झण्डै चौबिसबर्षपछि नारायणघाटबाट पुर्ब जाने साइत जुर्ला जस्तो भएपछि मन मयुरले हिसाब गर्दै प्वाँख फैलाउन थाल्यो । गढीमाइको मेला र सरकारी कामसंगसंगै हुने भएकोले हामीलाई यो यात्रा शिबरात्रि र सिन्द्राको ब्यापार जस्तै हुनेवाला थियो। संयोगबस कलंकीबाट कुनै अज्ञात सज्जनको बुकींङमा बिरगंज हिडेको सिंगो बसभित्र २०६६ मंसिर महिनाको ऊन्नाइस गते म, कृष्णजी र शेषजी समेतका ३ थान मनुवा कलैया जाने पक्का भयो। साहुजीले सम्पर्क नगरेको र कुन्नि के कागज नमिलेको भन्दै थानकोटमै अधबैसे महिला प्रहरीले आँखै अगाडी रु.२० मात्रको अतिरिक्त आमदानी गरिछाडिन। तदुपरान्त मात्र हामि ३ जना यात्रु + गाडी स्टाफ थप ३ जना सहित जना ६ को यो टोली खूरुखुरु त्रिसुली पहिल्याउदै ओरालो लाग्यो। म गम्दै गए।
बैज्ञानिक र ब्याबहारिक ज्ञानका उपासक र बटुकहरुले भरिएको मेरो देशको सरकारको स्वास्थ्य सेवाका लागी काम गर्ने हामी दोस्रो दर्जाका नादान कर्मचारी । हाम्रा बर्तमान मन्त्री बारा जिल्ला का। पुर्बी तराइको यात्रा समकालिन समयकालागी असहज अनुष्ठान हो भन्ने हामीलाइ थाहा छ। सहृदयी साथीहरुले होस गर्ने सल्लाह पनि दिएकै हुन। तर पनि आज बारातिरनै जाँदै थियौ। सर्बत्र एकै रंगको आकाश देख्ने सुधो र मौसम अनुसारको ट्युनिक लगाउन नजान्ने गोज्याङ्ग्रो हरुको लागी मेरो देशको “माहौल” त्यति अनुकुल छैन भन्नेमा मेरो यात्रादल एकमत थियो। चिप्लो र घुसघुसे पुरानो जरसाप, सारै “फास्ट” देखिएका नयाँ हाकिम, उपल्लो दर्जावालसंग निक्कै रत्तिएकि महिला अधिकारी, ल्यापटप नै नबुझाइ खुस्सुक निबर्तमान बनेका करसापसमेतका बारेमा सहपाठीहरुले गरेका भनिएका नमिलेका ऐलानी कित्ताका कुरामा गफ गर्दै बाटो काटन थालियो। उडुसहरुले रगतको ग्रुप छुट्ट्याएर खाने गर्दैनन। झुल बाहिरका मच्छरहरु भुनभुनाउन बाहेक केहि गर्न सक्नेवाला होइनन। सहकारिहरुका रामरमिता फुर्सतका गफ मात्र भए। हाम्रो सरकारी यात्रामा धादिङबेसीको २घण्टे चक्का जाम बाहेक खासै अवरोध रहेन। मुङलिङमा माछाझोल खाने दाउ भने ढिलो पुगिएकोले काम लागेन।
संयोगबस आजै जलबायु परिबर्तनमा बिश्वको ध्यान आकर्षण गर्न सोलुखुम्बुको कालापत्थरमा मन्त्रिहरुको बैठक बस्ने उच्चस्तरिय नाटक मञ्चन गरियो। आजै मेरो आफनै गाउठाउतिर पर्ने अपि नाम्पा संरक्षित क्षेत्र घोषणा भयो। तर दुर्भाग्यबस आजै डुडेझारिको जंगल अतिक्रमण हटाउन कैलालिमा पुलिसले गोलि चलाउदा ६ जनाको मृत्यु भएको खबर पो सुनियो। दुख: लाग्यो। कुकुरहरुले कार्तिक कुर्न पर्दैन। तिघ्रामा तेल लगाएर आर्जन गरेको राज्यमा बाहिरी बोक्रो चिल्लो पार्ने र जुंगाको लडाइमा मरिमेटने यस्तै दृश्यमान संस्कृतिले जरो हाल्दछ।
जे होस्,पुर्ब पश्चिम राजमार्गले नछोएको तराइको जिल्ला पर्साको उत्तर पश्चिम फन्को मार्दै बाराको कलैया पुग्दा झमक्कै साँझ परिसकेको थियो। अरुणजिले फोनबाट हिरा प्लाजामा बस्ने ब्यबस्था गरेको ब्यहोराको जानकारी दिएका थिए। कलैयाको भरतचौक ओर्ले पछि मात्र हिरा प्लाजा पर्साको बिरगञ्जमा पर्ने तत्वबोध भयो। निदानत: अरूणजीले पठाइ दिएको जिपबाट १२ किमि वर बिरगञ्ज फर्कदा राति १० बजि नै हाल्यो। नजिकैको होटेलमा सादा खाना खायौ र भुस्सुकै निदायौ।
दोस्रो दिन बिहान यसपालाको मेरो गन्तब्य र नेपालको हरियाना भनेर परिचय बनाएको बारा जिल्लाका बारेमा बुझ्न कलैया डटकम हेरे।
यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रुपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा पर्न गएको रहेछ । नेपालीको प्रतिव्यक्ति आय २४० अमेरिकी डलर रहेको वर्ष २०५८ सालमा बारा जिल्ला वासीको प्रति व्यक्ति आय ३९६ अमेरिकी डलर रहेको थियो रे। नारायणी अञ्चलमा सबै भन्दा बढी द्रुत गतीमा जनसंख्या वृद्धि भएको जिल्ला पनि बारा नै रहेको छ । रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति भएका उद्योगहरु सबैभन्दा बढी यसै जिल्लामा रहेका र सबैभन्दा बढी क्यालोरी खाद्यान्न उपलब्ध हुने जिल्ला (दशलाख किलो क्यालोरी) पनि बारानै रहेको जानकारी समेत पाइयो।
बिहानै बिरगंज घुमियो। घण्टाघर छेउछाउलाई आजभोली घटनाघर भनिदो रहेछ। मेरा सहयात्रिहरु बीरगंज लाइ मच्छरगंजको नाम दिदै थिए। बिहानै गढिमाइमा दर्शन गर्ने कार्यक्रम गाडीको जोहो नमिल्दा अनुकुल हुन सकेन। साथी अरुणजीले मोबाइलमा आएका धम्कीको लामो फिहरिस्त देखाउदा कतै नजाउ जस्तो पनि लाग्यो। फोनबाटै बाराका सहायक प्रमुख जिल्ला अधिकारि सुन्दरजीसंग फोनबार्ता पछि १० बजेतिर एकजना गुप्ताजीलाइ साथमा लिइ ग्रामिण बारा हेर्न जाने भइयो।
कोल्हवी ,रामपुर्वा,सिमरौनगढ, गढिमाइ र कलैया हुदै साँझ बीरगञ्ज फर्कने हिसाबले हाम्रो यात्रा दल बाटो लाग्यो।
धुले बाटोको वरपर किसानले सुन फलाएका बारिहरु हेर्न लायक थिए। कोल्हवी पुर्ब बाराको ब्यापारिक स्थल नै रहेछ। स्थानिय बासिन्दा त्यहाको स्वास्थ्य चौकीमा हेल्थ सेण्टर खोलिएमा मागेजति जग्गा दिन तयार देखिन्थे र यसकालागी लिखित प्रतिबध्दता समेत गरे। महिला स्वयमसेविकाहरु भेला भएका हुदा रामपुर्वामा ग्रामिण महिला स्वास्थकर्मीहरु संग सामुहिक भेटघाट गरियो। पारिश्रमिक वापतको थोरै पैसा पनि समयमा नपाएको उनीहरुको गुनासो थियो। लगतै घुमाउरो कच्चि सडक हुदै सिमरोनगढतिर लाग्यौ।
सिमरौनगढ क्षेत्रको गोलागंज गा.वि.स. वडा नं. ७ मा अवस्थित करीब १० कठ्ठाको क्षेत्रफलमा राजा गिर्वाणयुद्ध वीर विक्रम शाहले कंकालिनी देवीको मन्दिर निर्माण गराएका रहेछन । मन्दिर परिसरमा वि.सं.१९३५, १९६६ र २०५१ सालमा उत्खनन गर्दा प्राप्त सामानहरु राखिएको एक संग्राहलय समेत रहेको छ । मन्दिर नजिकै करिब सात बिघा क्षेत्रफलको इशरा पोखरी छ। १२औ शताब्दीमा राजा शिवसिंहले निर्माण गराएका भनिएको यसे तालको छेउमा स्थानिय हाट लागेको रहेछ। हाटमा आएका नेपाली ऊँटहरुको रमाइलो हेर्दै फोटो खिचाए। यहाँबाट काठमाण्डौ रात्रि बस नै चल्दो रहेछ। नजिकै रहेको स्वास्थ्य चौकीको दशा भने “दुर्दशा” भन्न लायक थियो।
बार्हौ शताब्दीमा तत्कालीन सिमरौनगढ राज्यका राजा शिवसिंहको राजदरबार रहेको र वि.सं. १९७७ मा श्री ३ जंगबहादुर राणाका छोरा जगतजंगले पुरानो दरबार भत्काएर बनाउन लगाएको रनिवास नामक मन्दिर पनि हेर्न गइयो। त्यस मन्दिर भित्र राम जानकिको मन्दिर रहेको छ । मन्दिर परिसर (बगैचा समेत) को क्षेत्रफल १७ विगाहा १३ कठ्ठा ५ धुर रहेको छ । मन्दिर भित्र गाँजामा रमाउने कथित बाबाजीहरुको अखाडा नै रहेछ। भनिन्छ , सन् १०६७ मा नान्यदेव (समरौनगढका प्रथम राजा) ले तिरहुतलाई स्वतन्त्र राज्य घोषणा गर्दा नान्यपुरी छाडेर सिमरौनगढलाई राजधानी बनाई नयाँ राज्यमा ५२ वटा पोखरी बनाएका थिए । ती पोखरीहरु मध्ये केही पोखरीहरु अझै पनि जिर्णावस्थामा रहेका छन् । सिमरौनगढको मूल ढोकाको रुपमा प्रयोग हुने कोइलामन नामको ठूलो दह थियो । भनिन्छ,यसै दहबाट डुङ्गा चढी ढोका प्रवेश गरिन्थ्यो ।
मलाइ लाग्यो, यस्तै बन्नु र भत्कनु अर्थात निर्माण र बिनिर्माण नै इतिहास हो। कत्रो बिडम्बना आफुलाइ आफनै देशको गलत इतिहास पढाइएको रहेछ। ३।४ सय घरधुरि भएको गोर्खा गणराज्यले छतमा उक्लिएर आफनो क्षेत्रका सबै घरमा खाना पाकेनपाकेको अडकल गर्न मिल्ने गरि धुँवा हेर्न मिल्ने काठमाण्डौलाइ गाँजेका कथामा आधारित इतिहास वास्तविक होइन । गोर्खा र काठमाण्डौ भन्दा कैयौ गुणा बिशाल र सम्पन्न राज्यहरु पनि बर्तमानको नेपालभुमी भित्र थिए। कालक्रममा ति सब नासिए। के थाहा? इतिहास अझै बिनिर्माण हुदै पो छ कि?
बाटोमा टाढैबाट ड्राइभरले सिमरौनगढका प्रतापी राजा शिवसिंहको पुरानो राजदरबारको अवशेष समेत देखायो। राजा शिवसिंहकी रानी बेहुली हुँदा चढेको पालकि त्यहाँ आँउदा जमिन मुनि धस्न गएकोले यस ठाँउलाई पलकिया माई पनि भन्ने गरिएको रहेछ। यसै ठाँउमा सन्दुक( बाकस) को रुपमा पत्थरको कलात्मक शिला रहेकोछ । सिमरौनगढ राज्यको सुरक्षाको लागि बनाइएको कोतवाल क्षेत्र पनि नजिकै पर्दो रहेछ। लगभग ६०-७० मिटर अग्लो ढिस्कोको रुपमा रहेको यस कोतवाल क्षेत्रबाट पाले कराउँदा सिङ्गै सिमरोनगढ भित्र आवाज सुनिन्थ्यो रे। गुडिरहेको गाडिबाटै सिमरौनगढको बर्तमान हालत देखियो। कलैयावरपरका कर्मबिर हातहरुले लहलह फलाएको बालिनालि र तरकारी खेतीको बिचोबिच बिसौं बीघामा योजनाबद्ध ढंगले लगाइएको गाँजाखेतिको दृश्य बुझि नसक्नुको लाग्यो।
बाटोमै पर्ने गढिमाइ थानमा ओर्लियौ। बरियारपुर गा.वि.स.मा अवस्थित, कलैयाबाट ६ कि.मि. पुर्बमा पर्ने यो मन्दिर परिसरको क्षेत्रफल करीब ८ कठ्ठा जति छ। प्रत्येक ५।५ वर्षमा एक महिनासम्म लाग्ने गडीमाइ मेला सम्भवत: संसारकै सबैभन्दा धेरै बली चढाइने मेला हो । मन्दिर स्थापनाको सम्बन्धमा रहेको किंवदन्ती अनुसार करीब ४ सय वर्ष पहिले भगवान दास चौधरी नाम गरेको एक निरपराध बन्दीले मकवानपुरगढीकी तुलजा भवानी ( गढीमाई) लाई रात्रीको समयमा बरियारपुर ल्याई प्रतिष्ठापन गरेको मानिन्छ।
हामीले भने एकएक वटा नारियल, धुप, पुष्प गुच्छा र खुद्रा पैसा चढाएर देबीको दर्शन ग-यौ। बरियारपुर-गढिमाइ मेलामा यसबर्ष १७०० जति पशुहरुको बलि दिइएको रहेछ। हे अ कुशवाहाले यो पशुवलीको छायांकन गरिएको क्यासेट हामीलाइ पनि उपहार दिए। मेला अवधि भर मन्दिर हाता वरपरको जग्गा भाडा प्रति हात प्रति दिन रु.५०० थियो रे। मुल पर्ब समापनतिर भएकोले हाम्रो भ्रमणताका भने त्यत्ति भिड थएन। पशुबली स्थलमा दुर्गन्ध निरोधक औषधि राखेर कपडाले बारिएको रहेछ। स्थानिय अस्थायी होटेलमा गोभिको पकोडा खाइयो ।पैसा टिप्न हतारिएका स्थानिय केटाकेटीहरुको हुल हेर्न लायक थियो। झमक्क अँध्यारोसंगै बिरगंज प्रबेशगर्दा थाकेर लद्दु भैसकेका थियौ। खट्टेपानी नखाइ हुँदै भएन।
दोस्रो दिन भने हिजो कैलालिको डुडेझारिमा भएको गोलिकाण्डको बिषयलाइ लिएर माओबादीले गरेको नेपाल बन्दको मारमा परियो। घटनाघर अर्थात घण्टाघर नजिक दिन भरि नै टायर जलिरहे। निजी फर्म वरपर र कार्यक्रममामात्र घुम्ने स्वास्थ्यकर्मीहरु यत्रतत्र छ्यासछ्यास्ति देखिए पनि नारायणि उपक्षेत्रिय अस्पतालको निबास हातामा हाँस, बतख र कुखुराहरु चर्दै थिए। नजिकैको मुख्य बजारका पसलहरुमा डाक्टरै डाक्टरका साइन बोर्ड झुन्डिएका थिए। यो २१ गते दिनभरको बन्दले होटेलमै थुनियौ, तर घर परिवार नामको होटेलमा भेराइटि छानीछानी माछा भने खुब खाइयो। धन्न, कृष्णले कलैया अस्पताल र शेषले नारायणी अस्पतालबाट येनकेन बिबरण ल्याएछन ।
कलैयाको पुरानो ऐतिहासिक सिध्देश्वर संस्कृत मा बि मा पुग्ने बिचार थियो। समयले साथ दिएन । बि सं १९९१ मा स्थापित यो बिद्यालयले १९९६ देखि सरकारी मान्यता पाएको थियो रे। तर ०२२ साल सम्म संस्कृतमा आचार्य स्तरको समेत पढाइ हुने यो पीठमा अहिले प्रवेशिका मात्रै छ रे। बारा गढी , चुरियामाइ, जितपुरगढि कहि पनि जान सकेनौ।
२२गते बिहान फोटो धुलाइ १२बजेको बसबाट बिरगंज छोडियो । अरुणजीहरु बिदाइ गर्न आए। यहाँको यथार्थ बिबरण दिन कृष्णजीहरु खुप्पै हौसिएका थिए। यत्रो दुख गरे वापत जस पाउनै पर्नेमा शेषजी पनि आशाबादी नै थिए। तर राजधानीमा बिभागिय अग्नीहोत्रि आफन्तहरुले कुखुरीले चल्ला छोपे जस्तो “कारवाहि” को फाइल घुमाएरै राखे। हाकिमका अगाडी अटेन्सनको पोजिसनमा छाति तन्काएर उभिन पनि नजाने र घरी घरी सप्को मिलाउदै नखरा गर्न पनि नसक्ने उभयलिङ्गीहरुको सपना यसै गरि तुहिन्छन। सरोगेट॒-सन्देश दिनु बाहेक यस्तो बाँझो कित्ताको कुनै काम छैन।
बिभागमा हाजिर भए लगतैका केहि परिदृश्य भने उल्लेखनिय रहे। क्वाटर खालिगरि दिन नारायणि अस्पतालले स्टाफहरुलाइ गरेको अनुरोधको बोधार्थ आएको रहेछ। हामिले निर्णयार्थ प्रतिबेदन दिनु पर्ने भनिएका संस्थाहरु समेतलाइ भनेर ४ वटा एम्बुलेन्स र कर्मचारी कलैयातिर खटिइ सकेका रहेछन। मैलै भने साथिहरुको लहलहैमा लागेर बिरगंजमा खाएको पान सम्झिरहे। ख्वै किन हो, काठमाण्डौ नामको खाल्डोमा बसेर कथित केन्द्रिय कामगरेको स्वयम्भु भ्रममा रहने ‘नयाँ नेपाल’का नटवरलालहरुको मुखमा थुकौ जस्तो गरी मुखै भरिएर पो आयो ।
No comments:
Post a Comment