Tuesday, October 29, 2019

लय संगीत हराएका दमाहा र घण्टहरु देखेर ( कबिता)

लय संगीत हराएका दमाहा र घण्टहरु देखेर 



सम्बेदनाहीन सम्बन्धहरु भित्र
 केही बिचार मरीरहेकाछन
केहि बादहरु अबैध हुँदैछन् ।
 पुरानो, भद्दा र रुपहीन बनेर
बूढो पुस्ता सभ्यता र संस्कृति बिहीन हुदैछ। 
मन्दिरको वरपर
असरल्ल टाङ्गिएका घन्टहरु जस्तै 
प्रकाश नछिर्ने कोठाभित्र थन्किएका दमाहा जस्तै
व्यापारी युगमा हिडने मान्छेदेखि
उडने  चरासम्ममा
न लय छ, न कुनै संगित छ ।
मुक्ति गितका नाममा
आदिम संग्रामका कर्कश स्वरहरुबाट
वेद उपनिषदका अर्थ मरीरहेकाछन
तन्त्र तान्त्रिकताका बिम्बहरु हराइ रहेकाछन ।
कैदी थुनुवा जस्ता  स्वाभिमान गुमाएका
पंचैबाजाका रागहरु
मन्दिरका शहर 
देवताका गाउँ भित्र 
कुँडिइ बसेकाछन्,
सभ्यताहीन हुदैछन्  ।
मूल्य मान्यताको बिघटन भएपछि
मनुष्मृतिले थिचेको सिङ्गै  समाज
बैधब्यका दिन भोग्दैछ ।
मेरो ईतिहास श्रृंखला 
मेरा बुढा पुस्ता क्रमस: पहेलो हुदैछ ।
 पानी र बतासले समेत
धर्म परिबर्तन गर्दैछ रे ।
नयाँ पालुवा कुन रुपमा उम्रिने हो?
 कुन रंगमा मुस्कुराउने हो? 
बिधवा बासी बिचार अलमलिन थालेकोछ ।
यो कलमलाइ पनि बुढ्यौली लागेछ ।
ए, पहेलो पात त झर्नै पो लागेछ ।
यौटो युग सकिनै लागेछ ।।
*********************



- भाइटीका २०७५, काठमाण्डौ ।

No comments:

Post a Comment