Saturday, July 14, 2018

बिकास कसकालागि?

विकास कसका लागि ? हरेक नेपालीले बुझ्नु पर्ने विकासबारे ४० वर्ष अघि बीपीको विचार

( साभार -- स्वदेश नेपाल, ०७५ ाआषाढ ३०)
बी.पी.कोइराला
तपाईहरूलाई थाहा छ, म धेरै कराएर बोल्न सक्दिनँ । मेरो अन्त्यमा बोल्ने पालो परेकोले सुविधा पनि भएको छ, किनभने मैले भन्नुपर्ने कुराहरू पूर्ववक्ताहरूले भनिसक्नु भएको छ । म तिनै कुराहरूलाई फेरि दोहो¥याउँदिनँ र पञ्चायत मरिसकेको घोडा हो, त्यसलाई चाबुक मार्न पनि म चाहन्नँ ।
जब म २०१७ सालतिर प्रधानमन्त्री थिएँ, त्यसबेला राजा महेन्द्रसँग बराबर वातचित हुन्थ्यो र म भन्थे, म एउटा निम्नमध्यम वर्गीय आर्थिकस्तरको मानिस हुँ, मेरो धारणा छ, १५ वर्षभित्रमा नेपालको प्रत्येक परिवारलाई मेरा जत्तिको आर्थिक अवस्थामा ल्याउन सकिएला । तर आज (२०३७ सालमा) बीस वर्षपछि आइपुग्दा देशको आर्थिक अवस्था झन् नाजुक भएर गएको छ । योजना आयोगका तथ्याङ्क र अर्थशास्त्रीहरू बोलिरहेका छन् कि पाँचौँ पञ्चवर्षीय योजना कालमा ५ प्रतिशत राष्ट्रिय उत्पादन बढाउने लक्ष्य राखिएकोमा केवल २ प्रतिशत मात्र उत्पादन बढ्यो र त्यसै अवधिमा जनसंख्या वृद्धिको दर भने २.३ प्रतिशत रह्यो । यसरी जनसंख्या वृद्धि दरसित तुलना गर्दा विकासको दर ०.३ प्रतिशतले घटेको देखिन्छ । तर विकासको दर केवल २.५ प्रतिशतले मात्र बढेको भए पनि अर्थशास्त्री र तथ्याङ्कशास्त्रीहरूले भन्ने थिए कि कमसेकम ०.२ प्रतिशत भने पनि विकासको दर बढेको छ ।
तर विकास भनेको के हो ? के यस्तो तथ्याङ्कले देखाउने विकास विकास हो ? अथवा विकास कसको लागि हो ? विकास गाउँमा भएको छ कि आँकडामा ? एउटा–दुईवटा उदाहरण दिएर मेरो कुरा प्रष्ट गरुँ । अस्ति म एउटा समारोहबाट फर्किदै थिएँ । त्यो समारोह भित्रको वातावरण र बाहिरको अड्याइएका ठूला–ठूला महंगा गाडीहरू देख्ने जोसुकैले पनि भन्ने थियो, नेपालमा ठूलो विकास भएछ र यहाँका मानिसहरू धेरै धनी भएछन् ।
त्यसै दिन म पहाडतिरबाट यहाँ (काठमाडौँ) आएर डेरा गरी बस्ने केही विद्यार्थीहरूको कोठामा गएँ । उनीहरू चार–पाँच जना एउटै कोठामा बसेका थिए । जसमा सुकुल विछ्याइएको थियो र त्यसलाई मैलो तन्नाले ढाकेको र तकिया पनि त्यस्तै मैलो थियो । उनीहरू त्यस्तैमा सुत्दा रहेछन् । बगलमा एउटा फोहोर होटेल थियो । जहाँ उनीहरू खान्थे । होटेलको अवस्था हेर्दा थाहा हुन्थ्यो, त्यहाँ सफा र स्वास्थ्यकर भोजन दिइँदैन । त्यस दिनका ती दुई अनुभवले मलाई के लाग्यो भने यहाँ दुइटा नेपाल रहेछ । एउटा महंगा मोटरगाडी चढ्ने नेपाल र अर्को गाउँको गरीब नेपाल ।
यी दुईटा दृश्यबाट म नेपालको विकासको बारेमा सोच्नेहरूलाई भन्न चाहन्छु—नेपालमा केही सडक बने, विजुलीको उत्पादन भयो र हवाइ यातायातको समेत विकास भयो । तर नेपालमा एभ्रो या जेट विमान चढ्ने कति छन् ? विजुलीको सुविधा कतिले उपभोग गर्न सक्छन ? अझ सडककै उपभोग कतिले गर्न पाएका छन् ? काठमाडौँबाट विराटनगर जाने सडकमा प्रतिदिन ३–४ वटा बस यताबाट र ३–४ वटा बस उताबाट आउँछन् । त्यसमा ३–४ सय मानिस आवतजावत गर्लान तर काठमाडौँबाट विराटनगर या उहाँबाट काठमाडौँ ल्याउनेलाने अरू सामान केही छ, जसको ढुवानीबाट त्यो सडकको उपयोग अरू ज्यादा गर्न सकियोस् ।
त्यसकारण विकास भनेको केही ठूला घरहरू, होटलहरू, ठूला सडक, मोटरगाडी, हवाईजहाज र अझ केही औद्योगिक उत्पादन वृद्धिका तथ्याङ्क पनि होइनन् भन्ने मलाई लाग्छ । विकास भनेको के हो भन्ने प्रश्नका साथै विकास कसको लागि हो भन्ने प्रश्न समेत सोचेर मात्र हामीले त्यसको परिभाषा गर्न सकिन्छ ।
के नेपाल भनेको यहाँका चार–पाँचवटा शहर हो ? कि नेपाल भनेको गाउँ हो ? हामीले विकासका कुरा गर्दा विकासले त्यो ग्रामीण परिवारलाई के ग¥यो भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ । यदि ठूलो सडक बन्छ भने सडक त मोटरगाडी जोसित छ उसैले उपयोग गर्छ । जेट प्लेन गाउँलेले चढदैन, बिजुलीको प्रचूर प्रयोग गर्दैन । त्यसकारण मैले प्रधानमन्त्री छँदा योजना आयोगको मिटिङलाई भनेको थिएँ—तपाईहरू भित्तामा राजाको तस्वीरसँगै नेपालको गरीब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्—यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ ? म आज पनि त्यही प्रश्न सोध्दैछु ।
हामीले विकासका कुरा गर्दा अमेरिकाको नमूना देखाएर उदाहरण दिने गरेका छौँ, जो एकदम गलत हो । यो गल्तीबाट कम्युनिष्ट देशहरू समेत मुक्त छैनन् । रुसले पनि आफ्नो औद्योगिक विकासको तथ्याङ्क या रेखाचित्र देखायो भने अमेरिकासित तुलना गरेर मात्र देखाउँछ । रुसको लागि पनि विकासको नमूना अमेरिका नै हो । अमेरिकाले यही शताब्दीको शुरुदेखि विकासको जुन नमूना देखाइदिएको छ त्यही आज संसारको सामु छ र सबै त्यसैको अनुशरण गर्दै छन् ।
अब अमेरिकामा के छ भनेर कुरा ग¥यौँ भने, सवैलाई थाहा छ, अमेरिकामा संसारको ६ प्रतिशत जनता बस्दछन् र अमेरिकाले आफ्नो औद्योगिक विकासको संरक्षणका लागि स्वदेशी तथा विदेशी स्रोतहरू जम्मा गरी संसारको ३० प्रतिशत प्राकृतिक साधनहरू उपभोग गर्छ । अर्थात, ६ प्रतिशतले संसारको पूरा स्रोतको ३० प्रतिशत खाइदिन्छ । यदि भारत र चीनको जनसंख्या दुवै जोड्ने हो र त्यो जनसंख्याले पनि अमेरिकी जनसंख्याकै अनुपातमा संसारको प्रसाधनहरू उपभोग गर्न थाल्ने हो भने संसारको शतप्रतिशत भन्दा पनि बढी प्रसाधनहरू तीनवटा मुलुकले मात्र खाइसक्छन् । अरूले के गर्ने, अरूलाई प्राकृतिक प्रसाधन खोई ?
यो खतरनाक कुरा हो कि हामीहरू हेनरिफोर्डले दिएकै नमूनालाई आफ्नो लक्ष्यका रूपमा अगाडि राखेर विकासका कुरा गर्छौ । ठीक छ, विकासको वृद्धिदर घट्यो भने त्यसमा काफी असन्तुष्ट हुने ठाउँ छ । तर त्योभन्दा पनि असन्तुष्ट हुनुपर्ने कुरा विकासको क्रमले ग्रामीण जनतालाई पछाडि छोडिदिएकोमा छ । आज हामी देशमा औद्योगीकरणको कुरा गर्छौ । औद्योगीकरण या शहरीकरण भनेको त्यस्तो केन्द्रीभूत प्रकृया हो जसले ग्रामीण जनताको बेवास्ता गरेर शहरको मात्र विकास गर्छ । पढाई–लेखाइका लागि शहरै जानुप¥यो, ओखतिमूलोका लागि शहर, किनमेलका लागि
शहर, मनोरञ्जनका लागि पनि शहर—सारांशमा सम्पूर्ण कुराहरू शहरमा मात्र छन् ।
हामीले अहिलेसम्म यस्तै शहरको मात्र विकास गर्ने नमूनाहरूलाई लिएर योजनाहरू बनाएका छौँ जसमा विदेशी सहायताद्वारा निर्मित सडकहरूमा विदेशी मोटरगाडीहरू विदेशी कलपूर्जा र विदेशी तेलले चल्छन्—केवल उपभोक्ता मात्र स्वदेशी छन् । ती पनि मुठ्ठीभर । त्यसकारण हामीले सोध्नु परेको छ—हाम्रो ग्रामीण किसानलाई त्यसले के ग¥यो ? हामीलाई त आज गाउँलेले चलाउन सक्ने प्रविधि चाहिएको छ अर्थात् हाम्रो किसानलाई कस्तो हलो चाहियो ? हलोको वैज्ञानिकीकरण, उन्नत वीजको व्यवस्था गरेर, सिंचाई पु¥याएर उसको कृषि उत्पादन कसरी बढाउन सकिन्छ र उत्पादनलाई कसरी बेच्न सकिन्छ ? नेपाल जस्तो कृषिप्रधान देशमा यो भन्दा बढी सार्थक कुरा के हुन सक्छ ?
अब म तपाईहरूलाई नेपालको वर्तमान आर्थिक अवस्था र राजनीतिक भविष्यबारे दुई–तीन कुरा भन्न चाहन्छु ।
२०१७ सालमा संसदीय व्यवस्था भङ्ग गरेर पंचायती व्यवस्था लागु गरियो । आर्थिक विकासका लागि त्यसो गरिएको हो भन्ने नारा दिइयो । आर्थिक विकास भनेको प्राकृतिक जड स्रोतहरूको परिचालन गर्ने प्रकृया हो, जसद्वारा उपभोग्य वस्तुहरूको उत्पादन गरिन्छ । राजनीतिक विकास भनेको मानिसलाई परिचालन गर्ने प्रकृया हो । मानिसलाई विकासका निमित्त उत्प्रेरित गर्ने राजनीतिक संस्थाहरू हुन्छन्, जसका मार्फत् उनीहरू विकास कार्यमा संलग्न हुन्छन् । २०१७ साल यता, गत बीस वर्षमा मानिसलाई पनि प्राकृतिक स्रोतहरूलाई जस्तै गरी विकासका लागि परिचालित गर्न सकिन्छ भन्ने भ्रमात्मक धारणा लिएर विकास गर्न खोजियो । फलस्वरूप आज देश यो दुर्दशामा पुग्यो । वास्तवमा जड शक्ति–स्रोतहरूलाई भन्दा जनशक्तिलाई परिचालित गर्नु झन् गाह्रो छ । जनताको निहित स्वार्थ भएका राजनीतिक संस्थाहरू नभईकन जनता विकास कार्यका लागि उत्प्रेरित हुँदैनन् ।
अमेरिकामा साधन, स्रोत र पूँजीलाई राष्ट्रको विकास कार्यमा कसरी कति प्रयोग गर्ने भन्ने मात्र प्रश्न छ । अर्थात् त्यहाँको समस्या बजेटको विनियोजन सित सम्वन्धित छ । स्वास्थ्य, शिक्षा, यातायात, प्रतिरक्षा, उद्योग, कृषि या अन्य क्षेत्रहरूमा कति रकम कसरी छुट्याउने भन्ने उनीहरूको प्रश्न हो । तर हाम्रो देशमा यी सव क्षेत्रमा विकास गर्नका लागि साधन, स्रोत र पूँजी कहाँबाट जुटाउने भन्ने समस्या छ । अरू स्रोत केही नभएको ठाउँमा केवल मानवीय शक्ति मात्र परिचालन गरेर विकास गर्ने कुरा आउँछ । त्यही मानवीय शक्तिलाई पनि जड शक्ति समान ठानेर विकासका लागि परिचालन गर्न खोजियो भने त्यसको परिणाम आज नेपालको जुन दुर्दशा छ त्यही हुन्छ ।
आर्थिक विकास र राजनीतिक विकासको के कस्तो सम्बन्ध छ भन्ने कुरा मेरो भनाइको अर्को पक्ष हो । कुनै पनि ठाउँमा विशेषगरी नेपाल जस्तो ठाउँमा आर्थिक विकासको लागि परिचालित हुनसक्ने शक्ति मानवीय शक्ति नै हो भनेर मैले भनिहालेँ । त्यसलाई कुनै एकजनाको सकृय नेतृत्वमा परिचालन गर्न सकिन्छ भन्ने पञ्चायती व्यवस्थाका दार्शनिकहरूको सोचाइ छ । उनीहरूको दलील छ—आखिर विकास प्रकृयाको सञ्चालन गर्ने नेतृत्व एक न एक चाहिन्छ र त्यो राजाको सकृय नेतृत्व बाहेक केही हुन सक्दैन । हाम्रो प्रश्न छ—यदि यही मात्र एउटा उपाय हो भने राजा भएको ठाउँमा त राजाको नेतृत्वमा विकास गर्ने, तर राजा नभएका ठाउँमा विकासका लागि जनशक्ति परिचालन गर्ने नेतृत्व कसले गर्छ ? सारांशमा हाम्रो भनाई के हो भने विकास जसलाई चाहिएको छ, उसैले विकासका प्राथमिकताहरू निर्धारण गर्छ । विकासका योजनाहरू उसैले बनाउँछ र तिनको कार्यान्वयन गर्न पे्ररित पनि हुन्छ—त्यो जनता हो ।
सार्वजनिक या राष्ट्रिय महत्वको कुनै प्रश्नमाथि विवाद उठेमा जनताले निर्णय गर्छ । कसैको सकृय नेतृत्वले होइन । यसरी राष्ट्रिय महत्वका प्रश्नहरूको चुनावद्वारा निर्णय गर्ने अधिकार जनताको हो । त्यसकारण जनतालाई विकास कार्यका लागि उत्प्रेरित हुने राजनीतिक संस्थाहरू मध्ये एक मौलिक अधिकारहरूको प्रत्याभूति हो । मौलिक अधिकार भन्नाले बोल्ने, विचार गर्ने, आफ्नो विचार फैलाउने, संगठन गर्ने र समानताको आधारमा न्याय पाउने अधिकारहरू पर्छन । समानताको आधारमा न्याय दिनका लागि अदालतले सरकारमाथि पनि न्याय गर्ने क्षमता राख्नुपर्छ । चाकरीद्वारा निर्मित अदालतले त्यस्तो क्षमता राख्दैन । दोस्रो, राष्ट्रको संचालन या प्रशासन जनताद्वारा छानिएका प्रतिनिधिहरूले गर्ने व्यवस्था हो । छान्ने या छानिने भन्ने बित्तिकै दुई (या त्यो भन्दा बढी) विचारधाराहरूमा एउटालाई छान्ने भन्ने कुरा आउँछ । त्यसकारण चुनाव भनेको आफ्नो विचार जनसमक्ष राखेर त्यसै विचार या सिद्धान्तका लागि मत प्राप्त गर्ने प्रकृया हो । यदि निर्वाचित जनप्रतिनिधिद्वारा शासन व्यवस्था चलाउने हो भने चुनावमा कुनै किसिमको छेकबार राख्नु बेठिक हुन्छ ।
म पञ्चायतको घोर विरोधी भएकाले त्यसवापत अरूले जस्तै मैले पनि गत बीस वर्षमा अनेक दुःख कष्ट झेल्नुृप¥यो । जे भए पनि म कुनै कुरालाई व्यक्तिगत आधारमा लिन्न । तर मलाई के लाग्छ भने जनअधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ । राजनीतिमा दमन र आर्थिक क्षेत्रमा शोषण—म यी दुवै कुराको विरुद्धमा छु ।
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी युनियनद्वारा आयोजित विचार गोष्ठीमा दिएको भाषण, १२ साउन २०३७ ।
सभार : ‘बी.पी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता’

No comments:

Post a Comment