Wednesday, May 22, 2013

पुर्ख्यौलीका प्रसंगहरु-३


३- अत्री गोत्रीय पुर्खाहरुको पहिलो आगमन

सम्भवत: बाह्रौ, तेह्रौ शताब्दितिरको मुसलमानी आक्रमणका झंझावात झेल्दै जोधपुरी परम्पराका आत्रेय गोत्री ब्राह्मण उदय भट्ट र उनका सन्तान गढवालको श्रीनगर हुदै काली तरेर तत्कालिन डोटिमा प्रबेश गरेका थिए। डोटीमा यो बंशले देबीदत्त भट्ट र देवीप्रियाका छोरा बत्सराज भट्टका पालामा  शासकीय खलकलाई समेत प्रभावित गरेको बुझिन्छ।
बत्सराज बिव्दान साधक थिए। यिनी फलामका समिधा जलाएर बाजपेय यज्ञ गराउन समर्थ थिए। डोटिका तत्कालिन राजा राव माधवसिंहले यिनैबाट बाजपेय यज्ञ गराएपछि  आफनी एकमात्र छोरिको बिबाह यिनैसंग गराइ आफु काशिबास गएका थिए। यिनै डोटिनरेश पुत्रीबाट जन्मेका कालु बर्मा पछि कालु थापाका नामले बगाले थापाका पुर्खा मानिएकाछन। भिमसेन थापा, अमरसिह थापा यसै बंशसंग सम्बध्द छन। ब्राह्मण बंशको शुध्दता कायम गर्न बत्सराजले सुबेदी बाहुनकी छोरिसंग बिबाह गरेपछि जन्मिएका छोरा उपबत्सराजलाई जुम्ली राजाले राजगुरुको पदवी दिएका थिए। यिनका छोरा श्रीबत्सराजले चारवटा बिबाह गरेका थिए। जुम्लाका समाल, गलकोटका मल्ल र रुकुम सल्यानका शाह यिनकै सन्तान हुन। श्रीबत्सराजका जेठी श्रीमतिबाट जन्मेका सन्तान सिग्दिमा बसेकालाइ सिग्देल र पौडीमा बसेका पौडेल कहलिए। बि सं १४१८ ताका गद्दीमा बसेका अछामका राजा देबीचन्द्र पनि यिनै भट्ट ब्राह्मणका सन्तान थिए। इतिहासको त्यो कालखण्डमा बिभिन्न नाका, बिभिन्न नामबाट यिनैका खलकहरु उत्तरांचलको पहाडमा प्रबेश गरे। 
शासकीय बंशसंगको सम्बन्धका कारण तत्कालिन डोटिराज्यमा यि आप्रबासीहरु यत्रतत्र सुबिधा अनुसार घरजम गर्न थाले। अटकिन्सनको भनाइ अनुसार भट्टहरु भारद्वाज, उपमन्यु, बिश्वामित्र र कश्यप गोत्रमा पनि भेट्टिन्छन। यिनीहरु जुन गाउँमा बसे त्यहिको नामबाट पनि बोलाइन थाले।  जस्तै- धनकोटा, डालाकोटी, तिमिल्सिना, पौडेल, सुबेदी आदि। कुमायुका इतिहासकार पं बद्रीदत्त पाण्डेका अनुसार भट्ट बाहुनहरुका मूलपुरुष श्री बिश्वशर्मा दक्षिण द्रबिड देशबाट बर्म अर्थात बम राजाका पालामा पहाडतिर आएका हुन्। कुमायुँका राजा भीष्म चन्दका पालामा समेत बिभिन्न समुहमा भट्टहरु कुमायुँमा आएको देखिन्छ। भारतको पिथौरागढमा रहेको भाटकटिया (भाटकोट)लाइ भट्टहरुको कोट( किल्ला) नै मानिन्छ।
जे होस यसै काल क्रममा अत्री गोत्रको समुह बिशिष्ट समुहको रुपमा भट्टहरुकै थर नामले काली वारी प्रबेश गरेको थियो। श्रीपाली बस्न्यात बंश परिचयमा उल्लेख भए अनुसार ब्रतबन्ध गर्दा पाएसम्म अत्री गोत्रीय ब्राह्मणबाटै गायत्री मन्त्र सुन्नुपर्ने प्रचलनसमेत रहेको छ ।
गोत्रका मूल ऋषिले नै भाषा साहित्य ,बंश बिकाश,ज्ञान, बिज्ञान,लगायत तमाम सभ्यताको शुरुवात गरेकाले यसको श्रेय उनै ऋषिहरुमा हुन्छ। राजाको इतिहासमा कुन राजाका सन्तान भने जस्तै गोत्र पनि बंश-क्रमको शुरु-बिन्दु हो । त्यस बेलाका ऋषिहरुमा राज्य संचालनको प्रमुख भुमिका रहन्थ्यो । मुख्य ठूला ऋषिहरुको नाम चलेपछि यो परम्परा छोरामा पनि स-यो र छोरा नातिका नाममा समेत गोत्र नामाकरण हुन थाल्यो

अब हामी हाम्रो यो बंश सिलसिला कति पुरानो हो भन्ने तर्फ बिचार गरौ।

इतिहासकार एच जी वेल्सका अनुसार समग्र मानव सभ्यताको पछिल्लो सभ्यता १५ हजार बर्ष पुरानो हो । राजा परिक्षितको समयबाट अचेलको “कलियुग” शुरु भएको भनिएको आधारमा गरिएको एउटा गणितिय अनुमान अनुसार राम को जन्म ईशापूर्ब ५११४ मा भएको मान्नु पर्दछ। जसअनुसार रामको जन्म आजभन्दा ७१२७ बर्ष पहिले भयो । दशरथबाट सन्तान ढीलो भयो भन्ने कुरा रामायणले भन्दछ । ६० बर्षमै सन्तान भएको भए पनि दशरथ राम भन्दा ६० बर्ष जेठा भन्ने मानौँ । तदनुसार दशरथको उमेर आज ७१८७ बर्ष हुनुपर्दछ । दशरथ र ऋषि अत्री समकालीन होलान । यस सुत्रानुसार अत्री पनि ७१८७ बर्ष पहिलेका हुनु पर्दछ । यसरी हाम्रो गोत्र अत्री झन्डै ७२०० बर्ष पुरानो हो । हाम्रो बंश सोही मिति देखि संगठित भएको हो । अब औसत १०० बर्षमा ३ पुस्ता हुन्छ भन्ने मानौँ । अद्यावधि हाम्रो ज्ञात ईतिहास यो पंक्तिकार भन्दा अगाडीको २१ पुस्तासम्म मात्र सिमित छ। यस हिसाबले हामी अहिले ७०० बर्ष अगाडीका बाजे बराजेका बारेमा धुमिल कथा-सुत्र जोडदैछौ। त्यस अघिको ६५०० बर्षको बंश शृंखलामा ऐतिहासिक घटनाको क्रम भंग भएकाले वा बंशको गणितीय तथ्य फेला नपरेकाले इतिहास अझै अज्ञात छ।


Monday, May 20, 2013

पुर्ख्यौलीका प्रसंगहरु-२





                                                              
श्री केदारको स्थापना
कुर्मपुराणमा कुर्मांचललाइ केदार क्षेत्र भनिएकोछ। स्थानगत रुपमा यस क्षेत्र भरि नै केदारका स्थापना छन्। केदारथानलाइ यहाँ सत्ययुगिन शिला मानिन्छ। केदारको पुजा पध्दति समेत अत्यन्तै प्राचिन छ। आर्यहरुजो आगमन पश्चात मात्र पुजन परम्परामा बेदिक बिधि समावेश गरिएको मानिन्छ। ग्वाल्लेक केदार, आश्रमकेदार, असिमीकेदार, श्रीकेदार, सहश्रलिंग, असीग्राम जे भने पनि यि केदार-श्रृंखला कै नाम हुन्। श्रीकेदारको आल नै कालान्तरमा सुरकाल कहलिएको कुरा पछिल्ला आलेखमा आइसकेकोछ।
हाल असिमीकेदार मन्दिर रहेको नदि दोभानको स्थानमा भने खापरेसंगको लडाइ पछिमात्र स्थापना भएको मानिन्छ। सम्भवत: काली कुमायुबाट आएको कुनै तान्त्रिक शक्तिसंग यो लडाइ लडिएको थियो। खापरे हारेको र मष्टाहरु धपाइएको भन्ने जनश्रुति यहाँ ब्यापक सुनिन्छ। यो लडाइमा अछुतको स्पर्श हुदा सबै देवीदेउता गंगास्नान गर्न जाने भनी गाउँ छाड्न खोज्दा गाउलेहरुले रोइ कराइ अनुनय बिनय गरी देवताहरुलाइ यहि स्नान गर्न लगाइ रोकेका थिए। केदारको जात्रमा गायन गरिने एउटा लोकगाथामा  यस घटनाको भावुक बर्णन आउँछ।
तम गुसाइ केदार क्यान चलाइभइ, मनेषु हमी कै का।
रागसपुरिको राज होलो भइ, मनेषु हमी कै का ।।
अर्थात, तपाइ हाम्रा मालिक केदार, किन बाहिर जानलाग्नु भयो? हामी मनुष्य कसका भयौ? ( हाम्रो रक्षा कसले गर्ला?), याहँ राक्षसहरुले राज्य गर्ने भए, हाम्रो रक्षा कसले गर्ला, आदि।।
अन्तत: लोक भावनाको कदर गर्दै सबै स्थानिय देवताले यहिको जलमा स्नान गरे र यतै बसे। यो लोक गाथामा गया, हरिव्दार, बनारस भन्दा पनि यहाँ कै नदिमा स्नान गर्नु उत्तम बताइएकोछ। यो पबित्र नदि संगम श्रीकेदारकै आलमा पर्दछ। श्री शिब महापुराणको कोटि रुद्रसंहितामा भनिएको पनि छ।
केदारेशस्य भक्ता ये मार्गस्थास्तस्य वै मृता:।
तेऽपि मुक्ता भवन्त्येव नात्र कार्य्या विचारणा।।
तत्वा तत्र प्रतियुक्त: केदारेशं प्रपूज्य च।
तत्रत्यमुदकं पीत्वा पुनर्जन्म न विन्दति।।
यस सम्बन्धी बिस्तृत बर्णन यस लिंकhttp://bibidha.blogspot.com/2010/07/blog-post.html मा राखिएको ‘लोकदेवताहरुको लडाइ- सुदूरको लोकगाथा’मा गरिएकोछ।


पुर्ख्यौलीका प्रसंगहरु-१




                                                      रागस पुरिको राज हो लो भइ, मनेषु हमी कै का।
 स्थानिय धार्मिक लोकगाथा                        




हाम्रा गाउँघरको भुगोल र यहाँका देवस्थलको सन्दर्भमा बिचार गर्दा हाम्रो भौगोलिक र सामाजिक बाताबरण छायामय देखिन्छ। पुरानो र नयाँ दुइ संसारको बिचको सियालो घाममा आआफनो भावना अनुरुप गाउलेहरुले सपष्ट असपष्ट आकृति दिने गर्दछन्। अर्थात यहाँ घाम ताप्न पनि सकिन्छ र छायामा बस्न पनि सकिन्छ। यहाँ ग्राम देवताहरु बिराजमान छन। हिन्दु देव-देबीका ब्रत त्यौहार मनाइन्छन। र यहाँ पितर, पुर्खा र मुक्तात्मा बिचरण गर्छन पनि भनिन्छ। अर्कोतिर कठोर धरातलीय यथार्थ छ। आधुनिक संचार, बिजुली, पानी उपलब्ध छ र संभावनाका नयाँ ढोका खुल्दैछन।
यो सब हुदाहुदै पनि गाउँलेहरुको साझा अनुभब के छ भने यहाँ केहि छ जो चिन्न र जान्न सकिएको छैन्। बिगतमा यहाँका इतिहासलाइ अरुले लुकाए, बंग्याए। यसरि आफनै जरा-पात थाहा नभएपछि लाटो सुधो भै चुपचाप बस्न बाध्य हुनै प-यो। सम्बेदना शुन्य पारेपछि जसलाइ पनि पाखा पार्न सकिन्छ, भुत्ल्याउन पाइन्छ। अत: सबैले आफनो पुर्ख्यौली इतिहासलाइ राम्रोसंग बुझनु पर्दछ, बुझाउनु पर्दछ। भनिन्छ, जो बाहिर हेर्छ, त्यो सपना मात्र देख्दछ। तर जो आफुभित्र नियाल्दछ, त्यो वास्तबमा बिउझिन थाल्दछ।
यसर्थ यस आलेखमा मेरो गाउँका बासिन्दाका महान पुर्खा र उनका अग्रणी आदर्शहरुका बारेमा जाने बुझेसम्मका कुरा तपसिलका खण्डमा लिपिबध्द गर्ने प्रयास गरिएकोछ।
गोत्र प्रवर्तक आदिपुरुष अत्री
यो गाऊँ अत्री गोत्रोत्पन्न बडूबंशीय ब्राह्मणहरुले भरिएकोछ। त्यसैले उनै आदि गुरू अत्री र उनको आश्रमको सेरोफेरोबाट यहाँको पुर्ख्यौली इतिहास शुरु हुन्छ।
ब्रह्माका मानस पुत्र, सप्तर्षि मध्येका ऋषि-प्रवर अत्री धर्म शास्त्रका ब्याख्याता र अत्री संहिताका निर्माता पनि हुन। स्थानिय स्वशासन कस्तो हुनु पर्छ? भन्ने बारेमा अत्रीसंहिताले बिशिष्ट ब्याख्या गरेकोछ। गोत्रका शिर्षस्थ ऋषि अत्रीव्दारा निर्मित संहिताको अटूट साइनो यहाँको ढुंगा माटोसंग गाँसिएकोछ। एकान्तमा आफुले आफैलाई खोज्दा अत्री आश्रमका पदचापहरु सुनिन सक्छन, देखिन सक्छन्।
पुराणहरुमा देवर्षि र राजर्षि गरी अठासी हजार ऋषिहरु थिए भनिन्छ। सुदूरपश्चिमका लोकगाथाहरुमा सोलसय ऋषेश्वरहरुको बर्णन आउँछ। संख्यामा जे जति भए पनि गोत्र प्रमुख ऋषिहरु एकान्त शान्त जंगलका आश्रममा बस्दथे। आश्रममा गाई पालिन्थे र शिष्यहरु गाइ-गोठको हेरचाह गर्दथे। गो-पालकको यो समुह नै कालान्तरमा गोत्र कहलियो। गोत्र समुहमा बिहावारी बर्जित थियो। तर समय क्रममा जात वा थर भने कामको आधारमा, बसेको ठाउँको आधारमा या यदाकदा स्थानिय राजा रजौटाको सन्की आदेशको भरमा समेत कायम हुन थाल्यो।
अद्यापि नेपालमा ३६ गोत्र र प्रबर प्रचलित छन भनिन्छ। नेपालमा बसेका जातिहरु मध्ये बडू, अवस्थी, पाठक, ओझा, पैतोला(पाण्डे), पौडौल, दुलाल,दवाडी, पन्थी, डाङी, रावल, पोखरेल आदि अत्री गोत्र भित्र पर्दछन।
प्राचिनकालमा बायुपर्वत ग्वाल्लेकको फेदीमा फैलिएको बिशाल प्राकृतिक बन बाटिकामा यत्रतत्र ऋषिमुनीका आश्रम हुँदा हुन्। यहाँ दैनिक धर्म-चर्चा चल्दो हो, यज्ञयज्ञादि चल्दा हुन्। यिनै आश्रमका केदारलाइ कालान्तरमा असिमी-केदार भनिएको हुन सक्छ। केयौ स्थानका नाम यसरी नै अपभ्रंश हुदै प्रचलनमा छन। जस्तै- बायु-तट(खुबै हावा चल्ने किनार) बाट बैतडी, देवताको भ्रमण गर्ने ठाउँ(देवाटपि) बाट डोटी, नभचर डुल्ने पहाड (खेचराद्रि)बाट खपतड, कुर्म अवतार भएको ठाउँ(कुर्माञ्चल)बाट कुमायुँ र काठको माण्डौ (काष्टमन्डप) बाट काठमाडौ आदि।
तीन गुणभन्दा पनि पृथक गुण भएका अर्थात गुणातीत साधकलाई अत्री मानिन्छ। पुराणहरुका अनुसार राजा पृथुले पालनगरेका हुनाले यस लोकलाइ पृथ्बी भनिएको हो। राजा पृथु पनि अत्री कै बंशज मानिन्छन्। महर्षि कर्दमकी छोरी र कपिल ऋषिकी बहिनी अनुसयासंग अत्रीको बिबाह भएको थियो। माता अनुसुया स्वयं पनि महान बिदुषि थिइन। कबिवर बिष्णुदत्त रचित अनुसुया चरितम् नामको संस्कृत नाटकमा यिनको महिमा बर्णित छ।

प्रतिकात्मक अर्थबोध गराउने हाम्रा धर्मशास्त्रहरुको ब्याख्या गर्नु गारो कुरा हो। धर्मको दार्शनिक पक्षलाई गोत्र प्रबर्तक ऋषिहरु आफना आश्रमबासीलाई सिकाउथे। भनिन्छ, देवलोकमा समेत अत्री आश्रमको चर्चा चल्थ्यो। माता अनुसुयाको परिक्षा लिन एकपटक त्रिदेव भेष बदलेर यो आश्रममा आएका थिए। माता अनुसुयाले तप बलबाट तिनै जनालाइ शिशुमा परिबर्तन गरि स्तनपान गराईन। पछि देवताहरुले माफी मागि यिनलाइ फर्काएर लगे। बात्सल्य प्रेम पाउन पुन: पुत्र रुपमा ब्रह्माले चन्द्र,बिष्णुले दत्तात्रेय र शंकरले दुर्बासा भएर भएर आश्रमा जन्म लिनु परेको थियो।
यसै गरि बेदको आठौ मन्डल, एकानब्बेऔ सुक्तकी रचयिता अपाला स्वयम् पनि अत्री र अनुसुयाकी पुत्री मानिन्छिन। यिनलाई चर्मरोग लागेकोले बनौषधिबाटै सो को उपचार भएको थियो। सोमलताबाट निर्मित सोम रस चढाई इन्द्रलाई खुशी पारेर अपालाले ‘यहाँका खेत सँधै उर्बर रहुन र आफनो चर्मरोग निको होस’ भन्ने बरदान मागेकी थिइन्। लामो समयसम्म खडेरी पर्दा अनुसुयाले गुप्तरुपमा गंगालाइ समेत यहाँ बोलाएको चर्चा पुराणमा आउँछ। यसै गरी बेदान्त बिदुषी आत्रेयी पनि यसै खलककी छोरी थिइन। यिनको बिबाह अंगिरा ऋषिसंग भएको थियो।
कालक्रम फरक परे पनि बेद र रामायण दुबै ग्रन्थमा अत्री परीवारको चर्चा आउँछ। बनबासकालमा राम, सीता र लक्ष्मण अत्री आश्रम पुगेका थिए। सीता स्वयंले अनुसुयाको आशिर्बाद माँगेकी थिइन्। यस प्रसंगमा “धिरज, धाम, मित्र र नारीको परीक्षण आपतकालमा मात्र हुन्छ” भन्ने नारी धर्मका बारेमा अनुसुयाले सीतालाई दिएको उपदेश रामायणमा पाइन्छ। यस प्रसंगका बिबरण    http://bibidha.blogspot.com/2012/02/blog-post.html यस लिंकमा पनि पढन सकिन्छ।
माता अनुसुयाले स्नान गर्ने कुण्डहरु, अपालाको चर्मरोग निको पार्ने बनौषधिहरु, इन्द्रको प्रीय सोमरस तयार गर्न चाहिने सोमलता र अनुसुयाले गुप्त रुपमा बोलाएकी गंगाको स्वरलहर सबै यस क्षेत्रमा भेट्टिन्छन। राम्रो भाव पैदा गरी भगवानको भजन सिकाउने अत्री ऋषिको यसै आश्रममा  यस गाऊका पुर्खाहरुले पहिलो संस्कार ग्रहण गरेका हुन्।

Friday, May 17, 2013

हाम्रा देवस्थल- हाम्रा सांस्कृतिक सम्पदा (खण्ड-३)


स्थानिय लोक पर्ब र लोक ब्यबहारहरु
गाऊँमा अझै ब्याबसायिक मेलाको प्रचलन छैन। अत: सांस्कृतिक पर्बलाइ नै मेला पर्ब भन्नुपर्ने हुन्छ। यि पर्बहरु बिशेषत: पुजा आजामै सिमित हुन्छन। सुदूर पश्चिममा मनाइने गौरा, बिशु, नौरता, देवालि, होरि, ओल्के, मकर र श्रीपंचमी जस्ता चाड धुमधामले मनाइन्छन। असिमी मन्दिरमा औसी, पुर्णे र संक्रान्तिमा नियमित पुजा हुन्छ। यसका लागि गुठीको ब्यबस्था छ। भदौ र माघका पर्बलाई बिशेष मानिन्छ। भदोमा कुशे औशीदेखि बिशेष नियमित पुजा भै पञचमीदेखि जात्रा शूरू हुन्छ। कहिलेकाहि अगस्तोदयका कारण गौरा पर्ब पनि यसै ताका पर्न सक्दछ। सप्तमीसम्म मूल गुथियार बडूहरु मात्र पुजाआजामा सामेल हुन्छन भने अष्टमीदेखि अरु आलबाहिरका समेत पुजामा सामेल हुन्छन्।  माघ पर्ब बसन्त पञ्चमीदेखि शूरु हुन्छ र भदोको पर्ब जस्तै अष्टमीसम्म चल्दछ। यि पर्बहरुमा बडूका १४ मोहिहरु बाट एक एक जनाका दरले मन्दिरमा निराहार तेराद (तीन रात) बस्ने प्रचलन छ। मन्दिरमा गोरस सप्रियोस भनेर ( बिशेष गरि सावन शुक्ल पंचमीमा ) दुध घीउ चढाउने चलन छ। न्वागीको नयाँ अन्न चढाउदा क्रमस: असिमी, केदार, कैलापाल र मोटो बडबाबमा चढाइन्छ। पुजा आजामा प्रर्त्येक घरले धूप पोखल दिने प्रचलन छ। बिशेष बर माग्न महिलाहरु हातमा दियो बालेर रात भर उभिएर मन्दिरमा आराधना गर्दछन। यस अनुष्ठानलाइ ‘ठडदिया’ भन्दछन्। कुनै कुनै पर्ब बिशेषमा धामीहरु ‘चअलो’ जाने भनेर असिमी केदार मन्दिरबाट चकडोलमा बसी भन्तोलि सम्म जाने गर्दछन। चकडोललाई प्राय: गर्खाका भन्डारी, ठगुन्ना वा बोहराहरुले बोक्ने चलनछ। माघ र बैशाख संक्रान्तिमा असिमी केदारकै मन्दिर नजिकको नदि तटमा ब्रतबन्ध समेत गरिन्छ। भन्तोलीको जात्रा सौर्यमान अनुसार चैत्र मा हुन्छ। अचेल शिबरात्री र भाईटिकाको दिन दुर्गास्थान(दुरैमाण्डौ) समेत मेला लाग्दछ।
परम्परागत सुन्दर ब्यबहारलाइ संस्कृति भन्नु पर्छ।( परम्पराय शोभमाना: इति संस्कृति:)।हाम्रा संस्कृतिमा पनि केहि सुन्दर ब्यबहार छन, जो प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्थानिय लोकदेवतासंग गाँसिएका हुन्छन्।
जस्तै- प्रत्येक तीन बर्षमा ज्ञात अज्ञात अपराधको प्रायश्चित स्वरुप बडूका चऔध मोहि(जग्गाधनी)का तर्फबाट कम्तिमा एकएक जनाले एक हल गोरु, डोको नाम्लो, देवताको कुडेलो(पोखल,अक्षता राख्ने तामाको भाँडो) र भोकर(बाद्य यन्त्र बिशेष) बोकेर गुठि क्षेत्र बाहिर “मौ” जाने परम्परा छ। स्मरणिय छ, श्षीकेदारको आल सिंगै राजगुठी हो र यसमा पहिले १४ वटा मोहि मात्र कायम गरिएका थिए। कम्तिमा दुइ रात यसरी गाऊँ बाहिर बसेपछि देवताका धामी यिनलाइ फर्काएर गाउँमा ल्याउछन्।
गुठियारको हैसियतमा रहेका बडू बाहुनसंगै आलका अन्य जातजातिको समेत पुजापर्बका सम्बन्धमा समष्टिगत कार्य बिभाजन छ। जस्तै-पैतोलाहरुले पुजारी बन्ने, बडूहरुले धामी र भण्डारी बन्ने, बोहराले मन्दिर क्षेत्रको सरसफाइ र पुजाआजाको प्रबन्ध मिलाउने, लोहारहरुले निर्माण कार्यमा सहयोग गर्ने र बाटो बनाउने, दमाइहरुले बाजा बजाउने, चन्द ठगुरीहरु मध्येका पातराठले जाँत लिएर आउने, कबज्यु राठले नया मन्दिर बनेमा छाना छाउने, जितुराठले मन्दिरको धुरि हाल्ने, दालराठले कालो खाम हाल्ने र कपर्तिले गाथ बाध्ने काम गर्ने आदि इत्यादि। सपष्ट काम तोकिएकोले यो बाहेक ठगुरीहरुले मन्दिर प्रबेश नपाउने चलन छ। यिनीहरुले यहाँको नदिको पानीमा खुट्टा समेत भिजाउनु हुदैन रे। तर्नकालागि ठुल्ठुला ढुंगा राखिएका हुन्छन।
हिंसाको अर्थमा रातो रंग प्राय: बर्जित छ। ध्वजा नेजाहरू सेता र पहेला मात्र राखिन्छन। जंगलमा शिकार खेल्नु, हतियार लैजानु मात्र होइन, ठुलो स्रमा बोल्नु, कराउनु र गीत गाउन समेत हुदैन भन्ने मान्यता छ।
बन जंगल प्रबेश गर्दा साइत हेरिन्छ, सिगो गाऊलाई खबर गरि सामुहिक रुपमै बनमा स्याउला पात बटुलिन्छ। आशौच बारेका र रजस्वला भएका बेला बनजंगल प्रबेश पुर्ण निषेध छ।
क्षेत्र भरि नै बृक्ष बिशेषलाई स्थानिय लोकदेवता बिशेषको प्रतीक मानिन्छ। जस्तै- निगलासैनी, मेलौली, रैण्यासैनी आदि। यस आलमा समेत बाँजलाइ असिमीकेदार, फलाँटलाइ केदार र खडिग (खरि)लाई मोटो बडबाबको प्रिय बृक्षको अर्थमा लिइन्छ। बडादशैलाइ नवरात्र भनिन्छ र नौ दिनसम्म पुजा चालु हुन्छ। तर मन्दिरमा सात दिनसम्म मात्रै पुजा चलाइन्छ। बाँकि दुइ दिन भगवतिको नाममा छोडिएका हुन भन्ने मान्यता छ। शिब शक्ति परम्पराको यो समन्वित स्वरुप हो। यस्ता कैयौ चलनका बारेमा अन्यत्र अन्य प्रसंगमा समेत उल्लेख भैसकेकोछ।
भेषभुषा र खानपान
संस्कृतिसंगै सम्बन्धित भए पनि यि बदलि रहने प्रतिमान हुन्। अचेल काने लाउने ढर्रा पुरै बदलिइसकेकोछ। सामान्यत: गोरस कुनै घरमा छुट हुदैन। शिष्टाचारको पहिलो सोधाइ नै गोरसका बारेमा हुन्छ। तरकारीको प्रचलन बिस्तारै बढदै गएकोछ। गोरस र रोटि यहाँका प्रमुख खाना हुन्। दालभातको प्रचलन बढदैछ। सुदूरपश्चिमका अन्य पक्वान्नहरू, लौन, पुरी,बटुक, खिर, माणा आदि समेत पकाइन्छन। मांसाहार बिरलै हुन्छ। भेषभुषा अन्यत्रभन्दा खास फरक छैन। महिलाहरुले घागरो र आङणो लाउने चलन लगभग हराइ सकेकोछ। आधुनिक पहिरनको प्रचलन बढदो छ।
लोक बाङमय र लोक संस्कृति
लोकब्यबहारमा चलेका प्रत्येक शब्दमा साहित्य हुन्छ। त्यसैले लोकसाहित्य र लोकबाङमयकालागि यो गाउँ नमुना बन्न सक्दछ। लोकमन्त्रदेखि लोकसंगीत सम्मको पुरै फाँटको अध्ययन अनुसन्धान हुन बाँकी छ। धामीहरुले देवता जाग्दा बोल्ने भाषामा प्रयुक्त हुने शब्दहरूको प्रतिकात्मक बिबेचना र अध्ययनले खस-आर्य संस्कृति-संयोजनको रहस्योदघाटन गर्न सक्दछन्। धामीहरु ठगुरीलाइ पगडिया, राजालाइ छत्रे, जंगललाइ काल्झाणि, अक्षतालाइ डाँसी, महिलाइ छिम्टि, रुपियालाइ खुटका भन्न गर्दछन। साबर मन्त्र र लोक मन्त्र समेतमा अचम्भको साम्यता छ। गुरु गोरखनाथको बाचा वा ईश्वरो बाचा भनेर मन्त्रोच्चारण गर्दै बायु परेको, जुका परेको, सर्पले टोकेको, बीख लागेको, डीढ(कुदृष्टि) लागेको दोषहरु निको पारिने प्रचलन यदाकदा देखिन्छ।
गौरा पर्बमा गाइने स्थानिय देवताहरुका जागरण गीत, राम-कृष्ण वा कौरब-पाण्डबका कथासंग सम्बन्धित पौराणिक गाथाहरु, स्थानीय पाइक पैकेलाका बीर गाथाहरुका साथै कृषि गीत, मंगल गीत, भैन, भअणा, फाग, सगुन, चाँचरी, ढुस्को आदि लोकसाहित्यका अनुपम भन्डार हुन्। यिनको बिबेचनाबाट कैयौ ग्रन्थ तयार हुन सक्दछन। यि गीत र गाथाहरुबाटै स्थानीय ईतिहास र संस्कृति खोज्न सकिन्छ। यहाँ प्रचलित रामकथाका सम्बन्धमा बेग्लै पुस्तक प्रकाशित भे सकेकोछ।
बन सम्पदा र जल सम्पदा
ग्वाल्लेक बनमा पाइने बनस्पति र बनौषधिका सम्बन्ध थुप्रै चर्चा भैसकेका छन्। यो प्राकृतिक जैबिक बिबिधताले भरीपुर्ण जंगलमा पाइने जडिबुटिको लेखा नै राख्नसकिएको छैन भने यसको उचित प्रयोग त अझ टाढाको कुरा हो।
सांख्यकीय दृष्टिले यहाँ ४०% जंगल र १५%चरन होला। मूल गाऊमा पानीको समस्या नभए पनि डाडातिरका बस्तिमा पानीको अभाव छ। निरन्तर बगिरहने बगाडी गाड, रौलाघाट र स्याडी गाडको पानीको पुर्ण सदुपयोग हुनसकेको छैन।
प्रकृतिले नै यो सानो गाऊमा प्राचिन अर्बाचिन संस्कृतिका अबशेषहरु, ईश्वर प्रदत्त भुभौतिक भण्डारहरु, जैविक सम्पदाहरु र जिबन्त परम्पराहरु अझै सुरक्षित राखि दिएकोछ। जाल, जमीन, जंगल, जनशक्ति र जाँगर ( पाँच ‘ज’ ) को छेलो खेलो रहेको यो गाऊँमा मूल सडकबाट एकडेढ घण्टा पैदल हिडेर सहजै पुग्न सकिन्छ। बिद्युत र संचार सुबिधा उपलब्ध छ। स्वप्नदर्शी बिचार र परीश्रमी हातको संयोग मिलेमा बिकाशका अनेक सम्भावना छन्। सम्मुनत सुरकालको सपना यथार्थमा परिणत हुने बिश्वासका साथ शिब संकल्पमा लागिरहने कर्मयोगीहरु सदैब बन्दनीय छन्।
  




हाम्रा देवस्थल- हाम्रा सांस्कृतिक सम्पदा (खण्ड-२)



खापरमाणौ, केदारको पुरानो स्थापना स्थल

हाम्रो गाऊँको दक्षिणपश्चिम ऐचेकाँणाको शिर्ष टाकुरामा रहेको यो पुरानो स्थापना स्थल पौराणिक महत्वको ठाउँ हो। यहाँबाट टाढाका अपि सैपाल हिम श्रृंखलाहरु,  नजिकको ग्वाल्लेक पर्वत, डडेल्धुरा सिमानाका गणेशधुरा तथा घनघस्स्या लेक र सिंगो सुरकाल गाऊँको दृश्य जति हेरे पनि नअघाउने खालको देखिन्छ। बोलचालको भाषामा यस स्थानलाई खापर माणौ भनिन्छ।
खापरेसंघ भएको लडाइमा केदारले घुँडा धस्दा पर्न गएका भनिएका दुइ बिशाल खाल्डाहरुले यहाँको सुन्दरतामा रहस्य र रोमांच थपेकोछ।  दायाँ घुँडाले परेको  बिशाल खाल्डोको बिचोबीच एउटा गुफा छ। भनिन्छ,यो गुफा सुरनैया (देवताहरुको नदि) को किनारसम्म पुग्दछ। गुफा भित्र कुनै बिशाल नदि बगेको आवाज सुनिन्छ। अहिले यो गुफा बन्द जस्तै छ। मानस खण्डमा उल्लेखित पाताल प्रबेश गर्ने तीनवटा गुफा (स्मर,सुमेरू र स्वधेय) मध्ये यो एउटा हो र कलियुगमा बन्द नै रहन्छ भन्ने मान्यता छ।
लोकगाथाहरुका अनुसार अठौति मल्ल र खप्परेको संयुक्त तान्त्रिक फौजसंग लडन स्थानिय देवताको संयुक्त सैन्य शक्ति यसै स्थलमा जम्मा बऐका थिए भनिन्छ। यहाँका दुईवटा बुङा(थुम्का)मध्ये एउटा असिमीकेदार र अर्को कैलपालको स्थापना स्थल मानिन्छ। यहाँ उत्खनन गर्दा अझै पुराना पुजा-पात्र भेट्टिन्छन्। पुरै श्रीकेदारको आल छर्लंगै देखिने यि थुम्काहरुमा उहिले ऋषिमुनीहरुका आश्रम थिए भन्ने बिश्वास गरिन्छ। बडू कूलका आदि गुरू अत्रीको आश्रम यसै स्थानमा भएको मानिन्छ। माता अनुसुया तथा आर्य कन्या अपाला र आत्रेयीहरुको साधना स्थल पनि यिनै उच्च समस्थली हुन्। यहाँ नयाँ अन्न चढाइन्छ र मूल पर्बमा पुजा लाग्दछ।
लाटो देवताको मन्दिर
कैलपाल थानको नजिकै स्थानिय शैलीको यो मन्दिर छ। अछुत खप्परे दैत्यलाई छोएको कारण यि देवताका धामी तल्लो जात मानिएको लुहार थरबाट मात्र हुने प्रचलन छ। यिनको बेग्लै पुजाआजा गरिन्छ। नबोल्ने भए पनि यि केदारका बलिया व्दारपाल मानिन्छन्। भुतप्रेत धपाउन यिनको आराधना गरिन्छ।
पितर बुङो
खाँण खेतको पुर्ब सिरानमा रहेको यो सानो थुम्को भरि बाँजका रुख छन। यि खका फेदिमा बडू बंशका बिभिन्न शाखाका पितरहरुको पुजा गरिन्छ। यसकालागि गंगातटबाट शिला ल्याएर पुजाआजा चलाउने प्रचलन छ। बोलचालको भाषामा यसरी पुजा गरिएका पितृहरुलाइ पिजास भनिन्छ। यथार्थमा यहाँ कुलका आदिपुरुष मुक्तात्माहरुको आव्हान आराधना गरिन्छ, पर्ब बिशेषमा सामुहिक पुजा लाग्दछ र भोजभतेर हुन्छ।
चौरा, कालो पाट र लिंगे खाँण

चौरा भन्ने स्थानमा गौरा पर्बमा भेला हुनका लागि गाऊको सार्बजनिक मैदान छ। यहाँको बिसाउनि चौतारो नजिकै मोटा बडबाबले ल्याएको भनिएको बिशाल कालो-पाट (श्याम शिला खण्ड) छ। नजिकै खाँण खेतको बिचोबीच गुप्त शिवलिंग छ भन्ने बिश्वास गरिन्छ। त्यसैले यसलाई लिंगे खाँण भनिन्छ। यो अति पबित्र मानिएको खेतमा प्रतेक बडूको एक मुठि भए पनि पुर्ख्यौली अंश हुनै पर्छ भन्ने मान्यता अद्यापि प्रचलनमा छ। बडू बंशका आदि पुर्खाले पहिलो पटक यसै खेतमा साइत हेरेर बाली लगाएका थिए। सर्बप्रथम माघ शुक्ल पंचमीमा फर्सी ( स्थानिय भाषामा भोजे) को बिउ रोपेको गरा बिशेषलाई अहिले पनि भुजने गडो भनिन्छ।  कुलो लाग्ने भए पनि यस खेतमा एकैपटक बर्खे पानिबाट एकैपटक रोपाइ गरिन्छ। सम्भबत: यहाँ पहिले खानी थियो। खानीमाथि जमेको माटोको कारण यो उब्जाउ खेतलाई खाँण भनिएको मानिन्छ। नजिकै फलामको खानी रहेको धाउखानी भनिने स्थान अचेल पनि छ।
भन्डार घरहरु
देउताको पुजाआजामा प्रयोग हुने देवसामग्री राख्न परंपरा देखि नै भन्डार र भन्डार घरहरुको ब्यबस्था छ। त्यसो त प्रत्येक घरमा औसेकेका( अभिषेक गरिएका) खासगरि तामाका भाडाकुडा हुन्छन नै। तै पनि बिशेष गरि असिमीकेदारको भन्डार घर पुजारा गाउँमा छ। केदार देवताको भन्डार घर गैरमा छ र पर्ब बिशेषमा सर सामान राख्न चौरामा समेत भन्डार घर बनाइएकोछ।
भन्तोलि थान

गाउँको पश्चिमोत्तरको यो डाँडो अहिले नांगो छ, तर यहाँ पहिले मानब बस्ति भएको अनुमान गरिन्छ। सौर्यमान अनुसार प्रतेक बर्ष चैत्र १२ वा १८ गते यस डाडामा मेला लाग्दछ। असिना, अतिबृष्टि वा अनाबृष्टि जस्ता दैबीप्रकोपबाट गाऊलाइ जोगाउन यहाँ रहेको पुरानो बाँजको रुखमा धामीले फलामको किला ठोक्ने चलन छ। किला जता बांगियो उतै अनिष्ट हुने अनुमान गरिन्छ। खासगरि असिना रोक्न यहाँ केहि अनुष्ठा गरिन्छन। यहाँबाट देखिने गाऊको एउटा डाडोला डालबान्ना भनिन्छ। स्थानिय बोलिमा यसको अर्थ असिना(डाल) बाधिने ठाउ हो। भन्तोलिमा राम्रोसंग पुजापाठ भए डालबान्ना भन्दा वर असिना आउदैन भनिन्छ। प्रकृति माथिको अपार आस्थानै ग्रामिण जीवनकाबिशेषता हुन।
दुरैमाण्डौ।बामनीमाणडौ।मष्टामाण्डौ

दुर्गास्थान उच्च मा बि को हाता भित्र नै दुरै देवताको मन्दिर छ। यसैलाइ प्रारम्भमा दुर्गास्थान नाम दिइ यो गा बि स लाई दुर्गास्थान भनिएको हो।दुरै देवता स्वयं असिमी केदारका गण मध्ये एउटा हुन भन्ने बिश्वास छ। अचेल नजिके शिबालय बनाइ शिवमुर्ति राखिएको छ।
ऐचेकाँणामा बामनीमाँणौ भनेर साध्वी बाहुनी आमाको पुजा गर्ने स्थान छ। सति अनुसुया, बिदुषि अपाला र आत्रेयीहरुको परंपरा जिवित रहेको प्रमाण यि स्थानहरु पनि हुन।
केदारको आलभन्दा बाहिर अचेल मष्टामाण्डौ भनिने जंगलमा उहिले मष्टाहरु बस्दथे भन्ने जनाख्यान छ। पछि असिमीकेदारले यिनीलाई धपाएका हुन रे। मष्टो परंपरालाई खस संस्कृति र नेपाली लोकधर्मको अभिन्न अंग मानिन्छ। यहाँबाट मष्टोको पलायनलाई नव प्रबेशी आर्यहरुको प्रभाव हो भन्न सकिन्छ।
गाइखोज। देवखोलि
गाइ र बाघको लडाई भएको मानिएको यो अग्लो स्थानको एउटा ढुंगामा अझै गाईका खोज( खुरका चिन्ह) छन। परि आउदायहाँको सुधो मानिने गाई पनि बाघसंग लडन सक्दछ भन्ने सन्देश यो स्थानले दिएकोछ। पश्चिमोतर कुनाको यो ठाऊँ दृश्यावलोकनकालगि अति उपयुक्त छ। गाईखोज नजिकैको देउखओलि मा ४०,५० जना अटाउने अजंगको गुफा छ, जो मनिषिहरुको साधना स्थल जस्तो लाग्दछ। यि स्थान पर्यटकीय स्थलका रुपमा बिकास गर्न सकिन्छन।
लाछमारे
सङौणकोटका अत्याचारी राजा खेमचन्दलाई चौरठ्ठे काजी(कठायत,बिष्ट, भण्डारी र ऐरी) तथा चार करिया(भाँण,पहरी,भूल र दमाइ)ले बिद्रोह गरि मारे पछी निजका छोरा(कसैले भाइ पनि भन्दछन) लछि चन्द भागेर यो स्थानमा आएका र यहि मारिएका हुन भन्ने जनोपकथनका आधारमा सुरकाल र ढणौनको सिमानामा पर्ने लाछमारे ऐतिहासिक ठाऊ हो।किम्बदन्ति अनुसार लछिचन्दको लाशलाई घोडामा राखि फर्काएर सङौणकोटमा खबर गरिएको थियो। यो काटमारपश्चात खेमछन्दकै राणि ताराका नाममा केहिदिन स्वराडको राज्य चलाइए पनि पछि जैतु चन्द राजा छानिएका थिए।
सुन्ने।भकुन्ने स्थान
मुलगाऊको आलभन्दा बाहिर उत्तर पुर्ब कुनामा बाटो वरीपरि यि दुइ भेरब गण स्थापित छन। बिबाह भे सकेकी गाउकी छोरीबेटीले पुत्केरो(पुत्र-कर) स्वरुप यि थानमा बोका काटनुपर्ने चलन छ। रात्रि बिशेषमा त्यो पनि सम्पुर्ण मासु सोहि स्थानमा खाइ सिध्याउने , घर नल्याउने सर्तमा बलि दिइन्छ। सम्भबत: यो आर्य इतर प्रचलनको अबशेष हो। आल भन्दा बाहिरका कुलगण्या कुन्जर पनि सहस्रलिंग कै बाहन मानिन्छन्।
अन्य देवस्थलहरु
गाऊका मुल निबासी बडूहरु बाहेक यस गाऊमा बस्ने बोहरार लुहारहरुले समेत पूर्णसमन्वयका साथ माथि उल्लेखित सबै देवी देवताको पुजा आराधना गर्दछन। बोहरा र लुहारहरुका समेत आआफ्नै पुर्खाका स्थापनास्थल छन। गाऊको पार्श्वमा रहेको समुच्च जंगललाइ नै देवस्थल मानिन्छ। यहाँ चढाइएका धातुका त्रिशुल, गाइ, ध्वजा नेजाहरु यत्रतत्र थुमथुम्कामा देख्न सकिन्छ।
थरौट डाडाका प्रस्तर प्रतिमाहरु
डोटी नरेश नागिमल्लले श्रीकेदारको मन्दिर लुट्नका निम्ति यस गाउँमा आउन तयारी गरेको सन्दर्भ यि प्रस्तर मुर्तिसंग जोडिएकोछ। नागिमल्लले घनघस्स्याबाट ग्वाल्लेकतिर नियाल्दा थरौटको पाखो भरि तमतयार पल्टन जस्ता देखिएका भनिएका यि लहरदार तिखा कालाढुंगाको श्रृंखलाले अझै पनि गाऊको आललाइ सुरक्षा दिइरहे जस्तो लाग्दछ। यस सम्बन्ध बिभिन्न लेखहरु प्रकाशित भै सकेकाछन।
पर्ब बिशेषमा यि डाडाहरुमा दमाहा बजेको सुनिन्छ भनिन्छ। यहाँका थुम् थूम्काहरुमा दमाहा आकारका ढुंगाहरु पनि देखिन्छन। थरौटकै केहि कत्युरकालीन मानबका ब्यक्तिगत प्रयोगका सामान भेटिन्छन। उच्च पाखा पखेरामा खेति योग्य गराहरु अझै देख्न सकिन्छ। यि कुना कन्दराहरुमा पनि कुनै कालखण्डमा मानब बस्ति थियो भन्न सकिन्छ। कल्किपुराणमा लगभग यस्तै कुनै भुगोलको सम्वाल भन्ने गाऊँमा भगवान कल्कीले अवतार लिने कुराको भबिष्यबाणि गरिएकोछ।
समुच्चा सुरकालगाऊँको भुगोललाई सांस्कृतिक भौगोलिक आधारमा ३ भागमाबाडन सकिन्छ। वारि सुरकाल, पारि सुरकाल र स्याडी सुरकाल यहाँकाखेत-खलिहान, थुम-थुम्का, रोडा-खोला, बुङा-कोटहरु कुनै न कुनै प्राचिन अर्बाचिन अर्थ राख्दछन। प्रत्येकको आआफनै बिशिष्ट अर्थ छ। बिस्तार भयले सबैको समाबेश  एउटै लेखमा सम्भब छैन। हाल बस्ति, खेत, चरन र जंगल गरि चार किसिमले भु उपयोग भएकोछ।

हाम्रा देवस्थल- हाम्रा सांस्कृतिक सम्पदा (खण्ड-१)








पृष्ठभुमी
हाम्रो सनातन मान्यतामा केदारलाई शिबजीका अनेक स्वरुप मध्येको एउटा मानिन्छ। मन्दाकिनी मुहानको केदार हिमालस्थित बद्रीकेदार यिनी मध्ये प्रख्यात छन्। मन्दाकिनीदेखि बाग्मतिसम्मको भुभागलाई केदार क्षेत्र भनिन्छ। नेपालको सुदूर पश्चिमांचल र भारतको उत्तरांचल कुमाऊभरि बद्री केदार समेत ग्वाल्लेककेदार, रौलकेदार, थलकेदार, धजकेदार, छिपलाकेदार, थागिलकेदार, खडदेउकेदार जस्ता कैयौ केदारस्थल स्थापित छन्।
सुदूर पश्चिमांचलमै देउताको बास मानिने खप्तड(खेचराद्री पर्बत)मा केदार पाटनको नामले बेग्लै पाटन छ। खप्तडको सर्बोच्च थुम्कोमा सहश्रलिंग केदार छन र केदारशिला मानिने बिशाल चट्टान छ। सुदुरपश्चिम भरि नै केदार शैलीमा बनेका कैयौ मन्दिर छन र स्थानिय लोकभाकाका देवगाथाहरू केदार रागमा नै गाइन्छन्। यसै श्रृंखला अन्तरगत प्राचिनकालमा बायु पर्वत वरपर कैयौ ऋषिमुनीहरुका आश्रम थिए होलान। बायु पर्वत अर्थात ग्वाल्लेकधुरामा सहज पहुँच नहुनाले आश्रमबासीहरुलाई पायक पर्ने गरी केदारशिला स्थापना गरि पुजाआजा चलाइएको होला। यसै भावभुमीमा हाम्रो बर्णित गाउँ सुरकालमा स्थापित केहि देवस्थलहरु यो आलेखमा समेटने प्रयास गरिएकोछ।
असिमी केदारको मन्दिर
किम्बदन्तिहरुका आधारमा असिमीकेदार कत्युर गढबाट तोलिको जंगलमा आएका थिए। त्यहाँको लेकमा जुकालागेर रक्ताम्य एउटी भक्तिनी महिलालाइ रजस्वला (नछुने) भएको ठानी पुजारीले मन्दिर प्रबेश गर्न दिएनछ। कालान्तरमा तिनै भक्तिनीको सरापले तेलेको लेकबाट ऐचेकाडाको लेकमा असिमीकेदार सरेको मानिन्छ। यसै कारण अहिले पनि तेले लेकको सो स्थानमा जुका हुदैन भन्छन। ऐचेकाडाको डाडामा बस्दा यस क्षेत्रका देबीदेवता र कुमाउबाट आएका अठौतिमल्ल खापरेको बिचमा लडाई भयो रे। नदि किनार दोभानमा भए बगाइ दिन्थे भनेर धम्की दिएकाले ति दैत्यको शेखि झार्न हालको स्थानमा असिमी केदार सरेको हुन भन्ने मान्यता छ।
यो लडाईका बारेमा यसक्षेत्रमै थुप्रै लोकगाथा प्रचलित छन्। भनिन्छ, नन्दादेवीले रोक्ने प्रयास गर्दा गर्दै पनि कुमायुको कत्युर गढबाट आएको युद्धिन्मादि अठौतिमल्ल र खापरेको संयुक्त फौज गंगोलिहाट, गोरंगा र चौपाखे हुदै महाकाली तरेर बैतडीको ईश्वरीगाडसम्म आइ पुगे पछि यस क्षेत्रका सबै देबीदेउताहरु सरसल्लाह गर्न असिमी केदारको पुरानो स्थापना स्थल खापरमाणौमा जम्मा भएका थिए रे। यहाँ भएको सल्लाह बमोजिम थागिल देवताले बनानी क्षेत्र, सिउनाथले हल्दु क्षेत्र, भागेश्वरले मछाइन क्षेत्र, रौलेश्वरले दोगडा क्षेत्र र कैलपालले कालीदेखि तोलीसम्मका मशानबासी गणहरु जम्मा गरी लडाइमा पुगेका थिए।
यहाँका धार्मिक गीतहरुमा असिमीकेदारलाइ ससालिंग ( सम्भवत: सहश्रलिंग) र असीग्राम भनिन्छ। त्यसो त यि सबै एउटै श्रृखलाका देवता हुन्। यिनको समान पुजा पध्दति र अवस्थिति छ। असिमी केदारलाई बर्षाको देवता पनि भनिन्छ। ग्वाल्लेकको आलका बिभिन्न गाउबाट पानी माग्ने भनेर जात्रा ल्याउने चलन अझै कायम छ। मन्दिर क्षेत्रको नदि किनारमा ब्रतबन्ध गर्ने र पर्ब स्नान गर्ने चलन बढदै गएकोछ। बडादशैको नवरात्र, भाद्र र माघको शुक्ल पंचमीदेखि अष्टमी सम्म ठुला पर्बको रुपमा बिशेष पुजाआजा हुन्छ। न्वागी( नयाँ अन्न) चढाउने कार्तिक र साउन शुक्लपक्ष तथा जेठको दशहरा पर्बमा समेत बिशेष पुजाआजा गरिन्छ। पुजा आजाको लागि गुठीको ब्यबस्था छ र प्रतेक सक्रान्ति, औसी र पुर्णिमा समेत पुजा लाग्दछ।
ग्वाल्क धुराबाट निक्लने गोदा गाड(गोदावरी) र दक्षिणवर्ति थरौटबाट निक्लने धारीगाड (धराबति) को दोभानमा असिमी केदारको मन्दिर अवस्थित छ । यो मन्दिर उत्तराखन्डकै बास्तुकलाको केदार शैलीमा निर्मित छ। नदिहरुमा तर्नकालगि फटकेतरको ब्यबस्था छ र वरिपरि मनोरम धार्मिक बन छ। मन्दिर पर्खालले घेरिएकोछ। नदि तटमा स्नानधाट बनाइएकाछन।
मन्दिरमा तीन खन्ड छन। सबभन्दा बाहिरको खुलाखण्डलाइ नालिउर भनिन्छ। यहा खासगरी भजन किर्तन टोलि र साधु मन्डली हुन्छन। दोस्रो खण्डमा हवन कुण्ड छ। बिभिन्न राठले चढाएका चार खाममा मन्दिरको ढाँचा टेकाइएकोछ। यसलाई चौखाम भनिन्छ र यी खाम बिभिन्न देवताका नाममा समर्पित छन। चौखामभन्दा अगाडी पुजारी भन्दा अरुलाइ निषेध गरिएकोछ। बडू बाहेकका अन्य थरघरहरुले बस्ने ठाउँ निश्चित गरिएकोछ। बिशेष राठबाहेक ठगुरीहरु भित्र आउन पाउदैनन।
तेस्रो खण्ड गब्युर (गर्भगृह)मा पुजारीले मात्र प्रबेश गर्न पाउछन। त्यहा प्राकृतिक शिलाको रुपमा असिमीको पुजा बैदिक बिधिपुर्बक गरिन्छ।
यो मन्दिर यस क्षेत्रका बिभिन्न जाति उपजातिहरुको संगमस्थल समेत हो। असिमीका धामीले अहिले पनि आफुलाई सुर्जको घाम, दुबलाको देउ या कालझाडीको घुग्गु भनेर उदाहरण दिने गर्दछन। यसको अर्थ हुन्छ,सर्बत्रबराबर पहुँच भएको, दुबला(गरीब)हरुको देवता र कालो जंगलमा निर्व्दन्द घुम्न सक्ने र अध्यारोमा समेत देख्नसकने घुग्गु लाटोसेरो जस्तो। यो उक्ति वास्तबमा मननीय छ। 
http://bibidha.blogspot.com/2011/06/blog-post_14.html यस लिकमा पनि यहाँको धार्मिक पर्टनका बारेमा पढन सकिन्छ।
श्रीकेदारको मन्दिर
यो पुरानो प्राकृत मन्दिर मुख्य गाउँको पश्चिमोत्तर भन्ज्यांगमा छ। असिमीकेदार लाई ग्वाल्लेक केदारको आलभरि मानिन्छ भने केदारलाई सुरकाल गाऊँको सेरोफेरोमा मात्र सिमित गरिएकोछ। यहाँ खासगरी ईन्द्रजात्रा अनन्त चतुर्दशी ( भाद्र शुक्ल चतुर्दशी)का दिन बिशेष पुजा हुन्छ। यसबाहेक नवरात्रको पञ्चमी एबं  जेठ, सावन र कार्तिकमा न्वागी चढाउदा पनि पुजा लाग्दछ।
यहाँ स्थानिय भाषामा फलाँट भनिने रुखको जरामा ज्योतिर्लिग रहेको मानिन्छ। एक जना पुजारी मात्रै बस्न मिल्ने सानो मन्दिर छ। यो मन्दिरमा ढुंगाकै छानो र ढुंगाकै ढोका हाल्नु पर्ने र पर्खाल समेत नराखनु पर्ने मान्यता छ। यहाँ सुन जनै, चाँदिका फूल, तामाका गाई, त्रीशुल र घण्टहरु चढाइन्छन्। पहिला यस गाऊँका मट्टे नै केदारका पुजारी थिए भन्ने किम्बदन्ति प्रचलित छ। हाल असिमीकेदारका पुजारी नै यहाँ पुजा चलाऊदछन्।
यि एकान्तबासी केदारको समेत आफनै महिमा छ। सुरकाल र ढणौन गाउको सिमानामा समेत बुढाकेदार भनेर पुरानो केदार स्थापना स्थल छ। श्री र सहकालका लागि केदार भाक्ने प्रचलन छ। केदारका धामीहरु एक अर्कालाई भैया भनेर बोलाउछन । यसै सम्बोधनबाट समेत यिनको बिशेष सम्बन्ध थाहा हुन्छ। यहाँ दुधले स्नान गराउने बिशेषपुजा हुन्छ। यहाँको अन्य पुजा बिधि र ब्यबस्थापन असिमीकेदारकै जस्तो छ।
कैलपाल मन्दिर
कैलपाल देवताको मन्दिर पुजरागाउँको शिर्षमा मुलबाटो नजिकै छ। असिमीकेदारको ठुलो पर्ब मानिने माघ र भाद्रको दशमी तथा बिजयादशमीमा यहाँ बिशेष पुजा हुन्छ। यहाँ नयाँ अन्नको न्वागी पनि चढाइन्छ। स्थानीय पैतोला (पाण्डे) थरका ब्यक्तिहरु मात्र यि देवताका धामी हुन्छन्। चल्तीको मूलबाटो नजिकै पर्ने हुँदा मन्दिर जिर्णोद्दार गरिएकोछ। यहाँ पुराना धर्मशालाहरु पनि छन।
कैलपाललाई असिमीकेदारको गणपति मानिन्छ। नौ मन लुवाको गुर्जु(फलामको गदा) खेलाउने भनेर यहाँको लोकगाथामा बीर नायकको रुपमा यिनको पराक्रम बखान गरिएकोछ। असिमीकेदारको पुजा भएकै पर्बमा यिनको पनि स्या: (सेवा) चढाइन्छ।
मट्टे मोटा बडबाबको मन्दिर
बडू बंशका पुर्खाहरु यो गाऊमा स्थापित हुनुभन्दा अगाडीका भुमिपति मानिएका मट्टेलाई माटोका मालिक भनेर पुजा गरिन्छ। यिनी भौतिकरुपमा ठुलो जिउडाल भएका बलबान ब्यक्ति थिए रे। त्यसैले यिनलाइ अझै नि मोटा बडबाब भनिन्छ। शाकाहारी सदाचारी भएकाले असिमी केदारकै पुजाको अवसरमा यिनको पनि पुजा हुन्छ। असिमीकेदारकै मूलमन्दिरदेखि आधा मील नजिक मध्य खेतमा सानो स्थापना स्थल छ। यिनका जेठा छोरा साना मट्टेको भने तन्त्रोक्त बिधिपुर्बक बली चढनेहुँदा गाउँभन्दा अलिबाहिर उत्तर पाखोको चिमिर्खा भन्ने स्थानमा स्थापना गरिएकोछ। यो आल भरिनै बलि चढने भनेको यो नै एक मात्र स्थान हो। यि मोटा बडबाबहरू ततकालिन प्रतापी र सूर पुरुष हुनु पर्दछ। यिनका सन्तान सबै मारिए या अन्यत्र बसाइ सराइ गरे, यो अनुसन्धनेय बिषय हो। यिनीहरु बार भाई भएको बिश्वास गरिन्छ। बुढा मट्टेले बीस पुलासोत्तरको भारीसंगै खुट्टाले खेलाएर ल्याएको कालो पाट( कालो स्लेट ढुंगा) अहिले पनि यसै नामले सुरकालको चौरा चौतारोमा राखिएकोछ। नवरात्रीको पञ्चमीमा बुढा मट्टेको बिशेष पुजा हुन्छ। ३,३ बर्षमा बडूहरुले यिनको जागर लगाउनु पर्ने प्रचलन छ। यिनलाइ चौरा नजिकै कातहालेर मारिएको थियो भनिन्छ। जागरण गीत गाउदा यिनलाइ मार्न प्रयोग भएको अझै सुरक्षित तरवार काँप्ने गर्दछ रे। यिनका नाबालक छोरालाइ भने ब्रह्महत्याको पाप नलागोस भनेर तन्त्र शक्तिद्वारा बाघ बोलाएर मार्न लगाइएको थियो रे। जे होस युद्धको आफनै नीति र नियति छ। तर युद्दमा हार्नेहरुलाई समेत सम्मान गरिएको बिशिष्ट परम्परा यो गाऊँमा अझै प्रचलित छ।