Thursday, April 16, 2015

नेपाल गरिब छैन


भर्खरको कुरा हो, एक अमेरिकी बुद्धिजीवीले प्रश्न गरे– नेपाल किन यति गरिब भएको? त्यस प्रश्नले मलाइ नराम्रोसँग दुख्यो। तत्काल उत्तर दिएँ– नेपाल गरिब छैन।  मेरो कुरा उसले नपत्याएझैं लाग्यो, अझ सत्य कुरा के हो भने आफ्नै भनाइप्रति म आफैंलाई पनि पत्यार लागिरहेको थिएन। त्यसैले मैले थपेँ– नेपाल गरिब छैन्। यो धेरै हदसम्म सत्य हो, मैले स्वीकार गरें। तर नेपालले भौतिक पूर्वाधार निर्माण र सरसफाइको क्षेत्रमा धेरै काम गर्न बाँकी छ। मैले नेपाल गरिब छैन भन्ने कुरा ती अमेरिकी नागरिकलाई भन्दा पनि आफैं र आफ्ना नागरिकलाई बुझाउन जरुरी ठानेर यो लेख्ने जमर्को गरेको हुँ। किनभने मलाई मेरो औपचारिक शिक्षाले, मेरो सरकारले कहिल्यै नेपाल गरिब छैन भनेर पढाएन। यो नपढी नहुने पाठ रहेछ जसले हामीलाई आफ्नो आत्मसम्मान फिर्ता ल्याउन, आफ्नो सम्पन्नता चिन्न र त्यसमा गौरव गर्न सिकाउँछ।
मानिसले सम्मानपूर्ण, हाँसीखुसी, दुई छाक खाएर बाँच्न नपाउने अवस्था गरिबी हो। स्वच्छ हावा, सफा पानी, अनुकूल वातावरण, सुरक्षित बास, जीवनका लागि उपयोगी शिक्षा, बिरामी पर्दा आवश्यक औषधोपचार, सुरक्षा, सम्मान, आपसी भाइचारा मेलमिलाप मानिसलाई नभई नहुने कुरा हुन्। नेपाललाई अविकसित, गरिब, कमजोर र पिछडिएको भनेर हजारौं पटक दोहोर्यासउँदै हाम्रो मानसिकतामा हामी भनेको संसारको अति गरिब देश हो भनेर थोपर्ने काम भइरहेको छ। हामीलाई गरिब छौंँ भनेर नेपालीमाथि गरिबीको कलंक थोपर्ने काम पश्चिमाबाट नक्कल गरिएको औपचारिक स्कुले शिक्षाले दिएको ज्ञान हो। यो ज्ञान हाम्रो खोपडीमा गरिबीको परिभाषा निर्माताहरुले भरिदिएका हुन्। गरिबी के हो? यसको परिभाषा पश्चिमा विद्धान्हरु, पश्चिमबाट शिक्षा लिएका अर्थात विश्वलाई पश्चिम खासगरी युरोप र अमेरिकी आँखाबाट हेर्नेहरुले तयार पारेका हुन्। त्यसैले अहिले नेपालमा देखिएको, हामीलाई पढाइएको, घोकाइएको गरिबी पश्चिमाको कसीबाट हेर्दा देखिएको गरिबी हो। गरिबीसम्बन्धी हाम्रो आफ्नै परिभाषा बनाइएकै छैन। यो बनाउनु जरुरी छ।
पश्चिमाले दैनिक ६ डलरभन्दा कम आम्दानी हुने मानिसलाई अति गरिब भनेर मानेको छ। नेपालका दुरदराजका ग्रामीण भेगमा आफैंले उत्पादन गरेर आफ्नै बारीको हरियो सागपात, आफ्नै बारीको अन्न, आफ्नै वस्तुभाउको दूध दही खाने मानिसको हैसियत औपचारिकरूपमा देशको औपचारिक तथ्यांकमा देखिँदैन। फलस्वरूप त्यो परिवार खानै नपाउने, हरितन्नम अति गरिबको कोटीमा पर्छ। त्यस्ता परिवार नेपालमा अझै हजारौं मात्र होइन, लाखौं छन्। त्यसैले दैनिक कसले कति पैसा कमाउँछ भन्ने कुराका आधारमा मात्र कसैलाई धनी र गरिब मान्नु नेपालको सन्दर्भमा न्यायोचित हुनै सक्दैन। यद्यपि पैसाको महत्व छ भन्ने कुरा नकार्न भने सकिँदैन। अक्सफोर्ड विश्वविद्यालयको परिभाषाअनुसार माटोको घरमा बस्नु गरिबीको एउटा प्रमुख सूचक हो। जो समुदाय माटो, ढुंगा, रुख, नदीनाला जस्तो प्रकृतिको नजिक रहन्छ त्यसको जीवन स्वस्थ रहन्छ। माटोको घरमा बस्दा हुने अनेक फाइदालाई बेवास्ता गर्दै पश्चिममा भएको सिमेन्टीकरण नै विकास हो भन्ने भावनाबाट प्रेरित भएर बनाइएका यस्ता परिभाषाले नेपालीलाई गरिबको कोटीमा राख्न सहयोग पुर्यामएको छ। यसले परम्परागत माटोको घरमा बस्ने चलन हतोत्साही गर्न र माटोको घरमा बस्नु भनेको गरिबी हो भनेर सिकाएको पाइन्छ। खोज र अनुसन्धानबिना बनाइएका सूचकले आदिबासी, जनजाति, ग्रामीण भेगमा बसोबास गर्ने, प्रकृतिको नजिक रहेका करोडौं सुखी र आनन्दमा जीवन जिउने मानिसलाई गरिब भनेको छ। जसले मानिसलाई प्रकृतिबाट टाढा र कृत्रिम हुन प्रेरित गरिरहेको छ।
अमर्त्य सेनले गरिबीलाई आम्दानीको आधारमा मात्र हेर्ने कुरा अस्वीकार गर्दै मान्छेले आत्मसम्मानपूर्ण ढंगले बाँच्न पाउने अवसर र क्षमताको अभाव भनेको गरिबी हो भनेका छन्। हाल आएर दीगो विकासका पक्षधरहरुले अब प्रकृतिसँग मिलेर प्राकृतिक जीवन जिउन सक्नु नै सम्पन्नता हो भनेका छन्। उनीहरुले जो मानिस प्रकृतिसँग जति समीप छ, जो प्रकृतिसँग नजिक छ, जसले आफ्नो जीवन सरल र प्राकृतिक स्रोत साधनको थोरै उपयोग र उपभोग गरेर जिउन सक्षम भयो त्यही व्यक्ति सम्पन्न हो भन्ने स्थापित गराउन थालेका छन्।  यदि प्रकृतिसँग मिलेर बस्नु, प्रकृतिमा भएका जीवजन्तु, हावापानी, खोलानाला, वन पखेरामा जीउनु सम्पन्नता हो भने हामी नेपाली कसरी गरिब हौं त? फेरिएको परिभाषा र चेतनाले फेरि हामी नेपालीलाई प्राकृतिकरूपमा आफ्नै गाउँबस्तीमा रहन र प्राकृतिक जीवन जिउन प्रेरित गरिरहेको छ। सम्पन्न त्यो हो जसले स्वच्छ हावामा श्वास फेर्छ, कञ्चन पानी पिउँछ, मानव अनुकूल वातावरणमा बस्न पाएको छ, आफ्नो सांस्कृतिक विविधतामा रमाएको छ, आपसी भाइचारा र मेलमिलाप छ, जसलाई कहिल्यै कसैले अधिनमा राखेको छैन, जहाँ पर्याप्त मात्रामा परम्परागत ज्ञान र सिप छ, जहाँ धार्मिक, भाषिक, जातीय, क्षेत्रीयताका आधारमा सहिष्णुता छ, जहाँ हरियाली पर्याप्त छ, जो प्रकृतिसँग नजिक छ, जुन देशमा संयुक्त परिवारमा मानिस बसोबास गर्छन् र एक पुस्ताबाट अर्को पुस्तालाई ज्ञान र सिप हस्तान्तरण गर्छन्। यी सूचकबाट हेर्दा नेपाली कुनै पनि दृष्टिकोणमा गरिब छैनौं।  तर हामीले यो कुरा न कहिल्यै विचार गर्यौंा, न त हामीलाई कसैले यो कुरा सिकायो। त्यसैले हामीले आफूलाई गरिब मान्दै र स्वीकार गर्दै आयौं तर यथार्थमा यो पूर्ण सत्य होइन। फेरि यसको मतलब हामीले गर्न बाँकी केही छैन भन्नेचाहिँ हैन।
विस्तारै पश्चिमाहरुको अन्धाधुन्द नक्कल गरेर विकासको नाममा गरिने क्रियाकलापले हामीलाई गरिब बनाउँदै लगिरहेको छ। यसको एउटा जिउँदो प्रमाणका रूपमा काठमाडौं उपत्यकालाई लिन सकिन्छ। काठमाडांैमा २०–२५ वर्षपहिलेको हरियाली, सफा खोला, मन्दिर र पुरातत्वका स्थल, सफा हावापानी, मलिलो माटो, परीश्रम गरेर खाने मानिस सबैजसो बदलिएका छन्। विकासका नाममा गरिएको अव्यवस्थित सिमेन्टीकरण, जथाभावी जमिन, पानी र अन्य प्राकृतिक स्रोतको दोहनले यस सहरलाई कुरूप कंक्रिटको जंगलमा परिणत गरेको छ। यहाँको हावा मानवले श्वास फेर्न योग्य छैन, न त पानी नै स्वस्थ छ। यसैले यहाँका मानिसको जीवन विविधखाले जोखिमले घेरिएको छ। भूकम्प आउँदा उद्दार गर्न नसकिने खतरा, सडक दुर्घटनाको जोखिम, फोहर पानी र फोहर मैलाका कारण रोगव्याधी फैलने जोखिम र सबैभन्दा बढी दूषित हावाका कारण लाग्ने दीर्घकालीन रोगको जोखिम। यस्तो जोखिमयुक्त प्रदूषित स्थानमा बस्ने मानिसभन्दा नेपालका ग्रामीण इलाकामा बस्ने मानिस धेरै कुराले सम्पन्न छन्। सादगीमा, सरलतामा सम्पन्नता छ। जहाँ मानिस प्रकृतिसँग दैनिक लुकामारी खेल्छ, आफ्नो स्वस्थ परम्परा, ज्ञान, सिप प्रयोग गरेर आफ्नो जीवन निर्वाह गर्छ, त्यो व्यक्ति गरिब भनेर कसरी परिभाषित गर्ने?
के माटोको घरमा बस्दैमा मानिस गरिब र हरितन्नम हुन्छ? यसैले पश्चिमाको परिभाषा नै हाम्रा लागि अनुपयुक्त छ। यसैले अर्काको चश्मा लगाएर नेपाल खत्तम भयो भनेर ढोल पिट्नु भन्दा आफ्नो वरपर भएको सम्पन्नता पहिचान गरी त्यसमा रमाउने र त्यही सम्पन्नता थप्दै लैजाने प्रयास गरे नेपाल गरिब छैन भनेर गर्वका साथ भन्न सकिन्थ्यो। अब हामीले प्रकृतिसँग रमाउने, जीवजन्तुसँग मिलेर बाँच्ने, माटोको घरमा बस्दा आनन्दित हुने, गाउँमा बसेर पनि विश्वलाई शिक्षा दिनसक्ने सोच विकास गर्नुपरेको छ। हामीमा भएका कमजोरी घटाउँदै हाम्रा परम्परागत सिप, ज्ञान उपयोग गरेर हाम्रा असल पक्ष जगेर्ना गर्नु अति जरुरी छ। हामीलाई हाम्रो पासपोर्ट बोकेर अरु देशमा जाँदा उनीहरुको अगाडि हामी गर्वले शीर उचो राख्न सकौं। यसका लागि हाम्रो भौतिक संरचना र सरसफाइमा सुधार भने अपरिहार्य सर्त हो। हामी सम्पन्न छौं किनभने हामी खुसी छौं। हामी प्रकृतिसँग नजिक छौं। हामी सफा हावा, स्वच्छ पानी, ताजा अन्न पात र आपसी भाइचारायुक्त समाजमा छौं। त्यसैले हाम्रो सम्पन्नता पैसामा तौलन मिल्दैन।
courtesy- Rajkumar Dhungana , http://nagariknews.com/opinion/story/36607.html
- See more at: http://nagariknews.com/opinion/story/36607.html#sthash.PRXiCwDm.dpuf

No comments:

Post a Comment