Friday, May 18, 2018

उहिलेदेखि अहिलेसम्म


धेरै पहिले/उहिले
इतिहासले यकिन गर्न नसकिरहेको कालखण्डमा
रहर र बाध्यताका लगामले दौडाएर
मानसखण्डको चौँडा छाती हुँदै
काली किनारका बस्तीहरुबाट पूर्व हान्निएर
कैयौं डाँडाकाँडासँगै अग्लिदै
कैयौं नदीहरूसँग बग्दैबग्दै
ग्वाल्लेकको काखैमा आइपुगेका थिए
यहिको बनपाखासँग जीवनगाथा जोडिएका
‘हाम्रा बडा बाजे , ।  ।
उन्कै अन्तर्मनका रेखाहरूबाट
हाम्रो शिरमा रहिरहने निराकार सत्य शिव र सुन्दर भावहरु र
हाम्रा भुमीदेवता, कुलदेवता, अग्नीदेवता, बायुदेवता, इष्टदेवताहरु समेतको
हाम्रो जीवन दर्शन पायौ हामीले ।
संगसंगै सँगाल्न सक्यौ
प्रकृतिका अनुपम परिदृष्य
प्रकृतिको दिव्य अनुहार
सबैभन्दा पहिले
यही भुमिमा पाइला टेकी
चिन्यौं यहाँको रंगलाई
हुर्कियौ यही माटोको संसर्गमा
बुझ्यौं यहाँको शितल हावाको वहकावलाई
यही प्रकृतिको निकटतामा
पायौं अभूतपूर्व खुशी
त्यतिबेलादेखि
यो भुमिको सामिप्यताबाट टाढा भएनौ हामी र
बन्यौ/ बनायौ
यही भुमि हाम्री माता
र हामी यहीका भुमि पुत्र ।।
हामीले
नियालेर रहस्यको भण्डार
चिन्दथ्यौं धर्तीको भूस्वर्ग
छोएर पत्थर र माटो
केलाउदथ्यौं अन्तरवस्तु
सुँघेर पहाडको गन्ध
खोतल्दथ्याैैं भित्री तथ्य
अनि
यही भुमि सिचाउँदै पसिनाका थोपाहरूले
उठाउँदथ्यौं अर्थतन्त्र आफ्नो काँधमा
र त
यहाँका डाडाकाँडामा
अझै प्रतिबिम्बित छन्
हाम्रा पसिना र हाम्रा अनुहारहरू
जहाँ
खुसीका टुक्राटुक्रा खोज्न
खोतल्थ्यौ यहाँको पबित्र माटो
र साट्दथ्याैं
कहिले पसिनासँग
कहिले रगतसँग
त कहिले सिंगो जिन्दगीसँग
त्यसैले त,
कहलियौं हामी पसिना, रगत र जिन्दगी साटेर
आदिम किसान ।।।

हामीले भोगेका
ती हाम्रा जीवन कथाभित्र
त्यही हाम्रो परिवेशभित्र
हामीलाई छोएर बहने पवन पनि हामीजस्तै भए
हाम्रा अन्तरध्वनि छचल्किने खोलानाला पनि हामी जस्तै भए
चराचुरुङ्गीहरूका संगीतसँगै
हामीले ढोलकको तालमा ताल मिलाई
गाउदथ्यौं खेल्थ्यौ आफनै गीतसंग

ती चराहरू पनि उस्तै गाउन पो थाले,
उस्तै नाच्न पो थाले ऋतुहरू पनि
बयली खेल्दै सुनाउन थाल्यो बतासले पनि
यसरी हामी जस्तै भयो हाम्रो परिधि
र त
कोरियो
यहि भुखण्डमा हाम्रो ईतिहास
र बन्यो हामो पहिचान ।।।।
आखिर
हाम्रो आफ्नै थियो यो माटो
जहाँ ती प्रकृतिका रंग पनि हाम्रा नै थिए
ती जल, जंगल र जमिनका आवाज हाम्रै आवाज थिए
ती पसिनाको  सुगन्ध पनि हाम्रै थिए
ती पदचाप र पदछाप पनि हाम्रै
ती भूमि भित्रका
सबैसबै हाम्रै थिए
तर,
अहिले
कसरी हुदैछ ?
हाम्रो इमान्दारिता र स्वाभिमानको हार
अनि हाम्रा पहिचानका आयामहरूमा स्खलनको सुरुवात
र बिस्तारै...
थिचिन पुग्यौं हामी
थिचिन पुग्यो हाम्रो अस्तित्व
र त,
फगत कामदारको हैसियतमा
मात्र भरियाको पङ्तिमा
कसैको झोला बोकी हिडने
कसैको हो मा हो मिलाउने
एक थान मुर्कट्टा बनेकाछौ हामी ।
आज हामी उभिएका छौं
हाम्रै खण्डहर अवशेष जस्तै...जस्तै…
निर्ब्यक्त निर्लज्ज जस्तै… जस्तै... ।।।।

No comments:

Post a Comment