Saturday, February 1, 2020

तिम्रो देउतासँग के बर माग्दैछौ ? 

तिम्रो देउतासँग के बर माग्दैछौ ? 
( कबिता)

गरिबीको च्यादर ओढिरहेको मुटुमा 
टेकाउँदै धर्मका पाइताला
फलाक्दै शान्तिको मन्त्र
चढाउँदै सूर्यलाई अर्घको पानी
तम्रा देउतासँग के बर माग्दैछौ गोसाइँ
देउता त हाम्रा पनि छन् 
हाम्रा पुर्खाले पनि पुजेका हुन्
र, हामी पनि पुजिरहेकै छौं
तर हामीले त पूजामा 
मात्र मन चढाउँछौ मालिक
आकाशका तारा गन्दै बगर नाप्दै
दिन बताइरहेको फिरन्तेको बाटै बन्द गरेर
अग्निकुण्डको नक्सा कोर्दै 
जिन्दगीको दोबाटोलाई धुवाँदार बनाएर
कस्तो आकृति खोज्दैछौ मालिक ?
छाँद हालेर रुन खोज्दा गरिबले
थापेजस्तो गरेर अञ्जुली
धक्क्याउँदै उसको जिन्दगीकै ढिस्को
कर्मकाण्डको कुनचाहिँ पाना बढी पल्टाउँछौ ?
कयौंका मुटु मिचेर कचोल बनाइसकेका 
तिम्रा कपटी हात
टुनामुना लगाउने तिम्रो हेराइ
सबै बुझेको छु मालिक 
तिमीले योजनाका ड्याम बाँध्दै गर्दा
यता मजस्ता कयौंका मनमा परिसक्छ भुमरी
भत्किन सुरु हुन्छ जिन्दगीको सिँढी
देख्न सक्छु अचेल सजिलैसँग
सेती नदीको खोँचमा बनेका खुनिकुण्टाझंै
तिम्रा मनका खुनिकुण्टाहरु 
सेतीले त दिन्छ तैरिने अवसर 
कम्तीमा मृत्युपछि नै भए पनि 
तर सोझा मनहरु सक्दैनन् रे 
तिम्रो चातुर्यको भुमरीबाट उम्किन
यथार्थका टपरी जति पाइतालामुनि लुकाएर 
कस्तो टपरीमा राख्न लगाउँछौ छाक धान्ने चामल 
अनि कुनचाहिँ दुनामा बाल्न लगाउँछौ जिन्दगीको दियो ?
भन न गोसाइँ
चढाउन सिकाएर सूर्यलाई अर्घको जल
तम्रा देउतासँग के बर मागिदिन्छौ ?
( साभार- बाह्रखरी)
 रचनाकार- हेमन्त बिबश
फोटो साभार- गुगल
**-**

No comments:

Post a Comment