Monday, September 6, 2010

म एउटा भ्रम बाँच्दैछु


हाम्रा पुराना ग्रन्थहरुमा अचंभका कथाहरु पढन पाइन्छन् । देबर्षि नारदलाइ एकपल्ट आफु सारै सुन्दर छु भन्ने भ्रम परेछ । कुनै सुन्दरीको स्वयंवरमा आफुलाइ योग्य बर सम्झि उनले भाग लिएका रहेछन । तर बरमाला अरुले नै पाएपछि पानिमा छाया हेर्दा उनको अनुहार त बानरको जस्तो पो रहेछ । यथार्थमा सुन्दर अनुहारको बरदान माग्दा भ्रम-तत्वको ज्ञान दिन उनलाइ बानरको स्वरुप दिइएको रहेछ । जीवन भ्रम हो भन्ने गहिरो कुरा बुझाउनका लागि यस्ता कथाहरु रचिएका होलान ।

मलाइ लाग्छ, गोल सुडौल, स्वस्थ र श्वेत स्वरुपलाइ सुन्दर र बानरको झुसी चाउरे रातो मुहारलाइ असुन्दर भन्नु पनि त भ्रम हो । जिबनलाइ आआफ्नो परिभाषामा अल्झ्याएर राखिएको हुनाले महाभारतमा जिवनको अस्थायिपन नबुझनुनै सबभन्दा आश्चर्यको कुरा हो भनेर यक्ष युधिष्टिर सम्बादमा बोलिएको छ ।

हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ यसै प्रश्नको अल्झोमा म अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै विषयहरूमा फसिरहेको छु । तर “जे फुल फुल्यो तेइ रामणो जे खायो तेइ मिठो” (जुन फूल फक्रिन्छ त्यहि राम्रो हो र जे खाइन्छ त्यै मिठो हो ) मान्ने लोकबाङमय को सम्यक दर्शन ले मलाइ सम्झौता गर्न सिकाइ रहेको हुन्छ ।

हामी आफूलाइ चेतनसिल प्राणी भन्दछौ । यहि चेतना वा ज्ञानकै माध्यमले साँचो र झुठो थाहा पाउछौं। तर जीवनमा एक ठाउँमा उभिएर एउटा सत्य स्वीकारेको तथ्य अलि पर पुगेर हेर्दा अर्कै देखिँदो रहेछ । अझ अलि पर गएर हेर्ने हो भने दृश्यको अर्कै पाटो देखिँदो रहेछ- झन् अर्को सत्य । यात्रामा हिँडेको यात्रुले हिँड्दाहिँड्दै दृश्यचित्र बदलिँदै गएर रोमाञ्चकता थपिएजस्तो जीवन पनि उमेरको प्रवाहमा बगेर जतिजति पर पुग्छ, त्यतित्यति नै सत्यको रूप, आकार र अर्थ बदलिँदो रहेछ । यात्रा अर्थपूर्ण लागेजस्तै जीवन पनि झन्झन् रोमाञ्चक र अर्थपूर्ण लाग्दै जाँदो रहेछ । यसरी निरन्तर हामी भ्रमलाई सत्य र सत्यलाई भ्रम ठानेर बेकारमा मक्ख पररिहन्छौँ, रुन्छौँ, झगडा गर्छौं र दौडन्छौँ, रमाउँछौँ ।

सत्य र भ्रमका सम्बन्धका बारेमा गहिरन थालेपछि कहाँनेर सत्य सकिन्छ र भ्रमको प्रारम्भ हुन्छ अथवा कतिबेला भ्रमको अन्त्य हुन्छ र सत्यको प्रकाश आलोकित हुन थाल्छ भनेर विचार गर्दा झन अलमलमा परिन्छ। कहाँकहाँ सत्य र भ्रम दुवै सँगसँगै हिँड्छन् र कहाँ ती दुवै मिसिएर एकाकार हुन्छन् भनेर छुट्याउनु बर्षातको बेला लेकाली जंगलमा कुहिरोको सिमारेखा निर्क्यौल गर्नु जस्तै हो। यसरी जतिजति सोच्तो रहेछु, त्यतित्यति नै अलमलिएर भुमरीमा घुमिरहेको हुन्छु । भ्रम र सत्यको बीचमा त्यस्तो स्पष्ट सीमारेखा देख्दिनँ । तर, हामी यात्रुहरू भने यात्रामा हिँडिरहँदा कहिले बीचबाट, कहिले अलि दायाँ ढल्कँदै र कहिले अलि बायाँतिर पनि ढल्कँदै बिभिन्न दृष्टिकोण तयार पार्दछौ ।

जीवन अनुभवहरूको संग्रह हो भनेर मैले आजसम्म मानिआएको छु । अनगिन्ती विषयहरू छन् जीवनमा, जसलाई हामी जान्न चाहन्छौँ , भोग्न चाहन्छौँ र रङ्गीन चाहन्छौँ । यही चाहनालाई जिजिविषा अर्थात जिबन प्रतिको भोक मानिन्छ । यसैले मान्छेलाई उफार्छ, थेचार्छ, दौडाउँछ र भगाउँछ । भाग्दाभाग्दै, उफ्रिंदा-उफ्रिंदै, रमाउँदा-रमाउँदै र दुःखी हुँदाहुँदै जीवन छोटिँदै जान्छ ।

जिवनमा कतिपय यस्ता अवस्थाहरू पनि आउँदा रहेछन् जतिबेला कठोर परीश्रम, सीप र रुपियाँ खर्चेर आर्जेको ज्ञान र विवेक, मन र भावनासँग पराजित भइदिँदा रहेछन् । यस्तो बेलामा कुन बलियो हो कुन कति सत्य हो भन्नेबारेमा अलमल उत्पन्न हुन्छ । मान्छे उमेरले वृद्ध हुन्छ र एकदिन उमेर पुगेपछि जान्छ । तर, जब पर्छ, त्यसबेला त्यो ज्ञान र विचार भन्ने कुरा छुमन्तर हुदोरहेछ। आफूलाई साथ दिने त तिनै संवेदना, भावना र भावुकता मात्रै रहेछन् । भावनाको यहि बाढीमा आंशिक सत्य मिसिएका भ्रमहरू पनि पर्दारहेछन् । मान्छे भन्नु वास्तवमा यहि शरिर, भावना, संवेदनाको योगफल हो ।

समय गतिवान हुँदा सपनाले अङ्कुराउने ठाउँ पाउछ । सपनाको खेति गर्न हामीसँग 'माया'हरू छन् । त्यसैले हामी हिँड्दाहिँड्दै पनि, जाँदाजाँदै पनि, बन्दाबन्दै पनि र भत्कँदाभत्कँदै पनि रमाइरहेका हुन्छौँ । थकाइ र गुनासाहरूका बीचमा पनि धेरै त सन्तुष्ट नै हुन्छौँ । कहिलेकाहीँ मनमा कुरा खेल्छ, जीवनमा भ्रम नभइदिएको भए जीवन कस्तो हुन्थ्यो होला । जताततै माया नै माया भएको मायिक यथार्थमा मायालाइ इश्वर भन्दा बलियो किन नमान्ने भन्ने चार्वाकीय दर्शन मनन योग्य छ ।

हिरण्यमयेन पात्रेन सत्येनाबिहितम् मुखम् भन्ने एउटा दर्शन सम्झन्छु । अर्थात सत्य भित्र सारमा हुन्छ र भ्रम भनेको सत्यको बाहिरी आवरण मात्र हो । यस भनाइ उपर विचार गर्दा पनि लाग्छ सत्य एकदम नांगो हुँदा होइन तर केही आवरणले छोपिँदा सुन्दर र अझ सर्वश्रेष्ठ हुन्छ । हामी जीवनलाई सुन्दर बनाउन चाहन्छौँ र सर्वश्रेष्ठ तरिकाले बाँच्न चाहन्छौँ । यसप्रकार जीवनमा सत्य र भ्रम दुवै आवश्यक हुँदा रहेछन् । यी दुवै मात्रात्मक हिसाबले कति चाहिन्छ भन्ने निष्कर्ष निकाल्न गारो छ । त्यसैकारण हरिभक्त कटुवालले “सपनाहरु खोसेर लैजाने बिहानीलाइ अर्को सलाम” दिएका होलान । सलाम यो मायालाइ, यो जिन्दगी लाइ । सलाम यो सत्यलाइ र भ्रान्तिलाई ।।

2 comments:

  1. I think, Its a note upon human being, how it goes on spending the days across birth to death but no one knows perfectly that what is the real truth it has.............!!!
    The note depicts the imagination power of the writer....!!!!!

    ReplyDelete
  2. I read it twice n found it is a great compose of BADU Sir...!!!

    ReplyDelete