Wednesday, January 20, 2021

चन्द्रवंशी राजाहरूको अलिखित इतिहास

 


(साभार-डा. माधवप्रसाद पोखरेल, अन्नपुर्ण पोष्ट ३१ साउन २०७६ बाट)


नेपालका चन्द्रवंशी राजाहरूको वंशावली र धेरै छेत्री–बाहुनको वंशावली हेर्दा तिनीहरू एउटै बाबुका सन्तान हुन् भन्ने प्रस्ट देखिन्छ।        अत्रि र आत्रेय गोत्र हुने नेपाली राजा प्रजाााााााहरुको बंशावलीहरू भिडाउँदा अत्रि गोत्र र आत्रेय गोत्र हुने सबै नेपालीहरू अनि ३४ ओटा बाइसी चौबिसी राज्यका ‘चन्द्रवंशी’ राजाहरू एउटै बाबुका सन्तान देखिन्छन्।

क. ‘सेती अञ्चलको दिग्दर्शन’ भन्ने किताब (पृष्ठ ३.१) मा पूर्ण प्रकाश नेपाल ‘यात्री’ले यी चन्द्रवंशीहरू अनेक जात (बाहुन, छेत्री, खस ठकुरी, नेवार, मगर, सन्यासी, कामी, दमाई, सार्की, दराई, राजी, गाइने, माझी, आदि) मा र अनेक थर र अनेक गोत्रमा विभाजित भएका पाइन्छन् भन्ने लेखेका छन्।


ख. डा. राजाराम सुवेदीले लेखेका बाइसी (कर्णाली प्रदेशको मध्यकालीन इतिहास, १३६ (१३७) चौबिसी राज्यका इतिहास अनुसार तेत्तिस चौँतिस ओटा बाइसी चौबिसी राज्य (दुल्लु, दैलेख, जुम्ला, खाँडाचक्र, रुकुम, जाजरकोट, सल्यान, गोताम, मुसिकोट, बाँफी, सान्नी, जहारी, अछाम, फलाबाङ, धुलिकोट, झ्याकोट, माल्नेटा, गल्कोट, दार्मा, दाङ, छिल्ली, दुनै, गजुल, थलारा, बझाङ, रास्कोट, डोटी, प्युठान, आदि) का राजाहरू मलय बमका सन्तान देखिन्छन् र एउटै बाबुका सन्तान ती सबैजसो अत्रि र आत्रेय गोत्रमा बाँडिएका पाइन्छन्।


ग. मैले अध्ययन गरेका त्यस्ता चन्द्रवंशी राजाहरूका वंशावलीमा अत्रि र आत्रेय गोत्र हुने छेत्री (बगाले थापा), बाहुन (पानी पोखरेल, गोतामे)का वंशावली भिडाउँदा पनि काशीदास पछाडि दश पुस्ता धेरैजसो खुरुखुरु मिलेको पाएको छु।


घ. मोहन बहादुर मल्ल (‘सिजा इतिहासको डोरेटो’, २.३३:३६) को विश्लेषण अनुसार देवचन्द्र समाल (१३८४—१३८६) आदित्य मल्ल (१३५६—१३८४) का ज्वाइँ काशीदास (१३६४—१३८४) का छोरा, ‘गजेभीम’ (अर्थात्, राजा गगनिराज, १४१७) काशीदासका नाति र मलय बम (१४२९—१४३५) काशीदासका पनाति देखिन आउँछन् अनि बाइसी चौबिसी राज्यका सबैजसो राजाहरू मलय बमका सन्तान देखिन्छन्।


चन्द्र वंश, अत्रि गोत्र र आत्रेय गोत्र


नेपालका वंशावलीहरूमा एउटै व्यक्ति (काशीदास) का सन्तानहरू मध्ये राजाहरूले चाहिँ आफुलाई चन्द्रवंशी (पर्वतका मल्ल राजा, कुमाउँका चन्द), अथवा सोमवंशी, अथवा बुधवंशी (गोपाल राजवंशावली अनुसार जयस्थिति मल्ल, मोहन बहादुर मल्ल, २.३३: ४०—४१) भनेको पाइन्छ भने, अरु छेत्री (बगाले थापा, कालिकोटे खँड्का) बाहुनहरूले चाहिँ आफुलाई अत्रि (गोतामे, खतिवडा, चापागाईँ, ओझा, आदि) अथवा आत्रेयगोत्री (जस्तै, पानी पोखरेल, पौडेल) मात्र भनेको पाइन्छ।


क. वंशावली बनाउनेहरूमा आफुलाई पुराणका देउता अथवा ऋषिमुनिका वंशज घोषित गर्ने चलन हुन्छ, त्यसैले प्रमाणित गर्न नसकिने भए पनि काशीदासका नेपाली सन्तानहरूमा पनि यस्तो प्रवृत्ति पाइन्छ।


ख. पुराण अनुसार चन्द्रमा अत्रि ऋषिका जेठा छोरा भएकाले चन्द्रमा अत्रि गोत्रका आत्रेय हुन्। यसै कारणले आफुलाई अत्रि गोत्र भन्नेहरू पनि अत्रि ऋषि त होइनन् नि, त्यसैले ‘आत्रेय’ (अर्थात्, अत्रिका सन्तान) नै हुन्। यसैले चन्द्रवंशी भन्नु, आत्रेय भन्नु र अत्रि गोत्रको भन्नु एउटै कुरो हो।


ग. यस प्रमाणका आधारमा एउटै बाबु (काशीदास)का सन्तानले आफुलाई आत्रेय गोत्र हुने र अत्रि गोत्र हुने भनेर दुवै किसिमले चिनाएको पाइन्छ।


घ. देउता र ऋषिसित आफ्नो वंश जोड्ने यस्तो मोहले गर्दा वंशावलीहरूमा रमाइलो के पाइन्छ भने काशीदासकै वंशज अरु राजाहरूले आफुलाई चन्द्रवंशी घोषित गरे पनि जाजरकोटे राजा (विश्वनाथ भट्टराई, २०३१) हरूले चाहिँ आफूलाई सूर्यवंशी घोषित गरेको पाइन्छ।


कन्नौजसँग चन्द्रवंशी राजाहरूको साइनो


नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने बाहुन छेत्री र चन्द्रवंशी राजाहरूको वंशावली कन्नौज (कान्यकुब्ज) सँग जोडिन्छ। भारतको उत्तर प्रदेश राज्यमा गङ्गा किनार पर्ने कन्नौज नैमिषारण्य (नेमसर) नजिकैको प्राचीन सहर हो।


क. मुसलमानहरूको आक्रमण (मु. गजनी १०१८(१९ इ०, मु० गोरी ११९४, अलाउद्दिन खिल्जी १३०३) भन्दा अगाडि पनि बङ्गालका पालहरू (आठौँ–नवौँ शताब्दी) ले, आफुलाई सूर्यवंशी घोषित गर्ने गुर्जर प्रतिहारवंशी राजाहरूले अनि चन्द्रवंशी ‘राष्ट्रकूट’, ‘राठौड’, ‘राइठोर’ अथवा ‘गाहडवाल’ (१२ औँ शताब्दी) राजपुतहरूले कन्नौजमा आफ्नो आधिपत्य जमाए।


ख. एघारौँ शताब्दीमा मु० गजनीले कन्नौजबाट गुर्जर प्रतिहारवंशी राजाहरूलाई धपाए, १२ औँ शताब्दी (११९४ इ.) मा मु० गोरीले गाहडवाल वंशको अन्त्य गरे भने १४ औँ शताब्दी (१३०३ इ.) मा अलाउद्दिन खिल्जीले काशीदास पाध्याका बाबु मठिमल्ल राइठोरलाई मारे (सच्चिदानन्द भट्टाचार्य, ‘भारतीय इतिहास कोश’, १९६७ इ.)।


ग. कन्नौज हत्याउने सूर्यवंशी गुर्जर प्रतिहारहरू पनि, चन्द्रवंशी गाहडवाल राइठोरहरू पनि जब जब कन्नौजबाट विस्थापित भएछन्, तब तब मानसरोवर जाने बाटो समातेर दुल्लु र जुम्ला हुँदै पश्चिम तिब्बत पुगेछन् भन्ने अड्कल गर्न सकिन्छ, किन भने सूर्यवंशी गुर्जर प्रतिहारहरूको थर पनि अन्त तिर पाल भई सकेको थियो। जुम्लाका राजा पुण्य मल्ल पनि जन्मिँदा सूर्यवंशी पाल नै थिए।


घ. मु. गजनीले हराए पनि कन्नौजबाट गुर्जर प्रतिहारहरूलाई गाहडवालवंशी राठोडहरूले विस्थापित गरे। त्यस्तै, मु. गोरीले चन्द्रवंशी गाहडवालका शासक जयचन्द्रलाई मारे पनि १४ औँ शताब्दीमा अलाउद्दिन खिल्जीले मठिमल राठोडलाई मारेर राठोडहरूलाई ‘शर्मा पाध्य’ थर लिन बाध्य बनाए पछि ती सबै मानसरोवर जाने बाटो समातेर जुम्ला नै पुगेछन् भन्ने देखिन्छ।


ङ. ठिक्क एघारौँ शताब्दीको मध्य तिर पश्चिम तिब्बतमा लाङ्दार्माका सन्तानहरूबाट ‘पाल’ थर भएका भारतीय शासकहरूले शासन हत्याउँछन् (जिउसेप्पे टुची, ‘नेपाल : द डिस्कभरी अफ द मल्ल’, १९६० इ.)। सम्भवतः ती शासकहरू मु. गजनीले हराएका गुर्जर प्रतिहारवंशी राजा नै थिए।


च. त्यस्तै १२ औँ शताब्दी र १४ औँ शताब्दीमा क्रमशः मु. गोरी र अलाउद्दिन खिल्जीबाट युद्ध हारेका चन्द्रवंशी राजपुतहरू पनि सम्भवतः पृथ्वी मल्लको शेष पछि बाइसी चौबिसी राज्य हत्याउन सफल भएछन् भन्ने अड्कल गर्न सकिन्छ (डा. रामनिवास पाण्डेय, ‘मेकिङ अफ मोडर्न नेपाल’, १९९७ इ०)।


पानी पोखरेलको वंशावलीका सूचनामा आत्रेय गोत्र हुने पानी पोखरेलका वंशावली (कृष्णचन्द्र पोखरेल, २०४२) को परिशिष्ट (पृष्ठ ६५४) मा के लेखिएको छ भने,

क. पानी पोखरेलका पुर्खा काशीदास जोशीका कुल देवता मस्ट थिए,

ख. काशीदासले सबै विद्या (षट् शास्त्र) पढेका थिए, जस मध्ये ‘भास्वती’ भन्ने ज्योतिष ग्रन्थ पनि पथ्र्यो।

ग. काशीदास गङ्गा किनारको कन्नौज र हरियाणाका बाहुन थिए।

घ. कन्नौजबाट काशीदास म्लेच्छहरूका पिरले दुल्लेश्वर (दुल्लु) आए।

ङ. दुल्लेश्वर (दुल्लुका राजा) ले काशीदासलाई बोलाएर सम्मान दिए। काशीदासले राजाका अगाडि केही चमत्कार गरेर देखाई दिए : (अ) उनले ज्वाला प्रकट गराई दिए। उनको त्यो चमत्कार देखेर राजाले उनलाई प्रतिष्ठा दिए अनि दुइटा पोखरी खनाए। काशीदासले ती दुइटा पोखरी मध्ये एउटालाई दुधले, अर्कालाई पानीले भरी दिए। (ज) त्यो चमत्कार देखेर राजाले उनलाई ‘पोख‍र्‍याल’ थर दिए।


च. वंशावलीमा काशीदासबाट उनका सन्तान दरसन्तानको १३ पुस्ते नामावली (कासीदास, विसनदास, देउदास, ब्रह्मदास, देवाकर, स्यवाकर १, श्रीकर, इन्दीकर, उदयानन्द, भास्कर, स्यवाकर २, रघुनन्दन, निबु) आउँछ। पानी पोखरेलको वंशावलीमा देखिने काशीदास पछाडिका दश पुस्ता सम्म पाइने यी नामहरू नेपालका चन्द्रवंशी राजाहरूका धेरैजसो वंशावलीसँग खुरुखुरु मिल्छन्।


छ. पानी पोखरेलको वंशावलीमा नै के देखिन्छ भने अत्रि गोत्र हुने गोतामेहरू, आत्रेय गोत्र हुने पोखरेलहरू र समाल ठकुरीहरू काशीदासका सन्तान ‘निबु’ नाम गरेका एउटै व्यक्तिका चार ओटा छोरा (चेला) रहेछन्, जस्तै, (अ) जेठा गोलस्यका सन्तान समाल ठकुरी भए, (आ) माइला छोरा कबेडीका सन्तान गोतामे भए, (इ) साइँला छोरा सैगुणका सन्तान पोखरेल भए भने, (ई) कान्छा केदारुका सन्तान मारुल्याका दुलाल भए।


ज. साइँला सैगुणको नाउँ ‘चाभा’ र ‘केलु’ पनि देखिन्छ। लाभु (खोलो ? ) पार बस्ने यिनका सन्तान ‘लाभुल्याल’ भनिन्छन् भने, पहरी गाउँमा बस्ने तिनका सन्तान ‘पहाडी’ भनिन्छन्। सैगुणका जेठा छोराको नाउँ ‘मभी’ थियो, माइला छोराको नाउँ ‘चाचल्या’ थियो भने, साइँलाको नाउँ चाहिँ जगतानन्द थियो। कान्छा छोराको नाउँ लेखिएको छैन।


झ. पानी पोखरेलको वंशावलीमा लेखिए झैँ सबै चन्द्रवंशी राजाहरूका पनि कुल देवता मस्ट हुन्।


ञ. चन्द्रवंशी राजा लगायत अत्रि र आत्रेय गोत्र हुने सबै नेपालीहरूका पुर्खा काशीदास षट्शास्त्र जान्ने ज्योतिषी रहेछन्। वाणीविलास ज्योतिर्विद्ले पनि लेखेका छन्, ‘काशीदास इति प्रभाकरसुतः षट्शास्त्रवेत्ता सुधीः (प्रभाकरका छोरा काशीदास षट्शास्त्र जान्ने थिए)। कर्णाली प्रदेश सरकारको योजना आयोगका उपाध्यक्ष डा. पुण्य प्रसाद रेग्मी दैलेखका प्रसिद्ध ज्योतिषी धर्मराज रेग्मीका छोरा हुन्। उनका घरमा काशीदास जोशीले लेखेको ज्योतिषको ‘रत्नकोश’ भन्ने पुरानो ग्रन्थ पाइएको छ। पूर्ण प्रकाश नेपाल ‘यात्री’ले पनि एउटा अप्रकाशित ग्रन्थमा दैलेखमा धर्मराज रेग्मीका घरमा त्यो ‘रत्नकोश’ आफूले केही अंश पढेको सूचना दिएका छन्। डा. रेग्मीले मलाई त्यस ग्रन्थका केही पृष्ठ पठाई दिएका छन्। यसबाट काशीदास जोशी ज्योतिषी रहेछन् भन्ने कुरो प्रमाणित हुन्छ।


इतिहासका थप प्रमाण


क. ओंकार प्रसाद गौचन (२०२६) के लेख्छन् भने, जुम्लाका राजाले आफ्नी छोरी काशीदास पाध्यालाई दिए र दाइजोमा उनलाई ठाकुरजी लेकको दक्षिण सम्म फैलेको फाँटको शासक बनाई दिए अनि ज्वाइँलाई खुसी पार्दै के भने भने, नाति जन्म्यो भने, म उसलाई राजा नै बनाई दिन्छु। केही समय पछि जन्मेको नातिको नाउँ ‘देवचन्द्र’ (इतिहास प्रकाश, २.३:२३७–२९९), ‘देवदास’ (इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, ६०९—६११) वा ‘देवसिंह’ राखियो। वचन अनुसार राजाले देवदासलाई गण्डकी र सेती नदी बिच उत्तरमा ठाकुरजी लेक र दक्षिणमा चुरे पहाड सम्मको भूभागको राजा बनाई दिए (इतिहास प्रकाश २.३: ३८७—३९९)। फलतः राजस्थानको राजवंश इतिहासमा पहिलो पल्ट पहाडी प्रदेशको राजा हुन पाएकाले तिनीहरूलाई मानिसहरूले ‘पहाडी राया’ पनि भन्दथे (पृ. २२१)। यसरी काशीदास, रत्नसिंह वा रत्नज्योतिले नेपाल पसेर थोरै समयमा अनेक चमत्कार र चिताई नसक्नु उन्नति गरेकाले मानिसहरूले उनलाई ‘जालन्धरी’ राजा अथवा ‘औतारी राजा’ भन्ने नाउँ राखे (इतिहास प्रकाश १.१: ६९—११९)।


ख. ओंकार प्रसाद गौचन (पर्वते मल्ल राजाहरूको वंशावली, २०२६) के पनि लेख्छन् भने, दिल्लीका बादशाहले नै उनीहरूलाई राइठोर पदवी दिएका थिए। वास्तवमा ‘राइठोर’ थर ‘राष्ट्रकूट’ बाट अपभ्रंश भए जस्तो छ। काशीदासले त्यो पदवी छोडेर आफ्नो बाहुन थर ‘शर्मा पाध्य’ राखे अनि एउटी आचार्य बाहुनकी छोरी बिहे गरेर बाटो लागे।


ग. राजा गगनिराज, मलय बम र डिम्ब पनि काप्रियकै सन्तान हुन् (ओंकार प्रसाद गौचन, २०२६)।


घ. धनवज्र वज्राचार्य (२०२८) ले ‘कर्नाली प्रदेशको ऐतिहासिक रूपरेखा’ भन्ने लेखमा काशीदास जोशी नेपाल पस्ता जुम्लामा आनन्द मल्ल र रिपु मल्लको शासन थियो, त्यसैले काशीदासलाई स्वागत गर्ने तिनै दुइटा राजा मध्ये एउटा हुनु पर्छ भन्ने विचार राखेका छन्।


ङ. वंशावली अनुसार काशीदासका एउटा वंशजको नाम ‘निमु’ (पन्ध्रौँ शताब्दीका पर्वतका राजा ‘डिम्ब’, रामनिवास पाण्डेय) छ र उनका एउटा छोराको नाउँ ‘काप्रिय’ छ। ओंकार प्रसाद गौचन (२०२६) को सूचना अनुसार काप्रियले तिब्बतका बादशाहबाट ‘शाही’ थर पाएर उनी ‘काप्रिय शाही’ भए। मोहन बहादुर मल्ल (२०३१) का विचारमा चाहिँ काप्रियले ‘शाही’ पद पृथ्वी मल्लबाट पाएका हुन्।


च. मोहन बहादुर मल्ल (सिंजा इतिहासको डोरेटो, २०३३:३७ (३८) चाहिँ के लेख्छन् भने, काशीदास मानसरोवर जान भनेर जुम्ला आई पुग्दा पूर्वी जुम्लामा चाहिँ आदित्य मल्ल (जाव पाल) राज्य गर्थे भने, पश्चिमी जुम्लामा चाहिँ उनका छोरा पुण्य मल्ल राज्य गर्थे, जसले प्रताप मल्लकी राजकुमारी शकुनमालालाई बिहे गरेर ससुरालीको मल्ल थर लिएका थिए। मोहन बहादुर मल्लका विचारमा काशीदासलाई छोरी (हरमता) दिने राजा आदित्य (आजित) मल्ल नै हुन्, जसले काठमाडौँ उपत्यकामा आक्रमण गरेको कुरो ‘गोपाल राजवंशावली’ मा लेखिएको छ। आदित्य मल्लले नै काठमाडौँ उपत्यका आक्रमण गरेर जुम्ला फर्के पछि आफ्ना नाति देवचन्द्र समाललाई सामाचौरका राजा बनाई दिएका हुन्। आदित्य मल्ल पनि रिपु मल्ल पनि अशोक चल्लकै बेग्ला बेग्लै छोरा (जितारि मल्ल, १३३५ र आनन्द मल्ल) तिरका नाति हुन्।


छ. डा. रामनिवास पाण्डेय (१९९७ इ.) ले ‘मेकिङ अफ मोडर्न नेपाल’ भन्ने आफ्नो पिएचडीको प्रकाशित शोध प्रबन्धमा काशीदास जोशीका विषयमा धेरै महत्त्व पूर्ण सूचना दिएका छन्, जस्तै :


अ. काशीदासका पुर्खा लक्ष्मीचन्द्र दिल्लीका सुल्तानले समस्त उत्तर भारत जितेका वेलामा भागेर कन्नौजमा ‘समाल’ हरूकहाँ लुकेका थिए। उनका छोरा मित्रसेनले त ‘समाल’ थर नै लिएका थिए (पृ. २१७)। यो सूचनाका आधारमा समाल थर कन्नौज तिरै प्रचलित रहेछ भन्ने बुझिन्छ।


आ. जर्ज टडले राजस्थानको इतिहास (एनल्स एन्ड एन्टिक्विटिज अफ राजस्थान, १९५० इ.) मा लेखेअनुसार १३०३ इ. मा अलाउद्दिन खिल्जीले जयमल फत्तालाई दिल्लीमा आक्रमण गरेकाले उनलाई सहयोग दिन कन्नौजका अन्तिम राजा मठिमल राइठोड गए, तर आफुलाई आक्रमण गरेको बदला लिन अलाउद्दिनले राईठोर थरकै उन्मूलन गर्ने निर्णय गरेकाले उनका युवराज काशीदास (रत्नसिंह अथवा रत्नज्योति) ले आफ्नो थर राइठोरबाट बदले अनि आफुलाई ‘देव शर्मा पाध्य’ (काका देवदत्त राइठोर) को वंशज घोषित गरेर ‘शर्मा पाध्य’ थर लिई एक हुल साथमा लिएर नै हिमालय तिर लागे भन्ने लेखेका छन् (पृ. २२०)।


इ. सुदूर पश्चिम र पश्चिम तिरका धेरै लोक साहित्यमा पनि काशीदासको प्रसङ्ग आउँछ। जुम्ला र दुल्लुका वंशावली (इतिहास प्रकाश १.१: ६९—११९) हरूमा काशीदासकी रानी कालिकालाई स्थानीय जनताले देवीकै रूपमा मान्दछन् र मन्दिरमै पूजा गर्छन् (पृ. ३२३)।


ज. पानी पोखरेलको वंशावलीमा काशीदासका एउटा सन्तान तिब्बतका राजा भए भन्ने पनि लेखिएको छ। त्यसको प्रमाणका लागि सत्यमोहन जोशी (कर्णाली लोक संस्कृति, खण्ड १, पृ. १४) यस्तो लेख्छन्, "सिजा खोला उपत्यकाबाट पनि कर्णालीको हाराहारी हुँदै उँभो लागेका सिंजालहरू (अरुहरू पनि) जाड (भोटे) हरूको रहनसहन र भाषा अपनाई जाडले झैँ नै बसोवास गरी बसेको पनि विदित हुन्छ। जन कथन अनुसार, जाडका संस्कृति र आकृतिले ढालिसकेका एक थरी मानिसहरू अझै पनि आफूहरूलाई ‘हामी ठकुरी हौँ’ भनी टोपल्ने गर्छन्।”


निष्कर्ष


क. यसरी नेपालका चन्द्रवंशी राजाहरूको वंशावली र धेरै छेत्री बाहुनको वंशावली कसरी मिल्छ भने, तिनीहरू एउटै बाबुका सन्तान हुन् भन्ने प्रस्ट देखिन्छ।


ख. अत्रि र आत्रेय गोत्र हुने यी चन्द्रवंशी राजाहरू र अनेक जात र थरका नेपालीहरू भारतको कन्नौजमा १२—१४ औँ शताब्दीमा शासन गर्ने ‘गाहडवाल’ अथवा ‘राठोड’, ‘राइठोर’ थर हुने शासकहरूका सन्तान देखिन्छन्।


ग. कन्नौजका शासकहरू त्यहाँ ११ औँ शताब्दीदेखि १४ औँ शताब्दी सम्म आक्रमण गर्ने मुसलमान शासकहरूबाट आजित भएर आफ्नो जिउ, धन र धर्म रक्षा गर्न मानसरोवर जाने बाटो पक्रेर कर्णाली नदीको गड्तिर समाएर दुल्लु, जुम्ला र पश्चिम तिब्बत पुगेर शक्तिशाली भएका रहेछन्।


घ. कन्नौजका यी राजपुतहरू खस जाति चाहिँ होइनन्, टडले तिनीहरूलाई खसका गोती शक जाति भनेर चिनाएका छन्, तर तिनीहरू अनादि कालदेखि पामिर, हिन्दुकुश र हिमालयको पश्चिमी भेगमा प्राग्वैदिक कालदेखि आफ्नो छुट्टै सांस्कृतिक चिनारी जोगाएर बसेका खस (र अरु) जातिका शासक भएर कसरी नङमासु मिले झैँ मिलेर बसे भने, उनीहरू नै खस राजा भन्ने नामले प्रसिद्ध भए।


ङ. माथि उल्लेख गरिएका अत्रि र आत्रेय गोत्र हुने चन्द्रवंशी राजाहरूका सूचनाले अनेक प्रश्नहरू उमार्छन्, ती प्रश्नहरूको चित्त बुझ्दो उत्तर खोज्न अनेक पक्षमा अनुसन्धान गर्नु आवश्यक छ।


भाषाविद् पोखरेल विविध विषयका गम्भीर अध्येता हुन्। यो लेख पोखरेलकै भाषिक शैलीअनुसार छ। 




Monday, January 18, 2021

डोरबहादुर हुनु र नहुनु -

(साभार -डोरबहादुर हुनु र नहुनु - from @Himal_Khabar:)

 डोरबहादुर विष्टलिखित पुस्तक ‘भाग्यवाद र विकास’ले मानवशास्त्रको नेपाली स्कूल स्थापनाको जुन प्रयत्न गरेको थियो, नेपाली मानवशास्त्रले त्यस्तो मौलिक सैद्धान्तिक दृष्टिकोणसहित नेपाली समाजको व्याख्या र विश्लेषण गर्ने परम्परालाई समृद्ध पार्न नसक्नु हाम्रो सीमा रह्यो।

Friday, January 8, 2021

मानसखण्ड लोकसंस्कृतिका अन्तरंग कुरा -

(साभार - एभरेष्ट दैनिक, लेखक -आचार्य घनश्याम लेखक)मानसखण्ड लोकसंस्कृतिका अन्तरंग कुरा - Everest Dainik - News   सप्तकर्णालीदेखि महाकाली नदीबीचको विशिष्ट भूभाग प्राचीनकालदेखि मानसभूमिका रुपमा रहेको छ । मानस पर्वत एवम् मानस सरोवरको एक खण्डका रुपमा रहेको ...

Saturday, December 26, 2020

जंगबहादुर बन्न सजिलो छैन

जंगबहादुर बन्न सजिलो छैन: 
अचेल कतिपय मानिसहरू भन्ने गर्दछन्–यो देशमा फेरि एउटा जंगबहादुर चाहिएको छ । आजको जमानामा जंगबहादुर चाहिन्छ भन्न सहज छ , तर पाउन र बन्न कठिन । जंगबहादुर बन्न हदैसम्मको चलाख र धूर्त हुनु आवश्यक छ ।nepalwatch जंगबहादुर बन्न आफ्नो चित्त नबुझ्दा क्रोधित हुँदै कास्कीका राजाको सेवा छाडेर गोरखाका राजाको सेवामा जान किञ्चित नमान्ने […]

Wednesday, December 9, 2020

को हुन् नेपालका ब्राह्मण र कति छन्

 

को हुन् नेपालका ब्राह्मण र कति छन् ?

को हुन् नेपालका ब्राह्मण र कति छन् ?

यो कठिन प्रश्न होइन । यसको उत्तर नेपालको तथ्यांक विभागले नै दिएको छ । सन् २०११ को तथ्यांकअनुसार नेपालको जनसंख्या करिब दुई करोड ६० लाख देखाएको थियो । त्यसको १२.२ प्रतिशत जनसंख्या ब्राह्मण भएको पाइएको छ । अंकमा भन्दा यो करिब ३२ लाख २६ हजार ९०३ देखिएको छ । यिनीहरू नेपालका सबै भागमा फैलिएर बसेको पाइएको छ ।

author-image

आदित्यमान श्रेष्ठ
विचार

 १७ साउन २०७४ ०८:११:४०

यो कठिन प्रश्न होइन । यसको उत्तर नेपालको तथ्यांक विभागले नै दिएको छ । सन् २०११ को तथ्यांकअनुसार नेपालको जनसंख्या करिब दुई करोड ६० लाख देखाएको थियो । त्यसको १२.२ प्रतिशत जनसंख्या ब्राह्मण भएको पाइएको छ । अंकमा भन्दा यो करिब ३२ लाख २६ हजार ९०३ देखिएको छ । यिनीहरू नेपालका सबै भागमा फैलिएर बसेको पाइएको छ ।

annapurna post

adityaman_4हाम्रो समाजको एक अध्ययनमा जनकलाल शर्माले नेपालका ब्राह्मणहरूबारे केही विस्तृत चर्चा गरेका छन् । उनको भनाइअनुसार ब्राह्मणहरू पाँच भागमा विभक्त थिए ः सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र उत्कल । सारस्वतहरू सरस्वती नदीको किनारबाट नेपालतर्फ पसेका थिए । त्यसैकारण उनीहरूको हाँगालाई सारस्वत भनिएको हो । तर उनीहरू कालान्तरमा कान्यकुब्ज समुदायमा सम्मिलित भइसकेका छन् । अर्को हाँगा कान्यकुब्जहरू कनौजबाट हिमाली भेकतिर पसेका थिए ।

यिनीहरू दुई भागमा विभाजित भएका छन् । एउटा पूर्वीया भनिन्छ भने अर्को कुमाइ । कुनै कालमा डोटी र कुमाउँ दुई अलगअलग राज्य थिए । यिनको सीमारेखा महाकाली नदी थियो । लामो राजनीतिक विभाजनका कारण महाकालीपूर्वका पूर्वीया र त्यसभन्दा पश्चिमका कुमाउँनिवासीलाई कुमाई भनिएको हो । पूर्वीयाहरूले लामो समयसम्म कुमाउँसित लड्नुपरेकाले उनीहरू एकजुट भएर बसेका थिए र एउटै वर्गमा आबद्ध भए । तर कुमाउँमा त्यस्तो मेलमिलाप हुन सकेन । त्यहाँ धनी भए पाका र गरिब भए काँचा कुमाई भन्ने भेदभाव उत्पन्न भयो । तिनै प्राचीन समयका कुमाउँनिवासी ब्राह्मणका सन्तति आज पनि कुमाइँ ब्राह्मण कहलाउँछन् र पूर्वका पूर्वीया ।

वेदाध्ययनको अधिकारी ब्राह्मण मात्र हुँदैन । क्षेत्रीय पनि हुन सक्छ । यस तर्कबाट जसले वेदको अध्ययन र अध्यापन गर्न सक्छ, ऊ उपाध्याय कहलाउन सक्छ ।

अर्को हाँगा गौड ब्राह्मणहरू सर्वप्रथम सेनहरूका साथ नेपाल पसेका थिए । यिनीहरूमा पनि कुलिन र अकुलिन दुई प्रकारको भेद रहेको पाइन्छ । सेनहरूको राज्य समाप्त हुनासाथ यिनीहरूको अस्तित्व पनि समाप्त भयो । यिनीहरूमध्ये केही कान्यकुब्ज समुदायमा विलीन भए भने केही वैवाहिक कारणबाट अन्य जातिमा मिल्न गए ।

नेवारी समाजमा गंगोल थरको जुन समूह छ, त्यो यिनै गौड ब्राह्मणका सन्तति मानिन्छन् । मैथिल ब्राह्मणहरू कोशी र बागमती नदीबीचको तराईमा बसोबास गरेको पाइन्छ । यिनीहरू पनि मूलको हिसाबले ठूलो र सानो भन्ने भेदभाव राख्छन् । मैथिलहरू जो पहाडतिर पसे, उनीहरूको संख्या सारै कम भएकाले कान्यकुब्ज समुदायमा प्रवेश गरेका छन् । यिनीहरू आज पनि मि श्र, ओझा आदि थरबाट पहाड पर्वतमा विभूषित भएका पाइन्छन् । उडिसा प्रदेशबाट नेपाल आएका ब्राह्मणलाई उत्कल भनिन्छ । यिनीहरूले आफ्नो अलग अस्तित्व बनाएर राखेका छैनन् । यिनीहरू पहिल्यै कान्यकुब्ज समुदायमा समाविष्ट भइसकेका छन् ।

वर्ण विभाजनमा ब्राह्मणहरू सबभन्दा माथिल्लो स्तरको मानिन्छ । त्यसको मुख्य आधार प्राचीन ग्रन्थहरूलाई मानिन्छ । हुन पनि केही ग्रन्थहरूमा यसको कारण पनि दिइएको पाइन्छ । मनुस्मृतिमा भनिएको छ ः अध्यापन मध्ययनं याजनं तथा । दानं प्रतिग्रहं चैव ब्राह्मणानामकल्पयत् । पढ्नु पढाउनु, यज्ञ गर्नु गराउनु, दान दिनु लिनु । यी ६ वटा कार्य ब्राह्मणको लागि बनाइएका छन्।

यी कार्यहरू अहिले पनि यो वर्गबाट गरिन्छ । तर त्यसका अतिरिक्त उनीहरू अरू पेसामा पनि सक्रिय भएका छन् । नेपालको सन्दर्भमा सरकार र प्रशासन उनीहरूकै हातमा गएको छ । राज्यको कार्य यही वर्ण व्यवस्थाअन्तर्गत क्षेत्रीय समुदायलाई सुम्पिएको छ । यसको माने या वर्ण व्यवस्था लागू छैन या यसमा विकृति आएको छ । समाजले कुन चाहिँलाई आत्मसात् गर्ने र कुन चाहिँलाई परित्याग गर्ने ? यसको खुलासा गर्नु आवश्यक देखिन्छ ।

महाभारतका साप्तिक पर्वमा योभन्दा कडा भनाइ पाइन्छ । अदान्तो ब्राह्मणोऽसाधुः । जसले इन्द्रियहरूलाई वशमा गर्न सकेको छैन, ऊ सच्चा ब्राह्मण हुनै सक्दैन । यो त झन् कठिन अनुशासन र आत्मसंयमको मुद्दा अगाडि सारियो । यो भनाइलाई अनुसरण गर्ने हो भने पूर्णरूपले साधुसन्तहरू मात्र यो वर्गमा सामेल हुन सक्ने देखिन्छ । यसले यो समाजमा ठूलो संकट नै उत्पन्न गर्छ । इन्द्रियहरूलाई बसमा राख्न ठूलो साधना र त्याग गर्नुपर्ने हुन्छ । केही व्यक्तिविशेषबाहेक अरूमा यसअनुकूलको व्यवहार र चरित्र पाउन कठिन हुन्छ । यसकारण यो सूक्ति पनि चरितार्थ भएको पाइन्न ।

यसैगरी महाभारतको कर्ण पर्वमा भनिएको छ ः ब्राह्मणस्या श्रुतं मलम् । याने वेदको ज्ञान नहुनु ब्राह्मणको लागि कलंक हो । यसको माने ब्राह्मण हुने उसैलाई मात्र अधिकार हुन्छ, जसलाई वेदको राम्रो ज्ञान हुन्छ । अब सवाल उठ्छ- वेदको ज्ञान नहुने ब्राह्मणलाई के भन्ने ? यसमा प्राचीनता र आधुनिकताको द्वन्द्व लुकेको देखिन्छ । यसको निराकरण गर्नु पनि आवश्यक छ।

यिनै विश्वास र धारणालाई माहाभारतको वन पर्वमा अरू बलियो रूपमा प्रस्तुत गरिएको पाइन्छ । चतुर्वेदोऽपि दुर्वृत्तः स शूद्रादतिरिच्यते । योऽग्निहोत्रपरो दान्तः स ब्राह्मण इति स्मृतः ।। चारै वेदका ज्ञाता ब्राह्मण यदि दुराचारी भए भने ऊ शूद्रभन्दा घटिया मानिन्छ । जो मानिस वेदबारे केही थाहा छैन तर जसले आफ्ना इन्द्रियहरूलाई बसमा गरेको छ भने उनी सच्चा ब्राह्मण हुन् । यसबाट के थाहा हुन्छ भने ब्राह्मण शब्द गुण, उपलब्धि, सच्चरित्रसित जोडिएको छ न कि जन्मसित ।

जनकलाल शर्माले आफ्नो विश्लेषणमा ब्राह्मणहरू उपाध्याय ब्राह्मण र जैसी ब्राह्मणमा विभक्त भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, उपाध्याय ब्राह्मणको मर्यादा जैसीभन्दा माथिल्लो तहमा मानिन्छ । तर यो माथिल्लो तहमा हुने कारण भने देखिँदैन । कारण मनुस्मृतिअनुसार वृत्तिको लागि जसले वेदको कुनै अंश वा वेदांग पढाउँछ, त्यो उपाध्याय कहलाउँछ । एक देशे तु वेदस्य वेदांगान्यपि वा पुनः । योऽध्यापयति वृत्यर्थमुपाध्यायः स उच्यते ।। उनको भनाइअनुसार वेदाध्ययनको अधिकारी ब्राह्मण मात्र हुँदैन । क्षेत्रीय पनि हुन सक्छ । यस तर्कबाट जसले वेदको अध्ययन र अध्यापन गर्न सक्छ, ऊ उपाध्याय कहलाउन सक्छ । यदि यस तर्कलाई स्वीकार गर्ने हो भने ब्राह्मण शब्द वेदसित गाँसिएको देखिन्छ ।

यसबाट के खुलासा हुन्छ भने न तथ्यांक विभागले निकालेको ब्राह्मणको संख्या सही मान्न सकिन्छ, न त ब्राह्मण थरबाट पहिचान भएकोलाई ब्राह्मण भन्न मिल्छ । प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएका आधारलाई मान्ने हो भने यो सद्चरित्र, वेदका विद्वान् र त्यसमा उल्लेख गरिएका व्यवसायमा लागेकालाई मात्र ब्राह्मणको पहिचान दिनुपर्‍यो । तर अर्को सवाल उठ्छ-त्यसो गर्ने हो भने त्यो सीमाभित्र नपर्नेलाई के भन्ने ? यदि वर्ण व्यवस्थालाई अन्यत्र भएको मान्ने हो भने यी सवाल खडा हुँदैनन् । कि प्राचीन धारणालाई मानेर त्यसैअनुसार गर्नुपर्‍यो कि आधुनिकतालाई अपनाएर यसतो विभेद त्याग्नुपर्‍यो । एउटा आधार नरोज्ने हो भने हामी भ्रममा रहनेछौं ।


उइलऽ (उहिले) भउतै (धेरै) दुःख थे

 

उइलऽ (उहिले) भउतै (धेरै) दुःख थे

अमन्त्रम् अक्षरं नास्ति नास्ति मूल मनौषधम् 
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।
(त्यस्तो कुनै अक्षर छैन जो मन्त्र नहोस्, त्यस्तो कुनै वनस्पती छैन जो औषधि नहोस्,त्यस्तो कुनै व्यक्ति छैन जो कुनै कामको नहोस् । अतः सबैलाई यथायोग्य काममा लगाउनु पर्दछ ।) शुक्राचार्य

यो पृथ्वीमा हरेक चिजबस्तु छन् जो मान्छेको जीवनमा कहि न कही कतै न कतै उपयोगी सावित भैदिन्छन् । पशुपंक्षीदेखि मानवसम्म सबै एकअर्काको लागि काम लाग्ने नै देखिन्छन् । सबैको आआफ्नै महत्व छ । समयसापेक्ष सबैको सबैलाई आवश्यकता परेकै हुन्छ । फरक यत्ति हो शुक्राचार्यले भनेझैं ती सबैलाई यथायोग्य काममा लगाउन सक्नु पर्दछ । उपयोगमा ल्याउन सक्नु पर्दछ ।  यसरी काममा लगाउन सक्ने उपयोग गर्न जान्नेमा व्यक्ति समाज र राज्य सबै पर्दछन् । राज्यको सही नीति र सवल कार्यान्वयन पक्ष भैदिने हो भने देश समृद्धिको गोरेटोमा लम्किन कुनै आइतबार छैन् । जुन कुराको उदाहरण बनेको छ डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका अन्तर्गत पर्ने रिठा गाउँ । 

विगतमा अढाइ घन्टाको बाटो हिँडेर ठुले खोलाबाट ल्याउँथे रिठाका बासिन्दाले पानी । स्थानीय तारादेवी देउवा सुनाउछिन् – ‘ससुराका पालामा खोलामा पुगेर खाने पानीसँगै भिजेको रुमाल काँधमा राखेर ल्याउँदा घर पुगुन्जेल सुकिसक्याको हुन्थ्यो रे । पछि खेतमी सिँचाइ गर्न कुलो बनाए । कुलोबाट पानी ल्याउन अलि नजिक भयो । तर, कुलोको छेउछाउतिर  दिशा  पिसाव गर्‍याको हुन्थ्यो ।  पानी फोहर हुन्थ्यो । 

जब जलाधार कार्यक्रमले खानेपानीका मुहान संरक्षण गर्न सिकायो । सिचाइको लागि ट्याङ्की निर्माण गरिदियो अनि जनजीवन बद्लियो । दश एघार बर्ष जति भयो तरकारी लगाउन थालेको । तरकारीबाट राम्रै आम्दानी भैरह्याको छ ।  

पछिल्लो समय जलवायु परिवर्तनले गर्दा दिनप्रतिदिन अप्ठ्यारा पक्षहरु थपिदै गएका छन् । पानीका कतिपय मुहानहरु सुकिसके कतिपय सुक्ने क्रममा छन् । विगत इतिहास बन्दै गएको छ । यस्तै हुने हो र समयमै सम्बन्धित व्यक्ति वा निकाय सचेत नहुने हुन भने बुढापाकाहरुका भनाइ नयाँ पुस्ताका लागि दन्त्य कथा जस्तै बन्न के बेर । 

कुनै समय सुन्तलाको लागि पकेट क्षेत्र थियो रिठा गाउँ । ४० वर्षीया भक्तबहादुर देउवाले विगत सम्झिदै सुनाए – ‘धेरै भएको छैन । म आफुइले बेच्या हुँ रुप्य दानो सुन्तला । बिस्तारै  ठुल्ठुला दानाका सुन्तला पाँच रुप्यको एक पनि बेचेँ । डोकाका डोका सुन्तला लैजान्थे जाँतमी(जात्रामा) बेच्चाखिलाई । ऐल त गाउँमी चार पाँच रुख हुन्ना । तिनैमी पनि नाना दाना फल्लाछन् । 

एकातिर गाउँमै सडक पुगेको  छ । तरकारी किन्न व्यापारीहरु गाउँमै पुगिरहेका छन् । जनजीवन बद्लिएको छ । कसैले प्रसंग उठाउँदा पुराना दिन सम्झिन्छन् बुढापाकाहरु । उहिले माल (मधेश)गएर डोकोमा सामान बोक्दाका दुख छुट्टै थिए । भोकमारी हुँदा खान नपाउँदाका दुःख छुट्टै थिए । 

ती दिन सम्झिने हो भने त अहिले कति हो कति सुख । ६२ वर्षीया इन्द्रबहादुर देउवाले विगत सम्झी आँसु नै झारेर  सुनाए – ‘ उइलऽ (उहिले) भउतै (धेरै) दुःख थे । म पाँच वर्षको मुलिएँको (टुहुरो भएको  ) हुँ । बा बिथाले(हैजाले) बिते । म पछाडी एक भाइ एक बहिनी थिए । खानलाउन हुन्थेइन ।

बुडर बटाहै(देखि) खाद्यान्नका चामल बोकेर भौत दुख गरिबर पालेकी हुन् आमाले । ’नजिकैको चम्साल भन्ने गाउँको विद्यालयमा ७ कक्षासम्म पढेका इन्द्रले त्यो भन्दा माथि पढ्न पाएनन् नजिकमा विद्यालय । पढ्नमा राम्रो विद्यार्थी भए पनि हाइस्कुल पढ्न निकै टाढा जानु पथ्र्यो जुन कुरा सम्भव थिएन उनको लागि । 

०२२ सालमा भोकमरी हुँदा तिमिला (वनमा पाइने एक प्रकारको फल फल्ने घाँस जसका ठुल्ठुला रुख हुन्छन् ) का दाना पकाएर सिलौटामा पिसेर मोही मिसाएर कचौरा भरि पिएर, काकुन बेथेको खिचडी, दालको झोल खाएर ज्यान जोगाएको कुरा सम्झिदा अहिलेको मान्छे त साह्रै सुखि जस्ता लाग्छन् उनलाई । 

उनी सुनाउछन् –२०३१ सालमा डडेल्धुरा मिसन हस्पिटलमा कुइरेले गाडी ल्याएर आए । सारा मान्छे गाडी हेर्न डडेल्धुरा पुगे । काला जीनको लामो झगुलो लाउँथ्यौ । तल कच्छा (कट्टु) हुनैनथ्यो । आठ वर्षका उमेरमी स्कुल पढ्न गए । इस्कुल जाने भएपछि पाया हुँ कच्छा लाउन  । सात कक्षा पास भएको केही वर्ष पछि पेट पाल्ने हिसाबले महेन्द्र नगर पुसाई(फुपाजु) का घर गएँ । पुसाईका घर नजिकै थ्यो हाइस्कुल । 

ग्राउण्डमा विद्यार्थी देख्दा आफुले पढ्न पाएइन भनी आँखामा तुरुक्क आँसु आउँथे । एकान्तमा जाइबर आँसु पुछन्थे । ०३३ सालमी शेर बहादुर देउवा र बीपी कोइरालाको भाषण सुनेको हुँ महेन्द्र नगरमी । त्यइ बेला शेरबहादुर देउवासँग केइ भन्ने होस भएइन । अचेल सम्झिन्छु भन्न सकेको भए पड्डे व्यवस्था मिलाइ दिन्थे कि । दश कक्षासम्म पढेकालाई जागिर मिल्लथ्यो उइल । 

नुन गुड ल्याउन मधेश जानुलाई माल जानु भनिन्थ्यो । सात आठ दिन हिँडेर यो बेला मधेशबाट नुन गुड ल्याउँथँे । टनकपुरलाई मल्लि माल भनिन्थ्यो भने कैलालीको मालाखेतीलाई तल्लिमाल भनिन्थ्यो । पछाडी एकछिन थकाइ मार्न अडेस लगाउन खोज्दा अगाडिको मान्छे टाढै पुगि सक्थ्यो । बाटो भुल्ने समस्या हुन्थ्यो । 

बाटोमा बागभालु लगायतका वन्यजन्तुको डर हुन्थ्यो । अकाली ओराली गर्दा खुट्टा खल्बलि सकेका हुन्थे । थुप्रै हुन्थ्यो हिँड्नु पर्ने । त्यही हिँडाइलाई उकालीलाई कसैले देखेन मात्र माल माल भनिरहे । इन्द्रबहादुरका अनुसार त्यही कुरालाई मनन् गरेर भनिएको थियो –माल माल सबैले भन्यो उकालो ओरालो कसैले देखेइन । 

मधेशबाट नुन गुडसँगै कसैकसैले घरमा बुढाहरु कतिखेर पो मर्छन् भनेर कात्रो समेत ल्याउने गरेको कुरा समेत सुनाए इन्द्रले । चम्सालका बीरबहादुर मल्लका बुवाबाट सुनेको कुरा समेत सुनाए उनले –‘त्यतिबेला कपडाको अभावका कारण घाटमा पुगेपछि किरियापुत्रीले लाशको मुखमा बेरिएको सेतो कपडा च्यातेर झोपो (टाउकोमा बाँध्ने कपडा) र कन्जेउडी (लगौटी) बनाएर लगाउँथे । त्यो समयदेखि अहिलेको समयसम्म आइपुग्दा कयौं परिवर्तन आए । कयौ पुस्ता बिदा भएर गए । 

रिठा गाउँका देउवाहरुको विगतको गाउँ भन्नु हालका डडेल्धुराकै सुनकोट भन्ने गाउँ हो ।  इन्द्रका अनुसार कथा भन्छ –भोटे राजाको फौजले सुनकोटका सबै देउवाहरुलाई मार्‍यो । एउटा गर्भीणी महिला संयोगले बाँच्न पुगिन । 

उनलाई त्यही सुनकोटका भुलहरुले उनको माइति गाउँ चम्साल पुर्‍यायो । केही महिनापछि उनले छोरो जन्माइन । माइतमै बसेर छोरा हुर्काइन । त्यही छोरोबाट जोगियो त्यहाँका देउवाको वंश । 

इन्द्रका अनुसार अहिले पनि देउवाहरुका पुराना घरका अवशेषहरुदेखि पुराना कुवा र भोटे राजाका देवल लगायतका केही प्रमाणहरु देख्न सिकन्छ सुनकोटमा । देउवाहरुले पुज्ने गरेको कुलदेवता सुन्को हाल सुनकोट निवासी तिनै भुल(दलित) हरुले पुजिरहेका छन् । उनीहरुले आफुले पाएको नयाँ देवता भएको हुँदा त्यसको नाम नौलो राखेका छन् । 

पत्रकार मोहन शाहीसँगै रिठा गाउँ पुग्दा बाटैमा भेटिएका थिए बडाल मालिगाउँका रमेश माली । जो जलाधार कार्यक्रमका पूर्व कर्मचारी पनि हुन् । उनका अनुसार डडेल्धुरामा हाल तरकारी खेतीमा उत्कृष्ठ ठानिएका नमुना गाउँहरुमा पर्दछन् – रिठा, फिन्निकोट, पोखरा र बगरकोट । 

रिठाको आलु अग्र्यानिक आलुका रुपमा केही दिन अघिमात्रै काठमाडौंमा एक सय दश रुपैया केजी बिक्रि भएको कुरा सुनाइमा आएको छ । हाल यो गाउँको तरकारी बुटवल, कैलाली, कञ्चनपुर डडेल्धुरा, डोटी अछामसम्म बिक्रि हुने गरेको छ । गाउँको सिरानीमा तरकारी संकलन केन्द्र छ । 

रमेश मालीका अनुसार रिठाका वासिन्दा सुरुमा भाँडाकुडा पखालेको पानी प्रयोग गरी अलिअलि तरकारी लगाउँथे । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले आरभिटि र धारा उपलब्ध गरायो । गाउँमा खाने पानीका धारा आएपछि मध्यरातमा समेत सिँचाइ गर्थे गाउँलेहरु ती धाराबाट । पालो पाइदैन थियो ।  

पछि पर्वतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजनाले ३३ वटा सुक्न थालेका मूलको छनौट गरी मूल संरक्षणका कदम चाल्यो । रिचार्ज फिड, रिचार्ज पोण्ड बनाइयो । भारतको हिमाञ्चल प्रदेशमा टुरमा जादा खाल्डा खन्ने अनि खाल्डामा ढुंगा राखेर माथिबाट माटोले पुर्ने गरेको कुरा पनि सिके । 

पर्वतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजनाले नै १५ वटा ट्याव ३ वटा इनटेक १ कलेक्सन च्याम्बर ४६ हजार लिटर पानी अट्ने एउटा पोखरी निर्माण गरिदियो । अहिले सिँचाइ गर्न दिन पर्खिनु पर्दैन । ट्याव छोडिएको छ । सबैले एकै पटक सिँचाई गर्न पाएका छन् । तरकारी लगाएर महिलाहरुले घर खर्च धानेका छन् । 

छोराछोरी पढाएका छन् । लोग्ने मान्छेसँग हात थाप्नु परेको छैन् । बरु लकडाउनमा घर फर्केका अन्य गाउँका पुरुषहरु गुजारा गर्न गाह्रो भएपछि  कामको खोजिमा पुनः भारततिर हिँडिसके । यहाँका पुरुषहरु सबै गाउँमै छन् । तरकारी खेतीमा व्यस्त महिलाहरुलाई सघाइरहेका छन् । 

जम्मा २९ परिवार भएको गाउँमा १ परिवार दलितको र एक परिवार रावलको छ । अरु सबै देउवाहरु छन् । डोटीका ८२ वर्षे पूर्ण बहादुर रावल घर जुवाइ बनेर बसेका छन् यही गाउँमा । नजिकमा पर्ने बमन गाउँ, अखट्टे, गर्खा लगायतका गाउँका वासिन्दाहरु समेत रिठा गाउँका वासिन्दाबाट प्रभावित भएर सुरुवात गरिरहेका छन् तरकारी खेती गर्न । 

हरेक घरमा स्थानीय माहुरीका घार छन् । अधिकांशले दूध खान घरमा गाई पालेका छन् । गाउँमा सबैभन्दा बढी तरकारी उत्पादन गर्नेमा देखापरेका छन् लोकबहादुर देउवा । जो वार्षिक ४ लाखको तरकारी बेच्छन् । सबैभन्दा कम तरकारी उत्पादन गर्नेमा पर्छ अमर देउवाको परिवार । जो वार्षिक ६० हजारको तरकारी बेचिरहेका छन् । 

रिठा गाउँका ३२ परिवार तराई झरिसके । गाउँमा बसोवास गरिरहेका २९ परिवारमा पनि पुरुष जति प्राय भारततिरै हुन्छन् । महिलाहरुले नै धानिरहेका छन् तरकारी खेती । सर्वप्रथम आर डि एस नामक संस्थाले त्यहाँका महिलाहरुलाई तरकारी खेती सम्बन्धी तालिम दियो । 

त्यस पछाडी थुप्रै तालिम लिइसकेका छन् त्यहाँका महिलाहरुले । पर्वतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजना कार्यक्रमले सिँचाईको व्यवस्था गरिदिनुका साथै पानीका मुहान संरक्षण गर्न सिकाएपछि निकै खुसी र उत्सुक बनेका छन् यहाँका महिलाहरु । 

अचेल गाउँमा कोही नयाँ अनुहार देख्दा सुरुमै सोध्न थाल्छिन कतिपय महिलाहरुले – ‘सर जलाधार ( पर्वतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजना) बाट आउनु भयाको हो ?’

प्रकाशित मिति: : 2020-12-06 11:54:00

Friday, December 4, 2020

 कालीगण्डकी सुसाइरह्यो - Sadrishya

 कालीगण्डकी सुसाइरह्यो - Sadrishya: अहँ ! कसैले केही सोधेन । ऊ आफै पिर्कामा बस्यो र सोध्यो – सन्चै हुनुहुन्छ होला केरे । बल्ल बाबुले आँखा उठाएर हेरे । उसले बाबुको अनुहार पढ्यो, आज उसले बाबुको अनुहारमा उत्तिकै वात्सल्य देख्यो, तर त्यो बात्सल्यमा उत्सुकता भन्दा निराशा बढी देखिन्थ्यो । उसले बाबुको चीसो प्रतिक्रियामा मौन बिद्रोह लुकेको पाएको थियो । उसले […]