Thursday, June 28, 2018

इसपका नीतिकथा


इसपका नीतिकथा ( संकलन, साभार- balsansar.com )
पहिलो भाग
१ गधा र भ्यागुता
एउटा गधा दाउराको भारी बोकेर खोला तर्दै थियो । अचानक उसको खुट्टा चिप्लिएर ऊ पानीमा पल्टयो । गह्रुँगो भारी बोकेको हुनाले ऊ उठ्नसकेन । उठ्न नसकेपछि ऊ बेस्सरी चिच्याउन थाल्यो ।
खोलामा बस्ने केही भ्यागुताहरूले गधा कराएको सुने । उनीहरू गधाको नजिकै गए र भने, "हामीजस्तै जीवनभर पानीमा बस्नु परको भए तिमीले के गर्थ्यौ ? - एक छिन पानीमा डुब्दैमा यस्तो हल्लाखोर गर्न सुहाउँछ ?"
२ गघा र फटेंग्रा 
फटेँग्राको गीत सुनेर गधा दंग पर्यो । उसले पनि फटेंग्राले जस्तै मिठो स्वरले गीत गाउने विचार गर्यो । फटेंग्राले के कुरा खाएर यति मिठो स्वर निस्केको होला भनेर जान्न ऊ उत्सुक भयो । उसले फटेंग्रासँग तिमीहरू के खाएर बाँच्छौ भनेर सोध्यो । फटेंग्राले जवाफ दियो, "हामी त पातमा परेको शीतको थोपा खान्छौँ ।"
गधाले पनि शीतको थोपामात्रै खाएर बस्ने निधो गर्‍यो । केही दिन पछि ऊ भोकले मर्‍यो ।
३ गधा, भाले र सिंह 
एउटा गधा र एउटा कुखुराको भाले खलोमा बसिरहेका थिए । त्यसै बेला एउटा भोकाएको सिंह त्यहाँ आइपुग्यो । उसले गधालाई मार्ने दाउले त्यसलाई झम्टनै लागेको बेलामा भाले बेस्सरी करायो । भालेको आवाजले सिंह तर्स्यो र बेतोडले भाग्यो ।
भाले बास्दैमा सिंह डराएको देखेर गधाको हिम्मत बढ्यो । उसले सिंहमाथि जाइलाग्ने निधो गर्‍यो र उसको पछिपछि दौडयो । धेरै पर नपुग्दे सिंह पछाडि फर्क्यो र गधालाई झम्टेर टुक्राटुक्रा पारिदियो ।
४ फ्याउरोको तर्क 
एक पल्ट सिंह र फ्याउरो सँगसँगै सिकार खेल्न निस्के । बाटोमा तिनीहरूले एउटा गधा चरिरहेको देखे । फ्याउरोको सल्लाहअनुसार सिंहले फ्याउरोमार्फत गधालाई मित लाउने खबर पठायो । बनको राजासँग सम्बन्ध जोड्न पाइने भयो भनेर खुशी हुँदै गधा सिंह भएको ठाउँमा गयो । तर त्यहाँ पुग्ने बित्तिकै सिंहले एकै झम्टाइमा गधालाई मारिदियो ।
त्यसपछि सिंहले मरेको गधातिर देखाउँदै फ्याउरोलाई भन्यो, "हेर आजको हाम्रो भोजन यही हो । म थाकेको छु । एकै छिन सुतेर आराम गर्छु । खबरदार म नआउँदासम्म यसलाई नछुनु ।"
सिंह गएपछि फ्याउरो भोजनको रखवारी गरेर बस्यो । तर धेरै बेरसम्म पनि सिंह नफर्केपछि उसले मन थाम्न सकेन र गधाको टाउको फोरर त्यसभित्रको गिदी खाइदियो ।
सिंह फर्केपछि उसले गधाको गिदी नभएको रित्तो टाउको देख्यो । ऊ रिसले चूर भयो र बनै थर्कने गरी फ्याउरोसँग सोध्यो, "यसको गिदी तैँले के गरिस् भन ।"
फ्याउरोले बडो विनम्र भएर भन्यो, "सरकार, यो गधाको गिदी नै थिएन । यसको गिदी भएको भए त यति सजिलोसँग सरकारको सिकार हुने नै थिएन ।"
५ तालुखुइलेको टाउकोमा झिँगा 
एउटा झिँगाले एक जना तालुखुइले मानिसको नाँगो टाउकोमा टोक्न थाल्यो । मानिसले झिँगालाई मार्ने नियतले जोडले हिर्काउँदा आफ्नै टाउकोमा चोट पुर्‍यायो । चोटबाट जोगिएको झिँगाले जिस्क्याउँदै भन्यो, "तिमीले कोसँग बदला लिन खोजेको ? एउटा सानो किरासँग ? आखिर तिमीले के गर्न सक्यौ त ? उल्टै आफूलाई चोट पुर्‍यायौ ।"
तालुखुइलेले जवाफ दियो, "आफूले आफैलाई चोट पुर्‍याउने मेरो नियत थिएन । यसैले मलाई कुनै चिन्ता छैन । तर, मानिसको रगत चुस्दा रमाउने तँ दुष्ट किरालाई मार्न पाए म कस्तो खुशी हुन्थेँ । आफैलाई चोट पुर्‍याएर भए पनि तँलाई मार्न पाए हुन्थ्यो ।"
६ तालुखुइले र झिँगा 
गर्मीको दिन दिउँसो कामले थाकेर एक जना तालुखुइले मानिस आराम गर्न बसेको थियो । एउटा झिँगा आएर उसको टाउको माथि भुनभुनाउन र बेलाबेलामा टोक्न पनि थाल्यो । त्यो मानिसले त्यो चुत्थो शत्रुलाई मार्ने उद्देश्यले झिँगालाई ताकेर जोडले हान्यो । तर झिँगालाई केही भएन । बरु उसको टाउकोमा टुटुल्को उठ्यो ।
झिँगाले त्यो मानिसलाई फेरि दुःख दिन थाल्यो । तर यस पाली उसले बुद्धिले काम लियो । उसले भन्यो, "चुत्थो किरालाई चलाउँदा आफ्नै नोक्सान हुने रहेछ । गुहुमा हान्यो मुखमा छिटा ।"
७ मौरी र महादेव
हिमालयबाट मौरीकी रानी महादेवकहाँ पुगिन् । उनले महादेवलाई गुलियो महको चाका उपहार दिइन् । मिठो मह खाएर महादेव प्रशन्न भए । उनले रानी मौरीलाई चाहेको कुरा माग्न आज्ञा दिए । चाहेको कुरा पाउने भएपछि मौरीले विन्ती गरिन्, "कुनै पनि मानिसले मेरो मह चोर्न आएमा उसलाई मार्नको लागि मलाई टोक्ने खिल (विष) दिनुहोस् ।"
महादेव मानिसलाई निक्कै माया गर्थे । यसैले रानी मौरीको माग सुनेर महादेवलाई रिस उठयो । तर उनले रानी मौरीलाई वचन दिइसकेको हुनाले उनको कुरा र्टार्न मिल्दैनथ्यो । यसैले उनले रानी मौरीलाई खिल त दिए तर यसरी दिए : "तिमीले आफ्नो इच्छा अनुसार मानिसलाई मार्ने खिल त पाउने छौ, तर यसमा तिम्रो ज्यानको खतरा हुनेछ । जसलाई तिमीले टोक्नेछौ उसको जिउमा तिम्रो खिल अडकिने छ र खिल नभएपछि तिम्रो मृत्यु हुनेछ ।"
८ सिकारी, तित्रा र भाले
एउटा चरा मार्ने सिकारी साँझको खाना तरकारी र भात खान बस्नै लागेको थियो । त्यही बेला उसको साथी अचानक आइपुग्यो । साथीलाई चराको मासु ख्वाउनै पर्‍यो । तर उसले दिनभरि चरा समात्न सकेको थिएन । चरा राख्ने थैलो रित्तो थियो । यसैले उसले बर्षौसम्म पालेको तित्रालाई मारेर साथीलाई ख्वाउने विचार गर्‍यो ।
त्यो तित्राले तालिम पाएको थियो । त्यसले बनका अरु चरालाई झुक्याएर बोलाउँथ्यो र सिकारीको जालमा फँसाउँथ्यो । तित्राले इमान्दारी साथ आफ्नो ज्यान जोगाइदिन सिकारीसँग बिन्ती गर्यो, "यदि तिमीले मलाई मार्‍यौ भने म बना तिमीले कसरी जाल थाप्छौ ? कसले मिठो गीत सुनाएर तिमीलाई सुताउँछ ? मिठो बोल्ने चराहरूलाई बोलाइदिने काम कसले गर्ला ?"
उसको कुरा सुनेर सिकारीले उसलाई मार्ने बिचार छाडिदियो र घरमा पालेको भालेलाई समात्यो । त्यो भालेको भर्खर सिउर उम्रन थालेको थियो । त्यो भालेले खोरभित्रबाट बडो करुण स्वरमा दयाको भीक्षा माग्दै भन्यो, "तिमीले मलाई मार्‍यौ भने बिहानी भएको सूचना तिमीलाई कसले देला ? तिम्रो दैनिक काममा कसले तिमीलाई सघाउला ? कसले तिमीलाई चराको जाल बटुल्न जाने बेला भएको जानकारी देला ?"
भालेको कुरा सुनेर सिकारीले जवाफ दियो, "तिमीले भनेको सबै कुरा साँचो हो । दिन रात समयको सूचना दिने तिमी बडो उपयोगी चरा हौ । तर, मैले मेरो साथीलाई मासु ख्वाउनै पर्छ । ऊसँग बसेर भोज खानै पर्छ । यसैले तिमीलाई काट्न बाध्य छु । खाँचो परेपछि कसको के लाग्छ ?"
९ कुबेलाको सल्लाह 
एउटा केटो नुहाउँदा नुहाउँदै पानीमा बुड्न लाग्यो । उसले त्यही बाटो हुँदै हिँडिरहेको बटुवासँग गुहार माग्यो । तर त्यो बटुवाले केटोलाई पानीबाट निस्कन सघाउनुको सट्टा चासो नै नभएजस्तो गरी किनारामा उभिएर केटोलाई उसको मुर्खताको लागि गाली गर्न थाल्यो ।
केटो आत्तिँदै चिच्यायो, "हजूर, दया गरेर पहिले मलाई मदत गर्नुस् र पछि जति मन लागेको गाली गर्नुहोला । म मरेँ भने तपाईँको गालीको के काम ?"
१० भाले र हीरा
भालेले आफू र आफ्नी पोथीको लागि चारो खोज्दैथियो । चारोका लागि भुइँ खोस्रँदा उसले एउटा दामी हीरा भेट्टायो । ऊ खुशीले चिच्यायो, "यदि मेरो सट्टा तिम्रो मालिकले तिमीलाई भेट्टाएको भए ऊ कति खुशी हुने थियो होला । उसले तिमीलाई ठूलो इज्जत, मानसम्मान दिएर राख्नेथियो होला । मलाई त संसारभरिको हीराभन्दा त एक घोँगा मकै काम लाग्छ ।"
११ कामिला र ढुकुर 
एउटा कमिला खोलामा पानी खान गयो । उसलाई खोलाले बगायो । रुखको हाँगामा बसेको एउटा ढुकुरले कमिला पानीमा डुब्न लागेको देख्यो । उसले एउटा पात टिपेर कमिलाको नजिकै पानीमा खसाल्यो । कमिला पातमाथि चढ्यो र खोलाको किनारामा आइपुग्यो ।
केही बेरपछि एउटा चरा-सिकारी रुखमुनि आयो र रुखको हाँगामा बसेको ढुकुरलाई मार्न गुलेली ताक्यो । ढुकुरमाथि खतरा आइलागेको देखेर कमिलाले सिकारीको औँलामा टोक्यो । अचानक कमिलाको टोकाइले गर्दा उसले ताकेको गुलेली ढुकुरलाई लागेन । ढुकुर उडेर गयो ।
१२ चमेरा, चरा र पशुहरू 
चरा र पशुहरूबीच भयंकर लडाइ हुन लागेको थियो । दुई पक्षका लडाकुहरू आमुन्नेसामुन्ने भएर लडन लागेको बेलामा चमेराले कता लाग्ने भन्ने निधो गर्नसकेन । उसको नजिक बस्ने चराहरूले भने, "आऊ मिलेर लडौँ ।"
"तर म त पशु हुँ नि ।" चमेराले भन्यो । ऊ नलडी बस्यो ।
केही बेर पछि पशुहरू आएर उसललाई भने, "आऊ हामीसँग मिलेर लड ।" तर उसले जवाफ दियो, "म त चरा हुँ । मेरो पखेटा देखेनौ ?"
लडाइँ हारजित बिना टुँगियो । दुबै पक्षले मेलमिलाप गरे ।

चराहरू मेलामिलापको खुशियाली मनाइरहेका थिए । चमेरा उनीहरूकहाँ पुग्यो र खुशियालीको भोजमा सामेल हुन खोज्यो । तर चराहरूले उसको पहिलेको व्यवहार सम्झेर उसलाई त्यहाँबाट धपाइदिए ।
चमेरा उड्दै पशुहरूले खुशियाली मनाइरहेको ठाउँमा पुग्यो । तर पशुहरूले उसलाई झण्डै मारेनन् । ऊ भाग्दै आफ्नो ओढारमा गयो र मनमनै भन्यो, "कसैको पक्ष नलाग्नेको साथी पनि हुँदो रहेनछ ।"
१३ केटो र बयर
आमाले घैँटोमा पाकेका बयर राख्नु भएको थियो । केटोले बयर खान खोज्यो । उसले घैँटोभित्र हात घुसार्‍यो । उसले सकेसम्म धेरै बयर मुठ्ठीमा लियो र हात बाहिर झिक्न खोज्यो । तर घैँटोको मुख सानो भएकोले उसले आफ्नो हातको मुठ्ठी बाहिर झिक्नसकेन । उसले मुठ्ठीमा भएको बयर छोड्न चाहन्नथ्यो । तर मुठ्ठी नफुकाइकन हात बाहिर झिक्न पनि सकिन्नथ्यो । यसैले केटो रुन थाल्यो ।
छोरो रोएको सुनेर आमाले के भयो भनेर हर्न आइन् । घैँटोभित्र हात अडकेको देखेर उनले भनिन्, "मुठ्ठीमा भएको आधा बयर घैँटोभित्रै खन्यायौ भने तिम्रो हात सजिलैसँग बाहिर आइहाल्छ नि । त्यसैले त धेरै लोभ गर्न हुन्न भनेको हो ।"

१४ केटाहरू र भ्यागुता 
पँधेराको नजिकै केटाहरू खेलिरहेका थिए । पँधेरामा भ्यागुताहरू पानीभित्र बाहिर उफ्रिरहेका थिए । भ्यागुताहरू उफ्रिरहेको देखेर केटाहरूले उनीहरूमाथि ढुंगाले हान्न थाले । धेरै भ्यागुताको ज्यान गयो । अति भएपछि एउटा भ्यागुताले साहस गरेर पानीबाट टाउको बाहिर निकाल्यो र केटाहरूतिर हेर्दै भन्यो, "भाइहरू हो । दया गर । ढुंगा हन्न छाड । तिमीहरूको लागि रमाइलो खेल भइरहेछ । तर हाम्रो त ज्यान गइरहेको छ ।"
१५ सुनको फुल पार्ने हाँस 
एउटा गाउँलेले हाँस पालेको थियो । एक दिन उसले हाँसको खोरमा राखेको फुल पार्ने डालोमा पहेँलो रंगको फुल देख्यो । उसले फुल उचालेर हेर्‍यो । ढुंगाभन्दा गह्रुँगो थियो । उसले त्यो फुल मिल्काउन खोज्यो । किन भने कसैले उसलाई जिल्याउन ढुँगाको फुल राख्यो होला भन्ने उसले ठान्यो । तर उसले त्यो फुल फालेन, घर लैजाने बिचार गर्‍यो । घरमा लगेर हेर्दा त ऊ छक्कै पर्‍यो । किनभने त्यो फुल त शुद्ध सुनको फुल रहेछ ।
भोलिपल्ट विहान हाँसको खोरमा हेर्दा फेरि अर्को सुनको फुल देख्यो । उसले दिनदिनै सुनको फुल बटुल्न थाल्यो । दिनदिनै सुनको फुल बेचेर ऊ निक्कै धनी भयो । धेरै धनी भएपछि उसको लोभ बढ्दै गयो । उसले दिनदिनै फुल बटुलेर बेच्नुको सट्टा हाँसको पेटभित्र भएको सब फुल एकै चोटि निकाल्ने बिचार गर्‍यो ।
अनि एक दिन उसले हाँसलाई काट्यो र उसको फेट चिरेर हेर्‍यो । तर त्यहाँ एउटा पनि सुनको फुल थिएन ।
१६ किसान र सारस 
बारीमा बिउ र्छर्ने बित्तिकै बकुल्ला चराको बथान आएर खाइदिन्थ्यो । दिक्क भएर किसानले बारीमा जाल थाप्यो । जालमा धेरै बकुल्लाहरू परे । बकुल्लाहरूको माझमा एउटा सारस पनि परेको थियो । उसको खुट्टा जखमी भएको थियो ।
जखमी सारसले किसानसँग बडो मायालाग्दो स्वरले आफ्नो जीवन बचाइदिन बिन्ती गर्‍यो । उसले भन्यो, "मालिक ! मलाई बचाउनुहोस् । मलाई छाडिदिनुस् । मेरो खुट्टा भाँचिएको छ । हेर्नुस् । दया गरेर एक पल्ट मलाई छाडिदिनुस् । तपाईँले बकुल्लाहरूलाई समात्न जाल थाप्नु भएको हो । म बकुल्ला होइन सारस हुँ । म कति घरानियाँ जातको चरा हुँ भन्ने कुरा तपाईँलाई थाहै छ । म साह्रै राम्रो चरित्रको चरा हुँ । म मेरा आमाबुवालाई धेरै माया गर्छु । मेरा पखेटा र प्वाँखहरू हर्नुस् त । म कत्ति पनि ती बकुल्लाजस्तो छैन ।"
सारसको कुरा सुनेर किसान हाँस्यो । उसले भन्यो, "तिमीले भनेका सबै कुरा साँचो होला । तर के गर्ने मैले तिमीलाई यी दुष्ट चोर बकुल्लाहरूसँगै समातेँ । तिनीहरूको हुलमा मिसिएपछि तिमी पनि मर्नै पर्छ । संगत गुनको फल भनेको यही हो ।"
१७ बिराली र प्रेमकी देवी 
एउटी बिराली एक जना सुन्दर मानिसको प्रेममा परी । उसले प्रेमकी देवीसँग आफूलाई नारीमा बदलिदिन विन्ती गरी । प्रेमकी देविले उसको कुरा स्वीकार गरिन् र बिरालीलाई राम्री तरुनीमा बदलिदिइन् । सुन्दर मानिसले उसलाई देखेर मख्ख पर्‍यो । ऊ उसको प्रेममा फँस्यो र बिहे गरेर उसलाई घर भित्र्यायो ।
प्रेमकी देवीलाई बिहे भएपछि बिरालीले आफ्नो बानी छाडी कि छाडिन भन्ने जान्न मन लाग्यो । दुलहादुलही कोठामा एकान्तमा बसेको बेलामा उनले एउटा मुसो कोठाभित्र छाडिदिइन् । मुसालाई देख्ने बित्तिकै बिरालीले आफू मानिसमा बदलिएर दुलही भएको कुरा बिर्सेर मूसामाथि झम्टी । उसको चाल देखेर प्रेमकी देवी निराश भइन् । उनले बिरालीलाई तरुनी महिलाबाट फेरि बिरालीमै परिणत गरिदिइन् ।
१८ कमिला र प्यूपा 
एउटा प्यूपा पुतलीमा परिणत हुन लागेको थियो । उसले आफ्नो पुच्छर चलाइरहेको थियो । एउटा कमिला घाममा यताउति दौडिदै खानेकुरा खोज्न व्यस्त थियो । अचानक उसले प्यूपालाई देख्यो । ऊ छटपटाएको देखेर कमिलालाई दया लाग्यो । उसले भन्यो, "बिचरा ! कस्तो दुःखी जीवन रहेछ तिम्रो । म जहाँ मनलाग्यो त्यहाँ दगुर्नसक्छु । एकैछिनमा रुखको टुप्पामा पनि पुग्छु । तर यो बिचरोलाई त एक सिन्का जति सर्न पनि कति दुःख हुनेरहेछ ।"
प्यूपाले कमिलाको कुरा सुन्यो, तर केही जवाफ दिएन ।
केही दिनपछि कमिला त्यही बाटो हिँडिरहेको बेलामा उसले त्यहाँ प्यूपाको खोलमात्रै देख्यो । बिचरा प्यूपा के भयो होला भनेर कमिलाले सोच्दै थियो । त्यही बेला उसले उसमाथि एउटी राम्री पुतलीको छाया परेको र पुतलीका ठूला पखेटाले आफूलाई हम्केको उसले चाल पायो । पुतलीले भनी, "मलाई हेर त । म उही तिम्रो बिचरा साथी हुँ । अब तिमी कत्तिको दगुर्न र रुख चढ्न सक्छौ मसँगसँगै हिँडेर देखाऊ त ।" यति भनेर पुतली हावामा उडेर माथिमाथि कमिलाले देख्नै नसक्ने गरेर उडेर गई । त्यसपछि उनीहरूको कहिल्यै भेट भएन ।
१९ दियो
तेलले ढाडिएको एउटा दियो थियो । ऊ निक्कै चहकिलो भएर बलिरहेको थियो । उसले, "मैले सूर्यलेभन्दा धेरै उज्यालो दिन्छु " भनेर घमण्ड गर्‍यो । त्यही बेला एक झोँक्का हावा चल्यो । दियो झ्याप्पै निभ्यो । दियोको मालिकले त्यसलाई फेरि बाल्यो र भन्यो, "अबदेखि घमण्ड नगर । चुपचाप भएर उज्यालो दिइराख । तारा पनि एक दिन निभ्छ भन्ने कुरा नबिर्स ।"
२० लोभी र इर्ष्यालु
दई जना छिमेकीहरू महादेवकहाँ गए र उनीहरूको मनको इच्छा पूरा गरिदिन विन्ती गरे । तीमध्ये एक जना साह्रै लोभी थियो । धन भनेपछि हुरुक्कै हुन्थ्यो । अर्को इर्ष्याको आगोले बलिरहन्थ्यो । महादेवले उनीहरूको आशय बुझे । उनले ती दुबैलाई सजाय दिने विचार गरे ।
महादेवले भने, "दुबैको इच्छ पूरा गराइदिन्छु । तर एउटा सर्त मान्नुपर्छ । एक जनाको इच्छा पूरा हुँदा त्यसले जेजति पाउँछ त्यसको छिमेकले त्यसको डबल पाउँछ ।"
दुबैले र्सत मन्जुर गरे ।
लोभीले आफ्नो घरको एउटा कोठा सुनले भरियोस् भनेर चितायो । उसको एउटा कोठा भरि सुन भयो । तर उसको छिमेकका दुइटा कोठा सुनले भरिए । यो देखेर लोभी साह्रै दुखी भयो ।
त्यसपछि इर्ष्यालु छिमेकीको पालो आयो । उसले इखले गर्दा आफ्नो छिमेकीको सुख देख्न सकेन । यसैले उसले आफ्नो एउटा आँखा फुटोस् भनेर महादेवसँग माग्यो । जसले गर्दा उसको छिमेकीको दुइटै आँखा फुटोस् । यसैले भनिन्छ दुष्टयाइँको सजाय आफै पाइन्छ ।
२१ कुकुर र ब्वाँसो 
एउटा दुब्लो ब्वाँसो भोकले मर्न लागेको थियो । संयोगले उसको भेट एउटा पाल्तु कुकुरसँग भयो । दुब्लाएर मर्न लागेको ब्वाँसोलाई देखेर कुकुरले भन्यो, "ओ हो भाइ, तिमीलाई बाँच्न कति गाह्रो छ हैन त ? खाने सुत्ने ठेगान पनि छैन । यो त अचाक्ली नै भयो । यसरी पनि कसरी बाँच्छौ ? बरु मैले झैँ कतै काम गरे हुन्थ्यो नि । यसो गर्‍यो भने खाने कुरा त बेलामा खान पाउँथ्यौ ।"
"हो त नि । काम पाए त मैले पनि गर्थे ।" ब्वाँसोले भन्यो ।
"तिम्रो लागि काम पाउन केको गाह्रो । मैले खोजिहाल्छु नि । लौ मसँगै सहरमा जाउँ तिमी र मिलेर काम गरौँला ।" कुकुरले भन्यो ।
यस्तो सल्लाह गरेर कुकुर र ब्वाँसो सहरतिर लागे । बाटोमा हिँडदाहिँडदै ब्वाँसोले कुकुरको घाँटीको रौँ खुइलिएको देख्यो । कसरी यस्तो भएको होला भनेर जान्न उसलाई खुल्दुली लाग्यो । कसरी यस्तो भयो भनेर उसले कुकुरसँग सोध्यो ।
कुकुरले जवाफ दियो, "यो केही होइन । राती मलाई घाँटीमा बाँधेको दाग हो । सुरुसुरुमा अलिअलि चहर्‍याउँ छ । पछिपछि बानी पर्छ । केही हुँदैन ।"
"ए ! रातभरि भए पनि बाँधिनु पो पर्ने रहेछ । त्यसो भए तिम्रो जागिर मलाई चाहिएन । लौ म त यहीँबाट फर्केँ । मोटे घर्ती भएर बस्नुभन्दा भोकै मर्नु बेस ।"
२२ तिर्खाएको कौवा र घैँटो
एउटा कौवा साह्रै तिर्खाएको थियो । उसले पानी राख्ने घैँटो देख्यो । ऊ घैँटोको मुखमा बस्यो र पानी खान खोज्यो । तर पानी घैँटोको पीँधमा भएकोले उसले पानी खान सकेन । उसले पीँधमा भएको पानी खान धेरै पल्ट कोसिस गर्‍यो तर सकेन । ऊ निराश भएर उड्नै लागेको थियो । त्यसै बेला उसको मनमा एउटा विचार आयो ।
कौवा उडेर केही पर गयो जहाँ सानासाना गुच्चाजत्रा ढुंगा थिए । उसले चुच्चोले एकएक वटा ढुंगा ओसार्दै घैँटोभित्र राख्न थाल्यो । घैँटोको पीँध ढुंगाले भरिएपछि पानी माथि आयो । अब उसले सजिलैसँग पानी खान सक्थ्यो । यसरी बुद्धि पुर्‍याएर कौवाले पानी खायो र फुर्तिलो भएर उडेर गयो । थोरैथारै गरेर भए पनि प्रयास गरे सफल भइन्छ ।
२३ कुकर र उसको छायाँ
एउटा कुकुरले एक टुक्रा मासु भेटायो । घरमा आरामसँग बसेर खाने बिचारले मुखमा मासुको टुक्रा च्यापेर ऊ घरतिर लाग्यो । बाटोमा खोला थियो । खोलामा काठको साँघु थियो ।
साँघु तर्दै गर्दा कुकुरले पानीमा आफ्नै छाया देख्यो । पानीभित्रको कुकुरको मुखमा पनि मासुको टुक्रा थियो । छायालाई अर्को कुकुर ठानेर उसले रिसले भुक्न खोज्यो । भुक्नका लागि मुख खोल्दा उसको मुखबाट मासुको टुक्रा खोलामा खस्यो । बिचरो कुकुर हिस्स पर्‍यो । पानीभित्र कुकुर कसरी हुनसक्छ भन्ने विचारै नगरी रिसले झम्टन खोज्दा आफ्नै नोक्सान भयो ।
२४ माझी र सानो माछा
एक जना माझी थियो । उसले दिनभरि खोलामा माछा मार्ने कोसिस गर्दा पनि उसको जालमा एउटा पनि माछा परेन । थाकेर घर फर्कने बेलामा उसले एउटा सानो माछा समात्यो ।
माझीको हातमा परेको सानो माछाले विनम्र भएर माझीलाई भन्यो, "बिन्ती छ हजूर मलाई नमार्नुस् । म साह्रै सानो छु । तपाईँको एक गाँस पनि हुन्न म । बरु अहिले मलाई पानीमा छाडिदिनु भयो भने केही दिनपछि म ठूलो हुन्छु । अनि आएर समात्नु होला ।"
माछाको कुरा सुनेर माझीले भन्यो, "यस्तो पनि हुन्छ र - अहिले पो तिमी मेरो हातमा छौ । तिमीलाई फेरि पनि समात्न सकुँला भन्ने के निधो छ र ! हातको माछालाई पानीमा छाडेर ठूलो माछा खोज्नु बुद्धिमानी होइन ।"
२५ माझीको फन्दामा परेका माछाहरू
एक पल्ट एक जना माझी बाँसुरी लिएर खोलाको छेऊमा गयो र माछालाई सुनाउन बाँसुरी बजाउन थाल्यो । उसको बाँसुरीको धुन सुनेर माछाहरूले पानीबाट टाउको निकाल्ने छन् भन्ने उसले आश गरेको थियो । तर एउटा माछाले पनि टाउको बाहिर निकालेन ।
हैरान भएर माझीले जाल हान्यो । जालमा थुप्रै माछा परे । माछालाई जालमै राखेर उसले फेरि बाँसुरी बजाउन थाल्यो । यस पटक भने जालभित्रका माछाहरू बाँसुरीको धुनको तालमा उफ्रन थाले ।
"अब बल्ल नाच्ने बुद्धि आयो तिमीहरूको ?" माझीले भन्यो ।
एउटा बूढो माछाले जालबाट टाउको निकाल्दै भन्यो, "हो मालिक । मानिसको फन्दामा परेको बेलामा उसले जेजे भन्यो त्यहीत्यही गर्नै पर्छ । नत्र कसरी बाँचिन्छर !"

No comments:

Post a Comment