Friday, November 20, 2009

तिमलो: फूल नदेखिने तर लटरम्म फल्ने रूख



तिमली पातको दुनो असौज्या दै कि लाइ,
क्याकि रुन्छै पापी मन कोछ र कैकि लाइ?

यो सुदुरपश्चिममा बहुप्रचलित लोकगीतको पंक्ति हो। तिमलोका पातको दुनामा राखिएको असौज महिनाको दहीको सुन्दर संयोग सम्झदै लोककबि पापी मनलाइ बुझाउने गर्दछन, “किन रुने? कसकालागी को पो छ र?”
प्रसंग सुदूर लोकजिवन र तिमलो नामको बिशेष बृक्षको मात्र हो। लोकगीतहरुमा समेत स्थान पाएको तिमलोको पातको दुनो र तिमलोको फलका उपयोगिता सम्बन्धमा यो भेगमा धेरै लोकचर्चा सुनिन्छन। तिमलोको फूल देख्ने मानिस भाग्यमानी हुन्छ रे। यो आधारातमा फुल्छ र तुरन्तै झर्छ भनिन्छ। तिमलोका चिल्ला पातका दुनाले धार्मिक अनुष्ठानमा महत्वपुर्ण ठाँऊ पाएका हुन्छन।
अछाममा तिमला धेरै फल्ने सैनो (मैदान ठाऊ)मा बसेको गाउलाइ तिमलसैन नाम दिइएकोछ। बिधवा ब्राह्मणिबाट नागी मल्लको पुत्र जन्मेको मानिने यो ऐतिहासिक गाऊमा कान्ला पिच्छेनै तिमिलाका रुखहरु देखिन्छन। लेकाली गाँउमा धेरथोर यो दृश्य सामान्य मानिन्छ। ठुल्ठुला खस्रा पात र सेतो बोक्रा हुने यो बनस्पतिको काँधबाट निस्केका हांगामा खनिउ (खनायो)जस्तो फल लाग्ने गर्छ। हांगामै लटरम्म फल्ने हुनाले स्थानिय आशिर्बचनमा समेत “तिमिलाइ जनि फलि रयेइ” (तिमला जस्तै फल लागोस) भन्ने गरिन्छ।
चर्चा र वास्तविकता
बिना फूल नै फल कसरी लाग्छ होला? के भाग्यमानीले मात्रै तिमिलाको फूल देख्छन त? यी प्रश्नले यो पंक्तीकारलाइ सानै देखि कुत्कुत्याएको थियो। वास्तबमा फूललाइनै मानिसहरुले फल मानेका रहेछन। फल जस्तै गुच्छामा लाग्ने फूललाइ मानिसहरु फल भन्दा रहेछन । वैज्ञानिकहरु अझै द्विबिधामा छन, यो फूल या फल के हो भनेर। बन्द फूल हुनाले यसलाइ फल भन्ने गरिएकोहो। ठुलो दाना जस्तो देखिने यो बन्द फूलभित्रका ससाना बीजहरु वास्तबिक फल हुन। बीज काचो अवस्थामा हुन्जेल बाहिरको दाना हरियो र पाकेपछि खैरो रातो हुन्छ। बीज पाके पछि भित्र बाक्लो मिटो रस बन्ने गर्दछ । गुदीसंगै यो रसलाइ मानिसहरु मिठो मानेर खाने गर्दछन। जंगली चराहरुको पनि यो प्रिय भोजन हो। शायद मह जत्तिकै मिठो यो पुष्परसका सम्बन्धमा धेरै शोध भएकैछैन ।
तिमलाले पानीको श्रोत पनि संरक्षण गर्दो रहेछ। एउटा लोकगाथामा रामले बनबास ताका लक्ष्मणलाई पानीको श्रोत खोज्ने उपाय बताएकाछन। “ जाँ हुन्ना तिमलिका बोट, वाँ होलो पानीको निकाश” अर्थात जहाँ तिमलाको रूख हुन्छन, त्यहाँ पानीको मूल भेट्टिन्छ। यो गाथामा यसै गरि तुषारा, गरङला वा गोगन जस्ता रैथाने रूख जहाँ हुन्छन,त्यहाँ पानीको श्रोत संरक्षित हुने कुरा बताइएकोछ।
तिमिलोको उपयोग
तिमलोको बहुबिध उपयोगिता माथिका प्रसंगबाट पनि धेरै प्रष्टिन्छ। सुदुर पश्चिम भेगमा यसका बारेमा एउटा अर्को भनाइ पनि प्रचलित छ। जै का बुवा बैस्याउन लाग, उ लेक तिम्लि खोज अर्थात जसको बाबुलाइ आउमासी लाग्छ, उसले लेकमा तिमलोको लागी नगइ धरै छैन। तिमलालाइ आउमासीको पक्का औषधि मानिन्छ। काचो तिमलाको तरकारी र अचार सारै मिठो हुन्छ। यसले पेटको गर्मी शान्त हुन्छ। यसले पशुहरुमा दूध बढाऊछ। अरु फल भन्दा यसमा बिटामिन इ र सी पनि ज्यादा पाईन्छ। प्राय लेकतिर हुने यो डालेघास पशुको लागि उत्तम आहारा मानिन्छ। यसमा अन्य फल भन्दा चार गुना अधिक बिटामिन र कैल्सियम हुन्छ। तिमलाको फलमा ८४%गुदो र १६% बोक्रा हुन्छ। यसबाट जाम जेली समेत बनाउन सकिन्छ ।
तिमिलाको नालिबेली
अधिकांशत: ६००देखि१६००मिटरको उचाइमा पाईने नेवारो प्रजातीको यो बनस्पतिका पाँच प्रजाति पत्ता लागेकाछन। सुदुर पश्चिममा पाइने तिमलाको खलक यो समुहको सबभन्दा पुरानो प्रजाति हो। यसका कुनै रुखमा फल नै नलागने हुन्छ। यस्ता रुखलाइ अखजी भनिदो रहेछ। तिमलाका पात १५ ईन्च लामा र १२इन्च चौडा सम्म हुन्छन । नेवारो प्रजातीको यो रुखलाइ हिन्दीमा जंगलि अंजीर भनिदो रहेछ। स्थानभेद अनुसार तिमलो, तिमिलो,तिम्लो,तिमिला,तिम्ली या तिम्ला जस्ता कतिपय नामबाट चिनिने यो बनस्पतिको बानस्पतिक नाम फाइकस केरिया र लेट्रिन नाम औरक्युलाटा हो।
बिकासका नाममा झिकाइने नाना थरि हाइब्रीड बिदेशि डालेरुख भन्दा यो रैथाने बनस्पतिलाइ ग्राह्यता दिएर यसकोबारे थप शोधखोज गरिनु पर्दछ। यो स्वदेशि पहिचानहो, समयको माँग हो र लोकसरोकारको बिषय पनि हो।

1 comment:

  1. I reached far a way to my Childhood when I used to eat 'TIMULA' in my Gawn Gerada through this Article.
    Thanks a lot Badu Sir n hope more n more niceful articles in coming days........!!!

    ReplyDelete