Thursday, March 10, 2011

ग्वाल्लेक क्षेत्रका बनौषधिहरु : सामान्य टिपोट


जिल्ला विकास योजना २०६३/०६४मा उल्लेख भएअनुसार "बैतडीको वरिपरि पहाडहरुमा चार वटा केदार देवताहरुको देवस्थल छ । ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन जुन आराध्यदेव महादेवका रुप हुन भन्ने भनाई छ । यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरुको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाईन्छ । यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ । देवस्थलहरुमा बैतडी सदरमुकामबाट सहज ढंगले यात्रा गर्न सकिन्छ । हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ । बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो" ।
जिल्लाका अन्य प्रमुख धार्मिक स्थलहरु तथा पर्यटकीय क्षेत्रमा जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम,त्रिपुरासुन्दरी,मेलौली भगवती डिलाशैनी,दोगडा धाम न्वाली, सिगास सिगासधुरा, निङ्गलाशैनी देहीमाण्डौं, रौलकेदार मन्दिर रौलेश्वर, ग्वाल्लेक केदार ग्वाल्लेक, पाताल भुमेश्वर भूमेश्वर, मल्लादेही मेलौली, देउलेक केदार देउलेक,अशिम केदार दुर्गास्थान, उदयदेव मन्दिर पाटन पर्दछन ।
कुनै बिशेष रैथाने बनस्पतिलाइ लोकदेवताको प्रतीकका रुपमा हेरिने सुदुर पश्चिमको लोकप्रिय परम्परा हो। उदाहरणार्थ बाँजलाइ ग्वाल्लेक केदार, निगालोलाइ निगलासैनी भगवती,मेललाइ मेलौली भगवति,देवदारलाइ डागेश्वरी, जाइफललाइ समैचीको प्रतिक बृक्ष मानिन्छ । यसै गरि हरेक स्थानिय देवताहरुलाइ प्रकृतिसङ्ग जोडिएको हुन्छ । बैतडीका बनक्षेत्रमा बहुमुल्य बनौषधिहरु पाइन्छन । यो लेखमा बैतडी र खासगरि ग्वाल्लेक क्षेत्रमा पाइने बनौषधिको बिबरण समेटेकाछौ ।
यहाँ पाइने बनौषधिको लामो बिबरण बन्न सक्दछ । उदाहरणकालागि नेपालीमा चुत्रो भनिने एक पहाडी फलको कुरा गरौ। यसको फलको आकार जौ को दाना जस्तै अलि ठुलो हुन्छ। यसको पात र हाँगाहरुमा काँडाहरु हुन्छन्। यसको हाँगाहरुमा त्रिषुल जस्तै तिन मुख भएको काँडा हुने हुनाले कतै कतै यसलाई "तिर्खुला" भनेको पनि सुनिन्छ। यसको फलको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो र पाकेपछी कालो हुन्छ। यसलाई नेपालको सुदुर पश्चिम र भारतको कुमाउ गढवालमा "किर्मोडी या किरमणा" पनि भनिन्छ। यसको रुखको बोक्रा पहेँलो रंगको हुन्छ। यसको बोक्रा तितो हुनुको साथै धेरै बिमारीहरुको ओखती पनि हुन्छ।
यसैगरि दालचिनी सुगन्धित पार्न र उत्तेजक र वायुशमन गर्न उपयोग गरिन्छ । यसले बमन र वाक वाक रोक्दछ । सतुवा (सतावर) को पात बाँकोको जस्तै हुन्छ। यसको जरा अदुवाको जस्तै हुन्छ। सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी हो। पेट दुखेमा सतुवा खाएमा छिटै ठिक हुन्छ, पाकेको घाउमा सतुवाको जराको धुलो अथवा जरालाई अलिकती पानीको साथमा ढुङ्गामा घोटेर लगाए घाउ छिटै पुरिन्छ, बान्ता भएमा अथवा पखाला लागेमा सतुवा खाएमा छिटै ठिक हुन्छ, यस्तै धेरै किसिमका साना ठुला बिमारीको लागी सतुवा निकै उपयोगी जडीबुटी हो।
बर्षौ अघिदेखि ग्राम्यान्चलहरुमा यस्ता प्राकृत औषधिहरुको प्रयोग हुदै आएकोछ ।अचेल समेत यस बिषयमा थुप्रै अनुसन्धान भएका रहेछन । तर स्थानिय तहमा यसको कुनै ब्यबस्थित जानकारी उपलब्ध गराइएको हुदैन । त्रिभुवन बिश्वबिद्यालय बाट गराइएको बैतडी र दार्चुलाका बनौषधिहरुको सर्बेक्षण www.ethnobotanyjournal.org/vol7/i1547-3465-07-005.pdf मा राखिएको रहेछ । खासगरि बैतडीको ग्वाल्लेक क्षेत्रमा केन्द्रित रहि गरिएको यो सर्बेक्षणको प्रतिबेदनमा उल्लेखित थुप्रै बनौषधिहरु मध्ये केहिको बिबरण चार्टमा राखेकोछ । भाषागत अप्ठ्यारोका कारण छोटकरी बिबरण अंग्रेजीमा लेखिए पनि E = English, L = Local Nepali dialect, N = Nepali, S= Sanskrit. ले शब्द संकेत गरिएकोछ । बनौषधिहरुकाबारेमा जानकारी चाहनेहरुलाइ यो काम लाग्ला भन्ने बिश्वास लिएकोछु ।
मानसिक शान्ति र आध्यात्मिकतालाइ समग्र स्वास्थ्यको निम्ति अनिर्बचनीय बिषय मानिरहेको समकालिन बिश्वमा भौतिकताको भागदौड बाट केहि दिन टाढा रहन खोज्नेहरुलाइ पनि यस्ता बनौषधिहरुले भरिएका स्थान राम्रा गन्तब्य हुन सक्दछन । पुराना तिर्थयात्राका उपक्रमहरुलाइ पनि नया अर्थमा परिभाषित गर्नु सामयिक हुनेछ । यहाँका बन्य प्रान्तमा अबस्थित पुराना मन्दिरहरुले आधुनिक आश्रमहरु भन्दा फरक र बिशिष्ट उदाहरण दिने हैसियत राख्दछन ।
अधिकांश बाहुन क्षेत्रि र केहि दलितहरु बस्ने यहाको समाजमा दुइ अढाइ सय बर्षको गोर्खालि सासनले षडयन्त्र र फोस्रा आस्वासनका केहि कथा-अकथाहरु बाहेक थप केहि दिएको जस्तो लाग्दैन । किशोर बयमा स्वत: जुङ्गा उम्रिए जस्तै समयको परिबर्तनका असरहरु देखिने नै भए । यसै कारणले यहा अचेल नुतन परिबर्तनको हावा बग्दैछ । पुरातन-परम्परा र सुसमृद्द प्राकृतिक बिबिधताले गर्दा पनि यो स्थान नजानिदो गरी भरिपुर्ण छ।

No comments:

Post a Comment