Friday, May 17, 2013

हाम्रा देवस्थल- हाम्रा सांस्कृतिक सम्पदा (खण्ड-२)



खापरमाणौ, केदारको पुरानो स्थापना स्थल

हाम्रो गाऊँको दक्षिणपश्चिम ऐचेकाँणाको शिर्ष टाकुरामा रहेको यो पुरानो स्थापना स्थल पौराणिक महत्वको ठाउँ हो। यहाँबाट टाढाका अपि सैपाल हिम श्रृंखलाहरु,  नजिकको ग्वाल्लेक पर्वत, डडेल्धुरा सिमानाका गणेशधुरा तथा घनघस्स्या लेक र सिंगो सुरकाल गाऊँको दृश्य जति हेरे पनि नअघाउने खालको देखिन्छ। बोलचालको भाषामा यस स्थानलाई खापर माणौ भनिन्छ।
खापरेसंघ भएको लडाइमा केदारले घुँडा धस्दा पर्न गएका भनिएका दुइ बिशाल खाल्डाहरुले यहाँको सुन्दरतामा रहस्य र रोमांच थपेकोछ।  दायाँ घुँडाले परेको  बिशाल खाल्डोको बिचोबीच एउटा गुफा छ। भनिन्छ,यो गुफा सुरनैया (देवताहरुको नदि) को किनारसम्म पुग्दछ। गुफा भित्र कुनै बिशाल नदि बगेको आवाज सुनिन्छ। अहिले यो गुफा बन्द जस्तै छ। मानस खण्डमा उल्लेखित पाताल प्रबेश गर्ने तीनवटा गुफा (स्मर,सुमेरू र स्वधेय) मध्ये यो एउटा हो र कलियुगमा बन्द नै रहन्छ भन्ने मान्यता छ।
लोकगाथाहरुका अनुसार अठौति मल्ल र खप्परेको संयुक्त तान्त्रिक फौजसंग लडन स्थानिय देवताको संयुक्त सैन्य शक्ति यसै स्थलमा जम्मा बऐका थिए भनिन्छ। यहाँका दुईवटा बुङा(थुम्का)मध्ये एउटा असिमीकेदार र अर्को कैलपालको स्थापना स्थल मानिन्छ। यहाँ उत्खनन गर्दा अझै पुराना पुजा-पात्र भेट्टिन्छन्। पुरै श्रीकेदारको आल छर्लंगै देखिने यि थुम्काहरुमा उहिले ऋषिमुनीहरुका आश्रम थिए भन्ने बिश्वास गरिन्छ। बडू कूलका आदि गुरू अत्रीको आश्रम यसै स्थानमा भएको मानिन्छ। माता अनुसुया तथा आर्य कन्या अपाला र आत्रेयीहरुको साधना स्थल पनि यिनै उच्च समस्थली हुन्। यहाँ नयाँ अन्न चढाइन्छ र मूल पर्बमा पुजा लाग्दछ।
लाटो देवताको मन्दिर
कैलपाल थानको नजिकै स्थानिय शैलीको यो मन्दिर छ। अछुत खप्परे दैत्यलाई छोएको कारण यि देवताका धामी तल्लो जात मानिएको लुहार थरबाट मात्र हुने प्रचलन छ। यिनको बेग्लै पुजाआजा गरिन्छ। नबोल्ने भए पनि यि केदारका बलिया व्दारपाल मानिन्छन्। भुतप्रेत धपाउन यिनको आराधना गरिन्छ।
पितर बुङो
खाँण खेतको पुर्ब सिरानमा रहेको यो सानो थुम्को भरि बाँजका रुख छन। यि खका फेदिमा बडू बंशका बिभिन्न शाखाका पितरहरुको पुजा गरिन्छ। यसकालागि गंगातटबाट शिला ल्याएर पुजाआजा चलाउने प्रचलन छ। बोलचालको भाषामा यसरी पुजा गरिएका पितृहरुलाइ पिजास भनिन्छ। यथार्थमा यहाँ कुलका आदिपुरुष मुक्तात्माहरुको आव्हान आराधना गरिन्छ, पर्ब बिशेषमा सामुहिक पुजा लाग्दछ र भोजभतेर हुन्छ।
चौरा, कालो पाट र लिंगे खाँण

चौरा भन्ने स्थानमा गौरा पर्बमा भेला हुनका लागि गाऊको सार्बजनिक मैदान छ। यहाँको बिसाउनि चौतारो नजिकै मोटा बडबाबले ल्याएको भनिएको बिशाल कालो-पाट (श्याम शिला खण्ड) छ। नजिकै खाँण खेतको बिचोबीच गुप्त शिवलिंग छ भन्ने बिश्वास गरिन्छ। त्यसैले यसलाई लिंगे खाँण भनिन्छ। यो अति पबित्र मानिएको खेतमा प्रतेक बडूको एक मुठि भए पनि पुर्ख्यौली अंश हुनै पर्छ भन्ने मान्यता अद्यापि प्रचलनमा छ। बडू बंशका आदि पुर्खाले पहिलो पटक यसै खेतमा साइत हेरेर बाली लगाएका थिए। सर्बप्रथम माघ शुक्ल पंचमीमा फर्सी ( स्थानिय भाषामा भोजे) को बिउ रोपेको गरा बिशेषलाई अहिले पनि भुजने गडो भनिन्छ।  कुलो लाग्ने भए पनि यस खेतमा एकैपटक बर्खे पानिबाट एकैपटक रोपाइ गरिन्छ। सम्भबत: यहाँ पहिले खानी थियो। खानीमाथि जमेको माटोको कारण यो उब्जाउ खेतलाई खाँण भनिएको मानिन्छ। नजिकै फलामको खानी रहेको धाउखानी भनिने स्थान अचेल पनि छ।
भन्डार घरहरु
देउताको पुजाआजामा प्रयोग हुने देवसामग्री राख्न परंपरा देखि नै भन्डार र भन्डार घरहरुको ब्यबस्था छ। त्यसो त प्रत्येक घरमा औसेकेका( अभिषेक गरिएका) खासगरि तामाका भाडाकुडा हुन्छन नै। तै पनि बिशेष गरि असिमीकेदारको भन्डार घर पुजारा गाउँमा छ। केदार देवताको भन्डार घर गैरमा छ र पर्ब बिशेषमा सर सामान राख्न चौरामा समेत भन्डार घर बनाइएकोछ।
भन्तोलि थान

गाउँको पश्चिमोत्तरको यो डाँडो अहिले नांगो छ, तर यहाँ पहिले मानब बस्ति भएको अनुमान गरिन्छ। सौर्यमान अनुसार प्रतेक बर्ष चैत्र १२ वा १८ गते यस डाडामा मेला लाग्दछ। असिना, अतिबृष्टि वा अनाबृष्टि जस्ता दैबीप्रकोपबाट गाऊलाइ जोगाउन यहाँ रहेको पुरानो बाँजको रुखमा धामीले फलामको किला ठोक्ने चलन छ। किला जता बांगियो उतै अनिष्ट हुने अनुमान गरिन्छ। खासगरि असिना रोक्न यहाँ केहि अनुष्ठा गरिन्छन। यहाँबाट देखिने गाऊको एउटा डाडोला डालबान्ना भनिन्छ। स्थानिय बोलिमा यसको अर्थ असिना(डाल) बाधिने ठाउ हो। भन्तोलिमा राम्रोसंग पुजापाठ भए डालबान्ना भन्दा वर असिना आउदैन भनिन्छ। प्रकृति माथिको अपार आस्थानै ग्रामिण जीवनकाबिशेषता हुन।
दुरैमाण्डौ।बामनीमाणडौ।मष्टामाण्डौ

दुर्गास्थान उच्च मा बि को हाता भित्र नै दुरै देवताको मन्दिर छ। यसैलाइ प्रारम्भमा दुर्गास्थान नाम दिइ यो गा बि स लाई दुर्गास्थान भनिएको हो।दुरै देवता स्वयं असिमी केदारका गण मध्ये एउटा हुन भन्ने बिश्वास छ। अचेल नजिके शिबालय बनाइ शिवमुर्ति राखिएको छ।
ऐचेकाँणामा बामनीमाँणौ भनेर साध्वी बाहुनी आमाको पुजा गर्ने स्थान छ। सति अनुसुया, बिदुषि अपाला र आत्रेयीहरुको परंपरा जिवित रहेको प्रमाण यि स्थानहरु पनि हुन।
केदारको आलभन्दा बाहिर अचेल मष्टामाण्डौ भनिने जंगलमा उहिले मष्टाहरु बस्दथे भन्ने जनाख्यान छ। पछि असिमीकेदारले यिनीलाई धपाएका हुन रे। मष्टो परंपरालाई खस संस्कृति र नेपाली लोकधर्मको अभिन्न अंग मानिन्छ। यहाँबाट मष्टोको पलायनलाई नव प्रबेशी आर्यहरुको प्रभाव हो भन्न सकिन्छ।
गाइखोज। देवखोलि
गाइ र बाघको लडाई भएको मानिएको यो अग्लो स्थानको एउटा ढुंगामा अझै गाईका खोज( खुरका चिन्ह) छन। परि आउदायहाँको सुधो मानिने गाई पनि बाघसंग लडन सक्दछ भन्ने सन्देश यो स्थानले दिएकोछ। पश्चिमोतर कुनाको यो ठाऊँ दृश्यावलोकनकालगि अति उपयुक्त छ। गाईखोज नजिकैको देउखओलि मा ४०,५० जना अटाउने अजंगको गुफा छ, जो मनिषिहरुको साधना स्थल जस्तो लाग्दछ। यि स्थान पर्यटकीय स्थलका रुपमा बिकास गर्न सकिन्छन।
लाछमारे
सङौणकोटका अत्याचारी राजा खेमचन्दलाई चौरठ्ठे काजी(कठायत,बिष्ट, भण्डारी र ऐरी) तथा चार करिया(भाँण,पहरी,भूल र दमाइ)ले बिद्रोह गरि मारे पछी निजका छोरा(कसैले भाइ पनि भन्दछन) लछि चन्द भागेर यो स्थानमा आएका र यहि मारिएका हुन भन्ने जनोपकथनका आधारमा सुरकाल र ढणौनको सिमानामा पर्ने लाछमारे ऐतिहासिक ठाऊ हो।किम्बदन्ति अनुसार लछिचन्दको लाशलाई घोडामा राखि फर्काएर सङौणकोटमा खबर गरिएको थियो। यो काटमारपश्चात खेमछन्दकै राणि ताराका नाममा केहिदिन स्वराडको राज्य चलाइए पनि पछि जैतु चन्द राजा छानिएका थिए।
सुन्ने।भकुन्ने स्थान
मुलगाऊको आलभन्दा बाहिर उत्तर पुर्ब कुनामा बाटो वरीपरि यि दुइ भेरब गण स्थापित छन। बिबाह भे सकेकी गाउकी छोरीबेटीले पुत्केरो(पुत्र-कर) स्वरुप यि थानमा बोका काटनुपर्ने चलन छ। रात्रि बिशेषमा त्यो पनि सम्पुर्ण मासु सोहि स्थानमा खाइ सिध्याउने , घर नल्याउने सर्तमा बलि दिइन्छ। सम्भबत: यो आर्य इतर प्रचलनको अबशेष हो। आल भन्दा बाहिरका कुलगण्या कुन्जर पनि सहस्रलिंग कै बाहन मानिन्छन्।
अन्य देवस्थलहरु
गाऊका मुल निबासी बडूहरु बाहेक यस गाऊमा बस्ने बोहरार लुहारहरुले समेत पूर्णसमन्वयका साथ माथि उल्लेखित सबै देवी देवताको पुजा आराधना गर्दछन। बोहरा र लुहारहरुका समेत आआफ्नै पुर्खाका स्थापनास्थल छन। गाऊको पार्श्वमा रहेको समुच्च जंगललाइ नै देवस्थल मानिन्छ। यहाँ चढाइएका धातुका त्रिशुल, गाइ, ध्वजा नेजाहरु यत्रतत्र थुमथुम्कामा देख्न सकिन्छ।
थरौट डाडाका प्रस्तर प्रतिमाहरु
डोटी नरेश नागिमल्लले श्रीकेदारको मन्दिर लुट्नका निम्ति यस गाउँमा आउन तयारी गरेको सन्दर्भ यि प्रस्तर मुर्तिसंग जोडिएकोछ। नागिमल्लले घनघस्स्याबाट ग्वाल्लेकतिर नियाल्दा थरौटको पाखो भरि तमतयार पल्टन जस्ता देखिएका भनिएका यि लहरदार तिखा कालाढुंगाको श्रृंखलाले अझै पनि गाऊको आललाइ सुरक्षा दिइरहे जस्तो लाग्दछ। यस सम्बन्ध बिभिन्न लेखहरु प्रकाशित भै सकेकाछन।
पर्ब बिशेषमा यि डाडाहरुमा दमाहा बजेको सुनिन्छ भनिन्छ। यहाँका थुम् थूम्काहरुमा दमाहा आकारका ढुंगाहरु पनि देखिन्छन। थरौटकै केहि कत्युरकालीन मानबका ब्यक्तिगत प्रयोगका सामान भेटिन्छन। उच्च पाखा पखेरामा खेति योग्य गराहरु अझै देख्न सकिन्छ। यि कुना कन्दराहरुमा पनि कुनै कालखण्डमा मानब बस्ति थियो भन्न सकिन्छ। कल्किपुराणमा लगभग यस्तै कुनै भुगोलको सम्वाल भन्ने गाऊँमा भगवान कल्कीले अवतार लिने कुराको भबिष्यबाणि गरिएकोछ।
समुच्चा सुरकालगाऊँको भुगोललाई सांस्कृतिक भौगोलिक आधारमा ३ भागमाबाडन सकिन्छ। वारि सुरकाल, पारि सुरकाल र स्याडी सुरकाल यहाँकाखेत-खलिहान, थुम-थुम्का, रोडा-खोला, बुङा-कोटहरु कुनै न कुनै प्राचिन अर्बाचिन अर्थ राख्दछन। प्रत्येकको आआफनै बिशिष्ट अर्थ छ। बिस्तार भयले सबैको समाबेश  एउटै लेखमा सम्भब छैन। हाल बस्ति, खेत, चरन र जंगल गरि चार किसिमले भु उपयोग भएकोछ।

No comments:

Post a Comment