Tuesday, June 7, 2011

बौद्धिक प्रौढको दायित्व


सुशील प्याकुरेल (साभार- हिमाल खवरपत्रिका)
कुनै समय नेपालको राजनीतिक-सामाजिक जागरण, सांस्कृतिक क्रियाकलाप र जनस्तरको सक्रियताको थलो मोफसल हुन्थ्यो। राजधानीमा सीमित शक्ति र स्रोत हुने भएकाले सिर्जना र जागरणका लागि राजधानीका मानिसहरू पनि बाहिरतिरै लाग्थे। २००७ सालको क्रान्तिपछि देशभरका अगुवाहरू शक्ति र स्रोतमा पहुँचको लागि राजधानीतर्फ लाग्नुपर्ने स्थिति सिर्जना भयो। त्यतिवेलासम्म पनि अवसरहरूमा राजधानी र मोफसलबीच अहिलेको जस्तो ठूलो खाडल थिएन। तर २०१७ सालमा राजा महेन्द्रको सत्ताकब्जाबाट शुरु भएको व्यापक केन्द्रीकरणलाई त्यसपछिका राजनीतिक परिवर्तनले पनि रोक्न सकेनन्।
प्रत्येक परिवर्तनपछि जन्मने नयाँ सत्ताधारी राजधानी केन्द्रित भए र सेवा, सुविधा एवं स्रोतहरू पनि काठमाडौँका सम्भ्रान्त र सत्ताको नियन्त्रणमा राजधानीमै थुप्रिए। मोफसलका अगुवाहरूलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हुनथाल्यो। अहिले पनि राजधानीका बहुसङ्ख्यक राष्ट्रिय व्यक्तित्व, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञदेखि प्रतिष्ठित चिकित्सक, सङ्गीतकर्मी अनि सांस्कृतिक अगुवाहरू राजधानी बाहिरकै छन्। बाहिरका महत्वपूर्ण सामाजिक-सांस्कृतिक गतिविधि स्थानीय भएका छन् भने राजधानीका सामान्य गतिविधि पनि राष्ट्रिय। काठमाडौँबाट यदाकदा बाहिर पुग्नेहरू राष्ट्रिय व्यक्तित्वमा गनिन्छन्। यो सबैले गर्दा काठमाडौँ बाहिरका बौद्धिक जागरणका केन्द्रहरू उजाड भएका छन्।
तीन दशकअघिसम्म उच्च शिक्षा हासिल गर्नेहरूको ठूलो जमात काठमाडौँ बाहिरै थियो। साहित्यिक पत्रपत्रिकाका सम्पादक बाहिरकै थिए। एक महिनाअघि धनकुटा पुग्दा रङ्गमञ्चका एक युवकले चिन्तित मुद्रामा धनकुटा बस्नु भनेको आफूमा निहित प्रतिभा पनि समाप्त पार्नु जस्तो भएको पीडा सुनाएका थिए। मैले नेपालका सडक नाटकका अगुवा अशेष मल्लको नाम लिनासाथ उनले भने, “अशेष हाम्रै माटोका उपज हुन्, तर बीऊ नै राजधानी भासिएपछि यो ठाउँ त उजाड हुने नै भयो।” उनको अभिव्यक्तिमा अशेषप्रति सम्मान र आक्रोश दुवै भेटिन्थ्यो। कुनै समय साहित्यिक गतिविधिमा सक्रिय धरान पनि उजाड नै छ। मञ्जुल र कुन्ता जस्ता नयाँ आयामेलीहरू राजधानीमै रमाए। रामेश, अरिम अनि टुहुरेलाई पूर्वेली नेपालीले कैयौँ वर्षदेखि देख्न पाएका छैनन्। पश्चिमको कथा र तराईको व्यथा पनि उस्तै छ। मधेशको बौद्धिक केन्द्र भनिने जनकपुर सेलाएको छ। दन्त्यकथामा वर्णन गरिएको मृत शहर जस्ता भएका छन्, मोफसलका जीवन्त शहरहरू।
दुई वर्षदेखि मैले प्रत्येक महिनाजसो राजधानी बाहिरको कुनै न कुनै जिल्लाका केन्द्रमा दुई-चार दिन बिताउने गरेको छु। त्यसवेला स्थानीय व्यक्तिहरूसँग कुराकानीको एउटा विषय सांस्कृतिक-सामाजिक गतिविधिमा आएको ह्रास हुने गर्दछ। विभिन्न स्थानमा चेतनामूलक कार्यक्रमका नाममा हुने धेरैजसो गैरसरकारी संस्थाका क्रियाकलापको जनताको सांस्कृतिक-सामाजिक जागरणसित कुनै सम्बन्ध देखिँदैन। डोटीका एक वृद्ध पूर्व शिक्षकले भने, “पहिले यो ठाउँ गुलजार थियो, बौद्धिक छलफल हुन्थ्यो, बराबर साहित्यिक गोष्ठी हुन्थे र विद्यालयमा सबै शिक्षकको चासो हुन्थ्यो। अब त दूरदराजका गाउँघर र शहर गरीब, निमुखा र प्रगति गर्न नसक्ने निरीह व्यक्तिहरू मात्र बस्ने ठाउँ भएका छन्।”
गाउँघर छाडेर शहर आएका प्रौढहरू अब युवाले गर्नुपर्छ भन्न थालेका छन्, आफू थाकेजस्तो गरी। फेरि सुदूर इलाका उजाड भएकोमा चिन्ता पनि छ। यदाकदा थातथलोको अवस्थाले पिरोल्छ पनि। विभिन्न ठाउँमा स्थानीय प्रौढहरूबीच कुरा हुँदा मैले गाउँघर छाडेर गएकाहरूले कहिलेकाहीँ आएर केही दिन बसेर आफूले देखे-सुनेका कुरा सुनाइदिए हुन्थ्यो भन्ने आग्रह राखेको पाएको छु। काठमाडौंकेन्द्रित व्यक्तिहरूले गाउँका समस्या मनन् गरिदिए मोफसलमा पनि ऊर्जा प्रवाह हुनेथियो भन्ने उनीहरूलाई लागेको हुन्छ।
कस्तो हुँदो होला― एक-दुई महिनाका लागि गुल्मीका कुलचन्द्र गौतमले गुल्मी, पाल्पा र वरिपरिका गाउँ-शहरमा गएर बालअधिकारको विश्व व्यवस्थाबारे आफ्ना अनुभव सुनाए? सल्यानका नीलाम्बर आचार्यले सल्यान, दाङ र प्युठानका युवाहरूबीच लोकतन्त्र र समाजवादबारे छलफल गरे? डाक्टर अञ्जनीकुमारले सिरहाको भलुवाई गाउँमा गएर घुर ताप्दै क्यान्सर र सूर्तीजन्य रोगबारे गाउँलेहरूसित कुराकानी गरे? डाक्टर गौरीशङ्करलाल दासले सिरहा र सप्तरीको ग्रामीण इलाकाका स्वास्थ्य चौकीमा पालैपालो केही दिन उपचार गरे? बैरागी काइँलाले ताप्लेजुङ, पाँचथर र धनकुटामा सह-अस्तित्वको सांस्कृतिक जागरण फैलाए? कनकमणि दीक्षितले आफूलाई पुरस्कृत गर्ने डच टोलीलाई नेपाल बोलाए जस्तै राजेन्द्र विमललाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने कमलमणि दीक्षित जनकपुर गएर तराईका शहरहरूमा नेपाली, मैथिली र भोजपुरी साहित्य तथा राष्ट्रिय एकताबारे संगोष्ठी गरे? प्रदीप नेपालले भोजपुरमा गएर केही साहित्यिक सिर्जना गरे?
राजधानी शहरमा हामीले आफ्नो क्षमताको उपयोग प्रशस्त गरिसक्यौं। अब प्रौढ अवस्थामा वर्षका ३६५ दिनमध्ये कम्तीमा ६५ दिन आफ्नो थातथलो, कुनै सुदूर इलाका वा उजाड बन्दै गएको शहरमा बिताएर मोफसलको विकासका समस्याबारे छलफल गर्न र तिनको समाधानका लागि शक्ति र स्रोत भएको ठाउँमा घचघच्याउन सक्यौं भने मोफसलको जीवनमा हामी नयाँ प्राण भर्न तथा विकासमा योगदान गर्न सक्नेछौं। त्यस्ले मलाई लाग्छ, अब प्रौढ राष्ट्रिय व्यक्तित्वहरू पनि चलायमान हुनुपर्छ।

No comments:

Post a Comment