको नाम पनि उल्लेख गरिएको छ। १) स्वयम्भू स्थित शंकरदेवको शिलापत्रमा बौद्ध विहारको नाम उल्लेख छ। २) पाटन चपःटोलमा तुरणविहारको बुद्धपादपीठ लेखमा अंशुवर्माको समयमा गन्धकुटी विहार जीर्णोद्धार गरिएको कुरा उल्लेख छ। ३) हाडिगाँउ स्थित अंशुवर्माको शिलापत्रमा उल्लेखित विहारहरु क) साम्हें वा गुँ विहार ख) मान विहार ग) राज विहार घ) खर्जुरीका विहार ङ) मध्यमक विहार च) सामान्य विहार ४) पाटन यंगुबाहालको नरेन्द्रदेवको शिलापत्रमा उल्लेखित विहारहरु क) शिवदेव विहार ख) मानदेव विहार ग) खर्जुरीका विहार घ) मध्यमक विहार ङ) अभयरुची विहार च) कल्याणगुप्त विहार छ) चतुर्भालटसन विहार ज) राज विहार ५) पशुपतिको बज्रधर स्थित नरेन्द्रदेवको शिलापत्रमा उल्लेखित विहारहरु क) शिवदेव विहार ख) खर्जुरीका विहार ६) नक्साल नारायण चौर स्थित जयदेवको शिलापत्रमा उल्लेखित विहारहरु क) अजिका विहार ख) जीववर्म विहार ७) पाटन च्यासल स्थित जयदेवको शिलापत्रमा उल्लेखित विहार क) पुष्पवाटिका विहार ८) पाटन इबही स्थित नरेन्द्रदेवको पालाको जधुंमा उल्लेखित विहार। (श्रोत : “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन“ स्व. हेमराज साक्य) माथिल्लो विवरणमा लिच्छविकाल लाई बौद्ध समुदायले स्वर्ण युग भनेर भन्ने गरिन्छ भने यही स्वर्ण युगमा लिच्छवि राजाहरूले दसैं कसरी मनाउने गरेको थियो भनेर केहि अभिलेख हरुमा हल्का जानकारी पाउन सकिन्छ। लिच्छवीकालको पाटन च्यासल टोलको लिच्छवी अभिलेखमा ‘नारायण देवकुल दशमी गोष्ठी’ उल्लेख भएको छ, यो गोष्ठीले दशैं पूजालाई संकेत गरेको छ भने संस्कृतविद स्व.भुवनलाल प्रधानको "दसैंपुजा" पुस्तकको पृष्ठ ५७ मा लेख्नुहुन्छ " राजभोगमाला वंशावली र केशर पुस्तकालय वंशावलीहरुमा उल्लेख भए अनुसार लिच्छवि राजा मानदेव ( शक सं. ३८६ देखि सं.४२७ अर्थात विं.सं. ५२१ देखि ५६२ साल) को पालामा दसैं चैत महीनाको सट्टा अश्विन महीनाको शुक्ल पक्षमा मनाउने चलन सुरु गरिएको……… त्यहाँदेखि सानाठूला सबै प्रजाहरुले प्रतिवर्ष असोज महिनामा दसैं कर्म गर्ने रीत चल्यो.... श्रावणशुक्ला प्रतिपदा देखि एक महिनासम्म बौद्धमार्गीलाई बौद्धारम्भ बौद्ध यात्रा गराए। राजभोगमाला वंशावलीमा भने दसैं सम्मको कर्मको कुरा राजा विक्रमादित्यसेनले चलाएको भनिएको छ। अनि " यहाँ उप्रान्त मानदेवले नेपालमा बौद्धमार्गीहरुलाई श्रावणशुक्ल प्रतिपदा देखि……… तृतीयाका दिन विसर्जन आदि" भनेर लेखिएको छ। माथि के.पु.वंशावली बाट झिकिएको उद्दरणमा चर्चित राजाको नाउँ "विक्रमदेव"भनिए पनि यिनलाई त्यसैमा लिच्छवि राजा धर्मदेवका धर्म पुत्र भनिएको छ। ऐतिहासिक रूपले राजा धर्मदेवका धर्मपुत्र भनेको राजा मानदेव प्रथम हुन्।" सोही पुस्तकमा स्व. भुवनलाल प्रधान। भाषा वंशावली अनुसार यिनै राजा मानदेव पितृ हत्याको पापको प्रायश्चित गर्न साँखुको बज्रयोगीनी मन्दिरमा जाँदा बज्रयोगिनीले प्रत्यक्ष दर्शन दिएर बौद्ध चैत्य बनाए तिम्रो पाप मोचन हुने सुझाव दिएपछि राजा मानदेवले बज्र योगिनिको कृपाले खरेडी परेको बेला शीत जम्मा पारी इटा बनाउदै बाह्र वर्ष लगाएर बौद्ध महाचैत्य निर्माण गरे भन्ने उल्लेख छ, त्यसैले यो चैत्यलाई स्थानीय नेवार समुदायले ‘खास्ती’ चैत्य भन्ने गरिन्छ। खास्ती सब्द ‘खसु’ र ‘ती’ मिलेर बनेको छ। नेवार भाषामा ‘खसु’ भनेको शीत हो भने पानी निचोर्नुलाई ‘तिसियू’ भनिन्छ। मानदेवले शीत जम्मा गर्न ठुला ठुला कपडा जमिनमा फिँजाएर राखेको र पछि त्यही कपडा निचोरेर पानी निकालेको भन्ने भनाइ छ, हालको प्रचलित नाम बौद्धनाथ चैत्यको नेपाली परम्परागत नाम खास्ती चैत्य हुन् तर तिब्बती पौराणिक श्रुतिमुक्ति नामक ग्रन्थमा यसलाई ज्यरुङ खशोर (བྱ་རུང་ཁ་ཤོར།) उल्लेख गरेको हुनाले तिब्बती बौद्ध समुदायले ज्यरुङ खशोर नामले चिनिन्छ, तिब्बती भाषामा ज्यरुङ को अर्थ गर्न हुने र खशोरको मतलब 'बचन खुस्केको' भन्ने हुन्छ जुन कुरा तिब्बती पौराणिक कथामा बताए अनुसार स्तूपको निर्माता ज्यजीमाले चैत्य निर्माणको लागि राजालाई जमिनको स्वीकृति माग्दा राजाको मुखबाट चैत्य बनाउने काम थालनी गर्दा हुन्छ भन्ने बचन खुस्केको हुनाले स्तूपको नाम ज्यरुङ खशोर रहन गएको भन्ने भनाइ रहेकोे छ। यद्यपि यो एउटा किवदन्ती आस्था र विश्वास हो तर ऐतिहासिक पुष्टि हुने कुरा होइन तर नेपालको इतिहासमा दखल राख्ने पश्चिमी विद्वान डानियल राइटले पनि यो महाचैत्य राजा मानदेव प्रथमले सन् ४६४-५०५ मा निर्माण गर्न लगाएका थिए भनेर उनलेे पनि दावी गरेको छ। यहाँनेर अर्को एउटा के प्रसंग जोडौं भने राजा मानदेवले पितृहत्याको पाप मोचनको लागि बौद्ध महाचैत्य निर्माण गरेको भने पनि फ़ेरि मानदेवले आफू राजा भएपछि चाँगुनारायणको मन्दिरमा राखेको अभिलेखमा आफ्नो पिता ‘धर्मदेवको अकस्मात् मृत्यु भएको’ लेखेका छन्। खैर जेहोस् जसरी बन्न गए पनि लिच्छवि राजा मानदेवको पालामा यो महाचैत्यको निर्माण भयो भन्नेमा कुनै दुबिधा रहेन तर यहाँनेर मैले उल्लेख गर्न खोजेको कुरा तत्कालीन समयमा आजको जस्तो धर्मका आधारमा समुदाय समुदायमा वर्गीकरण Classification थिएन भन्ने ज्वलन्त उदाहरण यिनै लिच्छविकालीन इतिहास हुन्। राजा वृषदेव बौद्ध झुकाव राख्ने मानदेव वैष्णव फ़ेरि उनकी महारानी र छोरीहरु शिव भक्त तिनै वैष्णव शैव भक्तहरुले बौद्ध स्वयम्भू जस्तो बिशाल महाचैत्यहरुको निर्माण देखि चाँगुनारायण मन्दिर हुँदै पशुपतीनाथ मन्दिर सम्मको लिच्छविकालिन सामाजिक बनावटले हाम्रो नेपालको नेपाली सभ्यता कस्तो अनुपम थियो भनेर हेर्न यहाँ भन्दा अर्को उदाहरण के दिइरहन पर्ला र ? एउटा राजाले पाप मोचन गर्न चैत्य बनाउछ त्यही राजाले अर्को ठाउँमा मन्दिर बनाउँछ अनि आजका आधुनिक सभ्य युगको सन्तान भनौंदाहरु त्यो हिन्दुको मन्दिर त्यो चाहिँ बौद्धको चैत्य भनेर वर्गीकरण गर्दै पाखुरा सुर्किदै लड्छ भने यहाँ भन्दा घटिया नीच बिभाजनकारी मानसिकता के हुनसक्छ मुर्ख नेपालीको ? खैर जेहोस प्रसंग दसैं कै हो, त्यसैले लिच्छविकालमा पनि बौद्ध-वैष्णो-शैव सबै प्रजाले मानी आएको दसैं पर्वको थिति बसालेको केही अभिलेख पछी हामीले के बुझ्नुपर्छ भने दसैं लिच्छवि राजाले पनि सुरुवात गरेको होइन यो त त्योभन्दा अगाडि देखिनको मानी आएको परम्परा लाई थिति बसालेको मात्रै हुन् भनेर सहजै बुझ्न सकिन्छ, अत: यो दसैं गोपाल वंश किराँतवंश देखिन मान्दै आएको पर्व होइन भनेर कसरी भन्न सकिन्छ ? अब मल्लकालमा जाऔं राजा जयस्थिति मल्ल र उनका भारदारहरुले आश्विन शुक्ल अष्टमीका दिन ‘खड्ग स्वेएका’ (खडग स्थापना) गरेको गोपाल वंशावलीमा उल्लेख छ, त्यसबेला अष्टमीमा देवीको समीपमा खड्ग स्थापना गरी पर्सिपल्ट दशमीको दिन धार्मिक परम्पराअनुुसार खड्ग सञ्चालन गरिन्थ्यो ।उतिखेर यसलाई पायात, खड्ग जात्रा वा खड्ग चालन पनि भन्ने गरिन्थ्यो । एकातिर खड्ग स्थापनाको परम्परा त्यसबेला पाइन्छ भने अर्कोतिर भूपालेन्द्र मल्लका मन्त्री नवमी सिंहले ‘चण्डीभक्त विनोदिनी’ नामक ग्रन्थको रचना नै गरेको बाट सहजै बुझ्न सकिन्छ दसैं मल्ल राज्यको बेलामा पनि प्रमुख पर्व थियो भनेर। उपत्यकाको राजा महीन्द्र मल्लले हनुमानढोका स्थित तलेजु भवानीको मन्दिर निर्माण गरेर यसलाई प्रताप मल्लले पुनर्निर्माण गरेको थियो यो मन्दिर पनि शक्तिपिठको रूपमा पुजा हुन्छ, यसको बिशेषता भनेको वर्षमा एकपटक नवमीको दिनमा मात्रै तुलजा भवानीको ठूलो पूजा हुन्छ त्यसपछि अर्को वर्ष सम्म बन्द हुन्छ। तलेजु हिन्दु धर्मावलम्बीको मन्दिर हो तर यहाँ दसैँको नवमीमा बौद्धमार्गी नेवार समुदायले छोरीचेलीलाई कुमारी बनाएर मन्दिर भित्र पूजा गर्छन भने नवमीकै दिन यहाँ बौद्ध मार्गीले महाद्वीप प्रज्वलन गर्ने परम्परा रहिआएको छ। १३ औं शताब्दी तिर हरिसिंह देवले सिम्रौनगढमा राज्य गरिरहेका बखत सुल्तान गयासुद्दीन तुगलकले हमला गर्ने आशंकाले शाके संवत् १२४५, नेपाल संवत् ४४४ साल पौष मासका शुक्ल पक्ष नवमी तिथि शनिश्चर बारका दिन हरिसिंह देव शरण लिन नेपाल खाल्डो प्रवेश गरेका थिए उनलेे पनि तलेजु मन्दिरमा दसैं पर्वमा थुप्रै राँगो बली दिएको चर्चा तिरहुतको दरियर अभिलेखमा पाइन्छ। झन्डै हजार पन्ध्र सोह्र सय वर्ष अगाडि देखिन मान्दै आएको दसैं पर्वको प्रमाणित अभिलेख सहित लेखी सकेपछि हिजो भर्खरैको झन्डै दुई अढाई सय वर्ष अगाडिको पृथ्वीनारायण शाहले गोर्खा बाट फुलपाती भित्र्याएर मात्रै नेपालमा दसैं पर्वको सुरुवात गर्‍यो भन्ने र कोही कोहि चाहिँ पृथ्वीनारायणले फलानोलाई मारेर सुरुवात गर्‍यो भन्दै उफ्रिने बज्रस्वाँठ हरुको खोपडीमा कहिले घाम लाग्ला ? उफार्नेको त उनको ज्यान पाल्ने जागिर हो उनलाई सत्य झुठो संग सरोकार हुने कुरा होइन तर ताईन तुइमा उफ्रिनेहरु त अब त जाग्नु पर्ने होइन र ? जाँदा जाँदै हल्का अनुमान सबैले लगाउनुस "दसैं" पर्व लाई अन्य पर्व भन्दा बढी target गर्ने गरिन्छ किनकि यो पर्व हिमालय सभ्यताको मानव बिकास संग संगै जोडिएको प्राचीन ऐतिहासिक मौलिक पर्व भएकोले अन्य पर्व भन्दा बढी बिदेशी दातृ निकाय बाट डलरको खेती गर्नेहरुले सबैभन्दा बढी चौतर्फी आक्रमण दसैंमा केन्द्रित गरिन्छ तर जति जति आक्रमण गर्दै छ त्यति त्यति यो पर्वको अझै महत्त्व पनि नयाँ पिढिले बुझ्दै गएको पनि छ भनेर डलरेहरुले बेलैमा बुझे हुन्छ !! 🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫 यो पोस्ट दसैंको माहौलमा नै केही भाग लेखिएको थियो बिचमा मेरो परम गुरुको देहावसान भएपछि लेख अधुरो रहेकोेले आज फुर्सदमा पुर्णता दिएर पोस्ट गरेको हुँ।

Sunday, November 1, 2020

वैदिक प्रशासन ( साभार फेेसबुक भित्तो )

 सनातन दर्शनमा प्रशासन -मोहन बन्जाडे वेद वैदिक कालखण्डमा जनताको स्थान सबभन्दा माथि थियो| त्यो बेला जनताको प्रतिनिधित्व गर्ने संस्था बनाइएको थियो| यो संस्थालाई समिति भनिन्थ्यो| यस्तो समितिमा जनताहरु मध्येबाट कुनै योग्य, वृद्ध, न्यायप्रिय र शासन व्यवस्थाको अनुभवी व्यक्ति चयन वा चुनाव गरिन्थ्यो| समितिमा चुनिएर गएका सदस्यले कुनै निश्चित स्थानमा एकतृत भई एकमतबाट राष्ट्रमा आई लागेका समस्या समाधान गर्दथे| यो संस्था एकपक्षीय नभई राष्ट्रिय चरित्रको हुन्थ्यो| तसर्थ समिति राष्ट्रका सम्पूर्ण प्रकृतिका समस्या सुल्झाउन सक्षम हुन्थ्यो| समितिले जनताको हितलाई ध्यानमा राखी निर्णय गर्दथ्यो| मनपरी गर्दैनथ्यो| (डा. स्वामी प्रपन्नाचार्य, वेदमा के छ? साझा प्रकाशन, २०५७ पृ. ३९) समितिमा सबै सदस्यहरुलाई आ आफ्नो विचार व्यक्त गर्ने पूर्ण अधिकार हुन्थ्यो| वक्ताहरुले युक्तिद्वारा मतको मण्डन र स्थापन गर्थे| युक्तिपूर्ण प्रस्तावहरुमा सल्लाह दिइन्थ्यो| बहुमत जुन पक्षमा हुन्थ्यो त्यहीबमोजिम निर्णय गरिन्थ्यो| वैदिक कालमा जनतामा ठूलो संगठन थियो| आर्यहरु समाजमा भएका सुयोग्य व्यक्तिहरु मात्र चयन गर्थे| राज्यलाई संगठित राख्न र समितिलाई कर्म गर्न हृदय र मनबाटै सुसंगठित राख्ने कामना गर्दै एकाकार विचार व्यक्त गरिएको कुरा ऋग्वेदबाट पुष्टी हुन्छ| ( वेदमा के छ? डा.स्वामी प्रपन्नाचार्य, वेदमा के छ? पृ. ३९) ऋग्वेदको अन्तिम ऋचालाई प्रशासनिक सन्दर्भमा हेर्दा यसले हृदय,मन र कर्म राष्ट्र र जनताका प्रति समभाव सहित समर्पित हुनुपर्ने देखाउंछ| स्वामी प्रपन्नाचार्यले शासन प्रणाली बारे उधृत गरेका प्रसंगले वैदिक शासन प्रणाली जनताबाट उठेको, जनताबाट अनुमोदित र जनताप्रति उत्तरदायी हुनुपर्ने देखिन्छ| साथै निर्णय गर्न योग्य र अनुभवी व्यक्तिको चयन हुनुपर्ने, एकल भन्दा सामुहिक निर्णय श्रेयष्कर हुने देखाउंछ| यस्तै यसले निर्णय पूर्व समस्या बारे वृहत छलफल गर्नु पर्ने, छलफलमा सबैलाई आफ्नो विचार व्यक्त गर्ने र अर्को मतको खण्डन गर्न पाउने अधिकार हुनुपर्ने भन्ने कुराको पुष्टि हुन्छ| साथै निर्णय सकभर सर्वसम्मत र नभए बहुमतबाट गर्नु पर्ने भावना अन्तर्निहित रहेको देखिन्छ| यसो हेर्दा यी कुरा राजनीतिक प्रकृतिका भए पनि यो प्रसंगले शासनको स्वरूप र प्रकृतिको चरित्र चित्रण अवश्य गर्छ| ऋग्वेदको दशौँ मण्डलको सुक्त संख्या १०८ लाई विश्वको एउटा अदभूत कुटनीतिक वार्ताको समाजशास्त्रीय अभिलेख भन्नु पर्दछ| यसमा उत्तरबाट आएका पणि(व्यापारी)हरुले एकै सासले युद्ध र मित्रताको कुरा गर्छन्| ऋग्वेदको यो सूत्रलाई प्राचीन कुटनीतिको प्रथम अभिलेख मान्नै पर्दछ| त्यस सुक्तमा पणिहरुले धम्कीपूर्ण कुटनीतिलाई फेरेर प्रलोभनमा पार्ने प्रयास गरेको पनि देखिन्छ| ( मदनमणि दीक्षित, त्यो युग, २०६६,पृष्ठ ४०-४४) साथै सो सुक्तमा पणिहरुको समाज व्यापारीहरुको समाज भएपनि उनीहरुले आफ्नो सुरक्षाको लागि आफैले किल्लाबन्दी गरेको देखिन्छ| साथै त्यस्ता किल्लाको रक्षामा युवकहरुलाई निरन्तर तैनाथ गरेको भन्ने पनि देखिन्छ|(मदनमणि दीक्षित त्यो युग ऐ ऐ ४४) यस्तै ऋग्वेदको चौबिसौ सुक्तको नवौ मन्त्रको दोस्रो पंक्तिमा हामीलाई निऋतिबाट पर राख भन्ने उल्लेख छ| (मदनमणि ऐ ऐ ४६ ) अर्थात् त्यस बेला मानिसहरु आफूलाई अधर्म वा निऋति वा कानून तोड्ने कामबाट अलग राख्न प्रार्थना गरेको देखिन्छ| अर्थात् त्यसबेला मानिसहरुमा कानून पालनको भाव उच्च रहेको अनुमान गर्न सकिन्छ| वैदिक कालमा समाजमा नियम, उदात्त जीवन पद्धति, सामुहिकता, परस्पर अन्योन्याश्रित सम्बन्ध, समष्टिगत उत्पादनमुखी पापरहित उच्च नियमलाई बोध गराउन ऋग्वेदमा ठाउठाउमा “ऋत” शव्दको प्रयोग भएको छ| ऋत वैदिक समाजको जीवन आचरण र आदर्श थियो| ऋत पछि गएर धर्म बन्यो, तथापि ऋत धर्म भन्दा व्यापक थियो|( मदनमणि ऐ ऐ पृ.४८) यसप्रकार वैदिक जीवनमा आत्मनियन्त्रण र कर्तव्य भावको प्रधानता थियो| आफै ऋतको पालनमा उद्दत रहने, आत्मानुशासन पालन गर्ने र कर्तव्यबोधबाट चल्ने समाज भएकाले त्यसबेला शासकीय प्रशासनिक जटिलता नभएको अनुमान गर्न सकिन्छ| ती जटिलता भए सम्भवत: अगाडी उल्लेख भएको समितिले निर्णय गर्दथ्यो| सामुहिक जीवन, सदाचारयुक्त जीवन पद्दति र कर्तव्यमुखी जीवनबोधले समाजमा प्रशासनले शक्ति प्रदर्शन गर्न नपर्ने अवस्था रहेको अनुमान गर्न सकिन्छ| ऋग्वेदका बिभिन्न ऋचामा रक्षा, नियम निर्माण, नियमको पालना, अपराध र अपराध नियन्त्रण, कर्तव्य निर्वहन, दण्ड, पारिवारिक र सामाजिक सम्बन्ध व्यवस्थापन, सिचाई, जल व्यवस्थापन, स्वास्थ्य र औषधि, आर्जनका सीमा, व्यापार व्यवस्थापन, गलत कारोवार नियन्त्रण, कृषि तथा पशुपालन, कर, शान्ति, न्याय, स्वतन्त्रता, ज्ञानबाट समानताको सिर्जना (समन्यायिक शिक्षा र शिक्षाबाट समन्याय) जस्ता विषयबस्तुको ठाउँमा चर्चा रहेको देखिन्छ| ( तिलकप्रसाद लुइँटेल अनुवादक ऋग्वेद विद्दार्थी पुस्तक भण्डार २०६३) यस्तै यजुर्वेदमा स्वास्थ्य, रोग लाग्ने कारण र उपचार अपराध र अपराध नियन्त्रण, सेना र रक्षा, वन, जल, सिचाई कृषि, नेतृत्व र सदमार्ग, न्याय, शान्ति अहिंसा, कर्तव्य, अरुको अधिकारको सम्मान, भयबाट संरक्षण, व्यापार, लगानी, कर जस्ता बिषयको ठाउँ ठाउँमा चर्चा छ| ( तिलकप्रसाद लुइँटेल यजुर्वेद ऐ ऐ ) आजको प्रशासनले गर्ने ती काम बारे वेदमा प्रार्थनाको रुपमा उल्लेख भएको र ती बिषय जीवन पद्दतिको अंगको रुपमा रहेको भन्ने देखिन्छ| सामवेदमा रक्षा, अभय, संरक्षण र पालन, अपराध र अपराध नियन्त्रण, कर्तव्य, दण्ड, पारिवारिक सम्बन्ध र व्यवस्था, न्याय, नेतृत्वका गुण ( अगुवा, मार्गदर्शक, तत्काल क्रियाशील र द्रुतगति), ऋतु सुहाउदो काम गर्नु पर्ने जस्ता बिषयमा ठाउँ ठाउँमा उल्लेख छ| ( तिलकप्रसाद लुइँटेल, सामवेद ऐ ऐ) अथर्ववेदमा मूलत: आरोग्य, औषधि, उपचारविधि, औषधीय महत्ता, औषधि उत्पादन, व्यापार, वाणिज्य, खनिज अपराध र अपराध नियन्त्रण, अहिंसा र शान्ति, विद्द्या र विद्द्या दानको महत्व, पारिवारिक व्यवस्था र सम्बन्ध, सभा र सभासद् जस्ता बिषय बस्तुको उल्लेख भएको देखिन्छ| (तिलक प्रसाद लुइँटेल अथर्ववेद विद्दार्थी पुस्तक भण्डार २०६६) यजुर्वेद्को तीसौं अध्यायको पाँचौदेखि एक्काइसौं मन्त्रमा कस्ता व्यक्ति कुन कामका लागि हुने र ती काम गर्न कसलाई चयन गर्ने भन्ने उल्लेख छ| यज्ञ र विद्यादानलाई व्रह्म कर्म मान्ने, सुरक्षालाई क्षत्रीय कर्म मान्ने, व्यापारलाई वैश्य कर्म मान्ने र सेवा (श्रम) लाई शुद्र कर्म मान्दै ती काम त्यस्तो क्षमता भएका व्यक्तिका निम्ति सहज हुने बताइएको छ| अर्थात् काममा लगाउदा जसले जे गर्न क्षमता राख्छ र जसलाई जे गर्न सहज हुन्छ उसलाई त्यही काम लगाउनु पर्ने यसको आसय देखिन्छ| (यजुर्वेद३०|५) (वर्ण व्यवस्थालाई आजको जातपातको अर्थमा लिन मनासिव हुँदैन| किनकि वैदिक कालमा जातपात नभई कार्य विभाजनका हिसावले वर्ण व्यवस्था र कूलका हिसावले गोत्र व्यवस्था मात्र थियो| मानिस ऋषिका सन्तान मानिन्थे| जो मानिस ज्ञान कार्यमा निपुण हुन्थ्यो त्यो मात्र ब्राम्हण, रक्षाको ज्ञान र कौशल हुने क्षत्रीय, उद्धम र व्यापारको पारखी वैश्य र श्रम र सेवामा क्षमता राख्ने अघिल्ला तीन काममा ज्ञान सीप ररुची नराख्ने शुद्र हुन्थ्यो, जन्मले नभई जक्षमता र रुचीले वर्णको वर्गमा परिन्थ्यो) शरीरको हाउभाउ लगाउनु पर्ने काममा सुतलाई, धर्मका काममा सभासद्लाई , नेतृत्व गर्नु पर्ने काममा पर्याप्त समर्थवानलाई, नम्रता पूर्वक गर्नु पर्ने कामका लागि मृदुभाषीलाई, विनोदका निमित्त स्वाङ पार्नेहरुलाई नियुक्त गर्नुपर्छ| यस्तै आनन्दका लागि स्त्रीको जस्तो सख्य भाव हुनेलाई, बुद्धिमत्तापूर्ण कार्यका निम्ति शिल्पी जस्तो क्षमता हुनेलाई र धैर्यपूर्वक गर्नुपर्ने कामका लागि कडाइबुनाइ (धागो कात्ने लुगा बुन्ने) गर्ने क्षमता राख्नेलाई नियुक्त गर्नु पर्छ| (यजुर्वेद ३०|६) कुशलताका लागि कलाकार, आक्रमण गर्नेलाई नियन्त्रण गर्ने काममा वीर, सोध कार्य गर्न दत्तचित्त भई एक्कोहोरिएर काम गर्न सक्ने, उन्नतिको प्रयास गर्न छलकपट नभएको, बाटो घाटोमा लुटपिट गर्नेलाई नियन्त्रण गर्न अवरोध सिर्जना गर्न जान्ने, सन्धि सम्झौता गर्न पाको उमेरका अनुभवी, गरिवी निवारण गर्न सम्पन्न व्यक्ति, काम गार्हो भई गर्न कठिनाइ भएकोमा प्राथमिकताको आधारमा काम छन् सक्ने , अचानक कुनै काम गर्नु पर्दा नजिकै रहेको व्यक्ति, कसैको स्वीकृति लिई गर्नु पर्ने काम गर्न अनुरोध गर्न जान्ने व्यक्ति र शक्ति प्राप्त गर्नुपर्दा सहारा दिन सक्ने व्यक्ति चयन गर्नुपर्छ| (यजुर्वेद ३०| ७-९) शत्रुनाश गर्न हतियार चलाउन जान्ने, रोगमुक्त गर्न औषधि विशेषज्ञ, समग्र शिक्षा प्राप्त गर्न प्रश्न सोध्न जान्ने, शिक्षाको अभ्यासको लागि जिज्ञासु, न्याय व्यवस्थाको लागि पन्चभलादमी नियुक्त गर्नुपर्छ| ( यजुर्वेद ३०|१०) शत्रुको सैन्य विनासका लागि गुप्त रणनीति बनाउन सक्ने, शत्रु वध गर्न चुक्ली गर्न सक्ने, भेद उत्पन्न गर्न विभाजन ल्याउन सक्ने, सुक्ष्मतापूर्वक निरीक्षण गर्नका लागि निगरानी गर्न जान्ने, स्वर्गीय वातावरणका लागि उचित रुपमा वितरण गर्न जान्ने र सुख प्राप्त गर्न सबै पक्षबाट प्रभावित गर्न सक्ने क्षमता भएको व्यक्तिलाई नियुक्त गर्नु पर्छ|(यजुर्वेद ३०|१३) आपदबाट जोगिन संचय गर्न जान्ने र नीति नियम चलाउन निश्पक्षताको व्यवहार गर्न जान्नेलाई नियुक्त गर्नुपर्छ| (यजुर्वेद ३०|१४) यस्तै परिवत्सरका लागि ब्रह्मचारिणी कुमारीलाई, इदावत्सरका लागि अत्यधिक गतिशील रहने स्त्रीलाई, अनुवत्सरका लागि अतिसय ज्ञानले सम्पन्न स्त्रीलाई वत्सरका लागि अति वृद्ध स्त्रीलाई नियुक्त गर्नु पर्छ| (३०|१५) यो अध्यायमा अरु अनेक काममा कस्तो योग्यता भएको व्यक्तिलाई नियुक्त गर्ने भन्ने कुरा उल्लेख छन्| यजुर्वेद कै चालीसौ अध्यायको पहिलो मन्त्र पनि प्रशासनिक हिसाबले लाक्षणिक रुपमा निकै महत्वपूर्ण देखिन्छ| यस मन्त्र अनुसार सृष्टिमा भएका जड चेतन सबैमा इश्वरको उपस्थिति छ, उसले दिएको कुराको उपभोग गरौँ, अर्काको अधिकारको हनन हुने गरी अधिक कुरो नखोजौं| (यजुर्वेद ४०|१) यो मन्त्रमा रहेको सृष्टिको स्थानमा “मुलुक” र इश्वरका ठाउमा “ कानून” राखेर हेर्ने हो भने यो मन्त्रले यसो भन्छ- मुलुकमा कानूनले सबैलाई समान व्यवहार र गर्नुपर्छ, कानूनले जड चेतन सबैलाई सम्बोधन गर्नुपर्छ, कानूनले जसलाई जे दिएको छ उसले त्यही उपभोग गर्नु पर्छ, कानूनले दिएको कुरा उपभोग गर्न सबै उत्तिकै स्वतन्त्र छन्, आफ्नो स्वतन्त्रता उपभोग गर्दा अर्काको अधिकारको हनन गर्न हुँदैन| यो मन्त्रले यसरी न्यायपूर्ण कानून, समान व्यवहार, स्वतन्त्रताको प्रयोग र अरुको अधिकारको रक्षा गर्नु पर्ने बताएको मान्न सकिन्छ| आजको प्रशासन र न्याय प्रणालीले चाहेको आदर्श यिनै मूल्यको सेरोफेरोमा घुमेको देखिन्छ| सामवेदको पन्द्रौं अध्यायको पहिलो खण्डको दशौँ मन्त्रमा अग्निदेवसंग चारवटा कुराको लागि प्रार्थना गरिएको छ| ती हुन्- क) रक्षा ( safty and security), ख) अभय ( freedom from fear), ग) संरक्षण (protection of weak) घ) पालन ( delivery of goods and services)| (सामवेद १५|१|१०) यी चारवटा कुरा जनताका आधारभूत अधिकार र प्रशासनका न्युनतम कर्तव्य हुन् भनी मान्न सकिन्छ| आजको प्रशासनले गर्न खोजेका आदर्श कुरा पनि मूलतःयिनै हुन्| सामवेदको पन्द्रौं अध्यायको तृतीय खण्डको पहिलो मन्त्रमा अग्निका चार गुणको चर्चा छ ती हुन् क) अगुवा मार्गदर्शक (leader and mentor) ख) तत्काल क्रियाशील (quick responding) ग)द्रुत गतिमान (speedy and dynamic) घ) सदैव नविनता (novelty and creative) (सामवेद १५|३|१|) यी चार गुणलाई प्रशासकका गुण मान्ने हो भने असल र आदर्श प्रशासन सम्भव छ| यी गुण हुने प्रशासकले कुशल नेतृत्व दिन सक्छ, मातहतकालाई पनि सिकाएर सुमार्गमा लैजान सक्छ, सेवाप्रति सदैव क्रियाशील बनाउछ, कर्तव्यमुखी र जिम्मेवार बनाउछ, काम पन्छाउने र मुख ताक्ने प्रवृति हुन दिदैन, समय मै निर्णय गर्नुपर्ने क्षमता बिकसित गर्न प्रेरित गर्छ, प्रतिक्रियात्मक र लाए अह्राएको काम गर्नेबाट रचनात्मक सृजनशील र नवीनताको लागि काम गर्ने अपेक्षा राख्छ| यी गुण भएमा प्रशासकको मनोबल उच्च हुने, काम प्रति लगाव हुने, कामलाई धर्म संझने भाव हुने, निर्णय समय र गुणस्तरीय हुने, काम अनुसन्धानमा आधारित भएर गर्ने वानी बस्ने, शासक भन्दा सेवकको भावनाले काम गर्ने, सनक भन्दा विवेक र पद्दतिले काम गर्ने जस्ता अवस्था आउन सक्छन्| मनुस्मृति राज्य संचालनका लागि अन्य कुराका अतिरिक्त दण्डको सिर्जना भएको दण्डको उत्पति, महत्व, प्रकृति स्वरूप उद्देश्य र मात्राको बिषयमा व्यापक रुपमा चर्चा छ| (७|१४-३२) त्यसमा दण्डले अनुशासन कायम गर्ने (७|१६), अपराधीलाई विवेक पुर्याई अपराध अनुसार दण्ड दिनुपर्ने( ७|१७), दण्डले नै सबै प्रकारको शासन गर्ने र दण्डले नै सुतेकालाई बुझाउने (७| १८), विचार पुर्याई दिएको दण्डले प्रसन्न र विचार नपुर्याई दिएको दण्डले विनास गर्ने(७|१९), कुरा उल्लेख छ| यस्तै दण्ड व्यवस्था नभए मत्स्यन्याय हुने ( ७|२०), दण्ड नभए अधिकार नै नरहने(७|२१) दण्डले नै अधिकारको सुरक्षा र कर्तव्य पालना गराउने(७|२२,२३), दण्ड नभए सामाजिक शृंखला टुट्ने, धार्मिक वन्धन चुडिने र सर्वत्र विद्रोहको खतरा हुने बताइएको छ|(७ |२४) यस्तै यस स्मृतिमा दण्ड प्रदान गर्दा न्यायपूर्वक र कर्तव्य पूरा गरेर मात्र गर्नुपर्ने( ७|२५), दण्ड विधान सत्य,विवेक,वुद्धी तथा धर्म, अर्थ र कामको ज्ञाताबाट बनाइनुपर्ने (७|२६), दण्डको उचित प्रयोग गरे सफल र अनुचित प्रयोग गरे आफै समाप्त भइने (७|२७), गलत दण्ड दिए धर्म भ्रष्ट र कुल सहित नष्ट हुने ( ७|२९) कुरा उल्लेख छ| राज्यको अरु अंगको सहायता नपाएका, मूर्ख, लोभी, शास्त्र( न्याय, कानून, नीति, रीतिथिति)को ज्ञान नभएका र बिषय वासनामा लिप्त हुनेले न्यायपूर्वक दण्ड व्यवस्था चलाउन नसक्ने (७|३०) र पवित्र हृदय, सत्य निष्ठा शास्त्र अनुसार चल्ने, बुद्धीसम्पन्न, सहयोगी र सेवा भाव भएकाले मात्र दण्ड व्यवस्था चलाउन सक्ने (७|३१) कुरा मनुस्मृतिमा बताइएको छ| दण्ड राज्य प्रमुख, न्याय पद्दति र प्रशासन तीनै क्षेत्रको बिषय हुँदा दण्ड प्रणालीलाई प्रशासनसंग अलग गरी हेर्न नसकिने हुँदा यहाँ त्यसबारे छोटो रुपमा उल्लेख गरिएको हो| मनुस्मृतिमा राज्यको अन्तिम प्रशासक राजामा हुनुपर्ने गुणको पनि लामो चर्चा छ| अध्ययनशीलता र ज्ञानीको सेवा( ७|३७), नम्रता (७|३९,४०), शिक्षा(७|४३), योग(७|४४), कामक्रोध त्याग(७| ४५,४६),कुलतहरुको त्याग (७| ४७-४९), दुर्गुणहरु त्याग(७|५०,५१) र व्यसनत्याग(७|५२) क्षमता राजामा पनि हुनुपर्ने बताइएको छ| यी गुण अरु प्रशासकका लागी अनुकरणीय हुन सक्छन्| मनुस्मृतिको सातौ अध्यायको ५४औदेखि ६०औं श्लोकसम्म मन्त्रीका योग्यता (५४औ श्लोकमा संस्कृतमा “सचिव” शब्द प्रयोग छ) बारे चर्चा छ| मनुस्मृतिको सातौँ अध्यायको ६१औँ श्लोकमा राजाले कार्य संचालनको लागि जति व्यक्तिको आवश्यकता पर्छ त्यति व्यक्ति नियुक्त गर्नुपर्ने र त्यसरी नियुक्ति गर्दा आलस्यरहित, कार्यदक्ष र प्रवीण व्यक्ति नियुक्त गर्नुपर्ने बताइएको छ| यस्तै ६२औं श्लोकमा शुर, दक्ष र पवित्र व्यवहार भएकालाई महत्वपूर्ण र भीरु स्वभावकालाई सामान्य काममा लगाउनु पर्ने भनिएको छ| मनुस्मृतिको सातौँ अध्यायको ६३औं देखि ६८औ श्लोकमा कुटनीतिक प्रशासन सम्बन्धी व्यवस्था छ| यसमा राजदूतमा हुनुपर्ने योग्यता, राजदूतको अधिनमा हुने बिषय, राजदूतको महत्व, कार्य प्रकृति र क्षमता जस्ता कुटनीतिक प्रशासनको बिषयमा उल्लेख छ| मनुस्मृतिको सातौँ अध्यायको ७० औ देखि ७६औं सम्मका श्लोकमा दुर्ग र किल्ला अर्थात् सुरक्षा/ रक्षा प्रशासन सम्बन्धी चर्चा छ| मनुस्मृतिको सातौँ अध्यायका १२७ देखि १३९ सम्मका श्लोकहरुमा कर प्रशासन र कर व्यवस्था सम्बन्धमा उल्लेख छ| यस्तै मनुस्मृतिको सातौँ अध्यायको २२३ र २२४ औँ श्लोकमा गुप्तचर सम्बन्धी चर्चा छ| जस अनुसार राज्यप्रमुखले गुप्तचरबाट सूचना लिने बारे उल्लेख छ| यस्तै मनुस्मृतिको सातौँ अध्यायको ८१ औँ श्लोकमा भिन्न भिन्न कामको देखभाल गर्न भिन्न भिन्न कार्यकुशल व्यक्तिलाई अध्यक्षको रुपमा नियुक्त गर्नुपर्ने र ती अध्यक्षले तत् तत् कामका लागि नियुक्त अन्य कर्मचारीको कामको देखभाल र निरीक्षण गर्न लगाउनुपर्छ भन्ने प्रावधान छ| दुई तीन पाँच र सय गाउँका बीच बीचमा सुरक्षाका लागि सुरक्षा इकाई (गुल्म) राख्नु पर्छ| (७\११४) प्रत्येक गाउमा एकएक जना ग्राम प्रमुख (अधिपति) नियुक्त गर्नुपर्छ| त्यसपछि प्रत्येक दश, बीस, सय र एकहजार गाउका लागि एक एक अधिकारी राख्नुपर्छ| (७|११५) गाउका समस्या सकेसम्म गाउको प्रमुखले नै समाधान गर्नुपर्छ| ग्राम प्रमुख ले नसके सो भन्दा माथिल्लो दश ग्रामाधिपति र निजले पनि नसके बीस गाउको ग्रामाधिपतिले समाधान गर्नुपर्छ|(७|११६) बीस गाउको ग्रामाधिपतिले नसके सय गाउँको र निजले पनि नसके एकहजार गाउको अधिपति गर्दै क्रमस: तल्लोबाट माथिल्लो तहमा निवेदन दिनुपर्छ|(७|११७) प्रशासन विकेन्द्रीकृत हुनुपर्ने, जनताका समस्याको समाधान स्थानीय स्तरमा हुनुपर्ने, प्रशासनमा पदसोपान हुनुपर्ने, माताहतले गरेको निर्णयमा चित्त नबुझे माथिल्लो तहमा पुनरावेदन दिन पाउने जस्ता कुरा यी श्लोकको आसय देखिन्छ| यी आजको प्रशासनका लागि अनुकरणीय हुन सक्छन्| ग्राम अधिपतिले राजाले गाउलेबाट उठाउन अनुमति दिएको खानपिन र इन्धनको सामग्रीबाट आफ्नो वृति चलाउनु पर्छ| (७|११८) राजाले दश गाउका अधिपतिलाई लागि एक कुल (एक कुल भनेको बाह्र वटा गोरुले एक दिनमा जोत्ने जग्गा याने एउटा परिवारलाई जीवन निर्वाह गर्न पुग्ने जग्गा), बीस गाउँका अधिपतिलाई पाँच कुल, सय गाउका अधिपतिलाई एक गाउँ र एक हजार गाउँको अधिपतिलाई नगरको राजश्व बराबरको (कतै जमीन विर्ता र कतै आम्दानी बराबर भन्ने अनुवाद पनि छन्) वृति प्राप्त हुन्छ| (७|११९) गाउका बासिन्दाहरुले आपसमा मिली गरेका सामूहिक कार्य र अलग अलग रुपमा गरेका कार्यहरुको सो प्रयोजनका निमित्त राजाबाट नियुक्त सचिवले (मनुस्मृतिमा सचिव शब्द नै प्रयोग छ) अल्छी नगरी तत्परताका साथ निरीक्षण/हेरचाह गर्नुपर्छ| (७|१२०) यो व्यवस्थाले पारिश्रमिक र निरीक्षण तथा मुल्यांकन बारे चर्चा गरेको मान्न सकिन्छ| प्रत्येक नगरमा त्यहाँका सबै कामको हेरविचारका लागि नक्षत्र जस्तै एकदम चम्किला र उच्च स्तरीय (गुण सम्पन्न) अधिकारी राजाले नियुक्त गर्नुपर्छ|(७|१२१) नगर प्रमुखले सबै ग्रामाधिपतिहरुको निरीक्षण/हेरचाह गर्नुपर्छ र आफ्ना गुप्तचरद्वारा सबै पदाधिकारी र बासिन्दाको आचार र व्यवहारको राम्ररी जानकारी राख्नुपर्छ|(७|१२२) यसले निरीक्षण र मूल्यांकनका लागि योग्य व्यक्ति नियुक्त गर्नुपर्ने, काम भए नभएको र ठीक र समयमा भए नभएको तथा सदाचरका नियमको पालना भए नभएको कुरा छुट्टै निगरानी संयन्त्रबाट पनि बुझ्नुपर्ने तर्फ संकेत गरेको देखिन्छ| नियुक्त भएका अधिकारीहरु अर्काको धन सम्पति हरण गर्ने खालका शठ पनि हुन्छन् तिनबाट राजाले आफ्ना प्रजालाई जोगाउनुपर्छ| (७|१२३) त्यस्तो घुस लिने कर्मचारीलाई राजाले सर्वस्वहरण गरी देश बाहिर पठाउनुपर्छ| (७ १२४) भ्रष्टाचार प्रति मनुस्मृति निकै कठोर देखिन्छ| राजाको काममा खटिएका महिला र अन्य दरबारिया कामदारलाई उनीहरुको पद र काम अनुसार दैनिक रुपमा उनीहरुको वृत्ति (ज्याला तलब) दिनुपर्छ| (७|१२५) सामान्य किसिमको काम गर्नेलाई एक पण ( मुद्रा बिशेष) र माथिल्लो स्तरको काम गर्नेलाई छ पणसम्म प्रत्येक दिन दिनुपर्छ| प्रत्येक महिना एक एक द्रोण (अन्न मापन) धान्य(अनाज) र छ छ महिनामा लुगा दिनुपर्छ| (७|१२६) पारिश्रमिक पद र कामसँग मिल्दो हुनुपर्ने र जीवन निर्वाह गर्न नगद मात्र नभई आधारभूत आवश्यकताका अन्य कुरा पनि पारिश्रमिकमा समावेश हुनुपर्ने यसको आसय रहेको देखिन्छ| न्याय सम्पादन र न्याय प्रशासनका बारेमा मनुस्मृतिको अध्याय आठमा विस्तृतरुपमा उल्लेख गरिएकोछ| यसमा न्यायासन र त्यसको संरचना, न्याय व्यवस्थापन, समाजमा विवाद वा मुद्दा पर्न सक्ने विषय र कारण, न्यायकर्मीका गुणदोष, भ्रष्टाचाररहित न्याय, साक्षी, झुटा साक्षी र साक्षी परीक्षण, सपथ, दण्ड व्यवस्था, नापतौल, भोग, देवानी र फौजदारी दायित्व, कसूर अनुसारको सजाय, माफी, क्षतिपूर्ति, कर आदि बिषयमा चर्चा छ| यी व्यवस्था निकै व्यापक र बिस्तृत छन्| यो आलेखमा त्यसको सारांशसम्म पनि उल्लेख गर्न आकारका दृष्टिले सम्भव भएन| आफू स्वस्थ्य रहँदा पनि अहंकारवश अह्राएको काम नगरेमा आठ कृष्णल जरिवाना गरी उसको तलव काट्नुपर्छ| (८| २१५) विरामी परेकोमा भने निको भएपछि गर्नुपर्ने काम पूरा गरे बाँकी रहेको पूरै वेतन पाउछ| ( ८|२१६) बिरामी वा स्वस्थ जे भए पनि काम आफै वा अरुद्वारा गराएकोमा काम पूरा भएको छैन भने उसले वेतन पाउदैन|(८|२१७) यसरी अहंकारवश काम नगरे जरिवाना हुने, तोकिएको काम पूरा गर्नैपर्ने, असमर्थ रहेकोमा समर्थ भएपछि पनि कामसम्पन्न गर्न सकिने व्यवस्था गरेको देखियो| वेतनलाई कार्य सम्पादनसंग जोडेर हेरेको अर्थ गर्न सकिन्छ| कुनै कर्मचारीले धनको लोभले कुनै काम बिगारेमा त्यसको सर्वस्वहरण गर्नुपर्छ| (९| २३१) शासनमा छल गर्ने, प्रजालाई बिगार्ने र शत्रुको सेवा गर्ने तथा स्त्री, बालक र ब्राह्मणलाई मार्नेलाई मृत्युदण्ड दिनुपर्छ|(९|२३२) राज्यको कामको लागि कर्मचारी खटाउदा राजधर्ममा संलग्न रही सबै जनताको कल्याण गर्नका निम्ति खटाउनु पर्छ| (९|३२४) याज्ञवल्क्यस्मृति याज्ञवल्क्यस्मृतिको आचार अध्यायको राजधर्म प्रकरणमा राजा, मन्त्री (मन्त्री शब्द नै प्रयोग भएको) र अन्य पदाधिकारीको योग्यता बारे विस्तृत चर्चा छ| (१|३०९-३१३) बस्ती बसाउदा रमणीय,प शुका लागि निर्वाहका साधन भएको, जिविकाको लागि वन र जलको व्यवस्था भएको स्थानमा बसाउनुपर्छ| त्यसरी बस्ती बसाएपछि त्यसको लागि आर्थिक कोश ( ढुकुटी) को व्यवस्था गरी रक्षाको लागि दुर्ग बनाउनुपर्छ|(१|३२१) राजाले धर्मार्थ आदि कार्यमा आय र व्यय सम्बन्धी काममा कुशल, कार्य पारङ्गत तथा पवित्र हृदय भएको व्यक्तिलाई नियुक्त गर्नुपर्छ| यस्तो व्यक्ति आय व्यय देखाउन र लागानी वा खर्च गर्न सदैव सक्रिय रहोस्| (१|३२२) राजाले बिहान सबेरै उठेर आफ्नो राज्य (नगर गाउँ) मा घुम्नुपर्छ| आफ्नो र राज्यको हित र सुरक्षाका लागि राज्यको आम्दानी र खर्चको विवरण हेर्नुपर्छ| न्याय सम्पादन सम्बन्धी काममा संलग्न हुनुपर्छ|(१|३२७) यसलाई राजाको दैनिकी मानिएको छ| राजाले राज्यका निम्ति राजश्व संकलन गर्न नियुक्त अधिकारीले ल्याएको धन र सुन राज्यकोषमा जम्मा गर्नुपर्छ| यो काम सकेपछि राजाले आफ्ना गुप्तचर र अरु राज्यबाट आएका दूत भए तिनीहरुसंग र आफ्ना मन्त्रीहरुसंग भेटघाट, छलफल र मन्त्रणा गर्नुपर्छ| (१|३२८) अपरान्हमा मन्त्री र सेना प्रमुखसंग भेटघाट र छलफल गर्नुपर्छ| (१|३२९) साँझमा गुप्तचरले ल्याएका गोप्य सूचना एकान्तमा सुन्नुपर्छ र एकछिनको मनोरन्जन (गीत संगीत) पछि खाना खाएर स्वाध्यायमा लाग्नु(लेखपढ) पर्छ| (१|३३०) न्यायपूर्वक प्रजाको परिपालना गर्ने राजालाई प्रजाले गरेको पुण्यको ६ भागको एक भाग हिस्सा प्राप्त हुन्छ|(१|३३५) यो पनि राजाको दैनिकीको अंग देखिन्छ| आफ्ना प्रजालाई ठग, चोर, कपटी, डाँका र विशेषत:लेखापढी गर्दा जालझेल गर्ने कायस्थहरुबाट पीडित हुनबाट जोगाउनु पर्छ| (१|३३६) राष्ट्रको (“राष्ट्र” शब्दको प्रयोग भएको छ) कार्य गर्न अधिकृत गरिएका अधिकारीले के कसरी काम गरेका छन् त्यस बारे गुप्तचरबाट जानकारी लिई राम्रो काम गर्ने सदाचारीलाई पुरष्कृत र घात गर्नेलाई अपराध अनुसार दण्डित गर्नुपर्छ| जसले घुस लिएर जीविका चलाउछ त्यसलाई उसको धन लिएर देश निकाला गर्नुपर्छ| (१|३३८,३३९) कुनै भूभाग आफ्नो नियन्त्रणमा आएमा त्यस ठाउँमा जे जुन प्रकारका आचार, व्यवहार र कुल मर्यादा जुन रुपमा थिए तिनलाई त्यसै रुपमा पालन गर्न दिनुपर्छ| ((१|३४३) सन्धि- विग्रहको (कुटनीतिक सम्बन्धको) सन्दर्भमा राज्यको मूल मन्त्र “मन्त्रणा” (गोप्य परामर्श) हो|अत; अरु राज्यसितको सम्बन्ध बनाउने र बिगार्ने विषयका कुरा गोप्य राख्नुपर्छ| ती मन्त्रणाका कुरा त्यसको परिणाममा नपुगेसम्म अनावश्यक व्यक्तिबाट गोप्य राख्नुपर्छ| (१|३४४) अर्थात् परराष्ट्र प्रशासनको मूल चूरो वार्ता हो र निष्कर्षमा नपुगेसम्म यसको सूचना असम्बन्धित व्यक्तिलाई दिनु हुँदैन| आफूसंग सीमा जोडिएका राज्यले वैरभाव, त्यस पछिका राज्यले मित्रता र टाढाका राज्यले तटस्थता देखाउने हुन सक्छ| ती राज्यले के गरिरहेका छन् भन्ने बारे दैनिक रुपमा जानकारी राख्नुपर्छ र साम आदि उपाय अबलम्बन गर्दै रहनुपर्छ| (१|३४५) सीमा जोडिएको मुलुकसंग बरोबर समस्या आइरहन सक्छ, सीमा नजोडिएका तर धेरै टाढा नभएका मुलुक मित्रता राख्न चाहन्छन् र धेरै टाढाका मुलुकको भने खासै सरोकार नदेखाउने व्यवहार हुन सक्छ| कुटनीति संचालन गर्दा यो प्रकृति र प्रवृतिमा ध्यान दिनुपर्छ| अनि अवस्था अनुसार साम, दान, भेद र दण्ड मध्येबाट उपयुक्त नीति अबलम्बन गर्नुपर्छ| परराष्ट्र सम्बन्ध व्यवस्थित र अर्को पक्षको प्रकृति अनुसार व्यवहार गर्न साम ( छलफल र वार्ता गर्ने) दान (केही दिने प्रस्ताव गर्ने) भेद ( अर्को पक्षका कमजोरी र गोप्यता भंग गरिदिने) र दण्ड ( उचित सजाय दिएर नियन्त्रणमा लिने) गरी चार उपाय छन्| (१|३४६) यस्तै वैरभाव राख्ने विदेशीसंग सन्धि (सम्बन्ध), विग्रह (सन्धि तोड्ने / वैरभाव नै देखाउने), मान ( चढाई गर्ने ), आसन( उपेक्षा गर्ने), संश्रय ( अर्को शक्तिशालीको आड लिने) र द्वैधभाव ( दोहोरो व्यवहार गर्ने वा सेनामा विभाजन भन्ने बारे भिन्न मत) जस्ता रणनीति अपनाउनु पर्छ|( १|३४७) स्वामी (राजा/राज्य प्रमुख), अमात्य(मन्त्री), जन(जनता) दुर्ग( किल्ला/ सीमा सुरक्षा) कोश ( धनराशी/राजश्व), दण्ड (कसैले यसलाई हात्ति, घोडा रथ र पैदल सेना पनि भनेका ) र मित्र यी राज्य (संस्कृतमा नै “राज्य” शब्द छ) का सप्तांग हुन् | यी सप्तांगयुक्त राज्यले दुराचारी ( ठग, दुष्ट, धूर्त, परस्त्रीगामी, परद्र्व्यहारी र हिंस्रक आदि) लाई दण्ड दिनुपर्छ| (१|३५३,३५४) राजा वा निर्णयकर्ताले आफ्नो भाइ, छोरा, आचार्य, ससुरा, मामा वा कुनै पदमा आसिन व्यक्तिलाई सोही कारणले कानून विपरित काम गरेकोमा अपराधको गम्भीरता अनुसार सजाय नगरी छोड्न हुँदैन| (१|३५८) कानून भन्दा माथि कोही पनि छैन र कानूनको समान प्रयोग हुनुपर्छ भन्ने यो प्रष्ट उदाहरण हो| आजकल कानूनको शासन भनिने अवधारणा यस स्मृतिमा उल्लेख भएको देखिन्छ| समाजमा अपराध गर्ने व्यक्तिलाई अपराधको मात्रा अनुसार धिक्दण्ड (वचनले धिक्कार्ने), वाग्दण्ड ( कठोर वचनले हप्काउने), धनदण्ड (जरिवाना) र वधदण्ड (कैद र शारीरिक सजाय) मध्ये कुनै वा सबै सजाय दिनुपर्छ|(१|३६७ अपराधीलाई देश काल, बल, आयु, कर्म तथा धनको जानकारी प्राप्त गरी अर्थात् उसका यी पक्षमा विचार गरी दण्ड दिनुपर्छ|(१|३६८) दण्ड न्यायिक मात्र बिषय नभई प्रशासनिक बिषय पनि हुँदा दण्ड दिन पाउने अधिकारीले दण्डका मान्यता पालन गर्नुपर्ने अर्थ गर्न सकिन्छ| अचेल अर्धन्यायिक अधिकारीले पनि दण्ड दिने अख्तियार राख्ने हुँदा ती अधिकारीले पनि दण्डका सिद्दान्तको पालन र प्रयोग गर्नुपर्ने हुन्छ| नारदस्मृति नारद्स्मृतिमा मूलतः न्याय सम्पादन र न्याय प्रशासन सम्बन्धी उल्लेख छ| यस स्मृतिमा न्यायिक संस्था, न्यायिक प्रक्रिया, विवाद हुने मुख्य(अठार) कारण, कानूनका बिभिन्न शाखा, तर्क, विवेक र परम्पराको महत्व, सुनुवाइको अधिकार, स्वच्छ न्याय, न्यायाधीशको कर्तव्य र दायित्व, प्रमाण मुल्यांकन, झुठो बकपत्र गरेमा सजाय हुने, दावीका दोष, प्रमाणको भार, निर्णय र जितापत्र, न्यायाधीशका योग्यता, द्रुत न्याय आदि जस्ता बिषयमा व्यापक र विस्तृत उल्लेख छ| यस स्मृतिमा ऋणको भुक्तानी, वैध र अवैध कारोवार, सम्पति, प्रमाणका किसिम, व्याजमा धन लगाउने, जमानत ( surety र pledge), लिखत, साक्षी, अमान्य प्रमाण, धितो (डिपोजिट), साझेदारी, दान, सेवा करार, सीमा विवाद , पति पत्नीका आपसी कर्तव्य, अंशअपुताली जस्ता कुराको चर्चा छ| साथै तलब दिन इन्कार गरेमा, गैरस्वामीले सम्पति बेचेमा, बेचेको समान नदिएमा, प्रचलन उल्लघन गरेमा के हुने भन्ने बारे बिभिन्न शिर्षकमा बिभिन्न देवानी कानूनी व्यवस्था पनि यस स्मृतिमा रहेका छन्| यस्तै गम्भीर अपराध, अपमान र आक्रमण, जुवा जस्ता शिर्षकमा फौजदारी कानूनी व्यवस्था पनि रहेका छन्| यो स्मृति मूलतः न्याय सम्पादन र न्याय प्रशासनसंग सम्बन्धित छ| तथापि यी कानूनको कार्यान्वयनमा प्रशासनको भूमिका इन्कार गर्न सकिदैन| यस्तै नेपालमा पाइएको मानव न्यायशास्त्र वा न्याय विकासिनी नारदस्मृतिमा आधारित रहेको मानिन्छ र यो अभिलेख नेपालमा मात्र उपलब्ध छ| ( द स्याक्रेड बुक्स अफ द इस्ट: यफ. म्याक्समुलर भोलुम ३३ मोतिलाल बनारसीदास) वृहस्पतिस्मृति वृह्स्पतिस्मृतिमा न्यायालयको संरचना, न्यायिक प्रक्रिया, दावी, प्रतिउत्तर, सुनुवाई, निर्णय, साक्षी, लिखत, भोग, दिव्य, ऋण, धितो (डिपोजिट), गैरस्वामीले गरेको बिक्री, साझेदारी, दान, कामदार र मालिक, सम्झौताको उल्लङ्घन, सीमा विवाद, अपमान, आक्रमण, डकैती र हिंसा, जारी, पति पत्नीका कर्तव्य, अंशअपुताली, जुवा र सट्टा जस्ता शिर्षकमा बिभिन्न कानूनी व्यवस्था रहेका छन्| (द स्याक्रेड बुक्स अफ द इस्ट: यफ. म्याक्समुलर भोलुम ३३ मोतिलाल बनारसीदास) यी व्यवस्था मूलतः न्याय सम्पादन र न्याय प्रशासनसंग सम्बन्धित भए पनि तिनको कार्यान्वयनमा प्रशासनको भूमिका रहन्छ| शुक्रनीति शुक्रनीतिमा राजकार्य निरुपण, बिभिन्न अधिकारीहरुको योग्यता र कर्तव्य, राजा र प्रजाको हितसंग सम्बन्धित सामान्य नीति, बिषय सापेक्ष नीति (मिश्र, कोश/कोष निरुपण, विद्द्या, कला निरुपण, आचार निरुपण, राजधर्म निरुपण, दुर्ग निरुपण, सेना निरुपण) र खिल (अतिरिक्त) नीति जस्ता अध्याय शिर्षक छन्| यो नीति मूलतः राज्य संचालन र प्रशासनसंग सम्बन्धित भएको कुरा अध्याय र प्रकरण विभाजनबाट नै देखिन्छ| (श्री शुक्राचार्यको शुक्रनीति,अनुवादक डमरु वल्लभ पौड्याल, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,२०२९)तसर्थ यस आलेखमा त्यसका सबै पक्षमा उल्लेख गर्न सम्भव नभएकाले केही प्रतिनिधि व्यवस्था उधृत गर्ने प्रयास गरिने छ| दण्डको आसय स्वधर्म (कर्तव्य र न्याय) प्रति प्रवृत्त बनाउनु हो|(१|२३) जनताको मनमा भय उत्पन्न गरी राज्य प्रति निन्दा गर्न प्रेरित गर्नु हो| असल नागरिकलाई देश छोड्न बाध्य पार्नु दण्डको आसय होइन|(१|१२६) सरकारी कार्यालय र कार्यस्थलको यामिक (प्रहरी) द्वारा सुरक्षा गराउनु पर्छ| (१|२८६) यस्तो सुरक्षा गर्न प्रेमपूर्वक व्यवहार गर्न सक्ने, नीति जान्ने, नम्र, हात-हतियार चलाउन सिपालु ४|५ वा ६ जनाको टोली खटाउनु पर्छ|(१|२८७) प्रहरीबाट सूचना लिएर सुन्ने व्यवस्था गर्नुपर्छ|(१|२८९) प्रहरीले गाउबाट निस्कने र गाउमा पस्ने व्यक्तिसंग यथार्थ विवरण सोधी हुलिया लिएर आवतजावत गर्न दिनुपर्छ|(१|२९०) आधा आधा प्रहरको समय मिलाई गल्ली र नाकामा प्रहरी घुमाउनु पर्छ|(१|२९१) यी आन्तरिक सुरक्षा प्रशासन सम्बन्धी बिषय हुन्| यस्तै शुक्रनीतिमा गुप्तचरद्वारा सूचना संकलन गर्ने, गुप्तचरले गलत सूचना दिएमा दण्ड गर्ने, महत्वपूर्ण व्यक्तिका सूचना गुप्त तरिकाबाट प्राप्त गर्नुपर्ने, गुप्त तरीकाबाट पहिलै सूचना प्राप्त गरे सम्बन्धित व्यक्तिले झुठो बोल्न नसक्ने, जनता र अधिकारीको सुरक्षाका लागि गुप्तचरको प्रयोग गर्नु पर्ने जस्ता व्यबस्था छन्| यी व्यवस्थाको सूचना र सुरक्षासंग प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ| असल शासनका लागि ती सूचना र यो पद्दति उपयुक्त हुन सक्छ|(१| ३३४-३३९) राजाले प्रतिवर्ष गाउँ, शहर र मुलुकमा आफैले हेरी कर्मचारीहरुले जनतालाई रिझाएका छन् वा दबाएका छन् विचार गर्नुपर्छ| त्यस्तो अवस्थामा केही कुरा (निवेदन) पर्न आएकोमा शंकास्पद अवस्था देखिन आए कर्मचारी भन्दा जनताको पक्ष लिनुपर्छ| (१|३७४) राजाले अधिकार दिएर नियुक्त गरेका व्यक्तिले धेरै प्रजालाई दु:ख दिएको रहेछ भने त्यस्ता कर्मचारीलाई हटाउनुपर्छ| पहिलोपटक अन्याय गरेको मन्त्रीलाई एकान्तमा सम्झाउनुपर्छ| तर अन्याय गरेकोमा सावित छ भने हटाउनु नै पर्छ| जानीजानी अन्याय गरिरहने व्यक्तिको भने सम्पति हरण गर्नुपर्छ| (१|३७५,३७६) प्रशासनिक क्रियाकलापको प्रत्यक्ष निगरानी गर्नु पर्ने, शंकाको सुबिधा कर्मचारी नभई जनतालाई दिने, सामान्य त्रुटिमा सम्झाउने बुझाउने र ठूलो गल्तीमा हटाउने र सम्पति हरण गर्नुपर्ने भन्ने यी व्यवस्थाको आसय देखिन्छ| राजाले नियुक्ति गर्दा कुलीन, गुणी, असल स्वभाव भएका, पाको उमेर भएका, सुरा, स्वामिभाक्त, मिठो वचन भएका, हित उपदेश दिन सक्ने, धर्मिस्ट, शुद्ध चालचलन भएका, राजा खराब मार्गमा लाग्दा बुद्धीद्वारा असल मार्गमा ल्याउन सक्ने, स्वाभिमानी, जाँगरिला र काम, क्रोध, लोभ नभएका व्यक्तिलाई सल्लाहकार नियुक्त गर्नुपर्छ| खराब सहायक राखे राजा आफ्नो धर्म र राज्यबाट च्यूत हुन्छ|(२|८-१२) यो त्यसबेलाको योग्य व्यक्ति छान्ने मानदण्ड हो भन्ने देखिन्छ| राष्ट्र सेवकमा निश्चित गुण हुनुपर्ने भन्दै गुणहरुको लामो सूची दिइएको छ| तन, मन र वचनले काम गर्न सक्ने, पाएको तलबमा सन्तुष्ट रहने, मृदुभाषी, अरुको अपकार नगर्ने, असल राय सल्लाह दिन सक्ने, न्याय मार्गमा प्रवृत, छिटो काम गर्न सक्ने, उपयुक्त व्यवहार गर्न सक्ने, अरुले पाएको अधिकार आफूले पाए हुँदो हो नभन्ने, आयस्ता अनुसार खर्च गर्न सक्ने, मातहतलाई राम्रो व्यवहार गर्ने, घमण्ड र निन्दा नगर्ने, चतुर र दयालु आदि गुण त्यसमा समावेश छन्| (२|५८-६४) यस्तै शुक्रनीतिमा अयोग्यताहरुको पनि चर्चा छ; ती हुन्: जागिर खोसिएको, खराब काम गरि सजाय पाएको, मूर्ख, कातर, लोभी, मात्तिएको, खराब ब्यसनामा परेको, घुस खाने, जुवा खेल्ने, साँचो बोल्नेलाई मन नपराउने, समाजबाट अपमानित भएको, रुखो बोल्ने, अरुलाई मर्म पार्ने, रिसाहा, विचार नपुर्याई झट्ट काम गर्ने व्यक्ति नीच हुन्| ( २|६५-६८) यस नीतिमा राजाको पार्श्ववर्तीक रुपमा रहने १० पद मध्ये प्रधानसचिव (संस्कृत भाषामा नै यो शब्दको प्रयोग) पनि रहेको देखिन्छ| साथै माथिल्लो पद र तलका पदहरुको तलव नीति पनि उल्लेख छ| माथिल्लो पद र सो भन्दा ठीक मुनिको पदमा दश प्रतिशत कम गर्नु पर्ने र क्रमस: सोहीअनुसार तल्लो पदमा दशांश कम गर्दै जानुपर्ने नीति लिनुपर्ने भनी बताइएको छ| (२|७१-७३) यस्तै यस नीतिमा पद सोपानको व्यवस्था कसरी गर्ने भन्ने उल्लेख गर्दै त्यसको कारण पनि उल्लेख गरिएको छ|(२|७४-७९) शुक्रनीतिमा कुन पदले के काम गर्ने भन्ने बिषयमा पनि उल्लेख छ| जस्तो राजाको कामको विचार गर्ने प्रधान, सेनाको याद विचार गर्ने सचिव, नीति सम्बन्धी काम गर्ने मन्त्री, धर्म तत्व जान्ने पण्डित, लोकाचारमा निपुण गर्ने प्राड्विवाक, देशकाल विचार गर्ने अमात्य, आयव्ययको काम गर्ने सुमन्त्र आदि| (२|८२- ८६) यस्तै यस नीतिमा यी र अरु पदको कामको लामो विवरण छ जसको विस्तृत चर्चा यहाँ सम्भव छैन| शुक्रनीतिमा निरीक्षण सम्बन्धी व्यवस्था गर्दै निरीक्षण गर्न तीन सदस्यीय प्राज्ञ (समिति) नियुक्त गर्नुपर्ने, निरीक्षण गर्ने व्यक्तिलाई निजको काम नहेरी बदल्न नहुने र राम्रो काम नगरे लामो समय राख्न नहुने कुरा उल्लेख छ| तिनीहरुलाई काम हेरी तीन, पाँच सात वा दश बर्षमा बदल्नुपर्ने भनिएको छ| (२|११०,१११) जुन व्यक्ति जति अधिकार दिन लायक छ, त्यसै मुताविक अधिकार दिनुपर्छ, किनकि अधिकाररुपि मदिरा पिएपछि प्राय: मानिस मोहित हुन्छ|(२| ११२) काम हेरेर बढी काम गर्न सक्नेलाई माथिल्लो पदमा नियुक्त गर्नुपर्छ र त्यसपछि तलको खाली पदमा पनि नियुक्त गर्नुपर्छ| (२|२१३) बढुवा गरेपछि खाली रहेको पदमा पूर्ति गर्न मातहतमा उपयुक्त व्यक्ति नभए पदपूर्ति नगरी कायम मुकायम मात्र दिनुपर्छ| बढुवाको क्रम सकिएपछि अन्तिमको पदमा नयाँ भर्ना गर्नुपर्छ| (२|२१४,२१५) कर्मचारी खटाउदा कामको मात्राको आधारमा खटाउनु पर्छ| धेरै काम भए धेरै र थोरै काम भए थोरै कर्मचारी नियुक्त गर्ने वा खटाउने गर्नुपर्छ|(२|२१६) धेरै वर्ग सम्प्रदाय मिलेर गर्नुपर्ने खालको काम छ भने सबैलाई अधिकार दिएर पनि काम सफल पार्नुपर्छ| अन्यत्र यस्तो परे सबै भन्दा सिपालुलाई काम दिनुपर्छ| (२|१२५) किनकि यस संसारमा मन्त्र नभएको अक्षर छैन, औषधिमा प्रयोग नहुने कुनै वनस्पति छैन र योग्यता हुँदै नभएको मानिस पनि हुँदैन| जो जुन बिषयमा योग्य छ उसलाई त्यही काममा लगाउने मानिसको भने खाँचो छ| ( अमन्त्र मक्षरम् नास्ति नास्ति मूल मनौषधम् | अयोग्य: पुरुषो नास्ति योजक स्तत्र दुर्लभ:|२|१२६|) शुक्रनीतिमा हात्तिबल (२|१२७,२८) अस्तबल (२|१२९-१३६ ), सेना( २|१३७-१४८), कोषाध्यक्ष( २|१५०), सम्भाराधिप (भण्डारे ) ( २|१६०), न्यायाधीश(२| १६९), शौल्लिक(राजश्व अधिकारी)( २|१७४) लगायत राज्यमा नियुक्त हुने कर्मचारी समेतको नियुक्ति सम्बन्धमा उल्लेख छ| त्यहाँ उल्लेख भएका सबै पद र त्यसको योग्यता सम्बन्धमा लामो चर्चा भएकाले यहाँ बिस्तारमा उल्लेख गर्न सम्भव भएन| शुक्रनीतिमा गर्न हुने नहुने काम बारे सैद्धान्तिक रुपमा पनि चर्चा गरिएको छ| तिम्रो काम हन्छ भनी आश्वासन दिएपछि काम गरिदिन विलम्ब गर्न हुँदैन|(२|२२९) कर्मचारीले चाँडो गर्न सकिने काम आस देखाएर पर्ख भन्दै धेरै समय लगाउन हुँदैन| साथै गोप्य मन्त्रणा र बिषय कसैलाई थाहा दिन हुँदैन|(२|२३०) आफूले पाउने तलब भन्दा बढीको अभिलाषा गर्नु हुँदैन र मध्यस्थिकी भत्ताको इच्छा गर्नु पनि हुँदैन| (२|२६०) नयाँ नयाँ कर शुल्क लगाएर जनतालाई दु:ख दिन हुँदैन|( २|२६४) कर्मचारीले गर्न हुने र नहुने व्यवहार बारे २२९ औँ देखि २६४औँ श्लोकसम्म लामो सूची छ, यहाँ प्रतिनिधि व्यवस्था मात्र उल्लेख गरिएको हो| लिखित आदेश बिना कर्मचारीहरुले काम गर्न हुँदैन र राजाले पनि सानोतिनो काम लगाउदा समेत लिखित रुपमा नै आदेश दिनुपर्छ| नलेखी आदेश दिने राजा र लिखित आदेश नपाई काम गर्ने कर्मचारी दुवै चोर(त्यो बेला चोरको परिभाषा व्यापक थियो) हुन्| राजमुद्रा (राजाको छाप) भएको लिखत नै राजा हो केवल राजा (व्यक्ति) नै राजा होइन| (२|२८१-२८३) यसले मानिस राजा नभई संस्था राजाको वैधानिक आदेशको चर्चा गरेको छ| मौखिक आदेश दिनु र स्वीकार गर्नुलाई कसूर मानिएको छ| शुक्रनीतिको दोस्रो अध्यायको २८४ देखि ३१० सम्मका श्लोकमा लिखतको परिभाषा, महत्व, प्रकृति, प्रकार, लिखतको सुरक्षा जस्ता बिषयमा विस्तृत उल्लेख छ| उदाहरणार्थ यस नीतिमा जयपत्र, आज्ञापत्र, प्रज्ञापनपत्र, शासनपत्र, तोषपत्र, भोगपत्र, बकसपत्र, भागलेख्य (बण्डापत्र), दानपत्र, क्रयलेख, संवितपत्र, ऋणलेख्य, शुद्धीपत्र, सामयिकपत्र, सम्मतिपत्र, क्षेमपत्र र भाषापत्र जस्ता बिभिन्न सरकारी र नागरिक स्तरबाट तैयार हुने लिखत बारे चर्चा छ| यी मध्ये कतिपय शब्दको अर्थ आजको भन्दा भिन्न छ| यी लिखतहरु कुनै न कुनै रुपमा राज्यको प्रशासनसंग सम्बन्धित छन्| ती लिखतको प्रकृति र प्रक्रिया थाहा पाउन ती श्लोकको विस्तृत अध्ययन गर्न सकिन्छ| शुक्रनीतिको दोश्रो अध्यायको ३११ देखि ३५० सम्मका श्लोकमा आय, व्यय, लेखा जस्ता आर्थिक, राजश्व, वित्तीय र लेखा प्रशासन सम्बन्धमा वृहत चर्चा छ| यसमा आय व्ययको परिभाषा र प्रकारको उल्लेख छ| धन(पूँजी) को परिभाषा गर्दै बिभिन्न प्रकारले पूँजीको बर्गीकरण गरिएको छ| धन वा आम्दानीको वर्गीकरण गर्दा औपनिधिक, याचित, औत्तमर्णिक, साहजिक, सन्चित, पार्थिव, इतर आदि बिभिन्न रुपमा परिभाषा गरिएको छ| यस्तै व्यय र ऋणको बारेमा प्रकृति अनुसारका परिभाषा गरिएका छन्, ती हुन्; याचित, पुनरावर्तक, प्रतिदान, उपभोग्य, भोग्य,बिशेष,निवर्तक आदि|राजश्व र लेखा प्रशासन सम्बन्धी ती बिषय बिस्तारित रुपमा उल्लेख भएकाले यहाँ व्यापक सम्भव भएन| शुक्रनीतिमा लिखत तैयार गर्दा ध्यान दिनुपर्ने बिषयमा दोस्रो अध्यायको ३५१ देखि ३७६ सम्मका श्लोकमा उल्लेख छ| लिखत लेख्दा चारपाटे कागजमा तेर्छा हरफमा लेख्ने, बरावर अक्षर लेख्ने, शुरु र समाप्तीमा बराबर स्थिति हुनुपर्ने, लिखतमा सही गर्नेले आफ्नो इच्छा अनुसारको सही गर्ने वा छाप लगाउने, लिखत दर्जाको प्रतिकूल नहुने गरी लेख्ने, लेखे पछि बिभिन्न पदाधिकारीले जाँची राम्रो संग लेखे नलेखेको हेर्नुपर्ने, ती भन्दा माथिल्ला अधिकारीले स्वीकार योग्य छ भनी लेख्ने, अन्य सम्बद्ध पदाधिकारीले हाम्रो पनि सम्मति छ भनी लेख्नु पर्ने र लिखत तैयार भएपछि सम्बद्ध सबैले सही-छाप गर्नु पर्ने भनिएको छ| यस्तै आम्दानी र खर्च लेख्दा पहिले आम्दानी र पछि खर्च लेख्ने, लेख्दा समयको क्रम अनुसार, व्यापकबाट न्यून, एकै प्रकृतिका बिषय वा पदार्थलाई समुदायका रुपमा क्रम नबिगारी लेख्ने गर्नुपर्छ भनिएको छ| आम्दानी खर्च सम्बन्धी लिखत लेख्दा विचार गर्नु पर्ने बिषयमा थप उल्लेख छ| आम्दानी र खर्च बिशेष संज्ञाद्वारा जनाउने, कालक्रम अनुसार वा पुरानोबाट लेख्दै आउने, गोटा गन्ति वा संख्या उल्लेख गर्ने, कुन स्थानबाट कति आयो र कहाँ कति गयो भन्ने खुलाउने, तिथिमिति खुलाएर लेख्ने, को कसबाट आय भएको आदि कुरा खोल्नुपर्छ समेत भनिएको छ| शुक्रनीतिको दोश्रो अध्यायको ३७७ देखि ३८४ सम्मका श्लोकमा नाप, तौल र समय गणना सम्बन्धी व्यवस्था छ| शुक्रनीतिको दोश्रो अध्यायको ३८५ देखि ४२६ सम्म मूलतः कर्मचारीले पाउने पारिश्रमिक र सुबिधा, पारिश्रमिकको प्रकृति, प्रकार र मात्रा, विदा, मानपदवी, पुरस्कार वा बकस, पद/काम अनुसारको चिन्ह, काम कसलाई दिने आदि जस्ता बिषयमा उल्लेख छ| यसमा मूलतः निम्न कुरा उल्लेख छन्: क) पारिश्रमिक काम, समय र काम र समय दुबैका आधारमा दिन सकिने तर जसरी दिने तय भएको हो त्यसरी नै दिनुपर्ने (३८५-३८८) ख) पारिश्रमिक दिंदै नदिन र ढिलो दिन नहुने(३८९) ग) परिवारलाई यथेष्ट खान लाउन पुग्ने पारिश्रमिक उत्तम र एकजनालाई मात्र भरणपोषण पुग्ने चाहिं ”हीन” हो|(३९०) घ) योग्यता अनुसारको पारिश्रमिक दिने गरी नियुक्त गर्नुपर्ने र कर्मचारीले पाल्नु पर्नेलाई पालन पुग्ने गरी दिनुपर्ने(३९१,३९२) ङ) थोरै पारिश्रमिक दिनु आफैले आफ्नो शत्रु कमाउनु हुने र उसले अरुलाई मद्दत गर्न, ढुकुटी र प्रजाको नास (घुस आदिबाट?) गर्न सक्ने(३९३) च) कर्मचारी मन्द, मध्य र सीघ्र गरी तीनप्रकारका हुन्छन् र तिनको वृत्ति (पारिश्रमिक) पनि सम,मध्यम र उत्तम तीनप्रकार कै हुन्छ|(३९६) छ) कर्मचारीहरुलाई घरको काम गर्न पनि छुट्टी दिनुपर्छ| चाडपर्वका बेलामा विदा दिनुपर्छ| अत्यावश्यक परे चाडवाडमा काम लिन सकिन्छ तर श्राद्धको दिनमा भने काममा लगाउन हुँदैन| बिरामी भई ज्यादै आपद परेकालाई नौ महिनासम्मको तलबी विदा दिनुपर्छ, आवश्यक परे तीन महिना थपिदिनु पर्छ| पाँचवर्ष सेवा गरेकालाई त अरु विचार गर्नुपर्छ भनिएकोछ| वर्ष दिन पुरै विरामी भए ६ महिनासम्मको तलबी र त्यसपछि बेतलबी विदा दिनू भनिएको छ| आठ दिनसम्म बिरामी परे तलब नकाट्नु, बारम्बार बिरामी परे त्यसको ठाउमा अर्को भर्ना गर्नु भन्दै धेरै गुणी कर्मचारी बिरामी परिरहे पनि त्यसले पाउने आधा तलव दिइरहनु भन्ने बताइएको छ|( ३९७-४०१) ज) चालिस बर्ष सेवा गरेका कर्मचारीलाई सेवा नगरे पनि (अवकाश पछि?) आधा तलब बाँचुन्जेल दिनु र उसको पुत्र नावालिग भए समर्थ नभएसम्मका लागि त्यसको आधा दिनु तथा कर्मचारीको स्त्रीलाई पतिले र कन्या छोरीलाई बाबुले पाउने रकमको आधा रकमको आधा दिनु भनिएको छ| (४०२-४०५) झ) कर्मचारीलाई बेलाबेलामा उपदेश(तालीम) दिनुपर्छ, शिक्षा नदिई अपमान मात्र गरे ऊ शत्रु बन्न जान्छ|(४०७) ञ) सेवकलाई मासिक रुपमा वृत्ति दिए सन्तुष्ट हुन्छन्| मान पदवी दिए अभिवृद्धि प्राप्त (गौरव?) गर्छन्| (४०८) ट) अधम सेवक धनको मात्र इच्छा राख्छन्, मध्यम धन र मानको इच्छा गर्छन् र उत्तम मानको मात्र इच्छा गर्छन् किन कि मान नै महत्तावालाको धन हो|( ४०९) ठ) राजाले कसैलाई अतिरिक्त तलब दिएर, कसैलाई बस्तु दिएर, कसैलाई राम्रो दृष्टिले हेरेर, कसैसित मुस्कुराएर, कसैलाई नम्र बोलीले, कसैलाई राम्रा प्रश्न सोधेर, कसैलाई थप अख्तियारी दिएर, कसैलाई क्षमा गरेर, कसैलाई प्रणाम गरेर, कसैलाई मान, सत्कार, आसन, ज्ञान, आदर दिएर तथा कसैलाई खानपिन, लत्ताकपडा, आभूषण वा धन दिएर पनि सन्तुष्ट राख्नु पर्छ|(४१०-४१५) ड) गाउको अधिपति ब्राह्मण(शास्त्र जानेको) लाई, लेख्ने काम कायस्थ(लेख्न जान्ने)लाई, कर उठाउने काम वैश्य (उड्धोग व्यापार जानेबुझेको) लाई, दूत शुद्र (नम्र, बलवान र शिल्पज्ञ )लाई, सेनामा क्षत्रीय (शुरा र वीर)लाई नियुक्त गर्नु|(४२१-४२३) [ यी वर्णलाई हालको जातको आधारमा नलिई जन्मले कोही पनि ब्राह्मण,क्षत्री वैश्य र शुद्र हुँदैन भन्ने अर्थमा हेर्नु पर्ने हुन्छ| किनकि शुक्रनीतिको पहिलो अध्यायको ३८ औँ श्लोकमाका - यस जगतमा जन्मले मात्र कोही ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र र म्लेच्छ हुँदैन, केवल गुण( सत्व, रज तम) र कर्म ( राम्रो नराम्रो ) बाट मात्र भेद गरिएको हो भनिएकोछ|] कौटिलीय अर्थशास्त्र कौटिल्यको अर्थशास्त्र मूलतः राज्य प्रणालीसंग सम्बन्धित छ| यसमा पन्द्र अधिकरण, एकसय पचास अध्याय र छ हजार श्लोक छन्| यस शास्त्रमा प्रशासन सम्बन्धी अनेक कुरा यसका अनेक अधिकरण, अध्याय र श्लोकमा रहेका छन्| यस आलेखमा तिनको समग्र चर्चा र विश्लेषण त के उल्लेखसम्म गर्न सम्भव छैन| यस अर्थशास्त्रको बिषय सूची मात्रको चर्चाले पनि उल्लेख्य स्थान लिनेछ| विनयाधिकार प्रकरण अन्तर्गत वार्तादण्ड नीति, राजर्षी आचरण, अमात्यको नियुक्ति, मन्त्री आदिको नियुक्ति, गोप्य रुपमा अमात्यको परीक्षण, गुप्तचरको छनोट, गुप्तचरको नियुक्ति, सुरक्षा सम्बन्धी बिषय, शत्रु देशमा गर्न हुने र नहुने काम, मन्त्रणाको अधिकार, दूतको नियुक्ति, नजरवन्दमा हुने व्यवहार, राजाका कार्य, निर्माण सम्बन्धी कर्तव्य र आत्मरक्षा आदि सम्बन्धी अध्याय छन्| यस अर्थशास्त्रको अध्यक्षप्रचार सम्बन्धी प्रकरणमा जनपद स्थापना, भूमिको उपयोग, किल्ला निर्माण, किल्ला प्रवेश, कोषाध्यक्षको काम, निर्माणाध्यक्षको काम, लेखाध्यक्षको काम, कोषको सुरक्षा, उपयुक्तता परीक्षा, शासनाधिकार, कोषको जाँच, खानीको अध्यक्ष, स्वर्णकार, भण्डारको अध्यक्ष, पसलको अध्यक्ष, काठदाउरा सम्बन्धी अधिकारी, गारद सम्बन्धी, नापतौल अधिकारी, भुमि र समय मापन, कर अधिकारी, करका नियम, कृषि अधिकारी, मदीरा सम्बन्धी अधिकारी, बधशाला प्रबन्धक, गणिकाध्यक्ष, डुंगाप्रबन्धक, गोठ प्रबन्धक, तबेला प्रबन्धक, हात्ती प्रबन्धक, रथ र पैदल सेनापतिको काम, छाप, चरन, गुप्तचर विभाग र त्यसको काम, नागरिकका काम जस्ता अध्यायमा प्रशासन त्यसको नेतृत्व त्यसले गर्ने काम आदि बिषयमा चर्चा छ| धर्मस्थ सम्बन्धी प्रकरणमा विवाह, अंशबण्डा, बासस्थान, घरबास किनबेच, बाटो र चरन, ऋण व्यवहार, नासो, कामदार, किनबेचका नियम, लेनदेनका अनियमितता, बलपूर्वक गरिने अपराध, गाली बेइज्जति, कुटपीट, जुवा र विविध व्यवस्था बारे बिभिन्न अध्यायमा उल्लेख गरिएको छ| कन्टकशोधन सम्बन्धी प्रकरणमा शिल्पि र व्यापारीबाट रक्षा, प्रकोपबाट प्रतिकार, षड्यन्त्रकारीबाट रक्षा, चोर पक्राउ गर्ने, आकस्मिकरुपमा भएको मृत्यु परीक्षण, विभागहरुको रक्षा, अंगभंग, दण्ड आदि व्यवस्था गरिएको छ| योगवृत्त नामक प्रकरणमा दण्ड व्यवस्था, कोश(ष) संग्रह, भृत्यको भरणपोषण, कर्मचारीको व्यवहार, नीति नियमको पालना र राज्य व्यवस्था तथा राजा सम्बन्धी बिषयमा उल्लेख छ| कौटिलीय अर्थशास्त्रका अन्य प्रकरण र अध्यायमा सन्धि,विग्रह र आसन, युद्ध व्यवस्थापन, बिभिन्न प्रकृतिका सम्झौता, क्षतिपूर्ति, बिभिन्न व्यसन, बाह्य र आन्तरिक आपद, राज्यको रक्षा र सैनिक बन्दोबस्ती, दूत, शान्ति स्थापना, शत्रु माथि जितका उपाय आदि जस्ता रक्षा प्रशासन सम्बन्धी बिषयमा व्यापक चर्चा छ| (यो चर्चा बिषय सूची मात्रको आधारमा गरिएको हो|) यसका आधारमा कौटिलीय अर्थशास्त्रका प्रशासनिक व्यवस्थालाई बिषय बस्तुका आधारमा सारांशमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ:- क) राज्यको प्रशासनलाई काम वा बिषयको आधारमा बिभिन्न संरचना वा एकाईमा विभाजनमा गर्न सकिन्छ| ती एकाइको नेतृत्व सक्षम योग्य र इमान्दार व्यक्तिबाट हुनुपर्छ| ख) प्रशासन योग्यता प्रणालीमा आधारित हुनुपर्छ| ग) प्रशासन कानून र नीतिका आधारमा संचालन हुनुपर्छ| घ) कर्मचारी तन्त्रको पदसोपान हुन्छ र सोपान अनुसारको कार्य पूर्व निर्धारित हुनुपर्छ| ङ) प्रत्येक कार्यालय र अधिकारीको कर्तव्य र उत्तरदायित्व स्पष्ट हुनुपर्छ| च) बढुवा कार्य क्षमता वा सम्पन्न गरेको कामको मात्रा र गुणस्तरका आधारमा हुनुपर्छ| छ) काम समयमा गर्ने र गुणस्तरीय काम गर्नेलाई पुरष्कृत र काम ढिलो गर्ने र बिगार्नेलाई दण्ड दिनुपर्छ| ज) राज्य कोष दुरुपयोग र भ्रष्ट्राचार गरे नगरेको सम्बन्धमा गुप्तचरबाट समेत जानकारी लिनुपर्छ| झ) राजश्व र खर्चको हिसाबकिताब निर्दिष्ट तरीकाले राख्नुपर्छ| ञ) खर्च गर्न छुट्टाएको रकम खर्च गर्न नसक्ने र दुरुपयोग गर्नेलाई दण्ड गर्नुपर्छ| ट) काम ठीक तरीकाले भए नभएको हेर्न योग्य व्यक्तिको निरीक्षण समिति हुनुपर्छ| ठ) गुन, वैगुन र क्षमता जाँच्न एक बर्षको परीक्षण कालमा राख्नु पर्छ| ड) कर्मचारीलाई दिने वृति निश्चित हुनुपर्छ| ढ) रक्षा र सुरक्षा प्रशासन सुदृढ हुनुपर्छ| ण) कुटनीतिक प्रशासनलाई प्रभावकारी बनाउनु पर्छ| निष्कर्ष सनातन दर्शन सम्बद्ध शास्त्र कसैप्रति अन्धभक्ति र अरु प्रति घृणा उत्पादन गर्ने, मानिसलाई जन्मजात पापी ठानी कुण्ठा उत्पन्न गराई स्वर्गको टिकट बेच्ने कुरामा आधारित देखिदैनन्| यी शास्त्रमा राज्य, राष्ट्र, राज्य प्रबन्ध,कानून तर्जुमा, न्याय र न्याय प्रणाली, दण्डनीति,राजश्व, प्रहरी गुप्तचरी र आन्तरिक सुरक्षा, सेना र बाह्य सुरक्षा युद्ध र शान्ति, मानव अधिकार कुटनीति, शुसासन, राजा मन्त्री र पदाधिकारीका योग्यता, प्रशासन आदि जस्ता राज्य प्रणाली सम्बन्धी अनेक बिषयमा व्यवस्था छ| यिनमा लेखिएका कुरा त्यो बेला लेखिएकाले कतिपय कुरा आज शान्दर्भिक नहुन सक्छन् | आज जुन शब्दले जुन अर्थ दिन्छ त्यो शब्दले ऊ बेला आज भन्दाभिन्न अर्थ दिने गरेको हुनसक्छ| कतिपय समस्या संस्कृतबाट अरु भाषामा अनुवाद गर्दाको पनि छ| मनुस्मृतिमा भारतमा हिन्दू कानून भनी लागु गर्ने क्रममा अंग्रेज शासकले बिभिन्न क्षेपक थपथाप गराएको पनि भनिन्छ| यी शास्त्र राज्यले पारित गरेका कानून होइनन्| ऋषिहरु र विद्वानले अरु ऋषि र स्थानीयको समुपस्थितिमा स्थानीय प्रथा र व्यावसायिक व्यवहार समेत हेरी व्यक्त गरेका मन्त्र हुन्| यी स्वयममा कानून होइनन्| यी शास्त्र हुन्| यी मध्ये उपयुक्त कुरा रोज्ने र लागु गर्ने वा नगर्ने अधिकार राज्य मै थियो| यी शास्त्र धेरै हुनाले राज्यलाई कुन शास्त्रको कुन व्यवस्था आफ्नो देश काल र परिस्थिति अनुकूल छ भनी रोज्ने अधिकार थियो| यी बिकल्परहित बडेआदेश (commandents) होइनन्| यी शास्त्रमा अर्को ऋषिको धारणासंग असहमत भएका कुरा र विकल्प पनि प्रस्तुत गरिएका छन्| फलत: यी शास्त्रमा गतिशिलता पनि अन्तर्निर्मित छ| यस्तै स्मृति स्वयं पनि युग अनुसार प्रभावकारी मानिने कुरा स्वयं पराशर स्मृतिमा उल्लेख भएको पाइन्छ| सनातन दर्शनमा प्रशासनलाई प्रणालीको रुपमा ग्रहण गरेको देखिन्छ| प्रशासन सम्बद्ध संरचना सुनिश्चित थिए| ती संरचना कामको प्रकृति अनुसार रहेको देखिन्छ| संगठनका तर्फबाट गर्नुपर्ने काम, कर्तव्य र दिनु पर्ने सेवाको उल्लेख छ| काम गर्ने प्रक्रिया बारे चर्चा भएको देखिन्छ| यस्तै कामको प्रकृति अनुसारका बिभिन्न पद वा पद अनुसारका कामको उल्लेख छ| काम गरे, नगरेको र गुणस्तर भए नभएको निरीक्षण र मुल्यांकन गर्ने र उत्तरदायित्व सम्बन्धमा पनि उल्लेख छ| काम प्रति लगाव, मनोबल र अभिरुचि निम्ति पनि ब्यबस्था रहेको पाइन्छ| पारिश्रमिक पालन पोषण गर्नुपर्ने परिवार समेतको लागि पुग्ने भएमा उत्तम हुने भनिएको छ| भ्रष्टाचार प्रति कठोर नीति रहेको देखिन्छ| ढिलासुस्ती दण्डनीय रहेको पाइन्छ| निगरानी पद्दति रहेको देखिन्छ| योग्यता, क्षमता र अनुभवको सम्मान, पुरष्कार र दण्डको चर्चा छ| बढुवा, विदा र अवकाश पछिको सामाजिक सुरक्षा सम्बन्धमा पनि उल्लेख छ| ठीक मानिसलाई ठीक ठाउमा राख्ने उपाय बारे बताइएको छ| राष्ट्र सेवकलाई अधिकार दिएर शासन गर्न नभई कर्तव्य तोकेर सेवा गर्न प्रेरित गरेको पाइन्छ| प्रशासन विकेन्द्रित रहेको र जनताको सुखदुखमा राष्ट्र प्रमुखले पनि चासो र रुचि लिनुपर्ने कुरा उल्लेख छ| कानूनभन्दा माथि कोही नहुने भन्ने धारणा स्वीकारेको देखिन्छ| यसरी यी शास्त्रका व्यवस्था हेर्दा हामी हाम्रा पूर्वजले शास्त्रमा उल्लेख गरेका प्रशासन सम्बन्धी त्यो बेलाका अत्याधिक व्यवस्था आज पनि अनुकरण गर्न वा सामयिक सुधार सहित अपनाउन सकिने प्रकृतिका छन्| खाँचो छ भने तिनलाई पढ्ने, सही सन्दर्भमा अर्थ गर्ने, असामयिक देखिएका छोड्ने र मनासिव देखिएका कुरा लाज नमानी ग्रहण गर्ने कुराको खाँचो छ| हाम्रो नयाँ पुस्ताको ध्यान यता पनि जावस्| किनकि यो हाम्रै पूर्वजको धरोहर हो|