Tuesday, August 10, 2010

के म टाढाको मानिस हुँ र ?

नेपालीशब्दकोष अनुसार सुदूरको अर्थ टाढा हुन्छ । सिधा हिसाबमा सुदुरको बासिन्दा भन्नाले टाढाको मानिस बुझीन्छ । नेपालको सुदुर पश्चिमांचल बिकास क्षेत्रको बासिन्दाको हैसियतमा बोल्दा मैले आफुलाइ टाढाको मानिस मान्नु पर्दछ । त्यसैले यो सुदूर शब्द श्रुतिमधुर भए पनि मेरालागि असाध्यै कर्णकटु र पिडादायक भएकोछ । म आफै टाढा बसेको हैन । अनि कथित सदरबासीले सित्तैमा सुदुरबासीको बिल्ला भिराएको आधारमा राज्यको मुलधार मानिएको राजधानी केन्द्रित मनोबिज्ञानले मलाइ दोस्रो दर्जामा ग्रेडिंग गर्नु दुर्भाग्यपुर्ण होइन र ? मेरो गाउँ ठाउँलाइ दिइएको अन्यायपुर्ण सम्बोधन गर्ने यो शब्द नै क्षेत्रिय उत्पिडनको पहिलो शुरुवात हो जस्तो मलाइ लाग्दछ । सुदूर पश्चिमप्रति राज्यले अद्यापि हेपाहा प्रवृत्ति देखाएकोछ । बिगतका राज्यसत्ताहरुको पनि सबैभन्दा धेरै कोपभाजन बनेको भूखण्ड सुदूर पश्चिम नै हो । दशरथचन्द, जयपृथ्वीबहादुर सिंह, डा के आइ सिंह,ओमजंग, रामजंगले तत्कालिन प्रभुत्वलाई दिएको चुनौती र भीमदत्त पन्तले सामन्तवाद विरुद्ध गरेको प्रहारले काठमाडौं सधैं सशंकित हुने अवस्थामा रह्यो ।

सुदूर पश्चिमांचलको सन्दर्भमा सुदूर शब्दले आफुलाइ केन्द्र मान्ने कथितहरुको दृष्टिकोण सपष्ट देखाउछ । अमुक ठाउ टाढा को हो भन्ने बाहेक यसले कुनै बिशेषता जनाउदैन र वास्तबिकतालाइ सम्बोधन गर्दैन । यो बोलाइले अन्य क्षेत्रको तुलनामा यहाँ जटिल र असमान परिस्थिति छन भन्ने जनाउछ । मेरो बिचारमा यसले टाढाको नियतिलाइ अझ अतिरिक्त उत्पिडन दिएकोछ र ‘ हामी टाढाका हौ, केहि पाउँ” भनेर बिन्तिपत्र हाल्नेगरि केहि जमातलाइ कज्याएर राखेकोछ । बिशेषता अभिब्यक्त गर्ने कैयौ शब्द हुदाहुदै सुदुर शब्दले यो क्षेत्रलाइ पहिचान दिने अन्य आधार सिमित गरि दिएकोछ । टाढा रहेका कारण भेदभाव अर्थात राजनैतिक बन्चितिकरण गरेर राष्टिय र सार्बजनिक जिवनमा सहभागि हुदा ल्याइते र ब्याइतेको जस्तो बिभेदीकरणको परिस्थिति पैदा गराइएकोछ । यसअघि गर्ने भनिएका विकेन्द्रीकरणका योजना कार्यान्वयन गरिएन, सधैँ केन्द्रबाट नियन्त्रण गरियो। त्यसकारण तत्कालिन राज्य ब्यबस्था असफल भयो। संघीय प्रदेश बनाउँदैमा सबै समस्या समाधान हुन्छ भन्ने पनि होइन। त्यसबेला पनि प्रभावकारी र इमानदार कार्यान्वयनको आवश्यकता पर्छ।

सुदूर पश्चिम शब्दले अभाव, अशिक्षा र अन्धकारलाई परिभाषित गर्छ भन्ने मान्यता स्थापित हुनलागेको हो कि भन्ने लाग्छ । यो पंक्तिकारले डेढ बर्ष बझांगमा काम गरे पछि डोल्पाको सरुवा-पत्र पाउदा अन्यायमा परिएको ठानी म तत्कालिन सुपरिबेक्षक आचार्य थरका एक जना सहसचिवसंग गुनासो पोख्न गए । ए बा, उनले त सुदुर पश्चिमका मानिसलाइ टाढा नपठाइ सहुलियत दिएकोजस्तो कुरा पो सुनाए । मैले “तपाइको सहुलियत तपाइकै प्रिय पात्रलाइ दिनुस, म न्याय खोज्न माथिल्लो निकायमा जान्छु” भनेर बाझेपछि मात्रै एक महिना नपुग्दै मेरो सरुवा सुगममा भयो । राजाको शासनकालमा एक बर्ष नपुग्दै काठमाण्डौबाट म पुन: दिपायल खेदिए । माथिल्ला अधिकारीहरुको जमघटमा मैले उपत्यकामै राखिदिने अनुरोधगर्दा सुदुरको मान्छेलाइ सुदुरै पठाउदा केहि फरक पर्दैन भनियो । सुदुर भन्नासाथ एकातिर हाउगुजी बनाएर अतिरिक्त फाइदा लिने प्रबृति तथा अर्कोतिर थप सुबिधाका कुरा उठाउनु सामान्य भएकोछ ।

अचेल हामीले अधिकारका बारेमा थुप्रै कुरा भन्ने र सुन्ने गरेकाछौ । थुप्रै मानबाधिकार मध्ये मानबिय मर्यादामा बाँच्ने अधिकार पनि पर्दछन । यस भित्र मानबका नाताले बिना भेदभाव बाँच्ने नागरिक र राजनैतिक अधिकार र धार्मिक, भाषिक, सांस्कृतिक पहिचानसंग सम्बन्धित अधिकार पर्दछन । केन्द्रियसत्ताको उन्मादद्वारा स्थापित सदर राजधानीका सम्भ्रान्तहरुले सिर्जना गरेको यो सुदूर नामको निरिह परिचयमा मानबिय मर्यादा रहदैन । यो नामका पछाडी राजधानी केन्द्रित मिचाहा र ठिमाहा प्रबृतिको कालो भुमिका दृष्टिगोचर हुन्छ । बिभेदयुक्त सत्तालाई बिभेदमुक्त पार्न सुदूर र सदरको यो गंजागोललाइ मिलाउनै पर्ने हुन्छ । पछिल्लो जनगणनाका तथ्यांकहरूहेर्दा सुदूर पश्चिममा ५० वर्षमाथि उमेर भएका जनताको संख्या १५ प्रतिशतभन्दा कम छ भने करिब ३ प्रतिशत घरधुरीले अहिले पनि खोला तथा नदीको पानी पिउँछन् । ८९ प्रतिशत घरधुरीको इन्धनको स्रोत अहिले पनि दाउरा नै हो भने २२ प्रतिशत घरमा मात्रै बिजुली छ । ३६ प्रतिशत जनसंख्या निरक्षर छन् ,३८ प्रतिशत जनसंख्यामात्रै आर्थिक रूपमा क्रियाशील छन् । यो अवस्था कायम रहनु नै हामीलाइ राज्यले दिएको उपहार हो । उल्टो हामी नै टाढाको मानिस रे ।

प्रदेशको नामाकरणको लागि हामीसंग थुप्रै आधारहरु छन । यो पश्चिमपट्टिको सिमान्त क्षेत्र हो ।राष्टिय सुरक्षाकालागि समेत सिमानाका बासिन्दाहरु उच्च मनोबलयुक्त र राष्टिय स्वाभिमानले ओतप्रोत हुनु पर्दछ । अपि र सैपाल जस्ता उच्च हिमश्रृंखलाबाट प्रसवित सेति र महाकाली नामका हिमनन्दिनीहरुले यो पुरै क्षेत्रको परिभ्रमण गर्दछन । भारतमा मनसुनको पहिलो बादल देखिने ठाउँलाई मेघालय भनिए जस्तै बायब्य कुनामा अवस्थित यो क्षेत्रलाइ बारुणेय प्रदेश वा बायुतटीय क्षेत्र भन्दा पनि फरक पर्दैन ।बारुणी प्रदेशको अर्थ हुन्छ जलको दिशा । खप्तड, बडीमालिका, सुर्मा जस्ता थुप्रै मनोरम ठाउँले भरिएको यो सुदर्शन क्षेत्र त हो नै । मानसरोवरको नजिक पर्ने मानस भुमी र नेपालका पहाडमा आर्यहरुको पहिलो प्रबेशद्वार मानिएको हिमाली आर्यावर्त- आर्यभुमी पनि हो । यो सनातन खण्डलाइ अब सुदूरको सम्बोधन दिनु हुदैन ।

प्रदेश निर्माणको सरगर्मी बढ्दै जाँदा विभाजन र विकृतिको कुरालाई पनि खेलाँची गर्नुहुँदैन। यो देश हामी सबैको हो भन्ने भावना राखेर प्रदेशहरूको खाका कोर्नुपर्छ। जातिगत र भाषागत रूपमा अघिबढ्ने हो भने जातीय मनमुटाव सिर्जना हुनसक्ने र त्यसबाट जातीय विद्वेष फैलिन गई ठूलो क्षति हुनसक्छ। घृणा होइन, घुलमिलको भावना जागृत गर्ने खालको संघीय संरचना बनाउनुपर्छ।
प्रदेश निर्माण गर्दा हिमाल, पहाड र तराईको संयोजन हुनैपर्छ। यी विकास इकाइहरूबीचको आर्थिक अन्तर सम्बन्ध, स्रोतसाधन, जाति, भाषा आदिको आधारमा अपि सैपाल, कर्णाली, लुम्बिनी, बागमती, गौरीशङ्कर, मिथिला र सगरमाथा जस्ता उत्तर-दक्षिण फैलिएका प्रदेश बनाउँदा वेश हुन्छ।

लौकिकता र मानव–निर्मित ऐतिहासिकतासँग गाँस्नु नै समकालिन समाजको रुपान्तरण हो। काठमाण्डौले सुदूर भनेको ठाऊबाट ६ घन्टाभन्दा कमको यात्रा गरेर भारतको राजधानी नयाँदिल्ली पुग्न सकिन्छ, तर सरकारले दिल्लीबाट आयात हुने मालसामानको नाका वीरगन्ज तोकेको छ । दिल्लीसँगको कारोबारका लागि गड्डाचौकी वा गौरीफन्टा नाका सबैभन्दा सहज र किफायती भए पनि काटमाण्डौले दिल्लीभन्दा ‘सुदूर” लाइ टाढा देख्दछ। साम्प्रदायिक तनाव र विखण्डनको खतराबाट सुदूर पश्चिम मुक्त छ र बाहिरबाट कच्चापदार्थ आयातको दृष्टिले सस्तो हुनसक्छ भन्ने यथार्थ कसैले बुझ्नै चाहदैन । बिडम्बना, सुदूर पश्चिममा न सुख्खा बन्दरगाह छ, न औद्योगिक कोरिडोर । महेन्द्रनगर-टनकपुर लिंकरोड बनाएर आवागमन खुल्ला र सहज पार्ने हो भने एशियन राजमार्गको प्रबेशबिन्दु रहेको सुदूर पश्चिम पर्यटक आगमन र बहिर्गमनको नाका पनि बन्न सक्छ । शायद त्यसपछि मात्रै हामी सुदूरको सम्बोधनबाट मुक्त भै सदरसंग दाँजिन सकौला कि ?

1 comment:

  1. I salute You for this Sundar page abt Sundar Sudurpachhim.......!!!

    ReplyDelete