Wednesday, April 20, 2011

भ्रष्टाचारको सत्यानाश


रवीन्द्र मिश्र (साभार-नागरिक,०६८बैशाख६)

भ्रष्टहरूको मन मस्तिष्कै खलबलिने गरी जताततै भ्रष्टाचारविरुद्ध नारा लेखौँ। त्यसबाट भ्रष्टहरू विक्षिप्त भएको देखेर अरूले भ्रष्टाचार गर्ने आँटै नगरून्।
नयाँ वर्ष २०६८ मा जेजति शुभकामना आदानप्रदान गरिए एक हदसम्म ती सबै औपचारिकता थिए । किनभने त्यस्ता कामना सामान्यतया पूरा हुँदैनन्। तैपनि त्यस्ता शुभकामना कतै साँच्चिकै सार्थक हुन्छ भने २०६८ सालका लागि एउटा इमानदार कामना छ - भ्रष्टाचारी जति सबैलाई कीरा परोस्! घुस लिनेदिनेदेखि सार्वजनिक जीवनमा अरू अनियमितता गर्ने सबै भ्रष्टाचारी हुन्। बाटो पिच गरिएको तीन महिनामै मोटर हिँड्नै गाह्रो हुने गरेर खाल्डाखुल्डी पर्छन्। देश बनाउन भनेर राजनीति गर्ने राजनीतिकर्मीहरू गाउँगाउँ र वडावडासम्म सरकारी रकम भागबन्डा गर्छन्। देश अनिश्चयको दलदलमा भासिँदै जाँदा नाम कमाएका नेता भनाउँदा कुर्सीका लागि हानथाप गर्छन्। नैतिकताका भाषण छाँट्नेहरू भ्याट छल्छन्। व्यापारीहरू मोटो रकम चन्दा (घुस) दिएर सभासद् बन्छन्। व्यक्तिगत फाइदाका लागि कर्मचारी चाकडी गर्छन्। सूची अन्तहीन छ। यी सबै एक या आर्को प्रकारका भ्रष्टाचारी हुन्। यो देशको बेथिति तिनै विविध प्रकारका भ्रष्टाचारको समष्टि परिणाम हो।

त्यस्ता भ्रष्टाचारीहरू सुकिलोमुकिलो भएर हिँडेपनि ती डुङडुङ गन्हाएका हुन्छन् तर तिनले आफूले निकालेको त्यो गन्ध महसुस भने गरेकै हुँदैनन्। त्यो महसुस हुने गरी तिनको शरीरभर घाउखटिरा आउन् र साँच्चिकै कीरा परोस्। ती आफ्नै घाउको गन्ध र पीडाले चौबिसै घन्टा छटपटाइरहुन्। संसारका उत्कृष्ट अस्पतालमा पनि तिनको उपचार संभव नहोस्! त्यो देखेर गाउँघर, टोलछिमेकका सबै बासिन्दाले भनून् - ‘पाप धुरीबाट कराउँछ भनेको यही हो।' भ्रष्टाचारीले भन्लान् कसैले श्राप दिँदैमा लाग्ने भए त भेँडा मरोस् भन्दा भेडा र गाई मरोस् भन्दा गाई मर्नुपर्ने हो। तर यो स्तम्भकारका दृष्टिमा ‘भ्रष्टाचारीलाई कीरा परोस्' भन्नु श्राप नभएर समृद्ध र सुसंस्कृत समाजका लागि शुभकामना हो। सबै असल नागरिकले त्यस्तो कामना गरे भने त्यो पूरा हुनसक्छ। यथार्थमा त्यसलाई पूरा गराउनैपर्ने भएको छ र त्यसका लागि उपाय पनि छ।

काठमाडौं उपत्यका र देशका विभिन्न भागमा जताततै राजनीतिक र नागरिक संगठनहरूले भित्ताभित्तामा विभिन्न नारा लेखेका हुन्छन्। ‘लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गरौँ', ‘समयमैं संविधान निर्माणका लागि दबाब दिन फलानो ठाउँमा भेला हौँ', ‘फलानाको सम्मेलन सफल पारौँ' आदि इत्यादि। आस्था जेमा भए पनि सबैको विश्वास आफ्नो नारा सफल भए देश बन्छ भन्ने नै देखिन्छ। तर ती नारा लेख्ने र लेखाउने अधिकांश आफैँ भ्रष्ट्र हुन्छन्। त्यसैले तिनको नारा पूरा भयो भने पनि कुनै हालतमा देश बन्दैन। किनभने देश बनाउने सबभन्दा पहिलो आधार इमानदारी हो। हामी अधिकांशमा अहिले नयाँ संविधान लेखियो भने यो देशको दुर्दशा समाप्त हुन्छ भन्ने ठूलो भ्रम छ। पहिलो, भ्रष्टहरूले लेख्न खोजेको संविधान के लेखिएला? दोस्रो, लेखियो भने पनि, भ्रष्टहरूमा आचरणगत सुधार नआएसम्म संविधानले सकारात्मक परिवर्तन कसरी ल्याउला? त्यसैले इमानदारी प्रवर्धन गर्न हामी सबै नयाँ वर्षमा कामना गरौँ - भ्रष्टाचारीलाई कीरा परोस्!
त्यतिमात्र होइन, हाम्रो शुभकामनालाई गाउँ, नगर, सहर सबै ठाउँका भित्ताभित्तामा लेखिदिऊँ। ठाउँठाउँमा तुल बनाएर टाँगिदिऊँ। जथाभावी नारा लेख्नु, तुल टाँग्नु राम्रो काम होइन तर यस समाजलाई, यस देशलाई जर्जर तुल्याएको भ्रष्टाचारविरूद्ध भने नारावाजी र तुलवाजी गर्दा केही हानि होइन फाइदै हुन्छ। आफ्नो घरबाट निस्किएपछि टाउको जता फर्काए पनि, जतातिर पाइला चाले पनि भ्रष्टाचारीको आँखा ‘भ्रष्टाचारीलाई कीरा परोस्' भनी हामीले गरेको कामनामा गएर ठोक्कियोस्। एक ठाउँमा मात्र लेखिएको देखे त तिनले आँखा चिम्लिएर पनि हिँड्लान् तर आँखा खोल्यो कि त्यही कामनामा आँखा पर्ने भएपछि तिनको मस्तिष्क तिर्मिराउने छ। तीनलाई सही नसक्नु हुनेछ। तिनको विगतले तिनैलाई भतभती पोल्नेछ। ती पागल सरह हुनेछन् र संभवतः तिनलाई मानसिक अस्पताल लानु पर्नेछ। एक दिन होइन, दुई दिन होइन, सधैँसधैँ, बिहान ईश्वरको पूजाआराधना गरेर निस्कँदा होस् या पाँच तारे होटेलबाट देश बनाउने भाषण छाँटेर घर फर्किँदा होस्, जताततै आफूले गरेको पाप आफ्नो आँखा अगाडि नाच्न थालेपछि जति नै बलियो आत्मबल भएको मान्छे पनि कालान्तरमा बहुलाउन बेर लाग्दैन। ‘भ्रष्टाचारीलाई कीरा परोस्' मात्र होइन, फोहोर र अभद्र शब्द छाडेर भ्रष्टाचारीविरूद्ध जे लेखे पनि हुन्छ। व्यक्तिको नाम चाहिँ तोक्नु हुँदैन। त्यो काम सम्बन्धित निकायलाई छोडिदिनुपर्छ। तिनलाई नाम नतोकीकनै घोच्नुपर्छ, ठुंग्नुपर्छ, डस्नुपर्छ र आफूले खनेेको पापको कुवामा आफैँ अत्यन्त पीडादायी ढंगबाट डब्ने र पश्चताप गर्ने स्थिति बनाउनुपर्छ। चाकरी र भ्रष्टाचार गरेर बनाएको घर, किनेको मोटर, कमाएको नाम र बटुलेको दाम देखेर ती आफैंलाई लाज लागोस्, पीडा होस्। अनि तिनले छरछिमेकीका सामु शिर ठाडो पारेर हिँड्न नसकुन्।


गएको वर्ष २०६७ को अन्त्यतिर दुईजना व्यक्तिले सकारात्मक सोच राख्ने नेपालीमा अत्यन्त ठूलो आशा, उत्साह र प्रेरणा जगाए। तिनले न्यायसेवा र प्रशासन सेवामा बिरलै व्यक्तिले प्राप्त गर्ने सम्मान कमाए। अवकाश पाउन लागेका प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र राजीनामा दिएका अर्थ सचिव रामेश्वर खनालले व्यक्तिगत स्वार्थ, पद र पैसाभन्दा पेसागत इमानदारी र स्वाभिमानको बढी महत्व हुँदोरहेछ र सर्वसाधारण जनताले इमानदार र स्वाभिमानी पेसाकर्मीलाई देउतालाईजस्तो पुज्दा रहेछन् भन्ने स्पष्ट पारिदिए। श्रेष्ठ र खनाल दुवैको उद्देश्य भ्रष्टाचारलाई रोक्नु थियो। न्यायकर्मी र प्रशासकहरू इमानदार भइदिने हो भने पनि अनियमितता र भ्रष्टाचारमा ठूलो अंकुश लगाउन संभव हुँदोरहेछ भन्ने उनीहरूले स्पष्ट पारिदिए। उनीहरूको ठाउँमा आउनेहरूलाई तिनको त्यो आदर्श तोड्न निकै कठीन हुनेछ। कथम् तोडिहाले भने तिनले जनसाधारणको ठूलो अपमान सहनु पर्नेछ।


हुनत, उच्च प्रशासक र राजनीतिकर्मीलाई भ्रष्ट बनाउन हामी पनि त्यत्तिकै जिम्मेवार छौँं भन्ने हामीले कहिल्यै स्वीकार गरेका हुँदैनौ। हामीमध्ये धेरैले आफूलाई फाइदा हुने मौका पर्दा भ्रष्टाचार गरेको वा आफ्नो स्वार्थ पूर्ति गर्न घुस खुवाएको हुनुसक्छ। माग्नेमात्र होइन दिने पनि भ्रष्टाचारका लागि त्यत्तिकै जिम्मेवार रहन्छ। तर संसारभर भ्रष्टाचारको मामिलामा माग्ने पक्षमात्र बढी चर्चामा आएको सुनिन्छ। हामीले पनि भ्रष्टाचारलाई सहयोग पुग्ने कुकृत्यमात्र नगरिदिने हो भने, पनि भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण हुन्छ। हुनत, यसो भन्न जति सजिलो छ गर्न त्यति सहज चाहिँ छैन। किनभने भ्रष्टाचारका कीटाणु हाम्रा नसानसामा कसरी बास गरिसकेका छन् भने तिनलाई हामीले स्वभाविकरूपमा ग्रहण गर्न थालिसकेका छौँ। हामीले भ्रष्टाचार गरेर लाज र ग्लानि महसुसै नहुने मानसिकताको विकास गरिसकेका छौँ। त्यसलाई तोड्न श्रेष्ठ र खनालजस्ता एकाध उच्च अधिकारीको प्रतिबद्धताले मात्र पुग्दैन। तल्लो तहदेखि नै केही न केही गर्नैपर्ने हुन्छ।


श्रेष्ठ र खनालले धेरै नेपालीलाई भ्रष्टाचारविरुद्ध उत्प्रेरित गरिदिएको यस घडीमा भ्रष्टाचार विरोधी अभियान अघि बढाउने दायित्व जनसाधारणको पनि हो। त्यसका लागि आफूलाई असल नागरिक ठान्ने सबै नेपालीले केही न केही गर्नै पर्छ। गुनासो गरेर बसेरमात्र केही हुँदैन। टोलटोलका क्लबहरूले लेख्नुपर्‍यो - भ्रष्टाचारीलाई कीरा परोस्! भित्ता भित्तामा लेखौँ, तुलतुलमा लेखौँ, पत्रपत्रिकामा लेखौँ, रेडियो र टेलिभिजनमा बोलौँ। जे जति संभव छ सबै गरौँ। बिहान पूजाआजा गर्नेले पनि ईश्वरसँग आफ्नै खुसी र शान्तिका लागि केही माग्नुभन्दा ‘भ्रष्टाचारीलाई कीरा परोस्' भनेर प्रार्थना गरौँ। किनभने, यो श्राप होइन शुभकामना हो। त्यस्तो प्रार्थना गर्न नहिचकिचाऊँ। भ्रष्टाचारी जति सबैलाई कीरा पर्‍यो भने यो देश स्वतः बन्ने छ र हामी सबैले स्वतः शान्ति र समृद्धि पाउने छौँ। इमानदारीको प्रभाव बढ्यो भने त्यसको प्रतिफल कर्णालीदेखि तराईसम्मका सबैले पाउनेछन्। तर भ्रष्टाचारलाई सबैले मिलेर रोक्न नसक्ने हो भने देशमा जति ठूलो राजनीतिक परिवर्तन आए पनि केही हुनेछैन।

Monday, April 18, 2011

धन्य सुदूरपश्चिम !


राम बहादुर रावल ( ( नेपाल २०६८ बैशाख ४ को अंकबाट साभार)


घर जाने भनेपछि मलाई कम्तीमा दुई साताअघि नै टाउको दुख्न थाल्छ । यात्रुको चापले एकातिर बसमा सिट पाइँदैन, अर्कोतिर बस यति फोहोर र थोत्रा हुन्छन् कि भनिसाध्य छैन । अझ व्यवसायी र बस-कर्मचारीको व्यवहार उस्तै । बसपार्कमा पुगेपछि पूर्व र पश्चिम जाने गाडी स्पष्टै छुट्टिन्छन । पूर्वका गाडी केही चिल्ला र सजावटमा विविधता भएका हुन्छन् । तर, पश्चिमका फोहोर, पुराना र धूवाँदार । बसभित्र पस्नेबित्तिकै हपहपी बान्ता र धूवाँको गन्ध आउँछ । सिन्डीकेट पूरै नहटे पनि पूर्वमा तुलनात्मक रूपमा व्यवसायीबीच प्रतिस्पर्धा छ र सेवा स्तरीय । पश्चिमतिर व्यवसायीको पूरै दादागिरी छ । जति पश्चिम पुग्यो, त्यति नै थोत्रा गाडी हुनु त्यहाँको एक मात्र चिनारी हो । एउटै देशभित्र पूर्व र पश्चिमका नागरकिले बसपार्कमै गर्ने फरक अनुभूति हो यो ।

पश्चिमका व्यवसायीले राज्यका नीति, संयन्त्र, उपभोक्ता कानुन र व्यावसायिक मूल्यलाई चुनौती दिँदै आफ्नै नियम लागू गरेका छन् । नयाँ गाडीको रुट परमिट समितिबाट लिनुपर्ने, त्यसका लागि प्रतिगाडी अढाइ लाख रुपियाँ बुझाउनुपर्ने आदि । यति मात्र नभई लामो दूरीका गाडी पनि लोकलजस्तो चल्छन्, ठाउँठाउँमा रोक्ने, यात्रु उकाल्ने-ओराल्ने । यात्रुको समय र समस्याको कुनै पर्वाह छैन । अटाइनअटाई गाडीमा हुल्यो, पैसा असुल्यो, बस् । यसपालिको घरयात्रामा पनि यही स्थायी अनुभव दोहोरियो । कतिसम्म भने नेपालगन्जबाट साँफेबगर जाने गाडीको पछाडिका चार झ्यालमा सिसा नै थिएनन् । अत्तरिया पुगेर करिव एक घन्टा गाडी रोकियो, अरू ठाउँको त हिसाबै छैन । काठमाडौँमा विधिको शासनका पक्षमा गृहमन्त्री जति कड्के पनि उनकै गृहक्षेत्रमा बस व्यवसायीको ज्यादतीपूर्ण लुट बेहोर्न उनकै कार्यकर्ता र मतदाता बाध्य छन् । धन्य, सुदूरपश्चिम !

चालकको सनक

दसैँको मुखैमा कर्णाली पुलनजिकै महाकाली यातायातको एक बस दुर्घटना भयो । काठमाडौँबाट महेन्द्रनगरतर्फ गुडेको उक्त बसमा अटेसमटेस यात्रु भएकाले दर्जनौँ घाइते भए । सुखद नै भन्नुपर्छ, मृत्युको समाचार कोही बन्नुपरेन । बुझ्दै जाँदा बस चालक र यात्रुबीच काठमाडौँमै ठाकठुक परेको रहेछ । चालक केही दिनदेखि तनावमा रहेछन् । बस सञ्चालकले उनलाई रातदिन आराम गर्नै नदिई काममा खटाएका रहेछन्, दसैँ भनेर । एकातिर अनिद्रा, अर्कोतिर माग अनुसार सुविधा सञ्चालकबाट नपाएको झोक । चालकले आफू जोगिएर गाडी बर्दियाको जंगलतिर सोझ्याइदिए । कसो गाडी कर्णार्ली नदीमा हाम फालेन !

बस सञ्चालक र यात्रुको खप्की झेल्दै आएका उनको रिस फेर्ने यो तरिका घातक त छँदै थियो, गैरजिम्मेवार पनि । तर, मौका यही हो भनेर दसैँको अवसरमा अधिकतम कमाउन खोज्ने र यात्रुको ज्यानै जोखिममा पार्ने व्यवसायीलाई कारबाहीका लागि छानबिनको घेरामा ल्याइनुपथ्र्यो । अहिलेसम्म कोही पनि दण्डित भएको खबर सुन्न पाइएको छैन । सुरक्षित गन्तव्यको आशमा पैसा तिरेर बस चढेका यात्रुमध्ये धेरैले घाउ लिएर दसैँमा घर गए । तिनैमध्येका एक थिए, बाजुराका डम्म महत । सुन्निएका आँखा र टाँका लगाएको टाउको लिएर मार्तडीतिर हिँडिरहेका उनी भन्दै थिए, "धन्य मेरो भाग्य  ! यसपालिको दसैँ मनाउन पाउने लेखेको रहेछ ।" काठमाडौँ फर्किंदा त्यही घटना र महतका शब्द याद आइरहे । किनभने, साँफेदेखिको ३० घन्टे बसयात्रामा एउटै चालकले गाडी हाँकेका थिए ।

सम्झनामा दिनेश

छोटो समयमै सुदूरपश्चिमेलीमाझ नमेटिने छाप छोड्न सफल यातायात कम्पनी दिनेश ट्राभल्स अब सम्झनामा मात्रै सीमित छ । व्यवसायमा प्रतिस्पर्धा हुनुपर्छ भनेर एकताका उसले यातायात व्यवसायकै इतिहासमा नौलो सुरुवात गरेको थियो । नम्र र तालिमप्राप्त कर्मचारी, ठीक समयमा गाडी छुट्ने र गन्तव्यमा पुग्ने, बढी यात्रु नकोच्नेलगायत सेवाको गुणस् तर र विश्वसनीयताका लागि भिन्न अभ्यास भएको थियो । तर, त्यो धेरै दिन टिकेन । अन्य व्यवसायी र तिनको आक्रमणको सिकार भयो । माओवादी पनि चन्दाको प्रभावमा परी सिन्डीकेटलाई नै संरक्षण दिँदै व्यावसायिक मूल्यको हत्या गर्न अघि सर्योा र दिनेशका केही गाडी खरानी बनाइदियो । बचेखुचेका गाडी लिएर व्यवसायी गोपी हमाल सुदूरपश्चिम यातायात नामको सिन्डीकेटमै 'त्वम् शरणम्' भए । अचम्म के भने गत वर्ष उनकै अगुवाइमा सिन्डीकेटविरोधी आन्दोलन भयो, उद्योग वाणिज्य संघ कैलालीको ब्यानरमा । तर, त्यहाँ ट्रक सिन्डीकेटको मात्र विरोध भयो । बस सिन्डीकेटबारे कुरै उठाइएन । आखिर उपभोक्ताका हितमा बोल्ने को छ र यहाँ ?



वीरबलको खिचडी सडक

दसैँमा गाडी चढेर बाजुरा पुग्ने रहर यसपालि पनि पूरा भएन । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १४ वर्षअघि शिलान्यास गरेको ठाउँ अर्थात् अछामको साँफेबगरमै गाडीले विश्राम लियो । त्यसपछि पैदलयात्रा विकल्पहीन बाध्यता भइहाल्यो ।

कर्मचारी प्रशासनको ढिलासुस्ती, विकास आयोजनामा हुने भ्रष्टाचार र राजनीतिक नेतृत्वको नालायकी हेर्न यही योजना पर्याप्त छ । सुरुमा पाँचवर्षे योजनाका रूपमा अघि सारिइएको साँफे-मार्तडीको ५७ किलोमिटर बाटो खन्ने काम कछुवा गतिमा जारी छ । विगतमा कर्मचारीहरू माओवादी समस् या भनेर टार्थे । द्वन्द्व समाप्तिसँगै त्यो बहाना सकियो । ०६२/६३ को आन्दोलनपछिका प्रथम अर्थमन्त्री रामशरण महतले उक्त सडक कालोपत्रे गर्ने भाषण दिए । बाजुराली जनता एकैपटक पक्की बाटो बन्ने सुनेपछि उत्साहित नहुने कुरै थिएन । ठाने, लोकतान्त्रिक सरकारले पिछडिएको क्षेत्रमा विकास पुर्या उन चमत्कार गर्ने भो । तर, तीन अर्थमन्त्रीले चारपटक बजेट भाषण गरसिक्दा पनि गाडी मार्तडी पुग्ने सुरसार छैन ।

कागजमा काम देखाए पुग्ने कर्मचारी बाटो नै नखनिएको ठाउँमा मन्त्रीलाई कालोपत्रे घोषणा गर्न लगाउँदै छन् । आफ्नो जागिर सजिलो बनाउन बाजुरा सडक योजना कार्यालय अछाममा राखेर बसेका छन् । इकडीखोलामा पक्की पुल बनिसक्ने बेलामा सरकारी इन्जिनियरकै इस् िटमेट गलत भएको भन्दै ठेकेदारले हात झिक्दा कसैलाई कारबाही हुँदैन । विकासको यो कहालीलाग्दो नमुनाबारे तीनमध्ये एउटै सभासद् संसद्मा बोल्दैनन् । अनि, कसरी पुगोस् बाजुरामा गाडी ?