Sunday, May 13, 2018

समुन्नत सुर्काल ; एउटा बिकास परीकल्पना -३

समुन्नत सुर्काल ; एउटा परीकल्पना-३

                                                                           
  बिकास चर्चा
   सुदूर पश्चिमको मध्यपहाडमा पर्ने मेरो गाऊँमा बिकासको अर्थ  समय अनुसार बदलिदै गएको बुझिन्छ । अचेल पनि समकालीन राजनीतिले  ब्यक्ति वा समुहको स्वार्थ अनुकुल हुनेगरि बिकासलाई आआफनै पाराले परिभाषित गराएकोछ । २०१५/२० साल उता सस्तोमा नुन, गुड र लताकपडा भारतको झुलाघाटबाट ल्याउन सकिएमा र भन्सारका कर्मचारीले दुर्व्यवहार नगरेमा त्यहि नै बिकास र सुशासनको सपना थियो होला । त्यसपछि अक्षर सिकाउने पाठशाला र हिडन सजिलो हुने गोरेटो घोरेटो बिकासका लक्ष्य बने । केही बर्ष अघिसम्म पनि सायद  बुझेको विकासको अर्थ बाटो र बिजुली थियो, हो अहिले हाम्रा धेरै गाउँहरूले त्यो पाएका छन् । बिध्यालय, बाटो र बिजुली आफैंमा विकास थिएन, त्यो त मात्र विकासको पूर्वाधार थियो । अहिले पनि हामी पुर्बाधार बिकासमा नै जोड दिइराखेकाछौ । वास्तबिक  विकास भनेको जीवनस्तरको सकारात्मक परिवर्तन हो, विकास भनेको देशको र देशबासीको आयमा वृद्धि हो ।
     हरेक गाउमा नयाँ पुस्ता जन्मिएकैछ, हुर्किएकैछ र केही पढे सिकेको पनि छ । तर अलि बुझ्ने भएपछि नवयुवाहरु शहर पस्छन् , बिदेश जान्छन र यथार्थबाट भाग्नुलाइ नै सफलता ठान्दछन् । जो गाउँमै बसे, ती आफुलाइ असफल सम्झन्छन र कुण्ठित भएर बस्छन् । यसरी गाउघर गाडी कुरिरहेकाहरु यात्रु थुप्रिएको बसपार्क जस्तो बनेकोछ । गाडी पाइयो कि हिड्यो । एबंप्रकारले जनशक्तिको पलायन अहिलेको प्रमुख समस्या बनेकोछ ।
प्राय: भन्ने गरेको पनि सुन्छु कि गाउँमा केही भएको छैन, पैसा छैन, सब गरिब छन् आदि आदि । प्रश्न गर्न मन लाग्छ, यो तडकभडक, यो बढदो उपभोगबादमा नाँचीरहेको पैसा कहाँबाट आउदैछ ? ब्यापारीहरु ढोकामै कुटेको चामल र फलेको दाल किन पु-याइरहेकाछन ? गाउँको आधुनिक पहिरनले यसको कुन सुदूर भबिष्य बताइरहेकोछ? यी यक्षप्रश्नहरुमा घोत्लिनु पर्ने समय आएकोछ  ।
     नेपालमा विकास भएन, अवसर पाइएन भनेर विदेश जाने र गाउँको विकास भएन, अवसर पाइएन भनेर सहर पस्नेहरूमा केही न केही समानता छ । म भन्छु, तमाम बेथितिका बाबजुद् पनि अधिकांश नेपालीले मीठै खाएका छन् । राम्रै लाएका छन् । विकसित देशका जनताका लागि एकादेशको कथा बन्ने घरजग्गा, जमिन र अलिकति अन्न अपबाद बाहेकका नेपालीको जन्मसिद्ध अधिकारभित्र पर्ने गरेको छ ।
भारतभित्रकै  महाभारत हेरौं त । त्यहाँ लाखौं किसान बैंकको ऋण तिर्न नसकेर मर्छन् । बाउबाट छोराछोरी असुरक्षित छन् । सामाजिक बिकृतिहरु हिलोमा गाडिएको किलो भएकोछन्  । दरिद्रतामा आम मानिस यसरी भासिएको छ कि करोडौं बाँचेर मरेका छन् । सामाजिक चेतनामा भारतभन्दा हामी लाख गुना माथि छौं । त्यो भूमिमा भारतीयले भारतीयलाई विश्वास गर्दैन । भारतभित्र दर्जनौं देश छन् । विश्वको समृद्ध मुलुक अमेरिका जहाँ बिग्रिएको गँजडी छोरो पेस्तोल बोकेर स्कुलको कक्षा कोठामा निर्दोषमाथि गोली बर्साउँछ । युरोपेली मुलुक जहाँ दुई घन्टा न्यानो घाम लाग्दा त्यहाँका बासिन्दाका लागि दशैं आएजस्तो हुन्छ । ती देशमा ५० वर्षमा बढ्ने बनस्पति हाम्रोमा पाँच वर्षमा हुर्कन्छ । नेपाल त्यो सक्कली फूल  हो, जसमा अत्तर छर्कन जरुरी छैन । खाँचो व्यवस्थापनको हो । हामी कहि कतै त्यसैमा चुकेका छौ ।
त्यसो भए के हामी माल भएर पनि चाल नपाएका हौ त ? बर्णित गाउँकै बिकास चर्चाबाट यसतर्फ पनि बिचार गरौ ।
संक्षेपमा हाम्रो बिकासको केही बलियो र कमजोर पक्ष निम्नानुसार हुन सक्दछन् ।

सबल आधार / अनुकूलता

#बैतडी जिल्ला सदरमुकामबाट १४ कि मि मात्र टाढा रहेको यो गाउँ गत बर्षमात्रै सडक संजा्लसंग जोडिएकोछ । यो नयाँ ग्रामिण सडकमा देहिमाण्डौको पक्की राजमार्ग हुदै टेक्टर, जीप र मोटरसाइकलहरु निर्बाध चलिरहेकाछन् । समुद्र सतहबाट झण्डै ८२२-११६६ मिटर सम्म उचाईमा रहेको यो गाउँ  सबैभन्दा बढि जनसंख्या भएको उपयुक्त मनोरम बस्ती हो ।  यो गाउँमा बिद्युत र संचारसेवा उपलब्ध छ ।
# ग्वाल्लेकधुराको पश्चिमी पार्श्वबाट बग्ने खोलाहरुले गर्दा पुरै बस्तिमा पानीको सुबिधा प्राप्त छ । ससाना कुलाहरुको मर्मत हुनसके सबै जसो जमिनमा सिँचाइ पुग्न सक्ने अबस्था छ । यहाँबाट बग्ने बगडागाड नै रौलाघाट हुँदै स्याडीगाडमा मिसिएकोछ र यसै गाडबाट निकालिएका कुलाहरुले पुजारागाउँ, स्याडी, कपर्त, धनचुलि र बगाउँसम्म सिन्चन गरिरहेकाछन् । हाल निर्माणाधिन बृहत्तर सुर्काल खानेपानी योजना तयार भएमा गाउँभरि सिचाईको यथेष्ट सुबिधा प्राप्त हुने  आशा गर्नसकिन्छ । सारांशमा यहाँ जल, जमिन, जंगल र जनश्रमको छेलोखेलो छ ।
## पर्व बिशेषमा देखिने सांस्कृतिक गतिबिधिले हाम्रो जनजिवनको झलक दिएको हुन्छ । यहाँका थुप्रै मन्दिरहरुमा बर्षैभरि यस्ता सांस्कृतिक अवसर जुर्न सक्छन् । यिनै पर्बहरुको क्यालेण्डर तयारगरि आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । " खस आर्य सभ्यता " को अध्ययनका लागि यहाँ सांस्कृतिक पर्यटन क्षेत्र बन्ने प्रशस्त सम्भावना छ । पर्यटनमैत्री परिधिमा रहेकोले पर्यटनको अवसर देखिन्छ ।
#तरकारी खेती र नगदेबालीका लागि उचित वातावरण छ । लोक्ता, खरी ढुंगा, गिट्टी बालुवा, जटिबुटी प्रशोधनका संभावना प्रशस्त छन। अचेल  देखिएको जागरुकतालाई सबल पक्ष मान्न सकिन्छ  ।
# संरक्षित बनक्षेत्र बाहिरका खुल्ला मैदानहरुलाई आबश्यकता र सम्भावना हेरि मनोरञ्जनस्थल, बनभोजस्थल वा अध्यात्मिक साधनास्थलका रुपमा बिकास गर्न सकिन्छ । यसो भए नजिकको सदरमुकाम र वरपर तथा निकटबर्ति भारतिय नगरहरुबाट समेत पर्यटक आउने सम्भावना देखिन्छ । दीर्धकालमा केबलकार संचालनको सम्भावना रहेको समेत यस सम्बन्धि बिशेषज्ञहरुको राय छ ।
# मुलत: ग्रामिण पर्यटन प्रबर्धन नै यो क्षेत्रको पर्यटन बिकासको मेरुदण्ड हो । यसका लागि होटल , होमस्टे, पाहुनाघरहरुको व्यापक बिकास, गाउमा सरसफाइ र शिष्टाचारको तालिम, ग्रामिण संस्कृति र बेशभुषाका प्रदर्शनी, एकीकृत पर्यटन बिकासका कार्यक्रम, ग्रामिण महोत्सब संचालन, विशेष पहिचानका लागि सुचना प्रबिधिको सहयोगमा बिज्ञापन समेतको व्यापक सुप्रबन्धन भएमा पर्यटकिय सम्भावनामा उल्लेख्य वृद्धि हुने सुनिश्चितता देखिन्छ । यहाँका चाडपर्ब र जैबिक उत्पादनहरु  ग्रामिण पर्यटनका आधार हुन सक्दछन । गाउँपर्यटनलाई यहाँको जिबनशैलीसंग जोडन सकिए पर्यटकीय सम्भावनामा समेत बढोत्तरी हुनेछ ।

प्रतिकुलता/ चुनौति/ समस्या/ जोखिम र यसका असर

*यस क्षेत्रको जैबिक बिबिधता, जलाधार क्षेत्र, जडिबुटि र धार्मिक बनको निरन्तर दोहन ।
*अनियन्त्रित र खुला चरिचरन, काठदाउराको अब्यबस्थित संकलन, जडिबुटीको अबैध निकासि, बनक्षेत्रको अतिक्रमण र चोरि शिकार जस्ता समस्या ।
*स्थानिय रैथाने केही बनस्पति त हराइ रहेका र  पानिमुहान सुकिरहेका ।
*अब्यबस्थित धार्मिक गतिबिधिले  पुराना सम्पदा लोप हुदैगर्दा सांस्कृतिक सम्पदाहरुमाथि निरन्तर नकारात्मक संक्रमण जारि  ।
*केही पुरातात्विक सम्पदा हराइसकेकाछन् । सांस्कृतिक सम्पदाहरुको मूल केन्द्रिय तत्व नै बिलुप्त
*पर्यटन पुर्बाधारहरुको कमीले गर्दा पर्यटक मैत्री वातावरण बनाउन नसक्नु
*आधुनिक प्रबिधीका उपकरण सहजै उपलब्ध हुन नसक्नु
*कृषक समूह सक्रीय नहुनु र समन्वय- सहकार्यको अभाव
*दक्ष जनशक्तिको कमी
*पहुँच एबं श्रोत साधनको कमी ।
*कार्यान्वयन पक्षमा दलगत खिचातानीको समस्या र सरोकारवालाहरुको उदासीनता
*पुर्बाधार निर्माणमा अनपेक्षित ढिलाइ
*लैंगिक र सामाजिक विभेद ।
*अनुगमन मुल्यांकनबारे अभीमुखिकरण नभएको ।
*श्रमप्रतिको निष्ठा र सम्मानमा आएको ह्रास ।
*अती वर्षा/वृष्टि जस्ता प्राकृतिक प्रकोप ।

समस्याका समाधानका लागि उपाय

**सामुदायिक / सामाजिक/आर्थिक गतिबिधिको समीक्षा गरीरहने परिपाटीको शुरुवात ।
**स्थानिय तह/निकाय/ संस्थाहरुको कार्यालय सबलीकरण ।
**स्थानिय बजारको बिकास ।
**बिकास ब्यबस्थापनको अभिलेखीकरण ।
**लक्ष्यित बर्ग/ समुदायको सहभागिता बृध्दि
**कृषकहरुको माँग र आपुर्तिमा सामन्जस्यता/ अनुदानमा बृध्दि । कृषिबजारको ब्यबस्था ।
**घास खेति प्रणालीमा सुधार ।
**प्राबिधिक ब्याबसायिक शिक्षामा जोड ।

उपलब्धि / प्रतिफल/ सूचक/ पुष्ट्याइ

  • स्वरोजगारीमा बृध्दि  हुनेछ। प्रतेक क्षेत्रमा आयस्तर बृध्दि भै प्रतिब्यक्ति आय बढनेछ । गरिबीदर घटेर समुदायमा क्रयशक्ति वृद्धिभै चेतनाको स्तर बढनेछ ।
  • पर्यटक आगन्तुकहरुको संख्या बृध्दि भै बैकल्पिक रोजगारी बढने र समुन्नत शिष्ट समाजको श्रृृजना हुनेछ ।
  • कृषिमा आधुनिक प्रबिधिको प्रबेशसंगै कृषि उत्पादनमा बृध्दि भएपछि खाद्यान्न, तरकारी,दूध, फलफूलको उत्पादन बढनेछ ।
  • सारभूत रुपमा बिद्यालयहरुको सुसंचालन भै साक्षरता दर बढनेछ र गाउँमै प्राबिधिक कक्षा शुरु हुने छन् ।
  • ब्यबस्थित प्रणालीबाट खानेपानीको उपयोग भै सरसफाई बढनेछ। न्युनतम सुबिधासम्पन्न स्वास्थ्यसंस्था स्थापना भएपछि बालमृत्यु/ मातृमृत्यु दर घटने र औसत आयु बढनेछ ।
  • नमुना रुपमै सबै संस्था /कार्यालयको सेवाग्राही मैत्री कार्यशैली हुनेछ।
  • पर्याबरण र जैबिक बिबिधताको संरक्षण हुनेछ ।
  • धाार्मिक र सांस्कृतिक सम्पदाहरुको समुचित सुप्रबन्धन हुनेछ  । पुरातात्त्विक सम्पदाहरूको स्वरुप बिग्रने छैन र संरक्षित हुनेछन् ।
आशा गरौ, श्रम निष्ठामा फुले फलेको गाउको गौरबपुर्ण इतिहासका बर्तमान संस्करणहरुले पुर्खाको प्रेरणा लिइ आफनो सोचलाइ नबिनता दिनेछन। गाउँमा चिन्तन बिउझिनेछ,चरित्रले यात्रा गर्नेछ । यहाँ सुन्दर सोचिनेछ र सुन्दर रचिनेछ।


कार्यक्रम र लागत बजेट

बिस्तृत प्राबिधिक अध्ययन पछि मात्र लागत तोक्न सकिन्छ । योजना छनौटका प्राथमिकता तथा कार्यक्रमको पहिचानमा आबश्यकता बमोजिम थपघट गरेर स्थानिय  निकाय/जनभेलाको निर्णयानुसार कार्यान्वयन गर्न सकिन्छ
==





बिकास पुर्बाधारहरुको सुदृढ सञ्जाल  ;  बिकृतिमुक्त, सदाचारयुक्त,सभ्य र सुन्दर सुर्काल ।।

No comments:

Post a Comment