Sunday, March 7, 2010

बादलमाथिको यात्रामा : मेरी आमा


आमालाई अचेल झुक्मुकोमै उठनैपर्ने झंझट छैन्
सन्ज्यावाली आउँदा हतारिने खाँचो पनि पर्दैन्
स्याउला सोत्तरको   बिसाएको भारि जत्तिकै फुर्सदिलि बनेकिछिन् ।
हलुङ्गी बनेकिछिन् ।

फक्रिनु देखि झर्नु सम्मको यात्रामा
आफनै अनुभवको झरिले
अचेल उनी निथ्रुक्क छिन् ।

रहरका प्यासा बिरही धुनहरुलाई
पुराना काला हावाका झोक्काहरुमा
बेहिसाब निफनि रहन्छिन् ।

मुजा परेको अनुहारमा
काँप्दै गरेका हातखुट्टाहरुको हिसाब लेखेर
चार बिस बसन्तको ज्यूँदो कहानी बोल्छिन् ।
नौलो मुकामको मतलबै छैन ।
पुराना सम्झेटोमा झुुुुन्डिएकिछिन् ।
बिगतलाई फगत प्रहसन बनाएकिछिन् ।

निरिहता बाँचीरहेका मनिसका भीडबाट
खाटा बसिसकेका पुराना घाउ बोकेर
सेता बादलमाथिको अज्ञात बस्तितिर लाग्दैछिन् ।
निष्फिक्रि देखिन्छिन, निर्बैर बनेकिछिन् ।

ओ हो, जायजन्म लम्बिएर पो जिबन बन्दोरहेछ
आकांक्षा थपिदै आफन्तको बगाल हुँदोरहेछ
आशा र बिश्वास तुहिएर नै आफना भनाउदा बिराना बन्दारहेछन्।
कुनै अज्ञात त्यान्द्रोमा जीवन दियो धिप्धिपाउदो रहेछ । 

यसरि खुम्चीएका बिछ्यौनाहरुमा
निर्धो शरीर र टुहुरो मन सुक्दै गएपछि
आफनै अनुभुतिहरु क्रमस: रित्याउदैछिन् ।
मेरि आमा, मुजेलाका दियेणा जस्तै
तेल ननिख्रिएसम्मका लागि
अबिकार बलिरहेकिछिन ।

निरोगी हरफहरुबाट अमृत-आदर्शको मसीले
आफनै ईतिहासको अन्तिम अध्याय लेखिरहेकिछिन्
आफना-बिरानाको हिसाब मेट्न अह्राइरहेकिछिन्
मान्छे जस्तै भएर बाँच्न सिकाइरहेकिछिन् ।।

( मिति-०६६।१०।१२,सुरकाल,बैतडी )

No comments:

Post a Comment