Thursday, August 12, 2010

ओल्के संक्रान्ति ; सम्मान र सद्भावको पर्व

डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित ब्यक्तिलाइ दिइने केहि बस्तु वा उपहारलाइ जनाउछ । यस्तो सम्मानोपहार दिने " बिशेष दिन" नै ओल्के संक्रान्तिका नामले सुदुर पश्चिममा धुुमधामसंग मनाइन्छ । यो पर्ब सिंह संक्रान्ति अर्थात भदौ १ गते पर्दछ।

ठुलालाइ सम्मान र सानालाइ माया गर्नु हाम्रा पर्बहरुका त मुख्य बिशेषता नै हुन । यो सबै खाले समाजमा पाइन्छ । त्यसै गरि उपहार लिने दिने प्रचलन पनि प्राय: सबै समाजमा प्रचलनमा छ । तर हाम्रो ओल्कोलाइ शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै सिमित गरि दिदा समकालिन सामाजिक मनोभावको ठ्याक्कै अभिब्यक्ति नहुन सक्छ । ओल्को लिनु दिनु त्यहाँको संस्कृति, परम्परा र आस्थाको प्रतिक पनि हो ।


सुदुरको लोक जिबनमा बर्षाको यामलाइ अतीव बिपत्तिको एकांकी समय मानिन्छ । बाढि पहिरोले गाऊँहरुको आपसि सम्पर्कमा बाधा पुग्दछ । प्रकृतिको रुप-रंग फेरिन्छ । खोला नाला सुसाएका हुन्छन । हरियालिले पाखा पर्बत ढाकेको हुन्छ । कामको चटारोले कसैलाइ फुर्सत हुदैन । “साउनकि कालि रात”का डरलाग्दा किस्साहरु गाउ गर्खामा सुन्न पाइन्छन । निसन्देह यो परिबेशले कर्मयोगी लोक जिवनलाइ भावबिह्वल बनाएको होला । उ आफन्तहरुलाइ सम्मान स्वरुप उपहार सहित ढोग भेट गर्न गएकोहोला । शायद यसै पृष्ठभुमीमा यो पर्बको शुरुवात भएको हुनु पर्दछ । यो शास्वत भावमा ओल्कोको परम्परा अहिले अझ सान्दर्भिक हुन गएकोछ ।

यो पर्ब बिशेषमा ओल्कोकोरुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहा पठाइन्छ । शिल्पकर्मीहरुले आ-आफ्ना सिर्जना समेत पठाउन सक्दछन । अचेल लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने प्रचलन बढ्दोछ । यति मात्रै होइन, गुठियारहरुले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालिको ओल्को चढाउछन । बिभिन्न जनजातिहरुमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ । यस्ता दिनमा मिठो मसिनो खानपिनको जोहो त हुने नै भयो । कुमाऊँँतिर यस पर्बलाइ घिउ तिहार भनिदो रहेछ । यसदिन घिउ खानै पर्ने हुन्छ रे । त्यहाँको लोकमान्यतामा  ओल्केइसगरारान्ति नमानेमा अर्को जुनीमा शंखेकिरो ( गड्याल ) भइन्छ रे । कतै कतै चतुर्मासको बेला कैलाशतिर गएका देउताहरुलाई सम्झदै देवस्थलमा बत्तिबालि नयाँ अन्नको कोसेली चढाइएको हो भन्ने मान्यता पनि छ।

ओल्के संक्रान्तिका दिन गाउँँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्दछन । यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर-घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर 'बूढी पोल्ने' पर्व मनाउने परम्परा छ । यस अनुष्ठानलाइ द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग पनि जोडिएकोछ । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो 'बूढी पोल्ने' पर्व मनाइने गरिन्छ । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ । घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग-व्याधीबाट परिवारजन मुक्त हुने मान्यता छ ।

कालक्रममा केहि बर्ष अघि सम्म ठुलाबडालाइ साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत ओल्कोको ब्याख्या गरिएको देखिन्छ । कथित ठुलाठालुहरुले ओल्को ल्याउनेलाइ बक्शिस दिन्थे रे । तर यो मनोदसा अब समाप्तिको क्रममा छ । अब नयाँ अर्थमा यो पर्बलाइ परिभाषित गर्नु पर्दछ । ठुलो सानोको त्यो संस्तरणमा अन्यायपुर्ण श्रम सम्बन्ध वा जाय जन्मको आधार लिने पुरानो ब्याख्याको समय भिट्की सकेकोछ । इतिहासबाट कुँडिदा सांस्कृतिक बिच्छिन्नताको भय रहन्छ, समभावको वास्तबिक पहिचानमा गौरब र आनन्दको अनुभुति हुन् ।  ।

भनिन्छ, ओल्के संक्रान्तिताका सतरति ( सातरातको झरि) पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वा बन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने संभाबना रहन्छ । यसैताका ऋतुमति धर्तिले नबीन श्रृजना गर्न थाल्छिन । प्रकृतिमा नयाँ नयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरु देखिन थाल्छन । धुलो धुवा र फोहोर पखालिन्छ । पाखा पखेरामा नवधार (पानीका नयाँँ मुहान) फुट्न थाल्छन । पृथ्बी पुन: शस्यश्यामला र कञ्चन बन्छिन । सुदुर पश्चिममा के बीश्वास छ भने यो बेला पहाडका खोलानाला समेत समुद्रलाइ ओल्को पु-याउछन । शुष्कप्राय: खोलानाला यति हौसिएका हुन्छन कि महाकालिलाइ समेत हल्लाउन भ्याउछन । एउटा स्थानिय लोक गितमा भनिएको छ, कालि गङ्ङा हचको दिनछै धन्न बुका खोला ( अर्थात कालि नदिलाइ समेत हचको दिने बुको खोलालाइ धन्यबाद छ)।

यसरी साउनको रात वा पुष को परभात वा जेठको दोफरि जस्तो अप्ठ्यारो समय सकिए पछि एउटा नयाँ समय आउँछ । हाम्रा पर्बहरू यस्तै समयमा नयाँँ लय दिन्छन् । ओल्के संक्रान्ति पछि नै शुरु हुन्छ गौराको पावन पर्ब । देवराग ( अर्थात डेउडा ^ देउडा^ देउरा ) गायनको महान अबसर । यस्ता अबसरहरुलाइ समयानुकुल समाबेशि बनाइ लोक परम्परालाइ जिबित राखनु सबैको कर्तब्य हुन आउछ ।

यसै सन्दर्भमा त्यहाको एउटा लोकआख्यान पनि भनी हालौ । भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थाले पछि मैदानका महानदीले यिनलाइ निक्कै फुरुङ्ग्याउछन् । कुरैकुरामा आफ्नी छोरिको बिबाह यि फुर्तिला शैल-सरिताका छोरासंग गरिदिने बचन पनि दिन्छन । तर बिहे भने हिउदमा मात्र हुने निधो हुन्छ । बिचरा सोझा पहाडी खोलाहरु रातदिन बिबाहको जोरजाममा खटिन्छन । बिडम्बना, हिउँद आउदा नआउदै पानिको मूल शुष्क प्राय: हुन्छ र ठुला घरसंग साइनो जोडने यिनको मनसुबा कहिले पनि पुरा हुदैन । यो प्रतिकात्मक उपकथामा बर्णित पहाडको प्रकृति र सुदुरको बर्तमान नियतिमा गजबको साम्यता छ ।

प्रिय शैबालिनी ! अब यसरी न ठगिनु । नयाँ भुमीमा बसेर मलाइ लाग्दैछ, पुरानै साथी भाइ र पुरानै ठाऊँ ठेगान आत्मीय हुदा रहेछन । नया ठाउमा घरजम गर्नु आजिबन गर्भबति भएर बस्नु जस्तै रहेछ । म अहिले पनि बिगतमा पाएको सिन्का मुठा, कर्कलो गाभा, पक्वानहरु, जनेउ र मस्यौराको ओल्कोलाइ सम्झि रहेकोछु ।

समय नयाँँ संस्कृति निर्माण गर्दैछ । मेरो सुदुरको फुलबारीमा पनि झुसिल्किरा नष्ट भएर पुतली जन्मियुन् ।  यहि शुुभभावसहित ओल्के संक्रान्तिको शुुभ अवसरमा हार्दिक  मंगलमय कामनाको ओल्को अर्पण गर्दछु । स्विकार होस् । धन्यबाद् ।

No comments:

Post a Comment