Friday, September 9, 2016

हाम्रा चाडपर्ब ; ग्रामिण पर्यटनका आधार





                                                                             
 साभार- श्रीकान्त खतिवडा, आदर्श समाज
     पर्यटनको सोझो सम्बन्ध प्रकृति, संस्कृति र साहसिक गतिविधिसँग हुन्छ। पर्यटकलाई सन्तुष्टि प्रदान गर्ने पर्यटकीय सम्पदा प्रकृति र संस्कृतिमा आधारित हुन्छन्। यसर्थ कुनै पनि देशको पर्यटन विकासका लागि त्यहाँ रहेका सांस्कृतिक एवं प्राकृतिक सम्पदाको भूमिका महत्वपूर्ण हुन्छ। मनोरम प्रकृतिले भरिपूर्ण सुन्दर दृश्यवालोकन तथा सांस्कृतिक विविधतायुक्त परम्परागत जीवनशैली र सामाजिक चालचलन पर्यटकको मन जित्ने विषय हुन्। नेपालको सर्न्दर्भलाई हेर्दा सन् १९५० को दशकमा हिमाल आरोहणसँगै हिमाली क्षेत्रमा पदयात्रा गर्नेजस्ता प्राकृतिक सम्पदामा आधारित साहसिक पर्यटकीय क्रियाकलाप विस्तारै साँस्कृतिक गतिविधितर्फ उन्मुख भएको देखिन्छ। पदयात्रा क्षेत्रसँगै वासस्थान रहेका समुदायले मनाउने चार्डपर्व, सामाजिक जीवनशैली र सां’स्कृतिक गतिविधितर्फ विस्तारै पर्यटकको रुचि बढ्दै गएको देखिन्छ। देवताको वासस्थान रहेको तथा मन्दिरै मन्दिरको सहर भनेर चिनिने काठमाडौंको स्थानीय मौलिक संस्कृति, चार्डपर्व, मेला तथा जात्राले समेत पर्यटकको रुचि र आकर्षण बढाएको देखिन्छ। यसै क्रममा काठमाण्डौ उपत्यकाको सांस्कृतिक सम्पदा तथा अन्नपूर्ण, लाङटाङ र सोलुखुम्बु क्षेत्रका ग्रामीण सांस्कृतिक जीवनशैली एवं परम्परासमेत पर्यटकका रुचिपूर्ण सम्पदाका रुपमा चिनिँदै आएका छन्। यस सर्न्दर्भमा पर्यटक सन्तुष्टिको स्तरबारे गरिएको एक सवेक्षणका अनुसार पोखरा भ्रमण गर्नेमध्ये ५१ प्रतिशत पर्यटकले नेपालीको जीवनशैली, चालचलन र मैत्रीभावपूर्ण व्यवहारलाई मन पराएको देखिएको छ। यसबाट पनि हाम्रो साँस्कृतिक गतिविधि र परम्परागत मूल्य एवं मान्यता पर्यटकीय दृष्टिमा कति महत्वपूर्ण रहेछन् भन्ने प्रष्ट हुन्छ।
नेपालीको आफ्नो मौलिक परम्परा अनुरुप यति वेला चार्डपर्वको मौसम आएको छ। चार्डपर्व कुनै पनि देशका लागि सांस्कृतिक गतिविधिका धरोहर हुन्। मौलिक संस्कृति र परम्परागत जीवनशैलीमा मात्र चार्डपर्वको यथार्थता झल्कने गर्दछ। विभिन्न चार्डपर्वमा मेला तथा जात्रा भर्ने नेपालीको पुरानै परम्परा हो। यद्यपि पछिल्लो अवस्थामा नेपाल भ्रमण वर्ष १९९८ ले मेला तथा जात्रामार्फत् आन्तरिक पर्यटन प्रवर्द्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गर्‍यो। स्थाय रुपमा समुदाय मिलेर आ-आफ्नो परम्परा र चालचलन अनुसारको महोत्सव, मेला वा जात्रा गरी ग्रामिण तथा साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने प्रचलन बढ्दै गएको छ। विशेषगरी चार्डपर्व अनुसार आ-आफ्नो समुदाय मिलेर स्थान विशेषमा मेला वा जात्रा लगाउने हाम्रो परम्परागत अभ्यास हो। जस्तो कि जनैपूणिर्मामा गोसाइकुण्ड, माघेसक्रान्तिमा सुनसरीको वाराहक्षेत्र र देवघाट, रामनवमीमा रामजानकी मन्दिर जनकपुर, हरितालिका तीज र शिवरात्रीमा काठमाडौं स्थित पशुपतिनाथलगायतका शिवालयमा मेला लाग्ने गर्दछ। यसरी पर्व विशेषमा मेला लाग्ने समयमा त्यहाँ गरिने सांस्कृतिक गतिविधिले आयोजना स्थलमा विशेष रौनक नै थपेको हुन्छ। तिनै कार्यक्रमको आकर्षणमा मानिस मेला तथा जात्रामा सहभागी एवं अवलोकन गर्न जाने प्रचलनबाट आन्तरिक पर्यटकीय गतिविधिले प्रोत्साहन पाएको देखिन्छ।
समुदाय विशेषले समेत विभिन्न चार्डपर्वमा जात्रा लगाउने मौलिक परम्पराले स्वदेशीमात्र नभएर विदेशी पर्यटकसमेत आकषिर्त भएको पाइन्छ। नेपालको सर्न्दर्भमा नेवार समुदायले जनैपूणिर्मादेखि देखाउने लाखे नाँच, ताय मचा नाच, गाइजात्रा, रोपाइँ जात्रा, भैरवनाच आदि उल्लेखनीय छन्। बैशाख पूणिर्माको अवसरमा गुरुङ समुदायमा देखाइने घाँटुनाँच, माघी पर्वमा मगर तथा थारु समुदायद्धारा प्रस्तुत गरिने चुटका तथा मारुनी नाच, थकाली समुदायमा फागुपूणिर्माको अवशरमा सञ्चालन गरिने यार्तुङमेला, पश्चिम नेपालमा गौरा पर्वको अवशरमा गरिने देउडा नाच, ब्राहृमण, क्षेत्री समुदायमा देखाइने बालन, भजन, चुट्का आदि साँस्कृतिक गतिविधि नेपालमा प्रचलित छन। उल्लिखित पर्वहरूमा समुदाय विशेषबाट प्रस्तुत गरिने पूजापाठ, भजनकीतनसहितको नाचगान, नाटक, झाँकीको प्रस्तुति आदि साँस्कृतिक गतिविधि महत्वपूर्ण पर्यटकीय सम्पदा हुन्। स्वदेशी तथा विदेशी पर्यटक यस्ता साँस्कृतिक गतिविधि अवलोकन एवं स्वयं सहभागी भएर मनोरञ्जन लिन चाहन्छन्। यसर्थ हाम्रो परम्परागत मूल्य, मान्यता र साँस्कृतिक सम्पदाको रुपमा रहेका चार्डपर्व, मेला तथा जात्राहरूको आवश्यक संरक्षण र सर्म्वर्द्धन गर्नेतर्फ राज्यको सम्बन्धित निकायदेखि स्थानीय समुदायसमेतले आवश्यक भूमिका खेल्नुपर्ने देखिन्छ।
नेपालको सर्न्दर्भमा समग्र पश्चिमाञ्चल क्षेत्रलाई लोकसंस्कृतिको धनी रहेको भूभाग मानिन्छ। लोकगीत र संगीतका पारखीका लागि विशेष आकर्षण रहेको यस क्षेत्रको केन्द्र पोखरालगायत तनहूँ, लमजुङ, स्याङ्जा, वागलुङ आदि लोकसंस्कृतिका स्वदेशी तथा विदेशी अध्यताका ल्ाागिसमेत आकर्षक मानिन्छन्। पोखरा उपत्यका नेपालको पहाडी भूधरातलमा बस्ने मङ्गोलियन समुदाय र आर्य समुदायको साँस्कृतिक सम्मिश्रणको संगम स्थलको रुपमा रहेको छ।  विभिन्न समुदायको आ-आफ्नो जीवनशैली, भाषा, चार्डपर्व एवं लोक परम्परा र संस्कृतिले गर्दा यो क्षेत्र साँस्कृतिक सम्पदमासमेत धनी छ। मूलतः गुरुङ, मगर, नेवार, क्षेत्री, व्राम्हाण आदि समुदायका लोकसंस्कृतिले गुञ्जयमान यस क्षेत्रको पर्यटन विकासमा सांस्कृतिक गतिविधिको भूमिकासमेत महत्वपूर्ण रहन सक्छ। यद्यपि हाम्रा पुर्ख्ााहरूले संरक्षण गरी नासोका रुपमा हामीलाई सुम्पिएका यस्ता सां’स्कृतिक धरोहरलाई पर्यटकीय सम्पदाका रुपमा यथोचित विकास गरी आवश्यक लाभ लिन सकिएको अवस्था छैन। सबै समुदायले परम्परालाई निरन्तरता दिनमात्र होइन कि आफ्नो पहिचान र गौरव बचाउँदै पर्यटकीय गतिविधि प्रवर्द्धनमार्फत् जीवनस्तर सुधार गर्न आ-आफ्ना सां’स्कृतिक गतिविधिको संरक्षण गर्नु आवश्यक छ।
विश्व पर्यटन बजारमा पर्यटक आवगमनको दृष्टिमा दोस्रो स्थानमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत महत्वपूर्ण साँस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ। विशेष गरी बौद्धमार्गीको बसोबास रहेको उक्त भूभागसँग हाम्रो हिमाली जनजीवन र त्यहाँको संस्कृति मिल्दोजुल्दो पनि छ। धर्म, संस्कृति, रीतिरिवाज, भाषा, परम्परागत जीवनशैली आदि विषयमा हाम्रो हिमाली जनजीवन तिब्बतीयन भूमिसँग सामिप्यता राख्दछ। आज तिब्बतले करोडौं पर्यटलाई आकर्षण गरिरहेको अवस्था छ भने हामी किन गर्न सक्दैनौ ? विचारणीय प्रश्न छ। धमाधम खुल्नका लागि चर्चा पाइरहेका उत्तरी नाकाहरूको कुरा गरिरहँदा व्यापार, व्यवसायका साथसाथै सांस्कृतिक पर्यटकको आवगमनको लागिसमेत ती नाका महत्वपूर्ण हुने विषय ख्याल राख्नु आवश्यक छ। त्यसैले सुगम यातायातका साथ साँस्कृतिक पर्यटन प्रवर्द्धनका लागि पनि उत्तरी हिमाली नाकाहरु यथाशीघ्र खोल्ने प्रयास गर्नु पर्दछ। हाम्रालागि उत्तर-दक्षिण रहेका नेपालका दुर्इ छिमेकी चीन तथा भारत व्यापारिक साझेदारमात्र होइनन्, पर्यटनका वाहक पनि हुन्। चीन र भारतबाट मात्रै वर्षमा पाँच करोड बढी पर्यटक विदेश भ्रमणका लागि निस्कने गर्दछन्। त्यस्तैगरी, विदेशबाट सात करोडबढी पर्यटक चीन तथा भारत आउने गरेको तथ्याङ्क विश्व पर्यटन संगठनसँग छ। यी दुबै देशका साँस्कृतिक गतिविधिसँग जोडिएको हाम्रो सामाजिक जनजीवनलाई हामीले पर्यटन विकाससँग जोडनु आवश्यक छ। साँस्कृतिक पर्यटनका सम्भावना र विकासबारे हामीले आवश्यक बहस एवं चर्चा, परिचर्चा गर्नुपर्ने देखिन्छ। त्यसको वस्तुगत अवस्थाको आधारमा आवश्यकता अनुरुपको रणनीतिक सोच, कार्यक्रम र कार्यान्वयनमा पहलकदमी आवश्यक छ। नेपालको वर्तमान पर्यटकीय गतिविधिको अवस्थालाई विश्लेषण गर्दा प्रकृतिमा आधारित पदयात्रा, जलयात्रा, जंगलयात्रा, पर्वतारोहणलगायतका साहसिक गतिविधितर्फ करिब ३१ प्रतिशत पर्यटक आकषिर्त भएको देखिन्छ। अकोर्तर्फ स्वच्छ मनोरञ्जनका लागि भ्रमण गर्ने पर्यटको गन्तव्य स्थल भनेको धार्मिक तथा साँस्कृतिक स्थानहरू नै हुन्। करिब एक लाख ३० हजार पर्यटकले लुम्बिनी भ्रमण गर्नु, एक लाखकै हाराहारीमा मुक्ति क्षेत्रको भ्रमण गर्नु, काठमाडौ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सुचिकृत दरवार स्क्वायरहरू, पशुपतिनाथ, स्वयम्भु, वौद्धनाथ, चाँगुनारायणलगायतका स्थानमा पर्यटकको घुँइचो लाग्नुबाट सांस्कृतिक पर्यटनप्रतिको आकर्षणलाई सहजै अनुमान गर्न सकिन्छ। नेपाल आउने पर्यटकमध्ये करिब ४२ प्रतिशतको आकर्षण रहेको साँस्कृतिक पर्यटनको यस क्षेत्रलाई यथोचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ। यसर्थ हाम्रा चार्डपर्वमा सामाजिक मूल्य, मान्यता र परम्परासँगै जोडिएर आउने साँस्कृतिक गतिविधिको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि पहल गर्नु आवश्यक देखिन्छ ।

Wednesday, September 7, 2016

उदास समय र ध्वस्त यात्रा

केहि उनले खोजेका थिए,
केही मैले चाहेको थिए ।
न हामी सबै पाउन सक्थ्यौ,
न हामी सबै छोड्न चाहन्थ्यौ ।
       यहि अनिर्णित मायालु समयमा हामी जोडियौ,
       कहिले यता मोडियौ, कहिले उता मोडियौ ।
       कहिले आपसमै ठोक्कियौ, कहिले झोक्कियौ, 
        न थाकेर रोकियौ, न फुुर्सदिला भयौ ।
उकालि ओरालि दौडिरह्यौ, दौडि रह्यौ  ।
उदास यात्रा र डरलाग्दो बाटोमा
गुमाउनु त के पो थियो र ?
पाउन पनि त केही पाएनौ ।
         थोरै चाहना आफैैभित्र लुकाइ रह्यौ।
         धेेरै भावना आँँखाबाट बगाइ रह्यौ ।
          खिया लागेका साछि झ्यालहरुमा 
         मरेको समयबारेमा लेखिरह्यौ ।
बहकिएको मनभरिका रिता डोब बोकेर,
उदास समयको यो ध्वस्त यात्रामा
न  केही पायौ, न केही गुमायौ ।
शुुन्यमा हिंडि रह्यौ, कुदि रह्यौ ।। 
                 ---------०७३/५/२२, काठमाडौ  ।


 



Tuesday, September 6, 2016

बैतडीको ग्वाल्लेक क्षेत्र ; पर्यटकका लागि आकर्षक गन्तब्य

ग्वाल्लेक ; सामान्य चिनारी


  • " ग्वाल्लेक " बैतडी सदरमुकामबाट १५ कि मि दक्षिण-पुर्बमा पर्ने प्राकृतिक बिबिधतायुक्त धार्मिक शिखरको नाम हो । यो शिखरको फेदिसम्म नै सडक पुगेकोछ । शिखरलाई पबित्र स्थान मानिएकोले " ग्वाल्लेकधाम " को नामले यो भेगभरि नै सुपरिचित भएकोछ । यो पबित्र धामको वरपर २७८८.२७ हेक्टर क्षेत्रफलमा फैलिएको बनक्षेत्रभित्र विभिन्न बनस्पति प्रजातिहरु , बन्यजन्तु, चराचुरुङ्गी, महत्वपुर्ण जडिबुटिहरुको प्राचुर्यता छ । एक अध्ययन अनुसार सेती- महाकाली भेगमा पाइने भनिएका ६६ वटा बनौषधिमध्ये ४८ वटा यो लेकमा उपलब्ध छन् । केही अन्तर्राष्टिय स्तरमा महत्व राख्ने प्रजातिका बनस्पति पनि यहाँ भेट्टिएकाछन । प्राकृतिक गुफा, घाँसेमैदान, तालतलैयाका लागि समेत यो क्षेत्र प्रसिध्द छ ।
  • यो शिखरको वरपर असिमकेदार, सिमकेदार, महाद्यौकेदार, श्रीकेदार, देउलेककेदार, नकथरोकेदार, जर्गकेदार, बुढाकेदार, गणमेश्वर, महारुद्र,भुुमिराज, समैची, देउगडे, कैलपाल, सिमनाथ, जगन्नाथ आदि मन्दिर र शिबस्थलहरु स्थापित छन । त्यसैले यो इलाकालाई " ग्वाल्लेककेदार" क्षेत्र पनि भनिन्छ । शिखरको चारै दिशामा त्रिपुरासुन्दरी, निगलासैनी, मेलौली, रैण्यासैनी र डागेश्वरी आदि भगबतिका मन्दिर छन । यस अर्थमा ग्वाल्लेक शिबशक्तिको संगमस्थल पनि हो । यहाँका मन्दिरहरुमा प्रचलित केही अनुष्ठानहरु र केही किम्बदन्तिहरुले यस्को पुष्टि गर्दछन् । यी मन्दिरहरुमा अमूल्य पुरातात्विक सांस्कृतिक सम्पदा र बहुमुल्य कलाकृति भएका देवभण्डारहरू छन् ।
  • स्कन्दपुराणको मानसखन्डमा यसलाई " बायुतट" पर्बत भनिएकोछ । धेरै हावा चल्ने यो स्धानको वरपरको बस्ति " बायुतटि" कहलिएबाट नै कालान्तरमा अपभ्रंश भै बैतडी नाम बन्न गएको मानिएकोछ । बर्तमानमा बैतडी जिल्लाका आठवटा गा बि स का केही वडाहरु यो ग्वाल्लेककेदार बनक्षेत्रमा समेटिएका छन् । ( स्थानिय तह पुनःसंरचना हुदा हाल दशरथचन्द नगरपालिका , मेलौली नगरपालिका  र पंचेश्वर गाउपालिकाको केही वडा यसक्षेेत्रमा पर्दछन्/) जिललाका सैयौ बस्ति यो बनमा आधारित छन । यो जलाधार क्षेत्र पनि हो । चारैतिरका बस्तिका पानिका मूलमुहान यहि छन् ।निकटवर्ति बजार र सदरमुकाममा समेत काठपात घासदाउराको आपुर्ति यहिबाट हुन्छ । यसरी झण्डै पचासहजार जतिको आबादि यो क्षेत्रबाट लाभान्वित छ । 

हालका चुनौतिहरु


  • यस क्षेत्रको जैबिक बिबिधता, जलाधार क्षेत्र, जडिबुटि र धार्मिक बनको निरन्तर दोहन भैरहेकोछ । अनियन्त्रित र खुला चरिचरन, काठदाउराको अब्यबस्थित संकलन, जडिबुटीको अबैध निकासि, बनक्षेत्रको अतिक्रमण र चोरि शिकार जस्ता समस्या वढदैछन् । स्थानिय रैथाने केही बनस्पति त हराइ नै सकेकाछन । पानिमुहान सुक्दैछन । 
  • अब्यबस्थित धार्मिक पर्यटक गतिबिधिले पनि समस्या थपिदैछन । पुराना सम्पदा लोप हुदैछन् । सांस्कृतिक सम्पदाहरुमाथि निरन्तर नकारात्मक संक्रमण जारि छ ।
  • केही पुरातात्विक सम्पदा हराइसकेकाछन् । सांस्कृतिक सम्पदाहरुको मूल केन्द्रिय तत्व नै बिलुप्तप्राय: भएका छन वा बिकृत पारिदैछन ।
  • नित्य नयाँ प्रबिधिको बिकास तथा नौलो परिबेशको सम्पर्कले गाउँसमाजमा रोजगारिका परम्परागत ब्यबसाय कृषि पशुपालन आदिबाट युबापुस्ता क्रमस: टाढिदैछ  र ब्यबसायका नौला बिकल्प खोज्न नसकेर दिग्भ्रमित भएकोछ । फलत: बेरोजगारीसंगै गरिबी र तत्जनित समस्याहरु बढदैछन । 
  • यहाँ भैरहेका बिकास निर्माणका गतिबिधिहरू पनि कुनै दीर्धकालिन सोचतर्फ परिलक्षित छैनन् । कतिपय त समुहगत भन्दा ब्यक्तिगत अहम र स्वार्थबाट प्रेरित छन । त्यसैले बनबिनाश र भुक्षय बढदोछ । केही परम्परागत रुढ सोचहरुसमेत चुनौतिका रुपमा खडा भएकाछन ।
  • पर्यटन पुर्बाधारहरुको कमी र पर्यटक मैत्री वातावरण बनाउन नसक्नु नै समष्टिमा हाम्रा मुख्य चुनौतिहरु हुन् ।

पर्यटकिय सम्भाबनाका क्षेत्रहरु 

१-जैबिक बिबिधता र पर्यापर्यटन

ग्वाल्लेककेदार संरक्षित बनक्षेत्रको जैबिक बिबिधता पर्यापर्यटनकालागि आकर्षक र आदर्श गन्तव्य हुने सम्भावना रहेको ठोकुवा गर्न सकिन्छ । भारतको निकटवर्ति क्षेत्र पिथौरागढ र अलमोडा तथा नेपालको खप्तड क्षेत्र, निर्माणाधिन पञ्चेश्वर परियोजना, प्रस्तावित ग्वाल्लेक-मल्लिकार्जुन पर्यटन पदमार्ग समेतसंग सहसम्बन्ध बनाएर पर्यटकीय गतिबिधि बढाउन सकिने पनि प्रशस्तै सम्भावना छन । संरक्षित बनको उपयुक्त स्थानमा भारतको पञ्चचुली, नन्दादेवी तथा नेपालका अपि नाम्पा, सैपाल हिमाल हेर्न सकिने गरि दृश्यावलोकनस्थल तोकेर भ्यु्टावर बनाउन सकिए थप आकर्षण बढने देखिन्छ । लालिगुराँस ढक्मक्क हुँदाको समय होस वा हरिया घासेमैदानमा फूल फुलेको मौसम होस् , जैविक बिबिधताकालागि ग्वाल्लेककेदार धाम ज्यादै उपयुक्त स्थान मानिन्छ ।

२-हाम्रा चाडपर्ब र गाउँका जैबिक उत्पादन ; ग्रामिण पर्यटनका आधार

स्थानिय परम्परासंग जोडिएका बिषु जाँत, अनन्ते मेला, आषाडि जाँत, नौरता, देवालि, कातिके जाँत, भैैलो, गीर, चऽलो, तके जाँत, जमानी जाँत, धामी नाच, छलिया, ठाडोखेलहरुको संरक्षण, ब्यबस्थापन र प्रबर्धन गर्न सकेमा तथा समुचित प्रचार प्रसार भएमा मुक्तिनाथ र स्वर्गद्वारी जस्तै यहाँ पनि पर्यटकीय चहलपहल बढनेछ । झुलाघाटका माछा वा बैतडीको चिउरी जस्तै गाउँको विशेष उत्पादनलाई ब्राण्डिङ गरेर ग्रामिण पर्यटनको आधार खडा गर्न सकिन्छ । यसता उत्पादनको लागि उदाहरणको रुपमा जर्गको तरकारि र तामाका भाडा, देहिमांडौका निंगालाका सामान, सुर्कालको घिउ र चोतो( स्थानिय मुला विशेष ) , सेलिका फलफूल, ढणौनको दहिदूध आदिको नाम लिन सकिन्छ । यहाँको जडिबुटि हस्तकलाका समान समेतलाई बजारीकरण गर्न सकिन्छ । यहाँका पानीघट्टहरुलाई आधुनिकिकरण गरि जैबिक पिठोको प्याकेजिङ समेत ससाना घरेलु उत्पादनहरुको ब्यबसाय संगठित गर्न सकिन्छ । प्रतेक गाउँमा संगठित रुपमै सामुदायिक पाहुनाघर या होमस्टे राख्न सकिन्छ । गाउपर्यटनलाई यहाँको जिबनशैलीसंग जोडन सकिए पर्यटकीय सम्भावनामा समेत निरन्तर  बढोत्तरी हुनेछ ।

३- भारतिय पर्यटकहरुको आकर्षक धार्मिक गन्तव्य

पशुपति दर्शनका लागि मात्र हजारौं पर्यटक नेपाल आएजस्तै पुर्णागिरि दर्शन पश्चात् सिद्धनाथको दर्शनलागि महेन्द्रनगर आउने भारतिय पर्यटकको संख्यामा बर्सेनि उल्लेख्य वृद्धि भैरहेकोछ । यसै गरि बैतडीको त्रिपुरासुन्दरि, मेलौली, निगलासैनी, उदैद्यौ जाँतमा हजारौ सिमावर्ति भारतिय पर्यटक आउछन । यहाँका स्थानिय मेलामा भारतिय ब्यापारिहरुको समेत सहभागिता रहन्छ । ग्वाल्लेकको पर्यटकिय आकर्षण बढाएर यिनिहरुको भ्रमण अवधि लम्ब्याउन सकिन्छ । यसरी पर्यटक संख्या थपिदै जानेछ ।

४-ग्रामिण कला, संस्कृति, भेषभुषा, प्रदर्शनी

तथ्याङ्क अनुसार नेपाल आउने पर्यटक मध्ये ५१% ले यहाँको जीवनशैली, चाालचलन र ब्यबहारका कारण नेपाल रोजेका हुन्छन । पर्व बिशेषमा देखिने सांस्कृतिक गतिबिधिले हाम्रो जनजिवनको झलक दिएको हुन्छ । यहाँका थुप्रै मन्दिरहरुमा बर्षैभरि यस्ता सांस्कृतिक अवसर जुर्न सक्छन् । यिनै पर्बहरुको क्यालेण्डर तयारगरि आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । " खस आर्य सभ्यता " को अध्ययनका लागि यहाँ सांस्कृतिक पर्यटन क्षेत्र बन्ने प्रशस्त सम्भावना छ ।

५- मनोरञ्जनस्थल, बनभोजस्थल र अध्यात्मस्थल

संरक्षित बनक्षेत्र बाहिरका खुल्ला मैदानहरुलाई आबश्यकता र सम्भावना हेरि मनोरञ्जनस्थल, बनभोजस्थल वा अध्यात्मिक साधनास्थलका रुपमा बिकास गर्न सकिन्छ । यसो भए नजिकको सदरमुकाम र वरपर तथा निकटबर्ति भारतिय नगरहरुबाट समेत पर्यटक आउने सम्भावना देखिन्छ । दीर्धकालमा केबलकार संचालनको सम्भावना रहेको समेत यस सम्बन्धि बिशेषज्ञहरुको राय छ ।
मुलत: ग्रामिण पर्यटन प्रबर्धन नै यो क्षेत्रको पर्यटन बिकासको मेरुदण्ड हो । यसका लागि होटल , होमस्टे, पाहुनाघरहरुको व्यापक बिकास, गाउमा सरसफाइ र शिष्टाचारको तालिम, ग्रामिण संस्कृति र बेशभुषाका प्रदर्शनी, एकीकृत पर्यटन बिकासका कार्यक्रम, ग्रामिण महोत्सब संचालन, विशेष पहिचानका लागि सुचना प्रबिधिको सहयोगमा बिज्ञापन समेतको व्यापक सुप्रबन्धन भएमा पर्यटकिय सम्भावनामा उल्लेख्य वृद्धि हुने सुनिश्चितता देखिन्छ ।

हालसम्मका प्रयासहरु

  •  ग्वाल्लेक केदार धार्मिक बनलाई कानुनी रुपमै संरक्षित बनका हैसियतमा लैजाने क्रममा सर्भे भै इन्भेन्ट्रि सिमानिर्धारण समेत भैसकेकोछ । तत्सम्बन्धि योजना तयार भएर स्विकृतिको चरणमा पुगेकोछ । हाल यस क्षेत्रमा छ: वटा सामुदायिक बन र राष्ट्रिय बन रहेकाछन् ।
  • प्रस्तावित ग्वाल्लेकधाम पर्यटन क्षेत्रको चारैतिर संरक्षित बनक्षेत्रको सिमाना बाहिर चक्रपथ निर्माण गर्ने सिलसिला चालु छ । उत्तर पश्चिमतर्फको देहिमाण्डौ, ग्वाल्लेक, नागार्जुन, गिरेगडा र रोडिदेवलतर्फको ३० कि मि जतिको ट्रेक खुलिसकेकोछ । पुर्ब दक्षिणतर्फको दुर्गास्थान, सलेना, महारुद्रमा समेत ४५ कि मि जतिको सडक निर्माण गर्ने तर्फ प्रकृया शुरु भएका छन् । यहि चक्रपथलाइ नै परिक्रमा पथ, पर्यटकमार्ग, जडिबुटिमार्ग वा अग्नि नियन्त्रणरेखाका रुपमा बिकास गर्न सकिनेछ । 
  • चारैतिरका थुप्रै मठमन्दिर मध्ये केहिमा आंशिक रुपमै भएपनि मर्मतकालागि विभिन्न निकाय मातहत पहुँचका आधारमा पटके काम भैरहेकाछन । यसमा समन्वयको खाँचो छ ।
  • तारागाउँ बिकास समितिबाट समेत ग्वाल्लेक( बैतडी)- मल्लिकार्जुन( दार्चुला) पदमार्गको सर्भे भैैसकेकोछ । यसै समिति मार्फत नै होमस्टे, सम्पदा संरक्षण, सांस्कृतिक पर्याबरण संरक्षण, नमुना पर्यटक गाउँ, सामुदायिक सास्कृतिक भवनकालागि समेत सर्भे भएको जानकारीमा आएकोछ ।
  • जिल्लाको पर्यटकिय गुरुयोजनामा समेत " ग्वाल्लेकधाम" लाई बेग्लै क्लष्टरमा राखि थुप्रै परियोजना प्रस्ताव गरिएका थिए, तर तत्सम्बन्धका कुनै पनि कार्यक्रम योजनाबध्द किसिमले लागू भएका छैनन् ।
  • जिल्ला बिकास समिति बैतडीले समेत यो क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा बिकास गर्ने सैद्धान्तिक निर्णय पारित गरिसकेकोछ ।

प्रस्तावित भाबि कार्यक्रमहरु


  •  मुख्य क्षेत्रको जैबिक बिबिधताको संरक्षण गरि बाताबरणिय क्षति हुन नदिन संरक्षित बन कायम गर्ने ।
  • चारैतिरका गाउँमा सहज पहुँच पुग्नेगरि चक्रपथको निर्माण गर्ने । चारैतिरका बस्तिहरुबाट बनक्षेत्रसम्म पुग्न पदमार्गहरु मात्र बनाउने ।
  • बनक्षेत्रको चारैैतिर तारबार राख्ने र जलाधारक्षेत्र तथा पानीका मुहानहरुको संरक्षण गर्ने ।
  • भ्रमण , गोष्ठि, अन्तरकृयाबाट सुचना संकलन र बिश्लेषण गरि यस क्षेत्रकै सांस्कृतिक अध्ययन  समेतको आधारमा बिस्तृत बिबरण सहितको दिग्दर्शन बनाइ पर्यटकीय गुरुयोजना तयार गर्ने । 
  • धामको क्षेत्रमा रहेका देब देबीस्थलहरुको संरक्षण सम्बर्धन गर्ने र ती स्थानहरु पर्यटकीय रुटसंग जोडने । 
  • आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न बुकलेट, ब्रोसियर, डकुमेन्ट्रि तयारगरि प्रचार प्रसार गर्ने तथा  पर्यटन सुचना केन्द्र र पर्यटक सौगात गृहको स्थापना गर्ने । होटेल, होमस्टेका लागि उचित बाताबरण तयार गरि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने । पर्यटन सहयोगीहरु उत्पादन गर्ने र होर्डिङ्ग बोर्ड राख्ने, राख्न लगाउने । 
  •  चरा अवलोकनस्थल, दृश्यावलोकनस्थल, अध्यात्मिक साधनास्थल, बनभोजस्थल, सुर्योदय र सुर्यास्त अवलोकनस्थल, पुनर्ताजगिकेन्द्रहरूको स्थापना, ब्यवस्थापन र प्रचारप्रसार गर्ने । 
  • पुनर्निर्माण र सुधारका नाममा हाम्रा पुरातात्बिक र सांस्कृतिक सम्पदाहरुमाथि हुनेगरेका अतिक्रमण र हस्तक्षेपहरु रोक्न जनमत तयार गर्ने । नमुनास्थल र पर्यटकीय संस्कृतिको बिकास गर्ने ।  
  • ३०/४० कि मि टाढा रहेका निकटबर्ति भारतिय गाउँ नगरहरुसंग भातृसम्बन्ध कायम गरि सांस्कृतिक सहसम्बन्धको बिस्तार गर्दै पर्यटकहरु आकर्षित गर्ने । 
  • दीर्घकालमा त्रिपुरासुन्दरी र मेलौली मन्दिरसम्म केबुलकार संचालन गर्ने तर्फ प्रयास गर्ने ।
  • स्थानिय उत्पादनबाट उपहारसामग्री तयारगरि सो को बजारिकरण गर्ने, स्थानिय पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूमाथि अध्ययन अनुसन्धान गरि सामग्रिहरुको प्रकाशन गर्ने ।
  • स्वास्थ्य सरसफाई, आयआर्जन र सीपबिकास, सुधारिएका चुलो निर्माण, दुर्लभ बनस्पति संरक्षण, पानिमुहान संरक्षण, हरित उद्योग स्थापना, पर्यटकीयस्थल संरक्षण, जैबिक कृषि र जडिबुटि खेति, किचन गार्डनिङ्ग, स्वच्छ उद्योग( होम स्टे, सामुदायिक पाहुनाघर आदि) स्थापना, सामुदायिक सिकाई तथा सूचना केन्द्र, डाटा बेसको तयारी गरि सुचनामुलक सामग्रीको प्रकाशन बितरण गर्ने जस्ता कामकालागि तालिमको ब्यबस्था मिलाई उचित वातावरण तयार गर्ने ।
  • माथि उल्लेखित सम्पुर्ण कार्यसम्पादन गर्न गराउन, सो काममा समन्वय गर्नका लागि बिधिबत पर्यटन बिकास समिति गठन गर्न कारवाहि चलाउने ।

पर्यटन बिकास समितिको उद्देश्य

  • सर्बाङ्गिण पर्यटन बिकास योजनाको कार्यक्रम तयार गरि सो को कार्यान्वयनार्थ विभिन्न निकायसंग सम्पर्क र समन्वय गर्ने ।
  • ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय स्थलको पहिचान गरि ती स्थानका शिलालेख, ताम्रपत्र, पाण्डुलिपि, मुद्रित सामग्री, बास्तुकला, मुर्तिकला, पुरातात्विक सामाग्रि, देव भण्डारहरुको लगत तयार गरि संरक्षण सम्बर्धन गर्ने । 
  • बाताबरणिय र सांस्कृतिक क्षति हुन नदिने गरि धार्मिक बन, मठमन्दिर, देवालय, गुफा, तालतलैया, घाँसेचौर, पाषाणस्तम्भ, पानिमुहानहरुको संरक्षण गर्ने ।
  • सांस्कृतिक शैक्षिक महत्वका सभा सम्मेलन, गोष्ठि, प्रदर्शनीहरुको आयोजना गर्ने ।
  • पर्यटकिय पुर्बाधारहरुको निर्माण गर्दै पर्यटकीय रोजगारमुलक सीपबिकासकालागी प्रशिक्षण प्रदान गर्ने ब्यबस्था मिलाउने ।
  • सांस्कृतिक प्राकृतिक सम्पदाहरुको लगत अद्यावधिक गरि सांस्कृतिक पर्यटनको शुुरुवात गर्ने ।
  • आधुनिक सुचना प्रबिधिको अधिकतम उपयोग गरि आकर्षक र भरपर्दा पर्टनस्थल तथा सर्बसुलभ र गुणस्तरीय पर्यटकीय सेवाकोलागि समुचित प्रबन्ध मिलाउने ।

सम्भाब्य उपलब्धिहरू

  1. पर्यटन पुर्बाधारहरुको बिकाससंगै पर्यटक आवागमन बढनेछ र यसै अनुरुप आर्थिक गतिबिथि पनि बढनेछन । 
  2. पर्याबरण र जैबिक बिबिधताको संरक्षण हुनेछ ।
  3. धाार्मिक र सांस्कृतिक सम्पदाहरुको समुचित सुप्रबन्धन हुनेछ । 
  4. पुरातात्त्विक सम्पदाहरूको स्वरुप बिग्रने छैन र संरक्षित हुनेछन् ।
  5. स्थानिय आयआर्जनमा वृद्धि हुनेछ र चेतनाको स्तर बढनेछ ।
  6. रोजगारिका नयाँ नयाँ बिकल्पहरु दृष्टिगोचर हुनेछन र समुन्नत शिष्ट समाजको श्रृृजना हुनेछ ।

Monday, September 5, 2016

राजा बीरेन्द्रले देखाएको बाटो




जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर शासनको बागडोर लिई तानाशाही चलाए । उनलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएपछि विशेषाधिकार प्राप्त गरे । कुँवरको सट्टा 'राणा' लेख्ने अनुमति पाए । अन्ततः राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई कैदीजस्तै बनाएर पिँजडाको सुगासरह व्यवहार गरे ।
त्यसैले शाहवंशका राजाहरूले २४० वर्ष शासन–प्रशासन चलाए भनेर लेख्ने इतिहासकारहरूले आफ्ना लेख र पुस्तकहरू संशोधन गर्नैपर्छ । दैनिक खर्चसमेत श्री ३ महाराजबाट आशा गर्नुपर्ने राजाहरूले तानाशाही चलाएर जनताको अधिकार कुण्ठित गरे भन्दै नयाँ पुस्तालाई भ्रामक, असत्य र आधारहीन कुरा सिकाउनु ठूलो अपराध हो ।
राजा वीरेन्द्रको रहस्यमय हत्या (२०५८ साल जेठ १९ गते शुक्रबार राति) हुनुभन्दा धेरै वर्ष अघिदेखि राजदरबारमा भएका षड्यन्त्रबारे इतिहासकारहरूले चाखलाग्दा र रोमाञ्चक कुरा लेखेका छन् । ती षड्यन्त्रका कथा पढेपछि मात्र पछिल्ला घटनाक्रम बुझ्न सकिन्छ ।

नेपाली सेना (त्यसबेला शाही नेपाली सेना) का तीन हजारभन्दा बढी सैनिकको घेरामा बसेका राजा वीरेन्द्र सपरिवार मारिएपछि तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर राणाले राजा (सेनाको परमाधिपति) जोगाउने काम सेनाको दायित्वमा पर्दैन भन्ने आशयको बक्तव्य दिएका छन् । तत्कालको सैनिक ऐनअनुसार मुलुक, मुकुट र मुलुकी (जनता) बचाउने जिम्मा सेनाकै थियो, तर सेनापतिले गलत अर्थ लाग्ने बक्तव्य दिँदा सर्वसाधारणले 'यो के भन्न खोजेकोे ? ' भन्ने प्रश्न गरे । धेरैले प्रश्न गरे, 'ऐन मौकामा सुरक्षा दिन नसक्ने ती पल्टन केका लागि राखिएका थिए त ? '

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको देहान्त (१८३१ साल माघ १ गते) भएपछि राजगद्दीमा बसेका प्रतापसिंह धेरै वर्ष राजा हुन पाएनन् । उनको निधनपछि युवराज रणबहादुर शाहले राज्यारोहण गरे । त्यसपछि देवर–भाउजू (राजेन्द्रलक्ष्मी र बहादुर शाह) बीच दुई गुट बनाएर दरबारभित्रका षड्यन्त्रकारीहरूले फाइदा लिन खोजे । काजी दामोदर पाँडेजस्ता देशभक्त काटिए । काजी वंशराज पाँडे काटिए । राजकुमार बहादुर शाह जेल गरे ।

अन्ततः उनको पनि रहस्यमय हत्या भयो । राजा रणबहादुर शाह ३१ वर्षकै उमेरमा काटिए । पुराना भारदार काजी नरसिंह गुरुङ र त्रिभुवन प्रधानलाई राजाका हत्यारा भन्दै काटियो । पृथ्वीपाल सेन, विदुर शाही, रणबहादुर सेन आदि मारिए । भीमसेन थापाले नरसिंह र त्रिभुवन प्रधानका छोरा–नातिहरूसमेतलाई विष्णुमतीछेउमा लगेर काट्न लगाएको इतिहासकार बाबुराम आचार्यले लेखेका छन् । (अब यस्तो कहिले नहोस्, पृष्ठ ६०–६१)

 दमन गर्ने क्रममा पाल्पाली राजा पृथ्वीपाल सेनका साथमा तानसेनबाट आएका १८ जना अंगरक्षक पनि मारिए । विधिपूर्वक अन्तिम संस्कार गर्नसमेत नदिएर स्याल र गिद्दलाई लास खुवाइयो । राजा रणबहादुरका भाइ शेरबहादुर र चौतारा विदुर शाहीका पत्नी र छोरीहरू पोडेहरूलाई जिम्मा लगाए भीमसेन थापाले । उनका शत्रुहरूको सर्वस्वहरण भयो ।

आठ वर्षको छोरा गीर्वाणबाट अलग गराएर हेलम्बुमा थुनिएकी रानी राजराजेश्वरीसहित १४ जना सुसारेलाई साँखुको शालीनदीमा ज्युँदै पोलेर भीमसेन थापाले ठूलो पाप गरेको इतिहासकारले लेखेका छन् । ७७ जना पुरुष र १६ जना महिलालाई राजाका मान्छे भन्दै पोलेपछि भीमसेन थापा सर्वेसर्वा भए ।

सल्यानकी रानी विलासकुमारी (पृथ्वीनारायण शाहकी छोरी) लगायतका कैयन्का चलअचल सम्पत्ति खोसेर भीमसेन थापा झन् धनी हुन पुगे । चौतारा श्रीकृष्ण शाहको महल 'बकस पाएर' (कब्जा गरेर) भीमसेन त्यहाँ बस्न थाले भने उनका प्रिय पात्र रंगनाथलाई कान्छा चौतारा दलमर्दन शाहको महल बकस दिइयो ।

गीर्वाणको मृत्युपछि बालक राजा राजेन्द्र राजगद्दीमा राखिए । राजकुमार देवेन्द्रविक्रम शाहको मृत्युपछि भीमसेन थापाको पतन सुरु भयो । देवेन्द्रलाई विष खुवाएर मारेको अभियोगमा उनी थुनिए । अन्त्यमा जेलमै उनले आत्महत्या गरे । आफ्नै मामा माथवरसिंह थापाको हत्या गरेर रानी राज्यलक्ष्मीका प्रिय बनेका जंगबहादुर कप्तानबाट पदोन्नति हुँदै प्रधानमन्त्री र प्रधानसेनापति भए । त्यहाँबाट सुरु भयो, राणा शासन ।

इतिहास घटना–दुर्घटनाहरूको मुण्डमाला जस्तो हुन्छ र तर पलपलमा षड्यन्त्रका चरण पार गर्दै कालचक्र घुमिरहन्छ । जंगबहादुरले शासन सत्ता हातमा लिएको झन्डै एक सय वर्षपछि जन्म लिएका राजा वीरेन्द्र पनि षड्यन्त्रकै सिकार भए । उनकै जेठा छोरा दीपेन्द्र शाह र श्री ३ मोहन शमशेरकी पनातिनी (पशुपति शमशेरकी छोरी देवयानी) बीचको प्रेमकथालाई राजा वीरेन्द्रको हत्याको पृष्ठभूमि नमान्नेहरू धेरै भेटिन्छन् ।

नारायणहिटी हत्याकाण्डका खलनायक भन्दै चीनका प्राध्यापक वाङ चुङले 'नेपालको सुरक्षात्मक रणनीति' पुस्तक (पृष्ठ १९) मार्फत अमेरिका र भारतीय गुप्तचर संस्थाको 'खुनी हात' रहेको खुलासा गरेका छन् भने पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाले २०६७ सालमा प्रकाशित लेखमा सोही कुराको पुष्टि गरेका छन् । दीपेन्द्र शाहको टाउकोमा सबै दोष थोपरेर गम्भीर अन्तर्राष्ट्रिय षड्यन्त्रबाट जनताको ध्यान अन्यत्रै मोड्न खोजिएको तर्क गर्नेहरू पनि धेरै भेटिन्छन् ।

राजा महेन्द्र परलोक भएपछि २०२८ साल माघ १७ गते २६ वर्षको उमेरमा राजा भएका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव ल्याए । ११६ राष्ट्रले त्यसको समर्थन गरे पनि भारतले समर्थन गरेन । २०३१ साल फागुन १३ गते शुभराज्याभिषेकको भोलिपल्ट ल्याइएको सो प्रस्तावका कारण राजा वीरेन्द्रलाई भारतले आँखाको कसिंगर नै ठान्न थाल्यो ।

राजाले २०३० साल मंसिर २२ देखि २९ गतेसम्म चीन भ्रमण गरेदेखि नै भारत सशंकित रहेको पाइन्छ । चीनका नेताहरू तुङ पी उ र चाउ–एन–लाईको निमन्त्रणामा भएको भ्रमणमा राजालाई भव्य स्वागत गरिएको थियो । मंसिर २३ गते 'बेइजिङको 'ग्रेट हल अफ द पिपुल' गुन्जयमान भयो, राजाको सारगर्भित भाषणले । चीनका अखबारहरूले त्यसलाई ठूलो महत्त्व दिए ।

चीनसँग 'नजिकिएको' भन्दै भारतीयहरू राजा वीरेन्द्रप्रति सशंकित भए । २०२९ साल फागुन २४ गते राजाले दिल्लीमा असंलग्न राष्ट्रहरूको सातौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै सार्वभौमसत्ता र स्वतन्त्रता सबै राष्ट्रलाई उत्तिकै प्यारो हुन्छ भन्ने धारणा व्यक्त गरे ।

नेपालका राजा नेपालीहरूबीचमै अप्रिय छन् भन्ने देखाउन भारतीय गुप्तचर संस्थाका अधिकृत र केही भारतीय नेताहरूको निर्देशनमा दिल्लीमा बसेका केही नेपाली वामपन्थीहरूले राजा वीरेन्द्रलाई कालो झन्डा देखाए, तीमध्ये एकजना भारतको आशीर्वादमा नेपालको प्रधानमन्त्री बन्न पुगे । त्यसबेला 'शान्ति क्षेत्र प्रस्ताव चाहिँदैन' भन्ने प्रदर्शन र नारा लगाउनेहरू मोहनविक्रम सिंहको पार्टीको कार्यकर्ता थिए भने कसको इशारामा त्यो सबै भएको थियो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

सोही साल चैत ६ गते चीनका राष्ट्रपति ली–स्यान–न्यान काठमाडौं आए । २०४० साल वैशाख १९ गते फ्रान्सका राष्ट्रपति फ्रास्वाँ मितेराँले नेपाल भ्रमण गरे । त्यसको दुई वर्षपछि २०४२ वैशाख १९ गते मालदिभ्सका राष्ट्रपति मौमुन अब्दुल गैयुव राजकीय भ्रमणमा आए । सोही साल बंगलादेशमा सम्पन्न सार्कको प्रथम शिखर सम्मेलनलाई राजा वीरेन्द्रले सम्बोधन गर्दा कतिपय सञ्चारमाध्यमले दक्षिण एसियामा यस्ता प्रखर राजनेता पनि रहेछन् भनेर प्रशंसा गरे ।

२०४२ फागुन ६ गते ब्रिटेनकी महारानी एलिजाबेथले दोस्रोपटक नेपाल भ्रमण गरिन् । त्यसअघि राजा महेन्द्रका पालामा उनी नेपाल आएकी थिइन् । २०४३ साल साउन ६ गते भारतीय राष्ट्रपति ज्ञानी जेलसिंह नेपाल आए । ती भ्रमण कूटनीतिक सफलताका केही उदाहरण हुन् ।

धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुख नेपाल आए, २०२८ देखि २०५८ सालसम्म लामो तीसबर्से कालखण्डमा । नेपालका राजा र प्रधानमन्त्रीहरूले सम्मान पाएका छन् अरू राष्ट्रमा पनि । शान्ति, स्थिरता र प्रगतिको लागि चालिएका असल कामहरूप्रति दलहरू सकारात्मक नभए पनि राजाले आफ्नो कर्तव्य बिर्सेनन् ।

२०४७ सालको संविधानमा नेपाली नागरिकता प्राप्त गर्न नेपाली हुनैपर्ने प्रावधान थियो । जलस्रोतलगायत प्राकृतिक स्रोतसाधनबारे अन्तिम निर्णय गर्न दुवै संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) बाट दुईतिहाई सदस्यले अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको थियो र नेपालको राष्ट्राध्यक्ष सनातन हिन्दु धर्मावलम्बी हुनुपर्ने उल्लेख थियो । यी सबै कुरा समाप्त नगरेसम्म नेपालमा विदेशी (भारतीय र पश्चिमा शक्ति) हरूको दबाब–प्रभाव सम्भव थिएन ।

यही कारणले राष्ट्रवादीहरूको उन्मूलन गर्ने प्रायोजित खेल सुरु भयो । गाउँगाउँमा कथित जनयुद्धका नाममा माओवादीले देशभक्त र राष्ट्रवादीलाई छानीछानी मारे । वीरगन्जका पूर्व मेयर र पत्रकार गोपाल गिरी, कपिलवस्तुका दानबहादुर श्रीवास्तव, अर्घाखाँचीका शोभाखर भुसाल, इलामका चन्द्रकान्त भट्टराई, सिराहाका चन्द्रनारायण यादव (मन्त्री सीतादेवी यादवका पति), सशस्त्र प्रहरीका आईजीपी कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुपलगायतका हजारौँ राजनीतिकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, सैनिक, प्रहरी, सशस्त्र प्रहरी, उद्योगपति, व्यापारी, सर्वसाधारण राष्ट्रघाती थिएनन् ।

माओवादीहरू आफैँ अपराधी भएकाले जघन्य अपराधी र राष्ट्रघातीहरू उनीहरूका हितैषी भए । राजा वीरेन्द्र जस्ता सरल राजनेतालाई बाँचुञ्जेल माओवादीले कदर गरेनन्, तर उनी मारिएपछि डा. बाबुराम भट्टराईले पृथ्वीनारायणदेखि राजा वीरेन्द्रसम्मका राजाहरूले राष्ट्रियता बचाउन योगदान गरेको भन्दै लेख लेखेर तारिफ गरे । यो गोहीको आँसु मात्र थियो ।

जुन षड्यन्त्रको कारण राजा वीरेन्द्रको हत्या भयो, त्यसकै धारावाहिक शृंखला थियो, राजसंस्थामाथिको हमला । दाजु प्राणहीन भए, भाइ गद्दीहीन । चीनसँग सुमधुर सम्बन्ध बनाएर भारत र पश्चिमाहरूको दबदबा र प्रभावबाट नेपाललाई मुक्त गर्ने चाहना राजा वीरेन्द्रको थियो । चीनलाई सार्कको सदस्य बनाउनुपर्छ भन्ने प्रस्ताव राखेपछि राजा ज्ञानेन्द्रप्रति भारत आक्रामक भएको कतिपय पुराना कूटनीतिज्ञहरूको तर्क छ ।
 २०४० सालमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा प्रवचन दिँदै राजा वीरेन्द्रले भनेका थिए, 'कुनै देशको प्रजातान्त्रिक व्यवस्था त्यस देशको जनताको नैसर्गिक संस्कार र चरित्रमा आधारित हुन्छ । तसर्थ, प्रजातन्त्रमा संस्कृति प्रतिविम्बित हुनुपर्छ भन्ने मेरो धारणा छ ।' यसको आशय स्पष्ट छ, आचार–विचार, संस्कार र राजनीतिक संस्कृति परिष्कृत नभएसम्म प्रजातन्त्र स्थापित हुन सक्दैन ।
दिल्लीमा बाह्रबुँदे समभदारी (सम्झौता) गरेर नेपालका आठ दलले राष्ट्रलाई गहिरो, डरलाग्दो र निसास्सिने इनारमा हालेका छन् । संविधानका अन्तरवस्तु विदेशबाटै आयात गरिएको र संविधानमा विदेशीले अर्बौं रुपैयाँ लगानी गरेको कुरा 'ठूला दलका' नेताहरू नै स्वीकार गरिरहेका छन् ।

त्यसैले राजा मार्ने, राजा फ्याँक्ने, राष्ट्र टुक्र्याउने, गृहयुद्ध गराउने, परम्परागत धर्म–संस्कृति सिध्याउने, राष्ट्रियता र प्रजातन्त्र कमजोर पार्ने अनि नेपाली जनतालाई 'देखिजान्ने सुनीजान्ने किनाराका साक्षी' बनाई 'पूर्व नेपाली' बनाउन खोज्ने पद्धति स्थापना गर्न खोजिएको छ । नेपाल देशको नाम र राष्ट्रिय झन्डा फेर्न माओवादीले ल्याएको प्रस्ताव विफल भएपछि विदेशीलाई खुसी पार्न राष्ट्रिय एकता दिवस (पुस २७) खारेज गरियो । यसमा नेपाली कांग्रेसका कतिपय नेताले पनि खलनायकको काम गरेका छन् ।

राष्ट्रलाई सक्षम बनाउन पचासौं राष्ट्रको भ्रमण र विभिन्न राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर राजा वीरेन्द्रले प्रशस्त आर्थिक सहायता जुटाएको यथार्थ जगजाहेर छ । २०४० सालमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा प्रवचन दिँदै राजा वीरेन्द्रले भनेका थिए, 'कुनै देशको प्रजातान्त्रिक व्यवस्था त्यस देशको जनताको नैसर्गिक संस्कार र चरित्रमा आधारित हुन्छ । तसर्थ, प्रजातन्त्रमा संस्कृति प्रतिविम्बित हुनुपर्छ भन्ने मेरो धारणा छ ।' यसको आशय स्पष्ट छ, आचार–विचार, संस्कार र राजनीतिक संस्कृति परिष्कृत नभएसम्म प्रजातन्त्र स्थापित हुन सक्दैन ।

राजा वीरेन्द्रले राजनीतिक दलहरूसँग मिलेर तयार गराएको २०४७ सालको संविधान स्वीकार गरेर संसद्मा माओवादीले तेस्रो ठूलो दलको हैसियत प्राप्त गरेका थिए । सबै निर्णय त्यसबेला नेपालभित्र नेपालीले नै गर्थे । बहुजनको निरंकुशता (टाइरेनी अफ मल्टिच्युड) नै प्रजातन्त्र हो भन्नुपरेको थिएन । राजा विदेशीको आदेश–निर्देश ठाडै अस्वीकार गर्थे । राजा वीरेन्द्र हिँडेको बाटो त्यागेर राष्ट्रलाई आज दिग्भ्रमित बनाइएको छ । त्यसैले शान्ति, प्रगति, स्थायित्व र प्रजातन्त्र प्रश्नचिन्हको घेरामा परेकोछ ।

मलाई गाउँ फर्कन मन लागेकोछ

मलाई मेरै गाउँ फर्कन मन लागेकोछ!
------------------*********----------------
उब्रिएको समयमा
बितेको समय सम्झिदै
एक खेप धीत मरुन्जेल रुन मन लागेकोछ ।
यो शहरले उपहार दिएको तनावलाई
गाऊँमाथिको बर्तुलाकार बादलबाट
धोइ पखाल्न मन लागेकोछ ।
उकुसमुकुस अडेसमडेसबाट उम्केर
एक खेप मिठासको जिउदो हाँसो
मनभरि हाँस्न मन लागेकोछ ।
सिमेन्टको जंगलमा उम्रिएका
यी बडेमानका घरहरुको भीडबाट
भाले-कुदाइ उडदै
चराहरुको गीतसुन्न मनलागेकोछ ।
मेरा खेतका आलिहरुमा
के उब्जिएको होला अचेल
ती पहाडी खोलाहरु
के गीतगाउदै होलान अचेल
मज्जासंग हेर्न सुन्न मन लागेकोछ ।
बिषाक्त वातावरण र कृतिम ब्यबहारबाट पर
स्वाभाबिक जीवन बाँच्न मनलागेकोछ,
ज्युदो भएर स्वाभिमान बाँच्न मनलागेकोछ ।
मलाई मेरै गाउँ फर्कन मन लागेकोछ ।।

                  - ०७३/५/१८, काठमाडौं ।

Wednesday, August 31, 2016

चालिसबर्षे नौकरीमा पचास ठाउँ सरुवा-३

नौकरी गर्न थालेको पछिल्लो आठ बर्षले एघार ठाउँ चहार्न लगायो । दोस्रो राउण्डमा फेेरि बैतडी पु-यायो । खैै यो जागिरेबृतिलाई के नाम दिउँ? अलमलमा पर्छु । राजाको सिन्दुर भनेर मान मनितो त भएकै लाग्थ्यो । तर तलब भने खरिदारको मासिक रु २५५/- बाट शुृुृरू गरेको थिए, दोस्रो पल्ट बैतडी सुब्बा बनेर आउदा रू  सातसय चानचुन थापिन थालिएछ  । डेरा गरेर घरपरीवार सदरमुकाममै पाल्नु पर्दा हात लाग्यो शुुन्य मात्र । जेहोस् गुजारा चल्दै थियो । जिन्दगिले तीन दशक नाघ्दै थियो । जिवनको खुुटकिलो चढदै जादा उमेर र उर्जा पनि घटबढ हुने नै भयो । यो देखाइ र भोगाईलाइ अक्षरमा कैदगर्दा नोष्टाल्जिक भइदैछ ।

लौ अफिसर हुने भइयो ; अर्को आयामको आशामा


तिनवटा सन्तान सदरमुकाममा थुुपारेको मात्र थिए, शााखा अधिकृतको लिखित परिक्षा पास भएको खवर आयो । फेेरि काठमाण्डौको चक्कर लाउनु पर्ने भयो । यसै परिक्षामा उतिर्ण साथी हरिदत्त पाण्डेयजीसंग सम्पर्क सल्लाह गरे । शाायद ०४३ आषाढमा हामीहरु राजधानीतिर हानियौ । संयोगले झण्डै एघार बर्षपछि काठमाण्डौ फेेरि आइयो, भिन्न परिवेश र भिन्न पहिचानमा । पहिलो यायाबरि हिडाइ बेग्लै हुन्थ्यो, अहिलेको दुखाइ बेग्लै थियो । बिधिबसात बैतडीबाट मात्र त्यो ब्याचमा हामी पाँच जना साथी भयौ, दुई दार्चुला र एक अछाम गरि सुदूर पश्चिमका आठ जना । बैतडीमा त्यसबेला सुधिर कुमार शााह का मु प्र जि अ हुनुहुन्थ्यो । आबश्यक मार्गदर्शन  गर्ने मेरो त्यसबेलाको निकटतम ब्यक्ति वहाँ नै  थिए ।
राम्रोसंग नेपाली बोल्न नआउने हामी परपश्चिमेलीहरूको निम्ति लोकसेवाको ठुुलो हाउगुजि हुन्थ्यो । झन टेक्ने समाउने  हाङ्गो नै नभएको मेरालागि त यो ठुुलै महाभारत थियो । आफुु त बिषयबस्तुुमा त्यती पोख्त पनि परिएन । तर सुदुरको डोटि केन्द्र बाट बिरलै पास हुने मध्ये यसपालाको एक्लो उमेदवार पनि परे । राष्टिय पंचायत सेवा र प्रशासन सेवा गरि दुई बिज्ञापनको लिखित परिक्षामा पास भएकोले एक ठाउँँमा त कसो पास नहोइएला भन्ने भनेर आत्म बिश्वास पनि कायमै थियो । जेहोस, अन्तर्वार्ताको घडी आयो ।
प्रशासन सेवाको अन्तर्बार्ता बोर्डमा लोकसेवा आयोगका तत्कालिन अध्य्यक्ष उपेन्द्रमान मल्लज्यू स्वयंले अध्यक्षता गर्नु भएको थियो । एकजना बोर्ड सदस्यले बैतडीको समाजमा प्रचलित बहुतै बदनाम एउटा सामाजिक कुप्रथाको बारेमा केही जानकारी छ कि ? भनेर प्रश्न गरे । उनको यो हेपाहा प्रश्न थियो भन्ने कुरा शरीर-संकेत ( body  language  ) ले बताई सकेको थियो । मैले प्रतिप्रश्न गरे " नेपालको जुनसुकै समाजमा पनि कुप्रथाहरु बिद्यमान छन् । मात्रात्मक रुपमा वा नीजि दृष्टिकोणले समेत ती समस्या ठुुला साना लाग्न सक्दछन् । बैतडीको हकमा पनि त्यहाँ थुुप्रै त्यसता समस्या छन् । ती मध्ये केही पहिचानमा छन्, केही नहुन पनि सक्छन् । कुन समस्याको बारेमा कुरा गरौ, म अलमलमा परे । यहाँको संकेत देउकी प्रथा तर्फ हो भने म केही जानकारी दिन सक्छु । "
उनले हो भने । यो मेरालागि अप्रत्यासित थियो । यसको  बारेमा बोर्ड सदस्यहरु भन्दा मसंग बढि जानकारि छ भन्नेमा म ढुुक्क भए । सौभाग्यबश त्यसताका म मेरा तत्कालिन हाकिम चुुडामणि उपाध्यायज्युले बढुवा प्रयोजनको लागि लेखिरहनु भएको" देउकी प्रथा " नामको किताबका लागि सामग्री संकलन पनि गरिरहेको थिए  । मैले बुझेको कुरा बोर्ड समक्ष राखेे । यसै सन्दर्भमा हिमाली भेेगतिरको झुुमा प्रथा, काठमाडौंको कुमारी प्रथा वा बैतडीको देवकी प्रथा प्रकारान्तरले लगभग एउटै कित्ताका कुरा हुन् पनि भने । यो कुरा काठमाडौंका खाँटि रैथाने अध्य्यक्षज्युलाई चित्त बुझेनछ क्या रे । उनले यो कसरी हुनसक्छ? तर्क सहित पुष्टि गर्नोस भनेर अह्राए । " कुमारि गुठिको समुचित ब्यबस्था नभएमा र निबृत कुमारीको जीवन निर्बाहको अरु कुनै उपाय पनि नहुने एबं बिबाह पनि गर्न नपाउने परिस्थिति निर्माण भएमा के हुन्थ्यो, हामी सबैले सहजै अनुमान गर्न सक्छौ " मैले यसै लाइनमा कुरा राखे । केही बस्तुगत जानकारि पनि दिए । अध्य्यक्षज्यू " पख्नोस, केही कुरा टिप्नु पर्ने भयो " भन्दै भित्र गएर डायरी लिएर आउनु भयो । यसै सिलसिलामा ४०/४५ मिनेट विभिन्न प्रश्न गर्दै बुँदा टिपोट पनि गर्नु भयो । अरु कुरै हुन पाएन । अन्तमा मैले धेेरै समय लिए, कसैको केही सोध्नु पर्ने छ कि भन्दा अरुहरुले छैन भन्ने संकेत गरे । बस्... मेरो इन्टरभ्यु सकियो ।
यो घटनाक्रमले मलाई नतिजा प्रकाशित नहुन्जेल बडो सकसपुर्ण छटपटिमा राख्यो । के भयो? कस्तो भयो? भन्नै नसकिने, अनुमानै गर्न नसकिने । रेजल्टको लागि आयोगको कमलपोखरि स्थित कार्यालयमा सुचनाको प्रतीक्षा बाहेक अरु के गर्न सकिन्थ्यो र ? आखिर एकदिन त्यो प्रतिक्षा पनि सकियो । तात्तातै सुचना हेर्दा आफनो नाम नै नभेट्टिने । दोह-याएर हेरे । अँँ हँ, देखिदैन त । तेस्रोपल्ट फेेरि सुचनापाटिमा टाँसिएको लिष्ट पढ्दा बल्ल नाम देखियो, ७३ नम्बरमा। सौभाग्यबश हाम्रो भेेगका सबै सिफारिसमा परेका रहेछौ । धन्य भगवान! एउटा लामो पर्खाइ सकियो । मैले अफिसरको परीक्षा पास गरेेछु ।
जीवन यसरी नयाँ लिगमा प्रबेश ग-यो ।
सिफारिसको सुचना सहित बैतडी गइयो । अफिसियल अनुष्ठान पूरा गरे । गाउँ गएर बा आमाको आशिर्बाद लिए । इष्टकुल देवता ढोगे । केहिदिनको लागि श्रीमति र बच्चाहरु ससुरालीमा छोडे र म काठमाडौ फर्के ।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह मा दरबन्दि राखियो । मिति ०४३/६/६ देखि प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ( staff  college ) मा प्रशिक्षार्थीको हैसियतमा प्रबेश गरियो । मेरालागि कुनै पनि कलेज नामधारि संस्थामा प्रबेश पाएको यो नै पहिलो घटना थियो ।

Monday, August 22, 2016