Tuesday, November 22, 2011

बिगतमा टेकेका पाइलाहरु

शैवालिनी,
लामो समयपछि यसपाला म मेरो पहाडको माटो ढोग्न पुगे । माटि दाहिना रहुन भनेर जन्मभुमीको शरणमा जाने परंपरा अद्यापि मेरा गाउ-कन्दरामा छदैछ । हिसाब लगाउदा अब त हाम्रो उमेर पनि सन्न्यास-आश्रमतिर लाग्नु पर्ने भैसकेको रहेछ । बर्षातपछि पखालिएको आकाशमा उडीरहेको तितरीपंखी बादललाई मैले एक्लै भए पनि अघाउन्जेल हेर्न भ्याए । टाढा देखिएको पर्वतीय पृष्ठभुमीको कोलाजमाथि लहरै उभिएको हिमश्रृंखलाहरु देख्न पाएपछि मन-मयुर असाध्यै रमायो । बिधाताले कुशलतापुर्वक बनाएको यो क्यानभासको दृश्यले समयलाई पनि अल्मल्याउन सक्दछ । म पनि अल्मलिए । लाग्यो, यहि पर्बत श्रृंखलाको फेदिमा पालिएको प्राचिनतम परम्पराको म अद्यतन संस्करण हुँ । त्यो परिबेश र यो वय-सन्धिमा अतिब भावुक बनेर अनायासै तिमीलाइ सम्झिन पुगे र यो पत्र लेख्दैछु । गाइ बाख्राको ग्वालो बनेर खेलेको खरफगाला , आमालाई हजुरबुवाले पेवा दिनुभएको कुमौरे भैसी, काला-कपरा गोरु नारेर जोतेका कान्ले बारीहरु, त्यो समाज र ति गोठाले साथीहरु । सब बिराना भएछन । जन्मेको सुन्दर गाउ सुनसान लाग्यो। भावबल्लभा,
बाध्यताले आफु परदेशिनुपर्दा सोचिंने गर्थ्यो, के मैले घांस काटने कोइरालोका बुट्टाहरु अहिले सम्म जिबितै होलान ? ओरालो भरि झ्याउझ्याउ एकनास गाएको सुनिने झ्याउकिरिका अबिश्रान्त स्वरहरु अहिले पनि उस्तै सुनिएलान ? तर समय अहिले एक खुट्को माथि उक्ली सकेको रहेछ । यो संक्रमित समयमा शस्यश्यामला सहनशीला धर्ति प्रसबपिडा ब्यहोरी रहेकीछिन । यो मेरो पहाड, यो मेरो स्वप्नभुमी बाहिरबाट हेर्दा जस्ताको त्यस्तै देखिन्छ, तर नजिक गएर यसको धुकधुकी सुन्यौ भने ज्वालामुखि उम्लीरहेको सपष्टै अनुभव हुन्छ । कहिले बाढि कहिले खडेरी । पहाड कोलाहलमय पो भएको छ त । यहाँका प्रतेक ब्यक्तिसंग आआफनै पिडा छन , आआफनै दुखैसो छ । यसै भावाबेशमा मैले मेरो परिबेश नियाले । शासन र सत्ता प्रति को निरपेक्ष भाव यहाँ अद्यापि देखिन्छ । मेरा परम्पराहरुले मलाई आफुमाथि हैन, भाग्यमाथि बिश्वास गर्न सिकाएका थिए । यिनै शैलशिखरका रहस्य रोमान्चका किम्बदन्तिमाथि देबीदेवताका आस्था उमारिएका थिए । यसै कारण जब म यि उन्नत धुराधामहरु देख्दछु, मेरो सम्पुर्ण ईतिबृतका साछिहरु यतै कतै बसेका छन जस्तो लाग्दछ । मध्यकालिन डोटी नरेश नागीमल्लको महत्वाकांक्षा, मानिसको मासु खाने डिंङे राजाको क्रुर कर्तुत, खोले टाकुरे भुरे टाकुरे राजाहरुका हप्कीदप्की, गोरखालि पल्टनका गोरख धन्दाहरु, राणाहरुको धाकधक्कु------- ख्वै कति मात्रै दुख सुनाउनु र? । पंचायति राज, बहुदलीय काल, लोकतन्त्र , गणतन्त्र वा जनतन्त्र जे भनेपनि यहाँका दुख यतै छन । आममानिसलाइ ‘हरि शही आए पनि नरी शाही आए पनि कुनै फरक पर्ने देखिएन । बिगतका यस्तै परिबेश हुदै अचेलको परिदृश्य हेरे । आगतको स्वागत फुक्का दिलले नगरिदिदा र बिगतप्रति सहिष्णु नहुदा इतिहास थेतरो हुन्छ । तर समयका अपृय अल्झाबाट उऋण हुन सकिदैन । मेरो गाउघरको आगत बिगतको मेसो बिग्रेको देखियो । जनताको नाममा ब्यक्तिगत स्वार्थको बिस्कुन सुकाएर बस्ने बिभिन्न बादको बिबादमा बगीरहेको बिभिन्न पदनामधारी नेतृत्व बदनाम बनेकोछ । नैतिकताको आडमा प्रतिकुलतासंगै बाझी हिडने हिम्मत कसैमा देखिएन । शायद यिनै स्थितिहरु प्रति म पनि सपष्ट हुन सकिरहेको छैन । निष्ठुरि समयप्रतिको यो समर्पणलाइ तिमिले कुन अर्थमा लिन्छ्यौ, मलाइ थाहा छैन । तर चुप लागेर चाहनाहरुलाइ स्वातसुतै निलिदिने पुरानि बानि छोडनुपर्ने चाहना बलबति हुदैछ । बालसखे तिमिलाइ सम्झना होला, कमजोर जरो भएको बोटले लहलहाउदो बिरुवा हुने सपना देख्नु हुदैन भन्ने तिम्रो बिचारमा मेरो सहमति थिएन । मलाइ लाग्थ्यो मेरो जमिनमा मेरा सपना सतिसाल जस्तै उभिन सक्दछन । त्यो जमिन भनेको मेरो पुर्बबर्ति समाज हो । यहाँको बाताबरण, परम्परा र शिक्षा दिक्षामै ऊभिएर मैले शिशु स्वास फेरेकोहु । अहिले पनि म यसै भावभुमीमा जरो गाडेर आफ्नो अस्तित्व बोध गरिरहेकोछु । के गरौ, कसो गरौ भन्दै पाखुरि फरफराइ रहेका छन, पैताला चिलाएकाछन । तर जिवन सरल रेखामा सकिदोरहेनछ । आफन्तहरु बिराना लाग्दै जाने बर्तमान परिबेशमा मलाई हौस्याउने अभिभावकहरुको अभाव नराम्ररी बिझेकोछ ।मेरो आफनो पुस्ता समेत पहेलपाते भैसकेछ । समयले कपालमाथि छरेको तुषारोले बिगत पो सम्झाउन थाल्दो रहेछ । आमाको ब्यस्त दैनिकीसंगै एकान्तताको रुवाइ र रुग्णकाय बाबाको बिपन्न बसाइका बासी सम्झना खल्ला लाग्दारहेछन । तर बुवाआमाको काख भन्दा न्यानो मायाको खानि, स्नेहको चौतारी र ममताको भन्डार यो संसारमा कही कतै नपाईने रहेछ । यो घुमाइमा मैले देखे, हामीले धाएका जिल्लाभरिका स्कुलहरु उच्च मा बि भैसकेका रहेछन । चिनेका साथीहरु पनि कोहि बसाइ सरेछन, कोहि परदेशमा पुगेछन । ठुलाबा पनि बुढा हुनुभो बिचरा । हजुरआमा बित्नुभो । उता मलाई कपुरी क सिकाउने बाजेहरु कता कता बिलाउनु भएछ । गाउं यसै सुनसान छ । पहिला हामी हुंदा गडगडाउने गाड अहिले साउने झरिमा पनि सुसाउन डराउंछ रे । छोया खोला पनि सुक्यो होला । पानी नपरेर कसैले खेत रोप्न पाएका छैनन रे, कतै पहिरो गएर खेतफगाला सबै बेमाख छन रे । हरे, कस्तोबिडम्बना बोकेका छन यि बस्तीहरुले । सिंगो समाज छरपष्टिएकोछ । यहाँका श्रमजिबीहरुले सित्तैमा ठुलाबनाइ दिएका प्रतिनिधि भनाउदाहरुले मुखमात्रै मिठ्याइ फोकटमा दपेटेकाछन । युबाबर्ग दिग्भ्रमित छ । अहोरात्र ब्यस्त रहने महिलासमाज समस्याग्रस्त छ, सीप बिहिन छ । एकातिर बिगतमा गौरब गर्नेहरू अर्को तिर बिगतलाइ भत्काउने प्रयास गरिरहेकाछन । इतिहास मेटाए जरो र जमीन नभएका ठुटो भइन्छ भन्ने चेतना पलाएको छैन । ढूंगामा फुल फुलाउने सपनाहरु बुन्दाबुन्दै उर्बर माटो ऊखरमाउलो बन्जर भुमी बनेको छ । मानसिक दरिद्रताको इतिबृत पो यत्रतत्र छरिएको देखिन्छ । भावसलिला
मैले सानोछदा एउटा कथा सुनेको थिए । उन्मत्त बर्षातका बेला बन-प्रान्तका खोला रोडाहरुमा समेत घोर्ले बैस चढछ रे । फलत: उनीहरु हुर्रिदै महाकालीसम्म पुग्छन र आफनो बिबाह महाकालीकी छोरिसंग गर्ने महत्वाकांक्षा लिन पुग्दछन । बाठो महानदी हिउदमा मात्र बिबाह गर्ने अठोट सुनाउछ । सोझा पहाडी नदि सारा समय बिबाहको तयारीमा लगाउछन। तर हिउद लाग्दानलाग्दै पानीका सारा श्रोत सुक्छन र बिबाहका सारा सपना समेत त्यसै गरि भत्किन्छन । हाम्रो नियति यस्तै शालीन षडयन्त्रमा सकिने भयो है । पहाडका कल्मषबिहिन खोलाहरु र यहाँका श्रमसाध्य जनजिवनमा सांगोपांग समानता छ । बरा, पहाडको सोझो जिवन कति सरल बिश्वासमा खुम्चिएर बसेको हुन्छ । यति धेरै समयहरू फेरिएको, यति धेरै पात्राहरू पल्टेको अनि यति धेरै भावनाका तरेलीहरूमा तरङ्गित भएको लामो कालचक्रमा पनि हाम्रो चेतनामा ‘भगवानको भरोसा” बाँकि छ । तर समय स्थगित हुँदैन । समयजनिन चेतनाका लहरहरू भने चलिरहेका छन् । नयाँ चेताना पलाउने बेलामा अनेकौँ तरङ्ग आउँछन् । कोही मानिस पनि स्थायी खुसी र स्थायी बेखुसी वा शाश्वत रूपमा घोषित आशावादी वा निराशावादी हुनसक्तैन । मेरोनिम्ति पनि आगत र बिगत कुनै स्थिर चित्र सम्झिनु उकालो काम भएकोछ । तिमीलाई सम्झना हुनुपर्दछ म पातझरेपछि खुइलिएको पिपल हेर्नसमेत डराउथे । त्यो प्वाख खुइलिएको डाँफे जस्तो लाग्दथ्यो । अहिले म यस्तै जंजालयुक्त जंगल हुदै हरफहरु भित्र हराएकोछु । काम नगरेपछि ठुलो हुने, काम छल्नसके चलाक मानिने,कुरा काटनसके बिद्वान कहलिनेहरुको माझमा बस्नु जंगलभित्र बसे जस्तै होइन र? तर यति हुदाहुदै पनि मलाइ लाग्दछ, यि बन प्रान्तरमा पनि एउटा दीपशिखा कहीँ जलिरहेको छ । विरोधी आकार र रङ्गले बनिएको क्यानभासको मानसचित्रको आभामण्डलमा छ, त्यो उज्यालो । ठिक लागेको कुरा बोल्न पाउनुपर्ने अधिकार लिन जागेका मानिसका चित्रहरू, बोलीहरू अनि ध्वनिहरूले मेरो मनमा फेरि आशा सञ्चार गर्दैछन् । पृ्र्व-पश्चिम पुगेर हेर्दा मैले देखेको एउटा शक्ति सिर्जनाको क्षण कता कता यस्तै हुन्छ । म आफनै औला भाँच्दछु, गरिबको धन थुकै नलाई खानेले झ्वाम पारेको देखेर पनि केही गर्न नसकी बितायौँ कि? राजनीतिका आवरण ओढेका, बन्दुक बोकेका, सपना बाँडिबस्ने, काम भने केही नगर्ने, जनताले दिएको एउटा काम पनि नगरी झगडा गरिबस्ने पनि धेरै पो रहेछन् कि? तर होइन, यो बितेको वर्ष मैले सबैखाले मनुवाहरू देखिआएका छु , सबै आ-आफ्नैनिम्ति सक्रिय छन् । जे हुनेछ, त्यो असल नै हुनेछ । यहा कुनै अज्ञात कबिको यो कबिता लाइ उद्धरणमा राख्दछु र बिदा माग्दछु । ‘विगत’ले सुल्झ्याउन नभ्याएका अनेकौं पेन्डिङ उत्कण्ठाहरु एक लश्करै अर्धविराम बन्दछन्, त्यही अस्पस्ट अनि विमत वाक्यहरुको संकथनमा भोग, भोग्न अभिशप्त ‘वर्तमान’ यसरी निष्फिक्रि हाँस्दछ कि सायद, बाँच्न निक्कै सरल लाग्दो हो !

No comments:

Post a Comment