Saturday, October 21, 2017

राजा र रौतेलाका गाउँतिर

राजा र रौतेलाका गाउँतिर
( कथा )


" अला मुल्याौ!, यिन त ठगुरिका चेला हुन ब ला । राजा हन,  हमरा त !।” स्थानिय दे जाँतमा सर्बसाधारण महिलाहरु माथि अभद्र व्यवहार हुँदा प्रतिकार गर्न खोज्ने दामुलाइ अग्रजहरुले सम्झाएका थिए ।
“ सेराको सब है ठुलो फाँटो ठगुरीनको हो । पल्लि त बेठ दिनाइ सप्पै ले याँ काम गद्दु पणन्थ्यो ।” बुढा बाजेले नदि किनारको ठूलो खेत देखाइ कुनै दिन सबैले सितै काम गर्नु परेको कथा सुनाएका थिए ।
“पहाडका पाँचगाउँ, सङ्ताइ मालको बिर्ता । खाइ ग्या चेला, माटालाइ हात नलाइ बरे ।” फुन्या काकाले यहि खलकको तडकभडकप्रति आक्रोश र ईर्ष्या पोखेका थिए ।
मालिक र कामदार मात्रको बर्ग बस्ने यो गाउँमा शासक मानिने ठगुरीराजा र उनका चेला रौतेलाका चर्तिकलाको यस्तै शब्दमा बर्णन गरिन्थ्यो । दामुलाइ यो प्रशस्ति पटक्कै मन पर्दैनथ्यो । गाउलेहरु प्यारो मानेर उनलाइ दामु भनेर सम्बोधन गर्थे । तर ठुलाबडा मानिने कथित मालिक र उनका ससाना " बेटाहरु " समेत उनलाइ हेपेर " ए , दमुवा " भनेर बोलाउथे । दामुलाइ यो हेपाइ पनि मन पर्दैनथ्यो । त्यसैले स्कुलमा पढन थाल्दा नै दामुले आफनो नाम दीपेश बिक्रम लेखिदिन अनुरोध गरेको थियो  ।  यस्तैखाले बेग्लै बानीब्यहोराले सानैदेखि दामु नामको यो ठिटो मालिकहरुको कोपभाजनमा परेको थियो ।
बिद्यालयमा बिनासित्ति पाइने हप्कीदप्की दामुको दैनिकी थियो । कैयौपल्ट उसले कुटाइ पनि खायो । पढाइ लेखाइमा भने उ सँधै अब्बल मानिन्थ्यो । बिद्यार्थी माझमा उ प्रिय साथी थियो ।शिक्षकहरुको शिष्ट शिष्य थियो ।अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भएर भाग लिन्थ्यो । तर केही  शिक्षकहरुको व्यवहार भने उ प्रति पक्षपातपुर्ण हुन्थ्यो । गौडाका बडाहाकिमले समेत यहाँका राजा साबको सारै मानमनितो गर्छन रे , दामुले गाउलेहरुको जमघटमा कुरागरेको सुन्ने गरेको थियो । मेलापर्बको जात्रामा राजाहरुका घोडा पहिला हिडनु पर्ने मान्यता उसले देखेको थियो ।
टिकैत मुखिया भनेर चिनिने यहाँका सबभन्दा ठुला राजाको कोटभित्रका केही कथा-अकथा यदाकदा चुहिएर गाउगर्खामा चुपचाप पोखिने गर्थे । तर यो कोटलाइ कानुन र मर्यादाभन्दा बाहिरको मानेर मौन बनिदिने संस्कारमा अभ्यस्त थिए गाउँबासीहरु ।  कर्मी कमिला जस्तै काममा मात्र लागि रहन्थे । दामुले पनि यो निरीहता बुझ्दथ्यो र मौन साछी बनेर बाल्यकाल बिताएको थियो ।
समय बदलिदै गयो । स्थानिय स्कुलबाट सँधै प्रथम/ द्वितीय बनाइएका ठगुरीका चेलाहरुलाइ बोर्ड परिक्षामा दामुले उछिन्यो । बुवा कालो खत्री त्यसदिन असाध्यै खुशी थिए । चेलाले भबिष्यमा समेत यस्तै सफलता पाओस भनेर उनले त्यस दिन स्थानिय केदारथानमा घाँट चढाएका थिए । गौदानको भाकल गरेका  थिए । सत्यनारायनको कथा लगाएर गाउलेहरुमा पनि खुशी बाँडिएको थियो । यो खुशियालीमा आमा लाटि समेत  असाध्यै बाठी बनेर काममा जोतिइ रहेकि थिइन । यो पराले झोपडीमा यसरी सानो आशा झुल्किएको थियो ।
यो पहिलो खुशीपछि केही दिनसम्म के गर्ने भन्ने दामु र उसका बाबुले केही निश्चित गर्न सकिरहेको थिएन ।  यस्तैमा  कालो खत्रीलाई कोटघरबाट बोलावट आयो। खत्री डराइरहेका थिए । टिकैतको कोटमा कालोको के काम! गाउलेहरुले दामु अर्थात दीपेश बिक्रमका बारेमा नाना थरी कुरा काटदै थिए । जरूरी काम परेर  बोलाएका रे! कालोको ढुकढुकी बढन थाल्यो। कतै दामुले कुनै…?। सैयौं शंका देखिए ।
कोटको सबभन्दा आकर्षक, पत्थरले छाएको, चुन पोतिएको,, ठूला ढोका र बार्दली भएको तीनतले चौपाखे घरलाई दरबार भनिन्थ्यो । विशेष अवसरहरूमा टिकैत राजासाब यहाँकै पटाङ्गिनीमा बसेर परम्पराबाट चलिआएका कार्य सम्पादन गर्ने गर्थे। तिनमा दशैं,  मन्दिरमा जाँत (जात्रा) लैजाने, न्याय निसाप हेर्ने इत्यादि काम पर्थे। त्यो कोट  नै गाउलेहरुको राजधानी थियो । त्यो घर नै सिंहदरबार मानिन्थ्यो ।
सेतो मयलपोस, सेतै पगडी लगाएका टिकैत राजा दरबारको पुर्बी बरण्डामा बसेर हुक्का तान्दै थिए। नेफरे चौकिदार कोइला चलाउँदै थियो। पिंढीमा मुखिया, धामी, पुरोहित र भन्डारेहरु बसेका थिए ।
“जौ दे राजा!”, कालोले शिर झुकाएर दायाँ हात निधारनेर ल्याउँदै अभिवादन गर्‍यो।
“जै हो। के छ त कलुवा, सञ्चो त छ?”, राजा साबले अभिवादन फर्काए।
उसले टाउको कन्याउँदै भन्यो, “हजुर!”
टिकैतको इशारा पाएपछि पुरोहितले भन्न थाले, “तेरो चेलो के गद्द ला, छ ला अच्याल ।  ब्वारी नाइ खोजेइ त कसो?”
“हजुर, केइन गद्दो । भाइर पणौन्या सगिस्ता नाइ थि । याँ हजुरौनले केइ कामलाइ दिया बरे मात्तरै...।” कालो खत्री टाउकोमाथिको पुरानो टोपी निकाल्न थाल्यो ।
“ए, लौलौ। हेर, दम्वाले थोक्थोको पणिहाल्यो । आब एक काम गरलो त, कसो?”
“हजुर...?”
मुखियाले थपे, “हेर, टिकैत राजासाबका रौतेलालै आब ठूला होइगया ।  पढाइ गद्दाकि भाइर झान ला-यान । तबै दम्वा लै उनइसित झालो त ?। ब्यानब्याल्क खानाइ पकाइ देलो ।  पढन्या मन भया पढलो लै ।कसो…?।”
“झोली–झिम्टा बोक्न सँगै  दमुवाले गए सजिलो होला भनेर हो।” टिकैतले थपे ।
“हजुर, भारि बोक्न त कसौ ब ? सोदलो रे ....”, कालोले प्रष्ट कुरा गर्न सकेन ।
“ अन गौघर साँण मचौन्या है त । के गर्ने बिचार छ । भोल खबर गरेइ । अफनु औकात बुज्जु पणन्छ हाँ । लौ झा ।” टिकैतले झपारे । यसरी अनिर्णयको स्थितिमा कालु घर फर्क्यो । दामुलाइ सम्जायो । नाइनास्तिका सम्भावित परिणामबारे बाबुछोराले बिचार विमर्श गरे ।
दामुले भन्यो, “एइ जमाना माँइ कसा कसा त ठेगान लागिग्या भण्या यो जिम्वाल को हो?”
उ बरु आज राति नै गाउँ छोडन राजी भयो । नभन्दै त्यहि राति गाउँको ठिटो दामु गाउँबाट हरायो । केही दिन गाउँमा मौन चर्चा चल्यो । कोटका चरहरु कुरो बुझ्न खटिए । ठगुरीको खटन खप्नुभन्दा मुङलान पस्नु ठिक ठानेर दामुले गाउँ छोडेको लख काटियो । कुच्चोले बढार्नु पर्नेलाई बतासले नै उडाएको ठानियो । यसरी यो अध्याय सकियो ।
यता टिकैत राजा सापका पाँच छोराहरु पुरानै तालले हुर्कदै थिए । जेठाले मुख्खेली काम हेर्थे । माहिलाले माल- मदेश सम्हालेका थिए । साहिंला सानैदेखि रोगी त थिए नै, चौबिस घन्टे नशाबाज पनि थिए । दुई जना कान्छा रौतेलाहरुलाइ त अब राम्ररी पढाउनु पर्छ भन्ने टिकैतको इच्छा थियो । यसै क्रममा उनीहरु काठमाण्डौ राखिएका छन् भनेर गाउँघरमा हल्ला चलाइएको थियो । त्यसो त टिकैतकि खत्रिनी पट्टि पनि तीनवटा हट्टाकट्टा छोरा थिए । गाउँघरमा गुन्डागर्दि हुँदा यिनीहरु मुछिएकै हुन्थे । हल्लिएर खाने बाहेक यिनले पनि वरको भाँडो पर सार्दैनथे ।
सोझो कालो खत्रीको घरभित्र भने केही दिन खाना पाकेन, सुक्क सुक्क चलि रह्यो  । उभिन समेत समय नहुने त्यो घरका श्रमजिबीको लागी बिलाप गरि दुख मनाउने फुर्सत नै कति हुन्थ्यो र? खोलाको पानी जस्तै समय बग्दै गयो । कैयौ कुरा सुनिए, भुलिए पनि । कसैले कालीमा फाल हान्यो भने, कसैले काली तर्‍यो भने। कसैले मालको घाममा सडदैछ भने । हरिद्वारतिर जोगी बनेर बसेको कुरा पनि सुनियो । बिस्तारै समयले सबै कुरा बिर्सायो । तर लाटि आमाले लुकेर भए पनि सम्झिरहिन, रोइ रहिन ।
यसरी समय घर्किदै गयो। भनौ, समय बदलिदै गयो। काल-क्रममा नारायणहिटिका राजाले समेत दरबार छाडे । देशमा नयाँ परिस्थिति पैदा भयो। बाठा भनिएका कुना पस्न थाले । लाटाहरु बोल्न थाले । धेरै त होइन, बर्णित गाउँमा समेत धेरथोर नयाँ हावा चलिसकेको थियो ।
अचानक एक अर्को दिन । दामुको एउटा खवरले गाउँघर फेरि तात्यो । दामुले त काठमाण्डौ बसेर दुखजिलो गरेर धेरै पढ्यो अ रे । अब त ठुलै हाकिम बनेर यतै जिल्लामा आउदै छ रे… आदि । एक कान दुई कान हुँदै टिकैतसम्म कुरा पुग्न थाले । कोटको ठूलो घर रंगरोगन नपाउदा मलिन भैसकेकै थियो । दामुका खबरले बुढा टिकैतको मुहार समेत मलिन देखिन थाल्यो ।
नभन्दै अर्को एकदिन दामु घर फर्कियो । सबै गाउलेहरुसंग पुरानै लयमा ढोगभेट कुशलक्षेम ग-यो । आफना सारै सकसपुर्ण कथा सुनायो । घरमा एकिन खबर गर्न नसकेकोमा क्षमा माग्यो । अबका दिनहरु पहिलेका जस्ता नहुने कुरा समेत बुझायो । यसरी आफनै देशको कुरा सुनाएर गाउलेहरुलाइ दङ्ग पा-यो ।
तर काले खत्रीलाइ चिन्ताले खान थालेको थियो– छोरोले टिकैतका रौतेलाहरुको कुनै आदेश अवज्ञा गर्‍यो भने? उसलाई परिणति थाहा थियो। एकपल्ट सालीघाटका केही  युवकहरुले ठगुरीहरुको विरुद्ध बोल्दा सेरीको जात्रामा  निर्घात कुटिएका र त्यही कुटाइको निहुमा उनीहरुकै बित्तोबास समेत भएको थियो । उसले छोरालाइ सम्झायो- गाउमा अझै पुरानै शासन छ । अहिले त हाम्रालागि भित्ताका पनि कान हुने बेला छ । कुनै निउमा हाम्रो पनि उठिबास गरिदियो भने...। " मै बिचारो बुडो के गर्लो ला, नचाइन्या कुरडी जन गरेइ ।”
पढन गएका भनिएका रौतेलाहरू गाउँ फर्केका थिएनन् । गाइगुइ सुनिन्थ्यो- एउटो कुनै मुद्दामा थुनिएको छ रे। अर्कोले येनकेन सानोतिनो काम गरि गुजारा गरेको छ रे । मुखेली हेर्ने जेठोले पनि बुवाकै धाकरवाफ सिकेको थियो । मधेशको बिर्ता हेर्नै छोरो औषधि नै नहुने कुनै नयाँ रोग लागेर उतै म-यो भन्थे । अर्को जड्याहा झनझन बेसुरे हुँदै थियो । आयस्ता धटदै र खर्च बढदै गर्दाका लक्षण कोटघरको मर्मतमा परेको थियो । छत चुहिएर बैरंग भएका भित्ता पोतिएका थिएनन । आरिबारि समेत उजाड हुँदै थिए ।
यता गाउँमा गौरा आएको थियो। गोर्‍या खलोमा महिला–पुरुष डेउडामा मस्त थिए। लाटी खत्रिनी पनि ढिस्कोमा आएर बसी। छेउमै पुरुषहरूले ठाडो खेल लाएका थिए। उनीहरूको गीतमा अठौती मल्ल र स्थानीय देवताहरूको युद्ध वर्णनमा हौसिएका थिए ।
जुजन लागि देबि दुरगा, माथा फुक्या केश
गुसाइ माथा फुक्या केश ।
जुजनलाग्यो लाटो देवता हाली छ अँङाल
गुसाँइ हालिछ अँङाल । कठै….. ।
यसपाला लाटीका निन्याउरा आँखामा चमक आएको थियो । उसको असमय बूढो भएको शरीरमा ताकत थपिएको जस्तो लाग्थ्यो । खेलमा गीत गुन्जिरहेको थियो–
ए बार रैण्या भुमिको कोट मैलो भैछ,
कि सीता बागले खाइछ , कठै..।
लछिमा बिराली रुन ब पसी
कि सीता भालुले चपाइछ । कठै.. ।
अकस्मात दामु पनि गोराको खेलमा सामेल भयो । फुर्किएकी लाटीले  नथुली काकीलाई भनी, “ज्यू–ज्यू मेरो दामु...!”
एकै छिनमा उ आमाछेउ आयो। काकीले आशीर्वाद दिई, “हिमाञ्जलो हिउँ छन्ज्याँ जिए, समुद्दरो पानी छन्ज्याँ जिए...।” दामु नै यो पर्बको मुख्य आकर्षण बन्यो ।
यो खेलको बीचमा बसिरहेका जेठा टिकैत खुस्सुक्क हिडिसकेका रहेछन् ।
अर्को मङ्गलबार राति टहटह जून लागेको थियो। भदौ महीनाको आकाशका कुनाकाप्चामा छिटपुट बादल देखिए पनि छ्याङ्ग उज्यालो थियो । ५/७ जना छिटा छरीता मान्छेको जमात गाउँमा आयो । गाउँमा पहिलो पल्ट यसरी नयाँ मान्छे देखिएका थिए । अनेक थरी आसंका जन्मिए  । अर्को दिन थाहा भयो, उनीहरु अड्डाका मानिस थिए र जरुरी काम परी हाकिम दीपेश बिक्रमको घर खोज्दै आएका थिए । बिहान हुँदासम्म उनिहरु हिडिसकेका थिए । यसरी गाउको दामु अब दीपेश बिक्रम हाकिम भनेर प्रचारित हन थाल्यो । यदाकदा स्थानिय रेडियोले समेत दीपेश बिक्रमले गरेका कामको खबर दिन्थ्यो । दामु खत्रीका नामले स्थानिय पत्रपत्रिकाले उसका लेखरचना छाप्ने गर्थे । यी रचना समेत रेडियोको साहित्यिक कार्यक्रममा प्रचारित हुन्थे । गाउलेका लागि यो गौरबको बिषय हुन्थ्यो ।
उता बुढा टिकैतसाब कहिलेकाहि  आँगनमा निस्किन्थे।  पुर्खाहरूको गौरबमानिएको कोटको अघिल्तिरको भाग भत्किएको देख्थे । भित्रको गोप्य बैठक कक्ष समेत ह्वाङ्ग देखिएको हुन्थ्यो । टिकैतलाइ आफनै ज्यान सम्हालन समेत गारो हुन थालेको थियो । जेठा टिकैत त्यसै पनि चिडचिडे स्वभावका थिए । बाबू छोराको बिरलै कुराकानी हुन्थ्यो ।
गाउका धामी, पण्डा, भन्डारे, मुखियाको आउजाउ समेत कम हुँदै थियो । यस्तैमा त्यही बेला घुम ओढेर कोही आयो र भन्यो, “जौ दे राजा,  दमुवाको बुवा कालोले पक्की घर बनाउन लागेकोछ । हजुर!”
टिकैतले अस्पष्ट 'हुँ...' मात्र गरे, ऊतिर फर्केर पनि हेरेनन् । रेडियोमा स्थानिय समाचार आइरहेको  थियो । टिकैतले कराएर भने, "तै रेडियो बन्द गर । कति सुण्णु हो , कालेखत्रीका चेलाकि कुरणी ।"

No comments:

Post a Comment