Thursday, January 1, 2015

के गर्नु? सरकारै खत्तम छ!


.---चट्याङ मास्टर
सौजन्य-सेतोपाटी

भीडमभीड फुटपाथमा हिँड्दै, दाँतले जिब्रोको टुप्पो थिच्दै
पिचिक्क थुक्यो पिचकारी, “के गर्नु? सरकारै खत्तम छ!”
अफिस मेचमा बसेर, नाकमा औँला कोचेर
झिकेर केही नाकबाट मेचमुनि त्यो पोतेर–
“के गर्नु? सरकारै खत्तम छ!”
बाथरुमबाट निस्केर चिसै हात लिएर
भेट्यो साथी तुरुन्तै मिलायो त्यै हात दिएर
“के गर्नु? सरकारै खत्तम छ!”
बाटोमा युवती हिँडदै छिन्, दुईटा केटाले जिस्क्याए
देख्ने वरिपरि पाकाले चुपचाप हेरे, मुस्काए
“के गर्नु? सरकारै खत्तम छ!”
दश वर्षे कलिलो केटोले, चुरोट किनेर सल्कायो
पैसा फिर्ता दिँदै पसले मुसुक्क हेरेर मुस्कायो
“के गर्नु? सरकारै खत्तम छ!”
जानुपर्ने कतै छैन, चढ्यो भीड बस छानेर
सर्दै सर्दै युवतीसँगै उभियो ठेलठाल गरेर
“के गर्नु? सरकारै खत्तम छ!”
चकलेट बिस्कुट पानपराग पानी होस् या बदाम
खायो सक्यो फ्यात्त फ्याँक्यो फोहर सप्पै सडकमा
“के गर्नु? सरकारै खत्तम छ!”
तिर्दा भाडा ट्याक्सीको, बसको होस् या टेम्पोको
फिर्ता माग्दा खुद्रा छैन तीन चार रुपियाँ सित्तैँ भो
“के गर्नु? सरकारै खत्तम छ!”
चौध पन्ध्रको केटो छ स्कुलको ड्रेसमा
भट्टीमा रक्सी खाँदैछ, वरिपरि सब छन् मेचमेचमा
“के गर्नु? सरकारै खत्तम छ!”
केरा खाँदै हिँड्दै छ, फ्याँक्दै बोक्रा बाटोमा
चिप्लेर पछिल्लो पछारियो गललल्ल हाँसो वरपरमा
“के गर्नु? सरकारै खत्तम छ!”


No comments:

Post a Comment