Tuesday, January 4, 2011

जनसुकेइ पहाड्का पानी---

जनसुकेइ पहाडका पानी, म पहाडै आउला ....../
आफनो गाउ सम्झिदा मनमनै मन-मयुर यो गीत पो गाउन थाल्छ ।
 बेर्नाबाट बारीमा लगाइएको जस्तो प्रत्यारोपित भएको र पहाडबाट तराइ झरेको जीबन-प्रवाह बडो बेसोमतिलो हुन्छ । तर बर्तमान सँधै खस्रो लाग्ने परिबेशमा भए पनि अतीत सदाकाल लयात्मक( lyrical) नै लाग्दो रहेछ । यसपाला अतीत खोज्दै आफ्नै पुरानो गाउँ घुमेर आए। भुगोलबाट भत्किएको र इतिहासबाट कुँडिएको मेरो समकालिन पिढी सांस्कृतिक बिच्छिन्नता र असमाबेशनियताको दोहरो डर साँचेर बसेको देखियो । पार्श्व-छायामा उभिएका सुखदुखहरुलाइ एकिकृत रुपमा समेटदै पुरानो दिनहरु सम्झिए । खोलारोणाका दुखसुख आफनै किसिमको हुन्छन् । मेरो आगनबाट देखिने पहिलो दृश्य थियो ग्वाल्लेक पर्वत र धारी खोलाको । यो आलेख त्यसै धारीखोलालाइ समर्पित छ ।
 यो खोला हाम्रो घरभन्दा केही पर थियो। हामीले घङारु र किरमणा टिप्ने , भंगेरा र भ्याकुर खोजिहिँड्ने त्यस ठाउँका बुटा-बुट्यान र सानातिना रूखहरू फाडेर खोलाको वारि पारि मजाले लडीबुडी खेल्न मिल्ने हरियो चउर भन्न मिल्ने गराहरु बनाइएका थिए । एक हिसाबले बुट्यानहरूबीच धारी खोला बग्दथ्यो । सोझो बाटो तर तिनवटा साना खोला(रोणा) तरेपछि धारीखोला छेउको यो मैदानमा पुगिन्थ्यो। जाडो, गर्मी, वर्षात् जे सुकै होस् मौका पाउनासाथ हामी गाइबाच्छा कुदाएर साथीसँगीसित यो फाँटिलो बगरमा पुग्थ्यौं। ठूला-ठूला ढुङ्गाहरूमा ठोक्किँदै नागबेली ढाँचामा बग्ने सङ्लो पानीको धारी खोलाले मलाइ सँधै निम्त्याइ रहन्थ्यो । त्यतिविघ्न ठूलो खोला होइन तर मजरखोला र मौरदुलाको कोखबाट निस्केको पुर्बोत्तर बग्दै असिमी केदारको मन्दिर छेउबाट गोदागाडमा यो विलाउँथ्यो।
टन्न थिए किनारमा झयाङहरू। परजीवी लहराले छोपेका माजरा र ऐसेलुका बुटाहरू पनि प्रशस्त थिए। उनिउ, थकाइलो मेल्टाको साग बटुल्नु पनि उत्तिकै रमाइलो काम हुन्थ्यो। हातमा केही उपयोगी चिज बोकेर घर जाँदाको इज्जत नै बेग्लै । दुवाली छेकेर माछा मार्ने काम बेलाबखत गरिए पनि यो काम बुवालाइ मन नपर्ने हुनाले रिस्की हुन्थ्यो । तै पनि हामीहरु धारी खोलाको संगत छुटाउदैनथ्यौ र कहिले साना साना माछा समात्न सकेकोमा मख्ख पर्थ्यौं। ढुङ्गाको चेपतिर गँगटा पनि फेला पर्थे, तर समाउने ढङ्ग नपुग्दा तिनले औंलामा चोट पनि पुर्‍याउँथे। त्यसरी पाएको सिकारलाई झ्यासझुस आगो बालेर पोलिखान पाउँदा मिल्ने तृप्ति अर्कै हुन्थ्यो।
कसैले हामीलाई अनेक रङ्गका पुतली समातेर सङ्कलन गर्नुपर्छ भनेर उल्क्याइदिएको थियो। भोर्लाका पात, कपडाको टालो इत्यादि उपयोग गरेर पुतली समाती पनि हिँड्यौं। लाम्चो आकारको स्थानिय भाषामा भाण भनिने पुतलि समात्ने र त्यस्को पुच्छरमा धागो बाधि हेलिकेप्टर बनाएर उडाउने उपक्रम मेरो अतिप्रिय खेल हुन्थ्यो । बरा, अनेक यत्नले समातेर ल्याएको जावो पुतली हाम्रो हवसका शिकार हुन्थे । यो बोध मलाई धेरै पछि मात्र भयो ।
बर्षातको बेला औधि रिसाउने यो खोलासंग अठौति मल्लको कथाहरु जोडिएर रहस्यमय बनाइएको थियो । हिउँदमा शान्त र हानिरहित देखिने धारि खोला वर्षायाममा रौद्र रूप देखाउँथ्यो। कालो-पहेंलो भेलले आफ्नो मार्गमा पर्ने काठपात, मुढा आदि पछार्दै ल्याउँथ्यो। कहिले निर्दोष पशुहरू पनि  रोषको सिकार बन्थे। फुस्रे ठाडो भीर धारीको उद्दाम र विनासकारी अतीतको निशानी थियो। अठौति मल्लले यसै खोलाले बगाइ दिने भनेर केदारदेवतालाइ च्यालेन्ज गरेको थियो रे । तर शान्त भएर बग्ने अर्को गोदावरी गाडले अठौतिको अभिमानलाइ माथ ख्वाइ दियो । जे होस, मलाई भने त्यसरी फिँज काढेर गडगडाउँदै बगेको धारि खोलाको यो स्वरूप बडो रोमाञ्चकारी लाग्थ्यो।
उसवेला गाइगोरु चराउन जाने ठाउँ यहि खोलाको छेउछाउ थियो। हामी परिगाउ र कोइरालीवालाहरुको चरन नै धारीको बन मात्र हुन्थ्यो । खोला किनारमा घङारुको झाडीले घेरिएको एकान्त ठाउँलाई हामीले खेल्ने चौर बनाएका थियौ ।  भुराभुरिको लागो खेल्ने चौर बनेको धारीको मैदान बुढाबुढीहरुकोलागि घाम ताप्ने थलो पनि बनेको हुन्थ्यो । नजिकैको रेल्या, मजरखोला भिटा तिर गाइ बस्तु चर्थे र घाम अस्ताउन थाले पछि आफै बुर्कुसी मार्दै चौरमा आइ पुग्थे । यो गोपालक जिवनको नियमित जस्तै दिनचर्या थियो ।
त्यस दिन पनि चार-पाँच जना दौंतरी मिलेर धारिको हरियो मैदानमा  गाइ चराउन  गएका थियौं। हामीबाट  आनन्ददायक लाग्ने तर लोणे बाध्ने, एकखुट्टे,ठीणी, घ्वाइ हान्ने जस्ता मूर्खतापूर्ण निरर्थक काम गरिदै थिए । अनायास छेउछाउका साना बुट्यान वरपर चरिरहेका गाइगोरु भयभित भएर कुद्दै बेसमय चौरमा आइपुगे । हामि पनि अज्ञातको आतंकले सतर्क भयौ । कान ठाडा पार्दै गोलबन्द गाइगोरुको बथान बारेको वास्तविकता थाहा थिएन । बुढापाकाले भने पछि नजिक कतै बाघ आएको अनुमान गरियो ।सबैले आफ्ना बस्तुको हिसाब लगाए । मेरै तिलुगाइ नआएको ठहरियो ।
बुट्यानयुक्त बगरमा बाघ आएको प्रष्ट हुदाहुदै हराएको गाइ खोज्नु चानचुने कुरा थिएन। तर मैले हार मानेन। हिउदको  त्यो लामो दुर्दिनमा असिनपसिन भएर रुदै नजिककाको डिलको झाडीतिर लागे । बुढी बज्यैले रोक्न खोज्दा खोज्दै पनि  म झण्डै बेहोसीकै अवस्थामा तिलुको खोजमा कुदन थाले । दौतरी गोपालबर्ग समेत पछाडी आउने नै भयो । कठैबरा,झाडीको चेपमा मेरो तिलचाम्ले अधबैसे तिलुगाइ खुट्टा पसारेर निष्प्राण पल्टिएको थियो । चितुवाले घाँटिमा दारालगाइ रगत चुसेर मारि सकेको रहे छ । त्यो गौ प्राणिले त्यो हिंसक पशुसंग कतिबेर संघर्ष गर्यो होला ? हामी ३०० मिटर पर खेल्दै गरेका बाल मनुवाहरुले केहि चाल पाएनौ ।
यो घटना मेरो दिमागमा अहिले सम्म ताजै छ । तिलुगाइको एहलिला सकिएको यो ठाउ मेरो लागि सम्झनाको किलो ठोकिएको स्थान बन्न पुगेको छ । अतितका ति रिमझिमे दिन बर्तमानमा समेत रोमाञ्च गराउछन । हुन पनि घाम गहिरो हुँदाहुँदै केटाकेटीमा हामी एक्लैदुक्लै त्यता जान भने डराउँथ्यौं। खासगरी घाम डुब्ने वेलामा पटक्कै नजान र गएमा बाघ लाग्ने चेतावनी पाएका थियौं घरबाट। किनभने बगरमा यस्ता थुप्रै घटना घटेका थिए।
धारिखोलासितको मेरो सङ्गत त्यसवेलादेखि छुट्यो जुनवेलादेखि स्थानिय  दुर्गास्थान प्राथमिक स्कूल छोडेर म एकदिनको बाटो पर तल्लो सोराडको हाइस्कुलमा भर्ना भए । एसएलसी जाँच दिने वेलासम्ममा धारिसितको मेरो सम्बन्धमा केही परिष्कार आइसकेको थियो। खोलामा निर्बस्त्र भएर नुहाउन निरुद्देश्य बरालिन छाडिसकेका थिए। बरु बेलुकी घरकै आगनमा बसेर धारिका गरामा घाम डुबेको दृष्य हेर्ने गरिन्थ्यो । यदाकदा त्यो बाटो भएर अन्यत्र जानबाहेक कामका लागी त्यहाँ जाने मेसो नै मिलेन ।
शायद ०३१।०३२ तिरको कुरा होला । जमिन नापि हुने भयो रे भन्ने सुनियो । एस एल सी सकेर म गाउमै बसेको थिए । तालुकदार मुखियाको कामदाम गर्ने हैसियतमा टिप्पन लेखने काम मैले गर्थे । धारिको जमिन समेत दर्ता को कुरा उठ्यो । सबैलाइ बाँडदा धेरै टुक्रा हुने भएकोले जग्गा दर्तामा सहयोग गरे वापत १०-१२ जना सबै खायकरहरुले एकमुष्ट मेरो नाममा जग्गा दिने भए। ०४३ तिर धारिका गराहरु पिताजीका नाममा दर्ता भए । हाम्रो समेत खोलाको दाँयाबाँया झण्डै आधा दर्जन घरबारी पो आबाद भए ।
यसपछि म धारीसंगअझ टाढा भए । तर जब म जिन्दगीलाई दार्शनिक दृष्टिले हेर्ने चेष्टा गर्छु जति पानी भए पनि त्यसलाई बोकेर एकनास बगिरहेको धारी खोलाकै तस्बिर मेरो दिमागमा आउँछ। खोलाको नियति नदी या सागरसित मिसिनु नभई यात्रामै कतै हराउनु थियो। खोलाको पनि जीवन जस्तै रुपरंग बदलिदो रहेछ । ठणसोणा भरि रोपाइ गरि भ्याउने धारिको खोलाको काया अब ५० वर्षअघिको जस्तो रहेन। खोलाको पानी धेरै माथि आउदैन, किनारका वनजङ्गल गायव भए । बाङझो जमिन आवाद हुदैछ । तै पनि खोला बग्दैछ, तटबृक्षहरु समयका साक्षी स्वरुप खडा नै छन । खोलाको पहिलो मुकाम सकिने दोभानमा असिमि केदारको मन्दिर पनि यथावत ऊभिएकै छ । यो मन्दिर क्षेत्रलाइ पबित्र धाम मानिन्छ । यस सन्दर्भमा मलाइ ओशोको भनाइ मन परेकोछ । वास्तवमा तीर्थका कारण मुक्ति हुदैन । मुक्तात्माहरुको बासका कारण तिर्थस्थल बन्ने गर्दछन । यो भेगतिर एकलै हिड्दा कुनै न कुनै रुपमा यस्ता मुक्तात्हरुलाइ भेटनसक्छु भन्नेमा म बिश्वस्त छु । परमेश्वरले मान्छे मात्रै बनाएको त छैन । पशुपंछी रुखबृक्ष, ढुंगामाटो र हावापानी समेत बनाएकोछ । अत: मुक्त आत्माहरुको स्वरुप मान्छे जस्तै हुनुपर्छ भन्ने ब्यहोरा मलाइ तर्कसंगत लाग्दैन ।
अहिले गाऊँमै बिजुलि पुगेकोछ । घास काट्दै हलो जोत्दै फोनमा दूरदेशसम्म बात मार्न सकिन्छ । यसै खोोलालाई छिचोल्दै देहिमान्डौ-सलेना सडकको लिंक खोलिएकोछ । एकदिन यसै खोला भएर पक्कि सडक बन्नेछ, आधुनिक बाहनहरु हिडनेछन । लयदार श्रृंखला माथिको सिमान्त चुलीको वरपर बिश्राम गृहहरु,आश्रमहरु बन्नेछन । खोलाको प्रश्रवण क्षेत्रमा पाइने कमेरो, खरि र रोणाढुंगाहरु नगदमा रुपान्तरित हुदै जानेछन । यहाँका बनौषधि, रसायनरहित तरकारि, डाले घाँस र पशुधनले गृह उद्योग चल्नेछन । म यस्तै यस्तै सपना देख्दैछु । शुभकामना छ, यो खोला,त्यो जोबन र यो जिवनको यात्रालाइ । शिबास्ते पन्थान् ।


No comments:

Post a Comment