दुनियाका सारा धर्म ग्रन्थ र गुरुहरुले आफनो बारेमा थाहा पाउनु पर्छ भनेकाछन । तर आफु र आफ्नै जन्म-मरणको चक्करका बारेमा जान्नु नै मानिसको लागी कठिनतम काम हुन गएकोछ । त्यसैले होला, जिवनका बारेमा नानाथरि दृष्टिकोण बुनिएकाछन । प्रतेक मान्छेले आफुलाइ आआफ्नै मान्यता अनुसार अर्थ्याइ रहेकाछन । यसपाला मैले पनि मेरै परिवेश अनुरुप आफुलाइ जान्ने कोशीश गरें ।
पचहत्तर नाघेकी मेरी आमा अचेल स्मृति-क्षयहुने (फाम नहुने) बुढ्यौलीको चरणमा हुनुहुन्छ । जुन माता मार्फत यो संसारसंग नाता जोडिएर बिशेष पहिचान पाएको थिए, उनैले यदाकदा सांसारिक यथार्थलाइ ग्रहण नगर्दा केहि सोच्न बाध्य बनायो । समयका धपेडीले मुजापरेको अनुहार, नितान्त आफ्नै किसिमको रहन सहन र थामिएर बस्नै नसक्ने गतिशिल कर्मयोगी बानी-ब्यहोरा भएकी आमाको स्थुल शरीर वा मसिना ब्यबहारसमेत नबिराइ समझी रहने,ससाना केटाकेटीसंग समेत नाता जोडेरमात्र बोल्ने र आफन्तहरुको यावत सन्चो-बिसन्चोको लेखो राख्नसक्ने आमाको मनोजगतको सुक्ष्म शक्ति-बिम्ब मध्ये मेरो असली आमा को हुन? यो प्रश्नले बडो दुबिधाग्रस्त पा-यो । ब्राण्डेड हार्डवेयर भए पनि उचित सफ्टवेयर बेगर कम्प्युटरले काम गर्न नसक्दाको स्थितिमा वा हार्डवेयर-सफ्टवेयर सबै ठिक भए पनि पावर (शक्ति) नभएको अवस्थामा “मेरो कम्प्युटर” भनेर गर्ब गर्नसक्ने बस्तु ठम्याउन नसकेको दुबिधामा मेरो मनोस्थितिले निर्क्यौल्याइ खोज्नु स्वभाविक थियो । ड्राइभर नभएको गाडी वा गाडि नपाएको ड्राइभर मध्ये कसलाई म आफनो कामलाग्ने-नातापर्ने उपयोगी बस्तु मानुँ? आफनै बारेको यो यक्ष प्रश्नमा घोत्लिनु पर्ने भयो ।
प्रतेक जीबको मृण्मय र चिन्मय गरी दुइवटा स्वरुप हुन्छन भनेर आध्यात्मिक चिन्तकहरुले भन्ने गरेकाछन । शक्तिको स्वरुप परिबर्तन हुनसक्छ तर यसको नाश कहिल्यै हुनसक्दैन भन्ने कुरा बिज्ञानले प्रमाणित गरिसकेकोछ । हाम्रो मुटुको ढुकढुकी कुनै जिबनदायिनि शक्तिले गर्दा संचालन भएको हो भन्नेमा पनि आधुनिक भौतिकशास्त्रिहरु समेत एकमत छन । आधुनिक बिज्ञानले प्राणि जन्मने प्रकृया जानेकोछ तर ‘म’ भनिने चेतनसत्ताको अवतरण मार्ग पहिल्याउन सकेकोछैन । मानब मष्तिष्कको एक एक कोषलाइ त्यहि जिवनदायिनी अज्ञात शक्तिले चेतनायुक्त बनाएकोछ । त्यो अज्ञात-अपरिभाषित शक्ति नै हाम्रो जिवनको शुरुवात र अन्त्य हो । हामी त्यहि शक्तिको सानो अंश हुनुपर्छ । अध्यात्मिक मनिषिहरुले आत्मालाइ जिबात्मा र परमात्मा गरि दुइ भागमा बाँडिदिएकाछन । आत्माबाट नै ज्ञानको बाटो खोज्दै परमात्मालाई जान्न सकिन्छ । (ज्ञानाधिकरणमात्मा) भनेर बैदिक साहित्यका भाष्यकार बताउछन । आफनो परिचय एकिन भएपछि मात्रै नातागोताको कुरा आउछ । मैले पनि मेरो अस्तित्वको दोहरो पाटोको बारेमा बिचार गर्नै पर्ने भयो ।
मेरो संस्कार संस्कृतिले मानव चोलालाइ लगाउने लुगासंग तुलना गरेकोछ । पुरानो जिर्ण लुगा बदले जस्तै आत्माले नयाँ शरिर धारण गर्छ रे । जसरि मैले लगाएको लुगा परिवर्तन गरेर बनाएको नयाँ पहिचान आमाको निम्ति कुनै मतलबको बिषय हुदैनथ्यो, त्यसै गरि मरेर चोला बदल्नुले मेरो इश्वरलाइ पनि खास फरक पर्दैन होला । शायद यसै कारण ज्ञानीहरुले ईश्वरको अगाडी सबै बराबर हुन्छन भन्ने गरेकाहुन ।
खासमा मेरो भौतिक अस्तित्वलाइ गणितिय सुत्रमा ठ्याक्कै बताउन सकिने होइन रहेछ । बिभिन्न तत्वहरुको सम्पर्क बिन्दु रहेको मेरो बर्तमान अस्तित्वको कुनै स्थायि र ठोस धरातल देखिएन । जसलाइ मैले मेरो भन्ने गरेकोछु, त्यो एउटा बिकसित प्रणालीको मुकाम मात्रै पो रहेछ । भनिन्छ, भगवान त भजन गर्ने बहाना मात्रै हो । ईश्वरीय सत्ता पनि कुनै प्रणालीमा आधारित होला । जसरि सरकार नामको एउटा प्रणाली ( सिस्टम) को प्रतिनिधित्व चौकीको हवल्दार,अस्पतालको डाक्टर वा गौडाको हाकिमले आआफनो गच्छे अनुसार गरेका हुन्छन, त्यसै गरी त्यो अनन्त अनादि सत्ताको प्रतिनिधीत्व हामीले पनि गरेका हुन्छौ । चौकीको हवल्दार सरकारका नाममा निवेदन लिन्छ, कारवाहि गर्छ । तर त्यो आफै सरकार होइन । सरकारी प्रणालीको सानो अंश मात्रै हो । उसको सरकारि पहिचान सर्बोपरी छ, ब्यक्तिगत पहिचान पनि छ । उसले आफुलाइ के सम्झेकोछ? त्यो उसको निजी कुरा भैहाल्यो । आआफ्नो दर्शन मुताबिक हाम्रो परिबेशको पनि बिभिन्न खाले परिचय हुन सक्दछ । सोच्दछु, सतही हिसाबले हाम्रो परिचय वा मुल्यांकन पनि त्रि-आयामिक हुन सक्छ ।
अरुका नजरमा म बिबिधकोणबाट परिभाषित हुनसक्दछु । आफनै दुइ भाइकोपनि मप्रति भिन्न धारणा हुनसक्दछन। एउटाले संरक्षक र मार्ग-निर्देशक मानेको होला भने अर्कोले गैर जिम्मेवार र प्रतिस्पर्धि देखेको होला । भौतिक उपभोगबादी सोच भएकी श्रीमतिले हुतिहारा,केहि गर्न नसक्ने,खान लाउन नजान्ने डुलुवा जोगि मानेकी होलिन ।‘राम्रो ठाने,माया गरे,मैले के बिराए?' भन्नेहरु पनि होलान। साथीभाई र आफन्तका बेग्लाबेग्लै बिचार हुने नै भए, चार छोराहरुको समेत चारथरि मुल्यांकन होला । आफनै काममा कहिले सर्बोत्कृष्ट भएर पुरुष्कृत पनि भइएकोछ, कहिले उस्तै काममा नसियत पनि पाइएकोछ । यो परिचय अरूमा आधारित बिषय भयो ।
मेरै नजरमा मैले आफनै आन्तरिक मनोबादबाट गुप्तरुपले पहिचान बनाएकोछु । जसले जे भने पनि म त यसतो पो हुँ भन्नेमा मेरो आफनै ठोकुवा छ । कहाँ के गरे,के लुकाए, के देखाए, त्यसको लेखा मैले मात्रै राखेकोछु । आफुले गरेका राम्रा नराम्रा कृत्यहरुले आआफनो गुण धर्म अनुसार एकान्तमा कहिले मानसिक दण्ड दिइ रहेका हुन्छन कहिले आन्तरिक आनन्द । महाभारतमा दुर्योधनले भने जस्तै सबै जानेर पनि धर्ममा प्रबृत र पापबाट निबृत हुन नसकेको यथार्थ आफुबाट कहिले लुक्न सक्दैन । धर्म वा पापको लेवल लगाउने काममा मेरो आफनै दर्शनले निर्देश गरिरहेको हुन्छ । यो मेरो नितान्त निजी कुरा भयो ।
मैले पाएको सांस्कृतिक धार्मिक संस्कार समेतका आधारमा सम्यक द्रष्टा भएर बिचार गर्दा साँचो अर्थमा म बिशाल र जटिल ब्रह्माण्डको नितान्त सानो अंश देखिएकोछु । मेरो सानो अस्तित्वको के पो महत्व छ र ? तर समष्टिमा मिल्न पायो भने सलाइको काँटिभित्र अटाउने आगोको सानो अंशलाइ नकार्न सकिदैन । कबिबर माधब घिमिरेको सानो काब्योक्ति यस प्रसंगमा उल्लेखनीय छ, “ म जत्ति छु होइन खालि यत्ति, म भित्र एक बल्दछ दिब्य बत्ति” । कवि मैथिलीशरणले लेखेकाछन, ‘मै कटाफटा पृष्ट किसि आदर्श ग्रन्थ का’। अर्थात म कुनै आदर्श ग्रन्थको च्यातिएको पाना हुँ । शंकराचार्यले भने,तदद् निर्बिकल्पम् शिबोहम् शिबोहम् । (त्यो निर्बिकल्प शिब नै म हुँ। ) ब्रह्मबेत्ताहरु ‘अहम् ब्रह्मास्मि’ भन्दछन ।
पाँच तत्वबाट बनेको भनिएको यो शरिरले छर्ने भ्रमबाट समयका केहि चोइटाहरु उप्किदा रहेछन । बिच्छिन्न भएपछि यि तत्वहरुको अलग स्वतन्त्र अस्तित्व छँदैछ । यस सन्दर्भलाइ कबिरदासजीले घडा फुटेपछि पानि पानिमै मिल्न गएको घटना जस्तै मानेकाछन । फुटा घट जल जल हि समाना, बाहर भितर पानी । यिनै तत्त्वहरुले जुराएको संयोग म हूँ, मेरि आमा हुन । नाटकका केहि भुमिका पुरा गरेर नेपथ्यमा जाँदाको जस्तो अवस्था छ ,मेरी आमाको । न असली स्वरुपमा हुनुहुन्छ, न नाटकको कुनै भुमिकामा । नेपथ्यमा कहिले नाटकको सम्बाद बोलिन्छ होला, कहिले संसारी भुमिकाको । संक्रमणको समय द्विबिधायुक्त हुने नै भयो ।
अन्धकारभित्र बस्ने अज्ञात शिल्पीले ससाना शीतकण बटुलेर ओशको थोपा बनाउछ र त्यो थोपालाइ पिंडालुको पातमा राखेर जिन्दगीको नाममा प्रतेक बिहान हामीलाइ सुटुक्क उपहार दिने गर्दछ । क्रिष्टल जतिकै कंचन यो जलबिन्दु प्रकाशसंगै बिभिन्न मनोरम आकारमा टल्किन थाल्दछ । पातमा बस्दा समेत निर्लेप हुनु यसको बिशेषता हुन्छ । जसै हावा चल्छ,पात हल्लिनासाथ यो खस्छ । कठैबरा, भुइमा न भाँडोमा, यसको अस्तित्व कतै पनि देखिदैन । यहि काब्यात्मक बिम्ब सहित मेरा लोककबिहरुको एउटा बोल टिपेर यो लेखलाइ बीट मार्दछु ।
पिणालु पातको पानि, रै छ जिन्दगानि ।
No comments:
Post a Comment