Saturday, May 15, 2010

ख्वै, के गरुँ?



बासि भातको टाटेपाटे मिल्काइएको थुप्रो जस्तो,
यो गन्हाउने र भोको यथार्थका बिचमा
खुल्ला फाँटमा चरिरहन चाहने
सोझा जंगलि हिरण जस्ता हामी र
भोको चितुवाले तन्काएको आंग जस्तो
दृष्टि मधुर तर भयंकर परिबेश,
मेरी प्रिया!
ख्वै म यो समिकरण कसरी मिलाऊ?
* *
मेरो स्नायुका सम्बेदनशिल पाखा हरुमा
चोइटिएर चस्स पोल्ने जिवन चंगाका बिरक्त क्षण
यसे पनि फुरुंगिएर किन उडान भर्छन कुन्नि?
म भने भित्र भित्रै कोतरिदै जाँदैछु
मेरी प्रिया!
ख्वै, यो बेदना म कस्लाई सुनाऊ?
· *
न्यानो मिसिएको
उहिलेको---कहिलेकाहिको सम्झनाले
यो चिसो—अति नै चिसो वाताबरणमा पनि
आँखाको परेलीमा उम्रने पानि र आगोलाई
दरिलो र आत्मिय हरियो बिश्वासलाई
कपाल भरि छर्न पाउछु कि भन्ने झिनो आशाले
धुपीको कालो बोटबाटै कसैले
सुसेलेको सुन्न पो मन लागेकोछ अझै पनि
त्यसैले ‘कोहि’ भुगोलको कुनै कुनामा
कसैका थाति कालखण्डहरु स्याहारेर बसेकोछ,
मेरी प्रिया!
यो खवर तिमिसम्म कसरि पु-याउ?
ख्वै, कसरी पु-याउ?
ख्वै, म के गरूँ?
(मुगु,०५३-९-१०)

No comments:

Post a Comment