Monday, May 14, 2018

मौका पाइएला त यसरी घुम्ने ?

मौका पाइएला त यसरी घुम्ने ?


 " हामीले सुनेका थियौ,  परार साल  मात्रै सडक पुगेको  भए पनि त्यो गाउँले आशातीत काम गरेको छ । बारै महिना चल्ने सदाबहार बाटो छ । पाहुनाहरुका लागि प्राय: हरेक घरमा होम स्टेका लागि कोठा छुट्ट्याएका छन् । चारैतिर पालुवा पलाउने मौसम । कतै हरिया पालुवा त कतै पहेंला अनि सेता फूलहरु। रमणिय वातावरण ! बारीमा कतै मकै रोपिएको त कतै चिटिक्क बाली । कोइलीको कुहुकुहु ! जंगलमा राताम्मे गुराँस । अहा ! कति सुन्दर प्रकृति ! अझ बाटोमा पाइन रैथाने फलफुलले त यात्रालाई झन सुमधुर बनाईदिन्छन् । यस्तै वातावरणमा हामीहरु प्रकृतसंग एकाकार हुन चाहन्थ्यौ । त्यसैले बसन्तागमनसंगै मूल सडक छोडेर देहिमाण्डौबाट दक्षिणपट्टीको विशाल हरियो लेकतिर घुम्ने लक्ष बोक्दै हाइकिङमा हुइकिएका थियौ । हामी हरेक महिनाको चौंथो शनिबार हाइकिङ गर्छौं । हिँड्दा शरीरमा ताजापन आउँछ तर, हाइकिङ गरेर मात्रै तौल घट्दैन, त्यसका लागि खानपान मिलाउनै पर्छ।
विहानैदेखि धुम्म बादल लागेको, दर्केर पानी पर्ला जस्तो थियो।  हामीले छ जनासम्म अटने सानो गाडी भाडामा लियौ । त्यतिले त्यो मनोरम पर्बतीय धामको फेदसम्म एक घण्टामा सजिलै पुग्न सकिदो रहेछ । यहाँबाट हामी सिधा जंगलको बाटो अघि बढ्यौं । पिकनिक स्पटमा केहीबेर हाम्रो गन्तव्य र यात्राका नियमबारे जानकारी लिएपछि पदयात्रा सुरु भयो ।घना जंगलको बिचोबीच बाटो । शितल अनि शान्त । उकालो चढ्दै जाँदा विस्तारै वरपरका दृष्य देखिन थाले । मौसम धुम्म भएकाले हिमाल भने देखिएन । बाटोमा कतै कतै गुराँस फूलेका । बेलैमा पानी नपरेकाले यसपाली कमै गुराँस फूलेका थिए। काफल त कति हो कति ।

हाँसो रमाइलोसंगै करिब २ घण्टा हिडेपछि पुगियो  भञ्ज्याङमा । त्यहाँ चौर छ, नजिकै चिया पसल पनि । संरक्षित बनको क्षेत्र पर्ने भएकोले पसले राति गाउँ झर्दा रहेछन् । एकाबिहानै दिनभरीको जोरजाम मिलाई भञ्ज्याङ चौबाटोमा पर्यटक कुर्दा रहेछन् । भञ्ज्याङबाट उत्तर लागे १ घण्टामा खर्क हुँदै  पुर्बोत्तर भञ्ज्याङ पुगिदो रहेछ । त्यहाँ बडेमाको भ्यु टावरको निर्माण हुँदै छ रे । दक्षिण लागे दुई घण्टामा तेले लेक कटिन्छ रे ।  हामी भने पूर्व गोरेटोलाई पछ्याउन थाल्यौ । बाटैभरी ऐंसेलु, तर नपाकेकाले खान भने पाएनौं । आधा घण्टामै हामी मोतिबस्तीमा पुग्यौ । कुनै मोति नामका युगपुरुषले ५०० बर्ष अगाडि बसालेको गाउँ ।हाल तीनवटा नगरपालिकाको सङ्गमस्थल । चारैतिर हरिया डाँडाले घेरिएको वीचको बस्ती ।  नजिकैको डाँडामा बसेर हामीले लन्च खायौं ।

हिडदै गर्दा ३ किमि दुरीको डाँडाबाट गाउँको अझ राम्रो दृष्य देखिन्छ । डाँडामा बसेर खाजा खाँदाखाँदै मसीनो  पानीले स्वागत ग¥यो । प्रकृतिको नियम कति सुन्दर, कहिले पानी पर्ने त कहिले घाम, कहिले हुरि बतास त कहिले सेतो कुहिरो । पदयात्राले प्रकृतिको नियमसंग नजिक्याउँछ । उहिल्यै यातायात नचल्दा दक्षिणी इलाकाका गाउँतिर जाने नाका यही थियो रे । अचेल भने यहाँ ससाना खाजा पसल र रेष्टुँरा छन्। नजिकै गाउँमा ट्राउट माछा मनग्गे पालिएकाले लेकाली माछाका पारखिहरु प्रशस्तै आउदा रहेछन् । त्यसो त दुधदहि, घिउ लगायत दुग्धजन्य उत्पादन र जैबिक तरकारी खेतिका लागि पनि यो नाम चलेको ठाउँ हो ।
झलमल्ल हिमाल देखिने उच्च समस्थली पुग्न एक घण्टा लाग्यो ।  गाउँका प्रख्यात लोकदेवता श्रीकेदारका पुरानो मन्दिर यहाँ थिए रे । उहिलेका  कत्युराकालीन आदिबासी किरात खसहरुलाई धपाएर आर्यहरुले यी लेकमा जरो जमाएका हुन रे । फलत: अहिले यो समुच्च डाँडालाई आर्यडाँडा भनिन्छ । अपभ्रंसित लोकबोलीले ऐचेकाँणा भनेको पनि सुनियो । त्यो आगमन प्रत्यागमनको मध्यकालिन इतिहासमा यो मनोरम डाँडाभरी २२ थर का मानिस बसोबास गर्थे रे । अझ त्यो भन्दा अगाडीको समयमा यहाँका देवता र खपरे नामको कुनै दैत्यजस्तो भिमकाय गणनायकको यसै भुमीमा घमासान लडाई भएको थियो । यो जिल्लाभरीकै लोकगाथाहरुमा त्यो युद्धको जिबन्त वर्णन पाइन्छ । केदारले घुँडा धस्दा परेको खाडल र सो खाडलको बिचोबीचबाट झंडै १० किमी लामो सुरुङजस्तो गुफा हेर्न थुप्रै देशी बिदेशी मानिस यहाँ पुग्दा रहेछन् ।
यहाँ प्रतेक पर्बमा मेला लाग्छ, जात्रा पनि चलाइन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानबाटबााट नंदादेबी देखि अपि साइपालसम्मका हिमालको लामो लर्कन देखिन्छ । डाँडाबाट समस्त भ्यालीको दृश्यावलोकन गर्न मिल्छ। यहाँको प्रख्यात गाउँ मोतिबस्तिमा अधिकाँश बाहुनहरुको बसोबास छ भने केही क्षेत्रीहरु र दलितबस्ती पनि छ ।
 वर्षैभरि घुम्न मिल्छ यस क्षेत्रमा । चैत–वैशाखमा गुराँसको उज्यालोले झलमल्ल बन्छ गाउँ । बाटोमा काफल, ऐंसेलु, चुत्रो आदि पाइन्छ । सिजनमा सुन्तला, ओखर र आरु  पनि पाइन्छ।  मूलबस्तीको बेसीमा दुई नदीको संगम छ । ती दुई खोला धरावती (धारीबाट बगेकी) र गोदावरीगंगा ( ग्वाल्लेकबाट बगेकी) हुन् । मिसिएपछि बगणा खोलाको नाउँले रावलाघाट हुँदै स्याडी- सुरनैयामा मिसिन्छन् ।

यहाँका बासिन्दा कृषिमा निर्भर छन् । गाउँमा खाद्यान्न र दूध उत्पादन हुन्छ । धान, मकै, गहुँ, सागसब्जी फलाइन्छ ।  आलु राम्रो उत्पादन हुन्छ । गाई, भैंसी र बाख्रापालन पनि गरिन्छ।  नेपाल पर्यटन वर्षका बेला सरकारी सहयोगमा सिँगो क्षेत्रको परिक्रमा गर्न मुख्यगाउँको चौर, मुख्य मन्दिर, खपरे युद्धमैदान, ग्वाल्लेक संरक्षित बन, केदारथान र कैलपाल थानसम्म पि सी सी बाटो र सिँढी बनाइएको रहेछन् । यसलाई श्रीक्षेत्र परीक्रमा पथ भनिएकोछ, बोलचालमा श्रीक्षेत्र सर्किट ।
भनिन्छ, मानस क्षेत्रको यो केदारखण्डमा अझै पनि कैयौ अनुद्घाटित रहस्य छन् । हामी यहि  सर्किटका सिढी ओर्लेर पक्की बाटो हुँदै गाउँमा पुग्यौ । समय कम भएको र मन्दिरमा पुजाआजा गर्न अनुकूल अवस्था नभएकोले यसपाला देबदर्शन गर्न गइएन  । यति मात्रै हो र दम्यौल्याको पाषाण पार्क र भन्तोलीको पर्याबरण बनोद्यान ( इको पार्क ) पनि त घुम्न हेर्न सकिएन । दुई दिनको समय मिलाएर आउने भनेर टाढैबाट श्रीकेदारसंग क्षमा माग्दै अर्कोपल्ट आउने भाकल गर्दै सडकैसडक यो अधित्यकाकोमूल गाउँ सुर्कालमा भित्रियौ ।
गाउँमा पनि स–साना खाजा पसल छन् । खुद्रा समानका पसल थपिदैछन् । होटल तथा लज छैनन् । हालैदेखि फेरि होमस्टे थालिएको छ । मोतीबस्ती होमस्टेको नाउँमा बाहुन, क्षेत्री, र दलितका घरमा होमस्टे गराइन्छ । हरेक घरमा होमस्टेका लागि कोठा छुट्टयाइएका छन्।   ग्रामिण राम-रमितामा रमाउँदै होमस्टेमा बस्न सकिन्छ ।

फर्कंदा अग्र्यानिक सागसब्जी, आलु र तरकारी कोसेली ल्याउन सकिन्छ । हामीले पनि बोक्नसकिने केही सामान
किन्यौ । बसेर सामुहिक फोटा खिच्यौं । त्यहाँ एक छिन अन्तरक्रिया गरेर अगाडि बढ्यौं । जंगलको बाटो, पहाडी इलाका, सुन्दर बस्तीहरु । गाउँलेहरु गाई बाख्रा चराउँदै गरेको दृष्य। मोटरेबल बाटो पनि छ । गाडीको ब्यबस्था गर्न सकिन्थ्यो तर तेर्सो उकालो बाटामा पैदल हिडने सुर कस्यौं । प्रख्यात पर्यटकीयस्थल जहाँ सफा खाजा पसल छन् ,  त्यहाँ हरेक शनिबार पिकनिक खानेको भिड लाग्छ। अहिले वनैभरी किरमणा र ऐंसेलु पाइन्छ । तपाई पनि गुराँसको लालीमा ऐंसेलु खाँदै यो ठाउँ घुम्ने कि ? "

आज एउटा चल्तीको दैनिक पत्रिकामा छापिएको पर्यटन बारेको यो लेख पढदा पढदै म त झकाएको रहेछु । आलेखका पङ्ति र पंक्तिकारलाइ सम्झिए । नाम पनि चिने चिने जस्तै लाग्यो । तर एकीन  आएन । यो यात्रा वर्णन आफनै गाउँको रहेछ, यति मात्रै सम्झिरहेकोछु  । यो कस्तो सपना! मौका पाइएला त यसरी घुम्ने ?
यो सपनामा कुनै असंगत असम्भव कल्पना त छैन , है ।। तपाइको बिचार के छ ? त्यसो त असम्भव के छ र?
वैज्ञानिक आइन्सटाइनले " विज्ञान विनाको धर्मले पूर्व लङ्गडो र धर्म विनाको विज्ञानले पश्चिम अन्धो" भएको भनेका छन् रे । अन्धा र लंगडालाई मीत बनाएमा मजाले देख्न र हिडन सकि हालिन्छ है । मानव जीवनको समग्र हितार्थ विज्ञान र अध्यात्मको सम्यक स्विकारोक्ति नै आजको आवश्यकता हो । आशा गरौ, भित्रबाट शान्ति र बाहिरबाट सम्पन्नताको फूल एकसाथ फूलोस ।




No comments:

Post a Comment