बोलचालमा मनलाइ सबभन्दा नजिकको साथी पनि भनिन्छ । हामीहरु मनसंग कुरा गर्छौ ,मनलाइ सोध्छौ, मनलाइ सम्झाउछौ र मनसंगै घुम्छौ डुल्छौ पनि । पुराना र भाबी समय सम्झदा समेत मनले साथ छोडदैन। तर यो मन न देखिन्छ , न कतै अस्तित्वमा रहेकोछ । ब्यबहारमा भने मन मुटुमा बसेको मानिन्छ ।
सायद मन र दिमागको नजिकको सम्बन्ध पनि छ क्या रे । त्यसैले मनमा आएका कुरा दिमागमा रहेका हुनसक्छन्। मानिस वा प्राणीमा रहेको दु:ख, सुख, दया माया आदि संवेगलाई पनि मन नै हो भनिन्छ। यसरि मनलाइ र भावनालाइ समानार्थी पनि मानिन्छ ।
शब्दकोषमा ’ प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति ' लाइ मन भनिएकोछ ।
जे होस,मन शरीरभित्रको अदृश्य प्रतिक्रिया हो । यसै बाट विचार उत्पन्न हुन्छ । यही मनको प्रकृति वा भनौ स्वभावले गर्दा मानिसलगायत हरेक प्राणीहरूमा क्रिया प्रतिक्रिया चलि रहन्छ र त्यही मन अनुसारकै स्वभावहरू बन्दछन् ।
तर मनको व्याख्या गर्न त्यत्ति सजिलो छैन। भनिन्छ– यसका अनेक अवस्था छन् । पूर्वीय दर्शनले जाग्रत, स्वप्न र सुषुप्त गर तीन अवस्था बताएको छ । उता सुप्रसिद्ध मनोविज्ञानवेत्ता सिगमण्ड फ्रायडले पनि मनलाई तीन भाग-सचेतन, अचेतन र अर्धचेतनमा बाँडेका छन् । हामीले गर्ने हरेक कार्य चेतन अर्थात जाग्रत मनबाट गरिन्छन् । यो मनलाई बायाँ मष्तिष्कसँग सम्बन्धित हुन्छ भनिन्छ। अचेतन मन व्यक्तिलाई जानकारी नहुने, ज्ञान र होस नभएको वा थाहै नपाइने अवस्था हो। अर्धचेतन पूर्णरूपले चेतन पनि नभएको र पूरै मात्रामा बेहोस पनि नभएको, आधा लठ्ठिएको जस्तो अवस्था हो।
मनले गर्ने अनुभूति अनुरुप नै स्वभावहरू बनेका हुन्छन् । मन प्रकाश जतिकै ऊर्जावान र बायुभन्दा बढि वेगवान मानिन्छ। मनले गर्ने अनुभूतिको आधारमा हामी रुन्छौ, हाँस्छौ, लडछौ, भिडछौ । मन नौनि जस्तो कडा , ढुंगा जतिको कमलो पनि हुन सक्छ । आगो जतिकै तातो र हिउ जतिकै शितल पनि बन्दछ । यो परिवर्तित मनले हाम्रो व्यवहारलाई निर्देशित गर्दछ। त्यसैले हामी उही व्यक्ति उस्तै अवस्थामा पनि कहिले दुखी हुन्छौं, कहिले सुखी हुन्छौं। गितामा ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयो: भनिएकोछ । अर्थात मन नै मनुष्यको लागि बन्धन र मोक्षको मुल कारण हो ।
न्यायदर्शनको मतानुसार मन एउटा त्यस्तो द्रव्य हो जो जीव र आत्माभन्दा फरक छ। योगशास्त्रमा मनलाई इन्दियहरूको मालिकका रूपमा परिभाषित गरिएको पाइन्छ। जब अन्तःकरण चिन्तन प्रक्रियामा प्रवृत्त हुन्छ त्यसबेला मात्र त्यो मन हुन्छ। मनका बारेमा भौतिक र आध्यात्मिक रुपमा दुइ भिन्न दृष्टिकोणबाट चर्चा गरेको पाइन्छ।
भौतिकवादको मान्यतानुसार शरीर एक स्वचालित यन्त्र हो। यसभित्र त्यस्तो कुनै पदार्थ बसेको छैन जसले यो शरीरलाई चलायमान बनाएको होस्। इन्द्रियहरूको अगाडि विषयवस्तु देखापर्नासाथ आफैँ प्रतिक्रिया देखा पर्दछ। शरीर एउटा यस्तो अद्भूत यन्त्र हो जुन आफैँ आवश्यकतानुसार चल्न सुरु गरिहाल्छ। यसभित्र मन नाम गरेको त्यस्तो कुनै अभौतिक तत्त्व छैन। भौतिक तथा रसायनशास्त्रका नियमहरूद्वारा शरीरभित्रको मस्तिष्क, तन्त्रिका तन्त्र आदि स्वचालित हुन्छन् र क्रियाप्रतिक्रिया प्रारम्भ हुन्छ । शरिर जस्तै ब्रह्माण्डको विकास पनि प्राकृतिक शक्तिद्वारा स्वभावअनुसार आफैँ भएको हो।
आध्यात्मिक अर्थमा मन र चेतनाको गहिरो सम्बन्ध छ। चेतन मन बिना यो यन्त्रवत् शरीरले काम गर्नै सक्दैन। यन्त्रमा उद्दीपक (Stimulus) हुनासाथ एक निश्चित अनुक्रिया हुन्छ तर मानवमा त्यस्तो हुँदैन। बिकल्पहरुबाट छानेर एउटा लिनु पर्दा निर्णय कसले गर्छ ? मेसिनले यस्तो खालको अवस्थामा निर्णय दिन सक्दैन। यसका लागि चेतन मन वा चेतना आवश्यक पर्दछ। मानिसमा पुराना घटनाहरूको स्मरण रहन्छ। काम, क्रोध, लोभ, मोह आदिको प्रभाव पर्दछ। के मेसिनमा यस्तो सम्भव छ ? कागजमा लेखिएका अक्षर पढ्न सकियो भने यिनै काला अक्षरहरूले जीवन रूपान्तरित हुन्छ। यी यस्ता खालका तमाम विषयहरूलाई मेसिनले अनुभव गर्न सक्दैन। अतः भौतिकले भौतिकको सञ्चालन र उपयोग गर्न सक्दैन। त्यसैले चेतन मन शरीरभन्दा भिन्न छ र शरीरभित्र नै स्थिर छ। जुन अभौतिक हो। सांख्यदर्शनले मनलाई भौतिकको स्थानमा राखेको छ। जब मस्तिष्कका लागि मन शब्दको प्रयोग हुन्छ त्यसबेला मनलाई भौतिक मान्न सकिन्छ। चेतनाको अर्थमा प्रयोग गर्दा मन अभौतिक हुन्छ।
शुक्ल यजुर्वेदको चौतिसौ अध्यायमा पनि चंचल मानबिय मनलाइ संयमित पारेर बिचारहरुलाइ शुभ संकल्पयुक्त बनाउनका लागि विशिष्ट प्रधान सूक्त या मंत्र उल्लेख गरिएकाछन् । रुद्राष्टाध्यायीका यि जम्माजम्मी 10 श्लोक मध्येका छः श्लोकहरु बैदिक मन्त्रको अदभुत संकलन मानिन्छ ।
मनलाइ इन्द्रियको स्वामी पनि भनिन्छ । मनले एकतिर इन्द्रियहरु मार्फत भौतिक विषयवस्तुहरुको तथ्य सूचना प्राप्त गर्दछ भने अर्कोतर्फ ज्ञानरुपी प्रकाश बनेर ति तथ्यहरुको विश्लेषण गरि इंद्रियहरुलाइ निर्देश समेत गर्दछ । यहि प्रक्रिया अन्तर्गत विचारहरु यथोचित कर्म गर्न उत्प्रेरित हुन्छन् । ।
अतः शिव संकल्पसूक्तमा मनलाइ शुभ र पवित्र विचार स्थापनाको लागि आव्हान गरिन्छ । यसरि मन र इन्द्रिय जति शुभसंकल्प युक्त हुन्छन्, जीवन र यसका अभीष्ट कर्महरु पनि त्यत्तिकै शुभ, सुंदर, पवित्र र कल्याणमय हुने गर्दछन् ।
शिवसंकल्प सूक्तको पुर्णपाठ हेरौ ।
यज्जाग्रतो दूरमुदैति दैवं तदु सुप्तस्य तथैवैति ।
दूरंगमं ज्योतिषां ज्योतिरेकं तन्मे मनः शिवसङ्कल्पमस्तु ॥१॥
त्यो दिव्य ज्योतिमय शक्ति (मन) जो हाम्रो जागृत वा सुप्त सबै अवस्थामा टाढा टाढा सम्म जान सक्छ र निन्द्रावस्थामा पनि हामीलाइ बिचरण गराइ रहेको हुन्छ, त्यो प्रकाशमान श्रोत जो हाम्रा इन्द्रियहरुलाइ प्रकाशित गर्दछ, त्यो मेरो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारयुक्त) होस् ।
अर्थात त्यो डुलुवा मन तेजस्वी इन्द्रियहरुको ज्योति हो । त्यसैले हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।
येन कर्माण्यपसो मनीषिणो यज्ञे कृण्वन्ति विदथेषु धीराः ।
यदपूर्वं यक्षमन्तः प्रजानां तन्मे मनः शिवसङ्कल्पमस्तु ॥२॥
जुन मनको सहायताले ज्ञानीजनहरु (ऋषिमुनि इत्यादि) कर्मयोगको साधनामा लीन भएर यज्ञ,जप,तप गर्दैछन र जो सबै मानिसको शरीरमा विलक्षण रुपले स्थित छ, मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।
अर्थात सत्कर्ममा लागेका मनिषिहरुमा भएको जस्तो त्यो मन सबैमा बिद्यमान छ । त्यो हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।
यत् प्रज्ञानमुत चेतो धृतिश्च यज्ज्योतिरन्तरमृतं प्रजासु ।
यस्मान्न ऋते किञ्चन कर्म क्रियते तन्मे मनः शिवसङ्कल्पमस्तु ॥३॥
जो मन ज्ञान, चित्त , धैर्य स्वरूप , अविनाशी आत्मासित संयुक्त भएर यी समस्त प्राणि भित्र ज्योति स्वरुपले विद्यमान छ, त्यो मेरो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।
अर्थात ज्ञानी, धैर्यतायुक्त र चेतनशील मन हाम्रो अन्तस्करणलाइ प्रकासमान बनावस् तथा असल कल्याणकारी काममा लागि रहोस् ।
येनेदं भूतं भुवनं भविष्यत्परिगृहीतममृतेन सर्वम् ।
येन यज्ञस्तायते सप्तहोता तन्मे मनः शिवसङ्कल्पमस्तु ॥४॥
जुन शाश्वत मन द्वारा भूत,भविष्य र वर्तमान कालका सारा वस्तु संपुर्ण रुपले ज्ञात हुन्छन र जुन मनद्वारा सप्तहोत्रिय यज्ञ (सात ब्राह्मणद्वारा गरिने यज्ञ) समेत गर्न सकिन्छ, त्यो मेरो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।
अर्थात सबै कालको ज्ञानलाइ प्रत्यक्ष अनुभव गर्ने मन नै याज्ञिकहरुबाट यज्ञ सम्पन्न गराउन समर्थ हुन्छ । त्यस्तै हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।
यस्मिन्नृचः साम यजूंषि यस्मिन् प्रतिष्ठिता रथनाभाविवाराः ।
यस्मिंश्चित्तं सर्वमोतं प्रजानां तन्मे मनः शिवसङ्कल्पमस्तु ॥५॥
जुन मनमा ऋग्वेदका ऋचाहरु र सामवेद तथा यजुर्वेदका मंत्र त्यसै गरि स्थापित छन्, जसरी रथका पाङ्ग्राका धुरीशीत तील्लिहरु जोडिएका हुन्छन, जसमा सबै प्राणिका ज्ञान कपड़ा भित्रको धागो जस्तै बुनिएको हुन्छ, मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचार युक्त) होस् ।
अर्थात जसमा बेदका सम्पुर्ण ऋचाहरु प्रतिष्ठित छन् र रथका धुरामाआड लागेका पाङ्ग्रा जस्ता भएर अटाएका छन् , त्यो हाम्रो हितकारी ज्ञानयुक्त मन असल र कल्याणकारी काममा लागि रहोस् ।
सुषारथिरश्वानिव यन्मनुष्यान् नेनीयतेऽभीशुभिर्वाजिन इव ।
हृत्प्रतिष्ठं यदजिरं जविष्ठं तन्मे मनः शिवसङ्कल्पमस्तु ॥६॥
जो मन प्रतेक मनुष्येन्द्रियका लगामद्वारा त्यसै गरि घुम्छ, जसरी एक कुशल सारथी लगामद्वारा रथका वेगवान अश्वहरुलाइ नियंत्रित गरेर दौड़ाउन सक्छ । आयुरहित(अजर)तथा अति वेगवान र प्रणिहरुका हृदयमा स्थित मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचार युक्त) होस् ।
अर्थात सिपालु सारथीले रथका घोडाहरुलाइ नियन्त्रित गरेर गन्तब्यमा लैजान हाँके जस्तै गरेर यो हाम्रो मनले पनि असल र कल्याणकारी काममा लाग्न प्रेरित गरि रहेको होस् ।
अन्तमा,
हाम्रो मन सुसुप्त वा जागृत दुबै अवस्थामा टाढा टाढासम्म जान सक्छ। नित्य प्रकासमान छ र इन्द्रियहरुलाइ पथ प्रदर्शन गरिरहन्छ । यो मानव शरीरभित्र बिलक्षण रुपले स्थित छ । ज्ञानी जनहरुलाइ कर्मका लागि प्रबृत गरिरहन्छ । यो अबिनाशी आत्मासंग संयुक्त भएर बसेको हुन्छ । शाश्वत मनलाइ सर्बकालको ज्ञान रहन्छ । यो सबैलाइ योग्य बनाएर इच्छित कार्य गराउन समर्थ छ । यस भित्र बेदका सबै ऋचाहरु संश्लेषित छन । कपडा भित्र धागो र पांग्रासंग तिल्लि जोडिए जस्तै सारा चेतना यसैसंग जोडिएकोछ । कुशल चालकले बाहनलाइ दौडाए जस्तै मनुष्येन्द्रियलाइ मनले जता पनि दौडाउन कुदाउन सक्दछ ।
यो बलशाली मन अशल काममा प्रबृत रहोस । कल्याणकारि जगनियन्तासंग यहि प्रार्थना गरौं । अस्तु
&&&
***यो मेरो मनमा सधैँ बनिरहोस, सद्कर्मको धारणा***
जसले घुम्छ घुमाउदोछ जगतै जागा र सुत्दा पनि
जसको दिब्य प्रकाशले हरघडी सारा उज्यालो छरि
हाम्रा ज्ञान र कर्ममा रत हुने इन्द्रिय हुन्छन सुरा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।1।।
ज्ञानी जनहरुमा जमेर जसले यज्ञादि गर्दो पुरा
मेरो देह बिषे बिलक्षण बनि बस्ने सदा सर्बदा
ति मेरा मनिषिहरु सरह नै यो देहमा बास हुँदा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।2।।
कैले नाश न भै समाहित बनि जो बस्छ आत्मा सित
ज्ञानी चेतनशील धैर्य रुपमा जो हुन्छ प्रकाशित
सारा कर्महरु प्रबृत रहँदा जो छुन्छ भित्रि जरा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।3।।
जो शाश्वत छ सदा सबै समयमा जो बुझ्छ सारा कुरा
जस्ले नित्य दिएर साथ सबका यज्ञादि हुन्छन पुरा
सारा ज्ञानहरु गुथेर जसले सामर्थ्य थप्ने सदा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।4।।
सारा बेद ऋचाहरु बिषे धूरि बनि बस्छ जो
धागो झै सुत बस्त्रमा र रथमा पांग्रा सरि हुन्छ जो
जसको आड लिँएर नै शरिर यो हिडदो छ सुमार्गमा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।5।।
हाम्रा इन्द्रियका लगाम जसका हुन्छन सदा हातमा
बाटोमा ब्यबधानलाइ जसले पन्छ्याउदै जानमा
जो बन्दो छ नितान्त नायक सुरो त्यो सारथी सर्बदा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।6।।
** शुभम् **,
No comments:
Post a Comment