Sunday, October 5, 2014

राजेश्वरी अब सपना देख्दिनन्





समकालिन समयका प्रत्येक टुक्रामाथि,
राजेश्वरीका यिनै हातहरुले छिनो-हथौडा चलाएका थिए।
उखरमाउला  ढुंगा-पात्थरले छापेका
जिबनका उकाला बाटोहरुमा
यै पहाडी ज्यानले बुर्कुसी मारेको थियो।
साल र देबदारु जस्तै अग्ला समस्याहरुमा
यिनै पाखुरीहरुले आरी चलाएका थिए।
जब्बर उकालो होस या अख्खर भिरालो होस् ,
पहाड जतिकै कठोर यो ज्यानलाइ आफनो माटो जतिकै
अन्तरंग र अर्थपुर्ण बनाएकि थिइन राजेश्वरीले ।
हिउभित्र पनि आगो हुन्छ,उनलाइ थाहा थीयो ।
बनावटी प्रारुपलाइ उनले पढन जानेकी थिइन् ।
उन्ले सपना देख्न सिकेकी थिइन।
यिनै सपनाले उसलाइ यत्र तत्र डुलायो।
जीबनका बिबिध रंग र स्वाद चखायो।
प्रतिजैबिकीले जस्तो
उनले संक्रमण रोकिन,
क्ष-रश्मीले जस्तै
आन्तरिक चोटहरु पहिल्याईन् ।
हो,  अबिचलित चट्टानजस्तो
राजेश्वरीमा गाइको जस्तो सोझोपन थियो,
साउनका पहाडी खोलाको जस्तो
जिबनको लय थियो ।
पहाडको झरनाले सिकाएको संगीत बोक्दै
बाटोमा भेट्टिने नालाहरु समेटदै
यात्रामा अगाडी आएका नदी महानदीहरुसंग
सम्झौता र सहकार्य गर्दै
जिबन अब नयाँ नयाँ किनारामा ठोक्किदैछ ।
यिनै पर्बत-पठारका काँधमा दौडदै चिप्लिदै ऊफ्रिदै
सागरको कुनै अतल गहिराईमा जिबन निख्रिदैछ ।
उम्रिएका सपनाहरु,
तुहेका सपनाहरु, कुहेका सपनाहरु
फलेका सपना , फुलेका  सपना
सपनाहरुका भिडमा जिबन भिडकिदैछ ।
जिबन निचोरिएकोछ ।
त्यसैले होला, सपनाहरुको यो महा-मैदानमा
हामीसंग सपना छैनन ।
राजेश्वरीसंग सपना छैनन ।
त्यसैले होला, चुलो-चौकामा सिमित भएरै
राजेश्वरी अब सपना देख्दिनन् ।
आवाजको अन्तिम मुकाममा
मौन समयले स्वागत गरिएको जस्तो
राजेश्वरी दंगदास छिन ।

किनकि राजेश्वरी अब सपना देख्दिनन् ।

No comments:

Post a Comment