Tuesday, June 14, 2011

असिम केदार धाम र धार्मिक पर्यटन




बैतडीको पर्यटन विकास गुरुयोजनामा ग्वाल्लेक केदारधामलाइ प्रमुख पर्यटकिय गन्तव्य मानिएकोछ । हरियो पहाडको बिचोबिच हुदै दशरथचन्द राजमार्ग बैतडीको देहिमाण्डौमा पुगेपछि ग्वाल्लेक केदारधाम तिरको पैदल हरित यात्रा शुरु हुन्छ ।यो धामको वरपर थुप्रै शिबस्थलहरु भेट्टिन्छन, जो अतिव प्राचिन हुन र चमत्कारि पनि छन । यदि तपाइ पनि शिबस्थलमा रमाउन चाहनु हुन्छ भने आउनु होस, आज यस्तै एउटा बिशिष्ट क्षेत्रको भ्रमण गरौ । भनिन्छ,शिव-भक्तिको रंग चढेपछि मानिसले असीम शान्ति पाउछ, किनकि महामना शिव आफ्नो भक्तलाई सदा आशिर्बाद दिन्छन र आफ्नै शरणमा राख्छन । चारधाम केदार र सात बैनी भगवतिको जिल्ला मानिएको बैतडीमा रहेका केदार मन्दिरहरुमा असिम केदारको सम्मानित स्थान छ । यो आलेखमा हाम्रो गन्तब्य सुदूर पश्चिमको सिमान्त जिल्ला बैतडीमा अवस्थित ग्वाल्लेककेदार धाम क्षेत्र र त्यसको पुर्बी पार्श्वमा रहेको असिम केदारको मन्दिर हो ।
पहाडहरुको मनोरम दृश्य अवलोकन गर्दै असिम केदारको मन्दिरतर्फ पैदल भ्रमणमा जाँदा ८ कि मि जति हिडनु पर्दथ्यो । । निर्माणाधिन देहिमाण्डौ सलेना सडकले गर्दा अचेल १० कि मि जति गुडेरै यहाँ पुगिन्छ । बाटोमा दुइ-तीन पुराना गाँउ देखिनेछन, जो बिस्तारै शहरी सभ्यतातिर पाइलो बढाउदैछन। करिब सातसय बर्ष पुरानो यो मन्दिरको महत्व यहाँको चहलपहलबाट पनि प्रमाणित हुन्छ । केदार शैलीमा निर्मित यो मन्दिरका गुठियार बडू ब्राह्मणका पुर्खाहरुले हालको स्थानमा मन्दिर स्थापना गरेको भए पनि असिमी केदार देवता यस क्षेत्रकै प्राचिन शक्तिशाली देवता मानिन्छन । यहाँका तत्कालिन शासक बंशीय ठकुरीहरुको मन्दिर निर्माणमा ठुलो भुमिका रहेकोले पर्ब बिशेषमा हुने यहाँको पुजाआजामा उनीहरुकोलागी बिशिष्ट स्थान तोकिएकोछ । अद्यापि पुराना घटनाहरुसंग सम्बन्धित प्रचलनहरुका बारेका कैयौ किम्बदन्तिहरु यस भेगमा प्रचलित छन ।
मानसखन्डको प्रसिद्ध केदारशैलीमा निर्मित हालको मन्दिर क्षेत्रमा असिमकेदारको प्रतिस्थापना सत्तरौ शताब्दिको शुरुतिर भएको मानिन्छ । त्यस भन्दा अगाडि ऐचेकाणाको केदार गुफाको मैदानमा र त्यसभन्दा अगाडि तेले लेकको जंगलमा असिम केदारको पुजाआजा गरिन्थयो रे । सम्भवत: आदि शंकराचार्यको उत्तराखन्ड आगमनताका नै  असिमकेदार स्थापना भएको हुँदो हो । यो क्षेत्र भरि नै असिमकेदारलाई श्री र सहकालका देवता मानिन्छन् । यो स्थानको भुमीदेवताका रुपमा श्रीकेदारको प्राचीन मन्दिर गाउँको उतरकुनाको सिरानमा प्राचीन स्वरुपमै यथावत छ । ग्वाल्लेक धाम त देबी देवताको पबित्र बासस्थल नै मानिन्छ ।
यात्राको आकर्षण:चारैतिर हरियाली
कुनै बिशेष रैथाने बनस्पतिलाइ लोकदेवताको प्रतीकका रुपमा हेरिने सुदुर पश्चिमको लोकप्रिय परम्परा हो। उदाहरणार्थ बाँजलाइ ग्वाल्लेक केदार, निगालोलाइ निगलासैनी भगवती,मेललाइ मेलौली भगवति,देवदारलाइ डागेश्वरी, जाइफललाइ समैचीको प्रतिक बृक्ष मानिन्छ । यसै गरि हरेक स्थानिय देवताहरुलाइ प्रकृतिसङ्ग जोडिएको हुन्छ । ग्रामिण नेपालको नैसर्गिक परिदृश्य र ग्रामीण जन-जीवनलाइ नजिकबाट हेर्ने यो राम्रो मौका हुनसक्दछ । यदि तपाइ बर्षा ऋतुमा यहाँ आउनु भएकोछ भने यो यात्रा अझ शानदार हुनेछ, किनकि सडक-बाटो वरिपरिको हरितिमाले अर्कै लोकको झझल्को दिनेछ। कुहिरि भित्र लुकामारि गरिरहने प्रकृतिको लिलाले पानी दिने देवताको रुपमा प्रचारित असिम केदार यात्रा सँधैको लागी संस्मरणिय बन्नेछ ।
हरिया पहाडका फेदीमा छ, असिंमीकेदारको माण्डौ


झरिका महिनामा यो मन्दिरले हरियो च्यादर ओढेका पहाडको फेदमा रहस्य र रोमान्च पैदा हुने गरि खास प्रभाव पारेको हुन्छ । मन्दिर अबस्थित दोभानमा दुइ वटा नदि मिसिएका छन। धरावति र गौबर्धिनि। लोक भाषामा धारी र गोदा गाड। मान्यता के छ भने जतिसुकै पानी बर्षे पनि ग्वाल्लेक धामबाट निश्रृत गौबर्धिनी सँधै सुकिली र शान्त हुन्छिन तर धराधाममै जन्मेकी धारावति भने थोरै पानी पर्दा पनि गडगडाहटको आवाजका साथ मन्दिरको दक्षिणि पार्श्वमा ताण्डब गर्न थाल्छिन । यो मन्दिर गाऊँ भन्दा डेढ दुइ कि मि टाढा एकान्त ठाऊमा छ । हरिया पहाडको फेद र दुई नदीको दोभान, अनि एक तमासको नैसर्गिक एकान्त। मन्दिरस्थल भाबोत्पादक त छ नै, रहस्यमय पनि छ। गाउँबाट यहा पुग्न पिसिसि ढलान गरिएको बाटो हिडेर पनि जान सकिन्छ । यो सानो ऊपत्यकाको खोला किनारमा ऊभिएका बृक्षहरुको लहरदार दृश्य हरिया खेत,हरियो जंगल हुदै शिखरको बनस्पतिबिहिन चट्टानमा गएर सकिन्छ । किम्बदन्ति के छ भने कुमौं ( कुमायू) को अठौति मल्ल भन्ने कुनै बिधर्मी सेना नायकले यस सोराड भेगका देवताहरुसंग पौठेजोरि गर्दै असिम केदार (ससालिंग, असिग्राम ) देवतालाइ दोभानमा भए बगाइ दिने धक्कु लगाएको थियो रे । फलत: तत्कालिन युद्धस्थल रहेको ऐचेकाँडाको डाडाबाट असिम केदार यहाँ सरेका थिए ।
यहाँ मन्दिरको छेवैबाट बग्ने गौबर्धिनि गंगाको शुद्ध पानिमा पादप्रक्षालन गरि श्रद्धालुहरु मन्दिरमा पुग्दछन । लगभग प्रतिवर्ष भारी बरसातका बेला नदिमा पानि भरिए पनि यहाको जलराशि कहिले धमिलो नहुनुलाइ आश्चर्य नै मान्नु पर्दछ ।
यहाँको शिबलिंगलाइ फुटलिंग भनिन्छ । जमिनमा उम्रिएको यो प्राकृतिक प्रस्तर-लिंगको आकारमा यदाकदा बृद्धि पनि हुने गर्छ रे । यसो भएमा बिशेष किसिमको ढुगाबाट यो लिंगलाइ बार्नु पर्ने बिधान रहेकोछ।‍
कुन मौसममा यहाको यात्रा ठिक हुन्छ?
सामान्यत: शिबजीको दर्शनको लागी पर्ब बिशेष कुरि रहनपर्दैन । त्रिगुणातीत भोले बाबाको पुजा पाठको निम्ति कुने बिशेष अनुष्ठान पनि आबश्यक छैन । तर भाद्र र माघ महिनामा पर्ने बिशेष पर्बहरुमा यो यात्रा उपयुक्त हुन्छ । बडा दशै, चैते दशै, गौरा पर्ब,न्वागी(नयाँ अन्न) चढाउने पर्ब या स्थानिय जाँतको बेला परेछ भने अझ राम्रो हुनेछ ।

अन्य दर्शनीय स्थानहरु


मंदिर र यसको वरपर थुप्रै दर्शनीय स्थलहरु छन । आधुनिक सुबिधाहरुको सन्दर्भमा यहाँको यात्रा अप्ठ्यारो मानिन सक्दछ । तर नैसर्गिक प्राकृतिक बाताबरण र पर-पश्चिम नेपालको शानदार प्राचिन संस्कृतिलाइ नजिकबाट हेर्ने अर्थमा यो भ्रमण उल्लेखनिय रहनेछ। ग्वाल्लेकपर्बत केदारको मुख्य बासस्थान हो, तर बगडाको दोभानमा दर्शनकालागी मन्दिर बनाइएको हो भन्ने यथार्थ केदारको एउटा गिति गाथामा समेत प्रष्ट्याइएकोछ । गीतको बोल भन्दछ,
काँ रे गुसाइका रै राज स्थान , काँ रे रोकिया काला खाम ।
शिखर गुसाइका रै राज स्थान, बगडा रोकिया काला खाम
गुसाई-----बगडा रोकिया काला खाम।।
यो मन्दिर बाहेक मुल गाँउको शिर्षमा समेत फलाँट भनिने रैथाने बृक्षको फेदमा आदिम शिलाहरुबाट मात्र निर्मित केदारको सानो मन्दिर स्थापित छ । गाऊको दक्षिणको उच्च समस्थली ऐचेकाँणाको मनोरम डाडामा असिम केदारको पुरानो स्थापना स्थल रहेकोछ। अठौति मल्लसंगको युद्धमा केदारले घुडा धस्दा पर्न गएका ठुला ठुला खाडलहरुले यो ठाऊको महत्व अझै प्रमाणित गरिराखेकाछन । दाहिने घुडाले पारेको भिमकाय खाडलको बिचोबिच एउटा गुफा छ । भनिन्छ, यो गुफा सुरनैया किनारको सलेना सम्म पुग्दछ । यस आधारमा यसको लम्बाइ कम से कम दश किलो मिटर हुन आऊछ । गुफाकै आगनमा सानो प्राकृतिक ताल संरक्षणको पर्खाइमा छ । किम्बदन्ति सुनिन्छ, यसैको छेउछाउमा अत्रि अनुसुयाको आश्रमहरु थिए । आश्रमको यज्ञकुण्डबाट निस्किएका भस्माबशेषहरु भसमबाटा भनिने दक्षिणी ढलानमा भेट्टिन्छन रे । पंक्तिकार के ठोकुवा गर्न सक्दछ भने यो स्थानमा पुगे पछि महर्षि अत्रीकै शब्दमा “भाव-बल्लभ भगवान” को चमत्कार देखेर रोमान्चित नहुने कोहि होओइन ।
यस बाहेक हाल यस श्रीकेदारको आलमा बस्ने बडू ब्राह्मणका पुर्खाहरुले लडाइमा मारि धपाएका पुर्बबर्ति मट्टे बडबाब(माटोकाधनी ठुला बाजे)को संझना स्वरुप बनाइएको स्थापना स्थलहरु र सङौणकोटका आततायी ठगुरी लछिचन्दलाइ मारेको स्थान लाछमारे ऐतिहासिक दृष्टिकोणले हेर्न लायक छन । भिन्ना भिन्नै अर्थमा गौबर्धिनी गंगाको शिरो भाग तिर वारिपारि पर्ने दूध जस्तै श्वेत जल बग्ने दुदपोखरि र दुर्घटना भै प्रतेक बर्ष रगत(लोइ अर्थात लहु) बगने भिर(भिटो) या लोइभिटाको महत्व पनि कम नहोला । यसै गरि सुधो गाइले बाघसंग लडाइ गर्दा ढुङ्गामा परेका गाइका पैतालाका छाप(खोज) रहेको गाइखोजको देउरालि होस या खापरे मारी धपाउदाको खुशियालीमा बिजय दुन्दुभि बजाइएको दमाउहाण्णाको डाडो होस, दृश्याबलोकनकालागि राम्रा गन्तब्य हुन सक्दछन ।अतिबृष्टि या अनाबृष्टि रोक्न लौह किला हालिने भन्तोलिको थुम्कोको आफ्नै बिशिष्टता छ। ग्वाल्लेककै दक्षिणि पार्श्वमा रहेका काला चुच्चे ढुङ्गाको लामबद्द लहरदार दृश्यलाइ तालिमे पल्टनको जत्था बताएर पन्ध्रौ शताब्दीका प्रतापि डोटेलि राजा नागी मल्ललाइ तत्कालिन बडू बंश नायक प्रतापदेवले झुक्याएका कथाहरुलाइ ति शिलाखण्डहरुले अझै भनिरहे जस्तो लाग्दछ । मष्टामाणौ,थरौट,कैलपाल स्थान,देवखोली गुफा, बुढिकेदार स्थल जस्ता कतिपय स्थानको बर्णन लेख-बिस्तार भयले यसै खेपमा राख्न नसकिएको हो।
हेर्न र बुझ्न लायक धेरै कुरा छन यहाँ
पुराना परम्पराहरुलाइ जिबित राखेका कतिपय प्रथा,परम्परा र रितिरिवाज यहाँ हेर्न पाइने भएकोले यो यात्रालाइ सांस्कृतिक यात्रा समेत भन्न सक्नु हुन्छ । जाँत बरियाँतमा नाचिने छलिया नाच,तरवार नाच, धामी नाच्ने चअलो, गौरा पर्बमा खेलिने ठाडो खेल, हत्जोण्या खेल, ढुस्को र चाली जस्ता नृत्यहरु एबम् रुनसिङा (रणसिंहा) दमाउ,ढोलङा भोकर र बिकुल जस्ता परम्परागत बाजाहरु यहाँ हेर्न सक्नु हुनेछ। सुरम्य बन प्रान्तरमा बन्य जिबनलाई नजिकबाटै हेर्न पाइने नै हुन्छ। यहा आखेट भने परम्पराबाटै बर्जित रहेकोछ।।
खाने र बस्ने ब्यबस्था
साधारण तर पौष्टिक खाना यहाँको अर्को बिशेषता हो । खानपानको परम्परागत तरिकाहरु यहा देखिनेछन। आधुनिक होटेल र रेष्टुराको सुबिधा नपाइए पनि केहि घण्टाको पुर्ब सुचना भए स्थानियहरुले राम्रो खानपिन र बसोबासकोको जोहो मिलाउन सक्दछन । अचेल ससाना होटेल पनि सडकसंगै बिस्तार हुँदै छन् । आतिथ्यबाट लाग्ने मोहिनी यस भेगकै अर्को आकर्षण हो । खानाकालागी सुदुर पश्चिममा प्रचलित कुनै पनि खानाको प्रबन्ध सजिलै हुन सक्दछ। स्थानिय जागरुक समाज छिट्टै होमस्टेको चाँजोपाँजो मिलाउन लागेको बुझिएकोछ ।
सत्य, शिब र सुन्दरको खोजीमा यो यात्रा

सुसंस्कृत प्राचिन समाजको महत्व बुझनु छ भने यस्ता अपेक्षाकृत दुर्गम गाऊको भ्रमण अध्येताहरुलाइ राम्रो अबसर हो । सौभाग्य वा दुर्भाग्य, जे भनौ,हाम्रा ग्राम्याञ्चलहरुलाइ आधुनिक सभ्यताले अझै सम्पुर्ण बिदिर्ण गरि सकेको छैन। ग्राम्य पर्यटनले अधिक समय, धैर्य, निष्ठा,श्रम र साधनको माग गर्दछ । बाहनहरुमा गुडेर पाइने झलक भन्दा यो पर्यटनले पाइलै पिच्छे नया जिबन दर्शन दिनेछ । त्यसैले यसको महत्व टुक्रे दृष्यहरुको छायांकन भन्दा समष्टिमा बुझिनु पर्दछ ।
मानसिक शान्ति र आध्यात्मिकतालाइ समग्र स्वास्थ्यको निम्ति अनिर्बचनीय बिषय मानिरहेको समकालिन बिश्वमा भौतिकताको भागदौड बाट केहि दिन टाढा रहन खोज्नेहरुलाइ पनि यस्ता स्थान राम्रा गन्तब्य हुन सक्दछन । पुराना तिर्थयात्राका उपक्रमहरुलाइ पनि नया अर्थमा परिभाषित गर्नु पर्दछ । यहाका बन्य प्रान्तमा अबस्थित पुराना मन्दिरहरुले आधुनिक आश्रमहरु भन्दा फरक र बिशिष्ट उदाहरण दिने हैसियत राख्दछन ।
अधिकांश बाहुन क्षेत्रि र केहि दलितहरु बस्ने यहाको समाजमा दुइ अढाइ सय बर्षको गोर्खालि सासनले षडयन्त्र र फोस्रा आस्वासनका केहि कथा-अकथाहरु बाहेक थप केहि दिएको जस्तो लाग्दैन । किशोर बयमा स्वत: जुङ्गा उम्रिए जस्तै समयको परिबर्तनका असरहरु देखिने नै भए । यसै कारणले ञहा अचेल नुतन परिबर्तनको हावा बग्दैछ । पुरातन-परम्परा र सुसमृद्द प्राकृतिक बिबिधताले गर्दा यो स्थान नजानिदो गरी भरिपुर्ण छ। यो क्षेत्रको भ्रमण सत्य, शिब र सुन्दरको सन्निकट रहने देखिन्छ।

No comments:

Post a Comment