Wednesday, February 24, 2021

कृष्णका पत्नी र छोराहरू अनि राधाको प्रसंग

 


सञ्जय साह मित्र २०७७ फागुन १० गते १२:५० मा प्रकाशित
1.1kShares
facebook sharing button
twitter sharing button
email sharing button

सञ्जय साह मित्र,

कृष्णलाई धेरैले भगवान मान्ने गर्दछन्।कृष्णले आफूलाई कैयौँ ठाउँमा भगवान नै भनेका छन्।सर्वसाधारण तथा राजा–महाराजाहरुले पनि कृष्णलाई भगवान स्कीकार गरेका छन्।हिन्दु धर्मशास्त्रले कृष्णलाई विष्णुका दश अवतारमध्ये एक मानेका छन्।विभिन्न देशमा भगवान भनेर पूजित कृष्णको जन्म जेलमा भएको थियो।उनको जन्म इसापूर्व ३११२ मा भएको मानिन्छ,यसलाई आधार मान्ने हो भने कृष्णको जन्म भएको करिब ५१३२ वर्ष भएको मान्नुपर्ने देखिन्छ।हिन्दु धर्मशास्त्रले मान्ने गरेको तथा अहिलेसम्म ग्रामीण धार्मिक समाजमा प्रचलनमा रहेको चार युगमध्ये द्वापर युगको सबैभन्दा मुख्य घटनाको रूपमा महाभारतलाई मानिएको छ।महाभारत युद्धमा मुख्य नायक कृष्ण नै थिए र यदि साहित्यको दृष्टिकोणले हेर्ने हो भने पनि विश्वकै सबैभन्दा ठूलो प्राचीन महाकाव्य मानिएको महाभारतका नायक कृष्ण नै हुन्।

कृष्णले बाल्यकालदेखि नै धेरै सङ्घर्ष गर्नुपरेको थियो।कृष्णलाई आदर्शीकरण पनि गरिएको छ।कृष्णको बारेमा धेरै चर्चा भएको पाइन्छ।विश्वका कुनै पनि हिन्दूले कृष्णलाई सजिलै चिन्दछन् तर कृष्णका सन्तानको बारेमा कमैले जानकारी राख्दछन्।

कृष्णका आठ पत्नी थिए।आठ जना सित कृष्णले विधिवत विवाह गरेका थिए । आठ पत्नीलाई सम्बोधन गर्न शास्त्रमा अष्टभार्या भन्ने गरिएको पाइन्छ । आठ पत्नीको बारेमा विभिन्न ग्रन्थहरु स्पष्ट छन्।सोधीखोजी गर्दा कृष्णका जेठी पत्नी रुक्मिणी हुन्।यसै गरी कुनै सूर्यवंशीकी पुत्री कालिंदी,अवन्तीराजकी कन्या मित्रविंदा,अवधपति नग्नजितकी पुत्री सत्या,जाम्बवानकी पुत्री जाम्बवती, केकयराजका दुई छोरीहरु भद्रा र रोहिणी,मद्रराजकी कन्या सुशीला, सत्राजितकी पुत्री सत्यभामा र शैब्यराजकी पुत्री लक्ष्मणा कृष्णका अन्य पत्नीहरु हुन्।कृष्णको कसरी यत्ति धेरै बिहे हुन पुग्यो त ? यसको उत्तर जान्न त त्यही युगमा पुग्नु पर्दछ तर पनि कृष्ण आफ्नो युगका नायक थिए,वास्तवमा उनी महानायक थिए।कतिपय बिहे उनले युद्ध जितेर गरे।कतिपय कन्याले मन पराएर बिहे गरे वा युद्धमा पराजित राजाले आफ्नो छोरीलाई पालन गर्ने वचन लिएर छोरीको हात दिए।यसरी कृष्णका अनेक पत्नी थिए भन्ने सामाजिक कथन पनि रहेको छ अहिलेसम्म।सम्भवतः यसै कारण कृष्णलाई यसै पनि प्रेमको अवतार मान्ने गरिएको छ।

कृष्णको जीवनमा अधिकांश पत्नीहरुले ठूला सहयोग गरेका छन्।ती प्रसंग र सन्दर्भअनुसार तिनीहरुको भूमिकाको स्मरण हुन्छ।कृष्णका पत्नीहरुमध्ये सत्यभामालाई लागेको थियो उनलाई कृष्णले सबै पत्नीहरुभन्दा बढी माया गर्दछन् ।यो उनको भ्रम थियो।यो भ्रम हुने कारण यो पनि थियो कि सत्यभामाकै सहायताले कृष्णले नरकासुरको बध गरेका थिए।वास्तवमा कृष्णले पनि यो कुरा बुझेका थिए,यसैले उनले एक सन्दर्भमा सत्यभामालाई यो कुरा स्पष्ट पारिदिएका छन्।यथार्थमा कृष्ण सबै पत्नीलाई समान प्रेम गर्दथे।

कृष्णका पत्नीहरुबारे केही अन्यौल रहेजस्तै उनका पत्नीबाट कतिवटा पुत्रहरु प्राप्त भए भन्ने विषयमा त्यत्ति धेरै स्पष्ट भएको पाइन्न।कृष्णका कति पुत्र थिए भन्ने विषयमा कृष्णका विषयमा जति स्पष्ट छन् त्यत्ति स्पष्ट उनका छोराहरुको विषयमा भने भएको देखिन्न।कृष्णका आठ पत्नीबाट असी पुत्र प्राप्त भएको उल्लेख कतै कतै भेटिन्छ।

कृष्ण र रुक्मिणीका प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, चारुदेह, सुचारु, चरुगुप्त, भद्रचारु,चारुचन्द्र,विचारु र चारु गरी दश पुत्र थिए।कृष्ण र जाम्बवतीका साम्ब, सुमित्र,पुरुजित,शतजित,सहस्त्रजित,विजय,चित्रकेतु,वसुमान,द्रविड र क्रतु गरी दश पुत्र थिए।यसै गरी कृष्ण र सत्यभामाका भानु,सुभानु,स्वरभानु,प्रभानु, भानुमान,चन्द्रभानु,वृहद्भानु,अतिभानु श्रीभानु र प्रतिभानु गरी दश पुत्र थिए।यसै गरी कृष्ण र कालिन्दीका श्रुत,कवि,वृष,वीर,सुबाहु,भद्र,शान्ति,दर्श,पूर्णमास र सोमक गरी दश पुत्र थिए।यसै गरी कृष्ण र मित्रविन्दाका वृक,हर्ष,अनील, गृध,वर्धन,अनद,महांस,पावन,वहिन र क्षुधि गरी दश पुत्र थिए ।कृष्ण र लक्ष्मणाका प्रघोष,गात्रवान,सिंह,बल,प्रबल,ऊध्र्वग,महाशक्ति,सह,ओज र अपराजित गरी दश पुत्र थिए।यसै गरी कृष्ण र सत्याका वीर,चन्द्र,अश्वसेन, चित्रगुप्त,वेगवान,वृष,आम,शंकु,वसु र कृति गरी दश पुत्र थिए।यसै गरी कृष्ण र भद्राका संग्रामजित,वृहत्सेन,शूर,प्रहरण,अरिजित,जय,सुभद्र,वाम,आयु र सत्यक गरी दश पुत्र थिए।

कतिपयले कृष्णले विधिवत विवाह गरेका आठ पत्नीबाट असी छोराको जन्म भएको कुरालाई मान्दै के पनि थपेका छन् भने उनका थप छोराहरु पनि थिए। तर यसबारे विस्तृत बताएका छैनन्।उनका भित्रिया पत्नीहरुबाट पनि थप सन्तानोत्पन्न भएको सङ्केत गरिएको हुन सक्छ।

कृष्ण जीवित छँदै उनका धेरै पुत्र मारिएका थिए । महाभारत समाप्त भएको करिब ३६ वर्षपछि कृष्णका धेरै पुत्रहरुको एकापसमा लडाइँ भएर मृत्यु भएको थियो ।
कृष्णका पुत्रहरुबारे त धेरै जानकारी पाउन सकिएको छ।उनका पुत्रको संख्याबारे मतभिन्नता भने अवश्य रहेको छ तर कृष्णका कतिवटा छोरी थिए?यसबारे जानकारी पाउन निकै मुस्किल रहेको छ तर कृष्ण र रुक्मिणीबाट एक पुत्रीरत्न प्राप्त भएको भने धेरै ठाउँमा उल्लेख रहेको पाइन्छ।कृष्ण र रुक्मिणीको पुत्रीको नाम हो – चारुवती।सम्भवतः चारुवतीलाई चारुमति पनि भनिएको पाइन्छ वा चारुवती र चारुमति गरी दुई पात्र पनि हुन सक्छन्।

कृष्णका पुत्रहरुमा प्रद्युम्न,साम्ब,सट,सारण र गद निकै प्रसिद्ध भए । यिनीहरु इतिहासमा निकै प्रसिद्ध छन्।कृष्णका नातिहरुमा अनिरुद्ध र वज्रको प्रसिद्धिको चर्चा पनि पाइन्छ तर अन्य पुत्र तथा नातिहरुबारे खासै धेरै चर्चा वा उल्लेख गरिएको पाइन्न।

कृष्ण र राधाको प्रसंग
कृष्णको नाम जहिले पनि राधासित जोडिन्छ।राधा कृष्णको बाल्यकालको साथी थिइन्।११ वर्षको उमेरमा राधासित दुई दिनपछि फर्केर आउँछु भनेर गएका कृष्ण कहिल्यै फर्केर आएनन्।८० वर्षपछि झन्डै ९१ वर्षको उमेरमा कृष्ण भएकै ठाउँमा राधा पुगेकी थिइन्।त्यत्तिखेर महाभारत युद्ध सिद्धिसकेको थियो।महाभारत युद्ध सकिएको केही समयपछि युद्धभूमिको भयंकर अवस्थालाई देखेर विह्वल र विक्षिप्त बनेका थिए।

कृष्णलाई राधाले भेटेपछि त्यहीँ प्राणत्याग गरेकी थिइन्।सामान्य वार्तालाप भएको थियो दुई बीच।दुवैले जीवनको त्यो घडीमा आफ्ना बाल्यकाललाई सम्झेका थिए। दुवैले सुन्दर बाल्यकाललाई सम्झेर एकअर्कालाई नदेखाउने वा नदेखिने गरी अश्रुधार चुहाएका थिए । दुवैले रोएके दुवैले थाहा पाइसकेका थिए।आँखा देख्न नसक्ने भइसकेकी राधाले कृष्णको सबै कुरा देखिरहेकी थिइन्।राधाको देहत्यागले कृष्ण झन् असह्य वेदनाले छटपटिएका थिए।

माथि नै भनिएको छ – इसापूर्व ३११२ तिर कृष्णको जन्म भएको थियो । महाभारतका वास्तविक नायक कृष्णको उमेर महाभारतको समयमा करिब ५६ वर्षको थियो अर्थात् महाभारत युद्धको समयमा कृष्णको उमेर ५६ वर्ष रहेको बुझिन आउँछ र महाभारत समाप्त भएको ३५÷३६ वर्षपछि इसापूर्व ३०२० तिर कृष्णको देहावसान भएको मानिन्छ।

कृष्णलाई कुनै व्याधाले हानेको तीर लागेर मृत्यु भएको थियो।र अन्त्यमा,कृष्ण आफैँमा एक संघर्षको नाम पनि हो । कतिपय विद्वानले यो पनि भनेका छन् कि कृष्ण यस्तो ऐना हो जहाँ अगाडि जसले जस्तो रुप लिएर उभिन्छ त्यस्तै अनुहार देखा पर्दछ रे । कृष्ण कूटनीतिज्ञ, राजनीतिज्ञ, योद्धा, सारथि, साथी, गुरु, परम ज्ञानी, असल शिष्य हुन्।कृष्ण शासक पनि हुन् र शासित पनि । अत्यन्त धेरै सहन सक्ने प्रतिभावान पनि हुन्।आफूलाई हदैसम्मको दयावान पनि देखाएका छन्।कृष्णलाई कैयौँका प्रिय वा प्रेमी पनि मानिन्छ।द्वापरमा मात्र होइन, कलियुगमा पनि मीरालाई कृष्णले दर्शन दिएको कुरा पनि सुनिन्छ । मोहिनी अवतार पनि कृष्णले लिएको मानिन्छ अर्थात् कृष्णमा यो गुण थियो कि उनीप्रति दुनिया मोहित हुन्थे ।कृष्णको धार्मिक,आध्यात्मिक तथा दार्शनिक विचार आज पनि उत्तिकै महत्वपूर्ण छन्।उनका वाणीबारे आज पनि अध्ययन भइरहेको भनिन्छ । कृष्णले दिएको उपदेशहरुको संग्रहलाई संसारले गीताको रुपमा पूजा गर्ने गर्दछ । गीतामा सबै दर्शन पाइन्छ भन्छन्।यो विज्ञानको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेको मानिन्छ।गीताको ज्ञान हासिल गर्ने व्यक्ति अद्यपर्यन्त विद्वान मान्ने चलन रहेको छ।विश्वका विभिन्न देशमा गीताको आधिकारिक पढाइ हुने गर्दछ। हिन्दु धर्मबाहेकका धर्मावलम्बीहरुले पनि गीतालाई उच्च कोटिको ज्ञान दिने पुस्तकको रुपमा स्वीकार गरेका छन् र कृष्णलाई श्रद्धा तथा सम्मान गर्ने गरेका छन्।

कृष्णलाई नेपाल पनि आएका थिए।कृष्ण अहिलेको रौतहटको भूमिमा पनि पाइला टेकेका थिए।रौतहटमा रहेका शिवालयमध्ये एकमा पूजा गरेका थिए भन्ने विश्वास पनि गरिन्छ।कृष्णको नेपाल यात्रा र रौतहट बसाइँ पनि महत्वपूर्ण पक्ष हो।कुनै एक दिन यस विषयमा स्पष्ट पार्ने प्रयास गर्नेछु।

1.1kShares
facebook sharing button
twitter sharing button
email sharing button

प्रतिक्रिया

No comments:

Post a Comment