Tuesday, May 16, 2017

टुक्रिएको मन ; एउटा मनोबाद

टुक्रिएको मन ; एउटा मनोबाद

-------------------------------
सोच्दैछु, आफनो गाउँ जस्तै ससाना भुभाग ओगटेका मानब बस्ती हाम्रो भुगोल भरि कति होलान? र ती के कस्ता होलान? म अलमलिदैछु। नेपाल नामले संज्ञापित एकादेशको यो मेरो गाउँ कुन अबधिदेखि अबिछिन्नतायुक्त ईतिहास बोकेर आएकोछ? के भएर अमुक नामबाट सम्बोधित हुनपुगेको हो? मेरो नाम थरको न्वारान हुँदा के के घटना परिघटना घटित भएका होलान? यसै खाले प्रश्नहरु माथि टुक्रिदै गएको मेरो मन खाली ब्युत्पत्ति खोज्दै,अनुमानित बुँदा जोडदै, पौराणिक फुर्का लगाउदै, काल्पनिक कथाहरुमा जेलिदै अज्ञात इतिबृत खोजी रहन्छ ।
अचेल जातिय संरचना सीप र संस्कृति बुझाउने आआफनै खाले कथा ब्यथा सुनिन्छन् । कला, साहित्य, सौर्य स्वाभिमानका पनि आआफ्नै पहिचान छन् । समष्टिमा यी सबैको एकीकृत बैभब नै राष्ट्रियता हो । यस्तो अन्तराबलम्बित राष्टियताको सम्बर्धन समकालीन समाजमा अत्याबश्यक हुनगएकोछ । तर खण्डित बिखण्डित मानव भएर सोच्दा यदाकदा बिचलित भइदोरहेछ  र बिचरा बनिदो रहेछ । भनौ भने देशकालका नाममा, जातजातिका नाममा, हामी आफै मानव इतिहासको जीर्णपाना पो हुन थाल्दा रहेछौ । समयले हाम्रो इतिहासमा पनि नित नयाँ कलेवर चढाउदैछ । हामी खाली सिर्जनाको रुपमा मात्र अभिब्यक्त हुन पुग्दैछौ। फगत एक नाम बिशेषले संबोधित सिर्जना ।
आफनै बारेमा भनौ, लेखक बनौ भनेर लेखेकै थिइन, तर कसरी लेख्नथाले, छेउ टुप्पो थाहा पनि छैन । जागिरेबृतिमा जाउला  भनेर नौकरी गरेकै थिइन, तर कसरी सरकारी सेवामा प्रबेश गरे? के के काम गरेर ससम्मान सेवा निबृत भए ? कुनै तर्कसंगत सिलसिला मिल्न सकेकै छैन । सबैले आआफना अर्थमा मलाइ सम्बोधित गरे , मैले सकारे । यसैलाइ उपलब्धि मानेर साँचियो ।
यो सिलसिला बिहीन जीवनयात्रा कसरी शुरु भयो होला?सोच्दा अचम्भै लाग्छ । तत्कालिन भौतिक र सामाजिक आधारहरु मेरो यो यात्राकालका लागि बिल्कुलै अनुकूल थिएनन् । अनुकूल हावापानी र जमिनमा पो केहि कुरा उम्रिन्छ त । तर म प्रतिकूलतामा पनि उम्रिए । त्यतिबेला प्रतिकूलतासङ्ग भिड्नसक्ने हिम्मत पनि म मा थिएन् जस्तो लाग्छ । फलस्वरुप जिबनभरि बिना बिरोध सम्झौता गर्ने बानी बसाल्यो अबचेतनले । कालान्तरमा यहि बानी " अबोधाबस्थाको बोधिज्ञान " साबित भयो मेरालागि । यो सब बन्नुको पछाडी तत्कालिन कारण थिए, आफनै घरको वास्तविक स्थितिको ज्ञान र त्यसले मानसपटमा छाडेको असपष्ट अनुभुति । मेरालागि आफैलाइ अलमल्याउने झुटो आश्वासन थियो आफनो अध्ययन कार्य । कालान्तरमा यहि पढिरहने बानीले दिनचर्यामा जरो हाल्यो । टेकने समाउने केही नभएको म बिनाबाटोको मैदानमा दशकौसम्म भौतारिइ रहे । समय भिटकिदै गयो । यहि परिभ्रमण मेरो पहिचान बन्यो ।
डोटेली- बैतडेली मूल भाषा भएको मलाई नेपाली राष्ट भाषा बोल्न नै आउदैनथ्यो । बाचक भएर अलिअलि अक्षर उच्चारण गर्न सिके पनि राम्रो लेख्न जान्दैनथे । मुढेबल लगाएर केबल पढिरहन्थे, लेखिरहन्थे । ठिक बेठिक भनेर भनिदिने सिकाइ दिने कोहि थिएन । मेरो यो अबोध सम्बोधिका असजिला अबधिमा अघोर एकान्तभित्र कुनै सुसाइरहने जस्तो अज्ञात सहयोगी शक्तिले अनुगमन गरिरहे झै लाग्दथ्यो । यहि अनुभूतिले अन्यौल अनिश्चितता र दिशाहीनताबाट मुक्ति दिन्थ्यो । म इमानदारीपुर्बक पढथे र जाने जति लेख्थे ।
यो क्रममा म के भए? थाहा छैन । तर जे पाए त्यो मेरो नितान्त नीजी आर्जन रह्यो । यसैमा मलाइ गर्व छ । स्वेच्छाले म न कतै गए, न कसैको ढोका ढकढकाए । अहममा आघात पर्ने कुनै काम कहिल्यै पनि मैले गरेकोछैन । यहि मेरो आत्मबोध र अर्थ्याइ हो ।
आकाशमा उडेको चंखाजस्तो भए पनि म मेरा पुर्खाहरुको निरन्तरताको डोरिमा बाँधिएको हुन्छु । पुर्ख्यौली सम्पत्तिमा मेरो दाबी छैन भन्न पनि सक्दैन । म संग मेरा पुर्खाहरुको केही ईतिहास छ, केही संस्कार छन्  र केही खानदानी रौब पनि छ । यो सब मेरा पितामह र प्रपितामहको कमाइ हो, जसमा अमुक नामको उपयोग गरि कागजी श्रेस्ता वा मायावी पहिचानमा म दरिएको हुन्छु । संगसंगै मेरो गाउँ परिबेशको धुलोमैलो टक्टक्याएर नौलो क्रम थाल्ने सोच पनि छ , जो मेरा पुर्खाहरुले साँचेका थिए ।
यदाकदा र्याङठ्याङ नै नमिलेको समाज, तालमेल नमिलेको स्थिति, बिग्रेको चाँजोपाँजो र घरपरिवार तथा बिपरीत परिस्थितिको जेलाइमा कोपरिएको मन बिझदो रहेछ, दुख्दो रहेछ ।यी दुखाइका सम्बेदनाहरु शब्दमा ल्याएर कोरल्दा यस्तै लेख वा कबिता बन्दो रहेछ । तुकताल नमिलेका यी अक्षरभित्र कसैले मेरो आर्तनाद सुने वा नसुने पनि मलाइ  भने यो अल्याङमल्याङ साँचिरहन मन लाग्छ । जीबनभित्रका बेथिति र विपरीत अबस्थाका दुर्भाग्यपुर्ण दुखजिलाहरु पनि अप्रासाङ्गिक लाग्दैनन् । बिपरीततामा जेलिएको जीवन एक बिब्ल्याटो नियति हो । यो सकारेर मात्र म श्रष्टा या सर्जक हुनसक्छु भन्ने लाग्दछ । अतः बिगतबारे पछुतो पनि छैन, उपलब्धि मानेर अभिमान पनि छैन । कसैको पनि महानतामाथि आस्था राख्छु, तर भक्ति कसैको पनि गर्दैन । महापुरुषहरुमा श्रद्धा छ, तर म पुजा कसैको पनि गर्दैन । हरेकको त्यागबाट प्रभावित रहन्छु, तर कसैमाथि समर्पित रहदैन ।
मबाट कुनै स्वार्थसिद्ध हुननसक्दा चेपारेहरुबाट हुनसक्ने एकाङ्की  आलोचनाहरु,कुनै अभिष्ट प्राप्त नहुदा घुसघुसेहरुले गर्नसक्ने गालीहरु वा छेपारेहरुबाट मौसमी रंग अनुसार गरिएका प्रायोजित अभिनयहरु देख्दा सुन्दा कता कता चस्स त हुन्छ नै, तर ठाउँ हेरि व्यवहार गर्न  र अबसर हेरि फाइदा उठाउन नजानेर " बुद्धू " मा दरिएको म यथार्थमै किनारको साछी भएर बस्नमा रमाउन चाहन्छु । म आफैले अबमुल्यन गरेको कुनै कथित मुल्यका लागि किमार्थ लडन सक्दैन । आफनै अपमान हनेगरि हल्ला मचाएर सम्मानित हुन पनि चाहन्न । बरु आफैप्रति बिश्वास नगर्ने लघुताको बिरोधमा सँधै युद्ध गर्न चाहिरहनेछु । यहि मेरो मानसिक अठोट छ ।
यसो लेखिरहदा मलाइ लाग्दैछ, मैले उमेर अनुसार जीवन भोग्ने अबसर कहिल्यै पाएन । त्यो अबसरबाट बञ्चित भएकोले नै म अब्याबहारिक भए कि ? अथवा भनौ, सँधै एकतहमाथिको जीवन बाँच्दा सिमान्त क्षणमा किनारिकृत पो भए कि ? न केटाकेटिमा चकचके भए, न जोबनमा जोशिलो । सँधै प्रबोधाबस्थामा बस्नु नै बुद्धुपन हो कि ? त्यसो त कमजोर गाँठ भएको मानिससंग आँट हुने कुरा पनि भएन ।
यस क्रममा अरुको बृद्धानुभुति कस्तो हुदोरहेछ, थाहा छैन । तर म भने जेठो भइकन पनि अरुले निर्बाह गरे जस्तो गुरुत्व सम्हालने पक्षमा पनि छैन । थकाली मुखिया बन्न पनि चाहदैन । अर्कोतिर कम उमेरमै फाइफुइ लाएर बूढो थकालीको भुमिकामा रहन खोज्ने भाइहरुलाइ पनि मेरो साधुबाद छ । तै पनि यदाकदा जेष्ठताको अनुभुतिका कारण जुनियरहरुले आलोकाँचो अहंकार देखाउदा कता कता मन भित्र नमीठो पिरलो भने उठिहाल्दो रहेछ ।
अघाइ सकेको मानिसलाई थालको भोजन बेस्वादे लागेजस्तो साठी कटेको जीबनमा के पो हस्याङफस्याङ गर्नु र भन्ने लागिरहेकोछ । बाँच्न गारो पर्ने समयमा बुढै हनुपर्छ भन्ने पनि केही छैन । मर्न नसकेर बाँचेको भए पनि खेल खेल्दै ख्यालख्यालमा साठीको सँघार काटिएको पत्तै भएन । जिबनको यो गणित अचम्भ लाग्दो छ । अझै पनि बूढो  भएर त पटक्कै डराइएको छैन , तर गर्नुपर्ने काम धेरै बाँकी रहन्छन कि भनेर अलमलमा भने परिदो रहेछ ।
यस्तै ससाना ब्याबहारिक अलमलमा मनोबैज्ञानिक समाधान खोज्न हाम्रा गाउगर्खामा स्थानिय लोकदेउता पुकार्ने चलन छ । यी पुकारहरुको प्रत्युत्तर धामीहरु मार्फत कूटभाषामा प्राप्त हुन्छ । केही कालको प्रभाव र केही लोकको बिब्ल्याठो बठ्याइले गर्दा यस्ता लोकप्रभाबी प्रचलनमा पनि गुणदोष थपघट भैरहन्छन् । अक्सर मैले सुनेकोछु, धामीहरु " भाबी " दिदा " दस चित्तको एक चित्त गर्ने " भनेर बोल दिन्छन् । लोक बोलीमा चित्त भनेको मन हो । माथिका बोलको मनसाय " दस मन नगर्नु, एक मन गर्नु " भनेको हो । यो उक्ति मलाइ बहुतै मननीय लाग्दछ । ब्रजबासी गोपिनीहरुले उद्धब मार्फत प्राप्त श्रीकृष्णको रैबारको जवाफ पनि यस्तै गरि दिएका थिए । " उधो! मन नभयो दशबीस " अर्थात हे उद्धब ! हाम्रो मन दस बीसवटा भएका छैनन । एउटा मनमा कृष्ण बसिदिए पछि लम्बेचौडे अन्य कुरामा किन टाउको दुखाउनु । दस मन गरे पो अशान्ति हुन्छ । एउटा चित्त हुनु नै शान्ति हो, जो अभिष्ट पनि हो ।
म पनि दस चित्त नगरि सद्चित्त आनन्दकासाथ आकाशीन चाहन्छु । मेरो यो अज्ञात यात्रमा साथ दिने अनन्त शक्तिहरु सदैब ममाथि कृपालु रहनेछन भन्नेमा अत्यन्तै आश्वस्त छु । यो मेरो मनले सदैब यस्तै शिबसंकल्प लिईरहोस भन्ने कामना गर्दछु । तन्मे मनः शिबसंकल्पमस्तु । आजको बासठ्ठियौ बर्षप्रबेशको अबसरमा यो मनोबाद यो मनोबाद यहि सत्संकल्पमा टुङग्याउदैसबैको जीबनयात्रा यस्तै सुन्दर बनोस भन्ने शुभभावसमेत यो आलेखमार्फत अभिब्यक्त गर्दछु । शिबास्ते पन्थानः ।
( बैशाख २८, २०७४ । महेन्द्रनगर )


===================?????????????????????===========================

No comments:

Post a Comment