Monday, April 5, 2010

ग्रामिण विकाश,गाजेमाजे चाहना र गोर्ख्यौल


विकासबारेको भ्रम:एउटा बिडम्बना
सुदूर गाउँहरुमा बिकासका चर्का बहस अहिले पनि चल्दैछन् । तुकताल नमिलेका बिकासका नाराहरुमा सिधा साधा गाउलेहरुलाइ अलमल्याउने नेपालको केन्द्रिकृत राजनीतिको पाखण्डी संस्कारमा अहिलेसम्म कुनै क्रमभंगता आएको देखिएन र बाहिरबाट ल्याएर मात्र गाउको बिकास हुन्छ भन्ने भ्रम पुर्बवत पस्किने काम हुदैछ। बिकास नामको यो शब्द कसैका लागी सिक्का भएको छ, कसैकालागि राजनैतिक गोटि भएको छ भने कसैका लागि प्राज्ञिक बादबिबादमा आफुलाइ अब्बल देखाउने माध्यम। तर बुझ्नु पर्ने कुरा के हो भने गाउको बिकास राजधानीबाट हुनै सक्दैन। गाउको बिकास गाउको समस्या हो यो समस्याको समाधान गाउमै खोजिनु पर्दछ.। अहिलेसम्म बिकासका निम्ति काठमान्डौलाइ केन्द्र बनाइएकोले नै गाउहरु सुदुर-दुर्गम भएका हुन।
हाम्रा नाइकेहरुले गाउ र गरिबीका निम्ति दोहरो मापदण्ड बनाएकाछन। मोफसललाइ कथित राजधानीको खाने खेल्ने चौर या आन्तरिक उपनिबेश मानिइएकोछ। कहिले गाउलेहरु गरिब छन,केहि जान्दैनन् यिनलाइ सिकाउनु पर्छ भनिन्छ। कहिले ग्रामिण बासिन्दा नै गाउको बिकासका लागी निरपेक्ष देखिन्छन ,केन्द्रबाट खटाइएका बिकासे कार्यकर्ताबाट थुप्रै कुरा बुझ्ने कोशिश नै गर्दैन भनेर घोचपेचका साथ निर्देशित गरिन्छ। यिनै गाजेमाजे चाहनामा हाम्रो बिकास अलमलिएकोछ।हामी भ्रमित हुन गएकाछौ। केन्द्रमा बस्ने महारथीहरुलाइ गाउको बिकासको नारा देखाउने दाँत मात्र भएकोछ।
विकासको खेति र वास्तविकता
के वास्तबमा गाउलेहरु बिकासकालागी इच्छुक नै छैनन त? बिकासको तिब्र आन्तरिक इच्छा हुनेहरुले यो कुरा हृदय देखिनै बुझ्नु पर्दछ। निसन्देह रोगीको ईच्छा बिरुद्ध ऊपचार हुन सक्दैन। सर्बप्रथम बिकासप्रति ग्रामिण बासिन्दाहरुको दृष्टिकोण सपष्ट हुनु जरूरि छ किनकि अहिले बिश्वग्रामको जमाना हो र दुनिया दृष्टिकोणबाट चलिरहेकोछ।
अहिलेसम्म अर्काको परिभाषामा अर्थ्याइएको जिबन, अर्काकै अबधारणाबाट मुल्यांकन गरिएको हैसियत र अर्काले नै लेखि दिएको इतिहासको दृष्टिकोणबाट गाउलेहरुले आफुलाइ बुझेका थिए। अरुले अशिक्षित गरिब मान्छे भनिदिएकै कारणबाट यिनिहरु ब्यर्थेमा अहिले सम्म लल्याकलुलुक भएका थिए। पिता पुर्खाको प्रतापि इतिहासलाइ ओझेलमा राखिएको पत्तै नपाइ ब्यर्थेमा टपरे हिसाब गरेर खाने खेल्ने ऊमेरमै बाजे बनेर चाउरिएकाथिए।
अझै सुदुर गाउहरुमा धेरै जमिन भएमा धनी भइन्छ भन्ने परम्परागत सोच कायमै छ। धेरै बस्तुभाउ मात्र पालेर गाउलेहरु आफनो दुख आफै बढाइ रहेकाछन। थोरै होस,राम्रो होस भन्ने भाबना आएकै छैन। बिकासको आधुनिक अबधारणाबाट गाउ अझै टाढा छ। अरुसंग दाँजेर गरिब भनि दिएमा सहयोगकोलागी बिन्तिपत्र हालि हाल्दछन तर गरिबी हटाउन परिश्रम गर्नु पर्छ भनेमा हेपेको ठान्दछन। माछा मार्न सिकाउनेलाइ भन्दा एक टुक्रा पकाएको मासु पस्कनेलाइ आफन्त मान्ने हाम्रा गाउले दाजु भाइ वास्तबमा के हुन? यसबारेमा समेत आआफ्ना दृष्टिकोण हुन सक्दछन।
दृष्टिकोण थरिथरिका
पुराना संस्कार र पुराना मान्यताहरु धमाधम भत्किरहेकाले एकथरि बर्तमान समयलाइ पतनको पराकाष्ठामा पुगेको घोर कलियुग भन्न सक्दछन त्यस्तै, नुन किन्न पनि अब टाढा टनकपुर नै जानु पर्दैन,औषधि देखनै नपाइ प्वाक्क परेर मर्नु पर्ने स्थिति छैन। महिनौ पछि आएको आफन्तका चिठ्ठीहरु पढिदिने जानकार मानिस अब खोजीरहनु पर्दैन। सबै गाउमा स्कुल छन र फोन सुबिधा पनि पहुँचमा छ। हामी जानि नजानिकन आधुनिक चमत्कारहरुको उपयोग र उपभोग गरिरहेकाछौ। त्यसैले अचेल साह्रै राम्रो समय मान्नेहरु पनि थुप्रै होलान। यसरि मानिसहरु आआफनै ब्यक्तिगत सोचका आधारमा बनेका दृष्टिकोणका भरमा बँचिरहेका हुन्छन।
एकछिन यसै प्रसंगमा घोत्लिऔ। दर्केको पानिले आकाश पखाले पछिको उज्यालो जुनमा हिडने यात्रिको दुइवटै दृष्टिकोण आऊन सक्दछन। एउटाले बाटो चिप्लो भयो भनेर निन्याउरो मुख लाउन सक्दछ भने अर्को टहटह जुन लागेको छ भनी हाँसी हाँसि हिडन सक्दछ। समय र परिस्थिति एऊटै भए पनि दृष्टिकोणले नै जिबनको बास्तबिकता बताउदो रहेछ। आधा गिलास दुध पाएमा एउटा बालक रमाउन थाल्छ भने[ अर्को बालक पुरा गिलास नभएकोले रुन सक्दछ। गुलाफको बोटमा फुलसंगै काडा पनि हुनै पर्दछ। यथार्थमा सोच बिचार गर्ने सकारात्मक र नकारात्मक दृष्टि नै जिबन दर्शन हो।
सपष्ट र मौलिक बिचार नभएकाहरु चलनचल्तिका थोत्रा आदर्शबाट तदर्थ जिबन बाँचि रहेका हुन्छन। यस्तो अस्थिर मनस्थितिले कमजोर मानिसहरु प्राय नकारात्मक बाटो लिन्छन,जुन सजिलो तर अनिष्टकारि हुन्छ। सकारात्मक बाटो हिड्न त्याग, समय र शक्ति चाहिन्छ। मुलत: बहुजन हिताय काम गर्नु पर्दछ भन्ने भाबना नै सकारात्मक सोँच हो। यस्तो सोच भएमा सापेक्ष स्तरमा समाज आफै बदलिन्छ।
हाम्रा गाउघरहरुको यथार्थ
शस्यस्यमला बरदबेणीयुक्त हाम्रा गाउघरहरुलाइ बिचारक ऋषिमुनीहरुले परमार्थ साधना गर्ने र भावतत्व खोज्नेहरु (spiritual seeker)का लागी अनुपम तपोभुमी मानेकाछन। हाम्रा गाउहरु प्राकृतिक बिहार भुमी हुन, पर्यटक स्थल हुन। एकलोटा शुध्द जल र पत्र पुष्प चढाउदा प्रसन्न रहने लोकदेवताहरुको सरलता सौम्यताको ब्याख्या हुनसक्दैन। आडम्बरबिहिन तत्व-ज्ञान दर्शनलाइ रूढ कर्मकाण्डमा बाँधेर धार्मिक कहलिइ समाजबाट सम्मान र सुबिधा खोज्ने तथाकथित नक्कलि पण्डाहरुले हाम्रा सरल बिश्वासलाइ अन्धबिश्वासमा दर्ता गरि दिएकाछन। तर गाँउ घरको बिशिष्ट प्रकृतिका कारण यहाँका बासिन्दाहरुका निरोगि र बलिया हात पाखुरा छन। यहाँ स्वतन्त्र र शौर्य सम्पन्न इतिहास छ। गाउको आल भरि नै जमिन, जल,जंगल, जनशक्ति,जोश र जाँगर प्रचुर मात्रामा छ। कसरि यहाका बासिन्दाहरु निर्धा र गरिब हुन सक्दछन?गुण अबगुण सालाखाला पारेर हेरियो भने गाउलेहरु सोझा हुन्छन, इमान्दार छन र सापेक्ष अभाब देखिए पनि भाबनाका धनी छन। कठोर प्रकृतिसंगै पौठेजोरि खेल्दै यिनिहरु हाँसो ठट्टाको रमाइलोमा जिबन जिउन सक्दछन। दैनिकीका समस्या र अभाब सहेर पनि यिनिहरु बिखण्डित हुन सक्दैनन। बिषम परिबेसमा पनि यसरि समग्र जिउन सक्नेहरुलाइ कमजोर भन्न सकिन्छ र्?अचेल केहि शहर केन्द्रित ब्यक्ति-समुहको एउटा प्रायोजित रटना छ कि गाउलेहरु गरिब छन। वास्तबमै गाउ घर गरिब नै छ त? यो बिचारणीय प्रश्न हो गरिबीको बिचारले मन मष्तिष्कलाइ दरिद्र बनाए पछि कोही धनी मानिदैन। खप्तड स्वामिको भनाइमा मानिस जे बिचार गर्दछ त्यहि बन्दछ।
सापेक्ष अभाबलाइ गरिबि मान्ने हो भने यो बिश्वब्यापि छ। घरमा एकपाथि भट्टमास छ तर एक किलो अरहर-मुँग नपाऊदा कोहि गरिबमा दरिनु हुदैन। गोठमा दुध दिने भैसी छ भने दिउसो एक गिलास दुध नहुदैमा गरिब भनेर चिच्याउन पाइदैन। सुनिन्छ,सम्पन्न भनिएका देशहरुमा नया मोडेलको गाडी किन्न नसक्नेहरु आफुलाइ गरिब भन्दछन। दैनिक शूद्ध दूध पिउन पाउनेहरु त्यहाँ पनि बिरलै हुन्छन। शुद्द खाने पानी र शुद्ध हावा समेत नपाइने हाम्रो राजधानीलाइ सम्पन्न भन्न सकिन्छ त? यो अर्थमा गाउमा निरपेक्ष गरिबी छैन भन्न सकिन्छ। ५ज(जल,जमिन,जंगल,जनशक्ति र जागर)को छेलोखेलो भएको ठाऊमा गरिबीको रोग स्वेच्छाले बस्न सक्दैन। धन दौलत जस्ता चल बस्तु मात्रै गाउका सम्पति होइनन, नागरिकहरुको इमानदारी, साहस र नैतिकता पनि साँचो सम्पत्ति हो। यो सम्पत्ति गाऊँमा प्रसस्त छ।
बर्तमानका प्रभावहरु

अचेलको बिश्व दृष्टिमा बिकसित आधुनिक परिबर्तनका पाटाहरु गाउमा पनि झुल्किएकै छन। पारलौकिक र ईश्वर केन्द्रित मानसिकता अब लौकिक र मानब केन्द्रित भएको छ। भगवान र भाग्य भन्दा पनि समानता र स्वतन्त्रतालाइ अग्राधिकार दिइदैछ। मानबीय बौद्धिकतालाइ प्रमुख बिषय बनाइदैछ। बेर्नाबाट बारिमा ल्याइएको जस्तो आधुनिक जिवनलाइ स्थानिक रुपमा मात्रै ब्याख्या गर्न पनि सकिदैन।
त्यसैले तदर्थ बाँचिरहेको गाँउमा बिकासको गाजेमाजे चाहनाले बर्तमानलाइ धेरै बेर अल्मल्याउन पाउने छैन। अचेल गाँउमा थुप्रै सकारात्मक परिबर्तन देखिएकाछन। सानो परिवार र आत्मनिर्भरताको चाहना बढेकोछ। रुढिगत सामाजिक संरचना भत्कदैछन। अन्ध-बिश्वास हराउदैछन। आधा आकाशको सक्रियता बढेकोछ। बालबिबाह,बहुबिबाह असल मानिदैनन्। शैक्षिक जागरण बढेकोछ। गाऊहरु अपेक्षाकृत सफासुग्घर देखिन्छन। जिवन स्तरमा टडकारो परिबर्तन देखिएकोछ। औसत आयु बढेकोछ।
बिकासको बाटोको यो बामे सराइमा केहि अलमल हुनु स्वाभाबिकै मान्नु पर्दछ। आधुनिक बिकासको यो सहयात्रासंगै गाउले जिबनको पत्यारलाग्दो लयबध्दतामा परिबर्तन हुनै पर्दथ्यो। तर सुदुरबर्ति गाउमा समेत शहरको जस्तो उपभोगबादिता बढेकोछ। स्थानिय श्रम र सीपको अबमुल्यन भै कृषी कार्य प्रति रुचि हट्दै गएकोछ। ढिकि जाँतो जस्तै राम्रा लोकप्रचलन हराउदैछन। बट्टाबन्द आधुनिक खानपान गाउमा भित्रिदैछन। नया सुबिधालाइ पुरानो आर्जनले धान्न नसक्ने अबस्थाछ। एक किसिमले आर्थिक तनाव गाऊ पसेकोछ। अर्काको नक्कल गरि स्वांग रच्ने कुण्ठाले ग्राम्यमानस कुण्टाग्रस्त हुदैछ। कस्तुरिले स्वयंको बास्ना थाहा नपाएजस्तो आफनै मौलिकता र बिशिष्टतालाइ गाउले बुझ्न सकेको छैन। अर्काको दयामायामा बाँच्न चाहने परमुखापेक्षी दानमुखी जिबनपद्धति दरिद्र मनस्थितिको उपज मात्र हो। यसरि ससाना कुरामा अलमलिइ चलाक हुन खोज्दा स्वयं पछाडी परिन्छ भन्ने बुझाइ कम छ।
हाम्रा गाउँघरमा आर्जित धनको राम्रो सदुपयोग हुन सकेको छैन। बचत गर्ने प्रबृति छैन। अनपढका बिचमा अभिमान देखाउनु पढेलेखेकाहरुको पहिचान बनेकोछ। जमिन टुक्रा टुक्रामा बिभक्त छ। बन जंगलमा धेरै चाप परेकोले हरियालि कम हुदैछ। बन-बेत, गोठ-गोबर र घरधन्दामा अधिकांस जिबन सिमित भएकोछ। ईश्वरलाइ रहस्यमय बनाइएकोले श्राद्धमा बिरालो बाधे जस्तो प्रकियामुखि काममा गाउलेहरु लकिरका फकिर बनाइएकाछन। समष्टिमा हाम्रा गाउ अशक्त बुढाबुढी,असहाय, गरिबकालागी का‍ल पर्खने ठाउ बनेका छन। अहिले सम्म यिन्कालागि कुनै ठोस कल्याणकारी योजना छैन।
बिकास भनेको के हो त?
यथार्थमा बिकास हुने -नहुने जान्ने -नजान्ने बिचको अन्तर मात्र हो। कंचनपुरसंग तुलना गर्ने हो भने बैतडीमा बिकास नभएको मान्नु पर्दछ तर कर्णालीसंग तुलना गर्ने हो भने स्थिति फरक देखिनेछ। एस एल सी पास ब्यक्ति स्वयंमा ५ पासका निम्ति जान्ने हो भने स्नातककालागि नजान्ने हो। यसरि नै बिकासलाइ सापेक्ष स्तरमा बुझ्दा यो निरन्तर चलि रहने प्रकृया मान्नु पर्दछ।
तर गाउलेले चाहने बिकास भनेको आम्दानिमा बृद्धि,आधुनिक उत्पादनको उपयोग उपभोग,रहन सहनको स्तरमा बृद्धि र शिक्षा-स्वास्थ्यमा सुधार हो। बिकास भएमा फुर्सतका क्षणहरु बढदछन र रमाइलो गर्न सकिन्छ भन्ने ग्रामिण चाहना छ। यसरि बिकास कहिले नसकिने अन्त्यहिन यात्रा बन्न गएकोछ।
बिकास सकारात्मक परिबर्तनको नाम पनि हो। गाउमा चलेका पणम(पर्म),खेणि र ऐचो पैचोका ब्यबहार सकारात्मकताका चिन्ह हुन। दिगो बिकास तब मात्र संभब छ, जब स्वाबलम्बनको बानी बस्दछ। त्यसैले ऊपभोगबादी सुबिधामुखि भन्दा बिकासबादी सोच बढाउनु गाउलेको हितमा हुन्छ।
बिकाससंगै असल संस्कार र असल चरित्रमा जोड दिएमा बास्तविक दिगो बिकास ठहरिनेछ। बिकासका लागि राम्रा प्रचलन गाउमा बसाउन सकिन्छ। अब्यबस्थित ग्रामिण बस्तिलाइ योजनाबद्ध ग्रामिण आबास कार्यक्रम द्वारा मिलाउन सकिन्छ। हाट बजार,ढुकुटी बचत,पेवा-धन,कुटिर उद्योगको चलन बढाउनु पर्दछ। श्रमको सम्मान हुनै पर्दछ। अब्यबस्थाको समुद्रमा एउटै डुङ्गामा बसि हावासंगै बगिरहेका हाम्रा गाउहरुले के बुझ्नु जरुरि छ भने डुङ्गामा प्वाल प-यो भने कोहि पनि बच्न सक्ने छैनन।

गोर्ख्यौल गाउको बिकास


सुदुर पश्चिमका गाउघरमा मेलोमेसो नमिलाइ जथाभावी गरिएको सरकारी कामलाइ गोर्ख्यौल भनिदो रहेछ। यथार्थमा नेपाल एकिकरणताका बिजेताका रूपमा आएका सरकारि कर्मचारीलाइ गोर्खालि भनिने र यिनले गरेको रंग न ढंगको कामलाइ गोर्ख्यौल भनिएकोहो। शाब्दिक अर्थमा गोर्ख्यौलको अर्थ जथाभाबि हुदो रहेछ। हामी अहिले सम्म भएको बिकासको प्रतिकात्मक अर्थमा यसलाइ लिन सक्दछौ। सरकारि काममा उदासिनता देखिनुमा मुख्य कारण यहि गोर्ख्यौल हो। सिंहदरबारमा वास्तबिक जनमुखि योजना बनेकै छैनन, बन्नै सक्दैनन। सिहदरबारबाट बाँडिएको बिकासले गोर्ख्यौल मात्र भित्र्याउछ। धन राजाको,ज्यु कालको मान्ने गाउलेहरु बिकास प्रति किन ऊदास न होन त? माथिको आदेशको भरमा चलेको सरकारले गोर्ख्यौल बाहेक के नै गर्न सक्दथ्यो र?
अचेल अर्बाचिन र प्राचिन सिद्धान्तहरु पुरै बदलिएकाछन। पुराना ब्यबहार आजभोलि नमिलेका जस्ता देखिन्छन। उच निचको संस्तरण,खानपान र ब्यबहारका बखेडाहरु बदलिदो प्रतिमान अनुसार बदलिनै पर्दछ। बिगतमा आफनै किसिमको एकांकी जिबन बाचेका ग्रामिण समुदायलाइ बिकासका नया संभाबना देखने गरि नया दृष्टिकोण दिनु पर्दछ। गौरब गर्ने खालको हाम्रा पुर्खाको इतिहासले जिबन मुल्यको रचना गरेकोछ। जिबनले हामिलाइ रचना गर्नु प्राकृतिक घटना हो तर हामीले नया दृष्टिकोणमा जिबन रच्यौ भने यो जिबन मुल्य हुनेछ्। स्वतन्त्र ब्यक्तिको परिचय यस्तै मौलिकतामा देख्न सकिन्छ। स्वत्नत्र ब्यक्तिले मात्रै यथार्थमा सोच्न र रच्न सक्दछ। अतितको थोत्रो गर्ब मात्रै गरि राख्नेहरु कालक्रममा बिलुप्त हुने गर्दछन। यसकारण पितापुर्खाका सपना हरुलाइ यसरि बर्तमानमा उतार्नु पर्दछ जसरी शिशुको अनुहारमा मातापिताको प्रतिबिम्ब देखिने गर्दछ।
अर्काको नक्कल मात्रै समाज सुधार होइन। राम्रो चलनको रक्षा गर्नु र नराम्रोलाइ सच्याउनु पनि सुधार कार्य हो। बिश्वास गर्न सकिन्छ कि अपठ्यारा र कठ्याङ्ग्रिएका दिनहरुमा अब न्यानो र ऊज्यालो घाम लाग्नेछ। कर्मि माहुरि जस्तो दिनरात काममा खटिरहने सिधा साधा गाउलेहरुबाट ब्यर्थेमा ठुलाबडा बनाइएका कथित खोले टाकुरे भुरे ठालुहरुले अबका दिनमा ढलिमलि गर्न पाउन सक्ने छैनन। गाउघर बिभिन्न बादबिबादमा बाडिने छैन। श्रम निष्ठामा फुले फलेको गाउको गौरबपुर्ण इतिहासका बर्तमान संस्करणहरुले पुर्खाको प्रेरणा लिइ आफनो सोचलाइ नबिनता दिनेछन। गाउमा चिन्तन बिउझिनेछ,चरित्रले यात्रा गर्नेछ । यहाँ सुन्दर सोचिनेछ र सुन्दर रचिनेछ। शिबास्ते पन्थान् ।

No comments:

Post a Comment