Friday, March 5, 2010

अक्षरको यात्रामा




गाऊँको सानो सेरोफेरोबाट बाल-मनले पहिलो उडान गर्दा पारी डाडा माथिको आकाश र धरति जोडने क्षितिजीय रेखा नै अन्तिम गन्तब्य हो जस्तो लाग्दथ्यो । त्यो क्षितिजिय बिन्दुको बिशुद्ध भ्रममा मनोरम स्वप्निल संसार थियो र त्यो भन्दा परको संसार भने अतिब उत्कंठाको बिषय हुन्थ्यो । ‘माथि डाँँडामा हाम्रो खर्क छ'आमा ऐचेकाडाको घरको बर्णन गर्नु हुन्थ्यो। त्यो कल्पनाको अंतिम ऊचाईमा मेरो घर छ भन्ने बोध प्राप्तिको अहमले दुनियाको सब भन्दा ठुलो बादशाह म आफुलाइ संझिन्थे ।

पल्लो डाँडामाथिको हाम्रो भनिएको जमिनमा देखिने गुच्चमुच्च रुखहरुमा उक्लिएर आकाशलाइ छुन सकिन्छ भन्नेमा म ज्यादै बिश्वास गर्दथे । यो तिब्र बिश्वासलाइ पिताजी समक्ष राख्दा उतापट्टी पनि यस्तै अर्को पहाड भएको जानकारि पाएर मेरो कल्पनाले अझ चौडो पाटो भेट्टाएको हुनु पर्दछ । डाँडाको रुखबाट आकाश छुन सकिने वा अदृश्य पल्लोपाखो हेर्ने जिज्ञासाले नै मेरा प्रथम पाइलाहरु घर बाहिर हिड्न हौसिएका हुन् ।


बाल-बयमा प्राप्त भएको  परिवेशले मलाइ कल्पनाशील र भावुक बनाएको होला । देवताका कथाहरु रस लिएर सुन्ने बानि सानैदेखि थियो। हाम्रा देवता के गर्दा रिसाउछन ? र के गर्दा खुशी हुन्छन? यसको मेसो खोज्न कल्पनाकै सहारा लिनु पर्दथ्यो । ज्यादै संबेदनशील र अपठ्यारा समस्यामा समेत सप्पै भारि देवतामै बिसाएर ढुक्कसंग सुत्न सक्ने पिताजीको आशाबादी दृष्टिकोणको सोझो असर म माथि परेकोछ ।
कलियुगको प्रसंग आउदा गाउका बुढापाकाहरुमा चल्ने चर्चाको अझै पनि संझना छ। ऊनीहरु भन्थे, कलीले सम्पुर्ण पाउ धरतिमा हालेपछि ग्वाल्लेक धुरामा रोपाइ हुनेछ, दुबोको छायामा सुत्ने र गुबोको रुखमा चढने मानिस जन्मनेछन--आदि आदि । यी मिथकहरुले संकेत गरे जस्तै गुलिभरका लिलिपुटहरु ग्वाल्लेकमा कहिले सम्म देखिएलान, मलाइ थाहा छैन । तर डाडाँकाँडामा रोपाइ लगाउने दिन धेरै टाढा छैन जस्तो लाग्दछ। पबित्र पहाडहरुमा अचेल बिबाद, बिषाद,हतियार, भिडन्त र रगतका कथा सुनिन थालेकाले आस्थाको बिचलनबाट भासिदै गएको बरद धरतिको माटो कुन कालो समुद्रमा बिलिन हुने होला ? यहि चिन्ता लागी रहन्छ ।

वास्तबमा मेरो रुबस गाउँ आधुनिक छलप्रपंचबाट टाढा छ । यो गाउँ कर्मयोगी छ, आधुनिक भाषामा निरक्षर र पाखे पनि । सदरमुकामबाट आउने टाठाबाठा जागिरेहरुको लागी यस्ता ठाउँ साह्रै ऊर्बर मानिन्थे । सुनेकोछु, मालपोत को काममा होस वा जंगल निरिक्षणको काममा होस, यहाँ आउने कर्मचारीहरुको फुर्तिफार्ति ज्यादै उग्र हुन्थ्यो रे । एक जना जागिरेको पछाडी दस जना ढाक्रेहरु यतिकै पनि गाउमा घुम्न आउथे । यसरि घुम्न आउने कर्मचारि र तिनका आसेपासेहरु लाइ ख्वाउनका लागी गाउलेहरुले खाइनखाइ गहु-चामल,घ्यु-तेलको जोहो मिलाएका हुन्थे । गाउमा यसरि खाना ख्वाउने पालोलाइ वारो भनिन्थ्यो । एकपल्ट त मालपोतको काममा आएका ‘गोर्खाली’कर्मचारि र दोस्रो बिश्वयुद्धताका बर्माको लडाइ बेहोरेर आएका गैरका सिपाहि बाजेका बीचमा ठुलै घम्साघम्सी परेको रहेछ । यसै निहुमा गाउलेहरुले बर्षौसम्म मुद्दा खेप्नु परेका कथाहरु गाऊमा अझै सुन्न पाइन्छन ।

गाउँ नजिक कुनै बिद्यालय थिएन । हालको दुर्गास्थानमा भने १८।१९ साल तिर प्राइमरी स्कूल खुलेको थियो । जंगल र खोलाको बाटो हुदै त्यहाँको दुर्गास्थान प्राइमरी स्कुल, पैतोलीगाउ पुग्न हामि फुच्चेहरुलाइ डेढ घण्टा लाग्दथ्यो । बोलचालमा त्यो ठाउँको नाम दुरैमाण्डौ थियो, अर्थात दुरै नामका देवताको मन्दिर रहेको ठाउ ।  तर अब दुर्गास्थान नामाकरण गरिएकोछ । दुरै देवता अब दुर्गा बनेका छन् । सांस्कृतिक अतिक्रमणको यो रमाइलो नमुना ठहरिन सक्छ ।

हाम्रा गाउँका तत्कालिन बरिष्ट समाजसेवी जमदार हरिदत्त बाजेको सक्रियतामा खोलिएको त्यो स्कुल जाने बाटो बनाउदा श्रमदान जुटाएको मलाइ संझना छ । बाटोमा पर्ने बगणाको गाडमा ढुङ्गै ढुङ्गाको पूल पनि जमदार बाजेले नै हाल्न लगाएका थिए । हामी त्यो पुलमा हिडेर वारपार गर्न बडो रमाइलो मान्थ्यौ । वास्तबमा त्यो स्थानिय बास्तुकलाको नमुना थियो । शायद ३०।३२ साल तिर त्यो पुल बाढीले बगायो ।

पाँच सात बर्षका भुराभुरिलाइ पढनको लागि दुर्गास्थान जान पनि गारो थियो । त्यसकारण कुनै साक्षर ब्यक्तिलाइ मास्टर राखि हामिलाइ गाउँकै चौरमा अक्षरारम्भ गराउने मेसो मिलाइएको थियो । मलाइ पहिलो चोटि काठको पाटिमा अक्षर कोर्न बाजे बिसराम बडूले सिकाएका थिए । जमदार हरिदत्त बडूका नाति स्व निलकण्ठ बडू र मैले संगसंगै धुलौटको पाटिमा पुजा गरि बर्णमालाका साँवा अक्षर सिक्न शुरु गरेका थियौ ।
आजको सन्दर्भमा ति दिनको परिपञ्च प्रष्ट्याउन गाह्रो छ । आकासको घाम हेरेर समयको अडकल गरिन्थ्यो । एक सल्लि (एक सल्ला जति अग्लो) आकाशमा दिन(सुर्य) पुगे पछि हामी स्कुल जान तम्सिन्थ्यौ । पारिपट्टि कोइराली गाउँमा घाम अस्ताउन थालेपछि छुट्टि गरिन्थ्यो । पानी रियालेको कमेरो माटोमा निगालाका कलम वा काठको छेस्का डोबेर कालोमोसो पोतिएको काठको पाटिमा अक्षर लेख्न लगाइन्थे । काठको तख्तिमा अंगार घोटेर कालो बनाइए पछि खरि ढुंगाले पनि लेख्ने गरिन्थ्यो । पाटीलाइ डोरिले बाँधेर काँधमा झुण्ड्याइ स्कुल आउने जाने गर्दथ्यौ । मोटो धागोको डोरिलाइ कमेरो पानिमा भिजाएर पाटीमा सोझो लाइन राख्ने झंझटिलो प्रक्रियालाइ अचेल समेत टडकारो संझिन्छु । तर जुन जिजिबिषा त्यो कमेरो पानिसङ्गको घुलमिलमा पाइन्थ्यो त्यो अचेल कंप्युटरको कि बोर्डमा पनि हम्मेसी पाइदैन ।

हुने खानेले मात्रै कखहरा पढनकालागी बर्णमालाका किताब किनेका हुन्थे । हाम्रो प्राथमिक कक्षामा मुस्किलले चार पाँच जनासंग मात्र यस्ता किताब थिए । अक्षर घोकाउने पनि आपनै खालको खाँटि तरिका थियो । अक्षर चिनाउने बस्तुका बिम्बहरु स्थानिय परंपरा संग सम्बन्धित हुन्थे । मुखाग्र गर्नु पर्ने यो तरिका सान्दर्भिक थियो, रमाइलो थियो । लगभग मासिन लागेको यो स्थानिय बिम्बाक्षर प्रणालिमा मौलिकता पाइन्थ्यो  । भनिन्छ, हाम्रा पुराना मन्दिरमा पाइने ब्राह्मिलिपीसंग यी बिम्बहरुको सहसम्बन्ध छ ।  यि बिम्बहरुले सिकाइने ती अक्षरहरुको जगमा टेकेर मेरो जीबनको यो खेेेेपको यात्रा शुुुुरु भएको थियो ।

हाम्रो अक्षरारम्भ ताकाको परम्परागत पढाइमा बाह्रखरि,दुनोट,आधा,पौने, ढाम,साम तथा संस्कृत र नेपालीका लामालामा श्लोकहरु मुखाग्रै पार्नु पर्दथ्यो । बेलुका स्कुल छुटने बेला लगभग कराएरै गिन्ति सिक्नु पर्ने हुन्थ्यो । बीस सम्मको दुनोट मुखाग्रे गरेर आँखा चिम्लिवरि हामीलाइ भट्याउन लगाउने तत्कालिन मेरा सहपाठी झुपुरे बाजेलाइ अहिले पनि संझिन्छु । सावा अक्षर सिके पछि दुइ कोश टाढा दुर्गास्थानको प्रा बि मा झण्डै डेढ दुइ हजारको जनसंख्या भएको हाम्रो गाउबाट ३ जना -म,स्व जमदार बडूका नाति निलकण्ठ र सौकार कहलिने डङालिका बाजे टिकादत्त मात्र भर्ना भएका थियौ ।

दुर्भाग्यबस यो पंक्तिलेख्दा मेरा दुबै बालसखा यो लोकमा छैनन । कठैबरा, हाम्रो भोगाइ कति अनिश्चित छ । मृत्यु को यो अनिवार्यतालाइ भुल्नै पर्ने हुदोरहेछ । गाउको एकान्त बाटिकामा उम्रिएका बोटहरुको फुल्ने र झर्ने क्रम मैले अडकलेको छैन, तर यसै सन्दर्भमा एउटा बेनामी जापानि कबिता भने यस प्रसंगमा खुप्पै सम्झिन्छु ।
कत्ति पनि अबशेष नछाडी
सबै एकै चोटि झर्छन,
भाग्यमानी पैयुका फुलहरु
एउटै मात्र बाकि रहेमा अन्त्येष्टि नरमाइलो हुन्छ।
गाउमा सत्य नारायणको पुजा पाठ हुदा प्रत्येक अध्याय पिच्छे हुने सुरिलो शंख ध्वनिसंगै हामी गेदामेदा (केटाकेटि) हौसिएर पैयुँका पात चुडेर मन्डपतिर चढाउथ्यौ । त्यसबेलाका सहपाठीहरु कालक्रमसंगै उछ्छिट्टिदै गए, ओझेल पर्दै गए । संगै सिकेका बाह्रखरिका माला उनेर आज म मेरा स्वर्गिय बालसखाहरुतिर पैयुँका पातहरु फाल्दैछु ।

सार्त्रले भने जस्तै जिबन जस्तो भए पनि सत्य हो र मृत्यु यथार्थमा सम्पुर्ण सकिनु मात्र हो । तर सकिनु राम्रो र मृत्यु प्रिय हुन सक्दैन । मेरा मित्रहरुले पुराना कुरा भुल्नको लागी मलाइ धेरै अर्ति उपदेश दिएकाछन । यस्ता बेतुकका कुराहरुसंग म पनि डराउछु । तर यि सम्झनाहरु जे जस्ता भए पनि मेरा निजि सम्पति हुन । छानेर राम्रो मात्रै राख्नुको के अर्थ हुन्छ र ? त्यसैले अचेल ठाँटिएर स्कुल जाने बिद्यार्थि देख्यो भने म नाङ्गै खुट्टा, फाटेको टोपि र थोत्रा लुगा सम्झन्छु । आधुनिक स्कुल देख्दा धुले चौरमा खरिपाटि बोकेर पढेको दिन सम्झन्छु । सिकाएको ज्ञानगुनका कुरा मात्रै हैन कठोर बोलिबचन पनि सम्झन्छु । इनाम पाएको दिन संगै काक्रा, उखु र आरु चोरेका दिन पनि सम्झन्छु ।

सानो छोरालाइ सोह्र बर्ष नाघ्दा सम्म पनि फुच्चे भन्दै पुल्पल्याएको देख्दा एकातिर अचंभको अनुभुति हुन्छ भने अर्को तिर इर्ष्या पनि लाग्छ । नाङ्गै खुट्टा घङारुको काँडै झारिमा बाख्रा हेर्न गएका दिन ,मेरो तिलु गाइलाइ धारिको झ्याङमा मेरै सामने बाघले मारेको दिन, साँझको हुरि-पानि संगै थरौटको डाडाबाट आमासंगै घाँसको भारि बोकी ल्याउदा बजाइखालिमा आमा चिप्लेको दिनहरु मेरा थाति राख्न लायक धरोहर हुन । कक्षामा प्रथम हुदा खुशि भएका क्षण सम्झन लायक हुने नै भए, तर निहित स्वार्थका कारण शिक्षकले नै कैचि चलाएका कुरा पनि बिर्सन नसकिने रहेछ । जिन्दगी भनेको यि सबै कुराको समष्टिगत अनुभब नै त हो । कुनै कबिको  कबिताको प्यारोडिमा भन्नु पर्दा अचेल त हजार पिडाहरुको माया लागेर आउछ,हजार मायाहरुले पिडा बोकेर ल्याउछन । त्यसैले पो बाँच्ने रहर फेरि पलाउछ । जिन्दगीको धुन अझै बजीरहेकोछ । शास्वत नियम के हो भने नठोक्किएर कुनै आवाज आउदैन ।

जिन्दगिको किताबका पुराना पानाहरु पल्टाउदै यि धाराबाहिक बिसंगतिहरुलाइ कहिले काहि साँज-बिहान यिनै पानाहरुमा केरकार गर्दा लाग्दछ,धेरै कुरा पछाडि छुटेकाछन र दुनिया धेरै अगाडी पुगेकोछ । तर सम्झनाहरु सँधै मसंग हिडेको हिड्यैछन । मेरा जिबनमा आएका समस्याहरुमा समाधान नहुने चक्करको अन्तहिन जालो नै मेरो वास्तविक अन्तर्जिबन हो । पद पैसा,सम्मान प्राप्तिकालागी गरिने शक्ति संघर्ष । अस्तित्वको केन्द्रमा रहेको अभावको प्वाल टाल्ने प्रयासमा गरिने यात्रा । पैसा-बिश्वास-सम्मान-सुबिधाको अभाव । मृत्युको अनिवार्यताबोधलाइ छल्ने ब्यर्थका प्रयास । काम र आरामका अन्तर सम्बन्धका यथार्थ । यिनै चक्करहरुमा जिबन झुण्डिएकोछ ।

जे भए पनि एकै चिज समातेर त्यसैमा अडकिनु सम्पुर्ण जिबन होइन । त्यो पट्यारलाग्दो पर्खाइ मात्र हुन सक्दछ । त्यसैले त मानिस अचेल बिश्व डुलन्ता या सार्बत्रिक यायाबर( Global nomad) भएकोछ । मलाइ भने यिनै डोबहरुमा टेक्दै अक्षरका आँकुरा समातेर जिन्दगीको शिब-सत्य भावनामा पिङ खेलि रहुँ जस्तो लाग्दछ ।
** **

No comments:

Post a Comment