Friday, August 15, 2014

सौंराइ-आफनै गाउको


मेरा पुराना परिचित आफन्तहरू
लेकमा रहदा बेसिका देवता ढोग्दै होलान्,
बेसिको बाबाट लेकतिर हात जोडदै होलान्,
सिरेटोको स्वादलाइ न्यानोमा साट्दै होलान,
बेदना भगाउने बहुरंगी बहाना बोक्दै होलान् ।
बिचराहरु
गारोपर्दा औतारीध्यानमा बसेकै होलान,
पर्बतीय थुम्काहरुमा फहराउने नेजा बनेर
जुन झरीमा भिजे होलान् ।
रंगबिहीन भएर
कोहि च्यातिए होलान

कोहि त बिलाए पनि होलान् ।।

म भने
बालबयका स्मृति-स्वरहरुलाइ
बिहान-बेलुकाको गायत्री धुन दिएर
रागकेदारको गायन गर्दैछु;

र सोच्दैछु,

-बर्खाका खेतालाहरुले
गाउको कामधेनु परम्परा अझै बोकी रहेकैहोलान् ?
-ग्वाल्लेकको गर्बोन्नत शालीन शिरभुषण लगाएर
बन्दनिय अग्लाइमा बसेका ग्रामदेवताहरु                         
सार्बभौम सस्यश्यामल सभ्यताको
संरक्षक-साछि बसेकै होलान् ?
मलाइ बिश्वास छ;
मेरो सुमेरु स्थल, मेरो सुवर्ण भुमी, श्रीकेदार आलबाट
आर्यडाडासम्मका पर्बतीय-पथहरुमा
परापुर्बकालिन पदचाप भने अझै सुनिएकै होलान,
कर्मबीर सज्जनहरु नित नबिन परिचय खोजीरहेकै होलान् ।

लाग्छ,
समय चक्रसंगै
पाकेका केश र चाउरिएका गाला लिएर
परेला बोझिला पार्दै
चर्किएको ऐनाको जस्तो असपष्ट प्रतिबिम्बमा झुक्किदै
सुरसाका मुख जस्ता समस्या छल्दै
अभिषप्त सिसिफस जस्तो
बाध्यताको दर्शनढुंगा बोक्दै
पारिगाउदेखि प्रशान्त सागर किनारसम्म
खरीको रुखदेखि मोर्गनको सूनखानीसम्म
मेरा परिक्रमा-पथहरु
इतिहासका आदिम आभिलाषा साँच्दै
युग युगान्तम्म घुमी रहेकै हुनेछन्,

बाँची रहेकै हुनेछन् ।।
                                -नेपालगंज, ३०-४-७१
---------------------------------------------------------------



No comments:

Post a Comment